सत्र, मुक्त मन बरु कृष्णको काली खोल्सो नै ठीक रहेछ । आपत् पर्दा पानी खान त हुन्थ्यो । कम से कम मुख धुन त हुन्थ्यो । पासपोर्ट सबै भिजेछ र अझै भिज्नमा सहयोग गरिन् । फेरि दरबार छिर्नुको औचित्य थिएन । एकपटक मरेकालाई फेरि मर्न केको डर । बाहिर आइन् श्रुती । तल खोलाको आवाज जस्तै माथि सडकमा हुलको आवाज थियो । कल्याङ् कुलुङ् थियो दुबैतिर । हिजोसम्म क्रातिकारीले ल्याएका गाडिहरू र तिनमा टाँगेका ब्यानरहरू रातै थिए । बिस्कुट र चाउचाउका खोलहरू छरिएका थिए । कतिका कपडाहरू त्यतै गाडिका झ्यालमा थिए भने कति भूइँमा । एउटा हातमा ए.टि.एम. कार्ड च्यापेर, अर्को हातले टाउकाको माटो पुछ्दै बौलाही सरह हिँडिन् श्रुती बाँसघारी मुनीको सडकमा । पेन्टिङ्गकी सौखिन् श्रुती अहिले आफैं कसैको पेन्टिङ्ग जस्ती भएकी थिइन् र त्यही पेन्टिङ्गलाई भीडबाट जोगाउन भीडतिरै मिसिँदै थिइन् । तर जहाँ उनी जान्थिन् त्यहाँ कम भीड हुन्थ्यो, उनको शरीरको दुर्गन्धले । सोचिन् ः यतै कतै कृष्णलाई भेटे कति रमाइलो हुन्थ्यो । तर फेरि आफ्नो मनलाई सम्झाइन्, यसरी भीडमा, हो हल्लामा हिंड्दै, दुर्गन्धमा, हेर्दै र खोज्दै कृष्ण भेटिने भए, कतिले भेट्थे क...
Collection of English articles, Nepali essays, Nepali stories and other writings