Skip to main content

श्रुती, सोह्र, दशावतारी मन

सोह्र, दशावतारी मन

रथको पाङ्ग्रो घुमे जस्तो, नेतीले मदानी घुमाए जस्तो, बाहिरको सास भित्र पसेर फेरि बाहिर आए जस्तो, घुम्ने माने जस्तो, घुमाइएको रुद्राक्ष माला जस्तो, घुम्ने सौर्य मण्डल जस्तो, घुम्ने चौरासी लाख योनी जस्तो, घुम्ने चार युग जस्ता अनि बत्ति कात्ता घुमाइएका औंला जस्ता । सबथोक घुमे जस्तो देख्यो कृष्णले । सबथोक परिवर्तन देख्यो ।
श्रुतीले फन्को मारिन् । क्रान्तिले फन्को मा¥यो । टाउकामा रुमाल बाँधेर नाच्नेहरूले टाउको खौरिए राजा–रानीको नाममा । दरबार घेर्नेहरू पशुपति हेर्न लागे । बाजा बजाउनेहरू शान्त बसे र लुकाइएका हात हतियारहरू विना प्रयोजन विश्राम गरे । मोबाइल फुट्यो । सम्पर्क टुट्यो । रगत सेलायो ज्यानमा ।
एकै दिनको परिवर्तन थियो त्यो । उसको पनि र सिङ्गो शहरको पनि परिवर्तन । दौड र हतार थिएन अब । सडकै भरि मुडुला टाउकाहरू बिस्तारै हिँड्थे श्रद्धाञ्जली स्थानतिर । उनकै नाममा मुडियो कृष्ण पनि र ऊ पनि घुम्यो समयसँगै ।
ज्यानमा रगत नभएर विरक्त देखिएको कृष्णले छाउनी, मृत्यु, निराश, पशुपतिनाथ, बन्द जस्ता शब्दहरू लगाएका वाक्यहरू बढी सुुन्यो ।
– कति राम्रा राजारानी थिए । मरेपछि कुरा गरेको होइन कि, साँच्चै हामीलाई चाहिने थिए । शान्ति क्षेत्रको प्रस्ताव हेर्नुस् त ! जनमत सङग्रह सोच्नुस् त ! कसरी र किन बहुदल स्वीकारे त !
धेरै मान्छे सडकको जुन भागतिर हिड्थे त्यतैतिर हिंड्थ्यो कृष्ण पनि । सोच्यो ः यी सबै मलामी हुन् र अन्तेष्ठि स्थलतिर जाँदैछन् ।
दिन भरिजसो रुन्चे हुलको पछि पछि डुल्यो कृष्ण र साँझ पर्न लाग्दा पुग्यो पशुपति परिसरमा । श्रुती जन्मिएका दिन देखि आजसम्म नेपाल भरिमा जन्मिएका सबै मानिसहरू एकै ठाउँमा भेला भएपनि यति धेरै हुँदैन थिए होलान् । पाँच मिनेटमा आधि पाइलो अगाडि सार्न सकिदैन थियो । बरु एक–दुई पाइला पछि धकेल्थ्यो भीडले । पछाडि फर्किन पनि गाह्रो थियो । जबर्जस्ती फर्कियो र लाग्यो गौरिघाट हुँदै उकालो । बाग्मती नजिकको तार–जालीसम्म आउन करिब दुई घण्टा लाग्यो उसलाई ।फलामे जालीको फलामे पुल नजिकै गएर पशुपतितिर आँखा लगायो । सोच्यो, अब भीडले जति ठेले पनि मलाई लडाउन सक्दैनन् ।
साँझ परिसकेको थियो । थोरै मात्र उज्यालो देखिन्थ्यो बत्ति नभएको ठाउँमा । साँझ परिसके जस्तो थियो उसको जनक्रान्तिमा । साँझ परिसकेको थियो ती शुभचिन्तकका दिमागमा । साँझ परिसकेको थियो दरबारमा अनि उसको जीवनमा । मात्र रिमरिम उज्यालो थियो । शायद मात्र रिमरिम हुँदोहो श्रुतीको अर्को जन्मको पहिलो दिनमा । शायद रिमरिम हुँदोहो नवलोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा ।
पाँचओटा लाश लहरै राखिएका थिए बाग्मतीको मूलघाटमा । कुन कसको लाश थियो चिनेन कृष्णले । टाढा थियो लाशहरूबाट । फूल नै फूलले र माला नै मालाले ढाकिएका थिए ती लाशहरू । बोक्ने र राख्ने क्रमको प्राथमिकता क्रम विचार गरि चिन्ने प्रयास ग¥यो श्रुतीलाई, अड्कल ग¥यो, शायद ती चाहिँ मेरी श्रुती होलिन्, कल्किमन्दिर अगाडिकी । मनमनै बोल्यो ।
– श्रुती ! अरूलाई बन्धन मुक्त पारिदिने म मुक्तिकामी क्रान्तिकारी अझै पनि यो तारजालीबाट निस्किएर तिमीसम्म आइपुग्न सक्दिन तर तिमी पूर्ण स्वतन्त्र भयौ । तिम्रो त्यस्तो स्वतन्त्रताको लागि मैले क्रान्ति गरेको भने अवश्य होइन । आजका दिनदेखि मेरो क्रान्ति पनि तिमी जस्तै हुन्छहोला श्रुती । मेरो व्यक्तिगत क्रान्तिको पनि देहावसान हुन्छहोला ।
लाश गाड्ने चलन भइदिएको भए भोलि पर्सि भएपनि खोतलेर हेर्न जान्थ्यो कृष्ण । शायद लग्थ्यो होला लाशपनि । शायद खोतल्थ्यो होला श्रुतीको दिमागको हार्डडिक्स रूपी अस्थिधातु र पढ्न खोज्थ्यो होला श्रुतीका अन्तिम सोचहरू । तर के गर्नु, हिन्दू संस्कार नै यस्तो छ कि खरानी नबनाइ नहुने ।
पश्चिमतिर पशुपतिलाई र पूर्वतिर बाग्मतीलाई साक्षी राखी जलाउनु पर्ने । सिन्धुनदीको सभ्यता, सिन्धुघाँटीको सभ्यता, घाटसभ्यता, दुई ओटा जीवनहरू बीचको पुलको सभ्यता । जलाएको प्रमण स्वरूप खरानी सगरमाथा निवासी शिवजीलाई घस्न दिनु पर्ने र प्रमाण स्वरूप अस्थिधातु गङ्गामा बगाउनु पर्ने ताकि उनले बगाएर त्यही सागरमा पु¥याइ दिउन् जहाँबाट त्यो सभ्यता विकसित भएको थियो । एकथोक पृथ्वीको भागको सबैभन्दा माथि पु¥याउनु पर्ने र अर्काे थोक पृथ्वीको सबैभन्दा तल्लो भागमा । सगरमाथाको टुप्पामा र सागरको पींधमा । जता गएपनि सर्प नै भेट्टाउनु पर्ने । बाँचुञ्जेल पनि र मरेपछि पनि । खरानीले शिवजीको सर्प र अस्थिधातुले विष्णु आसनको सर्प भेट्टाउनु पर्ने ।
श्रुतीको चिता हे¥यो । चिता देखेर कोक्रो सम्झ्यो कृष्णले । कोक्रमा जस्तै सुतेकी थिइन् अहिले चितामा, उठ्न नसकेर सुते जस्तै । लमतन्न परेर, माछा जस्तै ।
सुत्दाखेरि त सकि–नसकी भएपनि बामे सर्थिन् होला कुर्म जस्तै । तर अहिले सरिनन् । दाउरा हल्लिएनन् ।
चारै ओटा हात खुट्टाले टेकेर जता पायो त्यतै हिंड्थिन् होला बराह जस्तै । तर अहिले हिंडिनन् ।
नरले जस्तो एक–दुई पाइला हिँडेर लड्दै र सिँहको जस्तो गरी अनि फेरि उठेर मान्छे जस्तै हिँड्थिन् होला, नृसिँह जस्तै तर त्यसो गरिनन् ।
चारखुट्टाले टेकेर हिँड्न छोडेपछि ठाडो भएर मात्र हिँडिन् होला पुड्की श्रुतीले, वामन् जस्तै । तर अहिले उठिनन् ।
बढ्दै जाँदा कहिले रिसाइन् होला, परशुराम जस्तै र शान्त भइन् होला, राम जस्तै ।
चञ्चले र प्रेममयी थिइन् मैले चिन्दा, कृष्ण जस्तै ।
बाँचेकी भए शायद ध्यान गर्दै हुन्थिन् होला आजभोलि,  बुद्ध जस्तै र आनी जस्तै तर अब त्यो सम्भव भएन किनकि कल्किले आफ्नै मन्दिर अगाडि सुताइदियो आर्यघाटको कोक्रोमा ।
कृष्णले नचिनेको मान्छेले भिजाएका बत्ति बालेर प्रत्येक लाशका मुखमा दागबत्ति दियो । दागबत्ति हेरे मान्छेले । पहिला ओठ पोल्यो होला श्रुतीको । अनि जिभ्रो, मुर्धा, तालू, दाँत र घाँटी । सास फेर्न गाह्रो भए जस्तो भयो कृष्णलाई । देखिने जति सबैलाई हे¥यो कृष्णले । सबका सब शव समान उभिएका थिए । कति जल्दै थिए पीरले र तापले । मालाहरू बीच धुवाँ मुस्लिन थाल्यो श्रृखण्ड र तुलसीको । धुवाँ हेरे मान्छेले । शायद घिउ थपे । पाँचै ओटामा आगो दन्कियो । रातो आगो । क्रान्तिको आगो जस्तै र मिशन ॐ को ब्यानर जस्तै ।
हेर्दाहेर्दै हेर्ने कुरा सकिए मान्छेलाई । रुँदारुँदै झर्ने आँशु रित्तिए मान्छेलाई र पोल्दा पोल्दै पोल्ने कुरो सकियो आगोलाई । खरानी देख्यो कृष्णले । वरदेखि परसम्म खरानी । आफ्नै इष्टकोटको रङ्गजस्तो खरानी । लिन पाएको भए र कसैले उसलाई दिने भए सबै खरानी बटुली एउटा डल्लो पारेर विभूत लगाउने थियो बाँचुन्जेल ।
रात बढ्दै गयो र भीड घट्तै गयो । भीड घट्तै गयो र चीसो बढ्दै गयो । चीसो पानीले पखाल्यो आर्यघाटको तातो खरानीलाई । अघिसम्म थियो, अहिले छैन । बाहिर पखाल्यो तर भित्र ताजै छ । बाहिर चीसो तर भित्र तातै छ । कछुवा सरी श्रुती बामे सर्दै थिइन् कृष्णको दिमागमा । पुष्पपत्रकालीन आँखा र प्रदर्शनपछिको स्वरका सहायताले बामे सर्दैथिइन् उसको शरीर भरि । दिमागी गर्भ तुहे जस्तो लाग्यो उसलाई किनकि हुँदा हुँदै पनि कहिँ रहिनन् श्रुती अब उसलाई ।
धेरै हिँडिसकेछ ऊ । सडकमा आइपुगेछन् शव दर्शकहरू । अनुहारको वैराग्यतामा कमि आउन थालेको थियो पीच सडकमा आउने बित्तिकै । व्यावहारिक र व्यापारिक गफ शुरू हुन थालेछ अब ।
लाटा मान्छेहरू । अन्धा मान्छेहरू । दुई मिनेट आर्यघाटमा वैराग्यता चढाए, दुई मिनेट पशुपतिमा भक्ति चढाए र दुई मिनेटको बाटोमा फेरि व्यापारिक पन । दुई मिनेट पछि फेरि शुरू गर्छन् राजनीति । अस्थीर र अन्धा मान्छेहरू ।
सोच्यो ः यी साँच्चै अन्धा मान्छेहरू नै हुन् । न त यिनले कसले मा¥यो र कसरी मा¥यो भन्ने देखे, न त किन मा¥यो भन्ने थाहा छ । न त कतिलाई थाहा पाउन नै मन छ, न त थाहा पाएर पनि केही गर्न नै सक्छन् । यतिसम्म कि यिनले भर्खरै हेरेका जलाइएका लाशहरू पनि यिनले सोचेका मान्छेकै होलान् भन्ने स्पष्ट छैन । देखेका केही छैनन् । अन्धा भीडहरू हुन् यी दर्शकहरू । मलाई जीउँदो देख्ने दर्शकहरू ! के गर्नु, फेरि म पनि त यही भीडमै परेंछु ।
कसैले नजिकै आएर बोल्यो ।
– कृष्ण दाइ ! भोलि बिहान अस्तिकै ठाउँमा विशेष मिटिङ्ग छ । तपाईंको अनिवार्य उपस्थितिको अपेक्षा गरेका छौं हामी सबैले ।
– ए ! तिमी पनि आएका थियौ यता । म दुई–चार दिन मिटिङ्गतिर नआउने भएको छु । बरु कमरेड भाइ, मिटिङ्गमा के के हुन्छ भेटेको बेला मलाई खबर गर है ।
– हवस् दाइ । अहिले म गएँ ।

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...