1)
श्री हरि, शार्दूलविक्रीडित छन्द १
2)
बुढो मन र तन्नेरी मन, तोटक छन्द २
3)
(शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट, शार्दूलविक्रीडित छन्द ) ३
4)
कोरोना र भ्रष्टाचार, शार्दूलविक्रीडित छन्द ४
5)
अर्को नलेख्ने अब, शार्दूलविक्रीडित छन्द ५
6)
द्यौताको गीत, भुजङ्गप्रयात छन्द ६
7)
पाउँदैनौ र बस्न, मालिनी छन्द ७
8)
चेस, अनुष्टुप् छन्द ८
9)
सल्लाह, भुजङ्गप्रयात छन्द ९
10)
नयाँ वर्ष, भुजङ्गप्रयात छन्द १०
11) गायत्री छन्दमा, नेपालस्तुति ११
12) लोग्नेको बिलाप, शार्दूलविक्रीडित छन्द १२
13) पियारी पियारा, भुजङ्गप्रयात छन्द १३
14)
नारी, शार्दूलविक्रीडित छन्द १४
15)
लेख् न भन्छन्, भुजङ्गप्रयात छन्द १५
16)
च्यातेर फाल्दे बरु, शार्दूलविक्रीडित छन्द १६
17) आजको अर्ति, अनुष्टुप् छन्द १७
18)
छन्द दीवस, शार्दूलविक्रीडित छन्द १८
19)
मेरो मृत्यु र म, भुजङ्गप्रयात छन्द १९
20)
मच्छर, शार्दूलविक्रीडित छन्द २०
21)
पल्लो घरको ढोका, शार्दूलविक्रीडित छन्द २१
22) मुख्य समाचार, शार्दूलविक्रीडित छन्द २२
23)
नहान्नू मलाई, भुजङ्गप्रयात छन्द २३
24) प्रेमिका, तोटक छन्द २४
25) जड्याहाको बोलि, पञ्चचामर छन्द २५
26) विधवा विवाह, शार्दूलविक्रीडित छन्द २६
27) कृषि क्रान्ति, शार्दूलविक्रीडित छन्द २७
28)
कवि कृष्णशरण उपाध्यायको कविता पढेपछि, खाना , अनुष्टुप छन्द २८
29)
शव्दसिन्धु, शार्दूलविक्रीडित छन्द २९
30) भ्रूण श्वास, भुजङ्गप्रयात छन्द ३०
31) भरेको रात, वंशस्थ छन्द ३१
32)
छोरो मान्छे , शार्दूलविक्रीडित छन्द ३२
33)
मृत्यु, शार्दूलविक्रीडित छन्द ३३
34) उल्टो कविता, शार्दूलविक्रीडित छन्द ३४
35) आउँछु रे, तोटक छन्द ३५
36) परीक्षा, शार्दूलविक्रीडित छन्द ३६
37)
नेपाल माफी गर, शार्दूलविक्रीडित छन्द ३७
38)
भोगटेको रुखमुनि, शार्दूलविक्रीडित छन्द ३८
39)
विसङ्गतिवाद, शार्दूलविक्रीडित छन्द ३९
40)
कल्पना, भुजङ्गप्रयात छन्द ४०
41) मार्नू मलाई, भुजङ्गप्रयात छन्द ४१
42) साँध, प्र नि अबाट, स्वागता छन्द ४२
43) चम्को, शार्दूलविक्रीडित छन्द ४३
44)
गाउँले जीवन, शार्दूलविक्रीडित छन्द ४४
45) पारिजातको इज्जत, शार्दूलविक्रीडित छन्द ४५
46)
बुढेसकाल, शार्दूलविक्रीडित छन्द ४६
47)
इन्दिरा, इन्दिरा छन्द ४७
48) दमितको बिन्ती, शार्दूलविक्रीडित छन्द ४८
49)
फूल, प्र नि अ बाट, सवाई छन्द ४९
50) जाऊ कतै पर्तिर, शार्दूलविक्रीडित छन्द ५०
51)
पीपलको बोटमुनि, शार्दूलविक्रीडित छन्द ५१
52)
सिद्धिचरणप्रति, पादकुलक छन्द ५२
53)
वैवाहिक वार्षिकोत्सवकालागि गीत, भुजङ्गप्रयात छन्द ५३
54)
भावाकार, शार्दूलविक्रीडित छन्द ५४
55)
जिन्दगी, ओहो ! म कस्तो, उपजाति छन्द ५५
56)
आफैँ हुँ झैँ लाग्दछ, शार्दूलविक्रीडित छन्द ५६
57) दशावतार, शार्दूलविक्रीडित छन्द ५७
58)
मुस्कुराओस्, दिक्पाल छन्द ५८
59)
सङ्केत, भुजङ्गप्रयात छन्द ५९
60) रिस, शार्दूलविक्रीडित छन्द ६०
61) विश्वको अणु: विष्णु, शार्दूलविक्रीडित छन्द ६१
62)
च्यापेँ सिरानीसरि, शार्दूलविक्रीडित छन्द ६२
63)
प्रेम, स्रग्विणी छन्द, प्र नि अ बाट ६३
64) देश र महेश पञ्चचामर छन्द, प्र नि अ बाट ६४
65)
मलामीहरूप्रति, शार्दूलविक्रीडित छन्द ६५
66)
आरति, शार्दूलविक्रीडित छन्द ६६
67)
वाचा, शार्दूलविक्रीडित छन्द ६७
68)
इच्छाको नदी , शार्दूलविक्रीडित छन्द ६८
69)
घरबेटीको सन्देश, शार्दूलविक्रीडित छन्द ६९
70)
गुरुहरूप्रति, शार्दूलविक्रीडित छन्द ७०
71)
कविहरूप्रति, भुजङ्गप्रयात छन्द ७१
72)
गजल, भुजङ्गप्रयात छन्द ७२
73) झरी, शार्दूलविक्रीडित छन्द ७३
74)
पागल, मुक्त छन्द ७४
75)
प्रेमालाप , शार्दूलविक्रीडित छन्द ७५
76)
बिदाइ, मन्दाक्रान्ता छन्द ७६
77)
बत्ती नबाल्नू भरे, शार्दूलविक्रीडित छन्द ७७
78)
आगो, पञ्चचामार छन्द ७८
79)
मदिरा, मदिरा छन्द ७९
80)
टुँडाल, शार्दूलविक्रीडित छन्द ८०
81)
अटेरी, भुजङ्गप्रयात छन्द ८१
82)
पुरानो नै नयाँ !! भुजङ्गप्रयात छन्द ८२
83)
आत्मा, अनुष्टुप् छन्द ८३
84) पात्रो, इन्द्रबज्रा छन्द ८४
85)
विचार, पञ्चचामर छन्द ८५
86)
युद्ध बिम्ब, वसन्ततिलका छन्द ८६
87)
मैन जस्तै, भुजङ्गप्रयात छन्द ८७
88)
टाउको, गाईजात्रे कविता, शार्दूलविक्रीडित छन्द ८८
89)
रमेश खकुरेलप्रति, तोटक छन्द, छन्द सारथीमा प्रकाशित ८९
90)
चण्डेनी मा वि प्रति , शार्दूलविक्रीडित छन्द ९०
91)
भक्ति रचना: शिव ॐ, तोटक छन्द ९१
92)
श्रद्धाका कुसुम, प्र नि अ बाट, शिखरिणी छन्द ९२
93)
गाईजात्रे कविता, बिजोडीको व्यथा , शार्दूलविक्रीडित छन्द ९३
94)
छोरीविनाको घर, शार्दूलविक्रीडित छन्द ९४
95)
रिसाइन् कि के हो ! भुजङ्गप्रयात छन्द ९५
96)
सधैँ सुन्न पाऊँ, भुजङ्गप्रयात छन्द ९६
97)
काल बन्नेछु तेरो , प्र नि अ बाट, मन्दाक्रान्ता छन्द ९७
98)
साउने सोमबार,स्रग्धरा छन्द ९८
99)
म धेरै रुएँ रे गए आज राति, भुजङ्गप्रयात छन्द ९९
100)
मुरली, इन्द्रबज्रा छन्द १००
101)
अकविता, स्रग्धरा छन्द १०१
102)
गद्य कि पद्य ? अनुष्टुप् छन्द १०२
103)
मेघविस्फूर्जिताले, मेघविस्फूर्जिता छन्द १०३
104)
भानुजयन्ती विशेष कविता, डोरो, शार्दूलविक्रीडित छन्द १०४
105)
शुभरात्रि वार्ता, भुजङ्गप्रयात छन्द १०५
106)
जिन्दगी, उपजाति छन्द १०६
107)
लास आफ्नै, भुजङ्गप्रयात छन्द १०७
108)
गीत, मत्तमयूर छन्द १०८
109)
प्रेमिल सम्झना, शार्दूलविक्रीडित छन्द १०९
110)
गजल, साँझमा भेट्न आऊ ११०
111)
श्री कृष्णको आज भएछ जन्म, इन्द्रबज्रा छन्द १११
112)
वानरको बुद्धि, वसन्ततिलका छन्द ११२
113)
आजको सन्देश, इन्द्रबज्रा छन्द ११३
114)
म फर्केर आएँ तिमी साथ फेरि, भुजङ्गप्रयात छन्द ११४
115)
पानी रहेछ प्यारो, प्र नि अ बाट, दिक्पाल छन्द ११५
116)
दोजिया, इन्दिरा छन्द ११६
117)
अब लान आऊ, इन्द्रबज्रा छन्द ११७
118)
पागल, शार्दूलविक्रीडित छन्द ११८
119)
अक्षर, अनुष्टुप् छन्द ११९
120)
नेपाल मेरो भयो, शार्दूलविक्रीडित छन्द १२०
121)
आऊ मलाई छुन, शार्दूलविक्रीडित छन्द १२१
122)
पिता पुत्र, अनुष्टुप् छन्द, १२२
123)
कोरोना युद्ध, शार्दूलविक्रीडित छन्द १२३
124)
मंसिरे निम्तो, शार्दूलविक्रीडित छन्द १२४
125)
नवदूर्गालाई निम्तो, शार्दूलविक्रीडित छन्द १२५
126)
गोगनेको निम्तो, भुजङ्गप्रयात छन्द १२६
127)
गाईजात्रे निम्तो, १२७
128)
पुनरुक्ति, भुजङ्गप्रयात छन्द १२८
129)
रुन्चे दशैँ, शार्दूलविक्रीडित छन्द १२९
130)
श्री कृष्ण जन्माष्टमि, भुजङ्गप्रयात छन्द १३०
131)
काट्दै छु यो जिन्दगी, शार्दूलविक्रीडित छन्द १३१
132)
फेदीको पहिरो, भुजङ्गप्रयात छन्द १३२
133)
खसीको बिन्ती, इन्द्रबज्रा छन्द १३३
134)
श्री विद्येश्वर मा.वि., पादाकुलक छन्द १३४
135)
सहीदको गुनासो, पञ्चचामर छन्द १३५
136)
कविता, शार्दूलविक्रीडित छन्द १३६
137)
अर्को यात्री, तोटक छन्द १३७
138)
ससंकल्प अर्कै गर ! शार्दूलविक्रीडित छन्द १३८
139)
वलि, स्वतन्त्र छन्द १३९
140)
ईश्वरप्रति आक्रोश, शार्दूलविक्रीडित छन्द १४०
141)
निर्मला पन्त, भुजङ्गप्रयात छन्द १४१
142)
प्रश्नोत्तर, स्वतन्त्र छन्द १४२
143)
शालिनी- प्रतिष्ठा १४३
144)
मुर्ख श्री, शार्दूलविक्रीडित छन्द १४४
145)
नारी दिवस, मुक्त छन्द १४५
146)
अनैतिक दृष्टान्त १४६
147)
चित्रभित्र मित्र कृष्ण, मुक्त छन्द १४७
148)
नेपाल आमा, भुजङ्गप्रयात छन्द १४८
149)
मिलन, स्वतन्त्र छन्द १४९
150)
गीत, चण्डेनी प्रार्थना १५०
151)
वेहालतन्त्रको शिक्षक, भुजङ्गप्रयात छन्द १५१
152)
तुलना, भुजङ्गप्रयात छन्द १५२
153)
बसाइँ, शिखरिणी छन्द १५३
154)
लाटीको माया, भुजङ्गप्रयात छन्द १५४
155)
अजिब समय, मुक्त छन्द १५५
156)
गजल १५६
157)
गजल १५७
158)
गजल, भन्दैन कोही १५८
159)
उल्था, भुजङ्गप्रयात छन्द १५९
160)
गजल, सवै पीर मर्का, भुजङ्गप्रयात छन्द १६०
161)
गजल, तिमी आऊ छिट्टै १६१
162)
गीत, आकाशमा बीऊ तिम्रो ! १६२
163)
गीत, कथा आफ्ना आफ्नै १६३
164)
गीत, बिजुलीको तार १६४
165)
मान्छे भनेको किन ? शार्दूलविक्रीडित छन्द १६५
166)
काँचका चुरा, लोक छन्द १६६
167)
अतिशयोक्ति, शार्दूलविक्रीडित छन्द १६७
168)
गजल, काली नभन्नू धेरै १६८
169)
गलल, काट्छौ कुरा तिमी नै १६९
170)
राष्ट्र कविको सम्झनामा, शार्दूलविक्रीडित छन्द १७०
171)
धैर्यता १७१
172)
मित्रवचन , शार्दूलविक्रीडित छन्द १७२
173)
घर, पञ्चचमार छन्द १७३
174)
बियाडे गरामा, भुजङ्गप्रयात छन्द १७४
175)
शून्य, शार्दूलविक्रीडित छन्द १७५
176)
त्यो अंशको बास खै, शार्दूलविक्रीडित छन्द १७६
177)
गुनासो, इन्द्रबज्रा छन्द १७७
178)
उनैप्रति, मुक्त छन्द १७८
179)
यो स्वार्थ नै धर्म हो, शार्दूलविक्रीडित छन्द १७९
180)
देश नेपाल बन्छ १८०
181)
अन्तै पुगेँछु, भुजङ्गप्रयात छन्द १८१
182)
रातो सारीमा वैश्यदेवी छन्द १८२
183)
बालक, पादाकुलक छन्द १८३
184)
बाँच्न पाए हुँदो हो, मालिनी छन्द १८४
185)
कामदेव, शार्दूलविक्रीडित छन्द १८५
186)
घाँस काट्दै छु भन्छिन्, मालिनी छन्द १८६
187)
दशैँको किनमेल, भुजङ्गप्रयात छन्द १८७
188)
तिम्रै कृपामा तर, शार्दूलविक्रीडित छन्द १८८
189)
बा आमाको छोराछोरीलाई दशैँको निम्तो, मन्दाक्रान्ता छन्द १८९
190)
I Love you so Much Dear १९०
191)
गीत, नपाएको माया १९१
192)
गीत १९२
193)
गीत, देखाऊँ देखाऊँ लागिराछ १९३
194)
गीत, साँइला साँइली १९४
195)
गीत, हेर्दै हेरिनौ ... १९५
196)
तोटक छन्द र Anapestic Meter मा लेखिएको समभाव, समछन्दको कविता, शीर्षकः भेट १९६
197)
Love १९७
198)
Sonnet, Rhyming pattern - abba abba cde cde १९८
199)
डाक्टर साप ! म फ्याट्ट त मर्दिन होला नि है ? १९९
200)
लिमेरिक खालको छ अक्षरी कविता २००
201)
सङ्गत, शार्दूलविक्रीडित छन्द २०१
202)
हेमन्त वर्णन, दिक्पाल छन्द, प्र नि अ बाट २०२
203)
म नै रहन्छु साथमा, पञ्चचामर छन्द २०३
204)
त्यो सच्चिदानन्दको, शार्दूलविक्रीडित छन्द २०४
205)
बाँचेको यदि भैदिए... शार्दूलविक्रीडित छन्द २०५
206)
गजल, रमेकै थिइन्,भुजङ्गप्रयात छन्द २०६
207)
चेलीको आशिष्, इन्द्रबज्ज्रा छन्द २०७
208)
गुरु होम सुवेदीको शीर्षकमा, कुसंस्कारको पाठशाला हुँदैन २०८
209)
तिहार २०७७, मालिनी छन्द २०९
210)
के सक्छु खै ज्यूँन र ! शार्दूलविक्रीडित छन्द २१०
211)
मेरा कविता, स्वतन्त्र छन्द २११
212)
यमराजको आग्रह, शार्दूलविक्रीडित छन्द २१२
213)
दिदीको पुकार, शार्दूलविक्रीडित छन्द २१३
214)
गर्भमै मर्न पाऊँ , मन्दाक्रान्दा छन्द २१४
215)
पार्टी फुटाऊ अब, शार्दूलविक्रीडित छन्द २१५
216)
सुरम्य छिन् वसुन्धरा, पञ्चचामर छन्द प्र नि अ बाट २१६
217)
वियोग, वियोगिनी छन्द २१७
218)
काट्दै छु यो जिन्दगी, शार्दूलविक्रीडित छन्द २१८
219)
बलात्कार रोकौँ , शार्दूलविक्रीडित छन्द २१९
220)
छोरो मजस्तै छ रे, शार्दूलविक्रीडित छन्द २२०
221)
बिर्सना, अनुष्टुप् छन्द २२१
222)
गजल, छ शंका मलाई, भुजङ्गप्रयात छन्द २२२
223)
स्वर्गमा पस्न पाऊँ, मन्दाक्रान्ता छन्द २२३
224)
आग्रह, वियोगिनी छन्द २२४
225)
घरफल, रथोद्धता छन्द २२५
226)
म बस्दछु, द्रुतविलम्बित छन्द २२६
227)
लेखून् कि राखून् अरू, शार्दूलविक्रीडित छन्द २२७
228)
शतश्लोकी पिता, भुजङ्गप्रयात छन्द २२८
229)
पञ्जा, शार्दूलविक्रीडित छन्द २२९
230)
दैवज्ञ सम्झिन्छु म, शार्दूलविक्रीडित छन्द २३० (यहाँसम्म प्रिन्ट
भई सकेको)
231)
रक गीत २३१
232)
बिर्सिनुस् है भरे, स्रग्विणी छन्द, २३२
233)
रचना, भुजङ्गप्रयात छन्द २३३
234)
महेशको
... गीत, पञ्चचामर छन्द, २३४
235)
रचना, भुजङ्गप्रयात छन्द २३५
236)
शब्द र जिन्दगी, भुजङ्गप्रयात छन्द २३६
237)
टु माइ भ्यालेन्टाइन ! मन्दाक्रान्ता छन्द २३७
238)
यस्तो मुला के कवि ! शार्दूलविक्रीडित छन्द २३८
239)
गजल, भुजङ्गप्रयात छन्द २३९
240)
बाँकी अरू के छ र, शार्दूलविक्रीडित छन्द २४०
241)
सास, शार्दूलविक्रीडित छन्द २४१
242)
जोसँग सम्बन्धित छ, शार्दूलविक्रीडित छन्द २४२
243)
पाऊँ म तातो कहाँ, शार्दूलविक्रीडित छन्द २४३
244)
लाग्दैछ आजै मरूँ ! शार्दूलविक्रीडित छन्द २४४
245)
कवि र कविता, अनुष्टुप् छन्द २४५
246)
रचना, भुजङ्गप्रयात छन्द, २४६
247)
बूढो भएँ के गरी ? शार्दूलविक्रीडित छन्द, २४७
248)
देखाउला के मुख ?! शार्दूलविक्रीडित छन्द, २४८
249)
सञ्चले बाँच आज ! मन्दाक्रान्ता छन्द, २४९
250)
भू स्वर्गको जीवन, शार्दूलविक्रीडित छन्द २५०
251)
सरस्वती वन्दना, इन्द्रबज्ज्रा छन्द २५१
252)
रचना, दिक्पाल छन्द २५२
253)
हास्यगद्य, मुक्त छन्द, २५३
254)
मान्छे बनाई नदे ! २५४
255)
पञ्चचामर छन्द रचना, २५५
256)
नोस्टाल्जिया, २५६
257)
प्रेमको रङ्गशाला, २५७
258)
सीताको गुनासो, २५८
259)
ऐना झुटो यो किन ? २५९
260)
आकाश, २६०
261)
७७ को होली, २६१
262)
भुजङ्गप्रयात छन्द रचना, २६२
263)
पर्दै नपर्नू भर ! शार्दूलविक्रीडित छन्द २६३
264)
उज्यालो मन ! मदिरा छन्द, २६४
265)
टाटा नगर्नू अब, शार्दूलविक्रीडित छन्द, २६५
266)
हो ब्रह्मको विम्ब म ! शार्दूलविक्रीडित छन्द २६६
267)
चौतारो ! शार्दूलविक्रीडित छन्द २६७
268)
Not your Hay! २६८
269)
त्यो शैव हो वास्तव ! शार्दूलविक्रीडित छन्द २६९
270)
जोडी, शिखरिणी छन्द २७०
271)
गाउँको ब्यथा, शार्दूलविक्रीडित छन्द, २७१
272)
गीत, दिक्पाल छन्द २७२
273)
रचना, भुजङ्गप्रयात छन्द, २७३
274)
मान्छे २७४
275)
खुसी, भुजङ्गप्रयात छन्द रचना २७५
276)
चिठी २७६
277)
यी हुन्, वसन्ततिलका छन्द २७७
278)
संस्कार, २७८
279)
कविको मृत्युचक्र, २७९
280)
साटौँ आज बराबर ! २८०
281)
दिक्पालमा चार श्लोक, २८१
282)
कि कालकै म चित्र हुँ ? २८२
283)
पानी अचाऊ कि त, २८३
284)
पूजा, २८४
285)
होस् जोसुकै साथमा ! २८५
286)
द्रुतविलम्बित छन्द रचना, २८६
287)
बाल कविता, सबाई छन्द, २८७
288)
तोटक छन्द रचना, २८८
289)
कलाकारहरूसँग निवेदन, २८९
290)
आजै तयारी बस, २९०
291)
म, २९१
292)
पाठकको डर, २९२
293)
पुकार, २९३
294)
भेट गर्ने छ धोको, २९४
295)
दोहोरी, २९५
296)
मातृ वन्दना, २९६
297)
बाल कविता इन्द्रबज्ज्रा, २९७
298)
हुँदो हो, २९८
299)
छिमेमीको कथा, २९९
300)
यो परीक्षा नलेऊ, ३००
301)
नमारी हुँदैन, ३०१
302)
पानी दिइन् प्रियाले, ३०२
303)
ह्याप्पी बडे, ३०३
304)
दिक्दारीपन, ३०४
305)
नयाँ घाम, ३०५
306)
बिक्रीमा, ३०६
307)
रावणराज, ३०७
………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………
श्री हरि, शार्दूलविक्रीडित छन्द १
पूर्वै जन्म कता कता बितिगयो थाहा हुने के गरी ।
अर्को जन्म त हुन्छ हुन्न यसरी बित्नेछ झन् के गरी ।
यो वेला यसरी बसेर घरमा सोच्दैछु धेरै घडी ।
के के हो ? अथवा म को छु अहिले, को हो म भन्द्यौ हरि ।१
बच्चो बालक काखमा तनतनी त्यो दूध चुस्तो भएँ ।
कान्छो हो सबको र भाइ घरको नाङ्गो भुतुङ्गो थिएँ ।
भान्जो, नाति, पनाति, पुत्र बनिदै नाचेँछु धेरै घडी ।
के के हो ? अथवा म को छु अहिले, को हो म भन्द्यौ हरि ।२
विद्यार्थी बनिदा र साथीसँगमा नाचेँ रमेँ हर्षमा।
प्रेमी, दाजु, फुपाजु झन् हुन पुगेँ बैँसालु ती वर्षमा ।
काले, चोर भने कुपुत्र, भतुवा भन्थे त नाना थरी ।
के के हो ? अथवा म को छु अहिले, को हो म भन्द्यौ हरि ।३
गोठालो, हलिया, कमाल भरिया, घाँसे र ढाक्रे अनि ।
खेतालो बलियो र लेखक मिठो, नेता र मामा पनि ।
सालो, शिक्षक शान्त, सत्रु सुरिलो भन्थे सबै त्यो घडी ।
के के हो ? अथवा म को छु अहिले, को हो म भन्द्यौ हरि । ४
स्वामी श्री, पति जी, महेश्वर भनिन् अर्धाङ्गिनीले जब ।
राम्रो ज्वाइँ, भिनाजु आदि कहियो बढ्दै गएछन् पद ।
तन्नेरी, कसिलो, जवान, रसिलो बोल्थे नसुन्ने गरी ।
के के हो ? अथवा म को छु अहिले, को हो म भन्द्यौ हरि । ५
जन्म्यो पुत्र ल हेर वर्ष दिनमा पुत्री उसै सुन्दरी ।
बाबा श्री कहिले बुबा भनिभनी खेल्दै र कुद्धै गरी ।
सम्बन्धी भइयो त पुत्रतिरको सम्धी त एकै घडी ।
के के हो ? अथवा म को छु अहिले, को हो म भन्द्यौ हरि । ६
बाबामाथि नयाँ विशेषण थपी, भन्थे हजुर्बा सबै ।
थोते बा, ससुरो, नसे र सुकुटे, ¥याले, सिँगाने अझै ।
भङ्जाहा, झुसिले छ यो कचकचे, सुन्दैछु सुत्ने घडी ।
के के हो ? अथवा म को छु अहिले, को हो म भन्द्यौ हरि । ७
नामै मात्र अनेकका हुनपुगे, सिङ्गो छु है एउटा ।
खुट्टादेखि लिएर माथ शिरमा, लिङ्गो छु है एउटा ।
अण्डाभित्र रही कराइरहने, मात्रै म चल्लो भएँ ।
संस्कारी धनको र मातृ तनको,
मात्रै म डल्लो भएँ । ८
यस्ता जन्म र मृत्यु कर्म गरिँदा, संस्कार धेरै थरी ।
जे जे भन्दछ सो उही समयले, त्यो गर्छु वर्षैभरि ।
बोल्यो आज घडी घुमेर फिरिरी, टिक् टिक् गरी बेस्सरी ।
जन्म्यो यो कविता यही समयमा, सुम्पन्छु है श्री हरि ! ९
बुढो मन र तन्नेरी मन, तोटक छन्द २
जब प्रात भयो अनि घुम्न गएँ ।
नव सूर्य जसै म त चुम्न गएँ ।
पदचाप सुनेँ नजिकै वनमा ।
म त छक्क परेँ र गुने मनमा । १
पछि हेर्छु बसी कसिलो तनकी ।
गुण रूप धनी नवयौवनकी ।
तरुनी पनि घुम्न उसै पथमा ।
मसितै पछि आइपुगिन् वनमा । २
घनजङ्गलको वनबीचमहाँ ।
लहरा रुखमा कति फूल थिए ।
कति श्वेत थिए, कति पीत थिए ।
कति रागहरू अनि गीत थिए । ३
मृदुभाष गरिन् अनि ती युवती ।
“म त जान्छु र टिप्छु” भनेर यति ।
जव फूल टिपिन् कमला करमा ।
तव “लान्छु” भनिन् सब यी घरमा । ४
तव प्रश्न म गर्दछु हे ! सरसा ।
अव उत्तर भन्न यता सर त ।
“कुन फूल छ यो कलिलो रुखको ?
कुन फूल छ यो त बुढो रुखको ?” ५
बटवृक्ष दुई तल फेदतिर ।
सब फूल उही नभ काण्डतिर ।
अलमल्ल परिन् कुन हो कुन हो ।
“म त चिन्दिन है, कुनको कुन हो ।” ६
अनि फूल लिई उनकै करको ।
म त भन्न गएँ अव उत्तर यो ।
“तन जीर्ण भए पनि फूल उही ।
तन यौवनमा पनि फूल उही । ७
जसरी अहिले म फुलेँ वनमा ।
मन फूल फुले रुखका तनमा ।
रुखको, जनको तन हुन्छ बुढो ।
कहिले पनि यो मन हुन्न बुढो ।” ८
(शेक्स्पीयरको दूरान्तरमा आधारित
चौध हरफे सोनेट, शार्दूलविक्रीडित छन्द ) ३
टाढा पश्चिमकी तिमी सुरसिली, यो पूर्वमा बस्छु म ।
आऊ मध्य पहाडका नजिकमा, लौ कम्मरै कस्छु म ।
मेरो फोन म दिन्छु चिन्छु
सहजै, तिम्रो दिनू नम्बर ।
भेटौँला धुलिखेलमा अनि घुमौँ, खावा, बनेपातिर । १
खोजौँ एक सफा छ होटल कतै, या रेस्टुराँ होस् कि त ।
खाऔँ बात गरेर प्रेम सरिका, पक्वान्न व्यवस्थित ।
जाऔँ भित्र पसौँ, बसौँ नजिकमा, गोडा पखालौँ अब ।
पुछौँ हात रुमालले मुख सबै, डेरा बसालौँ अब । २
एक्लै मात्र भयौँ सधैँ, अब दुई, वेकार कन् कन् कति ।
इच्छा चाह सबै सबै बुझिलियौँ, तिम्रा र मेरा जति ।
अर्काले अब हेर्छ देख्छ उसले, ढोका नखोलौँ अब ।
भित्ताको पनि कान हुन्छ
मुसुरी, बोल्दै नबोलौँ अब । ३
साटौँ यी गहना र दीव्य रचना, झंकार गाना बजोस् ।
आत्मा यो अब शान्त होस्
मनमनै, ॐकार यो गुन्जियोस् । ४
कोरोना र भ्रष्टाचार,
शार्दूलविक्रीडित छन्द ४
चोरी गर्न रमाउने मनमनै, हे चोरका खन्ति हो !
धोक्रो भर्न समाउने दिनदिनै, हे लोभका कन्ति हो !
आफ्नो धर्म हराउने छिनछिनै, हे कालका गन्ति हो !
आफ्नै भर्न कमाउने प्रतिपलै, हे भ्रष्टका जन्ति हो ! १
रोटी गुन्द्रुक भात खीर
पसिना, विस्टा तिमी चिन्दछौ ?
पृथ्वी भानु र बुद्ध राम सबका, निष्ठा तिमी चिन्दछौ ?
घुस्याहा अनि नीतिहीन जनको, हुदैन उँभो गति ।
पुस्ता सात भरी थुपार पनि लौ, आउन्न तिम्रो मति । २
लज्जाहीन चरीत्र छ्या !
रगतको, टाटो पखाल्नू अब ।
ब्वाँसो स्याल जुका र गिद्ध
सरिको, बाटो सपार्नू अब ।
ठूलो भुँडि छ भर्नु पर्दछ
भनी, आफ्नै जिमी बेच्दछौ ।
तिम्रो आयु म किन्छु आज अब
लौ,खै मूल्य के तोक्दछौ? ३
सिङ्गो राष्ट्र हरेर आफ्नु
गर लौ, लंका बनाऊ तिमी ।
यौटा वानर भस्म गर्छ सहजै, रोएर बस्नू तिमी !
यस्तै वानर एक आई अहिले, मार्दैछ पृथ्वीभरि ।
यो बेला पनि भ्रष्ट कर्म गर
लौ, आनन्द मान्लान् हरि ! ४
अर्को नलेख्ने अब, शार्दूलविक्रीडित छन्द ५
के पढ्छौ कविता विनारस पिई, बेकार पढ्छौ तिमी
।
फोस्रो वीजसरी अनाज नहुने, निस्सार बन्छौ
तिमी ।
तिम्रै रूप र विम्ब छन् मन
भरी, यी शब्दमा प्राण छन् ।
तातो सास म फेर्छु शब्द सबमा, तिम्रा यहाँ गान
छन् । १
देख्छौ मात्र विशुद्ध एक कविता, भन्छौ बडो सुन्दर
।
तिम्रै निम्ति म भाव पोख्छु
यिनमा, पढ्छौ तिमी अक्षर ।
छान्दै शब्द मिठा म पोख्छु
मनको, यो प्रेम झन् कञ्चन ।
मेरो प्रेम फगत् जलेर सकियो, आगोजसै दन्दन । २
तिम्रो तस्बिर चित्र लेख्न
सजिलो, हेर्दै छु तिम्रै प्रिया ।
मेरा यी कविता सबैतिर तिमी, मात्रै तिमी छौ
प्रिया ।
आफैँ नै अब देख्दिनौ यदि भने, मेरा कविताभरि ।
यो प्रस्ताव बुझेर पढ्न नसके, लेखूँ म खै के
गरी । ३
एक्लै बात मिठा गरेँ दिनदिनै, त्यो चित्र हेरेँ
कति ।
न्यानो प्रेम भरी दुरुस्त
मुटुको, प्रस्ताव राखेँ कति ।
आऊ भेट्न भनेँ कुनै समयमा, होस् होस् भन्यौ
तर्कियौ ।
बोली सुन्न भनेर सामु उभिएँ, अन्तै कतै
फर्कियौ । ४
बौलाहा म भएँ कुनै पनि कुरा, बुझ्नै नसक्ने
भएँ ।
ती इच्छा मनका मरी म टुहुरो, बाँच्नै नसक्ने
भएँ ।
यो हो अन्तिम प्रेमयुक्त
कविता, धर्को नलेख्ने अब ।
तिम्रा निम्ति भनेर प्रेम कविता, अर्को नलेख्ने अब
। ५
द्यौताको गीत, भुजङ्गप्रयात छन्द ६
यहाँ जाम हुन्थ्यो, यहाँ लाम हुन्थ्यो ।
यहाँ पाठ पूजा, यहाँ धाम हुन्थ्यो ।
बिहानै सबेरै उठी नेत्र खोल्दा,
कुना कन्दरामा, यहाँ राम हुन्थ्यो ।
नशा राम सीताहरूको भएमा,
सबै मास बैशाखको याम हुन्थ्यो ।
न नैवेध्य दिन्छन्, न पानी छ खान,
दुबै साँझ मेरो, यही माम हुन्थ्यो ।
मरेछन् कि मान्छे, सुते झिस्मिसेमै ?
यहाँ शंख घण्टादिको साम हुन्थ्यो ।
डराए कि क्या हो, कि आस्था हरायो ?
हिजो अस्तिसम्मै, यहाँ काम हुन्थ्यो ।
पाउँदैनौ र बस्न, मालिनी
छन्द ७
रवि किरण उषामा, शीत थोपाहरूले ।
समय समय लुक्ने चन्द्र
आभाहरूले ।
नव दिन जब जाग्दा पोख्दछन्
एक प्रश्न ।
प्रियसँग नजिकै नै पाउँदैनौ
र बस्न ? १
वरपरतिर डुल्दा फुत्त
झाडीहरूमा ।
रनवन सब घुम्दा भीर
पाखाहरूमा ।
कुहु कुहु कुहु गर्दै कोयली
गर्छ प्रश्न ।
प्रियसँग नजिकै नै पाउँदैनौ
र बस्न ? २
चिरबिर चिर गर्दै भुर्र
उड्ने भँगेरी ।
मकमकमक गर्दै घुर्र घुर्ने
परेवी ।
जब म नजिक देख्छन् गर्दछन्
एक प्रश्न ।
प्रियसँग नजिकै नै पाउँदैनौ
र बस्न ? ३
सर सर सर चल्ने सिर्सिरे
त्यो बतास ।
तनवदन छुँदै यो प्राण भर्दै
छ खास ।
खुस खुस खुस गर्दै कानमा
गर्छ प्रश्न ।
प्रियसँग नजिकै नै पाउँदैनौ
र बस्न ? ४
मुटु नजिक कलेजो भित्र छन्
यी छिमेकी ।
हरपल गफ गर्छन् मित्र झन् यी
विवेकी ।
ढुक ढुक मुटु गर्दै सोध्छ यो
आज प्रश्न ।
प्रियसँग नजिकै नै पाउँदैनौ
र बस्न ? ५
चेस, अनुष्टुप्
छन्द ८
कोठीको खेल यो हाम्रो, को नै यो चाल पाउँछ .
सोझासाझा जनता ती, को नै पो भित्र आउँछ . १
आऊ लौ कोठीमा आज, चौसठ्ठी स्थानमा रही ।
एकान्तमा बसौं हामी, आऊ नाचौं रमी रमी । २
सीपाही टन्न छन् योद्धा, राखौँला अग्र पङ्तिमा ।
आठ तिम्रा मेरा आठ, सोह्रै छन् यिनी गन्तिमा । ३
श्यामश्वेत बरण्डामा, युद्ध गर्छन् ती रक्षक ।
भित्र लुकेर कोठीमा, साटौँला प्रणय रस । ४
उँट छन् हात्ती, घोडा छन्, चढौँला यिनमा मिली ।
लाज के यिनका माझ, चालौं दाउ दुवै मिली । ५
एउटा अस्त्र मेरो छ, अर्को शस्त्र तिमीसँग ।
जित वा हारको स्वाद, फेरौँ आजै मजासँग । ६
अहिले बन्छु म राजा, रानी बन्नू तिमी पनि ।
चाल जो गर्दछु मैले, उस्तै चाल उता तिमी । ७
मर्ने, मार्ने र लड्ने जो, मरेर गैसके तर,
बन्दी तिम्रो म बन्दैछु, इच्छा जो छ पूरा गर । ८
सल्लाह, भुजङ्गप्रयात छन्द ९
नयाँ वर्षमा लौ, कतै जानुहोला ।
नखाने कुरा त्यो, कतै खानुहोला ।
बिरामी भएका, भयै छन् त मान्छे,
बटारेर खुट्टा, कतै लानुहोला ।
दही, दूध, नौनी र मोही यहाँ छ,
विदेशी मिलेमा, कतै तान्नुहोला ।
चना, आलु, तामा, यतै छन् प्रसस्त,
खसी मासु काँचो, कतै छान्नुहोला ।
अघाएर हिँड्दा, र मातेर हिँड्दा,
मीठो गोल यौटा, कतै हान्नुहोला ।
नयाँ वर्ष, भुजङ्गप्रयात छन्द १०
उही चाल देख्दा, नयाँ वर्ष के को ?
उही हाल देख्दा, नयाँ वर्ष के को ?
जहाँ जे गरौं लौ, यहाँ मृत्यु पक्का,
उही काल देख्दा, नयाँ वर्ष के को ?
पुरानै छ खाँबो, पुरानै छ डोरी,
उही पाल देख्दा, नयाँ वर्ष के को ?
दुखेको दुख्यौ
गर्छ, उस्तै छ घाउ,
उही ताल देख्दा, नयाँ वर्ष के को ?
खडेरी उही हो, र वर्षा उही हो,
उही छाल देख्दा, नयाँ वर्ष के को ?
गायत्री छन्दमा, नेपालस्तुति ११
ॐ भूर्भुवः स्वः, तत्सवितुर्वरेण्यम्, भर्गोदेवस्यधीमहि, धियोयोनः प्रचोदयात् !
हे ! चन्द्र
सुर्जे, स्थूल ग्रहादि तारा, घुम्ने जम्मै मिली अब, भनौँ नेपालको जय ! १
हे ! श्रुति
चारै, स्मृति र अन्य गीता, सुन्ने जम्मै मिली अब, भनौँ नेपालको जय ! २
हे ! तत्त्व
पाँचै, धर्म दया र श्रद्धा, मिल्ने जम्मै मिली अब, भनौं नेपालको जय ! ३
हे ! देवदेवा, मानव भूत प्राणी, हिँड्ने जम्मै मिली अब, भनौँ नेपालको जय ! ४
हे ! सूक्ष्म
काया, जीव अजीव छायाँ, उड्ने गुड्ने मिली अब, भनौँ नेपालको जय ! ५
हे ! काल आत्मा, नित्य अनित्य ॐ श्री, आस्था बोकी मिली अब, भनौँ नेपालको जय ! ६
ॐ भूर्भुवः स्वः, तत्सवितुर्वरेण्यम्, भर्गोदेवस्यधीमहि, धियोयोनः प्रचोदयात् । (गगलगग, गललगलगग, गगगगलगलल, लगगगलगलग)
लोग्नेको बिलाप, शार्दूलविक्रीडित छन्द १२
हानी वाण तिखा छुरा वचनले, के बाँच्न दिन्थ्यौ तिमी ।
स्वस्थानी व्रत नित्य वर्ष दिनमा, के मर्न दिन्थ्यौ तिमी ।
तिम्रो दास भई सरक्क निहुरी, यो देह मर्ने भयो ।
औँठी एक भिरेर मख्ख म परेँ, नत्थी भयो औँठी यो । १
तिम्रो त्यो तनमा लुपुक्क म गरूँ, के गर्न दिन्थ्यौ तिमी ।
अर्कीको मनमा सुटुक्क म सरूँ, के सर्न दिन्थ्यौ तिमी ।
साँढे त्यो दिन रात उँग्छ जसरी, पस्दैन ऊ मन्दिर ।
द्यौता भित्र तिमी भयौ म त भएँ, बस्ने सधैँ बाहिर । २
हिँड्दा बाहिर हाँस्नु पर्दछ सदा, त्यो मुर्तिझैँ काठको ।
बस्दा यो घरभित्र नाच्दछु सदा, तिम्रै इसारा छ जो ।
पंखा हुन्छु र घुम्छु फन्फन गरी, के निभ्न दिन्थ्यौ तिमी ।
बत्ती धिप्धिप गर्छ बल्न मनको, के बल्न दिन्थ्यौ तिमी । ३
गाँठो गिँड्न म थाल्छु यो लगनको, के गिँड्न दिन्थ्यौ तिमी ।
बाँधी पाउ र हात यो वदनको, के हिँड्न दिन्थ्यौ तिमी ।
माछो बाल्टिनमा छ बाँच्छ कति हो, निस्सार निस्सार छ ।
ज्यूँदो लास भएर जीवन गयो, धिक्कार धिक्कार छ । ४
पियारी पियारा, भुजङ्गप्रयात छन्द १३
यता छिन् पियारी, उता छन् पियारा ।
दुबै नेत्र भिज्छन्, बगी अश्रुधारा ।
भयो बीचमा व्याधिको भेल ठूलो,
दुबै हिँड्न खोज्छन्, किनारै किनारा । १
छ यो व्याधि कालो, छ यो भाइमारा ।
रुवाएर मार्ने, भयो प्रेममारा ।
उडी प्रेमिका भेट्न को सक्छ आज,
जता हिँड्न खोज्यो, तगारै तगारा । २
कता पुँजिवादी, कता सर्वहारा ।
नहेरी उही फ्याँक्छ लौरा झटारा ।
मिली बस्न पाए, दुबै हर्ष हुन्थे,
बनी एक अर्को, दुबैको सहारा । ३
हटी दे हटी दे, र खोल्दे तगारा ।
बनी एक नौका, तँ जोड्दे किनारा ।
दुबै भेट्न पाउन्, मिठो गीत गाउन्,
खुशी हुन् पियारी, खुशी हुन् पियारा । ४
नारी, शार्दूलविक्रीडित छन्द
१४
नारीका कविता म लेख्नु कसरी, के बुझ्छु नारी म खै ।
अर्काको अनुमान गर्नु कसरी, के देख्नु के लेख्नु खै ।
धेरै यत्न गरेँ, म बुझ्दिन कठै, नारीहरूका कुरा ।
खै के लेख्नु यहाँ थुपारिकन
झन्, यी शब्दका टाकुरा । १
सानामा जतिखेर बालक हुँदा, कस्तो थियो त्यो मन ।
के गर्दा तब बालिका हुन
पुग्यौ, हे बालिका लौ भन ।
बढ्दामा कसले भन्यो र पहिले, केटी तिमी हौ भनी ।
कस्तो भान भयो उही बखतमा, के सोच्न थाल्यौ अनि । २
केके खेप्नु प¥यो शरीर अझ झन्, भारी भएको दिन ।
के देख्यौ ऋतुमासमा वदनमा, नारी भएको दिन ।
कस्तो चाहत प्रेमको हुन गयो, त्यो वैँस आयो कहाँ ।
के के बात भन्यौ र के मनमनै, मा¥यौ लुकायौ भन । ३
केका निम्ति भनेर माइत सबै, छोडी गयौ आखिर ।
आफ्नै सृष्टि बुझेर रच्न
अथवा, संभोगका खातिर ।
अर्को वीज लिएर गर्भ रहँदा, कस्तो थियो कल्पना ।
जम्मै त्यो अब सम्झ सम्झ भन
लौ, बाँकी भए सम्झना । ४
बेथा अन्तिममा पुगेर सहँदा, रोयौ कि हाँस्यौ कि न ।
केके त्यो मनमा थियो भन तिमी, आमा भएको दिन ।
सारा भाव समेट भित्र मनका, जम्मै तिमी पोख न ।
नारीका कविता बरु अब सधैँ, आफैँ तिमी लेख न । ५
तिम्रा भाव दुरुस्त पढ्न म
सकूँ, नारी चिनूँ आज म ।
नारीका सब शब्द छान गतिला, नारी सुनूँ आज म ।
तिम्रो वर्णन के गरुन् पुरुष
यी, बेकार कन्छन् उसै ।
नारी शीर्षकमा सुकाब्य रसिलो, लेख्दै छु भन्छन् उसै । ६
लेख् न भन्छन्, भुजङ्गप्रयात छन्द १५
जसो मान्दछस् सो उसै लेख् न
भन्छन् ।
जसो जान्दछस् सो उसै लेख् न
भन्छन् । १
चुलो बल्न छोड्ला नि मेरो म
भन्छु ।
निभेको चुलो नै अझै लेख् न
भन्छन् । २
पढी प्रेमका गीत को रुन्छ
भन्छु ।
छुटेको उही प्रेम नै लेख् न
भन्छन् । ३
रुदैँ रित्तिएँ प्रीत नै छैन
भन्छु ।
झरेको उही आँसु नै लेख् न भन्छन्
। ४
कता ह्रस्व दीर्घादिको सूत्र
भन्छु ।
मरोस् पद्य यो गद्य नै लेख्
न भन्छन् । ५
यता देवको रूप देखिन्न भन्छु
।
नदेख्ने उही कृष्ण नै लेख् न
भन्छन् । ६
नबोक्लान् कुनै शब्दले अर्थ
भन्छु ।
विना अर्थको जिन्दगी लेख् न
भन्छन् । ७
च्यातेर फाल्दे बरु, शार्दूलविक्रीडित
छन्द १६
सादा कागजमा सिसाकलमको, धर्को भयो जिन्दगी ।
त्यो धर्को पनि देख्न नै
नसकिने, चर्को भयो जिन्दगी ।
लेखेको पनि हो कि होइन कतै, झर्को भयो जिन्दगी ।
मेरै हो अथवा कि होइन अहो, अर्को छ यो जिन्दगी । १
हेर्दै बस्छु तथापि देख्दिन
कतै, रेखो यहाँ एउटा ।
छैठीमा पनि बिर्सिएछ कि कसो, भन्दे न ए देउता ।
लेखेको यदि भैदिए कलमले, बस्थेँ पढी आज म ।
आफ्नो जीवन अन्तसम्म पहिले, हेर्थेँ बसी आज म । २
मेरा कागजमा यहाँ समयका, धर्साहरू भेटिए ।
ती धर्सा पनि आज देख्दिन सबै, आधाउधी मेटिए ।
आधा जीवन आज पार भइयो, आधा छ बाँकी अब ।
सादा कागज भित्र बाहिर सबै, सादै छ जम्मै सब । ३
यौटा आस पलाउँदा हृदयमा, टुक्रिन्छ अर्को उता ।
टुक्रो आस पिरोल्छ रात दिनमा, डुक्रिन्छ अर्को उता ।
मारी आस अगाडिका कति बसूँ, खोजूँ म अर्को कहाँ ।
सादा कागजमा मसी सहितको, खोजूँ म धर्को कहाँ । ४
यौटा बिन्दु फगत् छ जन्म
तिथिमा, त्यो मृत्युको बिन्दु खै ?
बाङ्गो होस् अथवा सिधा सरल
होस्, रेखात्मकी सिन्धु खै ?
तेरो कागजको महत्त्व नभए, आनन्द हुन्थ्यो बरु ।
कुच्याई गुजुमुज्ज पार् कि
अथवा, च्यातेर फाल्दे बरु । ५
आजको अर्ति, अनुष्टुप् छन्द १७
पृथ्वी घुम्दा तिमी घुम्छौ, दुबैमा के छ अन्तर ।
दुबै स्थूल दुबै पीण्ड, दुबै घुम्ने निरन्तर । १
पृथ्वी तातो भए तिम्रो, पसिना छुट्छ माथमा ।
पृथ्वी चिसो भए तिम्रो, वस्त्र न्यानो छ साथमा । २
वर्षिन्छ जल पृथ्वीमा, आकासबाट तल्तिर ।
जति खाऊ तिमी पानी, पिसाब झर्छ तल्तिर । ३
भैँचालो जान्छ पृथ्वीमा, तिमी लर्खर गर्दछौ ।
स्थिर हुन्छ जसै पृथ्वी, बाँच्ने तर्खर गर्दछौ । ४
उज्यालो हुन्छ पृथ्वीमा, तिम्रा आँखा स्वतः खुले ।
जसै रात भयो फेरि, निद्रामा अब चिम्लिए । ५
उम्रन्छन् बीज नौला यी, पृथ्वीमा कति ओखती ।
उब्जन्छन् सोच नौला यी, तिमीमा कति हो कति । ६
पृथ्वीभित्र अनेकौँमा, जन्तु छन् जीव जीवन ।
धेरै कोष तिमी भित्र, तन्तु छन् अब ती गन । ७
पृथ्वीको केन्द्र तातो छ, तिम्रो मुटु ल छाम न ।
नसा खोला भए जस्तै, हड्डी ढुङ्गो ल मान न । ८
हेर तिम्रो शरीरैमा, वायु छ भित्र बाहिर ।
अनेकौँ प्राण वायु छन्, पृथ्वीको भित्र बाहिर । ९
पृथ्वीमा जति जे जे छन्, तिमीमा सब मिल्दछ ।
तिमीमा जति जे जे छन्, पृथ्वीमा सब मिल्दछ । १०
उत्पत्ति हुन्छ पृथ्वीको, तिम्रो जन्म भएसरि ।
छ नाशवान् यही पृथ्वी, आयु घट्छ सधैँभरि । ११
पृथ्वी बाँच्यो तिमी बाँच्यौ, दुबै बाँच सदा सदा ।
तिमी मर्यौ भयौ लास, पृथ्वीमै मिल्दछौ सदा । १२
जस्तो पृथ्वी तिमी उस्तै, ठ्याक्कै प्रभाव पर्दछ ।
भलो वा कुभलो सोच, उस्तै प्रभाव पर्दछ । १३
एउटा ग्रहको मात्र, यत्रो चिज मिलेपछि ।
नौवटा ग्रह छन् जम्मा, होला कस्को त के गति । १४
देख्दछौ सुर्य पृथ्वी यी, चन्द्र तारा उतातिर ।
हेर्छौ तिमी सबै पीण्ड, पीण्ड हेर्छन् तिमीतिर । १५
जे गर्छन् यिनले गर्छन्, तिमी स्रष्टा नबन्नू है ।
जे सोचेको थिएँ मैले, त्यो पुगेन नभन्नू है । १६
छन्द दीवस, शार्दूलविक्रीडित
छन्द १८
तिम्रो त्यो मुटु छाम
ढुक्ढुक गरी, यो छन्दमा चल्दछ ।
फोक्सो त्यो पनि गर्छ
फुस्फुस उसै, यो छन्दमा चल्दछ ।
बोक्दै प्राण र वायु श्वास
नलिले, यी छन्दमा चल्दछन् ।
बोकी हिँड्छ नसा नसा रगतको, यी छन्दमै बग्दछन् । १
उठ्यो रीस सनक्क वेग बदली, हुंकार यो छन्द हो ।
गर्दा ध्यान प्रशान्त शुद्ध
मनमा, ॐकार यो छन्द हो ।
हाँस्यौ खित्खितले कुनै
समयमा, यो छ्न्द सङ्गीत हो ।
वा रुन्छौ अब सुँक्क सुँक्क
मनमा, यो छन्दको गीत हो । २
हावा नै बुझ छन्द हो जगतमा, आवाज फेर्दो हुने ।
हावा नै सब शव्द हो भुवनको, यो पिङ्गलाले सुने ।
टिप्दै टप्टप शव्द वायु
बटुली, ब्रह्माण्डमा छन् जति ।
लेखे शास्त्र र छन्द सूत्र
यिनले, पढ्छौँ रमाई अति । ३
भाषा अक्षर ह्रस्व दीर्घ
गणना, यो छ्न्द नै होइन ।
मिल्नै पर्छ अरे सबै गणहरू, यो बन्धनै होइन ।
पानी दर्दर पर्छ विश्व जगमा, यो छन्दमा छैन र ?
मौरी भुन्भुन गर्छ फूल जतिमा, के छन्दमा हैन र ? ४
मेरो मृत्यु र म, भुजङ्गप्रयात छन्द १९
गरी सकाम देशमा, हिरिक्क भै मरेँ भनेँ,
हिमाल फेद, तल्तिरै, पहाडमा रहन्छु म ।
गरेर कर्म देशमा, हपक्क भै मरेँ भनेँ,
मदेस फाँट, मास्तिरै, चुरेतिरै रहन्छु म । १
झरेर आँसु नेत्रमा, दुखी भई मरेँ भनेँ,
कुवा र पोखरी बनी, नदीसरी बहन्छु म ।
खुसी भएर प्राण यो, मुसुक्क भै मरेँ भनेँ,
पलाँस पात पातमा, गुराँसमा रहन्छु म । २
म खेतमा र टारमा हलो सँगै
मरेँ भनेँ ।
बिहान
साँझ बेलुका म गाँसमा रहन्छु म ।
पखेरु, भीर, पातमा र झारमा मरेँ भनेँ ।
पराल, माच, गोठमा र घाँसमा रहन्छु म । ३
कुबुद्धिले मरेँ भनेँ, कुपुत्र देशद्रोहझैँ,
सुबुद्धिले मरेँ भनेँ, सुपुत्र भै सपूतझैँ,
जसो गरी र जे गरी, जतासुकै मरूँ तर,
बनूँ म भूत प्रेत नै, स्वदेशमै रहन्छु म । ४
हजार मृत्यु पार हुन्, र जन्म हुन् नयाँ नयाँ ।
प्रदेश सात भित्र नै, यतै कतै रहन्छु म ।
निशान चन्द्र सूर्यको, छ माथ उच्च होस् जहाँ,
त्यहाँ गएर खोज है, समीपमै रहन्छु म । ५
मच्छर, शार्दूलविक्रीडित छन्द २०
छि¥यौँ चट्ट दुई जना समयमै, कोठा स सानो थियो
।
निभ्यो मैन र अन्धधुन्ध भइयो, संसार कालो भयो ।
टाँग्यौँ त्यो झुल हत्त पत्त जसरी, सुर्केर डोरी पर ।
बे–कामी भइयो यही बखतमा, के काम बाँकी छ र । १
गर्मीमा अब वस्त्र
खोल्नु छ भनी, गर्दै थियौँ तर्खर
।
सानो एक दुलो थियो झुलतिरै, आए दुई मच्छर ।
एकै स्वर गरी गरी घरिघरी, यी बात गर्छन् दुबै ।
बेलेझैँ पनि गर्दछन् टिनिनिनी, यी मस्ति गर्छन् खुबै । २
यौटा टोक्छ
किटिक्क कान तिरमा, अर्को त गालातिर ।
उड्दै जान्छ सुलुत्त फेरि सहजै, टोक्दो छ छालातिर ।
मारौँ मच्छर यी भनी सकसले, हान्यौं दुबै हातले ।
गर्छौं प्याट्ट र पुट्ट रात भरमा, के मर्छ यो तालले । ३
धेरै बेर अबेर रात
भर नै, यस्तै भयो हालत ।
चुस्नैसम्म चुसे, डसे बल गरी, निभ्दै गयो चाहत ।
छोडे टोक्न अबेरमा वदनमा, विश्राम भो, बन्द भो ।
जे जे भो जति भो र जे हुनु भयो, आनन्द आनन्द भो । ४
पल्लो घरको ढोका, शार्दूलविक्रीडित छन्द २१
मेरो झ्याल म
खोल्छु देख्छु नजिकै, त्यो काठले
निर्मित ।
मान्छेका पसिना र खून जतिले, जन्म्यो, भयो सिर्जित ।
खुल्ला हुन्छ र बन्द हुन्छ कहिले, ढोका उही हो तर ।
मान्छे भित्र र बाहिरै घरिघरी, ढोका छ एक्लै पर । १
पुत्री एक थिइन्
उही घरमहाँ, बिहे गरिन् भर्खर ।
ढोका गर्छ बिदा पराइ घरमा, जाउन् भनी तर्खर ।
छोरो एक थियो बिहे गरिलियो, पोहोरको सालमा ।
ढोका स्वागत गर्छ ती वरवधू, उस्तै उही तालमा । २
जन्म्यो नाति ल
हेर वर्ष दिनमा, ढोका छिरी ऊ गयो ।
बामे सर्छ र खेल्छ द्वारतिर नै, यो मित्रझैँ भैगयो ।
वृद्धा एक थिइन् हिजो बितिगइन्, संघार खुल्ला भयो ।
ल्याए बाहिर लास आँगनतिरै, ढोका उदाङ्गो भयो ।३
ढोका हेर्छु बसेर
नित्य घरमा, ढोका म हुन्छु स्वयम् ।
ढोकाझैँ म छु हेर आज जगमा, खुल्ला र बन्द स्वयम् ।
आउन् जो जति दुष्ट, साधुजन ती, जाउन्, बसून् के छ र ।
ढोका तुल्य बनेर बस्छु म सधैँ, जे गर्न सक्छौ गर । ४
मुख्य समाचार, शार्दूलविक्रीडित छन्द २२
यौटा पढ्छ
प्रकाण्ड बन्छ सहजै, “विद्वान् म हो ” भन्दछ ।
टुक्काराम त भन्छ सञ्च दिलले, “बेकाम यो बन्दछ ।”
अर्को भन्छ प्रचण्ड बेग बलले, “मैले गरेँ जे गरेँ, ।
फाली राज र तन्त्र यो मुलुकमा, संघीयता जो भरेँ” । १
अर्को गर्छ हतार
द्रव्य लिनमा, पापी छ कालो मन ।
भ्रष्टाचार गरेर घाटतिरमा, लाँदैन है त्यो धन ।
रक्सी खान्छ र जान्छ साँझ पखमा, अर्को “उता छिन्” भनी ।
अर्काकी दुलही लिई दिनदिनै, “मेरी तिमी हौ” भनी । २
अर्को बोल्छ
चिहानबाट नउठी, बेकारमा कन्दछ ।
गीता मन्त्र जपेर बोल्दछ म नै, “श्री विष्णु हो” भन्दछ ।
अर्को बोक्दछ एक बन्दुक उता, “नेपाल मेरो” भनी ।
अर्को हार्छ अठार पल्ट तर ऊ, मान्दैन लाजै पनि । ३
अर्को भन्दछ “लौ फुटौँ अब फुटौँ, आलो न पालो, मरोस् ।”
अर्को भन्दछ “लौ जुटौँ तर सबै, सत्ता यता नै परोस् ।”
यस्ताका मतिले र हीन गतिले, नेपाल के बन्दछ ।
झन् यो व्याधि छ आज यो मुलुकमा, नेपाल यो बन्द छ । ४
नहान्नू मलाई, भुजङ्गप्रयात
छन्द २३
नहान्नू नजान्नू नहान्नू मलाई ,
तिखा ती नजर्ले नहान्नू मलाई ।
भनेकै थिएँ प्रष्ट, प्रष्टै छु आज,
कतै जिस्किएको नठान्नू मलाई ।
म एक्लै यही भीडमा मर्छु आज,
समाएर औँला नतान्नू मलाई ।
कतै जन्म अर्को नयाँ फेरिएला,
तिमी छान अर्कै, नछान्नू मलाई ।
कलि सत्य त्रेता घुमी द्वापरैमा,
कहिँ मित्र तिम्रो नमान्नू मलाई ।
प्रेमिका, तोटक छन्द २४
शशि सूर्य तिमी, जल तेज तिमी ।
नवरूप धरा, वल ओज तिमी ।
वन कुञ्जल कुञ्ज निकुञ्ज तिमी ।
हर सन्त वसन्त प्रशान्त तिमी । १
अभिमान र शान र मान तिमी ।
सब दान मुहान बिहान तिमी ।
सब सञ्च बिसञ्च प्रपञ्च तिमी ।
अविदीर्ण अजीर्ण सुवर्ण तिमी । २
नवशीर्षक काव्य र छन्द तिमी ।
र निबन्ध प्रबन्ध सुगन्ध तिमी ।
बस पानसमा, बस मानसमा,
गर धिप्धिप दीप प्रदीप्त तिमी । ३
सब सार प्रसार असार तिमी ।
उपलभ्य तिमी र सुलभ्य तिमी ।
सब जीवन जीव सजीव तिमी ।
बहुमूल्य अमूल्य समूल तिमी । ४
म छु स्वाँठ अपूर्ण, र पूर्ण तिमी ।
म छु दीन र हीन, प्रबुद्ध तिमी ।
भर प्रेमसुधा, अनि हेर ममा ।
र दया गर स्तुत्य हिरण्य जिमी । ५
जड्याहाको बोलि,
पञ्चचामर छन्द २५
नतान आज हे सखे, बिराममा परेँ म त
।
नमान दिक्क हे सखे, सिरानमा लडेँ म त
।
नहान वाण शव्दका, नघोप मर्म मर्ममा
।
चसक्क हुन्छ घाउ
यो, असह्य दुख्छ चर्ममा । १
म जान्न जान्न
भन्दथेँ, उता उता लगी गए ।
म खान्न खान्न
भन्दथेँ, भरी गिलासमा दिए ।
म साथ मात्र
दिन्छु है, भनेँ बसेर साथमा ।
थपे थपे अझै थपे, चढी गएछ माथमा । २
उठेँ अबेर साँझमा, र हिँड्न गर्छु
तर्खर ।
झनन्न गर्छ हात यो, र पाउ गर्छ थर्थर
।
हिजो त सम्म नै
थियो, भएछ आज खाडल ।
उता जमीन हुन्न है,
जता म टेक्छु पाइला । ३
लडेर दुःख पाउँदा, र ज्यान यो
पछारिँदा ।
मजा सजा सबै गयो, हुलुक्क छाद आउँदा
।
उतार वस्त्र यी
चिसा, पखाल पाउ हात यी ।
गिलास एक यो भरी, छिटो पिलाउ कागती
। ४
अबेर रातमा कतै, म रुन्छु दर्दमा
बसी ।
सरक्क लेप लाउनू, यहाँ छ है ल ओखति
।
तिमी सिपालु
गर्नमा, हरेक कर्म नर्स झैँ ।
चिटिक्क आज झन्
अहो, अठार सत्र वर्ष झैँ ।
विधवा विवाह, शार्दूलविक्रीडित छन्द २६
किस्तीबाट खसेर ओढ्न नहुने, खादा बनेकी थिएँ ।
रातो रङ्ग उडेर फुङ्ग हुन गै, सादा भएकी थिएँ।
आयौ स्वागत गर्न मञ्च नजिकै, खादा टिप्यौ हातमा ।
रातो रङ्ग भरेर जीवन दियौ, रङ्गीन यो माथमा । १
सादामा पनि खोल बन्न नसकी, कात्रो बनेकी थिएँ ।
वासन्ती ऋतु, शुक्लपक्ष नहुने, पात्रो भएकी थिएँ ।
आयौ जून बनेर मृत्यु मुखमा, घुम्टी लगायौ ममा ।
नौला पुष्प फुलाउँने ऋतु दियौ, आलोक भो जन्ममा । २
खाली नै छ तथापि लेख्न नहुने, खाता भएकी थिएँ ।
लेखेको पनि पढ्न नै नसकिने, पाता बनेकी थिएँ ।
आयौ सर्सर बग्नु पर्दछ भनी, बोकेर यो लेखनी ।
थाल्यौ पढ्न फरर्र पण्डित बनी, निस्सार यो जीवनी । ३
देख्दा सुन्दर मात्र, ओत नदिने, छानो भएकी थिएँ ।
पाकेको तर स्वादहीन अलिनो, चानो बनेकी थिएँ ।
आयौ टाल्न भनेर छिद्र जति छन्, आला पुरानाहरू ।
स्वादै स्वाद भरेर व्यञ्जन दियौ, स्वादिष्ट खानाहरू । ४
कृषि क्रान्ति, शार्दूलविक्रीडित छन्द २७
साँढे गोरु छ एकमात्र शिवको, नारुन् हलो के गरी ?
के खन्थे उनले त्रिशूल छ तिखो, खन्दैन कस्तै गरी ।
गाई पाल्दछ एक कृष्ण भनिने, जोतुन् र गाई कहाँ !
राँगो त्यो यमराजको पनि उता, एक्लै छ जोतोस् कहाँ ! १
हिँड्छन् ती बलराम, मात्र छ हलो, यी युद्धमै व्यस्त छन् ।
बारी जोत्छु भने कठै जनकले, पुत्री उता फल्दछन् ।
ब्रह्मा बिष्णु बसेर तर्खर गरे, के जोत्नु त्यो सागर ।
अर्को त्यो हलि कुम्भकर्ण उसको, घट्दै गयो जाँगर । २
छाडी त्यो घरबार राज महलै, सिद्धार्थ अन्तै गए ।
लागे है वनवास भाइ सहितै, श्री राम अन्तै गए ।
ती लम्व्वोदर जी गणेश भनिने, लेखेर बस्छन् सधैं ।
खै पो खन्छ र रोप्छ बीज गतिला, के फल्छ के फुल्छ खै ! ३
राजा इन्द्र विरेन्द्र वीर कति छन्, राजा हुनै व्यस्त छन् ।
रानी झन् कलिका कठै वरिकठै !, शृङ्गारमै मस्त छन् ।
भन्छन् क्रान्ति त गर्नुपर्छ कृषिमा, कल्ले कता के गरे ?
नारा सुन्छु र छक्क पर्छु यिनका, संवृद्ध नेपाल रे ! ४
कवि कृष्णशरण उपाध्यायको
कविता पढेपछि
शीर्षकः खाना , अनुष्टुप
छन्द २८
माहुरी भुन्भुनाएर, चुस्दछन् फूलको रस ।
चाखी हेर सधैँ हुन्छ, गुलियो महको रस । १
आँखाले खान्छ झन् ज्योति, सूर्यको तेज अंश यो ।
आँखा नै देख्छ नौ रङ्गी, पाताल र अकासको । २
टुकी बत्ती सधैँ खान्छ, कालो निष्पट्ट तामस ।
किन्दा जस्तोसुकै होस् न, कालै बन्दछ पानस । ३
जेष्ठ आषाढमा खोलो, खाँदै हिड्छ धुलोमुलो ।
किनारामा गई हेर, बाढीमा छ हिलै हिलो । ४
जँड्याहा खान्छ झन् जाँड, तीनपाने चढाउने ।
पर्दामा नजिकै फेरि, डुङडुङ्ती छ गनाउँने । ५
स्वाति नक्षत्रको शीत, पानी जस्तै पवित्र छ ।
मोतीदाना उही दिन्छ, सेतो स्फटिक भित्र छ । ६
पुतली हेर बाठा झन्, हजारौँ फूल चुस्दछन् ।
आफैँमा पुतली हेर, फूलजस्तै चिटिक्क छन् । ७
दूलो भित्र पसी सर्प, विषाक्त वायु तान्दछ ।
पेटभित्र भरी विष, विष मात्रै उगल्दछ । ८
ब्रह्मवेत्ता सधैँ खान्छन्, देवका शुद्ध भावना ।
सत्सङ्मा माधुरी छर्छन्
वाक्य छन् शुद्ध कञ्चन । ९
वरिपरि घुमी पृथ्वी, छान्दैछ कति हो कति ।
खाँदै दिँदै उही गर्छ, चन्द्रमा कति ओखति । १०
पानीको शक्ति खाएर, बिजुली शक्ति बाँड्दछ ।
ठूलो झड्का उही दिन्छ, शक्ति खैँचेर मार्दछ । ११
कुहेको सडुवा मात्रै, सुँगुर खान्छ दैनिक ।
सोच्ने शक्ति छँदै छैन, शून्य चेत विशेषत । १२
जे जे खान्छ उही बन्छ, उस्तै नै फल मिल्दछ ।
रक्तपिपासु सानै होस्, जुम्राले पनि चिल्दछ । १३
खाना खान नजानेमा, मान्छे नै बन्छ दानव ।
खानपान सही खाई, सही बन्नु छ मानव । १४
शव्दसिन्धु, शार्दूलविक्रीडित छन्द २९
छालैछाल छ शव्दको गगनमा, बग्दो छ बग्दो छ यो ।
बग्दो सागरझैँ छ, शुद्ध नभमा, आवाजमा छैन यो ।
पृथ्वीमा जल, तेज, वायुसँगमा, झर्दो छ यो तल्तिर ।
बग्दै जान्छ सलल्ल फेरि तल यो, बन्दो
छ यो सागर । १
नीलो वर्ण छ यो उता सगरमा, नीलै छ त्यो सागर ।
पक्का नै अब हेर्छु, सुन्छु म भनी, धेरै गरेँ जाँगर ।
मेरै ज्यान भएर बग्दछ उँधो, दो कर्ण यी माध्यम ।
थुन्दै कान म शव्द सुन्छु कहिले, आवाज
नै चिन्दिन । २
छन्दैछन्द र वर्ण, दण्डकहरू, एकाक्षरी मन्त्र छन् ।
शव्दैशव्द र ह्रश्व, दीर्घ, गण ती, साकार ॐकार छन् ।
हेर्दै बस्छु निशव्द शव्द रमिता, ती
शव्दका तालमा ।
गम्दै रम्छु अपौरुषेय कविता, ती शव्दका छालमा । ३
मेरो मृत्यु अवस्य हुन्छ जहिले, त्यो
शव्दमा पुग्छु कि !
आत्मा मोक्ष भयो भने यदि कतै, त्यै शव्द पो हुन्छु कि !
हे निर्वाण ! अनन्त ! मार अब लौ, नाचौँ म त्यो विन्दुमा ।
तिम्रा शव्द सबै घनन्नन बजून्, त्यो
शव्दको सिन्धुमा । ४
भ्रूण श्वास, भुजङ्गप्रयात छन्द ३०
हरे दैव ! यो के ग¥यौ आज फेरि ?
उता गै गयौ आज
हेर्दै नहेरी ।
यहाँ गर्भमा बासको
प्रश्न गर्दा,
कि सुन्दै सुनेनौ, कि गर्छौ अटेरी ?
सिमी बीजझैँ मात्र
बन्दै थिएँ म ।
जरा नै सुकायौ बनी
त्यो खडेरी ।
म बढ्दैछु भन्दा र
जन्मन्छु भन्दा,
रुवाएर मा¥यौ मलाई नटेरी ।
कि पितृत्व मातृत्व
जम्मै डढायौ ?
कि हे दैव !
तिम्रै गयो प्राण फेरि ?
भरेको रात, वंशस्थ छन्द ३१
चरो म उड्ने पनि
हैन हे सखे ।
दह्रो म कुध्ने
पनि हैन हे सखे ।
कसो कसोरी अब
भेट्न आउनु ।
जहाज उड्ने पनि
हैन हे सखे । १
छ चहाना भेट्न र
बात मार्नको ।
छ कामना प्रेमिल
बीज सार्नको ।
तिमी उता एकलमा
निदाउँने ।
यता सिरानी म
सधैँ भिजाउँने । २
दिवा भयो लौ
जपना तिमी हुने ।
र नीद आए सपना
तिमी हुने ।
जसै अँधेरो सब
रात रातमा ।
मरेजसै जीवन
आर्यघाटमा । ३
जता सुकै जे अब
आँट हे सखे ।
जसो जसो हो अब
ढाँट हे सखे ।
म हिँड्न थाल्दैछु
अबेर साँझमा ।
भरे मिली काट्नु
छ रात हे सखे । ४
छोरो मान्छे ,
शार्दूलविक्रीडित छन्द ३२
नारी हैन अरे, पुलिङ्ग हुँ अरे, स्त्रीलिङ्ग नै हैन रे ।
देवी हैन, म देव हो, पुरुष रे, स्त्रीजात नै हैन रे ।
खस्रो बोल्छु अरे, रिसालु छु अरे, साह्रै फटाहा छु रे ।
मर्दाङ्गी हुँ अरे, रुखो, विरसिलो, यस्तै सधैँ हुन्छु रे । १
नारीमा रहने दया र ममता, मेरा हुँदैनन् कि त ?
नारी कोमलता क्षमा र करुणा, मेरा हुँदैनन् कि त ?
देख्दा दुःखहरू दुबै नयन यी, मेरा रुँदैनन् कि त ?
नारी स्नेह र भावना मन भरी, मेरा हुँदैनन् कि त ? २
मेरो गर्भ मभित्र बस्दछ सदा, स्त्रीजात नौ मास हो ।
मेरो गर्भ तुहुन्न बाँच्तछ
सदा, यो ब्रह्मको बास हो ।
मेरा मानसपुत्र आज पनि छन्, छन् दीर्घजीवी पनि ।
मेरो अमृत तत्व गुप्त छ सदा, यो पूर्ण सञ्जीवनी । ३
एकैमा नरसिंह बाँच्दछ भनी, यो शास्त्र जो बोल्दछ ।
पानीका सँगमा दुई अणुहरू, विज्ञान यो खोल्दछ ।
नारी अर्धस्वरूपको छ शिवको, हे अर्धनारेश्वर !
बाबा मात्र सुनेर दिक्क म
भएँ, आमा म के हैन र ? ४
मृत्यु, शार्दूलविक्रीडित छन्द ३३
वृद्धावृद्ध म
देख्छु बाल वनिता, बैँसालु उस्तै यहाँ ।
गाईबस्तु मृगादि
सर्प कमिला, देख्दैछु उस्तै यहाँ ।
कस्को मृत्यु कहाँ
भएछ भन लौ, को को गए घाटमा ?
एक्लै को छ कहाँ
कुनै समयमा, जल्दैछ को यादमा ? १
ईर्ष्या , द्वेष घृणा र
कल्मषहरू, के मर्दथे झन् अझै ।
माया, सत्य, दया र धर्म, करुणा, के जल्दथे छन् अझै
।
यी जम्मै पहिले
थिए र अहिले, जम्मै यतै देख्छु म ।
यस्तै जीवन भोलि
यो भुवनमा, ठ्याक्कै उही देख्छु म । २
मान्छे बाँच्न
हतार गर्छ किन हो, मर्ने हुँदै हैन यो ।
बाँच्दैमा यदि
मृत्यु आस छ भने, के बाँच्नु व्यर्थै भयो ।
मुर्दा नै अब
त्रास हो यदि भने, जिम्दो छु के आज म ?
जिम्दो नै अब लास
हो यदि भने, मुर्दा हुँ के आज म ? ३
मात्रै काल छ
घुम्छ फन्फन गरी, यो मर्छ जन्मन्छ यो ।
रोप्दै बीज उखेल्छ
यो घरिघरी, पूर्णत्त्वमा पार्छ यो ।
मेरो मृत्यु हुँदा
जलेर रहँदा, रोलान् कतै घाटमा ।
अर्को फूल तुरुन्त
फुल्छु म सदा, नौला कतै पातमा । ४
उल्टो कविता, शार्दूलविक्रीडित छन्द ३४
उल्टै मात्र सधैँ
म देख्छु किन हो, ब्रह्माण्ड उल्टो छ कि ?
उल्टै घुम्दछ रे
धरा वसुधरा, यो विश्व उल्टो छ कि ?
मान्छेको छ जरा
दिमाग भनिने, आकाशमा मास्तिर ।
सारा विश्व समग्र
एक छ अरे, यौटै छ रे अक्षर । १
ती रत्नाकरले बसेर
वनमा, उल्टो जपे मन्तर ।
बोल्दै शब्द मरा
मरा भनिकनै, ती राम चिन्थे तर ।
राधाकृष्ण रमे र
भक्तजनमा, त्यो प्रेमधारा भयो ।
उल्टै बग्दछ
कृष्णप्रेम कि कसो, धारा त राधा भयो । २
आँखा चिम्म गरेर
हेर्छ बबुरो, ध्यानस्थ बन्दै अति ।
उल्टो पीपल झैँ छ
रे भुवन यो, देख्छन् बसेरै ऋषि ।
छोडी मान र शान ती
महलका, सिद्धार्थ अन्तै गए ।
उल्टै जप्दछ
बुद्धचित्त कि कसो, माला त लामा भए । ३
घाँटी काट्छ
पलाउँदैछ मुजुरा, हेर्नुस् न रामायण ।
आफैँ मर्न भनेर
गर्छ हरणी, उल्टो छ यो रावण ।
तीनै पाउ जमीन
माग्छ उसले, पुड्के छ यो वामन ।
लामो पुच्छर केशमाथि
शिरमा, उल्टै भयो ब्राह्मण । ४
आउँछु रे, तोटक
छन्द ३५
अब आउँछु रे अब
आउँछु रे ।
सरितासरि झैँ अब
आउँछु रे ।
म त दङ्ग भएँ म त
मख्ख भएँ ।
वनितासरि झैँ अब
आउँछु रे । १
सहनै नसकी सब
दुःखहरू ।
अनि भर्न भनी सब
सुख्खहरू ।
रबितासरि झैँ अब
आउँछु रे ।
सबितासरि झैँ अब
आउँछु रे । २
मनको वनमा तन
यौवनमा
मनमग्न भई अब
जीवनमा
गुनकेसरी झैँ अब
आउँछु रे ।
सुनकी चरीझैँ अब
आउँछु रे । ३
सब भाव तरङ्ग
प्रभाव लिई ।
र अमङ्गल धूनहरू
नलिई ।
नव जून बनी अब
आउँछु रे ।
नव धून बनी अब
आउँछु रे । ४
परीक्षा, शार्दूलविक्रीडित
छन्द ३६
प्रश्नै प्रश्न भए, दिमाग भरियो, पाए कतै उत्तर ।
मेरो यो मन शान्त, सञ्च हुन गै, बल्थ्यो कुना कन्तर ।
कस्तो यो परिवार हो शिवजिको, ठ्याक्कै नमिल्ने भयो ।
बस्दैछन् किन हो हिमालतिरमा, साह्रै चिसोमा अहो । १
आफ्नो गर्भ छँदाछँदै वदनमा, ती पार्वतीले किन ।
पालिन् पुत्र कुमार औ गणपते, त्यो गर्भ खाली किन ?
ए बाबा ! कसरी यसो हुन गयो, हे पार्वती श्रीमुखे ?
भोले पञ्चमुखे र पुत्र छ
मुखे, अर्को छ हात्ती मुखे ! २
बाको वाहन गोरु बस्छ घरमा, त्यो सर्प घाँटीतिर ।
माईको पनि बाघ बस्छ यसमै, घुम्दै कुना कन्तर ।
कान्छाको त मयूर नाच्छ गृहमा, ती जेष्ठको त्यो मुसो ।
धेरै चक्चक गर्छ भित्र यसले, साह्रै पिराहा छुचो । ३
सिङ्गै निल्दछ सर्पले घरमुसो, मार्दै नमार्ने किन ?
साँढेको अझ सत्रु बाघ बलियो, दार्दै नदार्ने किन ?
मान्छे बोक्दछ यो चरो यदि
भने, हात्ती छुचुन्द्रो किन ?
रानीका गहना गनी नसकिने, राजा खरानी किन ? ४
गंगाका, विषका, जटामुकुटका, उन्मत्तका, मातका ।
शम्भोका, जलधारका पृयकथा, त्यो गोत्रका, जातका ।
यस्ता प्रश्न हजार छन् मन भरी, लेखेर नै सक्दिन ।
हुन्छौँ फेल सधैँ सधैँ यदि
भने, पूजा गरेको किन ? ५
नेपाल माफी गर, शार्दूलविक्रीडित
छन्द ३७
आमा तीन भनेर बुझ्न म सकूँ, गाई र माई, जिमी ।
सातै जन्म चिनेर पुज्न म
सकूँ, नेपाल आमा तिमी ।
तिम्रो काख म खेल्छु, खन्छु दिनमा, यो स्वप्न बोक्दै झिनो ।
मर्दाखेरि म ओढ्न पाउँ चपरी, यो मृत्तिकाको चिनो । १
तिम्रो रूप धपक्क बल्छ सबमा, त्रैलोक्यकी सुन्दरी !
दागा धर्छ पराइले कुमतिले, सुस्ता, धुरा माधुरी ।
तिम्रो त्यो लिपुलेकको
हृदयको, चित्कार यो सुन्छु म ।
तिम्रा आर्त कथा तिता बिरहका, यो चित्तमा उन्छु म । २
तिम्रो त्यो मन रुन्छ, हुन्छ, अमिलो टन्किन्छ घाउसरि ।
चोटैचोट छ हात पाउ भरिमा, देखिन्छ प्रष्टै गरी ।
टोकी च्यात्छ धरर्र गर्छ
फरिया, हे प्राण ! हे मेदिनी !
सुन्दैमा मन यो सिरिङ्ग हुन
गै, रोकिन्छ यो लेखनी । ३
व्यर्थै जन्म दिलाइछौ कनिकनी, सन्तान मेरो भनी ।
मेरो जन्म त अर्थहीन हुन गो, हे नित्यकी नन्दिनी !
तिम्रा ती हिमशैल, फाँट, वनको, रक्षार्थ आफैँ गर ।
माफी माग्छु म आज माथ निहुरी, नेपाल माफी गर । ४
भोगटेको रुखमुनि,
शार्दूलविक्रीडित छन्द ३८
छिट्टै उठ्छु र हेर्छु
आँगनतिरै, साह्रै अनौठो छ यो ।
हेर्दै बस्छु बिहानमा घरिघरी, आश्चर्यको जन्तु यो ।
हेर्दा कम्मर बाघको छ छरितो, भाचिन्छ झैँ देख्छु म ।
चुल्ठा ती सिँङझैँ दुईतिर
उसै, गाँसिन्छ झैँ देख्छु म । १
हिँड्ने चाल अहो लुसुक्क
छिनमा, ढाडे बिरालोसरि ।
आँखा टल्टल टल्कने छ मृगझैँ , हाब्रे, हुँडारै सरि ।
जे दिन्छन् सबले लिई कपकपी, गर्छौ तिमी भक्षण ।
फेर्दै रूप र रङ्ग सर्पसरि
झैँ, लुक्छौ तिमी तत्क्षण । २
टीको चट्ट निधारमा छ शिरमा, पाण्डा कतै हौ कि झैँ ।
खुट्टा हात त हृष्टपुष्ट
बलिया, त्यो सिंह पो हौ कि झैँ ।
बोल्दा रीस हराउँने घरिघरी, मैना चरी, कोयली ।
नाच्छौ गीत सुनी मयूर जसरी, साह्रै भयौ चञ्चली । ३
साना छन् कलिला भुरा घरतिरै, तर्सेर रोलान् कतै ।
देख्दा रूप विचित्रको नियमको, पर्लान् बिरामी कठै ।
के बस्छौ घरमा, ल फर्क वनमा, जाऊ कुदी बेस्सरी ।
जाऊ झट्ट तुरुन्त, हे वनचरी !, हे कामिनी सुन्दरी ! ४
विसङ्गतिवाद, शार्दूलविक्रीडित छन्द ३९
मेरा मित्र यहाँ
मनेर रिसले, आए बडो हर्षले ।
पोको एक अगाडि
सुन्दर दिई, बार्ता गरे तर्कले ।
अत्यन्तै गुलिया
थिए तरबुजा, वा हो कि नौला अरू ।
खाएँ टन्न भएँ
फुरुङ्ग म भएँ, मागेर खाएँ अरू । १
सोचेँथेँ अब
आउने छ दिन यो, खानेछु राम्रा फल ।
ठ्याक्कै आज
परेछ यो दिन उही, राम्रा थिए काफल ।
धेरै बेर बसेर हेर्छु
मुखमा, मिल्दै नमिल्ने छ यो ।
मेरा मित्र यहाँ
मनेर रहने, यो मित्र नै हैन पो ! २
सोधेँ प्रश्न
हजारमा र सयमा, लौ भन्नुहोस् को तिमी ।
लाटोझैँ अकमक्क
पो हुनगयो, बिर्सेछ भाषा पनि ।
दोबाटे तटमा
सधैँ म रहने, एक्लै यहाँ रातमा ।
साथै बस्न भनेर
आउनुभयो, पोको लिई हातमा । ३
जे जे भन्दछ ऊ म
सुन्छु रसले, के अर्थ नै बुझ्दिन ।
जे जे भन्छु म
फेरि सुन्छ उसले, सक्दैन ऊ सम्झन ।
आहा ! सुन्दर !
मार्मिकै छ रसिलो, वा ! वा ! छ काव्यार्चना ।
मेरा मित्र मझैँ
फुरुक्क हुन गै, अर्को गरे सिर्जना । ४
कल्पना,
भुजङ्गप्रयात छन्द ४०
तिमी टम्म पानी
म आली बनूँला ।
तिमी फूल थुङ्गा
म माली बनूँला ।
सगैँ फुल्न सक्छौँ
सगैँ फल्न सक्छौँ ।
तिमी अन्न बन्नू म
बाली बनूँला ।
उता कल्पनाको तिमी
मूर्ति बन्नू ।
पुजारी म टीको र
थाली बनूँला ।
तिमी टन्न छौ आज
देऊ मलाई ।
बनी पूर्ण झुसी म
डाली बनूँला ।
म माग्दैछु तिम्रो
तिमी हात देऊ ।
दुवै हात साटौँ र
ताली बनूँला ।
मार्नू मलाई, भुजङ्गप्रयात छन्द ४१
ठिकै हो रिसाएर
मार्नू मलाई ।
मजाले रिसाएर
मार्नू मलाई ।
रहेको भएमा कतै
छुस्स हाँसो,
खुशी त्यो
मिसाएर मार्नू मलाई ।
कतै कोल होला
पिना तेल छान्ने,
यसैमा पिसाएर
मार्नू मलाई ।
म भारी बनौँला
कतै सम्झनाको,
र डोको बिसाएर
मार्नू मलाई ।
जसो जे गरी
हुन्छ पार्नू भुतुक्कै,
तताई चिसाएर
मार्नू मलाई ।
ठिकै हो रिसाएर
मार्नू मलाई ।
मजाले रिसाएर
मार्नू मलाई ।
साँध, प्र नि
अबाट, स्वागता छन्द ४२
देश यो अब म गाभ्छु भनेर ।
पूर्ण हैकम म गर्छु भनेर ।
गर्छु शासन भनेर पसेको ।
साँधमा छ अझ शत्रु बसेको ।१
साँधमा जब म पुग्छु अगाडि ।
वाण धेर अब गर्छु तयारी ।
हान्छु बेस्कन म मार्न बसेको
।
साँधमा छ अझ शत्रु बसेको ।२
भर्छु यो वदनमा बल धेरै ।
उठ्छु आज म बिहान सबेरै ।
छैन आज म त हार्न बसेको ।
साँधमा छ अझ शत्रु बसेको ।३
मित्र हे ! सकल आज ल आऊ ।
राख्नुपर्छ अब जीवन दाउ ।
गन्नुपर्छ अब लास खसेको ।
साँधमा छ अझ शत्रु बसेको ।४
चम्को, शार्दूलविक्रीडित
छन्द ४३
आफैँ तात्न नसक्नु पीर छ बडो, हालेर बाल्छन् सिटा ।
आफैँ पाक्न पकाउनै नसकिने, पोलेर खान्छन् मिठा ।
चम्का तीन भएर तात्छु म सधैँ, सेलाउँदै गर्छु म ।
ढुङ्गो प्राण विहीन हुन्छु
बिचरो, के पाक्छु के डढ्छु म । १
चैटा चिर्पट दाउरा अनि झिंजा, हुन्छन् सदा मित्र यी ।
ओदानो मनभित्र साथ रहने, डढ्छन् सबै भित्र यी ।
आगो भर्भर गर्छ सोच्छु मनमा, आए कि नौलाहरू ।
आए आउन मात्र हेर्न रमिता, बन्दै रुपौला अरू । २
आगो दन्दन बल्छ भित्र जहिले, आएर ताप्छन् मिठो ।
ताजा साग र भात टन्न कहिले, खाएर जान्छन् छिटो ।
सिङ्गो त्यो रुख भष्म हुन्छ
दिनकै, बन्दै खरानी भने,
तिम्रो रूप अवश्य सुक्छ
कहिले, आश्चर्य मान्नु छ के । ३
चम्को बन्न तयार छौ यदि भनें, साथी बनौँ आज नै ।
चम्का चार बनौँ रमौँ सँगसँगै, आजन्म आजन्म नै ।
चौको धप्धप पार्नुपर्छ दिलको, जल्दै मरोस् राग यो ।
आगो निभ्न म दिन्न बल्दछु
सदा, यो जीव जीवात्मको । ४
गाउँले जीवन,
शार्दूलविक्रीडित छन्द ४४
झुल्किन्छन् सविता हिमाल
शिरमा, ढिस्का बनिन् बेहुली ।
पाखा पर्वत खर्क हर्क भरियो, छन् छन्दमा कोइली ।
साह्रै स्निग्ध सुरम्य
प्रष्ट छरितो, यो गाउँले चिन्तन ।
साच्चै शान्त र सौम्य सभ्य छ
अहो, यो गाउँले जीवन । १
पास्नी भोज बिहे पुराण रमिता, जाग्राम मेलादिमा ।
पातैपात सलल्ल बग्छ कविता, यो शुद्ध सङ्गीतमा ।
एक्लैमा डर छैन साथ छ मिठो, पोथ्रा चरा माहुरी ।
सग्ला शास्त्र समीपमा
प्रकृतिको, ऐश्वर्यको माधुरी । २
जो दिन्छन् ऋतुमा सबैतिर
घुमी, यो गाउँले सोम हो ।
जो लिन्छन् सब भानुले भुवनमा, यो गाउँले होम हो ।
बाँकी जन्म र कर्म मृत्यु
चरु हुन्, यो कुण्ड हो व्योमको ।
चारै पाउ चटक्क एक लयमा, यो गाउँले ओम हो । ३
यौटा नेत्र फुटाल्छ शुक्र
कहिले, विज्ञान फैलाउँने ।
तेस्रो नेत्र नियाल्छ रुद्र
जहिले, सद्ज्ञान मौलाउँने ।
उद्यानी रहमा म डुल्न नसकूँ, हे ग्रामबासी किन ?
कुण्ठा यी सब नष्ट पार्छु
छिनमा, आऊ मलाई लिन । ४
पारिजातको इज्जत, शार्दूलविक्रीडित छन्द ४५
हेर्दै बस्छु म पारिजात दिनकै, आँखा
समीपै उनी ।
बारी आँगनबीच यी नजिकमा, बढ्दै गरेकी उनी ।
सानामा कलिली छँदा कहिँ कतै, वास्ता न आस्था भइन् ।
अग्लो ज्यान गरिन् सलक्क उनले, यी नेत्र तान्दी भइन् । १
आयो बैँस चडेर काण्डभरिमा, मुस्कान ती ओठमा ।
थालिन् छोप्न कठै र पुष्पित भइन्, श्रृङ्गार
यो बोटमा ।
थाले हेर्न र फूल टिप्न जन यी, वृद्धा
तथा बालक ।
थाले पुज्न सिँगार्न ईश जति छन्, यी
विश्वका पालक । २
देख्दा दानवझैँ उदण्ड मतिको, यौटा यतैको ठिटो ।
च्याप्पै पार्दछ वृक्षवक्ष बलले, हल्लाउँदै यो छिटो ।
चोखो बैँस बरर्र झर्छ भुइँमा, ती कोपिला तर्सिए ।
काम्दै थर्थर मूल पात र जरा, हाँगाहरू झस्किए । ३
सिङ्गो ज्यान म दिन्छु फुल्दछु अझै, वर्षौँ
म बाँचू भनिन् ।
तिम्रो साथ मिलेर प्रीत लयमा, वर्षौँ म नाचूँ भनिन् ।
के बुझ्थ्यो उसले फुलेर रिसले, आगो
बुझाई गयो ।
पारी इज्जतको धुजा प्रकृतिको, इच्छा तुहाई गयो । ४
बुढेसकाल, शार्दूलविक्रीडित
छन्द ४६
डस्ना भिज्छ दिसा पिसाबसरिको, डुब्दोहुँला तालमा ।
निल्दा ओखति, जाउलो म त कतै, ढल्दोहुँला थालमा ।
पर्दा खट्पट आङमा वदनमा, बन्दो हुँ बेहाल म ।
आऊ है यमराज मार ल भनी, पर्खिन्छु यो काल म । १
मेरा साथ समीपमा मसँग नै, बस्ला र को खाटमा ।
पानी खान भनी गिलास भरिलो, देला र को हातमा ।
खोक्दा यो कफ थुक्न फ्याक्न छरितो, होला र को साथमा ।
तातो ज्यान भएछ लौ अब भनी, छाम्ला र को माथमा । २
आफ्ना सज्जन बन्धुबान्धव सबै, छोरा र छोरीहरू ।
जालान् देश विदेशमा प्रगतिका, पंखा उचाली बरू ।
ती पल्ला घरका छिमेकतिरका, सोध्लान् कसो के भनी ।
मेरो वाक्य बसी म भित्र
मसिनो, सुन्ला र को त्यो घडी । ३
त्यो बेला मनमा सदैव म जपूँ, हे राम ! हे राम ! हे ।
प्यारा कृष्ण मभित्रका
हृदयका, हे श्याम ! हे श्याम ! हे ।
मेरा बन्धु सबै तिमी बनिदिनू, डस्ना र पानी पनि ।
लैजाऊ तन यो फुरुङ्ग म बनौँ, मेरै तिमी हौ भनी । ४
इन्दिरा, इन्दिरा छन्द ४७
अब त इन्दिरा, खास लाग्छ कि ।
अब त इन्दिरा, आस लाग्छ कि ।
अति भयो अति, साथ साथमा ।
अब त इन्दिरा, प्यास लाग्छ कि । १
अब त इन्दिरा, झोक लाग्छ कि ।
अब त इन्दिरा, भोक लाग्छ कि ।
अति भयो अति, काख काखमा ।
अब त इन्दिरा, तोक लाग्छ कि । २
अब त इन्दिरा, दोष लाग्छ कि ।
अब त इन्दिरा, होस जाग्छ कि ।
अति भयो अति, बात बातमा ।
अब त इन्दिरा, जोस जाग्छ कि । ३
अब त इन्दिरा, चोट लाग्छ कि ।
अब त इन्दिरा, पोट लाग्छ कि ।
अति भयो अति, रात रातमा ।
अब त इन्दिरा, बोट लाग्छ कि । ४
दमितको बिन्ती, शार्दूलविक्रीडित छन्द ४८
मेरो क्रान्ति म भित्र मर्छ जहिले, छिर्दा
अरूको घर ।
पुज्दाखेरि त जल्छ मूर्ति जहिले, ढल्दैछ
यो मन्दिर ।
पानी चल्छ पराइका सहरमा, राम्रो उता शुद्ध छ ।
मेरोमा किन हो अशुद्ध छ यहाँ, विषाक्त के घुल्दछ ? १
मेरा यी पद पाइला सडकमा, नाङ्गै हिँडेथे तर ।
अर्कै बोल्छ कडा कडा सदनमा, ऊ गर्छ अर्कै कुरा ।
केका निम्ति म युद्धमा मुछिगएँ, धिक्कार
यो क्रान्ति यो ।
जेका निम्ति मरेर पुत्र गइगो, ब्यर्थै अशान्ति भयो । २
सोच्दैनौ कहिले सबै रगतका, टाटा सुकेका किन ?
सोध्दैनौ कहिले छ घाउ मनमा, खाटा बसेका किन ?
सुन्दैनौ जहिले व्यथा दलितको, माटो करायो किन ?
लेख्दैनौ कि कसो कथा दमितको, बाटो हरायो किन ? ३
चर्को भाषण गर्दछौ घरिघरी, वास्ता गरेझैँ गरी ।
केही काम गरिन्न आज तर खै, आस्था मरेझैँ गरी ।
गर्दै आज श्रमिकको बनिबुतो, धान्दैछु यो प्राण म ।
देऊ पाल्न जहान, वृद्ध, बचरा, यो बिन्ती गर्दैछु म । ४
फूल, प्र नि अ बाट, सवाई छन्द ४९
वासना र विषयको हौ कि तिमी मूल ?
भ्रमरा त्यो तिमीसँगै नाच्छ किन फूल ?
मायाकी हुँ प्रतिमूर्ति मायाँ नै हो मूल ।
आधा जगत् भ्रमरा हो आधा जगत् फूल । १
घोच्छौ पनि रोप्छौ पनि कस्ता तिखा शूल !
किन पाल्छौ ? किन राख्छौ ? भयो खुलदुल ।
सुरक्षार्थ आफ्नोलागि पाल्छु आफैँ शूल ।
टिपिहाल्छन् सकिहाल्छन् आउँछन् हुलहुल । २
तिमी फुल्दा मेरो मन गर्छ चुलबुल ।
मेरो मन तिमी जस्तै छ कि क्या हो फूल ?
धेरै प्रश्न सोध्नु हुन्न गर्दै तुलबुल ।
सबै तत्त्व खुल्दै जान्छन् बगैँचामा डुल । ३
रङ्गी चङ्गी भए पनि छैनौ चुलबुल ।
कस्ती ज्ञानी सधैँ तिमी कति राम्री फूल ।
दुई दिने जिन्दगानी केको चुलबुल ?
मान्छे पनि वैली झर्छन् उस्तै हामी फूल । ४
जाऊ कतै पर्तिर, शार्दूलविक्रीडित छन्द ५०
हे मेरी नवसङ्गिनी सुन तिमी, जस्तो छु उस्तै छु म ।
जस्तो त्यो पहिले थिएँ अटलको, उस्तै दुरुस्तै छु म ।
मेरा निम्ति भनेर स्थान दिलमा, राख्दै
नराख्नू तिमी ।
अर्कै ताक बरू र राख मुटुमा, त्यो प्यार देऊ तिमी । १
तिम्रो रूप धपक्क बल्दछ भनी, भन्लान् अरूले तर ।
तिम्रो ज्यान चटक्क मिल्दछ भनी, मान्लान्
अरूले तर ।
तिम्रा सुन्दर हात पाउ छरिता, ठान्लान् अरूले तर ।
तिम्रो चित्र मभित्र छैन मनमा, जाऊ
कतै पर्तिर । २
तिम्रो चाल र ढाल शुद्ध गतिलो, देख्लान्
अरूले तर ।
तिम्रो भाव सुभाव हो भनिभनी, लेख्लान् अरूले तर ।
तिम्रो स्वाद र तिर्सना मरिमरी, मेट्लान्
अरूले तर ।
तिम्रो स्थान मभित्र छैन मुटुमा, जाऊ
कतै पर्तिर । ३
तिम्रो सित्तनसाथ सोम रसिलो, तान्लान् अरूले तर ।
तिम्रो लाज मुसुक्क, ज्यान कसिलो, मान्लान् अरूले तर ।
तिम्रो प्रीत पवित्र शुद्ध छ भनी, जान्लान्
अरूले तर ।
तिम्रो चित्र मभित्र छैन मनमा, जाऊ
कतै पर्तिर । ४
तिम्रो ढङ्ग सुढङ्ग हो रटिरटी, घोक्लान्
अरूले तर ।
तिम्रो रङ्ग सुरङ्ग हो कनिकनी, बोक्लान्
अरूले तर ।
तिम्रो अङ्ग सुअङ्ग हो घरिघरी, टोक्लान्
अरूले तर ।
तिम्रो स्थान मभित्र छैन मुटुमा, जाऊ
कतै पर्तिर । ५
तिम्रो मात सुमात हो भनिभनी, चाख्लान् अरूले तर ।
तिम्रो साथ सुसाथ हो जपिजपी, ताक्लान् अरूले तर ।
तिम्रो बात सुबात हो रमिरमी, सुन्लान् अरूले तर ।
तिम्रो चित्र मभित्र छैन मनमा, जाऊ
कतै पर्तिर । ६
पीपलको बोटमुनि, शार्दूलविक्रीडित छन्द ५१
ढाई अक्षर प्रेम पोख न निशा, श्री सुर्य डाकौँ अब ।
डेढी श्वास मभित्र राख न दिवा, श्री
चन्द्र ताकौँ अब ।
सिङ्गो बुद्ध म बन्न पो मन गरेँ, सिद्धार्थ
भागोस् पर ।
सादा जीवन उच्च सोच मनमा, यो विश्व हाँकौँ अब । १
देऊ अन्न पवित्र बोटभरिमा, यो पाकशाला भरूँ ।
देऊ शुद्ध मथेर ज्ञान गतिलो, यो पाठशाला बनूँ ।
देऊ मन्त्र र तन्त्र अग्नि भरिलो, यो
यज्ञशाला बनूँ ।
देऊ वर्ण सुवर्णका कखहरू, यो वर्णमाला बनूँ । २
थोरै घ्राण सप्रेम दे कुकुर दे, त्यो
सिंह प्रेमी बनोस् ।
सर्को प्राण भरेर दे ढुकुर दे, त्यो
गिद्द साथी बनोस् ।
थोपो शक्ति सरक्क दे वदनमा, हाँसून् सबै दुर्जन ।
पित्को भक्ति सलल्ल दे हृदयमा, बाचून्
सबै सज्जन । ३
मेरो यो अवनी सदैव रसिलो, अक्षुण्ण होस् सर्वदा ।
मेरा यी जनका पवित्र शिरमा, फक्रोस् फुलोस् नम्रता ।
आठै कर्म र आर्यसत्य जतिछन्, सम्पूर्ण यो विश्वमा ।
होओस् पालन बुद्धका वचनका, यो शान्त नेपालमा । ४
सिद्धिचरणप्रति, पादकुलक
छन्द ५२
गरे गाउँ प्रेम हुँदैन मरण ।
भन्ने तिमी हौ एक प्रमाण ।
सूत्र तिम्रो यो गर्छु म वरण
।
मेरा प्यारा हे ! सिद्धिचरण
। १
गाउँ र भाषा देशका पाउ ।
पुज्यौ तिमीले दुईटै चरण ।
गाउँ छ ज्यूँदो भाषा जाग्दो
।
ओखलढुङ्गा हो उदाहरण । २
दर्शनलाई छ मेरो नमन ।
आत्मालाई छ श्रद्धा सुमन ।
हौ कारक कर्ता कर्म करण ।
श्री हौ मेरा श्री सिद्धिचरण
। ३
नपरोस् जानू वैरीको शरण ।
नगरोस् गाउँ शत्रुले हरण ।
लिम्पियामाथि नलागोस् ग्रहण
।
जन्माऊ अरू सिद्धिचरण । ४
वैवाहिक वार्षिकोत्सवकालागि गीत
भुजङ्गप्रयात
छन्द ५३
म सुम्पन्छु आफैँ, कतै क्यै नहेरी ।
बिहे गर्छु दोस्रो, तिमीसङ्ग फेरि ।
जता चम्कियून् सूर्य तारा
उज्याला ।
तिमी जून मेरै, यही बस्छु हेरी ।
मिठो प्रेम चोखो, नदेलान् कसैले ।
सधैँ बस्छु यो साथ फेर्दै
नफेरी ।
अरूले भनुन् जेसुकै पीर छैन
।
स्विकार्ने छु दाम्पत्य
टेर्दै नटेरी ।
यही रङ्ग छाओस् यही ढङ्ग
आओस् ।
र आत्मा रमाओस् तिमीसङ्ग
फेरि ।
भावाकार, शार्दूलविक्रीडित छन्द ५४
द्यौराली वनमा र देवथलमा, द्यौता पुका¥यौ कि त ।
नौला वस्त्र भिरेर मूल घरको, ढोका उघा¥यौ कि त ।
खाजा बाँढ्न रुमाल छेउतिरका, फुर्का फुकायौ कि त ।
मेरो आँगन छेउमा मखमली, कुर्था सुकायौ कि त ।१।
झार्नै फुत्त भनेर एक कमिलो, चोली चलायौ कि त ।
मार्नै प्राण भनी तिखा नयनले, गोली चलायौ कि त ।
काट्ता घाँस कतै बिहान वनमा, हाल्यौ सुसेली कि त ।
ढुङ्गो त्यो खिरिलो लिएर
मनको, हान्यौ गुलेली कि त ।२
खेल्दा खित्खित मित्रसाथ
खुशले, हाँस्यौ रमायौ कि त ।
जात्रामा मसँगै कतै रहरले, नाच्यौ समायौ कि त ।
आफ्नै ज्यान अचम्म हेर्न
नसकी, आफैँ डरायौ कि त ।
ऐनामा जब हेर्दछौ घरिघरी, आफैँ हरायौ कि त ।३
भाँडा माझ्न भनी कुनातिर बसी, गाला भिजायौ कि त ।
सम्झी ती मनका कुरा रहरका, रातै बितायौ कि त ।
हेरुन् है ल भनेर फेसबुकमा, फोटो टँसायौ कि त ।
टालाकी दुलही बनेर वरको, माला गँसायौ कि त ।४
चल्दा सिर्सिर यो बतास शिरमा, त्यो केश छाड्यौ कि त ।
चौबन्दी कसिलो फुकाउँन भनी, त्यो लेस तान्यौ कि त ।
रोप्दा त्यो भटमास खेत डिलमा, त्यो प्रेम रोप्यौ कि त ।
भेट्दा मिर्मिर साँझका समयमा, यी नेत्र छाेप्याै कि त ।५
के गर्दा दिलमा सुटुक्क
छिरिछौ, यो भाव आकारमा ।
आऊ झट्ट तुरुन्त आज दिनमा, साकार आकारमा ।
देखौँ झट्ट तुरुन्त आज दिनमा, साकार आकारमा ।
हेरौँ झट्ट तुरुन्त आज दिनमा, साकार आकारमा ।६
जिन्दगी, ओहो ! म कस्तो, उपजाति छन्द ५५
ओहो ! म कस्तो छु हुनेछु
कस्तो ।
ल हेर बन्दै छु अझै म सस्तो
।
आकाशमा छैन तथापि खस्दो ।
जहाँ म बस्दै छु उहीँ छु
खस्दो । १
सङ्गीत नौलो न मिठो गला छ ।
उचाल्न साहित्य न यो कला छ ।
देख्दैछु खल्लो धमिलो पला छ
।
विना कला जीवन यो थला छ । २
त्यो चित्र कोरूँ शिवको
पितिक्क ।
न एक यो मूर्ति बनोस्
चिटिक्क ।
बाजा बजाऊँ मन हर्न सक्ने ।
न सीप मेरो छ कतै फिटिक्क ।
३
विज्ञानको ज्ञान नि रत्ति
छैन ।
र ज्ञान यो ज्योतिषको नि छैन
।
वक्तृत्त्व वा भाषणमा रमेर ।
नबोल्न सक्ने छु कतै गएर । ४
पाक्दै नपाक्ने फल जिन्दगी
यो ।
बगेर जाने जल जिन्दगी यो ।
चिप्लेर भाग्ने पल जिन्दगी
यो ।
कुहेर सड्ने मल जिन्दगी भो ।
५
आफैँ हुँ झैँ लाग्दछ,
शार्दूलविक्रीडित छन्द ५६
चङ्गा हेर्छु दशैँ
तिहारतिरमा, इच्छा उँभो उड्दछ ।
धागो छिन्छ र झर्छ एक तल यो, आफैँ हुँ झैँ लाग्दछ ।
यौटा मित्र छ जून यो जगतमा, रित्तिन्छ यो जाग्दछ ।
पूर्णेचन्द्र म देख्छु यो
ग्रहणमा, आफैँ हुँ झैँ लाग्दछ । १
माली देख्छु म गोठमा चरनमा, गाईसँगै नाच्तछ ।
बाछो झर्दछ भीरबाट वनमा, आफैँ हुँ झैँ लाग्दछ ।
पानी बग्दछ मूलमा कलकली, तिर्खा कता भाग्दछ ।
दुर्गन्धी ढल देख्छु यी
सडकमा, आफैँ हुँ झैँ लाग्दछ । २
पूर्वी आँगनमा म रोप्छु
तुलसी, जीवन्त मौलाउँछ ।
रित्तो मोठ म देख्छु आज किन
हो, आफैँ हुँ झैँ लाग्दछ ।
अग्ला पीपल हेर्छु रम्छु
हरिया, पीडा सबै भाग्दछ ।
ढल्दो यो दिन देख्छु शुष्क
ठिँगुरो, आफैँ हुँ झैँ लाग्दछ । ३
टाट्नामा हरियो छ घाँस
दुधिलो, बाख्रो छ उघ्राउँछ ।
बोको पर्सिन लान्छ आज
दुनियाँ, आफैँ हुँ झैँ लाग्दछ ।
फूलैफूल छ वागमा नजिकमा, रङ्गीन यो हाँस्दछ ।
वैलेको जब फूल देख्छु कलिलो, आफैँ हुँ झैँ लाग्दछ । ४
गर्दै इज्जत द्रव्यको रहरले, मान्छे यता साँच्दछ ।
मन्सेको डबली म देख्छु पथमा, आफैँ हुँ झैँ लाग्दछ ।
आमा नौ महिना दुखेर तनमा, बच्चो उता मर्दछ ।
सुत्केरी मन देख्छु फुङ्ग
नमिठो, आफैँ हुँ झैँ लाग्दछ । ५
दशावतार, शार्दूलविक्रीडित
छन्द ५७
बच्चो बालक जन्मियो ल घरमा, माछो छ तेर्सो छ ऊ ।
पानीबाट झरेर मत्स्य जसरी, नाङ्गो भुतुङ्गो छ ऊ ।
बामे सर्छ सरक्क छेउतिरमा, बच्चो यता वा उता ।
दोस्रो एक छ कूर्म यो छ
कछुवा, भोटो छ छोटो उता । १
खुट्टा चार गरी फटाफटा हिँडे, बढ्दै गए तेजले ।
तेस्रो त्यो भनिए वराह यसरी, हिँड्ने बडो वेगले ।
बामेबाट उठेर गर्छ थिगिरी, लड्दैछ उठ्दैछ ऊ ।
चौथोमा नरसिंह नै हुनपुगे, आधा न मान्छे पशु । २
मान्छे बल्ल बने दुई चरणका, कुद्ने भए आँगन ।
हिँड्ने चाल मनुष्यको छ
यिनको, पुड्के भए वामन ।
बढ्दै जान्छ उमेर हुन्छ
तरुनो, ज्यादै रिसाहा बनी ।
कुद्दै हिँड्छ र काट्छ मार्छ, उसले ती पर्सुरामैसरि । ३
भुल्दै जान्छ गृहस्थमा र
गृहमा, आदर्शमा बस्छ ऊ ।
मर्यादा उसको छ उच्च तहको, श्रीराम झैँ बन्छ ऊ ।
सिक्दै जान्छ अनेक काम र
कुरो, सिक्दो छ भन्दो छ ऊ ।
गीताज्ञान सिकेर दिन्छ सबमा, श्रीकृष्ण बन्दो छ ऊ । ४
खोज्दै ज्ञान सुकर्मको
हृदयको, सत्मार्गको चित्तको ।
अर्को यो अवतार हुन्छ यिनको, सत्पात्रको बुद्धको ।
बूढो हुन्छ शरीर केश पनि यो, फुल्दैछ यो श्वेत नै ।
अर्को यो अवतार अन्तिम हुने, श्री कल्कि छन् श्वेत नै । ४
जाऊ तीर्थ जहाँ जतातिर तिमी, भेटिन्छ के देवता ?
भन्छन् मूर्ख त देव नै मरिगए, मर्थे र के देवता !
हाम्रो यो रथरूप शुद्ध तनमा, जन्मन्छ यो देवता ।
हाम्रै आँगनबीचमा र घरमा
हुर्कन्छ यो देवता । ५
मुस्कुराओस्, दिक्पाल छन्द
५८
यो जन्ममा मलाई छानेर
मुस्कुराओस् ।
आफ्नै भनी मलाई मानेर
मुस्कुराओस्।
यो भीडबाट टाढा अन्तै लगेर
फेरि ।
एकान्तमा मलाई तानेर मुस्कुराओस्
।
इच्छा बुझोस् उसैले देखेर
लाज मेरो ।
माया भरी अँगालो बानेर
मुस्कुराओस् ।
धेरै भएछ क्यारे भेटौँ दुई
भनेको ।
यो ज्यान आज आफ्नै ठानेर
मुस्कुराओस् ।
जो कल्पना थियो त्यो साकार
होस् उही नै ।
यस्तै रहेछ माया जानेर
मुस्कुराओस् ।
सङ्केत, भुजङ्गप्रयात छन्द ५९
उनै कृष्णका रूप आधा कहाँ
छन् ?
उनै कृष्णका रूप राधा कहाँ
छन् ?
न सिङ्गो म देख्ने, न आधा म देख्ने,
दुवै विश्व आधार आधा कहाँ
छन् ?
कुरुक्षेत्र टाढा भयो युद्ध
हेर्न ।
कहाँ खोज्नु दुर्योधनै रीस
फेर्न ।
जहाँको त्यहाँ आज बस्तै छु
हेर,
यिनै कृष्ण राधा त टाढा कहाँ
छन् !
हटाऊ न पर्दा यिनै शास्त्र
भन्छन् ।
सबै नाश वाधा भनी व्यास
भन्छन् ।
म देख्दै नदेख्ने कहाँ के छ
पर्दा,
नदेख्ने छु मैलो र वाधा कहाँ
छन् ।
दुवै शीघ्र आऊ बलोस् यो
प्रकाश ।
सँगै भेट्न पाऊँ दुवै साथ
साथ ।
अरू खोज्न आए, अरू सोध्न आए,
भनूँ कृष्ण राधा, ममा नै ममा छन् ।
रिस, शार्दूलविक्रीडित छन्द ६०
यौटा बोट म रोप्छु आज रिसको, त्यो बीज देऊ तिमी ।
पानी हाल्छु सरक्क आज विषको, आफैँ बनौला जिमी ।
मेरो माथ बनोस् सुछत्र यसको, यो ओत थेगोस् सबै ।
मैलो सोच सदैव यो मल बनोस्, हुर्की बढोस् यो सधैँ । १
हुर्केला जब यो हलक्क बिरुवा, ती पात चिल्ला गरी ।
फुल्लान् चञ्चल पुष्प यी रहरका, ती फूल
बोटै भरि ।
चर्को स्वर कराउँला म मनमा, गाली गरौँला स्वयम् ।
फाल्दै बाण म क्रोधले वचनका, जाली गरौँला स्वयम् । २
फक्री पुष्प अवश्य लाग्छ फल यो, सम्मोह
पार्दो ममा ।
आफैँ डुब्छु खुसुक्क मत्स्य जसरी, यो
क्रोधको तालमा ।
मेरो यो स्मृतिको अमूल्य गहना, नासिन्छ
यो नष्ट होस् ।
मोरो बुद्धि कुबुद्धि हुन्छ अब यो, आनन्दले
भ्रष्ट होस् । ३
बुद्धि भ्रष्ट भएर पागल हुँदा, मान्छे
नबन्दो हुँ म ।
मातेको मदमत्तको सुँगुरझैँ, नासिन्छु नासिन्छु म ।
मेरो ज्यान अवश्य मर्छ कहिले, सद्भाव पाल्नू तिमी ।
देऊ त्यो रिसको छ बीज अहिले, माया उमार्नू तिमी । ४
विश्वको अणु: विष्णु, शार्दूलविक्रीडित छन्द ६१
यौटा वस्तु छ सूक्ष्म यो भुवनमा, सूक्ष्माति
यो सूक्ष्म छ ।
अर्को वस्तु यतै यसै भुवनमा यत्रै छ झन् सूक्ष्म छ ।
मानौँ यी अणु छन् दुवै, भुवनमा ज्यूँदा र जाग्दा अनि ।
मानौँ भेट भए कुनै समयमा, के बात गर्लान् यिनी । १
ठोक्किन्छन् जब यी दुई अणुहरू, यौटा
कुरा निश्चित ।
चारै थोक अवश्य हुन्छ यिनमा विज्ञानको वाक्य छ ।
एकैमा पहिले दुरुस्त र छिटो आवाज यो आउँछ ।
दोस्रोमा गतिको र चाल यसको यो भिन्नमा आउँछ । २
तेस्रोमा अब शक्तिमा र वलमा यो भिन्नता छाउँछ ।
चौथोमा अणु यी दुई मिलिकनै आकार फैलाउँछ ।
यो आवाज र शक्तिको र गतिको आकारको चित्र त ।
सोचेमा ल अवश्य मिल्छ सजिलै यो ज्यान नै भित्र छ । ३
यो आवाज प्रतीकको छ गतिलो, यो शंखको साथमा ।
अर्को यो गतिलो प्रतीक छ नयाँ, यो
चक्रको साथमा ।
अर्को शक्ति गदा भयो, स्वरुपको आकारको पद्ममा ।
शंखै चक्र गदा र पद्म पनि छन् श्री विष्णुका हातमा । ४
मानौँ एक त शूक्रकीट अणु हो, अर्को त डिम्बाशय ।
मिल्छन् यी अणु साथ साथ कहिले, नौलो छ
यो आशय ।
गर्भैमा अवतार हुन्छ यिनको, हे विष्णु ! साना अणु ।
आफैँ विग्रह गर्छु आज यिनको, यी विश्वका हुन् अणु । ५
साना छन् अति सूक्ष्म यी अणुहरू, के
देख्छ यो नेत्रले ।
खोज्दै मन्दिर मूर्ति घुम्दछ यता, के
भेट्छ यो नेत्रले ।
खोजेमा तनभित्र शास्वत यहाँ, यो धाममा विष्णु छन् ।
लौ गन्नुस् अब विष्णु विष्णु कति छन्, ढोग्नुस्
यहाँ विष्णु छन् । ६
मेरो यो तनमा छ विष्णु गतिलो, तिम्रो त के छैन र ?
अर्कोमा पनि हुन्छ विष्णु यसरी, सम्पूर्णमा
हैन र ?
शालिग्राम पखाल चूर्ण तुलसी, खाऊ सबेरै तिमी ।
तिम्रा विष्णु अवश्य पुष्ट हुन गै, बाँच्लान्
शताब्दी यिनी । ७
बाँचे विष्णु दह्राखरा भइकनै, कल्याण तिम्रो भयो ।
दुब्ला विष्णु भएर धर्म सकिए, वर्वात तिम्रो भयो ।
हिन्दू तत्त्व तिमी विरोध नगरे, यो
विश्वको धर्म हो ।
गर्नू इज्जत विष्णुको मनमनै, सम्पूर्णको कर्म हो । ८
हाम्रो भित्र शरीरमा तरलमा, मेदादि बोसो यहाँ ।
सेतै बग्दछ क्षीर सागर उसै, श्री विष्णु हुन्छन् जहाँ ।
जालैजाल जताततै वरिपरी, बाङ्गा नसा छन् अझै ।
नागैनाग शरीरमा वरिपरी, श्री विष्णुका साथ नै । ९
मिल्दा यी अणु गर्भमा सकसले, बन्दो छ बच्चो यहाँ ।
आमाको मुखबाट खान्छ यसले, जाँदैछ यो नाभिमा ।
यौटा ब्रह्म तुरुन्त फुल्दछ यता, यो
गर्भको वासमा ।
अर्को फूल दुरुस्त यो कमलको, श्री विष्णुका नाभिमा । १०
चारैतर्फ समुद्र नै छ त जगत्, त्यो ब्रह्म एक्लो भयो ।
बच्चो एक छ गर्भमा तरलमा, साथी नदेख्दो छ यो ।
मायावी मधुनाम हुन्छ उसको, अर्को भयो कैटभ ।
आए दानव यी दुई सँगसँगै, यी युद्ध गर्छन् अब । ११
तिम्रो ब्रह्म पवित्र पुष्ट छ भने, मर्छन्
दुवै राक्षस ।
ब्रह्माकै अब धर्भ भ्रष्ट छ भने, मारिन्छ
ऊ निश्चित ।
बाँचे ब्रह्म कतै जितेर यिनले, कल्पान्त
यो कोखमा ।
पृथ्वीमा अवतार हुन्छ यिनको, त्यो मत्स्यको रूपमा । १२
बच्चो बालक जन्मियो ल घरमा, माछो छ
तेर्सो छ ऊ ।
पानीबाट झरेर मत्स्य जसरी, नाङ्गो
भुतुङ्गो छ ऊ ।
बामे सर्छ सरक्क छेउतिरमा, बच्चो
यता वा उता ।
दोस्रो एक छ कूर्म यो छ कछुवा, भोटो छ छोटो उता । १३
खुट्टा चार गरी फटाफटा हिँडे, बढ्दै गए तेजले ।
तेस्रो त्यो भनिए वराह यसरी, हिँड्ने
बडो वेगले ।
बामेबाट उठेर गर्छ थिगिरी, लड्दैछ
उठ्दैछ ऊ ।
चौथोमा नरसिंह नै हुनपुगे, आधा न
मान्छे पशु । १४
मान्छे बल्ल बने दुई चरणका, कुद्ने
भए आँगन ।
हिँड्ने चाल मनुष्यको छ यिनको, पुड्के भए वामन ।
बढ्दै जान्छ उमेर हुन्छ तरुनो, ज्यादै रिसाहा बनी ।
कुद्दै हिँड्छ र काट्छ मार्छ, उसले
ती पर्सुरामैसरि । १५
भुल्दै जान्छ गृहस्थमा र गृहमा, आदर्शमा बस्छ ऊ ।
मर्यादा उसको छ उच्च तहको, श्रीराम
झैँ बन्छ ऊ ।
सिक्दै जान्छ अनेक काम र कुरो, सिक्दो छ भन्दो छ ऊ ।
गीताज्ञान सिकेर दिन्छ सबमा, श्रीकृष्ण
बन्दो छ ऊ । १६
खोज्दै ज्ञान सुकर्मको, हृदयको, सत्मार्गको चित्तको ।
अर्को यो अवतार हुन्छ यिनको, सत्पात्रको
बुद्धको ।
बूढो हुन्छ शरीर केश पनि यो, फुल्दैछ
यो श्वेत नै ।
अर्को यो अवतार अन्तिम हुने, श्री
कल्कि छन् श्वेत नै । १७
जाऊ तीर्थ जहाँ जतातिर तिमी, भेटिन्छ
के देवता ?
भन्छन् मूर्ख त देव नै मरिगए, मर्थे
र के देवता !
हाम्रो यो रथरूप शुद्ध तनमा, जन्मन्छ
यो देवता ।
हाम्रै आँगनबीचमा र घरमा हुर्कन्छ यो देवता । १८
हिन्दू तत्त्व विरुद्ध बोल्छ अहिले, कोही
यतैको भुरो ।
अर्को झन् परको बुझेर पनि ऊ, बुझ्दैन यस्तो कुरो ।
सिङ्गो मानव जन्म हुन्छ यसरी, के बुझ्न खोज्दैछ ऊ ?
आफैँ प्राण भरेर बाँच्छ कि कसो, के
पुज्न खोज्दैछ ऊ ? १९
आफैँमा भगवान् स्वरूप छ भनी, यो वाक्य बोल्दैछु म ।
धर्मो रक्षति रक्षितम् कनिकनी, यो
सूत्र खोल्दैछु म ।
तिम्रो धर्म जता छ जे छ मनमा, विश्वास आस्था गर ।
अर्काको घर ध्वस्त पार्दछु भने, बिग्रन्छ
आफ्नै घर । २०
च्यापेँ सिरानीसरि,
शार्दूलविक्रीडित छन्द ६२
केही भन्नु कदापि छैन त
प्रिया, छैनन् पुराना कुरा ।
यो विश्वास गरेर बस्नु घरमा, भन्दै छु साँचो कुरा ।
जेजे यो मनमा थियो भनिसकेँ, एक्लै बसी ती कुरा ।
जम्मै नै सकिए सप्रेम, रिसका, आनन्दका ती कुरा । १
आफैँ एकलमा बसी मगजमा, हाँसेर बोली सकेँ ।
तिम्रो तस्बिर भित्र बीच
मुटुमा, राखेर बोली सकेँ ।
जेजे भन्नु थियो भनेर सकियो, पर्दैन है आउनू ।
नौला बात गरौँ भनी अब यहाँ, पर्दैन है धाउनू । २
आफैँमा म दुई बनेर गफिँदा, हाँसेँ अरे रातमा ।
आनन्दी अनुहार प्रेमसरिको, पारेँ अरे खाटमा ।
उठ्दाखेरि बिहानमा सबजना, ती मित्र सोध्दै थिए ।
के हो कारण को छ भित्र
मुटुमा, सोध्दै र खोज्दै थिए । ३
कोही छैन मभित्र खास मुटुमा, यो स्वप्न हो भन्दिएँ ।
तिम्रै तस्बिर मात्र झल्झल
थियो, छैनन् उनी भन्दिएँ ।
हेरेँ चिम्म गरेर फेरि मनमा, ताजा बिहानीभरि ।
राखेँ प्रेम गरी यही हृदयमा, च्यापेँ सिरानीसरि । ४
प्रेम, स्रग्विणी छन्द, प्र नि अ बाट ६३
प्रेम आराधना हो तपस्या पनि ।
प्रेम सन्तुष्टि हो, हो निराशा पनि ।
कर्मकी प्रेमिका छन् भने साथमा ।
प्रेम हो जिन्दगीको भरोसा पनि ।
मूर्ख झैँ मातमा छन् भने प्रेमिका ।
प्रेम बेकारको हो तमासा पनि ।
जन्मकी प्रेमिका मातृका हात ती ।
माथमा छन् भने प्रेम आशा पनि ।
स्रग्विणी छन्द नै प्रेमिका छिन् भने ।
प्रेम हो लेखनी बग्छ भाषा पनि ।
देश र महेश पञ्चचामर छन्द, प्र नि अ बाट ६४
सदैव शान्त देश होस्, र शान्त हुन् सबै जन ।
सहस्रपादको कृपा, पवित्र हुन् सबै मन ।
छ बीज क्लेशको कतै, कुभावना नजानिदो ।
त्रिशूल यो तयार होस्, उखेल्न बीज तत्क्षण ।
अभाव भोक पेटमा, लुकेर बस्दछन् भने ।
हलो अनौ छ खेतमा, कुदुन् न तान्न वाहन ।
निशा जमेर बस्दछिन्, दिमागमा कतै भने ।
महेशमाथ सोमले, पखालियून् न दुर्जन ।
र धर्म गोत्र ठाउँको, घमण्ड वक्षमा भए ।
भुजङ्ग कण्ठका उठी ल रोक यो विभाजन ।
मलामीहरूप्रति, शार्दूलविक्रीडित छन्द ६५
उड्दो प्राण घनन्न बज्छ नभमा, यो शंख बज्दैछ झन् ।
मेरो लास यहाँ सरक्क खटमा, यी वाक्य झन् बन्द छन् ।
मेरो अन्तिम कालमा सँगसँगै, आयौ मलामी यहाँ ।
आफ्नै बन्धु र मित्र हो भनिकनै, अप्यौ{ तिलानी ममा ।१
तिम्रो साथ नबिर्सिने क्षण भयो, आयौ
मलाई लिन ।
आत्मा यो उनको महेश शिवको, फिर्ता उनैमा दिन ।
पानीमा, कुशमा र शुद्ध तिलमा, आत्मा छ यो आश्रित ।
तिम्रो हात तिलाञ्जली म पिउँला, श्रद्धा
मिठो मिश्रित ।२
खाली पाउ र टोप छैन शिरमा, बोकेर ल्यायौ यहाँ ।
तिम्रो यो ममता दया र करुणा, सम्झन्छु सम्झिन्न म ।
जाऊ स्वर्ग भनी पवित्र मनले, आगो लागाई दिनू ।
बोकेका अब दाउरा यदि भए, मुर्दा जलाई दिनू ।३
आगो दन्दन गर्छ यो वदनमा, ती पीर तिम्रा जलून् ।
बुर्कीका वलले त खेतभरिमा, ती अन्न राम्रा फलून् ।
हिँड्दा जो पथमा खसाल्दछ टीलो, लक्ष्मी
बनून् दाहिना ।
पानीले जसले पखाल्दछ चिता, आस्था बनोस् कञ्चन ।४
हे प्यारा सुन बन्धु मित्र जनहो ! फर्केर जाऊ घर ।
यो हो सत्य शरीर मर्छ सबको, संसार के पो छ र !
ईष्र्या, रोष, घृणा र कल्पष सबै, टिप्दै र फाल्दै गर ।
माया, सत्य र पूण्यकर्म दिलमा, खोजेर भर्दै गर ।५
आरति, शार्दूलविक्रीडित छन्द ६६
हे श्री सूर्य बिहानको नमन यो, गर्दैछु
यो आरति ।
अर्घौतो छ पवित्र थाल करमा, यो अर्घको आरति ।
घुम्छौ फन्फन वेगले भुवनमा, हे विश्वका सारथी !
घुम्दै देख्छु सधैँ यतातिर तिमी, गर्छौ
ममा आरति ? १
मेरो केन्द्र सदा तिमी सब जगत्, हे
सूर्य ! हे भाष्कर !
तिम्रो को हुँ म ? घुम्दछौ
वरिपरी, आफ्ना उठाई कर ।
तिम्रा साथ सदैव देख्छु गतिलो, थाली छ
गोलो उता ।
बाल्छौ दीपक टल्कँदो छ घर यो, तिम्रो कृपाले यता । २
गर्दा आरति यो बिहान दिनमा, बत्ती उता बाल्दछौ ।
गर्दा आरति साँझको समयमा, बत्ती
कतै सार्दछौ ।
आफैँ उल्लु भएँ म आज किन हो ? को बस्छ यो केन्द्रमा ?
तिम्रो केन्द्रतिरै म बस्छु कि कसो ? छौँ वा दुवै केन्द्रमा ? ३
द्यौता नै यदि हौ भने भुवनमा, यो रात्रि कालो किन ?
पूर्णैपूर्ण भयौ भने गगनमा, आलो र पालो किन ?
आधा सूर्य कतै मभित्र रहने, मारेर लान्छौ किन ?
सिङ्गै बाँच बनेर एक गतिलो, आऊ मलाई लिन । ४
तिम्रो आरति गर्छु नित्य म यहाँ, सिङ्गो
छ को, चूर्ण को
मेरो आरति सूर्य गर्दछ भने, को अंश हो ? पूर्ण
को ?
द्यौता खोज्न हतारिने मनुज हो ! सोचौँ न एकै छिन ।
कल्ले आरति गर्छ आज कसको, द्यौता ल को हो भन । ५
वाचा, शार्दूलविक्रीडित छन्द ६७
लाखे है कविता म आउँछु भरे, पर्खेर बस्नू तिमी ।
केटो यो त अवश्य आउँछ भनी, लर्केर
बस्नू तिमी ।
आँखा गाढ्न तयार छन् सबजना, तर्केर
बस्नू तिमी ।
गर्दै नाटक जान्न जान्न म भनी, झर्केर बस्नू तिमी । १
तिम्रा निम्ति भनेर रात दिनमा, यी सूत्र
घोक्दै छु म ।
तिम्रै निम्ति भनेर काव्य गतिला, छानेर बोक्दै छु म ।
लाई बार निबन्ध, नाटकहरू, छेकेर बस्दै
छु म ।
तिम्रै रूप छ वक्षभित्र मुटुमा, बोकेर जाँदै छु म । २
प्यारीकासँग साथ छुट्न नसकी, मर्दो चखेवासरी ।
उस्तै प्राण लिएर हेर म हिँडे, एक्लो परेवासरी ।
यस्तै हो सबको छ पेट पहिले, भर्नै प¥यो जे गरी ।
पक्का भेट्न म आउँनेछु कविता ! वाचा नतोड्ने गरी । ३
सारी चट्ट सुहाउँने शिखरिणी, चोलो छ यो तोटक ।
लामो पार्न र बेर्नओर्न पटुकी, शार्दूलविक्रीडित ।
लाऊ गाजल स्वागता नयनमा, झुम्का
बनून् स्रग्विणी ।
टीको त्यो उपजाति, शम्भु सिउँदो, त्यो
कण्ठमा रागिणी । ४
बन्नू जग्जग बेहुली अनि तिमी, हेर्नू मलाई भरे
।
मायाले बलले सरक्क करले, बेर्नू
मलाई भरे ।
सारा उत्तम कर्मका फलहरू, जो
ल्याउनेछु भरे
खाई टन्न अघाउनू र मसँगै, त्यो रात
काट्नू भरे । ५
इच्छाको नदी , शार्दूलविक्रीडित छन्द ६८
यौटा सूर्य उदाउँने समय हो, यो मिर्मिरे काल हो ।
सारा चेत खुलाउँने समय यो, यो
ब्यूँझिने काल हो ।
सन्ध्या यो पहिलो बिहान दिनको, यो आरति काल हो ।
लाखौँका सपना यहाँ सुरु हुने, साकारको
काल हो । १
छन् धेरै पुरबासमा शहरमा, नौला यहाँ मानिस ।
धेरै पौरख गर्न हिम्मत हुने, फालेर यो
आरिस ।
मान्छेका बह छन् यहाँ रहर छन्, लाखौँ करोडौँ यहाँ ।
श्री सूर्योदयकालका सँगसँगै, ती स्वप्न
खोज्छन् यहाँ । २
इच्छाको छ नदी सलल्ल बहने, पुग्ला गरे जाँगर ।
बग्दो यो छ नदी त रात दिनमा, खोज्दैछ ऊ
सागर ।
इच्छा टल्टल टल्किँदो छ रहमा, श्री
सूर्य झन् टल्किने ।
मान्छे झन् कति जोसले र बलले, गन्तव्यमा
लम्किने । ३
राम्रो विम्ब यहाँ म देख्छु सरिता, यो चित्रको
साथमा ।
अर्को विम्ब दुरुस्त देख्छु सबिता, यो चित्रको माथमा ।
पृथ्वीका जलदेखि माथि नभमा, मान्छेहरू
छन् सबै ।
हिँड्दामा सब यी निरन्तर गरी, गन्तब्य
पुग्छन् सबै । ४
घरबेटीको सन्देश,
शार्दूलविक्रीडित छन्द ६९
पाँचै भूत मिली बन्यो घर बडो, साह्रै छ राम्रो तर ।
अर्कै मालिक बस्छ यो घरतिरै, यी भूत छन् नोकर ।
पाँचै इन्द्रियबाट माग्छ
उसले, भाडा नराम्रो सधैँ ।
जे जे माग्दछ फुत्त इन्द्रियहरू, टक्र्याइदिन्छन् अझै । १
कस्तो मालिक बस्छ यो घर भनी, जान्ने इरादा गरी ।
लागेँ एक बिहानमा घरतिरै, भेटेर बोलौँ भनी ।
खुल्ला छन् दसद्वार बन्द
नहुने, आश्चर्यको यो घर ।
खोजेँ फन्फन भित्र बाहिर कतै, भेट्तै नभेट्ने तर । २
को बस्छन् घरभित्र एक मनुवा, अर्कै छ वा नश्वर ।
वा छन् यी शिव राम
कृष्णसरिका, वा हुन् नयाँ ईश्वर ।
हेर्दै बस्छु बिहान साँझ
दिनमा, बस्छन् यिनी खै कहाँ ।
आफैँ फेरि विचार गर्छु मनमा, छैनन् कतै रूपमा । ३
कुर्दा धेर अबेर रात दिनमा, झन्डै भएँ सालिक ।
भन्छन् नोकर ती बसेर मसँगै, आयो, गयो मालिक ।
आएको पनि चाल हुन्न यिनको, दौडी कहाँ यी गए ।
अर्को भन्छ सँगै बसी नजिकमा, सन्देश छोडी गए । ४
छायातत्व हटाइदे हृदयको, देख्लास् तँ मेरो मुख ।
मायातत्व हटाइदे मगजको, भोग्लास् म जस्तै सुख ।
तेरो त्यो घर तुच्छ जीर्ण
अपुरो, भत्कन्छ बिग्रन्छ यो ।
मेरो यो घर पूर्ण, शुद्ध छ अहो, भत्कन्न बिग्रन्न यो । ५
यस्ता यी घर मांसपिण्ड जति
छन्, जल्ने खरानी हुने ।
छैटौँ इन्द्रिय यो अझै
अगतिलो, केले पखाल्ने धुने ।
यस्ता उत्तर सोधखोज नगरी, भेटिन्न देखिन्न म ।
सत्सङ्मा पस ध्यानमा बस सधैँ, आएर भेट्नेछु म । ६
गुरुहरूप्रति,
शार्दूलविक्रीडित छन्द ७०
देख्यौ बीज मभित्रको हृदयको, रोप्यौ र हाल्यौ जल ।
आयो एक टुसो उही हृदयको, ल्याएर हाल्यौ मल ।
फाल्यौ ती सब झारपात जति छन्, चुँड्दै निमोठ्दै गरी ।
लायौ बार तिखा तिखा घँगरुका, मार्लान् अरूले भनी । १
बाह्रैमास खटेर रात दिनमा, माटो दियौ हातले ।
ढाक्यौ घाम र राप नत्र म
छिटै, मर्ने थिएँ तापले ।
उप्केरा अनि गोडमेल छ सधैँ, माया ग¥यौ होसले ।
हाल्यौ ओत ममा विचित्रसँगले, के मर्दथेँ ओसले । २
लाग्यो ज्यान हलक्क बोट म
भएँ, हाँगा पलाए अरू ।
थाल्यौ गर्न ल रेखदेख गतिलो, भोकै बसेरै बरु ।
देख्यौ यी जब कोपिला हृदयका, हाँस्यौ मजाले तिमी ।
तिम्रो पौरखले सुवास भरिँदा, आनन्द मान्थ्यौ तिमी । ३
तिम्रो नै म हुँ कोपिला अब
फुलेँ, खै के गरूँ अर्पण ?
आफैँ फूल बनी म आज दिनमा, अर्पन्छु यो जीवन ।
जस्तो फूल फुलेँ फुलेँ
फुलिगएँ, उस्तै छ यो अर्पण ।
श्रद्धाभाव मिसेर गर्दछु नमः, स्वीकार यो अर्पण । ४
कविहरूप्रति, भुजङ्गप्रयात छन्द ७१
दिया यी उज्याला र बत्ती
उज्याला ।
थपे तेल संस्कारको झन्
उज्याला ।
बने मृत्तिका चूर्ण आकार पाई,
डढे रापमा तापमा झन् उज्याला
। १
उही रापले तापले आज आई ।
बने काव्य नौला सुबाटो समाई
।
गरे देशको प्रेम भाषा रमायो,
र नेपाल हाँस्यो मिठा गीत
गाई । २
दिई यो उज्यालो बने मैन
जस्ता ।
नबल्दा नजल्दा त वेचैन जस्ता
।
कला छन्द साहित्यको रूप
हेर्दा,
पुराना यिनी काव्यका ऐन
जस्ता । ३
सफा पोखरीमा ल नारा भरून् यी
।
पिऊँ घट्घटी छन्द धारा बगून्
यी ।
शताब्दी दिउन् दैवले आयु
स्वस्थ,
उज्याला स्वयम् सूर्य तारा
बनून् यी । ४
गजल, भुजङ्गप्रयात छन्द ७२
म सोझो छु सोझै रहौँला कि
नाइँ ।
म जस्तो छु उस्तै रहौँला कि
नाइँ । १
छ गर्मी बसौँ भित्र आऊ न
भन्दा,
डराई म भित्रै पसौँला कि
नाइँ । २
हिजो बातमा अन्त फस्दै
नफस्ने,
तिमीले भनेमा फसौँला कि नाइँ
। ३
सदा बासको निम्ति आफ्नै छ
डेरा,
त्यतै रात पर्दा बसौँला कि
नाइँ । ४
तिमीले इसfरा गरे प्रेमको झन्,
अँगालो मिठो यो कसौँला कि
नाइँ । ५
झरी, शार्दूलविक्रीडित छन्द ७३
हे आकाश ! नरो नरो अब नरो, रोएर के हुन्छ र ?
झार्दै आँसु छिटो दुई नयन यी, धोएर के हुन्छ र ?
तेरा ती पिरका कथा विरहका, को नै यहाँ सुन्छ र ?
साह्रै दिक्क भइस् भनेर
तँसँगै, आएर को रुन्छ र ? १
मेरा निम्ति नरोइदे अब अरू, झर्दै झरी दर्दरी ।
उस्तै हालतमा म हुन्छु मनमा, यी नेत्र छन् धर्धरी ।
आफैँ झार्छु र टिप्छु आँसु
सब यो, तैँले टिपेझैँ गरी ।
आफैँ भिज्छु भिजाइदिन्छु अब
लौ, आफैँ बनौँला झरी । २
सातै सागर छन् मभित्र मुटुमा, बग्ने अरू छन् नदी ।
तापैताप छ भित्र बाहिर उँभो, तातो छु आगोसरी ।
सोस्दै यो जल तापले दिनदिनै, त्यो वाफ साँच्दै गरी ।
चिस्याएर म झार्छु नेत्र
तटमा, आफ्नै छ मेरो झरी । ३
तेरो आँसु दरर्र झर्छ भुइँमा, देख्छन् सबैले यता ।
मेरो आँसु रुमालमा र करमा, को देख्छ यो वाध्यता ।
तेरो त्यो ऋतुमास वर्ष दिनमा, बर्सन्छ एकै झरी ।
मेरो बग्छ झरी त वर्ष दिनमा, बर्सात वर्षैभरि । ४
पागल, मुक्त छन्द ७४
बिहानै प्रेमको
नतिजा टाँसेर गईन् मेरो ढाडमा ।
कोही हेरिदेओ न ए
! के लेखेको रहेछ ।
दुनियाँ मेरो पछि
लाग्यो त्यो नतिजा पढ्न ।
भाग्यमा नै पहिलो
पटक अघि हुन लेखेको रहेछ ।
मान्छेहरू पढ्दै, मलाई हेर्दै, वधाई दिँदै
जान्थे ।
दिनभरि सोचेँ
शायद, पास ! लेखेको रहेछ ।
यतिका
प्रेमीहरूबीच उनले मलाई नै छानिछन् ।
धन्यवाद दैव !
उनकै हुन लेखेको रहेछ ।
साँझमा सानो बच्चो
आयो र पढिदियो ।
पलाई आकार पा, ग, ल, पागल लेखेको रहेछ
।
प्रेमालाप , शार्दूलविक्रीडित छन्द ७५
प्रेमालाप सधैं म गर्दछु
यहाँ, एक्लै छु एक्लै तर ।
एक्लैमा पनि बात हुन्छ रसिलो, के प्रेम बेग्लै छ र !
आफैँ प्रश्न म गर्छु
उत्तरहरू, आफैँ म दिन्छु स्वयम् ।
मिल्दा उत्तर प्रश्नका गजबले, आफैँ म हाँस्छु स्वयम् । १
आफैँ सोध्छु नयाँ कुरा खबर
यी, सञ्चो बिसञ्चो पनि ।
आफैँ भन्छु सबै ठिकै छ अहिले, आराम सञ्चै भनी ।
हाँस्दै प्रश्न म गर्छु
हाँस्छ मन यो, एक्लै बसी रातमा ।
एक्लै हुन्छु तथापि मान्छु
जहिले, हुन्छिन् उनी साथमा । २
बोल्दामा जब नाम लिन्छु उनको, बेग्लै छ अर्को थर ।
निन्द्रामा पनि नाम लिन्छु
कि भनी, लाग्दै छ अर्को डर ।
हे प्यारी ! सपना बनी अब
छिटै, आऊ न मेरो घर ।
एकै गोत्र बनून् दुवै मनहरू, एकै बनोस् यो थर । ३
बोली बन्द गरिन् कुनै समयमा, लौ के भयो सोच्दछु ।
आफैँ कारण खोज्छु एक गतिलो, माफी उसै माग्दछु ।
हाँसिन् खित्खित ओठमा, वचनमा, आनन्द यो जिन्दगी ।
हेरिन् प्रेम भरी दुवै नयनले, आहा ! भयो जिन्दगी । ४
कोल्टे फेर्छु र हेर्छु
देख्दिन कतै, बौलाउँझैँ लाग्दछ ।
हेर्दै चित्र म भित्रको
हृदयको, बोलाउँझैँ लाग्दछ ।
मेरी नै यदि हौ भने अब सधैँ, यो रात काटौँ सँगै ।
नौला बात गरौँ, रमौँ सँगसँगै, यो प्रेम साटौँ सँगै । ५
बिदाइ, मन्दाक्रान्ता छन्द ७६
मेरी आमा, अब म कसरी, छोड्नु यो काख तिम्रो ।
मेरा बाबा, अब म कसरी, छोड्नु यो साथ तिम्रो ।
भ्राता मेरा, अनुज कसरी, तोड्नु यो साथ तिम्रो ।
साथीसङ्गी, भन न कसरी, मोड्नु यो प्रीत तिम्रो । १
पोते रातो, अझ तिलहरी, साथमा आज हेर ।
रातै सारी, अनि छ सिउँदो, माथमा आज हेर ।
नारीको यो, चलन पनि हो, कर्म संस्कार हो यो ।
जानै पर्ने, पतिसँग उतै, धर्म संसारको यो । २
जाऊँ जाऊँ, पनि छ मनमा, लाज सङ्कोच थोरै ।
ब्यौला राम्रा, कुसुमसरिका, प्रीत गाढा छ मेरै ।
मन्दाक्रान्ता, मनमुटु भयो, मन्द आक्रान्त धेरै ।
हिँड्नै लागेँ, प्रियवर सँगै, साथ छन् यी मनेरै । ३
पाखा बारी, चउर हरिया, याद राख्नू मलाई ।
पानी धारो, मन मगजमा, याद राख्नू सजाई ।
खोलानाला, रनवन सबै, फूलझैँ मुस्कुराई ।
जानै लागेँ, अब गर बिदा, आज मेरो बिदाइ । ४
न्यानो माया, अपरिचितको, प्यार धेरै म पाऊँ ।
दोस्रो मेरो, असल घर यो, कर्मले झन् सजाऊँ ।
सम्झी प्यारा, विगत दिनका, तिर्सना मेट्नलाई ।
छुट्टी मागी, पछि म कहिले, आँउला भेट्नलाई । ५
बत्ती नबाल्नू भरे,
शार्दूलविक्रीडित छन्द ७७
हे प्यारी ! सुन एक बात
नमिठो, चिन्ता नगर्नू भरे ।
पर्दा झिस्मिस साँझको समयमा, बत्ती नबाल्नू भरे ।
जे जे खेप्नु थियो भयो
बितिगयो, सम्झाउलान् है भरे ।
आफैँ सम्झ अरू दह्रो मुटु
गरी, बत्ती नबाल्नू भरे । १
माताश्री जब सुन्नुहुन्छ
पिरको, यस्तो नराम्रो कुरो ।
बग्ला आँसु तरक्क नेत्र
डिलमा, सम्झेर सानो भुरो ।
सारी छेउ लिएर एक करले, त्यो आँसु पुछ्दै गरे ।
हे आमा ! अनुरोध गर्छु अहिले, बत्ती नबाल्नू भरे । २
मेरो आयु तँ ले, भनी अझ बुबा जो थप्नुहुन्थ्यो अघि ।
बाँचौँझैँ पनि लाग्दथ्यो
मनमनै, त्यो आयु थप्दै गरी ।
उल्टो काल भएछ आज किन हो, ती काल अन्तै सरे ।
हे बाबा ! म गएँ ल आयु सकियो, बत्ती नबाल्नू भरे । ३
बुझ्ने छन् बहिनी दिदी सबजना, चेलीहरू छन् जति ।
अर्को वर्ष तिहार रोकिन गयो, यो माइतीको खति ।
सुर्कामा अब फूल यो मखमली, बेर्ना नसार्नू हरे ।
खोपामा छ दियो र तेल बिटुलो, बत्ती नबाल्नू भरे । ४
प्यारा मित्र ! सबै सबै
हृदयका, आजै म टाढा गएँ ।
नौला यी कविता मिठा रहरका, आजै म सक्दो भएँ ।
मेरौ ज्यान रहेछ विम्ब ननिको, त्यो विम्ब देख्नू भरे ।
ढल्दा भाष्कर साँझमा गगनमा, बत्ती नबाल्नू भरे । ५
आगो, पञ्चचामार छन्द ७८
म छैन आज के भयो, अरू त छन् नि साथमा ।
बिसञ्च सञ्च के छ हो, भनेर सोध्न गाथमा ।
हरेक नेक दाउरा, बिहानमा र साँझमा ।
तिमी समीप बल्दछन्, खुसी दिएर साथमा । १
ठिकै छ जे भयो तिमी, रमाउँनू यसैगरी ।
दिएर ताप अग्निको, तताउनू यसैगरी ।
रमेर दाउरासँगै, प्रकाश बाल प्रीतको ।
प्रफुल्ल बाँच प्रेममा, सुदीप देख प्रेमको । २
उमेर ढल्किँदै गयो भने बुढेस
कालमा ।
सकिन्छ निभ्छ वैँस यो, अँगार काठ काठमा ।
यता नहाँस जिन्दगी, उमङ्ग रुन्छ देहमा ।
उता नसाँच जिन्दगी, अभाव छैन गेहमा । ३
जता छ अग्नि दन्किँदो, उतै घँचेट दाउरा ।
ठुटा मुढा यतै रहुन्, चिसा झिँजा त बाहिर ।
जसै सकिन्छ दाउरा र अग्नि
निभ्न थाल्दछ ।
झिँजा जलाउँनू तिमी, ठुटो झरर्र बल्दछ । ४
जलेर शुष्क भष्म हुन्, झिँजा ठुटा कि दाउरा ।
अँगार बन्छ मृत्तिका, म बन्छु फेरि आँकुरा ।
हलक्क बढ्छु प्रेममा, म प्रेम हैन भन्दिनू ।
सरक्क फुल्छु फूल यो, म फूल हैन भन्दिनू । ५
तिमी नदेख कोपिला, म फूल नै फुलेँ भने ।
तिमी नदेख बोटका, जराजुरी मरेँ भने ।
खुरुक्क काट आज नै, छ बञ्चरो यतै कतै ।
र दाउरा बनाउँनू, जलाउँनू यतै कतै । ६
मदिरा, मदिरा छन्द ७९
दे मदिरा मदिरा मदिरा मदिरा, मदिरा मदिरा अझ दे ।
मात्छु म आज त नाच्छु म आज त, होस गुमाउँछु आज त दे ।
राम म सुन्छु र राम म देख्छु
र, राम म गाउँछु आज त दे ।
दे मदिरा मदिरा मदिरा मदिरा, मदिरा मदिरा अझ दे । १
रावण काट्छु बिभीषण पाल्छु र, फाल्छु अरू जति दुष्ट सबै ।
प्रीत म लाउँछु गीत म गाउँछु, वानर यो हनुमानसँगै ।
यो छ सुधारस पान म गर्दछु , तृप्त म बन्छु न आज त दे ।
दे मदिरा मदिरा मदिरा मदिरा, मदिरा मदिरा अझ दे । २
ध्यान म गर्दछु नेत्र म
खोल्दिन, बस्छु र कस्छु म कुण्डलिनी ।
नाक छ वाण छ सास छ तीर छ, जान्छु ल आज म युद्धजिमी ।
निश्चित निश्चित भन्छु ल आज
त, बन्छु हराम म आज त दे ।
दे मदिरा मदिरा मदिरा मदिरा, मदिरा मदिरा अझ दे । ३
लक्ष्मण भेट्नु छ अङ्गद
हेर्नु छ, यो वनबास म आज हिँडेँ ।
त्यो परिवार जता छ म जान्छु
ल, कुद्छु म पुग्छु म आज हिँडेँ
।
सागर तर्नु छ पीपल चढ्नु छ, लौ न गिलास भरी अब दे ।
दे मदिरा मदिरा मदिरा मदिरा, मदिरा मदिरा अझ दे । ४
बोक्छु खराउ र भेट्छु जटायु
र, सोध्छु म यो पथ आज भरे ।
राम र लक्ष्मण नाम भजी अब, बुझ्नु छ को कति पार तरे ।
नाउ म चढ्दछु जीवन तर्दछु, ईश अँगाल्छु म आज भरे ।
दे मदिरा मदिरा मदिरा मदिरा, मदिरा मदिरा अझ दे । ५
टुँडाल, शार्दूलविक्रीडित
छन्द ८०
मेरो मन्दिर पूर्ण शुद्ध छ
यहाँ, फर्की नआऊ तिमी ।
ढोका बन्द गरेर बस्दिनँ यहाँ, तर्केर जाऊ तिमी ।
तिम्रा दृष्टि कुदृष्टि छन्
नयनमा, पर्दैन के आउनू ।
तिम्रो सोच सदैव भ्रष्ट
मतिको, पर्दैन के धाउनू । १
नाप्छौ हात र पाउ यो वदनका, होचा र मोटा भनी ।
खोज्छौ हेर्न शरीरका रङहरू, काला र गोरा भनी ।
हेर्छौ रूप र अङ्ग, ढङ्ग जति छन्, बोल्छौ मिठो तालले ।
के देख्छौ यसरी कुरा अब तिमी, के बुझ्नु यो चालले । २
खोल्छौ वस्त्र सरक्क रात
दिनमा, ढोका उघार्छौ उता ।
देख्छौ मख्ख परी टुँडाल
गतिला, जो काष्ठका हुन् कला ।
तिम्रो मूर्ति यहाँ पुजिन्छ
यसरी, यो पुष्पको अर्पण ।
तिम्रा निम्ति टुँडाल मूर्ति
भगवान्, देख्छौ स्वयम् दर्पण । ३
मेरा यी दसद्वार बन्द नहुने, पर्खाल नाघ्छौ तिमी ।
मूर्दाझैँ सब यी टुँडाल
रमिता, जीवन्त देख्छौ तिमी ।
मैलो त्यो दिलमा दिमागभरिमा, जुत्ता फुखाल्छौ उता ।
आत्माको भगवत्स्वरूप छ यहाँ, खुट्टा पखाल्छौ उता । ४
ठोकी टाप खुरुक्क अन्य जगमा, बाटो तताऊ कतै ।
बत्ती बाल कपासका टलटली, ती नेत्र सेक्नू कतै ।
लाऊ चन्दन लेप ठप्प शिरमा, टीको लगाऊ तिमी ।
मेरो मन्दिरमा छ भाव असली, फर्की नआऊ तिमी । ५
अटेरी, भुजङ्गप्रयात छन्द ८१
भनेको नमान्ने म आफैँ अटेरी
।
अरूको कुरा के म आफैँ अटेरी
।
यसो गर्नु पर्दैन भन्दैछु
आफैँ ।
उही गर्न खोज्दैछु आफैँ
अटेरी ।
जता जे छ राम्रो उही
हेर्नुपर्ने ।
नहेर् भन्छु मान्दैन आँखै अटेरी
।
नखा है नखा है बडो रोग
लाग्ला ।
म भन्दैछु खाँदै छ दाँतै
अटेरी ।
जता मिल्छ यो स्वाद चोक्टा
कि झोल ।
उतै चाख्न खोज्दैछ जिब्रो
अटेरी ।
गरे काम थोरै त मिल्नेछ मेवा
।
म जा जा सधैँ भन्छु तिघ्रो
अटेरी ।
उठी नित्य सन्ध्या गरेस् योग
भन्दा ।
सुनेरै नमान्ने म कस्तो
अटेरी ।
म आफैँ यहाँ वा कि अर्कै छ
कोही ?
भनेकै नसुन्ने यहाँ को अटेरी
?
म मर्दा यही सोच मर्ला
नमर्ला ?
र अर्को जुनी झन् कि बन्ला
अटेरी ?
पुरानो नै नयाँ !! भुजङ्गप्रयात छन्द ८२
पुराना कुरा मात्र देख्छन्
सबैले ।
पुराना कुरा मात्र लेख्छन्
सबैले ।
नयाँ छैन केही म नौलो नहेरूँ
?
नयाँ लेख्न थाले कि हेप्छन्
सबैले ! १
उता पढ्छु यो रोष उस्तै
पुरानो ।
यता पढ्छु यो प्रेम उस्तै
पुरानो ।
घृणा पाप पुण्यादि माया
वितृष्णा ।
सबैका सबै आज उस्तै पुराना ।
२
पुरानो भयो धर्म आस्था
पुरानो ।
पुरानै भयो जन्म कालै पुरानो
।
म खोज्दैछु नौलो यहाँ के छ
आज,
नयाँ शब्द आफैँ म देखूँ
पुरानो ? ३
थिए जो पुराना उही आज नौला ।
झनै पूर्व प्राचीन उस्तै
सुनौला ।
जता हेर्न जाऊँ जता पढ्न
थालूँ ।
उनै व्यास नै पो भए आज नौला
। ४
आत्मा, अनुष्टुप् छन्द ८३
अनुष्टुप् नै भयो
आज अनुष्टुप् नै नमो नम ।
यो शीर्षक भयो
आत्मा आत्मालाई नमो नम । ॐ
यता पृथ्वी उता
पृथ्वी सबै ठाउँ उही छ यो ।
यता जाऊँ उता
जाऊँ सबै ठाउँ उही छ यो । २
खन्ने मान्छे सबै
खन्छन् जोत्नेले गोरु नार्दछन् ।
घर निर्माण गर्नेले खारेर चट्ट
पार्दछन् । ३
ऋषि छन् रङ्क छन्
राजा चोर डाका र छुद्र छन् ।
ब्राह्मण वैश्य
क्षत्रिय अन्यान्य कति शूद्र छन् । ४
पृथ्वीमा नै मिठा
नौला धेरै ती फल फल्दछन् ।
पृथ्वीमा कति
दुर्गन्धी विष्टाका ढल बग्दछन् । ५
पहिरो जान्छ
पृथ्वीमा पृथ्वीमा कम्प आउँछ ।
बूढो रुख मरी जान्छ नयाँ मुना
पलाउँछ । ६
केही असर पर्दैन
पृथ्वी घुम्छ निरन्तर ।
पुग्नु जानु कतै
छैन फगत् घुम्छ निरन्तर । ७
जता जाओस् उतै
आफैँ जोतून् रोपून् निरन्तर ।
विना उद्देश्यको यात्रा पृथ्वीको छ निरन्तर । ८
यो आत्मा पनि
उस्तै हो यात्रा गर्छ सबैतिर ।
जता हेरौँ उतै
आत्मा, आत्मा नै छ
सबैतिर । ॐ
पानी अर्को छ झन्
उस्तै खोलानाला सबै भरी ।
माथिबाट उँधो
झर्छ आकाशबाट दर्दरी । १०
उँधो उँधो बगी
जान्छ बग्दै जान्छ सधैँभरि ।
न रोकिन्छ न
छेकिन्छ बगिरन्छ सधैँभरि । ११
कतिले पिउँछन्
पानी कतिले त नुहाउँछन् ।
अर्चना ईशको
गर्छन् आची धुन्छन् धुवाउँछन् । १२
तातो भयो भने
पानी तातेर बाफ बन्दछ ।
ठण्डा भयो भने
ज्यादै जमेर हिउँ बन्दछ । १३
बाफ वायु जमेमा यो ठोस बन्छ यही
जल ।
घुमेको घुमेकै
गर्छ चारैतिर निरन्तर । १४
पानीको हुन्न
आफ्नो झन् उद्देश्य छैन है तर ।
पानी नै छ जगत्
व्याप्त पानी बग्छ निरन्तर । १५
यो आत्मा पनि
उस्तै हो उँधो उँभो सबैतिर ।
विभिन्न रूप आकार
अनेक एक हो तर । ॐ
तेस्रो तेज छ यो
अर्को शक्ति हो यो प्रकाश हो ।
आफैँ उत्पन्न जो
हुन्छ आफैँ व्युत्पन्न हुन्छ यो । १७
ठूलो सगरमाथामा
सानो न्युटोनमा छ यो ।
पृथ्वीमा वायुमा
जस्तै पानीमा पनि हुन्छ यो । १८
जेजे छन् जति छन्
वस्तु तेज शक्ति विराज छ ।
निर्वाण वा
विनिर्वाण नहुने यो विराट् अझ । १९
ठोक्किए पनि
उस्तै छ अलग्गिए उही उही ।
कुहोस् सडोस् जति
जे होस् त्यो शक्ति छ उही उही । २०
शस्त्र अस्त्र
लिई हामी छिनालौँ शक्ति तेज यो ।
सबै बेकार बेकार शक्ति
नासिन्न तेज यो । २१
शक्तिले शक्तिको
नाश गरी हेरौँ असम्भव ।
तैपनि शक्ति
घुम्दैछ दशै दिशा निरर्थक । २२
यो आत्मा पनि
उस्तै हो जन्मपूर्व र पश्च छ ।
जन्मियोस् जो कि
मर्दै होस् आत्मा अमर प्रष्ट छ । ॐ
चौथो तत्व छ यो
वायु चौतर्फी व्यप्त व्यप्त छ ।
न देखिन्छ न
छामिन्छ न रङ न त रूप छ । २४
नियन्त्रण भए
वायु को चाहिँ मर्नु पर्दथ्यो ।
दुई मुठी त यो
सास मुटुमा भर्नु पर्दथ्यो । २५
के के ग¥यौँ भनी मान्छे
विश्वमा हेर उफ्रने ।
एक सर्को छ यो
प्राण मुटुमा भर्न बिर्सने ।२६
वायुले बोक्छ
दुर्गन्ध सुगन्ध पनि बोक्दछ ।
बोकोस् जस्तोसुकै
वायु आफैँमा स्वादहीन छ । २७
जता जाऊ उता वायु
मात्रै वायु र वायु छ ।
यो पिण्ड भित्र
बाहिर उही उस्तै छ वायु छ । २८
हुँदा हुँदै सबै
ठाउँ वायु घुम्छ निरन्तर ।
उद्देश्य यसको
छैन फेरि चल्छ निरन्तर । २९
यो आत्मा पनि
उस्तै हो गतिशील सधैँ छ यो ।
नवैलिने न मैलो
यो आफैंमा परिपूर्ण यो । ॐ
पाचौँ तत्व छ
आकाश छोएर लौ न हेर त ।
घटाकाश र आकाश
यौटा छोएर हेर त । ३१
खाली ठाउँ जहाँ
देख्छौ सम्पूर्ण विश्वमा छ यो ।
त्यही हो है ल
आकाश आकार पनि हेर यो । ३२
के चाहिं गर्न सक्छौ लौ गरेर भन है भरे ।
यहाँ बस्दै म सुन्ने
छु पक्का नै भन है भरे । ३३
सुन वा सुँघ आकाश
वा चाट रसले तिमी ।
जोड वा तोड आकाश
के सक्नु बलले तिमी । ३४
यो आत्मा पनि
उस्तै हो चारैतिर भए पनि ।
न सुँघिन्छ न
सुनिन्छ न नासिन्छ कसैगरी । ॐ
पाँचै तत्व मिली
जम्मै हाम्रो शरीर बन्दछ ।
पृथ्वी जल उही
तेज वायु आकाश बन्द छ । ३६
छुट्याऊ अब पाँचै
यी फाल्टाफाल्टै गरी सुन ।
बाँकी जो छ तिमी
भित्र उही आत्मा तिमी गुन । ३७
नझुक्किनू कतै
फेरि आत्मा यो मन हो भनी ।
नझुक्किनू
नझुक्किनू आत्मा इन्द्रिय हो भनी । ३८
मनको हुन्छ
उद्देश्य इन्द्रिय दसका पनि ।
आत्माको छैन उद्देश्य
घुम्छ यो त जहाँतहीँ । ३९
हाम्रो शरीरको
यौटा मात्रै उद्देश्य भिन्नु छ ।
शताब्दी वर्ष
बाँचेर आत्मालाई त चिन्नु छ । ४०
अन्तिम श्लोकमा
आई पुनः गर्छु नमोनम ।
व्यक्त विश्व र
अव्यक्त आत्मालाई नमोनम । ॐ
पात्रो, इन्द्रबज्रा छन्द ८४
पात्रो छ तिम्रो ऋतु मास
घुम्ने ।
त्यो चैत्र बैशाख छ फूल
चुम्ने ।
मेरा सबै यी पल छन् वसन्त ।
माया म गर्नेछु यहाँ अनन्त ।
१
त्यो रात कालो दिन साँझ
ढल्दो ।
धेरै भयो काम शरीर गल्दो ।
छैनन् यता रात बिहान साँझ ।
छैनन् हिजो भोलि सधैँ छ आज ।
२
पर्खी बसौला युग रूप नौलो ।
के आउला खै युग यो सुनौलो ।
जाला कतै जीवन प्राण धर्को ।
पात्रो हटाऊ अब फेर अर्को ।
३
त्यो बुद्धको काल र कृष्णकाल
।
बित्यो गयो पुग्न सकिन्न हाल
।
बेकारमा टन्टन गर्छ घाउ ।
आऊ तिमी साथ मनेर आऊ । ४
मेरो यहाँ को छ र जिन्दगीमा
।
तिम्रो कहाँ को छ र
जिन्दगीमा ।
पात्रो बनाऔँ अब एक राम्रो ।
यो मङ्सिरे मास सदैव हाम्रो
। ५
विचार,
पञ्चचामर छन्द ८५
बसी विचार गर्छु लौ म आज यो
विचारको ।
उठी विचार गर्छु लौ म आज यो
विचारको ।
बिहान मिर्मिरे हुँदा म
स्वप्नदेखि ब्युँझिदा ।
म साथ साथ उठ्छ यो सधैँ सधैँ
विचार यो । १
जता म जान्छु हिँड्छ यो म
फर्किँदा नपर्खने ।
म नीदमा परेँ भनेँ विचार
शून्य यो हुने ।
छ मित्र खास दोस्त यो म
प्रेम गर्छु धेर नै ।
सप्रेम गर्छ ऊ सदा मझैँ अझै
विचार नै । २
म झुक्किने यदाकदा विचार नै
म हो कि वा ।
विचार गर्छु ऊ स्वयम् ममा छ
यो विचार वा ?
विचारको म बोट हो म नै विचार
वृक्ष हो ?
कि वीज यो विचारको म मात्र
एक पुष्प हो ? ३
बिरूपको विचार हो कि रूपको
विचार छ ?
म नै विचार रूप हो कि यो
पृथक् स्वरूप छ ?
विचार भिन्न छन् ममा र कर्म
भिन्न भिन्न छन् ?
कि कर्म भिन्न छन् र पो
विचार भिन्न भिन्न छन् ? ४
म जन्मपूर्व यो कहाँ बसी
विचार गर्दछ ?
र मृत्युपश्च यो कहाँ गई
विचार मर्दछ ?
ल सोच्नुहोस् र भन्नुहोस् र
गर्नुहोस् न टिप्पणी ।
नयाँ नयाँ विचार हुन् म धन्य
हुन्छु यी सुनी । ५
युद्ध बिम्ब, वसन्ततिलका
छन्द ८६
तिम्रो शरीर रथ हो कति भन्नु
मैले ।
लामो लगाम मन हो कति लेख्नु
मैले ।
घोडासरी गुटुटु इन्द्रिय
दौडिनेछन् ।
ती बुद्धि सारथि भई सब
तौलिनेछन् । १
सिङ्गो जमीन विषयादिहरू
रहेका ।
आत्मा छ मालिक बनी रथमा
बसेको ।
त्यो युद्धभूमि तब बन्दछ
ध्यान गर्दा ।
त्यो मेरुदण्डक हुने धनु
ताँद भर्दा । २
फोक्सो छ ठिक्क गतिलो छरितो
छ ठोक्रो ।
यो स्वास तीर छ तिखो सब
भेद्छ बोक्रो ।
ॐकार नाम जब बन्दछ तीर
टुप्पो ।
मात्रै छ लक्ष्य अब एक छ
ब्रह्म एक्लो । ३
मेरो छ दुश्मन यहाँ मनभित्र
मेरै ।
तिम्रो छ दुश्मन उही तगडा छ
धेरै ।
आऊ मिली सुरु गरौँ अब युद्ध
थालौँ ।
मारेर राक्षस सबै मन यो पखालौँ
। ४
मैन जस्तै, भुजङ्गप्रयात छन्द ८७
म यस्तै छु ठ्याक्कै छु यो
मैन जस्तै ।
कसैले भनिद्यौ कि यो छैन
यस्तै । १
हलुङ्गो छु धेरै सबैले
उचाल्छन् ।
र लिन्छन् उसै हातमा मैन
जस्तै । २
म सोझो छु आगो लगाएर जान्छन्
।
म जल्दो छु जल्दो उही मैन
जस्तै । ३
म खस्रो कतै छैन बोली र बानी
।
र पो तापमा बल्छु यो मैन
जस्तै । ४
विनाक्रान्तिको चुप्प बोल्दै
नबोल्ने ।
र झार्दै रुने आँसु यो मैन
जस्तै । ५
अरू नेत्र देखून् भनी बल्न
थाल्छु ।
र झन् झन् घटेको छु यो मैन
जस्तै । ६
तमासा गरी दैवले प्राण
लिन्छन् ।
म मर्दैछु आफैँ उही मैन
जस्तै । ७
टाउको, गाईजात्रे कविता, शार्दूलविक्रीडित छन्द ८८
घाँटी माथि छ टाउको वदनमा, डल्लो अनौठो छ यो ।
चुच्चो नाक र रौँ उँभो छ
शिरमा, चल्लो अनौठो छ यो ।
आफैँ चल्न र हिँड्न नै सकस
यो, अर्को हिँडे हिँड्दछ ।
अर्काले जब ल्याइदिन्छ मुखमा, आफैँ न यो निल्दछ ।१
आफ्नै हो कि कसो कि यो जनकको, यो बाउको टाउको ।
आफ्नो नै त अवश्य हैन तर यो, होला कि यो बाउको ।
अर्काको यदि टाउको भइदिए, बोकेर के काम यो ।
आफ्नो नै यदि हो भने पनि उसै, खोकेर के काम यो । २
देब्रे नेत्र न देख्न सक्छ
परको, अर्को छ जो दाहिने ।
उस्तै हो अब दाहिने पनि उही, ऐना उसै चाहिने ।
आँखा छन् तर देख्न नै नसकिने, देख्दै नदेख्ने भए ।
खै के हेर्नु र देख्नु यो अब
जगत्, आफैँ नदेख्ने भए । ३
अर्का कान भए दुईतिर बसी, सुन्ने हुँ भन्छन् तर ।
के सुन्छन् यिनले बसेर यसरी, आफैँ नबोल्ने अझ ।
लाटा छन् सब दाँत भित्र
मुखमा, टुक्र्याइदिन्छन् सब ।
दाह्रा कट्कट गर्दछन् मरिमरी, अर्कै छ खाने तर । ४
साह्रै धूर्त र कामचोर छ बडो, जिभ्रो छ यौटा यहाँ ।
अर्काको श्रम चोर्छ चुस्छ
यसले, रम्दैछ यो ठाउँमा ।
गालाको अनि ओठको पनि यहाँ, बेकाम खै के गरूँ ।
आयुर्वेद तितो विनारस हुने, यी ओठ चुस्छन् अरू । ५
यौटा नाक पुलुत्त बीच तिरमा, झन् प्वाल बेकार छन् ।
लादी झर्छ सिँगानको लतपते, पुछ्नै छ दिग्दार झन् ।
देख्दामा पनि दिक्क हुन्छु
कहिले, काटौँ कि यो टाउको ।
तिम्रो त्यो गतिलो अझै भइदिए, साटौँ न यो टाउको । ६
रमेश खकुरेलप्रति, तोटक छन्द, छन्द सारथीमा
प्रकाशित ८९
नम गर्छु रमेश रमेर म त ।
नम गर्छु रमेश सबेर म त ।
खकुरेल तिमी कवि हौ मनका ।
नम गर्छु रमेश गमेर म त । १
जसरी लिकमा सब रेलहरू ।
छुकछुक्छुकछुक् दिनरात गुडे ।
उसरी खकुरेल गुड्यौ लिकमा ।
कवि, काव्य लिई यस
जीवनमा । २
भर प्रेमसुधा रच काव्य अझै ।
सय वर्ष मिलोस् अब आयु अझै ।
डुल रम्य जगत् अनि यो नभमा ।
अनि हर्दम काव्य फुलून् जगमा
। ३
गुरु हौ मनका गुरु हौ मुटुका
।
कविका गुरु हौ कतिका कतिका ।
गुरुका गुरु हौ खकुरेल तिमी ।
गुरु शिष्य हुँदा कति धन्य
जिमी । ४
म त मन्त्र यही अब जप्छु सधैँ ।
गुरु हौ, गुरु हौ, गुरु हौ, दिनकै ।
जब फुस्स हुँदा सब प्राण उडी
।
म त शायद जप्दछु नाम यही । ५
चण्डेनी मा वि प्रति , शार्दूलविक्रीडित छन्द ९०
चण्डेनी सुन एक शुद्ध गतिलो, होस् भव्य विद्यालय ।
चण्डेनी सुन एक पूर्ण रसिलो, होस् सभ्य शिक्षालय ।
चण्डेनी अब लम्क लम्क पथमा, काँडा हटाई तिमी ।
चण्डेनी अब नाम राख नभमा, ती धुर्व तारा बनी । १
विद्यार्थी सबले पढेर दिनमा, सत्बुद्धि बढ्दै रहोस् ।
पढ्ने बालकको दिमाग भरिको, दुर्बुद्धि हट्दै रहोस् ।
शिक्षा स्वास्थ्य मिठो, छिटो र छरितो, हुन् बालमैत्री अरू ।
आउन् पढ्न सबै सिकारु जति
छन्, नेपालबासीहरू । २
शिक्षा नै धन हो भनून्
गुरुहरू, ती शिक्षिकाले पनि ।
पढ्ने छन् जति दाजु भाइ
बहिनी, शिक्षा लिनेले पनि ।
राम्रा छन् अभिभावकै जनहरू, चासो छ शिक्षातिर ।
विद्यार्थी अझ जोसले त
खटियून्, शिक्षा उँभो खातिर । ३
चण्डेनी अब जाग जाग जगमा, चम्केर चम् चम् गरी ।
तिम्रै काख रमेर बालक सबै, नाचून् न छम् छम् गरी ।
यो विद्यालयको सदैव हित होस्, गर्दैछु यो प्रार्थना ।
शिक्षार्थीसँग मित्रता
बनिरहोस्, राख्दैछु यो कामना । ४
भक्ति रचना: शिव ॐ, तोटक छन्द ९१
हर साँझ बिहान सधैँ पुजिने ।
जब ध्यान हुँदा मनले बुझिने
।
प्रभु हे सबका पति हौ शिव हौ
।
शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ । १
(शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ
शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ)
घरमा पहिले जब उठ्छु म त ।
मुख हात सफा अनि चित्त सफा ।
परिवारहरू सब एक भई ।
सब गाउँदछौँ शिव ॐ शिव ॐ । २
(शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ
शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ)
जब जान्छु शिवालयमा म पनि ।
सुकिला मुकिला जन चट्ट बनी ।
सब आउँदछन् सब गाउँदछन् ।
शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ । ३
(शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ
शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ)
धतुरो अनि बेल र पुष्प लिई ।
जल चन्दनसाथ अवीर लिई ।
अब पूजनमा मनमग्न भई ।
सबको मुखमा शिव ॐ शिव ॐ । ४
(शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ
शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ)
सब धर्म र कर्म र मोक्ष यही
।
अनि अर्थ र पुण्य यही छ भनी
।
सब बाल र वैँस र बृद्धहरू ।
मनले सब गाउँदछन् शिव ॐ । ५
(शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ
शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ)
हर साउनको अझ बार दुई ।
गण पार्षदसाथ उही छ उही ।
मनले तनले सब सेबकले ।
ल भनौँ शिव ॐ शिव ॐ शिव ॐ ।
६
(शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ
शिव ॐ शिव ॐ शिव ॐ शिव ॐ)
श्रद्धाका कुसुम, प्र नि अ बाट, शिखरिणी छन्द ९२
थियो भाषा हाम्रो जमिनमुनिको बीज सरह ।
उनी आए देखे वरपर गरे है जलमल
।
टुसो आयो हुर्क्यो जलमल लिई
कोख मलिलो ।
फुल्यो भाषा राम्रो दिन दिन
गरी वृक्ष भरियो । १
उनै हुन् है हाम्रा कृषक
गतिला आज पनि छन् ।
फलाए नेपाली बहुत जनमा आज पनि
झन् ।
उनैको भाषामा स्वर लय मसी
चल्छ सुरुरु ।
उनैको मायामा सरस कविता बग्छ
खुरुरु । २
भयो अग्लो ठूलो अपरिमितको
वृक्ष अहिले ।
यही भाषा हाम्रो हिमशिखरझैँ
हास्छ अहिले ।
यिनैका पोथीमा अति सुरसिला
राम रचिए ।
यिनैका भाषामा कति कति मिठा
काब्य रचिए । ३
उनैले देखेको नवयुवक नारायण
भयो ।
उनैले लेखेको अमृतमय रामायण
भयो ।
उज्यालो पारौँ है कृषक कविलाई
झलमल ।
चढाऊँ श्रद्धाका कुसुम कविलाई
पलपल । ४
गाईजात्रे कविता, बिजोडीको व्यथा , शार्दूलविक्रीडित छन्द ९३
जुत्ता चप्पल जोर छन् घर भरी, मेरो हरायो कता ?
चिम्टाका पनि शूल छन्
सँगसँगै, मेरो हरायो कता ?
जोडी नै नहुँदा र एकल हुँदा, खल्लो भएँ लौ यहाँ ।
साथी एक उपाय के छ भन लौ, जोडी म खोजूँ कहाँ ? १
पञ्जाको पनि साथ छुट्न नहुने, मेरो छुटो के गरी ?
मोजाको पनि प्रेम भिन्न
नहुने, मेरो भयो के गरी ?
नन्दी ती हल एक गोठतिरमा, राम्रो छ यो एकता ।
एक्लो बस्तु भएर बाँच्नु
कसरी, अर्को म खोजूँ कता ? २
कैँची काट्छ कटक्क कागज सबै, मिल्दा दुई धारले ।
कैँचीझैँ नभई म एकल भएँ, के गर्नु यो तालले ?
आँखा कान दुई दुई सब हुँदा, एक्लो म बस्ने किन ?
खुट्टा हात सदैव साथ रहँदा, एक्लै म हिँड्ने किन ? ३
पाङ्ग्रा जोर रमेर साइकलमा, कुद्छन् सबै मोडमा ।
पंखा जोर लिएर ढुक्कुरहरू, उड्छन् उही तोडमा ।
एक्ले वानरझैँ म बाँच्नु कति
हो, हेप्छन् अरूले कति ।
खोजी गर्नुप¥यो यही समयमा, मेरो नयाँ ओखती । ४
छोरीविनाको घर,
शार्दूलविक्रीडित छन्द ९४
हेर्दै जान्छु म गाउँमा
शहरमा, यी बन्धुका छन् घर ।
आमा बाबु मुसुक्क एक सुरमा, हाँस्छन् बडो सुन्दर ।
दादा, भाइ यदाकदा नजिकमा, पर्छन् र जान्छन् पर ।
साह्रै दिक्क हुँदो रहेछ तर
यो, छोरीविनाको घर । १
छोरा छन् गतिला गुणी सबजना, झन् सभ्य सत्कार छ ।
गर्छन् स्वागत स्वादले
हृदयले, झन् भब्य सद्भाव छ ।
तातो होस् कि चिसो खुला मन
गरी, टक्र्याइदिन्छन् तर ।
पट्यारो अधुरो विरक्त नमिठो, छोरीविनाको घर । २
धुन्छन् वस्त्र खुलुक्क
साँझतिरमा, छोराहरूले पनि ।
भान्सा हुन्छ तयार औधि रसिलो, खान्छन् मिठो हो भनी ।
माझी बर्तन ती मिली सबजना, थन्क्याइदिन्छन् तर ।
दिग्दारी र रुखो बडो विरसिलो, छोरीविनाको घर । ३
पूजापाठ बिहान नित्य घरमा, छोराहरूले हुने ।
जात्रा पर्व हरेक वर्षभरिका, छोरैहरूले हुने ।
देख्दामा सब थोक ठिक्क छ
यहाँ, के बोल्नु मैले तर ।
सच्चा प्राणविहीन तिक्त
विरही, छोरीविनाको घर । ४
ऐना गाजल हेडबेन पटुकी, चोली र कुर्ता चुरी ।
खुल्दा झल्झल हुन्छ यो घर
उसै, खेल्छन् ससाना भुरी ।
भन्छन् भन्न त फाट्टफुट्ट
मुखले, छोरा भए हुन्न र ?
मेरा निम्ति त वाक्कदिक्क
किन हो, छोरीविनाको घर । ५
रिसाइन् कि के हो ! भुजङ्गप्रयात छन्द ९५
रिसाइन् कि के हो उनी
बोल्दिनन् खै !
भएका कुरा ती उनी खोल्दिनन्
खै !
हिजो अस्ति राम्रै थियो आज
फेरि ।
म एक्लै छु बोल्ने उनी
बोल्दिनन् खै !
म खल्लो भएँ दूध पानी छु
तातो ।
मिठो त्यो चिनी झन् उनी
घोल्दिनन् खै !
म नङ्ग्याइएको मकैझैँ छु आज
।
छ भुङ्ग्रो समीपै उनी
पोल्दिनन् खै !
नबन्ने भयो प्रेमको लड्डु
चोखो ।
पिठो तेलमा त्यो उनी
मोल्दिनन् खै !
सधैँ सुन्न पाऊँ, भुजङ्गप्रयात छन्द ९६
मिठा बात तिम्रा सधैँ सुन्न
पाऊँ
मिठो प्रेम जालो सधैँ बुन्न
पाऊँ ।
तिमी फुत्त अन्तै नजानू
रिसाई ।
कलेजी कुनामा सधैँ थुन्न
पाऊँ ।
सयौँका सयौँ छन् म राम्रो छु
भन्ने ।
हजारौँहरूमा तिमी चुन्न पाऊँ
।
पुराना भए हुन् सबै याद
तिम्रा ।
लिई प्रेम डोरो सधैँ तुन्न
पाऊँ ।
तिमी पूर्ण छौ पूर्णमा पूर्ण
अङ्क ।
थपी अङ्क मेरो सधैँ गुन्न
पाऊँ ।
काल बन्नेछु तेरो , प्र नि अ बाट, मन्दाक्रान्ता छन्द ९७
हामी जम्मै सिसिफस नसोच्, मात्र ढुङ्गो उचाल्छौँ ।
ढुङ्गो बोकी शिरतिर छिटो, हान्न सक्छौँ बजार्छौँ ।
गिट्टी माटो सकल वनको, बोल्छ सेतो कमेरो ।
सीमा काटी रिपु अब नपस्, काल बन्नेछु तेरो । १
मान्छे देख्छस् सरल मनका, रक्तका बीज हामी ।
साना भन्दै मन मन नहेप्, जान्छ तेरो परानी ।
च्वाँ च्वाँ गर्दै रुख
नजिकमा, बोल्छ चल्लो बचेरो ।
सीमा काटी रिपु अब नपस्, काल बन्नेछु तेरो । २
यौटा मर्दा रगत कणले, लाख अर्को उमार्छ ।
घुस्सा हानी तन वदनमा, रूप तेरो बिगार्छ ।
जा जा हट् जा परतिर तँ जा, बोल्छ पाखो पखेरो ।
सीमा काटी रिपु अब नपस्, काल बन्नेछु तेरो । ३
अर्जापेको टलल खुकुरी, दापमा बस्छ हाम्रो ।
खुट्टी देख्दै परपर बसी, शत्रु यो चिन्छ राम्रो ।
खुर्पा बन्ने धसिँङर उही, बोल्छ सानो कटेरो ।
सीमा काटी रिपु अब नपस्, काल बन्नेछु तेरो । ४
साउने सोमबार,स्रग्धरा छन्द
९८
चाँडै उठ्नू बिहानै, रवि उदय छिटो, आउने सोमबार ।
यो हो राम्रो सबैले, जप तप गरिने, साउने सोमबार ।
गर्नू स्नानादि चाँडो, झटपट तनको, यो नगर्नू अबेर ।
खोजी सेतो पहेँलो, चहक महकको, वस्त्र लाऊ सबेर । १
लाऊ यो भस्म टीको, तिलक छ छरितो, मस्तकैमा चटक्क ।
थोरै पानी चढाऊ, रविकन पहिले, सूर्य हाँसून् मुसुक्क ।
लाऊ रुद्राक्ष माला, कर र वदनमा, चट्ट दानाहरूका ।
गायत्री मन्त्र जप्नू, मन मन नभए, मन्त्र राशीहरूका । २
पूजा कोठा सजाऊ, यदि घर नभए, आत्म नै स्थान मान्नू ।
गर्नू सङ्कल्प चोखो, तन मन शिवको, देह नै देव ठान्नू ।
सम्झी ती दोष बाधा, जति पनि घरका, क्लेश चिन्ता परेका ।
भागून् भन्नू सबैका, कलह र झगडा, पीर मर्का रहेका । ३
खोजी ल्याऊ उनैको, नव नव प्रतिमा, लिङ्ग जो छन् कि फोटा ।
बाल्नू बत्ती उज्यालो, कलश सहितको, झल्कियोस् देव कोठा ।
पूजा यो प्रार्थना होस्, कुसुम सहितले, विघ्न नासून् गणेश ।
ल्याएका पञ्चपाती, रनवन बटुली, अर्पियोस् भक्तिसाथ । ४
राम्रा हुन् अक्षता जौ, जल तिल कुशले, वस्त्र राता दिएर ।
गौरी पूजा गरेस् है, प्रभु शिवसँगमा, एक साथै पुजेर ।
नन्दी छन् सर्प साथै, शिव गण जति छन्, सम्झनू एक फेर ।
रुद्री पढ्नू मजाले, मन र वचनले, कल्पनू धेर बेर । ५
तामाको पात्र राम्रो, जल दिन सजिलो, अर्घ होस् वा तिलानी ।
धारो बग्दै रहोस् है, धरररर शिरमा, दूधको होस् कि पानी ।
अर्पी सारा कुरा यी, ऋतुफल सब छन्, मिल्दछन् जो चढाऊ ।
सक्दै पूजा छिटो यो, कपुर सहितको, धूप बाती चढाऊ । ६
राख्नू ती द्रव्य सारा, नजिक नजिकमा, बेलपत्ता सुपारी ।
जप्नू धेरै सबैले, जय जय शिव हे ! शम्भु बाबा विहारी ।
खाऊ नैवेद्य जे छन्, रसमय जति छन्, आउने सोमबार ।
बाँड्दै जाऊ सबैमा, सुवचन शिवका, साउने सोमबार । ७
म धेरै रुएँ रे गए आज राति, भुजङ्गप्रयात छन्द ९९
म धेरै रुएँ रे गए आज राति ।
सिरानी धुएँ रे गए आज राति ।
नशामा थिएँ रे र चिच्याउँथेँ
रे ।
छिमेकीहरूले सुने आज राति ।
भयो के तँलाई भनी सोध्न
थाल्दा ।
उनैले, भनेँ रे गए आज राति ।
नपाएर माया र खाएर धोका ।
पिएँ झन्,भनेँ रे गए आज राति ।
म पक्का छु मर्ने भनेका थिए
रे ।
जिएँ रे म धन्नै गए आज राति
।
मुरली, इन्द्रबज्रा छन्द १००
पढ्नेहरूमा नम गर्छु धेरै ।
सुन्नेहरूमा नम गर्छु धेरै ।
लेखूँ म यी श्लोक सदैव
राम्रा ।
बुझ्नेहरूमा नम गर्छु धेरै ।
१
त्यो मेरुको दण्ड छ भित्र
तिम्रो ।
लामो सिधा यो मुरली छ तिम्रो
।
बन्ने छ ठाडो जब ध्यान गर्दा
।
यो हुन्छ तेर्सो लमतन्न
पर्दा । २
खोक्रो छ यो भित्र दुरुस्त
उस्तै ।
श्री कृष्णको यो मुरली छ
उस्तै ।
त्यो प्वाल उस्तै छ दुई
कुनामा ।
आधार यो मूल र टाउकामा । ३
माथ्लो सधैँ बन्द छ बन्द
बन्द ।
टुप्पी समीपै अनि तालु बन्द
।
षट्प्वाल जस्तै मुरलीहरूका ।
षट्चक्र छन् कुण्डलिनीहरूका
। ४
अर्को छ जो यो शिरको छ प्वाल
।
यो माथिको एक सहस्रधार ।
श्री कृष्णको धून यहीँ
सुनिन्छ ।
ॐकारको नाद यहीँ सुनिन्छ । ५
यी व्यास बाठा उहिले गुनेका
।
ती गोपिनीले उहिले सुनेका ।
यो बज्छ आफैँ सुन एक फेर ।
आनन्द आनन्द सदा ल हेर । ६
खोजी सबैले तिरिरी बजाऊ ।
बेला छ यो कृष्णसँगै रमाऊ ।
आफैँ स्वयम् कृष्ण समान
बन्छौ ।
श्री कृष्णको साथ तिमी रहन्छौ
। ७
फुट्ने छ पक्का मुरली छ
कच्चा ।
मात्रै छ यो धून यही छ सच्चा
।
सुन्यौ स्वयंको जब धून पक्का
।
भेट्यौ रमायौ अब कृष्णसत्ता
। ८
त्यो मूर्तिको जो मुरली छ
हेर ।
बज्दैन है यो कहिले पुजेर ।
यो चित्र हो मात्र फगत् छ
चित्र ।
बज्ने छ तिम्रै मन भित्र
भित्र । ९
बाजा छ यो पूर्ण अपूर्व खास
।
मात्रै दिए बज्दछ खास सास ।
त्यो सास तिम्रै मुटु छेउमा
छ ।
तानेर देऊ मुरली छ साथ । १०
हे कृष्ण प्यारा शिरमा
प्रणाम ।
हे कृष्ण प्यारा पदमा प्रणाम
।
सुन्ने गरी धून बजोस् न
तिम्रो ।
यो अन्त्यमा गर्छु पुनः
प्रणाम । ११
अकविता, स्रग्धरा छन्द १०१
लेखौँ नौलो सुनौलो, अति सरस हुने, छन्द राम्रो समाई ।
भन्ने लाग्यो बिहानै, अनि मनमनमा, स्रग्धरा गुन्गुनाई ।
कस्तो राम्रो छ भाका, टपटप टिपिने, स्रग्धरामा रमाऊ ।
धेरै छान्छन् अरूले, सललल बहने, स्रग्धरा नै समाऊ । १
आहा राम्रो कुरा यो, कति कति कविता आज नै सक्छु भन्दै ।
सारेँ यो सूत्र लामो, मरभनयययो, लेख्न थालेँ म कन्दै ।
पढ्दै जाँदा अरूका, रसमय कविता, हुन्छ आनन्द धेरै ।
आफ्नो पढ्दा भने यो, शरम पनि लुकी, लाज हाँस्छे मनेरै । २
साह्रै गाह्रो मलाई, खुरुखुरु छवटा, ह्रस्व मात्रै छ लेख्न ।
थाल्दा सक्दा ठिकै हो म असफल भएँ बीचका शब्द भेट्न।
सग्लोलाई छिनाई, बरु म त सगलो, पार्छुझैँ लाग्न थाल्यो ।
मुर्दाको रेफ काटी, अझ म त मुरदा, मार्छुझैँ लाग्न थाल्यो । ३
मत्ता हात्ती हलुङ्गो, विकटकटकटे, लेख्दछन् लेखनाथ ।
पारा अर्कै छ आफ्नो, घरिघरि छिनमा, पुर्पुरो छुन्छ हात ।
साह्रै हम्मे भयो है, अधिक बलगरी, स्रग्धरा पार पाएँ ।
मेरो सातै गयो तैट्, अनि म त यसरी, स्रग्धरा हार खाएँ । ४
गद्य कि पद्य ? अनुष्टुप् छन्द १०२
ल सुन लौ कुरा पूरा, सुनमा के सुगन्ध छ ?
सुँघ लौ सुन लौ थोरै, लसुनमा सुगन्ध छ । १
थपिए सुनमा गन्ध, सुन लसुन बन्दछ ?
कि सुनको भरे रङ्ग, लसुन सुन बन्दछ ! २
सुनमा सुनको गन्ध, सुन नै हुन्छ भन्दछ ।
लसुन झन् उता फेरि, म सुगन्धी हुँ भन्दछ । ३
स्वर्ण भस्म बनाएमा, म औषधि हुँ भन्दछ ।
राजा औषधिमा को छ ?, फेरि लसुन भन्दछ । ४
सुनको गमला भित्र, गंगाको जल सिञ्चित,
गरी लसुन यो रोपे, सुन फल्दैन किञ्चित । ५
सुनको धर्म उस्तै छ, लसुनझैँ दुरुस्त छ ।
नालीमा नै झरोस् टुक्रो, सुन त्यो सुन बन्दछ । ६
आ-आफ्नो धर्ममा बस्छन्, सुन लसुन पूर्ण छन् ।
लसुन सुन दुवै यी, आफैँमा भरिपूर्ण छन् । ७
यस्तै हुन् गद्य वा पद्य, आ-आफ्नो धर्ममा हुने ।
दुवै राम्रा दुवै हाम्रा, तुलना मूर्खता हुने । ८
दुवैको एक हो भाषा, दुवैले भाव बोक्दछन् ।
दुःखमा सुखमा उस्तै, हाँसो र आँसु पोख्दछन् । ९
मेघविस्फूर्जिताले, मेघविस्फूर्जिता
छन्द १०३
जता हेरूँ कालो, अझ घनघटा, गर्छ यो झन् गड्याङ्ग ।
सुनी सातो जाने, तन वदन नै, हुन्छु आफैँ झसङ्ग ।
बसी रम्भासाथै, गडबड बडो, इन्द्रले गर्न थाले ।
अरू स्वाहा पार्ने, ऋतुप्रलयले, मेघविस्फूर्जिताले । १
बिहानै साँझैमा, हरपल सधैँ, रुन्छ आकाश सुँक्क ।
झरी थोपाथोपा, हरबखत नै, धुन्छ धर्ती खुलुक्क ।
बगाई लाने भो, भनिकन सबै, थर्थरी काम्न थाले ।
डरायो धेरै नै, मनमुटु दुवै, मेघविस्फूर्जिताले । २
भई वर्षा धेरै, सब तरुलता, वृक्ष पाखा पखेरा ।
भिजे रोए जम्मै, थरथर बनी, माउ पाठा बचेरा ।
बगे बाढी ठूला, हतपत गरी, ज्यान यी मार्न थाले ।
बगायो मा¥यो है, जनधन सबै, मेघविस्फूर्जिताले । ३
रुखो पाखो टारी, हिमशिखरमा, खोँचमा बग्छ पानी ।
तराई झन् उस्तै, जलमय भई, बोट नै पुर्छ पानी ।
बुढापाका भेटी, छलफल गरी, स्थान यी फेर्न थाले ।
थियो जेथो नास्यो, घरधन सबै, मेघविस्फूर्जिताले । ४
भानुजयन्ती विशेष कविता, डोरो, शार्दूलविक्रीडित छन्द १०४
खोपामा अति गुप्तसाथ रहने, द्यौता बनी कञ्चन ।
रातो खोल थियो र एक खिरिलो, डोरो थियो बन्धन ।
राम्रो पुस्तक यो र शास्त्र
गतिलो, हो नाम रामायण ।
आमा पढ्नुहुने पुजेर दिनकै, सुन्थेँ म नारायण ! १
हो त्यो पुस्तक छैन आज घरमा, छन् भानु साथै तर ।
त्यो डोरो अनि खोल छैन तर छन्, छन् भानु छन् आखिर ।
त्यो खोपो पनि छैन आज घर नै, खै के भयो, भत्कियो ।
मात्रै भानु र भानु छन्
हृदयमा, बाँकी खरानी भयो । २
पृथ्वीका, नरभूपका मगजका, किल्लाहरू भत्किँदा ।
सालिन्दा गणतन्त्रका रहरले, जिल्लाहरू टुक्रिँदा ।
नेपाली मनमा अमेट रहने, छौ एक ढिक्का तिमी ।
सिङ्गो राष्ट्र हुने सरक्क
सटही, छौ स्वर्ण सिक्का तिमी । ३
त्यो डोरो जसले किताव कसिलो, पारेर बाँध्ने ग¥यो ।
भाषाको, लयको विशाल मनको, रक्षार्थ हाम्रो ग¥यो ।
बे¥यो फन्फन यज्ञसूत्र जसरी, त्यो पूर्ण डोरो थियो ।
भित्रैबाट कसेर बाहिर सियो, त्यो भानु डोरो थियो । ४
खै को हिम्मत गर्छ को छ
मनुवा, डोरो फुकाऊन् ल त !
हेरौँ तागत सूत्रको र मुटुको, एकत्व तोडून् ल त !
लौ आओ अब तोड्न फोड्न छलले, हे उत्तरी दक्षिणी !
छातीमा, करमा र पाउ शिरमा, डोरो छ यो रक्षिणी । ५
शुभरात्रि वार्ता, भुजङ्गप्रयात छन्द १०५
मः
सुतेँ आज छिट्टै ल हेर्नू
मलाई ।
बनी स्वप्न राम्रो ल हेर्नू
मलाई ।
तिमी सुत्नु भन्दा छिटै नीद
आए,
अँगालो मिठो एक बेर्नू मलाई
।
उनीः
समीपै भए पो ! म बेरूँ
अँगालो ।
यतै पल्टिए पो ! म बेरूँ
अँगालो ।
तिमी दूर छौ आज प्यारा म
अन्तै ।
पठाऊँ म खै के गरी यो अँगालो
?
मः
हरे दैव लाटी ! तिमी
बुझ्दिनौ र ?
छु टाढा भयो के तिमी
सुत्दिनौ र ?
निदाऊ उता स्वप्न देख्नू
यताको ।
र भेट्नू मलाई तिमी सक्दिनौ
र ?
उनीः
मलाई रमाएर राख्नू नि फेरि ।
अँगालो सजाएर राख्नू नि फेरि
।
म भागेँ भने फुत्त निन्द्रा
बिथोल्दै,
मजाले समाएर राख्नू नि फेरि ।
जिन्दगी, उपजाति छन्द १०६
यो जिन्दगीको भर के छ आज ।
हिजो थियो जो अब छैन आज ।
यो आज जस्तो छ हुँदैन भोलि ।
हाँसौँ रमाऔँ मन पेट खोली ।
१
जेजे भयो त्यो अब फर्कँदैन ।
हुने छ जो झन् अब पर्खँदैन ।
जो जान्दछौँ त्यो अब गीत
गाऔँ ।
आनन्दले जीवन यो बिताऔँ । २
यो भाग्यमा जे छ अवश्य हुन्छ
।
धिक्कार गर्दा उसले त सुन्छ
।
बनी सुकर्मी अब पार पाऔँ ।
यो भाग्य आफ्नो सबले सपारौँ
। ३
हाम्रा सबै शत्रु र मित्र जो
छन् ।
तिता मिठा याद बनेर जान्छन्
।
घृणा पखालौँ मन शुद्ध पारौँ
।
माया गरौँ प्रेम गरौँ रमाऔँ
। ४
लास आफ्नै, भुजङ्गप्रयात छन्द १०७
म बोक्दै छु मेरै कि यो लास
आफ्नै ।
गयो फुत्त अन्तै कि यो सास
आफ्नै ।
कि मेरै मलामी म जाँदैछु आज ।
र मुर्दा भए यी सबै आस आफ्नै
।
जता देख्छु ती घाट प्यारा
मलाई ।
तिनै घाट नै पो कि हुन् बास
आफ्नै ।
मरेका डढेका सबै भूत भन्थेँ ।
यिनै पो रहेछन् कि झन् खास
आफ्नै ।
ममा मृत्यु सत्ता सधैँ राज
गर्दा ।
कि यो जिन्दगी नै भयो दास आफ्नै ।
गीत, मत्तमयूर छन्द १०८
कस्ती राम्री मित्र तिमी साथ
मजाको ।
न्यानो न्यानो नीद हुने काख
मजाको ।
काख मजाको, काख मजाको ।
न्यानो न्यानो नीद हुने काख
मजाको । १
उठ्दा उठ्दै हेर्छु सधैँ
प्रात मजाको ।
सुत्दा सुत्दै देख्छु सधैँ
रात मजाको ।
रात मजाको, रात मजाको ।
सुत्दा सुत्दै देख्छु सधैँ
रात मजाको । २
माया झार्ने तप्प दुई हात
मजाको ।
बोली सुन्दा लठ्ठ हुने बात
मजाको ।
बात मजाको, बात मजाको ।
बोली सुन्दा लठ्ठ हुने बात
मजाको । ३
फुल्दाफुल्दै प्यास हुने मात
मजाको ।
मायाकी हौ बोट तिमी पात मजाको
।
पात मजाको, पात मजाको ।
मायाकी हौ बोट तिमी पात मजाको
। ४
प्रेमिल सम्झना, शार्दूलविक्रीडित छन्द १०९
साह्रै बज्र समानको छ शिर यो, मस्तिष्क बस्ने
यहाँ ।
सारा प्रेमिल सम्झना यहिँ
हुने, आनन्द मस्तिष्कमा ।
प्रेमी फुत्त उडेर अन्त रहँदा, बेकाम मस्तिष्क
यो ।
बिर्सूँ भन्छ शरीर यो दिनदिनै, सम्झिन्छ
मस्तिष्क यो । १
मात्रै रूप छ चित्र मात्र
उनको, मस्तिष्क भित्ताभरि ।
आधा शासन चल्छ आज उनकै, यो आधि कित्ताभरि
।
कालो गाजल चट्ट नेत्र डिलमा, त्यो फूल
चुल्ठोभरि ।
बज्दैछन् चुरिया दुई कर भरी, मुस्कान ओठैभरि ।
२
कोट्याई शिर यो म फाल्नु कसरी, त्यो सम्झना
बाहिर ।
राम्रो तस्बिर साँच्नमा गजवले, मस्तिष्क झन्
माहिर ।
धेरै यत्न गरेँ गरेँ कति गरेँ, पक्का म बिर्सूँ
भनी ।
मात्रै त्यो अनुहार झल्झल
मिठो, चाँडै म बिर्सूँ भनी । ३
बाँकी व्यक्तिहरू दिमागभरिका, सम्झिन्नँ एकै
घडि ।
जो बिर्सिन्छु भन्यो उही मगज
यो, सम्झिन्छ रातैभरि ।
गर्दा ध्यान बिहानमा शिवजिको, बन्छिन् उनी
पार्वती ।
दुख्दा घाउ चसक्क कृष्ण मनको, राधा उनै ओखती ।
४
बाचुञ्जेल दिमागले र मनले, राख्ने भए सम्झना
।
तिम्रो साथ निमेष एक पलको, मात्रै बन्यो
कल्पना ।
भेटौँ है अब एकपल्ट कहिले, फर्केर आऊ छिटो ।
मेरो यो जति सम्झना छ मनमा, साकार होस् यो
मिठो । ५
गजल, साँझमा भेट्न आऊ ११०
मेरी प्यारी, आज आऊ न आऊ ।
भेटौँ आजै, साँझमा भेट्न आऊ
।
लड्नै लागेँ, यादमा ढल्न लागेँ
।
आई छिट्टै, हात मेरो समाऊ ।
बाटो बिर्सेँ, जानु एक्लै कहाँ
म ।
दायाँ बायाँ, माथि भन्दै बताऊ
।
गर्मीमा यो, ज्यान ठण्डा
हुँदैछ ।
विन्ती लागोस्, प्राण मेरो बचाऊ
।
तातो आगो, ओठमा बाली आऊ ।
बोल्दा बोल्दै, आज रातै कटाऊ ।
श्री कृष्णको आज भएछ जन्म, इन्द्रबज्रा छन्द १११
श्री कृष्णको आज भएछ जन्म
त्यो जन्मले आज भएँ म धन्य ।
आजै म गर्नेछु यता तयारी ।
छिट्टै यता लौ अब होस् सवारी
। १
सानै भएमा पनि खेद छैन ।
थोत्रो भएमा पनि खेद छैन ।
सानो कुटी सुन्दर यो म भित्र
।
बस्नू तिमी यो मुटुमा सचित्र
। २
कल्पेर बस्दा म झकाउँला है ।
पर्खेर बस्दा म निदाउँला है ।
बेहोसमा वा नीदमा नआऊ ।
चिन्ने गरी दर्शन गर्न पाऊँ । ३
धेरै भएमा पनि यो प्रकाश ।
गर्ला मलाई अझ झन् विनाश ।
ठिक्कै उज्यालो दिनमा ल आऊ ।
जम्मै म देखूँ शिरदेखि पाउ । ४
ठूलो भएमा पनि झन् विशाल ।
के देख्न सक्दो हुँ र चालढाल ।
मेरैजसो ज्यान बनेर आऊ ।
ठ्याक्कै म जस्तै
सब हेर्न पाऊँ । ५
वानरको
बुद्धि, वसन्ततिलका छन्द ११२
आफ्ना भनेर अब अन्त कतै
नजानू ।
टीका तथा तिलक थाप्न कतै
नजानू ।
अर्को दसैँ पनि हुनेछ अवश्य हाम्रो ।
यो वर्ष मात्र यसरी दिन
काट्नु राम्रो । १
खाऊ पिठो घर बसी अब यो
दसैँमा ।
गाऊ मिठो घर पसी अब यो
दसैँमा ।
रामायणी शुभ कथा सुन यो
दसैँमा ।
राम्रा मिठा वचन छन् गुन यो
दसैँमा । २
आफ्नै भएर किन हो किन राम
राम्रो ।
त्यो मूर्ख वानर अझै म त
देख्छु राम्रो ।
ऊ भन्छ लक्ष्मणविषे मुख यो
बचाऊ ।
यौनाङ्ग झन् विपदमा पहिले
बचाऊ । ३
यौनाङ्ग रोग रहँदा भयमा
परेथ्यौँ ।
यौनाङ्ग साधन लिई पहिले
बचेथ्यौँ।
आयो नयाँ विषम रोग मिली
पचाऔँ ।
लाएर मास्क अहिले मुख यो
बचाऔँ । ४
बिन्ती म गर्दछु मिठो अब
टेरिदेऊ ।
लाएर साफ कपडा मुख घेरिदेऊ ।
बाँच्ने भए सकल वानर बुद्धि
लाऔँ ।
मर्ने भए अब घुमेर दसैँ
मनाऔँ । ५
आजको सन्देश, इन्द्रबज्रा छन्द ११३
तिम्रो र मेरो अब हुन्न भेट ।
सन्त्रासले बन्द गरेछ गेट ।
गर्दै अवज्ञा अब गेट खोले ।
रम्दै बसी झन् मन पेट खोले ।
१
फोक्सो भरी जीव खराब पस्छन् ।
मार्नै भनी कम्मर धेर कस्छन्
।
मर्ला कि बाँच्ला सब
पर्खनेछन् ।
भेट्नै नआई सब तर्कनेछन् । २
स्वाँ स्वाँ बढी रात बिहान
साझँ ।
फुत्तै उडी जान्छ ल हेर प्राण
।
घट्नेछ यो आयु समाप्त हुन्छ ।
कोभीडले तान्छ र प्राण लिन्छ
। ३
बेला छ यो स्वस्थ हुने समाज ।
एक्लै लडौँ युद्ध बसेर आज ।
हिँड्दै नहिँड्नू अब अन्त हेर
।
बस्नू सदा सन्त जसो बनेर । ४
बाँचे कतै यो पल आउला है ।
पर्खाइको यो फल आउला है ।
माया बसाल्ने मन आउला है ।
यो प्रेम साट्ने क्षण आउला है
। ५
म फर्केर आएँ तिमी साथ फेरि,
भुजङ्गप्रयात
छन्द ११४
म फर्केर आएँ तिमी साथ फेरि
।
ल आऊ समाऊ यिनै हात फेरि ।
हिजो जे भयो माफ देऊ मलाई ।
सिरानी बनोस् आज यो काख फेरि
।
सयौँ वा हजारौँ दिएँ दुःख
मैले ।
क्षमादान देऊ तिमी लाख फेरि
।
कि च्यातेर फाल्यौ खुसी जो
दिएँथेँ ।
बटुल्दै सबै याद ती राख फेरि
।
कि साटेर आयो कतै प्रेम
भन्छौ ।
पुरानै छ माया तिमी चाख फेरि
।
पानी रहेछ प्यारो, प्र नि अ
बाट, दिक्पाल छन्द ११५
पानी रहेछ प्यारो हावा रहेछ प्यारो ।
मोती ठुलो कहाँ हो माया रहेछ प्यारो । १
बाँड्दै छ प्रेम चोखो आत्मा छ एक मेरो ।
किन्दै सबै हिँडे यी काया रहेछ प्यारो । २
त्यो सूर्य बन्छु आफैं भन्दै हिँडे यहाँ म ।
बिक्ने मनुष्यलाई छाया रहेछ प्यारो । ३
खै फाल यो लुतो हो भन्दै रहेँ म धेरै ।
पाले उही सबैले चाया रहेछ प्यारो । ४
पीताम्बरी दिएँथेँ मागेर विष्णुको नै ।
स्वीकार पो गरेनन् साया रहेछ प्यारो । ५
दोजिया, इन्दिरा छन्द ११६
म त हुने भएँ मातृ हे बरै ।
सकल विश्वकी धातृ हे बरै ।
विगत शून्यमा शून्य जीवन ।
अब त धन्य यो हुन्छ जीवन । १
भन न हे सखे जून हुन्छ कि ।
भन न हे सखे घाम हुन्छ कि ।
शरद चन्द्र यो पूर्ण हुन्छ कि
।
गगन टल्किने सूर्य हुन्छ कि ।
२
अब त कोपिला पुष्प बन्छ यो ।
अब त बागमा फूल फुल्छ यो ।
मलिन काखमा प्रेमले बसी ।
मृदुल ओठले दूध खान्छ यो । ३
कमल पाउमा ठेस लाग्छ कि ।
नरम हातमा केश लाग्छ कि ।
जतन साथले हेर्नुपर्छ है ।
मलिन वक्षमा बेर्नुपर्छ है । ४
सकस होस् मलाई जहाँ तहाँ ।
विगत वर्तमान् एक होस् यहाँ ।
विपत खेप्छु है यो भविश्यको ।
प्रगति भैदियोस् यो मनुष्यको
। ५
अब लान आऊ, इन्द्रबज्रा छन्द ११७
त्यो गर्भ बस्दा कसले खुवायो ।
त्यो गर्भ बस्दा कसले पिलायो ।
आफैँ नसक्ने बबुरो थिएँ म ।
त्यो गर्भमा नै कसले बढायो । १
भैँसी, खरायो पनि बन्न
सक्थेँ ।
गाई, जरायो पनि बन्न
सक्थेँ ।
आकार यस्तो कसले बनायो ।
यो रूप मेरो कसले बनायो । २
नौ मास यो पूर्ण भएर बस्दा ।
बिष्टादि भित्रैतिर खस्न
लाग्दा ।
तान्यो मलाई कसले यहाँ खै ।
ठेल्यो मलाई कसले यहाँ खै । ३
च्याँ च्याँ मलाई कसले सिकायो
।
आँ गर्न उस्तै कसले सिकायो ।
त्यो दूग्धधारा कसले बगायो ।
मात्रा सबै ती कसले मिसायो ।
४
यो स्वास तान्ने भन को छ
भित्र ।
यो स्वास फाल्ने भन को छ
भित्र ।
आफैँ म तान्ने त अवश्य हैन ।
फाल्ने स्वयम् झन् पनि हैन
हैन । ५
आकार बढ्दै म जवान हुन्छु ।
प्रेमी बनी प्रेम गरी म
डुल्छु ।
यो प्रेम जालो कसले बनायो ।
माया म भित्रै कसले रचायो । ६
संसार झेल्दै म गृहस्थ भित्र
।
बूढो हुँदै जान्छु म भित्र
भित्र ।
बूढो मलाई कसले बनायो ।
त्यो वैँसको प्रेम कता हरायो
। ७
बेकारको ज्यान हुने छ थोत्रो
।
बन्ने छ यो ज्यान गुदी न
बोक्रो ।
पक्का छ यो प्राण अवश्य जान्छ
।
आयो जताबाट उतै त जान्छ । ८
यो प्राण लाने भन को छ फेरि ।
टिप्दै छ, लाँदै छ कतै
नहेरी ।
जम्मै उही गर्दछ कर्म जो हो ।
आफैँ म सोच्दै छु म चाहिँ को
हो । ९
यो जन्मको पूर्व र झन् अगाडि
।
यो मृत्यु पर्यन्त र झन्
पछाडि ।
अर्कै छ गर्ने किन गर्छ यस्तो
।
जन्माउँदै मार्दछ खेलजस्तो ।
१०
के गर्नु मैले किन हुर्किएको
।
मान्छे हुँ भन्दै किन
फुर्किएको ।
बेकार बेकार छ यो जुनी झन् ।
कीरा फट्याङग्रासरि नै भयो
झन् । ११
तिम्रो कृपामा म रहेछु कृष्ण
।
तिम्रै दयामा म रहेछु कृष्ण ।
हे कृष्ण प्यारा अब लान आऊ ।
आऊ मलाई अब तान आऊ । १२
पागल, शार्दूलविक्रीडित छन्द ११८
यौटा पागल देख्छु बस्छ नजिकै, मेरो समीपै छ ऊ ।
जाँदा बाहिर हिँड्छ डुल्छ
मसँगै, मेरो करिबी छ ऊ ।
खाँदाखेरि खुसुक्क खान्छ
मसँगै, चुठ्दा सँगै चुठ्दछ ।
सुत्दाखेरि लुसुक्क सुत्छ
मसँगै, उठ्दा सँगै उठ्दछ । १
धेरै सोच्दछ काम गर्नु पहिले, मेरै जसो गर्दछ ।
बस्दा बस्छ सदैव एक घरमा, डेरा सरे सर्दछ ।
सिन्को भाँच्दछ एक शुद्ध
खिरिलो, लेखे जसो गर्दछ ।
मेरा यी कविता सरर्र कहिले, पढ्दे जसो गर्दछ । २
बाटामा जब देख्छ सुन्दर कुरा, टिप्दै लिँदै गर्छ ऊ ।
खाली बोतल हुन् कि प्लास्टिक
सबै, च्यापेर ती हिँड्छ ऊ ।
ल्याई ती घरमा सरक्कसँगले, बाँड्दो छ आफ्नातिर ।
मेरै हुन् सब यी भनेर मनले, ठान्दो छ ऊ आखिर । ३
बक् बक् बक् दिनकै गरेर
कहिले, झन् दिक्क पो लाउँछ ।
बुझ्दै बुझ्दिनँ शब्द अर्थ
उसका, झन् गीत ऊ गाउँछ ।
यस्ता पागलको कुरा कति गरूँ, ऊ जेसुकै गर्दछ ।
यस्तै हो कति बाँच्न सक्छ
बिचरा, छिट्टै यतै मर्दछ । ४
बौलाहा नबनी म भन्दछु अहो !
त्यो मित्र हो पागल ।
धेरैबेर गमेर सोच्छु कहिले, आफैँ हुँ वा पागल ।
आफ्ना हुन् जुन भन्दथेँ
मनमनै, रैछन् पराया यिनी ।
रित्तो बोतलझैँ रहेछ बुझियो, यो जिन्दगानी पनि । ५
बोल्दा बक्बक गर्छु आज म उसै, को नै यहाँ सुन्छ र ।
किन्दैमा सबथोक वस्तु गतिला, के नै यहाँ हुन्छ र ।
हे हे पागल ! आज फेरि गतिलो, धूलो चटाई गयौ ।
मेरो बुद्धि सदैव बन्द रहने, बिर्को हटाई गयौ । ६
अक्षर, अनुष्टुप् छन्द
११९
विना प्रमाणका वाक्य खै लेखूँ
कसरी अव ।
त्रिअग्नि शक्ति हुन्छन् रे
चारै दिशा जगत् भर । १
माथि सूर्य छ यो तातो
पृथ्वीमा म भएँ उसै ।
पृथ्वीको केन्द्रमा फेरि
साह्रै तातो छ रे उतै । २
तीनै अग्नि भए बेग्लै तिनैमा
सव अक्षर ।
बाचुञ्जेल सबै अग्नि, नासिन्नन् सब
अक्षर । ३
पृथ्वीको तापमा छन् रे, अकहबड आदिका ।
ज्योतिषि गन्दछन् रे यी
कुण्डलिनी मिलाउँदा । ४
यसैबाट बने अर्का ए बि सि डि
उतातिर ।
अङ्ग्रेजले सधैँ पढ्ने यिनै
वर्ण उतातिर । ५
सूर्यको तापले गर्दा क ख ग घ
भए अरे ।
मेरो यो तापले गर्दा अ इ उण्
ऋल् बने अरे । ६
बाँकी अरू सबै प्राय हैनन् रे
ती त अक्षर ।
ती त संकेत मात्रै रे चिन्ह
हुन् रे निरक्षर । ७
वर्णको अर्थ अर्को हो रङ हो
श्याम स्वेतझैँ ।
काला निला अरू धेरै हुन्छन्
रे वर्ण वर्णझैँ । ८
शिवस्वरोदयः हो वा त्यो गरुड
पुराणमा ।
दिएका छन् अरे वर्ण निला सेता
भनिकन । ९
ऐन्द्र भन्ने थिए विद्वान् क
ख ग घ मिलाउँने ।
देख्दथे रे सबै वर्ण
हेर्दाहेर्दै बिलाउँने । १०
पृथ्वी जल सबै तेज र वायु
नष्ट ती हुँदा ।
तिनै अक्षर हुन्छन् रे आकाशमा
निरन्तर । ११
फुट्दछन् जुट्दछन् आफैँ
बन्दछन् ब्रह्म अक्षर ।
तिनै ब्रह्म पुनः अर्को
सृष्टि गर्छन् निरन्तर । १२
नेपाल मेरो भयो, शार्दूलविक्रीडित छन्द १२०
टोपी छन् शिरमा अनेक ढपका, हेर्दा अचम्मै छ
यो ।
ढाका टोप ढलक्क ढल्कन गयो, नेपाल मेरो भयो ।
नारीका गहना चुरा छनछनी, टीको चिटिक्कै छ
यो ।
चौबन्दी कसिलो तुना सहितको, नेपाल मेरो भयो ।
१
भट्टी छन् अणुका, विमान नभमा, क्षेप्यास्त्र
नौलो छ यो ।
गोर्खाली खुकुरी त चम्कन गयो,
नेपाल मेरो भयो ।
गौरीशंकरबाट हेर्छु म घडी, छिट्टै उज्यालो
भयो ।
झन् सर्वोच्च हिमाल यो भुवनको, नेपाल मेरो भयो । २
सारा मन्दिर चैत्य गुम्बजहरू, पुज्दै र ढोग्दै
गयो ।
छाम्दा धर्म सहिष्णुता हृदयमा, नेपाल मेरो भयो ।
अर्वाचीन कला र संस्कृति सबै, संस्कार राम्रो छ
यो ।
देख्दा मूर्ति कतै प्रबुद्ध
मुनिको, नेपाल मेरो भयो । ३
भाषा संस्कृतको छ मूल गतिलो, हाँगो अनौठो छ यो ।
ती रामायण वाक्य सुन्छु जहिले, नेपाल मेरो भयो ।
आफैँभित्र नियाल्छु रात दिनमा, नेपालको चित्र यो
।
जन्मेको म यहाँ चिनो छ मुटुमा, नेपाल मेरो भयो ।
४
आऊ मलाई छुन, शार्दूलविक्रीडित छन्द १२१
यो संसार अचम्मको छ प्रियसी, छोएर माया हुने ।
मैलो चित्त पखाल भन्छ मुटु यो, धोएर माया हुने ।
साँचो वाक्य छ यो अवश्य पहिले, मेरा कुरा यी सुन
।
सुन्दैमा पनि प्रेम हुन्न
प्रियसी, आऊ मलाई छुन । १
आमाको ममता र प्रेम छ बढी, यस्तो भयो खै किन
?
तिम्रो जन्म अगाडि मातृ तन यो, छुन्थ्यौ तिमी
दिन्दिन ।
बबाको पनि प्रेम हुन्छ उति नै, यस्तो भएको किन ?
बाबाको पनि काखमा लडिबुडी, गथ्र्यौ तिमी दिन्दिन । २
पुत्री पुत्र हजार छन् सहरमा, साना र ठूला गरी
।
आफ्नैमा सब प्रेम बग्छ पहिले, छुन्थ्यौ मजाले
अघि ।
मान्छे मन्दिर भित्र देव गणको, पूजा गरी फिर्दछ
।
ढोग्दा श्री पदमा निधार शिरले, माया झनै बढ्दछ । ३
यत्रा राष्ट्रहरू हुँदा
भुवनमा, नेपाल प्यारो किन ?
यौटै उत्तर प्रष्ट हुन्छ, मुटुले छुन्छौ
तिमी दिन्दिन ।
यो नेपाल भरी सबै घुम तिमी, झन् प्यार यो गाउँको
।
छुन्छौ गाउँ र प्रेम बढ्छ अझ
यो, आफ्नै उही ठाउँको । ४
भूकम्पादि भयो भने यदि कतै, भाग्छौ तिमी
कोसँग ?
आफ्नै ज्यान अवश्य प्रेम सबमा, भाग्छौ ल आफैँसँग
।
आफैँ कारण खोज्नु पर्छ अब लौ, माया गरेको किन ?
आफ्नो ज्यान सधैँ सबैतिर छुने, माया नहोस् है
किन ? ५
मेरो प्रेम सदा सदा अमर हो, थाहा मलाई छ यो ।
तिम्रो प्रेम अझै छ उच्च तहको, थाहा मलाई भयो ।
गढा प्रेम बनोस् भिजेर मुटु यो, आऊ मलाई धुन ।
सच्चा प्रेम गरौँ दुवै
सँगसँगै, आऊ मलाई छुन । ६
पिता पुत्र, अनुष्टुप् छन्द,
१२२
तिम्रो आश्रयमा हुर्केँ, तिम्रै काख बढेँ
अघि ।
बृद्धावस्था भयो तिम्रो, काख दिन बढेँ अघि । १
गाँस दिन्छौ भनी आशा, गर्दै हेर्थेँ सधैँ अघि ।
श्राद्धको आसमा फेरि पर्खन्छौ
रे सधैँभरि । २
मेरो पिता तिमी हौ कि, म पो तिम्रो पिता भनूँ ।
हामी दुवै पिता पुत्र, पालैपालो पिता बनूँ । ३
तिमी बाँच्दा मलाई त्यो अन्न
पानी दिँदै गर ।
मृत्यु पश्चात् म नै पीण्ड
दिन्छु पेट तिमी भर । ४
खाँदै खेल्दै दुबै बाँच्छौ
हामीमा के छ अन्तर ।
पिता पुत्र दुबै मिल्दै
बाचिरहौँ निरन्तर । ५
कोरोना युद्ध, शार्दूलविक्रीडित छन्द १२३
अर्काको अब सास छैन करमा, फोक्सो भयो बन्द रे ।
आफ्नाको अब लास छैन घरमा, टीलो भयो बन्द रे ।
बाँच्नाको अब आश न्यून
नरमा, के गर्नु के गर्नु के ।
बस्दैछौँ प्रहरी र वैद्य
भरमा, हे राम हे राम हे ।१
आयो उत्तरबाट यो समयमा, यो दुष्ट यो राक्षस ।
गर्दै नास समग्र विश्व
जनको, खाँदैछ यो भक्षक ।
मायावी छ र रुप फेर्छ यसले, देखिन्न छामिन्न यो ।
फाल्दै अस्त्र र शस्त्र
भित्र मुटुमा, यो युद्ध गर्दो भयो । २
आए डाक्टर, नर्स ती पुलिस नै, यो युद्ध लड्छौँ भनी ।
थर्मोमीटर, मास्क, लठ्ठी बटुली, द्यौता रहेछन् यिनी ।
द्यौता दानव युद्ध हुन्छ
जहिले, लेख्छन् पुराना मुनि ।
यो व्याधी पनि भस्म हुन्छ
सहजै, हामी बनौँ संयमी । ३
आँखा नाक र श्वासबाट
चुहिने, यो रालको बीज हो ।
हेप्नै हुन्न र भन्न हुन्न
अब लौ, यो मामुली चीज हो ।
जम्मा धेर भएर बाहिर गए, यो पापी झन् सर्दछ ।
एक्लै युद्ध गरे बसेर घरमा, पक्का छ, यो मर्दछ । ४
मंसिरे निम्तो, शार्दूलविक्रीडित छन्द १२४
निम्तो मंसिरको म गर्छु सबमा, कन्यार्थका देवमा,
आफ्ना यी सब इस्टमित्र जति छन्, यी बन्धु बस्छन् जहाँ ।
हाम्रो आँगन शुद्ध हुन्छ जब ती, खुट्टा यहाँ टेक्दछन् ।
हाम्रै आशिषले दुई वरवधू, स्वप्ना नयाँ देख्दछन् । १
हुर्केकी घरमा, यही नगरमा, खाएर पानी मिठो ।
जामा कट्टु र चप्पलै पनि भिरिन्, धोई पखाली छिटो ।
साह्रै कोमल अङ्ग, पाउ कलिलो, डोली लिई आउनू ।
सारी चट्ट सुहाउँदो र पटुकी, चोली लिई आउनू । २
खुट्टा हात पखाल्नु शुद्ध जलले, राम्रा बनून् दम्पती ।
कन्यादान दिनू पवित्र मनले, माया बनोस् सम्पत्ति ।
विद्या, वेद र ज्ञान, मन्त्र र ऋचा, घोकी पढी आउनू ।
माग्दै बास, हिँडेर पैदल तथा, गाडी चडी आउनू । ३
झर्ला आँशु तरक्क ती नयनमा, जाँदा पराई घर ।
दुख्ला घाउ चसक्क झन् वदनमा, फेर्दा अनैठो थर ।
टिप्नै आँशु भनी टपक्क सुनको, थाली लिई आउनू ।
फेर्दा गोत्र दिने शुभाशिष भरी, डाली लिई आउनू । ४
जे जे पाक्दछ धेरथोर घरमा, बाँडेर दिन्छन् तिनी।
खानू टन्न अघाउनू र मजले, आनन्द मान्नू
तिमी ।
छोरी छिन् नवकोपिला सरहकी, माली बनी आउनू ।
लुट्लान है रिपुले कतै बगरमा, काली बनी आउनू । ५
नवदूर्गालाई निम्तो, शार्दूलविक्रीडित छन्द १२५
चण्डी पुस्तक हातमा छ मनमा, तिम्रै बडो चित्र छ ।
पाऊँ दर्शन गर्न आज जननी, जस्तो यहाँ भित्र छ ।
ध्यानावस्थित तत्गतेन मनसा, पस्यन्ति यं योगिनो ,
भन्ने मन्त्र जपेर शुद्ध दिलले, बस्दै छ है पुत्र यो । १
काम्लान\ थर्थर हात पाउ शिर झन्, देखी डरौँला ।
सुक्ला घाँटि र शब्द बन्द हुन गै, बोली नफुट्ला कि त ।
टुट्ला धड्कन भित्र भित्र मुटुमा, सम्मानका खातिर ।
फुट्ला खप्पर पट्ट भै म मरुँला, झुक्दै नझुक्ला शिर । २
उड्ला यो मन रोक्न छेक्न गतिलो, छानो लिई आउनू ।
आफैँ बढ्दछ शक्तिपुञ्ज जसको, गानो लिई आउनू ।
ठूलो रूप म देख्न सक्दिन विभो, सानो लिई आउनू ।
छिट्टै फल्दछ ज्ञान बीज जसको, दानो लिई आउनू । ३
आऊ शान्त रमेर शीतल बनी, छोरी बनी आऊ है ।
कालीरूप म हेर्न सक्दिनँ तिमी, गौरी बनी आऊ है ।
पक्कै चिन्छु म द्वार खोल्छु मनको, डेरा जमाई दिनू ।
टीका चन्दनसाथ पीत जमरा, सुम्पन्छु लाई दिनू !! ४
गोगनेको निम्तो, भुजङ्गप्रयात छन्द १२६
न गर्मी न जाडो छ वासन्ती याम ।
छ यो स्वर्ग, वैकुण्ठ, कैलाश धाम ।
नयाँ स्थान रम्दै, जुनै मास आऊ ।
यही गोगने टेक आऊ रमाऊ। १
लिई एक नौली परी सुन्दरी वा,
पुरानै भएमा अझै प्रेम गाढा ।
मनैका तनैका दुखाई भुलाऊ ।
यही गोगने टेक आऊ रमाऊ। २
परापूर्वकालीन प्राचीन पर्व ।
र शालीन देवादिका मूर्ति हेर्न ।
बिदाई गरी चैत्र, वैशाख लाऊ ।
यही गोगने टेक आऊ रमाऊ। ३
हिमाली, पहाडी, मधेशी, विदेशी,
बिहानै उठी एक गाडी समाऊ ।
नयाँ वर्षमा शुद्ध निम्तो छ
आऊ ।
यही गोगने टेक आऊ रमाऊ। ४
गाईजात्रे निम्तो, १२७
बाटो हो अथवा कि खेत गतिलो, छुट्याउनै कष्ट छ ।
गुड्दा बेर हुने हिँडे समयमा,
पुग्ने छिटो प्रष्ट छ ।
चिल्ला कार लिई छ दौडिनु भने, अन्तै कतै धाउनू।
बाटामा बस ठेल्नु पर्दछ भने, नेपालमा आउनू । १
पानी छैन यताउता नहरमा, बाँझो छ आँठो सधैँ ।
फोटो खिच्न भनी यता सहरमा, रोपिन्छ बेर्ना कठै ।
धेरै धान कतै फलाउनु परे, अन्तै कतै धाउनू ।
लाई कोट र पेन्ट रोप्नु छ भने, नेपालमा आउनू । २
मान्छे मार्दछ जो उही सदनमा, सर्वोच्चमा हुन्छ ऊ ।
माग्यो न्याय भने कतै पिडितले, पातालमा पुग्छ ऊ ।
डाका चोर विरुद्ध लड्नुछ भने, अन्तै कतै धाउनू ।
माग्दै न्याय लडेर सड्नु छ
भने, नेपालमा आउनू । ३
सुन्दा भाउ सिरिङ्ग हुन्छ मन
यो, तर्कारी के किन्नु खै ।
बन्दाको पनि भाउ उच्च छ यहाँ, के किन्नु के किन्नु खै ।
भ्यान्टा, आलु र प्याज तार्नु छ भने, अन्तै कतै धाउनू ।
गोटाको यदि तीस तिर्नुछ भने, नेपालमा आउनू । ४
अंग्रेजीमय पार्नुपर्छ अब लौ, स्थानीयले भन्दछ ।
नेपाली पनि बिर्सियो अनि कतै, अँग्रेज यो बन्दछ ।
राम्रा क्याम्पस छान्नु पढ्नु
छ भने, अन्तै कतै धाउनू ।
पैसाले यदि अङ्क थप्नु छ भने, नेपालमा आउनू । ५
मिल्दा स्वार्थ कतै झिना
रहरमा, नेता यहाँ जुट्दछन् ।
अंशै वण्ड मिलेन उच्च पदमा, पार्टी यहाँ फुट्दछन् ।
मन्त्री सांसद योग्य छान्नु छ
भने, अन्तै कतै धाउनू ।
टुक्का भाषणमा रमाउनु परे, नेपालमा आउनू । ६
पुनरुक्ति, भुजङ्गप्रयात छन्द १२८
म सानो छँदा नै
बुबा भन्नुहुन्थ्यो ।
कथा कथ्य नौला
उहाँ भन्नुहुन्थ्यो ।
म सुन्थेँ कथा
ती कुनामा बसेर ।
र गुन्थेँ कथा
ती कुनामै पसेर । १
कथा लेख् न
कान्छा कथा पढ् न कान्छा ।
कथा नै सुनी आज
बोल्नू नि कान्छा ।
कथामा पुराना
सबै बात हुन्छन् ।
कथामा नयाँ झन्
अलंकार हुन्छन् । २
पुराणादि जम्मै
कथामा उनिन्छन् ।
र वेदादि जम्मै
कथामा बुनिन्छन् ।
कथा जन्मका
मृत्युका सार हुन्छन् ।
कथा विष्णुका
झन् सुनी पार हुन्छन् । ३
कथा लेख्न सक्ने
कथाकार हुन्छन् ।
कथा बोल्न
जान्ने कलाकार हुन्छन् ।
कथा बोक्छ
संस्कार आस्था सबैका ।
कथा बोक्छ संसार
सारा कहन्छन् । ४
कथा बाँच्छ धेरै
कथाकार भन्दा ।
कथा बोल्छ धेरै
कलाकार भन्दा ।
भनी
भन्नुहुन्थ्यो पढेस् भन्नुहुन्थ्यो ।
सुनेस् टन्न
धेरै सधैँ भन्नुहुन्थ्यो । ५
म सुन्थेँ कथा
दैत्यका दुष्ट पापी ।
म सुन्थेँ कथा
कृष्णका शुद्ध जाती ।
म सुन्थेँ कथा
रोगका औषधीका ।
बुबा
भन्नुहुन्थ्यो कथा भाँति भाँति । ६
कथा प्रेमको
घातको आनिबानी ।
कथा जिन्दगीको
अनौठो कहानी ।
कथा फाल्छ सत्ता
नराम्रो निशानी ।
कथा ल्याउँनेछन्
सुनौला बिहानी । ७
कथा दिन्छ
आरोग्य दीर्घायु दिन्छ ।
कथा शक्ति
सामर्थ्य ऐश्वर्य दिन्छ ।
कथामा कतै हुन्छ
यो राजनीति ।
कथामै कतै
मन्त्रको वीज हुन्छ । ८
कथा भोग्छ
मान्छे कथा भुक्तभोगी ।
कथा रम्छ एक्लै
कथा शुद्ध योगि ।
कथा सुन्न चाँडो
छिटो गर्न पर्छ ।
कथा फुत्त अन्तै
कतै सर्न सक्छ । ९
कथा लेख्न
बिर्सेर के गर्नु आज ।
तँ लेख् लेख्
कथा लेख् सुधारेस् समाज ।
भनी
भन्नुहुन्थ्यो बुबा भन्नुहुन्थ्यो ।
कथाले सुधार्ने
छ हाम्रै समाज । १०
म सुन्थेँ कथा
मात्र बुझ्दै नबुझ्ने ।
लगाऊँ सबै
बुद्धि सुझ्दै नसुझ्ने ।
कथा एक नौलो कतै
सर्न सक्छ ?
भनी सोच्दथेँ
झन्,
कथा मर्न सक्छ ? ११
जसै वर्ष बित्दै
थिए फ्याट्ट फेरी ।
उही काल आयो र
टेर्दै नटेरी ।
लगी गैगयो
मृत्यु को सार्न सक्छ ।
भयो भैगयो काल
को टार्न सक्छ । १२
उही मृत्युमा नै
कथा सिद्दिए ती ।
उही मृत्युमा नै
कथा रित्तिए ती ।
बुबाकै उही
वाक्य भन्दै छु आज ।
कथा काब्य लेखी
सुधारौँ समाज । १३
रुन्चे दशैँ, शार्दूलविक्रीडित छन्द १२९
टीको थाप्न म जान्छु अन्य घरमा, साथी लिई साथमा ।
सारै सुन्दर देख्छु वस्त्र गहना, टीको बडो माथमा ।
राम्रै रैछ म सोच्छु लौ तर कहाँ , अर्कै कुरा देखियो ।
रुन्छन् ती सब धर्धरी मनविशे, सोही कुरा लेखियो । १
छोरो रुन्छ विदेशमा परबसी, छुट्यो दशैँ भन्दछ ।
आमा बाबु र श्रीमती बिहिनमा, सुख्खा दशैँ बन्दछ ।
रुन्छिन् ती दुलही बसी नगरमा, एक्लै भएँ भन्दछिन् ।
अर्को साल अवस्य आउँछ भनी, औँला उसै गन्दछिन् । २
सासूको मन छैन शान्त घरमा, उस्तै बुहारी पनि ।
आफ्नै भाग्य सराप्न थाल्छ ससुरो, यस्तै भए यी भनी ।
झार्छन् आँसु तरक्क ती भतिज झन्, काका उता धर्धरी ।
काकी झन् जहिले जता पनि रुने, टल्पल् छ आँखा भरी । ३
सालीको मन खिन्न हुन्छ किन हो, रुन्चे छ सालो अति ।
जेठो दाजु, भिनाजु, भाइ, बहिनी, आमा, दिदी ज्वाँइ ती,
फोटो खिच्न भनेर एक गतिलो, जम्मा हुँदा हाँस्दथे ।
एक्लै फेरि भए भने मनमनै, तीता कुरा साट्दथे । ४
मेरै स्वजन मात्र हुन् कि अथवा, अन्यत्रमा हुन्छ यो,
भन्दै खोज्न पसेँ छिमेक घरमा, झन् झन् बढी रुन्छ पो !
ए आम्मै ! म त छक्क पर्छु किन हो, रुन्छन् सवै यी जन ?
एक्लै भेट्न हुँदैन हो कि किन हो, गर्छन् सधैँ गन्गन । ५
अर्काको मन मात्र रुन्छ यसरी, कस्तो छ मेरो मन ?
आफैँभित्र गमेर हेर्न म पुगेँ, हाँसेन मेरै मन ।
ओहो ! अर्थ न वर्थ पो हुनगयो, के लेखियो आज खै !
साँच्चै भन्छु म सार भाव अब लौ, रुन्चे भयो यो दशैँ । ६
श्री कृष्ण
जन्माष्टमि, भुजङ्गप्रयात
छन्द १३०
यहाँ कर्ममा नै रहेका सबै छन्
।
यहाँ मर्ममा नै रहेका सबै छन्
।
तिमी धर्म रक्षार्थ जन्मिन्छु
भन्छौ,
यहाँ धर्ममा नै रहेका सबै छन्
। १
वहेकै छ हावा बगेकै छ पानी ।
बढेकै छ बच्चो र राधा जवानी ।
तिमी प्रेमका निम्ति
जन्मिन्छु भन्छौ,
यहाँ प्रेममा नै रहेका सबै
छन् । २
जसै टेक्छ धर्ती र जन्मिन्छ
बाछो ।
उठी दूध खोज्दैछ कस्तो छ बाठो
।
तिमी ज्ञानका निम्ति
जन्मिन्छु भन्छौ,
यहाँ ज्ञानमा नै रहेका सबै
छन् । ३
कहाँबाट आएँ र जाने कहाँ हो,
भनी ध्यान गर्छे बकुल्ली चरी
त्यो ।
तिमी ध्यानका निम्ति
जन्मिन्छु भन्छौ,
यहाँ ध्यानमा नै रहेका सबै
छन् । ४
यता जोड्छ चुच्चो उता जोड्छ
पाउ ।
मनै मात्र जोड्दै निको पार्छ
घाउ ।
तिमी योगका निम्ति जन्मिन्छु
भन्छौ,
यहाँ योगमा नै रहेका सबै छन्
। ५
छ जो दुष्ट पापी दुरात्मा
घमण्डि,
दुराचार गर्दै स्वयम् भासिँदैछन्
।
तिमी कंश हत्यार्थ जन्मिन्छु
भन्छौ,
यहाँ कंश जम्मै स्वयम्
मासिदैछन् । ६
काट्दै छु यो जिन्दगी, शार्दूलविक्रीडित छन्द १३१
सुत्दाखेरि हजार स्वप्न मनमा, उठ्दा सधैँ शून्य छन् ।
उठ्दाखेरि हजार प्रश्न मनमा, सुत्दा सधैँ शून्य छन् ।
जस्ता प्रश्न बने दिमाग मनमा, ती स्वप्नमा आउँछन् ।
जेजे हुन् सपना बिहानतिरमा, ती प्रश्न सम्झाउँछन् । १
यी प्रश्नोत्तर आज बुन्दिनँ
भन्यो, आफैँ बुनिन्छन् सबै ।
केही सुन्दिनँ आज भन्छु तर यी, आफैँ सुनिन्छन् सबै ।
बुन्दै स्वप्न हजार एक मनले, सुत्दै छ यो जिन्दगी ।
सुन्दै प्रश्न हजार एक मनले, उठ्दै छ यो जिन्दगी । २
यो सुत्ने क्रम पो रहन्छ कति
नै, थाहा छँदै छैन झन् ।
यो उठ्ने क्रम पो रहन्छ कति
नै, थाहा छँदै छैन झन् ।
उठ्दै सुत्छु, सुतेर उठ्छु म उसै, यस्तै कुह्यो
जिन्दगी ।
हाँस्दाका सपना तुहेर बिपना, क्वाँ क्वाँ रुयो जिन्दगी । ३
सारै रुन्छ हिरिक्क हुन्छ
बिपना, यो स्वप्न हो भन्दछु ।
हाँसेका सपना भनेर बिपना, सामान्य झन् बन्दछु ।
यो ढाट्ने क्रममै छ जीवन मिठो, ढाँट्दै छु यो जिन्दगी ।
स्वप्नामा सटही गरेर बिपना, काट्दै छु यो जिन्दगी । ४
फेदीको पहिरो, भुजङ्गप्रयात छन्द १३२
उँधै मात्र जाने छ होला तँ जस्तै ।
उँधै मात्र लाने छ खोला तँ
जस्तै ।
विना सूचना नै झरी देह मार्ने,
अरू शक्तिसाली नहोला तँ जस्तै
। १
थिए नीदमा मस्त प्यारा तँ
नेरै ।
झरिस् झट्ट गर्दै बिहानै
सबेरै ।
भयो कोख रित्तो भयो काख खाली
।
तँ होस् कंश पापी तँ रोलास् म
जस्तै । २
थियो नाम जस्तो थियो बानी
उस्तै ।
थिए सज्जनै प्रेमका खानी
उस्तै ।
उसैलाई छानिस् उसैलाई हानिस्
।
दिएँ श्राप धेरै तँ रोलास् म
जस्तै । ३
बगे अश्रुधारा भए नेत्र राता
।
भयो वृष्टि धेरै रुइन् धर्ती
माता ।
अझै राक्षसै दुष्ट जाली छ
होला ।
छली रावणै त्यो नहोला तँ
जस्तै । ४
खने यन्त्रले जोडले बेर लाई ।
नउठ्ने नबोल्ने भएको छ भाइ ।
तँ आइस सुताइस् पछारिस र
मारिस् ।
बनी होलिका भोलि रोलास् तँ उस्तै
। ५
म हेर्दैछु फिर्दै बिहानै र
साँझ ।
म देख्दैछु फेदी भयो शून्य आज
।
डराइस् भगाइस् बताइस् छ
मृत्यु ।
बनी पुतना भोलि रोलास् तँ उस्तै । ६
तँ जा जा परै जा हटी जा उता
जा ।
छँदै छैन तेरो कुनै काम आज ।
छ निर्धो र सोझो उही मार्नु
पर्ने,
विनाअर्थ मार्ने नहोला तँ
जस्तै । ७
खसीको बिन्ती, इन्द्रबज्रा छन्द १३३
हे मृत्यु ! हे काल ! तिमी कता छौ ?
खोज्दै म हिँड्दैछु तिमी जता छौ ।
छिट्टै तिमी दर्शन आज देऊ,
त्यागेर अर्कै नवप्राण देऊ ।
यो धर्म ऊ धर्म भनी कराए,
मान्छे सबै बुद्ध हुनै डराए ।
म्याँ म्याँ गरेको किन सुन्नुहुन्न ?
बाख्रो नमार्दा किन धर्म हुन्न ?
सानै थिएँ बर्ष दिनै नबित्तै,
काटेर फाले सब अण्डकोष ।
हुँदा जवानी म त रित्तिएँछु ,
कोसँग मेरो अब साट्नु जोस !
आफू स्वयंको पशुतुल्य बानी,
संस्कार थेग्दैछ बनेर दानी ।
आफू बलात्कार दिनै र रात,
बोको बली दिन्छ पखाल्न पाप ।
यो अस्टमीमा अब मर्न पाऊँ ,
सन्सारको सागर तर्न पाऊँ ।
हे ममृत्युराजा ! अब टेरिदेऊ ।
मारेर अर्कै जुनि फेरिदेऊ ।
श्री विद्येश्वर मा.वि., पादाकुलक छन्द १३४
पढाई के हो थाहा नहुँदा,
गुनाई के हो चाह नहुँदा ।
जाने गर्थेँ श्री विद्येश्वर
।
श्री हो मेरो श्री विद्येश्वर
। १
पीपल वरको चौतारीमा,
शीतल मनका नव दौँतरीमा ।
खेल्दै, कुद्दै जान्थेँ मन्दिर ।
यो हो मेरो श्री विद्येश्वर ।
२
ट्याम्के छ शीर हरिया बुट्टा
।
प्रगतिपथका सल्यानी खुट्टा ।
काखमा मेरो बस्दछ ईश्वर ।
यो हो मेरो श्री विद्येश्वर ।
३
गोगनेबीच चुस्त र स्फूर्त ।
ब्राम्हण क्षेत्री वैश र
शुद्र ।
सब जप्छन् सत्य छ शिव सुन्दर
।
हो मेरो यो श्री विद्येश्वर ।
४
सहीदको गुनासो, पञ्चचामर छन्द १३५
म भूत हुँ भविस्य हुँ , र वर्तमान हुँ सधैं ।
सहीद हुँ सपूत हुँ , र मर्छु देश निम्तिमै ।
विरुद्ध एक तन्त्रको, विशुद्ध लोकतन्त्र हुँ ।
म सार्वभौम देशको, पवित्र एक मन्त्र हुँ । १
जसै सिमा मिचेर यो, त्रिकोण झुक्न थाल्दछ ।
इमान सान देशको, दबेर लुक्न थाल्दछ ।
सनक्क उठ्छ रीस यो, त्रिनेत्र बल्छ माथमा ।
निशान वीरको खुँडा, छ साथ दिन्छ हातमा । २
छ रक्त देहमा सबै, म देशमा बगाउँछु ।
नयाँ बिहान ल्याउँदै, म देश यो सजाउँछु ।
छ सूर्य तेज बाहुमा, छ चन्द्र ओस घाउमा ।
र बग्छ गण्डकी नशा, निधारदेखि पाउमा । ३
ल आ ! पछार मार लौ, र गोलि हान छातिमा ।
म मृत्युमा रमाउँछु , पछाडि हट्न मान्दिनँ ।
म रुन्छु आज धर्धरी, बसी चिहानमा तर ।
म देख्छु देश मक्किँदो , छ भत्किँदो सबैतिर । ४
सपार्छु देश भन्छ जो, र बन्छ एक नम्बर ।
बिगार्न देश चम्किने, उही स्वयं छ तत्पर ।
नबेच देश भेष यो, नबेच राष्ट्र चिन्तन ।
रमेर बाँच बुद्धझैँ, खुशी सुखी बनून् जन ।
५
कविता, शार्दूलविक्रीडित छन्द १३६
लेख्दै लेख्दिनँ आज एक कविता, के लेख्नु खै शीर्षक ?
देख्दै देख्दिनँ आज शुद्ध कविता, श्रोता र खै दर्शक ?
जान्दै जान्दिनँ फुत्त लेख्न कविता, के दीर्घ के ? ह्रस्व के ?
छान्दै छान्दिनँ शब्द वर्ग गतिला, के भाव के ? अर्थ के ? १
अर्काका कविता म पढ्छु तिनमा, सद्ज्ञान, विज्ञान छ ।
आफ्ना यी कविता म पढ्छु यिनमा, अज्ञान अज्ञान छ ।
गन्दै गन्दिनँ आज अक्षरहरू, के गन्नु ? के सार छ ?
कन्दै कन्दिनँ हेर लेख्न कविता, के कन्नु ? बेकार छ । २
बग्छन् रे कतिका सलल्ल कविता, दुःखान्तमा, हर्षमा ।
सक्छन् रे कतिले त काव्य गतिला, मासान्त वा वर्षमा ।
बग्दै बग्दिनँ आज बग्नु कसरी ? के पुग्छु गन्तव्यमा ?
सक्दै सक्दिनँ कोर्न, लेख्न कविता, होस् पद्य वा गद्यमा । ३
छान्छन् छन्द सुहाउँदा शिखरिणी, हुन्छन् कुनै तोटक ।
या हुन्छन् कतिका त मत्तमयुरी, शार्दूलविक्रीडित ।
छान्नै जान्दिनँ भब्य छन्द गतिलो, वेछन्दको गन्ध छ ।
मान्दै मान्दिनँ आज लेख्न कविता, वेढङ्गको बन्दछ । ४
अर्को यात्री, तोटक छन्द १३७
अब मन्दिरमा म त जान्न बरु ।
फलफूल प्रसाद म खान्न बरु ।
जल चन्दन पुष्प र पातीहरू,
बटुली घरमा अब लान्न बरु । १
जति मान्नु थियो अब मानिसकेँ
।
जति जान्नु थियो अब जानिसकेँ
।
मन मन्दिर हो तन यो रथको,
तन जान्छ जता मनकै पथ हो । २
मनको तनको जब भेट भयो ।
अनि जैविक मानव जन्म भयो ।
जब जन्म भयो सब मानवको ।
तब जन्म भयो सब दानवको । ३
मन स्वच्छ सफा अव मानव भो ।
मन दुष्ट भए तव दानव भो ।
सब मानवको मन मन्दिरमा,
हरि, केशब, राम र बुद्ध न हो । ४
रथ आशन गर्दछ जो हरि हो ।
मन शासन गर्दछ जो हरि हो ।
रथ अर्जुनको मन कृष्ण भयो,
जब कृष्ण गयो तब अर्जुन गो ।
५
नर वानर होस् कि नराधिपति
सबको मन नै यिनको मठ हो ।
मन शान्त प्रशान्त नपारिकन,
जव खोज्दछ देव उही शठ हो । ६
अब शास्त्र अरू नपढे पनि म,
अब मन्त्र अरू नरटे पनि म ।
सब मानवको मन पुज्न सकूँ ।
अनि मानवकै हित गर्न सकूँ । ७
ससंकल्प अर्कै गर ! शार्दूलविक्रीडित छन्द १३८
जग्गादान पवित्र कर्म छ बडो, यो भूमिको दान हो ।
यो भन्दा पनि उच्च दान नहुने, यो काम सम्मान हो ।
धेरै टन्न छ पुग्छ लौ अब भने, भत्किन्छ है त्यो घर ।
जङ्गे पिल्लर सर्छ उत्तर भने, संकल्प अर्कै गर । १
कन्यादान उसै छ कर्म गतिलो, सन्तान फैलाउने ।
मान्छेकै नव पुष्प फुल्छ यसमा, कैल्यै नवैलाउने ।
अर्काकी बहिनी म जान्दिनँ भने, सप्रिन्न है त्यो घर ।
चेली बेचिन बाध्य पार्नु छ
भने, संकल्प अर्कै गर । २
गाईदान पवित्र धर्म छ भनी, बोल्दैछ विज्ञान यो ।
पञ्चामृत् अनि पञ्चगव्य यसको, घोल्दैछ विज्ञान यो ।
गाई पाल्छ, दुहेर खान्छ जसले, सप्रन्छ है त्यो नर ।
गौहत्यादि गरी कमाउनु परे, संकल्प अर्कै गर । ३
विद्यादान छ पूर्ण दान जनमा, यो ज्ञानको दान हो ।
विद्यार्थी सबको र विज्ञ
गुरूको, यो मान सम्मान हो ।
विद्या शासन गर्छ विश्व नभमा, अर्को यहाँ को छ र ।
चर्को शुल्क लिई पढाउनु परे, संकल्प अर्कै गर । ४
पानीदान समान छैन जनमा। जे जे
दियोस् दानमा ।
जन्मैमा जलदान गर्छ जसले, जाँदैन ऊ नर्कमा ।
बग्दै जान्छ म के गरौँ अब भने, सप्रिन्न है त्यो घर ।
कर्णाली यदि बेच्नु पर्दछ भने, संकल्प अर्कै गर । ५
दानैबीच छ वीर्यदान यसको, शास्त्रोक्त चर्चा छ नि ।
जन्मन्छन् कति जून घाम सरिका, सन्तान उस्तै अनि ।
पुत्री पुत्र सबै समान छ भने, सप्रन्छ है त्यो घर ।
छोरी जन्मिनुपूर्व फाल्नु छ
भने, संकल्प अर्कै गर । ६
अर्को हो वलिदान हुन्छ यसमा, यो ज्यानको अर्पण ।
सुम्पिन्छन् कतिले त राष्ट्र
हितमा, काट्दै पराई तन ।
यस्ता मानव पाइँदैन सजिलै, सत्कार गर्दै गर ।
खोल्सामा यदि लास फाल्नु छ
भने, संकल्प अर्कै गर । ६
वलि, स्वतन्त्र
छन्द १३९
तिम्रो मुखमा दागबत्ती, कहिले पनि बल्दैन र ?
घिउ परालले गुम्स्याउदा, तिम्रो हड्डी गल्दैन र ?
कति काट्छौ, कति मार्छौ, कति भोज लगाउछौ ?
चितामाथि मूढा थप्दा, तिम्रो शरीर जल्दैन र ? १
पेटारेको घाँटी सानो, पर्सेपछी मार्यौ होइन ?
सुङुर दाइको घाँटी ठूलो, मुटु रोपी मार्यौ होइन ?
आफ्ना छोरा पोस्नलाइ, अरुका छोरा काट्नेहरू !
लाम्कानेको आन्द्राभुडी, हेर्दाहेर्दै तार्यौ होइन ? २
सानो, फुच्छे कुखुरोलाइ रेटीरेटी फालेपछी,
अग्लो, ठूलो राङोलाइ हम्मर ठोकी ढालेपछी,
जीवो जीवस्व जीवनम र संस्कृतिको कुरा गर्छौ,
भेडा, च्याङ्रा, बङुरलाइ कुकरभित्र गालेपछी ? ३
मूर्ख सबै बुद्ध भए ? भेडा वलि दिएपछी ?
सम्भोगादि कम भयो त ? हंस वलि दिएपछी ?
तिमीभित्रै पशुत्व छ, खोजी खोजी वलि देऊ न ।
बलात्कारी नासिए त ? बोका वलि दिएपछी ? ४
ईश्वरप्रति आक्रोश, शार्दूलविक्रीडित छन्द १४०
मेरो अक्षरब्रह्म आज किन हो, उल्टो, उभिन्डो भयो ।
उल्टै बुद्धि भयो दिमाग पनि यो, काँचो कुभिन्डो भयो ।
मेरा वाक्यहरू भनन्नन गरे, यी वाक्यमा रीस झन् ।
सुल्टा प्रश्न म गर्छु, उत्तरहरू, उल्टा सबै
आज छन् । १
जे राम्रो उसमा सधैँ मन रमे, त्यो राम वा काम हो ?
जे देख्यो उसमा सधैँ मन गए, त्यो कृष्ण वा तृष्ण हो ?
के हो यो भगवान् छ तत्त्व भनिने, के लेख्नु के जान्नु खै ?
छिट्टै आज तुरुन्त जान्न नसके, के पुज्नु के मान्नु खै । २
तेरै सृष्टि अरे चराचर जगत्, यी मूर्ख जो भन्दछन् ।
बुझ्दैनन् कि कसो, पुजी शिवसती, झन्
मूर्ख यी बन्दछन् ।
तेरो त्यो घर मोठ, मन्दिर भए, कल्ले
बनायो घर ?
तेरो मूर्ति शरीर हो यदि भने, कल्ले बनायो तर ? ३
तेरो बाउ म हो, र मातृ पनि हो, त्यो
जन्मदाता म हो ।
तेरो चामल, अक्षता, जल दिने, त्यो
अन्नदाता म हो ।
तेरो रक्त मभित्र बग्दछ भने, सुख्खा बनी बस्छु म ।
तेरो प्राण मभित्र चल्दछ भने, लैजा सबै, मर्छु म । ४
केको फूर्ति लगाउँछस् घरिघरी, यौटा म हो भन्दछस् ?
लुक्दै भित्र कताकता मनबिसे, द्यौता म हो भन्दछस् र ?
लौ आ ! तर्क गरौँ, सदृश्य अब लौ, एकान्त
जम्मा भई ।
तेरो ईश म हो कि ईश्वर तँ होस् ? जानून्
सबै मूर्ख यी ! ५
निर्मला पन्त, भुजङ्गप्रयात छन्द १४१
छँदा प्राण तातो, सुके शब्द सारा ।
गइन् शुन्यतामा र आत्मा करायो ।
बचेका अरू निर्मला लौ न आओ ।
सडेको, हरामी, छली त्यो समाओ । १
भई एक ढिक्का, बनी एक दुर्गा ।
सबै मातृको शक्ति हुङ्कार ल्याओ ।
बनी बाघ जस्तै, चिथोर्दै र मार्दै,
समातेर पापी, पछारेर आओ । २
भयो न्यायको मृत्यु, अन्याय छायो ।
गयो मान सम्मान, अस्तित्व भाग्यो ।
कठै ! निर्मला जो अरू हुर्कँदैछन् ।
नजीरै बनी अस्मिता लौ बचाओ । ३
नयाँ निर्मलाले
सधैँ बाँच्न पाऊँन् ।
मिठा गीत सुन्दै
सधैँ नाच्न पाऊँन् ।
यही जिन्दगीमा
सयौँ वर्ष बाँच्दै ।
मुना
कोपिलाझैँ हाँस्न पाऊँन् । ४
प्रश्नोत्तर,
स्वतन्त्र छन्द १४२
कति सजिलो छ शिक्षक बन्न ?
जति सजिलो छ बारी खन्न ।
कता छ बारी ? कता छ खेत ?
नववालकको दिमाग के त ?
मलजल के हो ? बिउ के को ?
मलजल संस्कार, ज्ञान बिउ हो ।
हलो कोदालो कता छ साथी ?
शिक्षक अनुभब, किताब, कापी ।
झार उखेल्नु? गोड्नु र मेल्नु ?
समय समयमा परीक्षा पेल्नु ।
फूल पनि फुल्छ ? फल पनि लाग्छ ?
के हो त फूल ? के हो त फल ?
शिक्षित ब्यक्ति, रास्ट्रको फूल ।
सभ्य समाज, विश्वको फल ।
शालिनी- प्रतिष्ठा १४३
केराको खम्बा दुई भाइ जम्मा – देऊ शि..रे !
पूरानो घण्टी दिनुस् सेल
आन्टी – देऊ शि..रे !
चाख्छौँ चाख्छौँ सेल अर्सा त
चाख्छौँ – देऊ शि..रे !
बाँड्दै चुँड्दै ती मिठा सेल खान्छौँ – देऊ शि..रे ! १
रातो माटोमा लढेरै पढेरै – देऊ शि..रे !
चिप्लो बाटोमा सदाझैँ सबेरै – देऊ शि..रे !
हामी माग्दै ता कहाँ हो र आको –
देऊ शि..रे !
राजाले हाम्रा बलिले पठाको –
देऊ शि..रे ! २
मुर्ख श्री, शार्दूलविक्रीडित छन्द १४४
यो मेरो मन हो कि यो त वन हो, धेरै छ कालो किन ?
मेरो चित्त र भित्र यो
हृदयमा, धेरै छ जालो किन ?
छन् यी इन्द्रिय आज श्यामल
अझै, यो बुद्धि कालो किन ?
यो अन्तस्करणै र श्री अगतिलो, आत्मा छ कालो कि न ? १
यो एकाक्षर मन्त्र सुन्छु
धमिलो, कैवल्य कालो छ कि ?
यी व्रह्माच्युतशंकरै
बसिलिने, कूटस्थ कालो छ कि ?
मेरो भक्ति र ज्ञानमार्ग, ऋतुजा, वैराग्य कालो छ कि ?
मेरो सत्य दया र धर्म तप यो, नैराश्य कालो छ कि ? २
कालै मात्र सदा म देख्छु किन
हो, आँखा उघारे पनि ।
मात्रै तामस धेर देख्छु
जहिले, झन् चिम्म गर्दा पनि ।
कालो तिक्त विचार मात्र छ
फगत्, निष्पट्ट रातैभरि ।
औँसी रात सधैँ बिहान दिनमा,
यस्तो भयो के गरी । ३
लज्जा धैर्य स्वभाव तेज जति
छन्, निष्पट्ट काला भए ।
माया मोह र कर्मबन्धनहरू, ती मोति माला भए ।
यो कालो मनले र कृष्णपनले, श्री सुर्य के देख्छु म ?
आफैँ दिन्छु उपाधि आज अब लौ, श्री मुर्ख यो लेख्छु म । ४
नारी दिवस, मुक्त छन्द १४५
आधा समुद्र हाम्रो भन्छ्यौ,
वानरको सेतु देख्दिनौ दिदी ?
आधा आकाश हाम्रो भन्छौ,
राहु र केतु देख्दिनौ दिदी ? १
यता जान्छ्यौ, बैठक बस्छौ,
उता कुद्छ्यौ, भाषण गर्छौ
मुख्य कारण पितृसत्ता ठान्छ्यौ,
मातृको हेतु देख्दिनौ दिदी ? २
गाडीका सिटमा बीस प्रतिशत माग्छ्यौ,
सार्वजनिक सेवामा तेत्तीस,
राजनीतिमा चालीस प्रतिशत माग्छ्यौ,
काल्पनिक आकाशमा पचास । ३
तिम्रै पाठेघरमा महिला भ्रूणको
शत प्रतिशत संरक्षण छैन,
आफ्नै कोखबाट छोरीको गर्भपतन,
आफैँ देख्दिनौ दिदी ? ४
अनैतिक दृष्टान्त १४६
गतिशून्य मतिन्यून, ठाडै हुन्छ निरन्तर,
मरेको वृक्षको हाँगो, नसुकेको कहाँ छ र !
देखिन्छ गुणीको दोष, गुणका रासमा पनि,
स्वास्नी फिर्ता गर्यौ राम !, धोबीले भनेकै छ नि ।
प्रायको लोकमा हुन्छ, एकैनास समुन्नती,
नेता नेपालका हेर, सम्पत्ती कति हो कति ।
मिलेर काम गर्नाले, सधैँ हुँदैन फाइदा,
बाख्रा नारेर दुईटा, जोत्यौ खेत यदाकदा ?
योग्यस्थानबिषे मान, धेरैले छैन पाएको,
वासुदेब बसी जेल, छैन नेल लगाएको ?
विपक्षी कार्यकर्तामा, अर्ति गाली बिझाउँछ,
दूधै नपिएको सर्प, पनि विष बगाउँछ ।
चित्रभित्र मित्र कृष्ण,
मुक्त छन्द १४७
उसले बाहिर बनायो वा मैले
भित्र बनाएँ ?
ऊ अचल बसिरह्यो र मैले उसको
चित्र बनाएँ ।
कसले कसलाई बनायो कसलाई पत्तो
छ यहाँ ?
ऊ बेकार बसिरह्यो र मैले उसको
चित्र बनाएँ ।
उसका पनि आमाहरू रहेछन् मेरा
जस्तै, दुरुस्तै ।
मैले आमा फेरिनँ, उसले आमा फेरेको चित्र बनाएँ ।
उसकी पनि प्रेमिका रहिछ, मेरी जस्तै, दुरुस्तै ।
मैले उनैलाई स्वीकारेँ, उसले अर्कै रोजेको चित्र बनाएँ ।
उसका पनि स्वजन रहेछन् मेरा
पनि दूर्जन छन् कडा कडा ।
मैले दूर्जन मारिनँ, उसले स्वजन मारेको चित्र बनाएँ ।
कति होच्याउनु ,कति गालि
गर्नु, कति काले चोर भन्नु ,
धूलो र पानीले च्यातिने
वेलामा चित्रलाई मित्र बनाएँ ।
उसले मलाई बनायो वा मैले
उसलाई बनाएँ ?
गलेर थाकेर मर्ने बेलामा
चित्रलाई मित्र बनाएँ
नेपाल आमा, भुजङ्गप्रयात छन्द १४८
कतै दुष्ट चाला छिमेकीहरूका ।
कतै वक्र इच्छा पराईहरूका ।
सबै गाभ इच्छा र साझा बनाऊ ।
नगाभेर नेपाल आमा बचाऊ । १
सबै पुत्र पुत्री सबै
इष्टमित्र ।
मिली आज जम्मै भई एक ढिक्का ।
गरी दृढ संकल्प खाका बनाऊ ।
नबाझेर नेपाल आमा बचाऊ । २
गरौँ भोक भोकै अरूको भलाई ।
गरौँ कर्म प्यारो सबै दाजुभाइ
।
मिली आज बाँडी जति जे छ खाऊ ।
नबाँडेर नेपाल आमा बचाऊ । ३
सके आज काटी मलाई पकाऊ ।
सके बाँड चोक्टा निचोरेर खाऊ
।
रमाई रमाई मलाई पचाऊ ।
नकाटेर नेपाल आमा बचाऊ । ४
कतै जन्ति जाँदा कसैको मलामी
।
कतै बाढी वर्षा कसैको खरानी ।
सके साट पीडा उसैमा रमाऊ ।
नसाटेर नेपाल आमा बचाऊ । ५
मिलन, स्वतन्त्र छन्द १४९
पूर्व पश्चिम राजमार्गको
बीचमा,
उत्तर दक्षिण लमतन्न भएर,
रात बिताउन मन छ ।
सडक माथि सडक जस्तै भएर,
उसैसँग मिल्न मन छ ।
आनन्दसँग सुत्न मन छ,
ऊ सुते जस्तै ।
तर के गर्नु, मर्छु र मात्रै पो !
ब्युँझिए पछि तिनै सडक मुनिका
नदी खोलामा बग्न मन छ ।
नदी भित्र नदी जस्तै भएर ।
उनैसित मिल्न मन छ ।
आनन्दसँग बग्न मन छ,
उनी बगे जस्तै ।
तर के गर्नु, मर्छु र मात्रै पो !
नदीको कुनै अग्लो भीरको
टुप्पामा गएर,
त्यतै भएका रुखमा चढी आकाश
छुन मन छ ।
त्यहाँबाट उढेर अझै माथि गई
उही बेगले तल झरेर,
ढुङ्गा माटोमा मिल्न मन छ ।
ती मिलेका ढुङ्गा माटो जस्तै
।
तर के गर्नु, मर्छु र मात्रै पो !
गीत, चण्डेनी प्रार्थना १५०
छ रिस राग चित्तमा, त्यो चूर्ण पार चण्डेनी ।
अपूर्ण जो छ बुद्धिमा, त्यो पूर्ण पार चण्डेनी ।
गुरूहरू बनिरहुन्, ती देवका वृहष्पति ।
सदा तयारी ज्ञानको, गुरूआमा सरस्वती । १
छ अल्प सीप चेतना, प्रचण्ड पार चण्डेनी ।
छ खण्ड खण्ड सोचमा, अखण्ड पार चण्डेनी ।
समाज देश विश्वको, म हित कार्यमा रहूँ ।
वनस्पति र प्राणीमा म प्रित
गाँस्नमा रमू । २
म कोपिला छु चञ्चले, र फुल्न देऊ चण्डेनी ।
सुसभ्य, स्वास्थ्य, शान्तिको, सुवास देऊ चण्डेनी ।
जता म जाऊँ विश्वमा, भविश्यमा रमी रमी ।
त्यता चिनाऊँ चण्डेनी, सगौरव बनी बनी । ३
छ सूत्र वीज जीवको, दुरुस्त पार चण्डेनी
छ प्यास औधि ज्ञानको, त्यो तृप्त पार चण्डेनी ।
छ रिस राग चित्तमा, त्यो चूर्ण पार चण्डेनी ।
अपूर्ण जो छ बुद्धिमा, त्यो पूर्ण पार चण्डेनी । ४
वेहालतन्त्रको शिक्षक, भुजङ्गप्रयात छन्द १५१
म घुम्थेँ, म डुल्थेँ र सल्लाह दिन्थेँ ।
नयाँ ज्ञान बाँड्दै पुराना म लिन्थेँ ।
न नौनी, न मोही, म रित्तो भएँछु ।
म दानी नबन्दै मदानी बनेँछु । १
कहाँ बन्छ खाना पकाए नजानी ।
कतै मात्र चोक्टा, कतै शुद्ध पानी ।
म सोच्थेँ म मीठो मसाला म बन्छु ।
मसाला नबन्दै म साला भएँछु । २
छ यो विश्व व्रम्हाण्ड साझा सबैको,
भनी लेख लेख्थेँ थरैको, घरैको ।
अरू देश पढ्दा र नेपाल बुझ्दा ।
म देशी नबन्दै मदेशी भएँछु । ३
न काली, न गोरी सबै एक भन्थेँ ।
न ठूले न साने, सबै जान भन्थेँ ।
अशिक्षा पछार्दा र शिक्षा उघार्दा ।
म साने नबन्दै मसाने भएँछु । ४
तुलना,
भुजङ्गप्रयात छन्द १५२
त्रिवेणी र योनी रहेछन् दुरुस्तै ।
दुवै जन्मदाता रहेछन् दुरुस्तै ।
पखालेर मैलो, बनी शुद्ध कूल ।
भरी ब्रह्मनाला बहेछन् दुरुस्तै । १
मृगौला दुई, एक अण्डा नलीले ।
त्रिवेणी बन्यो तीन मिल्दा नदीले ।
इडा, पिङ्गला औ सुसुम्ना नसाले ।
बनाई त्रिवेणी बगेछन् दुरुस्तै । २
लिई पेटमा मास नौसम्म भारी ।
दिई जन्म नौलो, धरा धन्य पारी ।
मरी जान्छ मान्छे, सुताई चितामा ।
पुनर्जन्म दिँदै गएछन् दुरुस्तै । ३
जहाँबाट जन्म्यो विनावस्त्र चोली ।
उही स्थानमा दागबत्ती नबोली ।
छ संकेत धेरै त्रिवेणीहरूमा ।
र संस्कार हाम्रा बनेछन् दुरुस्तै । ४
घटाकास उस्तै र आकाश उस्तै ।
ऋतुमासकालीन वर्षात उस्तै ।
कहिल्यै नसुक्ने दुबै मूल पानी ।
दुबै प्राणदाता भएछन् दुरुस्तै । ५
दुबै स्थानमा पार्वती अङ्ग उस्तै ।
गरी स्थापना शैवका लिङ्ग उस्तै ।
यहीँ हुन्छ काम, यहीँ बन्छ धाम ।
दुबै खोँचमा नै बसेछन् दुरुस्तै । ६
कुनै मूर्ख आई बलात्कार गर्दा ।
र विज्ञान मातेर भित्तो चिथोर्दा ।
कठै ! वेदना ती सहन्छन् दुरुस्तै ।
नमिल्दो कहानी कहन्छन् दुरुस्तै । ७
बसाइँ, शिखरिणी
छन्द १५३
थियो यौटा सानो घर नजिकमा कूप गतिलो ।
म खान्थेँ पानी त्यो कलकल गरी खूब रसिलो ।
विना चौताराको वर पनि थियो माथि घरमा ।
म हाल्थेँ अँगालो तर पनि कहाँ अट्नु करमा । १
वनैका छेवैमा अलिक वर नै ओखर हुने ।
म टिप्थेँ पोल्टामा टपटप गरी बेर नहुने ।
निबाराका दाना कति मह हुने धेर गुलियो ।
गयो टिप्यो खायो रनवन गरी भोक भुलियो । २
जुठेल्नामा फल्थे अति रस हुने आरु बखडा ।
तिनै हुन्थे मेरा किसमिसहरू काजु छगडा ।
हुने काँक्रा फर्सी कति कति बडा अम्मन हुने ।
हुने गिठ्ठा धेरै अनि तरुल झन् पौष्टिक हुने । ३
दुनामा जन्मिन्थे कुश ऋषिहरू मोटकहरू ।
गह्रामा गुञ्जिन्थे कति शिखरिणी तोटकहरू ।
अगेनामा घुम्थे वरपर गरी यज्ञ र चरु ।
र खोपामा सुत्थे ऋषि कृति महाँभारतहरू । ४
सबै छोडेँ आएँ सहर म पसेँ ज्यान छ यता ।
पुराना सम्झौता मन र सपनी ध्यान छ उता ।
बसाइँ सर्दामा पर पर हुने मात्र तन यो ।
सबै सम्झी एक्लै धुरुधुरु रुने मात्र मन हो । ५
मेरा टारी बारी निरस नबने है घरिघरि ।
मेरा कान्ला आली विरह नसुसाए घरिघरि ।
तिमी मेरो स्वामी मन र मुटुमा राज गर लौ ।
हिजो जस्तो गर्थौ अब पनि उही आज गर लौ । ६
लाटीको माया, भुजङ्गप्रयात छन्द १५४
थियो वाल्यकालै म बस्थेँ
नबोली ।
थिए मित्र धेरै र खेल्थेँ
नबोली ।
सुने जन्म नौलो भयो रे उनैको
।
गएँ बच्ची हेर्न म एक्लै
नबोली । १
सुतेकी रहिछन् उनी मस्त साथ ।
बसेँ बेर धेरै दुवै नेत्र
खोली ।
पुग्यो नीद टन्नै भयो पेट रित्तो
।
र हेरिन् मलाई नबोली नबोली ।
२
यता खेतबारी उता सम्म चौर ।
बितायौँ उमेरै छँदामा कुदेर ।
न पढ्ने न लेख्ने न कापी न
ठेली ।
र हुर्की गएछौँ नबोली नबोली ।
३
लजाइन् र हेरिन् मलाई नबोली ।
गरिन् जो इसारा नबोली नबोली ।
म दैडेँ बडो गर्वले बोल्नलाई
।
सुके शव्द सारा र फर्कें
नबोली । ४
रमाएँछु धेरै र आत्मा खुशी भो
।
डराएँछु थोरै र आत्मा दुखी भो
।
गएँ भोलि साँझ उनैसाथ भेट्न ।
ग¥यौं बात
धेरै नबोली नबोली । ५
भयो भेट हाम्रो लगातार फेरि ।
बिते साँझ धेरै नबोली नबोली ।
म सुन्थे कुरा ती उनी
भन्दिनन् जो ।
उनी ’हुन्छ’ भन्थिन् नबोली नबोली । ६
कला त्यो उनैको नहाँसी
नहेर्ने ।
दुवै नेत्रमा नेत्र गाँसेर
हेर्ने ।
भयौँ एक जोडी, भयो एक ज्यान ।
भए पुत्र पुत्री नबोली नबोली
। ७
दिइन् हात धेरै, दिइन् साथ मेरै ।
सधैँ काम गर्थिन् बिहानै
सबेरै ।
विरामी परेकी कहिल्यै थिइनन् ।
“म सञ्चै छु’ भन्थिन् नबोली नबोली । ८
सकिन् काम धन्दा हिजो साँझ
फेरि ।
निकै बेर हेरिन् मलाई नबोली ।
विदा भै गइन् जो नबोली नबोली
।
सुताएँ चितामा नबोली नबोली ।
९
दिएँ दागबत्ती सलाई जलाई ।
भइन् राख एक्लै नबोली नबोली ।
पखालेँ चिता खै ! पखालिन्न
याद ।
म सम्झिन्छु एक्लै नबोली
नबोली । १०
अजिब समय, मुक्त
छन्द १५५
उनको र मेरो समय अब अजिब हुनेछ ।
दुबैको सास अब नजिक हुनेछ ।
उता जाओ, परै बस, अन्त कतै हेर बरु ।
मायाको मुर्ती अब सजिब हुनेछ ।
उनको र मेरो समय अब अजिब हुनेछ ।
कहाँका टुडाल, कसको शास्त्र, सबै बिर्सिदेउ।
तिम्रा ती ताजमहल अब पग्लिनेछन।
आखामा साचेका दृश्य अब हल्लिनेछन ।
दुबैको साथ अति करिब हुनेछ ।
उनको र मेरो समय अब अजिब हुनेछ ।
श्रुति, स्मृती र व्याकरण बन्द गर अब ।
वैदिक ऋचाहरु क्रमशः टुक्रिनेछन ।
मन्त्रहरु स्वत उच्चारित हुनेछन ।
दुबैको ॐकार अब क्रमिक हुनेछ ।
उनको र मेरो समय अब अजिब हुनेछ ।
गजल १५६
रदिफ, काफिया, बहर, मतला केही नै थाछैन।
त्यसैले त मेरो गजल, गजल भाछैन ।
अन्तै किन्छन् शव्दहरू, अन्तै बेच्छन् स्वरहरू,
त्यसैले त मेरो गजल, पसल भाछैन ।
बैँस बारी बाँझो राखी, शेर बेर्ना सार्न थालेँ ।
त्यसैले त मेरो गजल, फसल भाछैन ।
उनीसँग नखेलेर, शव्दसँग खेल्न थालेँ ।
त्यसैले त मेरो गजल, असल भाछैन ।
गजल १५७
परैबाट आँखा , डुलाउन सक्छौ ।
बनाई निशाना, रुलाउन सक्छौ ।
चिनी दूधमा मात्र, घुल्ने कहाँ हो !
म पानी छु पानी, घुलाउन सक्छौ ।
भयो बन्द ढोका, त के मान्नु चिन्ता।
यता झ्याल अर्कै, खुलाउन सक्छौ ।
उता फूल उस्तै, बगैँचा उही हो।
यता फूल नौलो, फुलाउन सक्छौ ।
सधैँ साथ हुन्छौ, चखेवा चरीझैँ।
पठाएर अन्तै, भुलाउन सक्छौ ।
गजल, भन्दैन कोही १५८
लडेछौ तिमी हात देऊ, भन्दैन कोही ।
छु एक्लै तिमी साथ देऊ, भन्दैन कोही ।
दहीले भरेको छ ठेकी, बग्दैछ पानी ।
मदानी घुमाएर मात्रै, बन्दैन मोही ।
छु एक्लै तिमी साथ देऊ, भन्दैन कोही ।
निकै छोप्दछौ बैँसका ती, चाला र माला ।
लुकाएर मात्रै जवानी, रम्दैन कोही ।
छु एक्लै तिमी साथ देऊ, भन्दैन कोही ।
फलामे कुरो हेर्छ तामा, चश्मा छ दोषी ।
म हीरासरि गर्छु माया, गन्दैन कोही ।
छु एक्लै तिमी साथ देऊ, भन्दैन कोही ।
अरू फुल्दछन् पुष्प, मेरो रित्तो छ बारी ।
म फुल्दै फलाउँछु बाला, खन्दैन कोही ।
छु एक्लै तिमी साथ देऊ, भन्दैन कोही ।
उल्था, भुजङ्गप्रयात छन्द
१५९
सदा बच्पना लेक बेँसी बितायौँ
।
मजाले दुई साथ हाम्रा वितायौँ
।
म स्वस्थान बस्दै रमे
कल्पनामा,
भइछौ पराई तिमीले बितायौ । १
We enjoyed the rural life,
Sang in the hills and plain.
I wished for being native,
And you became foreign again.
तिमी म्यान हुन्थ्यौ म त्यो
खड्ग राम्रो ।
मिलेरै बनेको थियो साथ हाम्रो
।
बनायौ मलाई पुनः म्यान हेर ।
न घोच्यौ न काट्यौ तिमीले
बितायौ ।
I used to be the sword,
And you used to be the man.
You changed the position and,
Gave me lot of pain again.
न गर्मी न जाडो थियो चाहा
साझा ।
दगु¥यौँ दगु¥यौँ न पानी
न खाजा ।
म थाकेँ नराम्रो मरुभूमिबीच ।
बनी सुस्त वर्षा तिमीले
बितायौ ।
We sought for the oasis.
And together we ran for it.
I reached in a gloomy desert,
And you enjoyed the rain again.
म साँच्दैछु मायाँ पु¥याई विवेक
।
म जोड्दैछु संख्या थपी एक एक
।
यता एक पुग्दा उता धेर हुन्छ
।
पुगी लाख लाखौँ तिमीले बितायौ
।
I added one in one cos,
I thought for the union.
You put zero after one,
And you became ten again.
म सोच्थेँ तिमीले म जस्तै त
सोच्थ्यौ ।
न नाफा न घाटा फगत् प्रेम
खोज्थ्यौ ।
रमाएर घाटा म हिँड्दैछु आज,
बढाएर नाफा तिमीले बितायौ ।
I believed you think as I.
As we promised no loss and gain.
Only profit became your aim,
And my desires go vain again.
गजल, सवै पीर मर्का, भुजङ्गप्रयात छन्द १६०
सवै पीर मर्का घटोस्
जिन्दगीको ।
दुःस्वप्नादि जम्मै कटोस् जिन्दगीको
।
तिमी ओठमा फूल बोकेर आऊ,
गुलावी चयन्मा फटोस् जिन्दगी
यो ।
सुन्यौँ तर्क नौला पुराना गुरुका
।
पढ्यौँ पुस्तकै सूत्र ठेली
अरूका ।
तिमी नेत्रमा सूत्र बोकेर आऊ ।
नयाँ सूत्र आजै रटोस् जिन्दगी
यो ।
बटुल्छौँ बटुल्छौँ र पुग्दैन
खान ।
खटिन्छौँ खटिन्छौँ र बन्दैन
काम ।
तिमी देहमा प्रेम बोकेर आऊ ।
नयाँ काममा लौ खटोस् जिन्दगी
यो ।
सिमाना दुईबीच थोरै छ बाँकी ।
उघारौँ र पर्दा हटोस्
जिन्दगीको ।
गजल, तिमी आऊ छिट्टै १६१
तिमी आऊ छिट्टै अरू जन्दिनँ म
।
बहाना सहाना कुनै मान्दिनँ म
।
जता चम्कियून् सूर्य तारा सुनौला,
तिमी जून यौटै अरु छान्दिनँ म
।
हलो जिन्दगीको कता अड्कियो खै,
दिई काँध एक्लै सधैँ तान्दिनँ
म ।
उता सुक्छ धारो यता डड्छ खाना,
न खाना न पानी घरै धान्दिनँ म
।
सबै भन्दछन् मोती दाना महङ्गो,
अमूल्यै तिमी छौ अरू ठान्दिनँ
म ।
गीत, आकाशमा बीऊ तिम्रो ! १६२
आकाशमा बिउ तिम्रो, धरतीमा फल ।
चन्द्रमाको औषधिले, ग¥यो जलमल ।
चिसोमै म खाऊँ कि तिमीलाई,
तताएर खाऊँ !
सजिलै म खाऊँ कि तिमीलाई,
सताएर खाऊँ !
पूर्णिमाको नशा लाग्ने, पर हुँदा पनि ।
छुँदाखेरी मात लाग्ने, वर हुँदा पनि ।
खुसुक्क म खाऊँ कि तिमीलाई,
बताएर खाऊँ !
होेशमै म खाऊँ कि तिमीलाई,
मताएर खाऊँ !
हिलो मैलो कहिँ छैन, अमलाकी दानु ।
नौनीसरि बनेकी छिन्, आज मेरी सानु ।
पुछेरै म खाऊँ कि तिमीलाई,
पखालेर खाऊँ !
जमाएर खाऊँ कि तिमीलाई,
पगालेर खाऊँ !
गीत, कथा आफ्ना आफ्नै १६३
कथा आफ्ना आफ्नै हेर, ब्यथा आफ्ना आफ्नै ।
रिन पान धन जिलो, जेथा आफ्ना आफ्नै ।
कोही कोही आस बोक्छन् ।
कोही रोज्छन् खास ।
रासमाथि रास रोज्छन् ।
बनी त्यसकै दास ।
गाँस आफ्ना आफ्नै हेर, वास आफ्ना आफ्नै ।
बाचुन्जेल दुई मुठी, सास आफ्ना आफ्नै ।
कोहि काख प्यारो भन्छन् ।
कोही भन्छन् साथ ।
कोहीलाई रात प्यारो ।
छैन जात भात ।
उमेरमा काख हेर, साथ आफ्ना आफ्नै ।
मरेपछि मुर्दाको नि, घाट आफ्ना आफ्नै ।
गीत, बिजुलीको तार १६४
कालो रातो बेग्लै भयौँ
बिजुलीको तार ।
सँगै मिली बल्न पाए हुन्थ्यो
बारबार ।
जीवनमा नियमका तिखा काँडेतार ।
तार तोडी अब छिट्टै गरौँ
घरबार ।
उमेरमा एक्लै बस्दा जिन्दगी
नै भार ।
बिजोडी यो जीवन् आजै अब पाऊँ पार ।
दुई मुटु एक गरौँ आँखा गरौँ
चार ।
यसैमा छ जिन्दगीको मूलभूत सार
।
मान्छे भनेको किन ? शार्दूलविक्रीडित छन्द १६५
मान्छेको छ जुनी र यो वदन झन्, मान्छेजसो हुन्छु म ।
मान्छे नै सब भन्दछन् दिनदिनै, मान्छे त पक्का
हुँ म ?
शंका लाग्छ कतै कि यो सब कुरा, बोल्छन् झुटो खै
कि न ?
पक्का गर्न भनेर सोच्छु म
सधैँ, पक्का हुनै सक्दिनँ । १
खुट्टा हात दुरुस्त कृष्ण
तनका, राधाजसो केश छ ।
भोलेझैँ शिर यो त्रिनेत्र
रहने, ती राम झैँ भेष छ ।
आफ्नै मूर्ति म देख्छु आज किन
हो, द्यौता कि मान्छे हुँ म ?
द्यौता नै यदि हुन्छ मानव भने, पूजा गरेको किन ? २
दाह्रा कट्कट गर्दछन् मुख भरी, नङ्ग्रा तिखा
हातमा ।
खस्रो बोल्छु कतै तिखा वचनले, घोच्दैछु झन्
बातमा ।
यस्ता राक्षसका सबै गुण भए, मान्छे भनेको किन
?
कस्तो हुन्छ अवश्य लेख्न म
सकूँ, मान्छे बनेको दिन । ३
मान्छे बन्न प्रयाश गर्छु शिव
हे, ती शैवका तन्त्र दे ।
डम् डम् डम् सुनिने कि यो
डमरु दे, अष्टाक्षरी मन्त्र दे ।
ऐं ऋं क्लीं अब दे कि दे सरल
दे, त्यो अर्गलास्तोत्र दे ।
मान्छे बन्न उपाय जे छ सजिलो, जम्मै सिकाई तँ
दे । ४
देखूँ मन्त्र म एक शुद्ध
गतिलो, यो मोक्ष झट् पारिदे ।
देख्ने हैन भने म बाँच्नु किन पो, त्यो नर्कमा झारिदे ।
माग्दै आज म बस्छु ती चरणको, त्यो धूलको चूर्ण
दे ।
मान्छे मोक्ष हुने विशुद्ध
सजिलो, सद्ज्ञान यो पूर्ण दे । ५
मार्दा मात्र दिने भए पशुपते, आजै कि लौ मारिदे
।
तार्दामात्र हुने भए किन ढिलो, त्यो पुं नदी
तारिदे ।
आफैँ मानवको स्वरूप छु अरे, आफैँ स्वयम्
चिन्दिनँ ।
आफैँ प्रश्न म गर्छु उत्तर
विना, मान्छे भनेको किन ? ६
काँचका चुरा, लोक छन्द १६६
कसैले आज तानेर लग्यो भीरमा
मलाई ।
कसैले आज ताकेर हान्यो शिरमा
मलाई ।
ऐया नि आमा ! ऐया नि बाबा !
भन्न नै बिर्सेँछु ।
पियारी सम्झी मुटुकी रानी
पियारी ! भनेछु । १
शिरमा चोट भिरालो खोँच शरीर
मरेछ ।
शरीर उहीँ भीरमा लडी यो प्राण
उडेछ ।
दैवको कृपा यो मेरो देह कसले
मारेछ ।
भनेर हेर्छु उडेर माथि कसले
मारेछ ।
दैव कसले मारेछ । २
नारीको रूप नारीकै जिउ धपक्कै
बलेकी ।
तानेर होला मलाई अघि रहिछन्
गलेकी ।
पियारी रैछिन् मुटुकी रानी
भीरको शिरमा ।
फर्किँदै रैछिन् लुकाई लौरो
हानेर शिरमा । ३
अलिक पर चौतारो थियो प्रेमिल
सम्झना ।
मार्दथ्यौँ बात मिलेर साथ
स्वर्गीय कल्पना ।
उतै पो गईन् हिँडेर उनी म गएँ
उडेर ।
म पनि लागेँ उनको पछि के
गर्छिन् भनेर । ४
ढुङ्गामा बसी फुटाईन् चुरा ती
मैले दिएका ।
पुवाँलो बाला गलाको फालिन्
छेउमा खिएका ।
छातीमा रैछ बाहिरपट्टि लुकाई
राखेको ।
सुनको बाला सुनैको माला
बट्टामा राखेको ।
दैव बट्टामा राखेको । ५
लगाईन् बाला सुनका चुरा
दोहोरी घुमेका ।
टुक्रेर गए काँचका चुरा ती
मैले चुमेका ।
गलामा अड्क्यो सुनको सिक्री
पुवाँलो भुइँमा ।
नाडीमा चम्के सुनका चुरा
काँचका भुइँमा । ६
ऐनामा हेरिन् कलिलो रूप
सम्झना उहीथ्यो ।
देखिछन् क्यारे मेरो नै मुख
सिन्दुर उहीथ्यो ।
घोटेर फालिन् हातले स्युँदो
पातमा पुछेर ।
बजारे झुम्का चम्किला थिए
फालिन् ती लुछेर । ७
स्यालले लग्ला त्यो मेरो लास
सुगाले पुवाँलो ।
भीरमा उता मनमा यता मायाको
तुवाँलो ।
के हेर्नु अब पर्खेर बसी
अर्काकी जूनलाई ।
बिसाएँ डोको मायाको पोको
आउँदिन छुनलाई ।
अब आउँदिन छुनलाई । ८
उडेर हेरेँ वन र पाखा पहिले
हिँडेका ।
पियारीसँग ठट्यौली गर्दै
खेलेका कुदेका ।
वर र पर ढुकुर थिए सुगाका जोडी थे ।
दौँतरीसाथ गर्दथे बात मिलेका
जोडी थे । ९
सुनेको रैछ सुगाले हाम्रा यी
बात पहिले ।
ऊ रुखमाथि म रुखमुनि पहिले
कहिले ।
उडेर जान्थ्यो पियारीसँग
पियारी ! भन्दथ्यो ।
हाँगामा बस्थ्यो टुसुक्क फेरि
पियारी ! भन्दथ्यो ।
(सुगाको जात के बुझ्नु बात पियारी ! भन्दथ्यो ।) १०
दैवले किन यो मेरो भाग्य
नमिठो लेखेछ ।
त्यो भीरमुनि मरेको लास कसैले
देखेछ ।
डराई धेरै कुदेर आयो बोलायो
छिमेक ।
छिमेकीहरू दैडेर आए पु¥याई विवेक । ११
उ परैबाट मलाई चिने नचिन्नु
कसरी ।
गर्दथ्यौँ सँगै मेला र पात यी
मेरा दौँतरी ।
बोकेर ल्याए त्यो मेरो लास
माथिको बाटामा ।
मान्छेको हुल उर्लेर आयो त्यो
पारी पाटामा । १२
चल्यो है हल्ला त्यो गाउँभरि
म मरेँ भनेर ।
बूढा र बच्चा उक्लिए डाँडो
बलले कनेर ।
गहना छोपी बाहुलाभित्र
सप्कोले घाँटीमा ।
आइछन् मेरी पियारी पनि अरूका
साथमा ।
लौ न अरूका साथमा । १३
नजिकै आई बिस्तारी मेरो शिरमा
छामेर ।
डरले होला अरूका सामु थर्थरी
कामेर ।
हे मेरा प्राण ! हे मेरा
स्वामी ! भनेर रोएकी ।
गोहीका आँसु धर्धरी झारी ती
नेत्र धोएकी । १४
कसरी आयौ हे मेरा प्राण कसरी
झ¥यौ नि ।
छोडेर एक्लै पियारीलाई कसरी म¥यौ नि ।
नारीका कुरा बुझ्नमा पनि दैव
छ दरिद्र ।
कसरी बुझ्नु अरूले यहाँ
नारिको चरित्र । १५
सुगाले पनि देखेछ क्यार सुतेको
मलाई ।
उडेर गयो आकाशतिर के गरोस्
मलाई ।
बूढाले हेरे यता र उता भीरको
सिरान ।
हिडेँको भन्दा तानेको जस्तो
देखियो निशान । १६
अड्कल भयो झरेको हैन कसैले
झारेछ ।
मरेको जस्तो देखिने गरी कसैले
मारेछ ।
त्यो बेला सुगा उडेर आयो रहेछ
बिचारी ।
नजिकै आई सुगाले बोल्यो
पियारी ! पियारी ! १७
सुगाले झा¥यो पुवाँलो दाना
मुखमा च्यापेका ।
काँचको चुरा, पातको स्युँदो
खुट्टामा च्यापेका ।
डरले उठिन् पियारी मेरी
थर्थरी कामेर ।
हातका बाला सुनको सिक्री
बिस्तारी छामेर । १८
मार्छु म आज यो सुगालाई भनेर
ठानेकी ।
उठाई लौरो नजिकै भेटी झटारो
हानेकी ।
झटारो हान्दा झटारै अड्क्यो
सुनको बालामा ।
निकालौँ भन्दा सुनको सिक्री
देखियो गलामा । १९
सुनको सिक्री छोपौँ कि अब
मारौँ कि सुगालाई ।
दुःखका आँसु सकिए अब के
पोख्नु रुनलाई ।
कुदेर गईन् भीरमा फेरि मार्छु म भनेर ।
पुवाँलो दानो टेक्न पो पुगिन्
सुलुलु चिप्लेर । २०
भीरमा पुगिन् लडेर मरिन्
भुतुक्कै भै गईन् ।
सुनको सिक्री सुनको बाला
छोडेर गै गईन् ।
उडेर आयो उनको प्राण मनेरि
नजिकै ।
सुगाले ल्यायो काँचका चुरा
मनेरि नजिकै । २१
बेहोसमा नै मरेर होला म बोल्न
नसक्ने ।
रिसमा उनी मरेर होला देख्न नै
नसक्ने ।
स्वर्गमा बास भएन हाम्रो यतै
नै घुम्दैछौँ ।
प्रेमको चिनो काचँका चुरा
तिनैलाई चुम्दैछौँ । २२
कथाको अन्त्य गर्दछु अब
मायाको होइन ।
भनेको मैले साँचो हो सबै
ढाँटेको होइन ।
फुटेका चुरा बाटामा देखे मलाई
सम्झिनू ।
त्यो रातो टीको पातमा देखे
मलाई सम्झिनू । २३
प्रेमको बीज प्रेम नै हुन्छ, हुँदैन धनमा ।
उस्तै नै फूल फुल्दैन तर
सबैका मनमा ।
पवित्र प्रेम कहिल्यै हुन्न
धनमा सुनमा ।
असली माया लुकेको हुन्छ कलेजी
कुनामा ।
हेर मुटुको कुनामा ... । २४
अतिशयोक्ति, शार्दूलविक्रीडित छन्द १६७
तिम्रो बन्न म के गरूँ भन
छिटो, लेखेर देऊ अब ।
पक्का गर्छु सबै म कोशिसहरू, बाँकी नराखी सब ।
केकानिम्ति म बाँच्नु यो
कहरमा, तिम्रो नबन्ने भए ।
जेजे गर्नु परोस् म गर्दछु
सखे, मर्नै परोस् लौ परे । १
कालो यो अनुहार वर्ण सब यो, गोरो बनाऊँ कि म ।
दुब्लो ज्यान छ यो कि
शास्त्र विधिले, मोटो गराऊँ कि म ।
फेरौँ नाक र कान वा नयन यी, त्यो वैद्यखाना गई ।
छोट्याऊँ कि म हात पाउ अहिले, काटेर आफैँ यहीँ । २
गाई गोबरमा बसी गहुँतले, चोखो गराऊँ कि म ।
आफ्नै श्राद्ध गरूँ कि जन्म
तिथिमा, फेरौँ कि यो धर्म म ।
फाली हाम कतै नदीतिर यहाँ, निस्कूँ कि गंगातिर ।
जाऊँ पंख भिरेर एक गतिलो, आकाशगंगातिर । ३
स्वस्थानी व्रतको कि यो तप
गरूँ, रुद्राक्ष माला भिरूँ ।
जोगीझैँ कि अघोर रूप म बनी, नाङ्गै भुतुङ्गै फिरूँ ।
लाऊँ वस्त्र अनेक रूप रङका, ती पश्चिमाझैँ गरी ।
तानूँ बोतल नै मिसी सितनमा, गाना बजाना गरी । ४
अर्को जन्म म लिन्न मोक्ष म
हुने, यो जन्ममा नै अब ।
तृष्णा ती मनका सबै पुगिगए, मात्रै तिमी छौ अब ।
तिम्रै कारणले म जन्मिनु परे, अर्को जुनीमा पनि ।
छिट्टै भेट गरौँ दुवै
सँगसँगै, हाँसौँ रमाऔँ अनि । ५
माता पुत्र बनौँ कि दाजु
बहिनी, प्रेमी बनौँ वा अरू ।
तिम्रो काख र साथ छुट्नु
नपरोस्, भोकै मरौँला बरु ।
तिम्रो साथ निमेष एक पल होस्, देखूँ म तिम्रो मुख ।
सिङ्गो जन्म बिताइदिन्छु यसमै, चाहन्न अर्को सुख । ६
गजल, काली नभन्नू धेरै १६८
काली नभन्नू धेरै, काली नभन्नू धेरै ।
यस्तै बनेछ छाला, काली नभन्नू धेरै । १
यो दोष हैन मेरो, यो जन्ममा भएको ।
होला कसैको गल्ती, खाली नभन्नू मेरै । २
छाला भए नि कालो, सेतै छ भित्र यो मन ।
कप्टी र घुस्घुसे यो, जाली नभन्नू धेरै । ३
बोल्नेसँग म बोल्छु, यस्तै छ मेरो बानी ।
यो वैँस साट्न यसले, थाली नभन्नू धेरै । ४
साँचेर राखेकी छु, चोखो छ यो जवानी ।
घरमा भएको इज्जत, फाली नभन्नू धेरै । ५
गलल, काट्छौ कुरा तिमी नै
१६९
काट्छौ कुरा तिमी नै, सोध्छौ स्वयम् भयो के ।
घोप्छौ छुरा तिमी नै, सोध्छौ स्वयम् भयो के । १
साथी बनी उज्याली, जो डस्छ सर्पजस्तै ।
छर्केर मन्त्र पानी, सोध्छौ स्वयम् भयो के । २
सारी किनेँ सुनौलो, पोते अझै पहेँलो ।
लाई चुरा अरूका, सोध्छौ स्वयम् भयो के । ३
झारेर आँसु धेरै, गोही समान बन्छौ ।
मेरा खुसी चुँडाई, सोध्छौ स्वयम् भयो के । ४
आत्मा रुँदै छ मेरो, आत्मा रमेछ तिम्रो ।
साटेर प्रेम अन्तै, सोध्छौ स्वयम् भयो के । ५
राष्ट्र कविको सम्झनामा,
शार्दूलविक्रीडित छन्द १७०
हे त्रैलोक्य पते र हे
पशुपते, मार्दै बसेका किन ?
तिम्रो कर्म रुवाइदिन्छ सबमा, संहार गर्छौ किन ?
नेपाली दिलभित्र ढुक्क रहने, यौटै थिए सुन्दर ।
आफ्नो लोक नियाल्न एक कविजी, तान्यौ उता भर्खर । १
टुक्रा यी मुटुका तुनेर
अहिले, बस्छन् यहाँका कवि ।
एकाएक विलुप्त नै हुनगयो, साहित्य छाया छवि ।
कोही छैन कतै म देख्दिन विभो, नेपालको काखमा ।
गौरी काव्य पढेर सुँक्क
नगरोस्, मध्यान्नको रातमा । २
"तिम्रो अन्तिमको श्रृङ्गार
सँगिनी, कात्रो कसोरी भनूँ ?"
"तिम्रोनिम्ति दिइन्छ पात्र
जुन त्यो, टीलो कसोरी भनूँ ?"
यस्ता शब्द सिँगार्न सक्छ
कसले, जल्दा कलेजी अब ।
क्वाँ क्वाँ रुन्छ हिरिक्क
हुन्छ बरु ऊ, सम्झन्छ मात्रै शब । ३
"बत्तीनेर मुहार चारु भरिलो, पर्दैन देखा" भने ।
"मेरी लक्षिनकी जहान घरमा, बल्दैन बत्ती" भने ।
देखून् है यिनले तुरुन्त
यिनकी, गौरी दुरुस्तै उहीँ ।
छिट्टै भेट गरुन् दुई जनहरू, आनन्द मानून् उहीँ । ४
तिम्रो लोक विशुद्ध हुन्छ
जहिले, यस्तै यहाँ पढ्दछु ।
सूर्जे चन्द्र बनी रहून् मन
दुई, यो कामना गर्दछु ।
गैरी प्रेम भरुन् र राष्ट्र
कविजी लेखून् मजाले बसी ।
नौलो प्रेम कथा म पढ्छु
शिवजी, यो ज्यान फेरेपछि । ५
अर्को मुख्य कुरा म भन्छु
शिव हे, प्रेमी नतोड्नू अरू ।
गौरीझैँ नव खण्डकाव्य रसिलो, पढ्नै नपाउन् बरु ।
मेरो चाहत पूर्ण होस् पशुपते, हाँसून् र नाचून् दुवै ।
बाँच्दा प्रेम गरुन्, मरुन् सँगसँगै, आनन्द मानी खुबै । ६
नोटः श्लोक ३ र ४ का प्रथम
दुई पाउहरू गौरी खण्डकाब्यका हुन् ।
धैर्यता १७१
चरो मुसो होस् कि त यो सुरी
होस् ।
कि बाघ होस् भालु कि सिंह जो
होस् ।
आकाश पाताल जहाँ बसून् यी ।
पर्खेर बस्छन् सब जन्तु छन्
यी । १
पर्खेर बस्थ्यौँ सब गर्भभित्र
।
नौ मास यो पूर्ण भएछ भित्र ।
आयौँ सबै आज यहाँ रमायौँ ।
सात्प्रेमको आँगन भर्न पायौँ । २
श्री रामजस्ता वनबास पुग्थे ।
श्री कृष्णजस्ता वनमै त
लुक्थे ।
पर्खेर बस्थे सब दैत्य मार्न
।
यी भूमिका भारहरू लघार्न । ३
यौटा कुरा यो अब भन्छु साँचो
।
विपत्तिमा धैर्य रहेछ खाँचो ।
पर्खेर बस्नू सब दाजुभाइ ।
पर्खाइको यो फल हुन्न काँचो ।
४
मित्रवचन , शार्दूलविक्रीडित छन्द १७२
सारा कष्ट सहेर नीद नभनी, जागा बसेँ रातमा ।
जागा नै म भएँ बिहान दिनमा, जागै रहेँ साँझमा ।
मेरो ज्यान घटी सुलुक्क म
भएँ, धेरै बिरामी भएँ ।
हड्डी मासु विहीन मात्र
लचिलो, मानौँ सिरानी भएँ । १
झर्थे धर्धर आँसु यी नयनमा, एक्लै हुँदा यी कति ।
काम्थे थर्थर हात पाउ म
रुँदा, भेटूँ कहाँ ओखती ।
मेरो बात म भित्रको हृदयको, चित्कार को सुन्छ खै ।
को नै भन्छ म हुन्छु साथ
तँसँगै, को सुन्छ को रुन्छ खै । २
यौटा पात्र अवश्य हुन्छ सबको, सुन्छन् सबै यी कुरा ।
बृद्धा हुन् कि त वैँसका कि
चिचिला, साह्रै ससाना भुरा ।
मेरो खोज्छु यहाँ म भेट्दिन
कतै, मान्छे यहाँ एउटा ।
होस् ऊ राक्षस नै तथापि म
पुजूँ, मानी उही देउता । ३
आफैँ नम्र भएर बात म गरूँ, एक्लै कि खै आज म ।
आफैँ ब्रह्म बनेर सिर्जन
गरूँ, त्यो पात्र कि आज म ।
भन्ने यो दुविधा भयो मनमनै, सत्पात्र खोजूँ भनेँ ।
आफ्ना यी मनका सबै विरह यी, पोखूँ, सुनाऊँ भनेँ । ४
भेटेँ एक मपात्र सुन्दर मझैँ, त्यो चित्र मेरै थियो ।
मान्छेकै सब चालढाल उसको, त्यो मित्र मेरै थियो ।
आफ्नाले त अवश्य सुन्छ रसले, यो टेर्छ भन्दै थिएँ ।
मेरै मित्र त हो र चित्र
मनको, यो हेर्छ भन्दै थिएँ । ५
केको सुन्नु न ओर्नु बात
मनको, चर्केर बोल्यो उही ।
थुन्दै कान दुई झनक्क रिसमा, झर्केर बोल्यो उही ।
ब्रह्मा विष्णु महेश ! फाल
रिस यो, पालेर राख्छौ किन ?
तिम्रा सृष्टि भरी अझै मनुज
यी, झर्केर बोल्छन् किन ? ६
आऊ मार पछार काट बरु लौ, पोलेर खाऊ तर ।
टाढैबाट पखाल साफ गर यो, झर्को र फर्को पर ।
बोल्दामा हँसिलो मुहार नभए, बोल्दै नबोल्नू बरु ।
प्यार्प्यारे थुतुनो उसै बसिरहोस्, खोल्दै नखोल्नू बरु । ७
घर, पञ्चचमार छन्द १७३
छ आत्म तत्त्व एक यो, बनाउँदै छ यो घर ।
ल हेर साँच्चिकै छ यो, तिमीजसै छ सुन्दर । १
उही छ पारभौतिकी, र लिन्छ पञ्चभूत यी ।
भरेर प्राण भित्र यो, सिलाउँदै त्वचाम्बर । २
जसै बनिन्छ यो कुटी, शरीर बन्छ मन्दिर ।
यतै रहन्छ आत्म यो, उही कहिन्छ ईश्वर । ३
सडेर जान्छ यो भनी, लडेर जान्छ यो भनी ।
भरेर दिन्छ चेतना, विवेक यो निरन्तर । ४
स्वयं बनाउने उही, स्वयं निवास गर्दछ ।
स्वयं विनाश गर्छ यो, बडो छ ऊ धुरन्धर । ५
सजीव यो सप्राण यो, र हिँड्छ डुल्छ यो घर ।
अनन्त कोष जैविकी, छ ईशको धरोहर । ६
तिमी नफाल ब्यर्थमा, नमार यो शरीर झन् ।
उही मिलाउने छ यो, लिएर रूप शंकर । ७
बियाडे गरामा, भुजङ्गप्रयात छन्द १७४
अझै फल्छ पक्का बियाडे गरामा
।
स्वयं सूर्यले वीज छर्छन्
धरामा ।
फुल्यो केश जम्मै र सेतै भयौ
रे !
छ भोगी नशा चित्तको अन्तरामा
।
तिमी हाँस मात्रै फगत् एक
पल्ट ।
नयाँ बासना चल्छ यो केवँरामा
।
सुकी मूल पानी कुलो रित्तियो
रे !
अझै टन्न बाँकी छ तिम्रा
जरामा ।
मुजा चाउरी पर्छ हाँस्दा
निधार !
छ यो वैँस चिल्लो कुना
कन्दरामा ।
शून्य, शार्दूलविक्रीडित
छन्द १७५
मेरो शून्य सधैँ छ पूर्ण
भरिलो, खाली गराऊ अब ।
चारै शून्य लिएर शुद्ध
विधिले, खोसेर खाली गर ।
आनन्दीमय कोष बस्दछ भने, यो भित्र छालाभरि ।
तान्नू फुत्त सबै जरायुज भनी, खिच्नू अझै बेस्सरी । १
खुट्टा चार गरी म हिँड्दिन
विभो, चाहन्न झन् खेचर ।
तिम्रा अण्डजझैँ मनोमय बनूँ ? झन् पो यहाँ के छ र ?
नाचूँ छम्छम यो मयूर जसरी, त्यो कामका खातिर ?
ठुँग्दै त्यो शिरमा हिँडू म
उसरी, भाले बनी आखिर ? २
वैरी दुश्मन नै नचिन्नु कसरी, के बन्नु खै स्वेदज ।
दोस्रो शून्य अझै छ
प्राणमयमा, जुम्राहरूमा अझ ।
बाटाको रुख झन् म बन्नु
नपरोस्, पाकेर झर्छन् कति ।
यस्ता उद्भिज कोष अन्नमय छन्, थाकेर बस्छन् कति । ३
जम्मा पार विशेष शून्य जति
छन्, मेरा सबै भित्रका ।
यी चौकोष र सूक्ष्म शून्य
जति छन्, गोला ठुला वृत्तका ।
रित्तो शून्य बनूँ उडूँ म
भवमा, त्यो पूर्णको शून्यमा ।
पूर्णाद्पूर्ण बनूँ, रहूँ गगनमा, त्यो शून्यको पूर्णमा । ४
त्यो अंशको बास खै,
शार्दूलविक्रीडित छन्द १७६
आ होस् है अब लेख्न छोड्छु
कविता, बेनामको काम यो ।
केको लेख्नु हरेक रात दिनमा, बेकामको काम यो ।
अर्कैका कविताहरू अब पढून्, पढ्नेहरूले कतै ।
खोजून् ती बरु वेदव्यास
ऋषिका, खोज्नेहरूले कतै । १
के नै हुन्छ र फाइदा किन
पढून्, यो श्लोकमा के छ र ?
हेर्नू प्राकृत शास्त्र
मन्त्र गतिला, यो विश्व भन्दा पर ।
आफैँ नै त यहाँ म देख्दिनँ
कतै, मैले यहाँ के दिएँ ।
पढ्नू ती ऋषिका कुनै दिन उनी, ती मन्त्रद्रश्टा थिए । २
मेरा यी कविता त अक्षर फगत्, आकार ऊकार हुन् ।
अर्कोमा सुन वेदशास्त्र छ
जगत्, ॐकार हुंकार छन् ।
मेरो स्थूल शरीर मर्छ जसरी, यी बैखरी मर्दछन् ।
आए एक बतास सिर्सिर गरी, यी चैत्रमा झर्दछन् । ३
पढ्नू क्या रसले गमेर मनमा, ती मध्यमा पश्यति ।
हेर्नू क्या बरु सूक्ष्म, कारण अरू, देख्नू शरीरी कति ।
घुम्नू साथ रमेर गोप जसरी, खानू ऋचा साथमा ।
मिल्नू क्या बरु एक अंश जसरी, श्रीकृष्णका साथमा । ४
मेरा यी कविता भरी कहिँकतै, त्यो सुँघ्न पाइन्न है ।
मेरो अक्षर मर्छ भोलि मसितै, त्यो देख्न पाइन्न है ।
यी मेरा ध्वनिमा न प्राण
गतिलो, खै हंसको बास खै ।
बेकामी सब शब्द अक्षर सबै, त्यो अंशको बास खै । ५
गुनासो, इन्द्रबज्रा छन्द १७७
छौँ गोपिनी हेर सबै कुमारी ।
छौँ गोपिनी हेर सधैँ कुमारी
।
हाम्रो यहाँ को छ र
जिन्दगीमा ।
राम्रो भनौँ के सब छौँ कुमारी । १
बस्छौँ सधैँ सोह्र हजार साथै
।
कुर्छौँ यहाँ एक कुमार साथै
।
घुम्दै यता जो ऋतुमास पर्दा
।
बग्छौँ सधैँ एक मुहान साथै ।
२
साथी बनिन् कृष्ण पियार राधा
।
दासी बन्यौँ है उनकै सहारा ।
को नै यहाँ बुझ्दछ यो समस्या
।
लाछी भयौँ है सब हुत्तिहारा
। ३
ती शुक्रका कीट हजार हुन्छन्
।
आएर जम्मै सब साथ घुम्छन् ।
आशा सबैको अब भेट हुन्छ ।
ती रुक्मिणी डिम्बसँगै
झुमिन्छन् । ४
बग्दै र मर्दै अनि प्राण
भर्दै ।
बाँच्दै यहाँ छौँ सब दङ्ग
पर्दै ।
बेकार के बन्नु सदा कुमारी ।
रम्छन् उही कृष्ण फुरुङ्ग
पर्दै । ५
उनैप्रति, मुक्त छन्द १७८
शायद आधा निमेष देखेँ होला ।
तर त्यो बेला समय चलेनछ
क्यार,
अनि रोकिएको समयको के कुरा
गर्नु, वा घण्टैँ देखेँ कि ।
जब उनी गईन् अनि पो शुरु भयो
त समय ।
कहिले भनेको रहेछु,
पञ्चप्राणकी अधिष्ठातृ हे ।
हर सजीवकी मृदु मातृ हे ।
नित्य निकुञ्ज निवासिनी हे ।
सारभूता परमा हे ।
सर्वद्रश्टा सनातनी हे ।
परम सौभाग्यसालिनी हे ।
दर्शन आज देऊ प्रिये ।
शायद, सुनिछन् क्यार । १
शायद एकपटक मुटु धड्किने जति
समय देखेँ होला ।
तर त्यो बेला मुटु नै
धड्किएनछ क्यार ।
अनि नधड्किएको मुटुको चाल
कसरी गन्नु र ।
जब उनी गईन् अनि पो मुटु ढुक
ढुक गर्न थाल्यो ।
कहिले भनेको रहेछु,
श्यामल श्रीकृष्ण प्रिया हे
।
रासेश्वरी वशुन्धरा हे ।
सच्चिदानन्द स्वरूपिणी हे ।
ज्ञानीजन गम्यिनी हे ।
गोपिनी वस्त्र भेषिनी हे ।
दर्शन आज देऊ प्रिये ।
शायद, सुनिछन् क्यार । २
शायद एकपल्ट आँखा
झिम्क्याउञ्जेल देखेँ होला ।
तर मलाई किन आँखा
झिम्क्याउनु परेको थियो र ।
म त आँखा चिम्लिएको थिएँ ।
जब उनी गईन् अनि पो आँखा
खुले त ।
कहिले भनेको रहेछु,
चन्द्रसमान देदीप्यमानी हे ।
दया करुणा स्वरूपिणी हे ।
मंगलवाचक वरदायिनी हे ।
सृष्टिमूल जगद्जननी हे ।
दर्शन आज देऊ प्रिये ।
शायद, सुनिछन् क्यार । ३
जे होस् उनलाई दर्शन गर्न
भ्याउन्जेल देखेँ ।
जे होस् उनलाई पूजा गर्न
भ्याउन्जेल देखेँ ।
जे होस् उनलाई प्रार्थना
गर्न भ्याउन्जेल देखेँ ।
तर केही गरिनँ ।
किनकी,
जब उनी गईन् अनि पो पूजा, प्रार्थना शुरु भयो त ।
कहिले भनेको रहेछु,
स्वर्ग, राज, गृहलक्ष्मी हे ।
सत, रज, तम त्रिगुणी हे ।
प्रकृष्ट सृष्टि प्रकृति हे
।
दर्शन आज देऊ प्रिये ।
शायद, सुनिछन् क्यार । ४
यो स्वार्थ नै धर्म हो,
शार्दूलविक्रीडित छन्द १७९
त्यो स्वार्थी छ भनेर भन्छ
जसले, सोचोस् बसी रातमा ।
आफू छैन भने भनोस् हृदयले, हेरोस् स्वयं साथमा ।
को पो छैन यहाँ विचार गर लौ, को स्वार्थ गर्दैन र ।
जोजो छन् जति छन् सबैतिर
यहाँ, सम्पूर्ण पृथ्वीभर । १
बत्ती मैन दियो म बाल्छु
घरमा, श्री सूर्य पो ताक्छ यो ।
आफ्नो स्रोत म जान्छु लौ अब
भनी, यो हेर्छ झन् झन् उँभो ।
पानी भर्छु गिलासमा धरधरी, यो बग्छ थोपो उँधो ।
आफ्नो स्रोत म पुग्छु सागर
भनी, बग्दैछ झन् यो उँधो । २
फुल्छन् पुष्प वसन्त याम
ऋतुमा, स्वार्थी भएनन् अरे ।
फल्छन् बोट भरी कति फलहरू, स्वार्थी भएनन् अरे ।
आफ्नो वीर्य र बीजको जतन यो, वृक्षादि गर्छन् सब ।
हाम्रा निम्ति भनेर फुल्छ
कुन पो, आफ्नै भलो हो सब । ३
आफू मिल्न भनेर भूतल कतै, चट्टान टुक्रिन्छ जो ।
भूकम्पादि बनेर मार्दछ उही, जात्रा यताको भयो ।
कोरोना पनि बाँच्न पाउँछु
भनी, पस्दैछ फोक्सोतिर ।
यो मान्छे पनि बाँच्न पाउँछु
भनी, बस्दैछ कोठातिर । ४
मान्छेमा अनि देवमा र पशुमा, पाँचै महाभूतमा ।
यो स्वार्थी दुनियाँ सबैतिर
छ यो, सम्पूर्ण यो विश्वमा ।
आआफ्नो सब गर्दछन् समयमा, यो स्वार्थ नै कर्म हो ।
यो स्वार्थीपन हुन्छ हुन्छ
जगमा, यो स्वार्थ नै धर्म हो । ५
देश नेपाल बन्छ १८०
(ररगु)
देश नेपाल बन्छ ।
देश नेपाल बन्छ ।
बोल्छु पक्का म आज ।
देश नेपाल बन्छ । १
(शालिनी, मततगुगु)
त्यागौँ अल्छीपना यो आजबाट ।
फालौँ जुम्सोपना यो आजबाट ।
लागौँ राम्रो कर्ममा देश
भन्छ ।
पक्का हो यो देश नेपाल बन्छ
। २
(वैश्यदेवी, ममयय)
मेची कोशीको धारमा बग्छ
उर्जा ।
काली भेरीको साथमा बग्छ
उर्जा ।
ल्याऊ उर्जा त्यो आज यो देश
भन्छ ।
त्यो उर्जाले नै देश नेपाल
बन्छ । ३
(नन्दीमुखी, ननततगुगु)
हरित वन यहाँका कुना
कन्दराका ।
हिमशिखरहरू लेक बेँसी कुनाका
।
ऋषिमुनिहरूका औषधी देख भन्छ
।
तृण फल र तरुले देश नेपाल
बन्छ । ४
(चित्रा, मममयय)
कालो माटोका बारीमा अन्न
रोपेर आऔँ ।
फुस्रो माटोका पाखामा आज
बस्ती बसाऔँ ।
बालीनाली रोपी खाऊ आज यो देश
भन्छ ।
उब्रेको त्यो बेची ल्याऊ देश
नेपाल बन्छ । ५
(मालिनी, ननमयय)
उठ उठ जन चाँडो हातमा हात
राखी ।
जुट जुट मन धेरै साथमा साथ
राखी ।
रिपुगण गर स्वाहा आज यो देश
भन्छ ।
तब तब अनि मात्रै देश नेपाल
बन्छ । ६
(चन्द्ररेखा, मरमयय)
राम्रा राम्रा यहाँका यी
भीरपाखाहरूमा ।
चौँरी पाले यहाँका यी घाँस
टारीहरूमा ।
मीठो दूग्धादि मोहीको आज बाढी
बहन्छ ।
चौँरी गाईहरूले नै देश नेपाल
बन्छ । ७
(मन्दाक्रान्ता, मभनततगुगु)
रातो झण्डा फरफर गरी गर्छ
हाम्रो निसाफ ।
वैरी सारा थरथर गरी भाग्दछन्
एक साथ ।
गर्नू रक्षा मन वचनले आज यो
देश भन्छ ।
हाँसेमा त्यो मन सहिदको देश
नेपाल बन्छ । ८
(चित्रलेखा, मभनययय)
शिक्षाले नै अपठित जनमा
ज्ञान विज्ञान भर्छ ।
शिक्षाले नै मन र मगजको
रिक्तता पूर्ण गर्छ ।
देऊ शिक्षा सुलभ मुलुकमा आज
यो देश भन्छ ।
पाए शिक्षा अपठित जनले देश
नेपाल बन्छ । ९
(मेघविस्फूर्जिता, यमनसररगु)
यहाँको भाषा नै अति सुरसिलो
भाव बोक्ने सबैको ।
यहाँको बोली नै कुसुम दिलको
हाल पोख्ने सबैको ।
यही भाषा बोली सबसित मिली
बोल नेपाल भन्छ ।
बचे भाषा हाम्रो मृदु हृदयमा
देश नेपाल बन्छ । १०
(स्रग्धरा, मरभनययय)
नेता हाम्रा यहाँका हरबखत
मिठा, स्वप्न नै धेर बोक्छन् ।
पार्टी हाम्रा यहाँका हरपल
नमिठा तिक्तता मात्र पोख्छन् ।
नेता पार्टी दुवैले सुजनहित
गरून् आज नेपाल भन्छ ।
मिल्दै जुल्दै खुसीले मत कदर
गरे देश नेपाल बन्छ । ११
अन्तै पुगेँछु, भुजङ्गप्रयात छन्द १८१
मिठो प्रेम यो खोज्न अन्तै
पुगेँछु ।
प्रिया खै ? भनी सोध्न अन्तै पुगेँछु । १
बिहानै उठी शीत देखेर राम्रो
।
यहीँ छन् ? भनी सोध्न अन्तै पुगेँछु । २
दिवामा गई सूर्यको रश्मिलाई
।
उतै छन् ? भनी सोध्न अन्तै पुगेँछु । ३
भयो साँझ देखेँ उता जून फेरि
।
उनी छन् ? भनी सोध्न अन्तै पुगेँछु । ४
परी एक घुम्दै थिइन्
स्वप्नमा झन् ।
तिमी हौ ? भनी सोध्न अन्तै पुगेँछु । ५
रातो सारीमा वैश्यदेवी छन्द १८२
रातो सारीमा आज अन्तै गइन् रे ।
रातै लालीमा आज अन्तै गइन् रे । १
पाल्पाली ढाका किन्छु भन्दै थिएँ म ।
चौबन्दीमा नै आज अन्तै गइन् रे । २
सच्चा प्रेमी हो एक मात्रै म भन्थिन् ।
चढ्दै डोली यी आज अन्तै गइन् रे । ३
मेरो माया यो शुद्ध चोखो छ भन्ने,
मेरी प्यारी नै आज अन्तै गइन् रे ! ४
बालक,
पादाकुलक छन्द १८३
बालक सानो, बोकी हिँडौँ कि ।
ओठले मात्र, टोकी हिँडौँ कि ।
टोकेर फेरि, कलिला हात ।
कमिलो भन्दै, बोकी हिँडौँ कि । १
वरतिर हेर्दा, कमिलो छैन ।
परतिर हेर्दा, कमिलो छैन ।
गुजी छ भन्दा, वरपर हेर्छ ।
बालक मन यो, धमिलो छैन । २
कलिलो छ बुद्धि, कलिलो ज्यान ।
दिऔँ सबैले, लाउँन खान ।
प्रेमले बढ्छ, कलिलो बच्चो ।
राख्दछ उसले, देशको नाम । ३
मातृको अर्ति, जनक शिक्षा ।
मित्रको साथ, गुरुको दिक्षा ।
साथ रहोस् है, ईशको कृपा ।
यही छ मेरो, शुद्ध सदिच्छा । ४
बाँच्न पाए हुँदो हो, मालिनी
छन्द १८४
हरबखत सगैँ थ्यौँ, आज छैनौँ ल हेर ।
सब घर घर जम्मै, उठ्न थाल्यौँ अबेर ।
हर दिन सब बित्छन्, लेख्नु के पढ्नु के हो ।
बरु अब घर बस्दै, बाँच्न पाए हुँदो हो । १
गुटुटुटु पनि कुद्थ्यौँ, पढ्न जान्थ्यौँ हिँडेर ।
समय समय बाझ्दै, खेल्न थाल्थ्यौँ मिलेर ।
कपि कलम पुरानो, आज को नै छुँदो हो ।
बरु अब घर बस्दै, बाँच्न पाए हुँदो हो । २
सबतिर विष छर्दै, कोभिडे आँधि आयो ।
जहर जति उकेल्दै, ब्यर्थको ब्याधि ल्यायो ।
हर कहर छिचोल्दै, हाँस्न पाए हुँदो हो ।
बरु अब घर बस्दै, बाँच्न पाए हुँदो हो । ३
रनवन अब डुल्दा, हात खुट्टा पखालौँ ।
निशदिन अब खाँदा, हात धोएर खाऔँ ।
यदि ग्रसित भएमा, आत्म धेरै रुँदो हो ।
बरु अब घर बस्दै, बाँच्न पाए हुँदो हो । ४
पलपल गफ गर्दा, मास्क यो छोड्नु हुन्न ।
नियम अब यही हो, लौ न यो तेड्नु हुन्न ।
हर मनुज सबैको, चेतना यो हुँदो हो ।
बरु अब घर बस्दै, बाँच्न पाए हुँदो हो । ५
कामदेव, शार्दूलविक्रीडित छन्द १८५
यस्ता छन् प्रिय कामदेव जगमा, हाम्रा सबैका पति ।
बस्छन् यी रसले सदैव मनमा, सन्तुष्ट दिन्छन् अति ।
राम्रो रूप चिटिक्क सुन्दर
सधैँ, बन्छन् यिनी यौवना ।
बाँड्छन् यी दिलभित्रमा
हृदयमा, त्यो प्रेमको चाहना । १
हेर्दै शान्त हुने छ यो अति
मिठो, त्यो पुष्पको वाण छ ।
झन् राम्रो धनु हुन्छ यो
अधरझैँ, त्यो भित्र सत्प्राण छ ।
प्रत्यञ्चा यिनको हुने
भ्रमरझैँ, गुंजार मिठो हुने ।
सोझै पस्दछ भित्र भित्र
मुटुमा, ॐकारझैँ गुञ्जिने । २
सेना हुन् सब हाउभाउ यिनका, श्रृँगार सेनापति ।
टोली हुन् मृदुभाष, लाज सुख हुन्, मुस्कान हुन् ती रति ।
यात्रा हुन्छ जताजता अवनिमा, ती पुष्प जो फुल्दछन् ।
मानौँ यी ऋतुराज हुन् भुवनका, जो पुष्पझैँ डुल्दछन् । ३
हेर्दैमा मन शान्त हुन्छ
कतिको, आफैँ मिठा चित्र छन् ।
साथै टल्टल टल्किने गगनका, झन् चन्द्रमा मित्र छन् ।
आभा नै जब प्रेम आसन हुँदा, को नै अरू देख्छ र ?
वास्ना मग्मग फूलको प्रणयको, त्यो प्रेम को छेक्छ र ? ४
पूर्णेचन्द्र वसन्त भूतल
घुमी, हेर्छन् यिनीले जब ।
सारा फूल र पात हुन् कि पशु
हुन्, मान्छे, चरा हुन् सब ।
जम्मैको मन हुन्छ प्रेमसरिको, सौन्दर्य झल्काउने ।
आगो बन्दछ प्रेमदीप दिलको, प्रेमाग्नि सल्काउने । ५
घाँस काट्दै छु भन्छिन्,
मालिनी छन्द १८६
रन वन सब डुल्दै, घाँस काट्दै छु भन्छिन् ।
हर दिन यसरी नै, वर्ष काट्दै छु भन्छिन् ।
प्रियवर नहुँदामा, दिक्क लाग्दो जवानी ।
हरित मृदु लतामा, वैँस साट्दै छु भन्छिन् ।
प्रतिपल मन पोल्ने, एकलो जिन्दगानी ।
पवनसँग सुसेल्दै, प्रेम डाक्दै छु भन्छिन् ।
निशदिन तन गल्दै, भर्छु डोको र खाँङ्ग्रो ।
खर सिरु तृण टोकी, याद चाट्दै छु भन्छिन् ।
हरबखत छ डोको, स्याँगि यो मित्र मेरो ।
तरुण वय यसैमा, फाली फाट्दै छु भन्छिन् ।
दशैँको किनमेल, भुजङ्गप्रयात छन्द १८७
प्रियाका सबै याद देऊ मलाई ।
पुराना नयाँ याद देऊ मलाई ।
नयाँ कल्पना मात्र पैसा छ
मेरो ।
बुझी कल्पना याद देऊ मलाई ।
अझै सम्झना छन् पुरानै
प्रियाका ।
सुनी सम्झना याद देऊ मलाई ।
यिनै स्वर्ण सिक्का म साट्दै
छु आज ।
पसल्नी ! मिठो याद देऊ मलाई
।
फुली रीसले हेर्दथिन्
खाउँलाझैँ ।
तिरस्कारको याद देऊ मलाई ।
खुशीमा उनै नेत्रमा
राख्दथिन् जो ।
त्यही प्यारको याद देऊ मलाई
।
अरू बेच अन्तै किनून् जोसुकै
ती ।
फगत् प्रीतको याद देऊ मलाई ।
यतै घुम्दथ्यौँ सुन्दथ्यौँ
प्रेम गीत ।
उही गीतको याद देऊ मलाई ।
सबै किन्द्छन् रे नयाँ यो
दशैँमा ।
पुरानै दशैँ याद देऊ मलाई ।
तिम्रै कृपामा तर,
शार्दूलविक्रीडित छन्द १८८
मेरा मित्र हजार लाख सय छन्, बोल्छन् र हाँस्छन् सधैँ ।
पर्दा आपतमा खटेर यिनले, बाँड्छन् समस्या सधैँ ।
यी आफन्त र बन्धु बान्धवहरू,गर्छन् सधैँ कामना ।
देखेँ नौ–ग्रह उच्च सुग्रह बनी झन् चन्द्रमा दाहिना । ।१
राम्रो योग रहेछ जन्म दिनमा, छैनन् नराम्रा दसी ।
लेखी सक्किनसाथ चम्किन गयो, यो भाग्य कोर्ने मसी ।
हो त्यो भाग्य लिएर बस्दछु
यहाँ, राजा म आफैँ बनी ।
देखेका यदि छौ भने भन छिटो, को छन् मजस्ता धनी ।२
दिन्छन् खान्छु म मस्तसाथ
दिनमा, निद्रा मिठो रातमा ।
केही देख्दिनँ दीर्घ रोग
तनमा, झन् ईश छन् साथमा ।
जे जस्तो जति सास तान्छु
मुटुमा, अर्पन्छु गोपालमा ।
जे जस्तो जति सास फाल्छ
मुटुले, सुम्पन्छु राधेशमा।३
जो मेरो छ अवश्य दिन्छु
कनिका, आफैँ सुदामा बनी ।
आफ्नो यो नभनी समर्पण गरे, केको समस्या अनि ।
साह्रै नाटक गर्छ ईश कहिले, लीला छ, लेखाउँछ ।
तिम्रो रूप म हेर्छु भन्छु
कहिले, ऐना छ, देखाउँछ ।४
मेरो जीवन यो यसै रहिरहोस् , त्यो रूप देखूँ सदा ।
झारूँ आसु तरक्क हर्ष मनले, पुछ्नू तिमी सर्वदा ।
मात्रै एक छ प्रार्थना सुन
तिमी, बाँकी अरू जे गर ।
बाँचू वर्ष म एक वा सय शरद्, तिम्रै कृपामा तर ।५
बा आमाको छोराछोरीलाई दशैँको
निम्तो, मन्दाक्रान्ता छन्द १८९
वर्षा टुङ्ग्यो अब ऋतु शरद्, आउँछन् चाड राम्रा ।
लक्ष्मी दूर्गा सकल पुजिने, पितृका श्राद्ध हाम्रा ।
टीको थाप्दै शिशिर सयको, पूर्ण आयुष्य पाऊ ।
हाम्रा आँखा थकित नहुँदै, शीघ्र फर्केर आऊ । १
दोबाटोमा टुलुटुलु गरी, हेर्दछौँ साँझसम्म ।
आयौ क्यारे अब घर भनी, सोच्दछौँ रातसम्म ।
छोराछोरी अब गर छिटो, झट्ट दौडेर आऊ ।
हाम्रा आँखा थकित नहुँदै, शीघ्र फर्केर आऊ । २
बूढा खुट्टा अब सकसले, तान्न सक्लान् नसक्लान् ।
यी खुट्टाले विकट पथमा, धान्न सक्लान् नसक्लान् ।
जाऊ कौवा खबर मनको, यो सुनाएर आऊ ।
हाम्रा आँखा थकित नहुँदै, शीघ्र फर्केर आऊ । ३
बूढा आँखा तिरमिर भए, हेर्नु के हेर्नु टाढा ।
तिम्रै माया हरपल यहाँ, आज बन्दैछ गाढा ।
फाली लौरो हतपत गरी, हात मेरो समाऊ ।
हाम्रा आँखा थकित नहुँदै, शीघ्र फर्केर आऊ । ४
टाढा छौ वा कि त निकट छौ, देश छौ वा विदेश ।
ढाका टोपी शिरतिर छ वा, आज अर्कै छ भेष ।
जे जस्तो होस् हरित जमरा, कानमा भिर्न आऊ ।
हाम्रा आँखा थकित नहुँदै, शीघ्र फर्केर आऊ । ५
यो पालामा अब जति गरौँ, आउँदैनौँ नभन्नू ।
अर्को पाला गलित तन यो, हुन्छ वा हुन्न जान्नू ।
आजै आई हृदयभरको, वृद्धको प्रेम पाऊ ।
हाम्रा आँखा थकित नहुँदै, शीघ्र फर्केर आऊ । ६
I Love you so Much Dear १९०
Everyday in the morn and in the evening, I do remember dear.
Everyday when I think of you and your image, I wish you'd be here.
When I see any beautiful such scenery, I think you are in there.
I want you in an every hour of a
day, please do visit soon here. (1)
Dancing rose and the buds calling you aloud, why don't you listen to them?
Twinkling drops of the dew desire to see you, why don't you come to see
them?
Lovely heart in the earth writes you messages, please do open them dear.
Read them well and feel it and if you do like, reply positive there. (2)
I shall wait you here being as a lover, until the last breathe I take.
I shall wait you years years and more years, until the death bed I make.
Close your eyes and please listen to what I say, Oh pretty! Oh my dear!
Your heart pounds and my true echo sounds, I love you so much dear. (3)
Oh my love ! Let it go if any errors, that unknowingly happened.
Forget those bitter words and if there is any, that mistakenly uttered.
I don't think I have misbehaved but if you think, pardon me Oh my dear!
Excuse me and accept me as you did before, I love you so much dear. (4)
गीत, नपाएको माया १९१
पलाएको प्रेम मिठो,
नयाँ नयाँ माया ।
अझै मिठो उताबाट,
नपाएको माया ।
कल्पनामा सँगसँगै,
हुन्छिन् दायाँ बायाँ ।
भावना त्यो अझै मिठो,
भावना नै माया ।
सधैँभरि लाई राख्छु,
फूलसरी माया ।
अझै मिठो उताबाट,
नलाएको माया ।
परसम्म धाएँ आज,
भेट्छु भनी माया ।
कति मिठो उताबाट,
नधाएको माया ।
जता जाऊँ उतै हिँड्छिन्
उनी मेरै छाया ।
छायालाई छुन्छु भन्दा,
नाइँ भन्छिन् माया ।
गीत १९२
राम्राले झन् रुवाउँछन् ।
हाम्राले झन् रुवाउँछन् ।
सोधेपछि बोल्ने ठिकै,
चाम्राले झन् रुवाउँछन् ।
चाहना र आशा घोली, तिमीसँग बोलेँ मैले ।
तिमीलाई आफ्नो ठानी, मनपेट खोलेँ मैले ।
ती आशा छन् रुवाउँछन् ।
चाहना झन् रुवाउँछन् ।
एकै पल्ट भेटौँ भन्दा,
बहाना झन् रुवाउँछन् ।
तिर्सनामा हराएँछु, बिर्सिनमा डराएँछु ।
कल्पनाको तालभित्र, निसासिँदै कराएँछु ।
सम्झनाले रुवाउँछन् ।
कल्पनाले रुवाउँछन् ।
पराईको कुरै छोडौँ ।
आफ्नाले नै रुवाउँछन् ।
गीत, देखाऊँ देखाऊँ लागिराछ १९३
देखाऊँ देखाऊँ लागिराछ
छोपौँ लागिराछ ।
आज किन लाज सबै
पोखौँ लागिराछ ।
नहेरी नि धर छैन यतै हुन्छ
धेरै ।
अरूसित बात मार्दा लाग्छ ऊ
हो मेरै ।
दुई शब्द प्रेमपत्र
केरौँ लागिराछ ।
लुकिलुकी उसैलाई
हेरौँ लागिराछ ।
थापाएमा जिस्क्याउलान्
खिज्याउलान् फेरि ।
नजिक आई भन्दे हुन्थ्यो तिमी
सधैं मेरी ।
उसैसँग आज एक्लै
घुमौँ लागिराछ ।
थाहै नपाई उसैलाई
चुमौँ लागिराछ ।
गीत, साँइला साँइली १९४
दौरा सुरुवाल साँइला लगाऊ न चिटिक्कै ।
बुचे कट्टु साँइला सुहान फिटिक्कै ।
म जस्तालाई साँइली कल्ले पो टेर्छ र ।
लाए पनि साँइली कल्ले पो हेर्छ र ।
कपडा लेऊ साँइला सिलाउँला खिटिक्कै ।
धागो छिराऊ साँइला टोकीदेऊ किटिक्कै ।
गुन्यू चोली साँइली लाइछौ नि आज त ।
सबै छोप्यौ साँइली छोपिनौ लाज त ।
ढाका टोपी साँइला किनेर ल्याकिछु ।
तिम्लाई भनी साँइला देखाउँन आकी छु ।
सुनारेले साँइली कमाको फुली ।
लाइदेऊ यति साँइली देखिन्छौ बेहुली ।
छ पैसाको साँइली तेल लाउली कपालमा ।
सँगै हिँड साँइली जाउँ बरु नेपालमा ।
गीत, हेर्दै हेरिनौ ... १९५
(माला उनी एक्लै बसेँ,
बाख्रा हेर्दै चौतारीमा) २
हेर्दै हेरिनौ माया ! हेर्दै हेरिनौ ...
गुराँसको बोटमुनि हेर्दै हेरिनौ ।
(साँझपख भेट हुँदा,
इशाराले तिमीलाई छुँदा) २
बेर्दै बेरिनौ माया ! बेर्दै बेरिनौ ...
एकैपल्ट अँगालोमा बेर्दै बेरिनौ ।
(भोलि यतै आऔँ भनें,
मेला भर्न जाऔँ भनें) २
टेर्दै टेरिनौ माया ! टेर्दै टेरिनौ ...
थोरै माया लाऔ भन्दा टेर्दै टेरिनौ ।
(कपी थियो कलम थियो,
चिठी लेख्ने सीप थियो) २
केर्दै केरिनौ माया ! केर्दै केरिनौ ...
दुई शव्द प्रेम पत्र केर्दै केरिनौ ।
पूर्वीय तोटक छन्द र पश्चिमी
Anapestic Meter मा लेखिएको समभाव, समछन्दको कविता, शीर्षकः भेट / Date १९६
हर साँझ बिहान र स्वप्नभरि ।
हर प्राण र श्वास प्रश्वासभरि
।
In the morn in the eve in the dream everyday.
When I breathe when I feel when I move everyday.
म त देख्छु सधैँ अनि सोच्छु
सधैँ ।
प्रियसाथ भनी म त बोल्छु
सधैँ ।
I'd think and suppose you are near to me.
I will see and enjoy oh my love talk to me.
मुटुमा मनमा र दिमागभरि ।
रहिछौ सब स्थान बिचारभरि ।
You are there in my mind everywhere in my heart.
You are there silently ruling my every thoughts.
तन साथ म माग्दछु यौवनमा ।
नव पुष्प फुलून् अब जीवनमा ।
If you come in reality always with me.
Many flowers will bloom playing with you and me.
अब एकलमा प्रिय भेट गरौँ ।
मन एक गरौँ मुटु एक गरौँ ।
In a beautiful place let us meet anywhere.
Let the hearts and the thoughts be like one forever.
Love १९७
There are other no cases.
Love dwells in four places.
Worry not, have no guesses.
You'll go through all traces.
Breathe in yourself love there is.
Fill in the lungs love there is.
Breathe it out love there is.
Feel it out love there is.
So, love in a moving thing.
It makes every lovely thing.
It makes being being thing.
It gives life to everything.
Before you were in the womb.
After you are in the tomb.
In both changes, it is there.
In four places
love is there.
Sonnet १९८
Rhyming pattern - abba abba cde cde
If they do Namaste,
Why not a sonnet I write ?
Why not corona I fight,
If they remain home stay ?
If they lock up
whole day,
Either common or knight.
Whole day and whole night.
Why not I do as do they ?
The scholars
are in quest.
To search covid solutions,
Why not I do as they request ?
Across the
world east to west.
Round the globe in the earth .
Why not we all do the best ?
डाक्टर साप ! म फ्याट्ट त मर्दिन होला नि है ? १९९
सानामा बिसिजी, डिपीटी के के को सुई लागाइदिए ।
केही थाहा छैन, केही रेकर्ड छैन ।
के के लागाइदिए, कहिले लगाइदिए ।
केही अत्तो छैन, केही पत्तो छैन ।
त्यसैले पो बाँचेको छु कि,
नलगाएको भए पनि बाँच्थेँ कि ?
अहिले एकाएक यो व्याधि आयो ।
ट्याब्लेट छैन, भ्याक्सिन छैन ।
डाक्टर साप ! म फ्याट्ट त मर्दिनँ होला नि है ?
क्वारेण्टाइनमै छु, घरमै छु ।
बिहान बेलुका डेड दुई सय पाइला मात्र हो,
अन्त कतै गएको छैन, अन्त कतै खाएको छैन ।
स्यानिटाइजर नभए पनि साबुन पानीले हात धोएको छु।
सामाजिक दुरी पनि कायम गरेको छु ।
अहिले एकाएक व्याधि आयो ।
औषधि छैन, उपचार छैन ।
डाक्टर साप ! म फ्याट्ट त मर्दिनँ होला नि है ?
कतिपय अस्पतालले भर्नै गर्दैनन् रे ।
गरे पनि अरुलाई भेट्न दिदैनन् रे ।
मरे पनि मलामी हुँदैनन् रे ।
लासलाई कसैले छुँदैनन् रे ।
अचम्मको व्याधि आयो अहिले ।
दवाइमुलो छैन, ओखति छैन ।
डाक्टर साप ! म फ्याट्ट त मर्दिनँ होला नि है ?
रोग लागेकै थाहा पाइँदैन भन्छन् ।
पत्ता लगाउने साधन नै छैन भन्छन् ।
लागे पनि लक्षण नदेखाउन सक्छ भन्छन् ।
केही असर नै नगरिकन,
हिँड्दा हिँड्दैको मान्छे,
खाँदा खाँदैको मान्छे,
डाक्टर साप ! म फ्याट्ट त मर्दिनँ होला नि है ?
लिमेरिक खालको छ अक्षरी कविता २००
ताराबाजी लै लै !
नाराबाजी खै खै !
नेता आए घोडा ।
नेतृ आइन् डोली ।
जोनि जोनि एस पापा ।
कोही युवा कोही पाका ।
इटिङ सुगर नो पापा ।
घुम्छन् न.पा, गा.पा ।
पापा ल्याइन् सोली ।
सम्वृद्द्ध नेपाल भोलि ।
टेलिङ अ लाई नो पापा ।
यस्तै लेख्छन् छापा ।
ओपन् योर माउथ हाहाहा ।
ढाँटेको पाइयो थाहा ।
राहत जति सुटुक्क ।
काफल गेडी कुटुक्क ।
कार्यकर्ता गर्छन् म्याउँम्याउँ ।
जनता भन्छन् उछिट्याउँ ।
ट्विङ्कल ट्विङ्कल लिटल स्टार ।
चारैतिर भ्रष्टाचार ।
हाउ आइ वोन्डर व्हाट यु आर ।
निर्मलाको बलात्कार ।
अप अबोभ द वोर्ल्ड सो हाइ ।
चाला बुझौं दाजुभाइ ।
लाइक अ डाइमन्ड इन द स्काइ ।
माथी पुर्याऔं यिनलाई ।
ताराबाजी लै लै ।
नाराबाजी खै खै ।
सङ्गत, शार्दूलविक्रीडित छन्द २०१
आयो अग्निसमान
राक्षस बडो, मार्छु म पानी
भनी ।
खेद्यो तल्तिर
शक्तिले बल गरी, भेटेर मार्छु
भनी ।
खोल्सीमा दहमा
नदी नहरमा, भाग्यो डराई
जल ।
बग्दै सल्सल
वेगले र बलले, दौड्यो अझै
त्यो तल । १
पुग्दा
सागरनेर वेग सकियो, फर्केर हे¥यो पछि ।
ज्याद्रो
राक्षस उष्ण सत्रु नजिकै, आयो लखेट्दै पछि ।
उल्टो बग्न
सकिन्न आपत भयो, सोच्यो बिचा¥यो अनि ।
गाईछेउ गएर
बुल्बुल ग¥यो, खाऊ मलाई भनी । २
खाइन् तन्तन
धेनुले जल सबै, टन्नै अघाइन्
जब ।
बाछोछेउ गएर
बस्न नजिकै, फर्केर आइन्
घर ।
पानी ढुक्क
भयो छिरेर जिउमा, गाई अघायो यता
।
झन् आनन्द भयो
न भाग्नु छ कतै, वैरी हरायो
उता । ३
पानीको अब
मित्रता हुन गयो, त्यो दूध साथी
भयो ।
पानी दूध दुवै
सुमित्र बनिए, गौदुग्ध
साक्षी भयो ।
गाई पालक
साँझमा घर छि¥यो, ढुङ्ग्रो थियो हातमा ।
धेरै दूध दुही, तताउँछु भनी, बोक्यो हिँड्यो साथमा । ४
आयो दुश्मन
फेरि मार्दछु भनी, जो दुग्धको
मित्र छ ।
मारे दूध
अवश्य मर्छ जल यो, ठ्याक्कै
उसैभित्र छ ।
भन्दै दन्दन
दन्कियो र पिँधमा, तातो बढायो जब
।
पानी
उम्लिनसाथ पोखिन गई, मा¥यो उही राक्षस । ५
हेमन्त वर्णन, दिक्पाल छन्द, प्र नि अ बाट २०२
श्री सूर्य
धेर ताता पृथ्वी भरी चहार्छन् ।
घुम्दै दिशा
दुईमा संसार यी स्यहार्छन् ।
जम्मा छ मास
बस्छन् ती उत्तरी दिशामा ।
अर्को छ मास
अन्तै आफ्नो स्वरूप सार्छन् ।
थोरै दिएर
तातो धेरै दिएर ठन्डा ।
दुब्ला लुला बुढा
यी हेमन्तमा पछार्छन् ।
आठौँ नवौँ दुई
छन् यी मासमा बढी नै ।
सेताम्य झन्
तुसारो हुस्से र शीत झार्छन् ।
यस्तो सहेर
मान्छे बाँच्नै पर्यो भनेर ।
जोडी फुई रुई
त्यो जम्मै तयार पार्छन् ।
म नै रहन्छु
साथमा, पञ्चचामर छन्द २०३
गुलाफ
कोपिलासँगै पहेँल फूलमा थिइन् ।
पहेँल पुष्प
बागमा पहेँल वस्त्रमा थिइन् ।
बसी म हेर्छु
सञ्चले चिटिक्क फूलझैँ थिइन् ।
लजालु, थोर चञ्चले, नशालु नेत्रमा थिइन् । १
झुकी सरक्क
फूलझैँ नियाल्दथिन् यताउता ।
छुएर
चुम्छुझैँ गरी समाउँथिन् यताउता ।
उनेर हात
केशमा सुपुष्प भेषमा हुँदा ।
गुलाफपत्र
ज्यानमा दुरुस्त फूल नै थिइन् । २
बतास चल्छ
सिर्सिरे र खेल्छ पात पातमा ।
उडेर जान्छ
फेरि यो उनीसँगै हतासमा ।
फुरुर्र गर्छ
केश झन् निधार ओठ माथमा ।
र वैँस साट्छ
फूलले उनै समीप साथमा । ३
नडूब घाम आज
है यसैगरी रमून् उनी ।
कुदेर फूल
पातमा यसैगरी डुलून् उनी ।
नहेर चन्द्रमा
उँधो नहेर आज रातमा ।
नझार शीत
प्रेमको म नै रहन्छु साथमा । ४
त्यो
सच्चिदानन्दको, शार्दूलविक्रीडित छन्द २०४
ठ्याक्कै तीन
शरीर छन् प्रिय सखे, हाम्रा यही
गेहमा ।
इच्छा एक, शरीर भिन्न यिनका , हाम्रै यही देहमा ।
आ-आफ्नै यिनको
छ रूप रङ यो, छुट्टै छ
संसार झन् ।
आफ्नै चाल र
ढाल खास सबका, आफ्नै
सुसंस्कार छन् । १
भित्री कारणको
शरीर छ जहाँ, विद्या छ
जम्मै यहाँ ।
मायाले सब
ढाक्छ छाेप्दछ यहाँ निष्पट्टकाे अन्धमा ।
आफैँमा जहिले
नपुंशक छ यो, देख्छन्
सुसुप्तीहरू ।
चिर्दै चेतनले
तुरीय मनले, हेर्छन् तपश्वीहरू
। २
अर्को सूक्ष्म
शरीर हुन्छ तनमा, यो ज्ञान
सम्झाउँछ ।
फेर्दै लिङ्ग
यता उता र कहिले, यो स्वप्नमा
आउँछ ।
भित्री
कारणबाट लिन्छ यसले, सत्ज्ञान
वर्षाउँछ ।
आफैँमा
परिपूर्ण हुन्छ जहिले, हो प्रेत, तर्साउँछ । ३
तेश्रो स्थूल
शरीर बन्छ भरिया, यो इन्द्रको
दास हो ।
बन्दै जाग्रत
चेत, फेर्छ फरिया, यो मोक्षको आस हो ।
बाँच्दाका
क्षण दास बन्नु नपराेस् ऐश्वर्य आनन्दको ।
हेर्दै
सूक्ष्म शरीर कारण पुगौँ, त्यो सच्चिदानन्दको । ४
बाँचेको यदि
भैदिए... शार्दूलविक्रीडित छन्द २०५
बाँचेको यदि
भैदिए म त कुनै, गर्थेँ अनौठा कुरा
।
उक्लिन्थेँ म
उँभो उँभो सगरमा, चढ्थेँ कुनै
टाकुरा ।
वा डुब्थेँ
कति शान्त सागरहरू, पृथ्वी उँधो
केन्द्रमा ।
घुम्थेँ फन्फन
माथि माथि उसरी, घुम्दै छ यो
चन्द्रमा । १
वैरीको शिर
छिन्नभिन्न दिनकै, पाता अझै
कस्दथेँ ।
आफ्नै राज्य
बनाउथेँ म त कतै, सम्राट् बनी
बस्दथेँ ।
सत्ता शासन
हातमा सदनमा, हेर्थेँ म
मन्त्रालय ।
बाँड्थेँ
न्याय म गाउँमा सहरमा, आफैँ म न्यायालय ।२
जप्दै राम र
राम राम म सधैँ, बन्थेँ उही
राम म ।
वा बन्थेँ
उनकै म दुश्मन बडो, हुन्थेँ म झन्
रावण ।
पार्थें तृप्त
पिचासका मनहरू, जान्थे कतै
धाममा ।
पार्थेँ
उज्ज्वल भूतप्रेत म सबै, रम्थे उतै घाममा । ३
वा खिच्थेँ सब
सार भाव ऋषिका, जीवात्मका
तत्त्वका ।
पढ्दै अक्षर
वेदका वचनका, ऋग्वेदका
अर्थका ।
खै के गर्न
सकेँ न धर्म गतिलो, खै अर्थ खै
मोक्ष खै ।
मेरो कर्म कतै
म देख्दिनँ अझै, के बाँच्नु के
बाँच्नु खै । ४
बोल्दै बक्बक
गर्छु झन् कुकुरझैँ, हिँड्दै छु
राम्रै तर ।
अर्काले पनि
सुन्छ देख्छ तर खै, यो बाँच्नुमा
के छ र ।
के देख्छन्
सबले बिहान दिउँसो, ज्यूँदै छ
भन्छन् सब ।
आफैँ सोच्छु
बसेर एकल हुँदा, ज्यूँदो छु के
वास्तब ? ५
पृथ्वीभार र
खान काल म भएँ, व्यर्थै गयो जिन्दगी
।
मात्रै सास म
फेर्छु, फाल्छु दिन यी, धिक्कार यो जिन्दगी ।
केका निम्ति
भनेर जन्मन पुगेँ, हुर्केँ बढेँ
आज म ।
बेकामी घटिया
निरर्थक भई, बन्दो छु
निस्सार म । ६
आगो दन्दन घाट
छेउतिरमा, तापूँ कि झैँ
लाग्दछ ।
आफ्नो नै
समवेदना अब कतै, छापूँ कि झैँ
लाग्दछ ।
नाथे जीवन आज
फुत्त सजिलै, फालूँ कि झैँ
लाग्दछ ।
आफ्नै
तस्बिरनेर धूप अहिले, बालूँ कि झैँ लाग्दछ । ७
गजल, रमेकै
थिइन्,भुजङ्गप्रयात
छन्द २०६
रमेकै थिइन्
क्रुद्ध पारेर आएँ ।
विना थालनी
युद्ध हारेर आएँ ।
म मात्रै थिएँ
रे कलेजी कुनामा,
भई आज शंका
चिहाएर आएँ ।
नदेखी म आफैँ
कुना कन्दरामा,
विना अर्थ
दैलो उघारेर आएँ ।
कसी टम्म
पारेर राख्या छु भन्थिन्,
गई सुर्कने
त्यो फुकाएर आएँ ।
छताछुल्ल
बन्दै सबै पोखिएँ म,
स्वयंले म
आफैँ बढारेर आएँ ।
भयो धेर गल्ती
क्षमा दान देऊ,
भनी आज बिन्ती
बिसाएर आएँ ।
चेलीको आशिष्,
इन्द्रबज्ज्रा छन्द २०७
हे भाइ मेरा
सय वर्ष बाँच्नू ।
हे दाइ मेरा
सय वर्ष बाँच्नू ।
बिन्ती बिसाएँ
यमराजलाई ।
हाँसी खुसीले
सय वर्ष बाँच्नू ।१
आरोग्य
दीर्घायु लिएर आएँ ।
तिम्रा सबै
दर्द पिएर आएँ ।
जो दुःख
कष्टादि थिए नराम्रा ।
अन्तै लुकाई म
दिएर आएँ ।२
वैलन्न माला
अब यो गलाको ।
वैलन्न वैल्लन
दुबो गलाको ।
वैलन्न टीको
अब सप्तरङ्गी ।
वैलन्न आशिष्
अब यो गलाको ।३
यो तेल घेरो
जबसम्म हुन्छ ।
यो प्रेम मेरो
तबसम्म हुन्छ ।
यस्तो अनौठो
वरदान पाएँ ।
यो स्नेहको
प्यार सदा रहन्छ ।४
ती क्षुद्र
पापी ग्रह अन्त भागून् ।
पोल्ने र
घोच्ने कहिले नआउन् ।
चेली छु
तिम्री म पुकार गर्छु ।
यी भाइका दुःख
सबै बढारुन् ।५
ऐश्वर्यशाली
धनको छ बन्नु ।
राम्रो दयालु
मनको छ बन्नु ।
दीपावलीको र
तिहारको यो ।
मेरो यही
मात्र छ मात्र भन्नु ।६
गुरु होम
सुवेदीको शीर्षकमा...
शीर्षकः
कुसंस्कारको पाठशाला हुँदैन
छन्दः
भुजङ्गप्रयात २०८
घृणा रोप्छ
छोरो घृणा नै उमार्छ ।
घृणामै जवानी
कुमारी पछार्छ ।
सु–सत्प्यारले पो जवानी रुँदैन ।
बलात्कारको
पाठशाला हुँदैन । १
पिताका कुरा
टेर्न छोडेर मान्छे ।
जता भन्छ नाठो
उतै फुत्त जान्छे ।
कुलाचार के हो
कतै सिक्नु छैन ।
कुलाङ्गारको
पाठशाला हुँदैन । २
यता मातृको
प्यार बिर्सन्छ फेरि ।
र बृद्धाश्रमै
लान्छ टेर्दै नटेरी ।
पुरस्कारले
सभ्य छोरो हुँदैन ।
तिरस्कारको
पाठशाला हुँदैन । ३
फलानो त यस्तो
र उस्तो छ भन्दै ।
कुरा काट्छ
ढाँट्दैछ आनन्द मान्दै ।
सदाचारको बात
सुन्नै हुँदैन ।
दुराचारको
पाठशाला हुँदैन । ४
नमस्कार गर्दै
सिसी बोक्न थाल्छ ।
बिहानै र
साँझै बसी धोक्न थाल्छ ।
सुसंस्कारबारे
कतै सुन्नु छैन ।
कुसंस्कारको
पाठशाला हुँदैन । ५
तिहार २०७७,
मालिनी छन्द २०९
दाजै अन्तै पर
छ बहिनी, भाइ अन्तै छ
आज ।
कोरोनाको कहर चुलिई
निम्छरो भो समाज ।
कान्लो जम्मै
मगमग गरी, वासना छर्छ
फूल ।
जिस्क्याएझैँ
वरवर सरी, घोप्दछन्
व्यङ्ग शूल । १
सिङ्गो बस्ती
वरपर सबै, खालि हाम्रो
निधार ।
खल्लो खल्लो
कति विरसिलो, आज हाम्रो
तिहार ।
पाल्पाली त्यो
हिमशिखरझैँ, छैन टोपी
खुलेको ।
इन्द्रेणीझैँ
टलटल हुने, छैन टीको कतै
त्यो । २
चम्पा जाही
अनि मखमली, वैलिँदै झर्न
थाले ।
सग्ला लामा र
हरित दुबा, पात नै मर्न
थाले ।
रित्तो नाङ्लो
दुनु न टपरी, सेल छैनन्
भरेका ।
बल्दा बत्ती
टिलपिल दिया, आज छैनन्
गरेका । ३
द्यौसी भैलो
घरघर हुने, मादले भाइ छैन
।
चुट्के नाच्ने
छमछम गरी, नर्तके दाइ
छैन ।
रातो माटो भन
भन भनी, सुन्न पाइन्न
आज ।
चिप्लो बाटो
घरघर डुली, हिँड्न पाइन्न
आज । ४
के सक्छु खै
ज्यूँन र ! शार्दूलविक्रीडित छन्द २१०
आओ है चिनका
बिहारतिरका, हाम्रा
छिमेकीहरू ।
आओ फुत्त उडेर
अन्ततिरका, टाढा
विदेशीहरू ।
लासैलास भए
यता सहरमा, मर्दा भए यी
सबै ।
बस्तीमा अब
छैन मानिस कतै, सड्दा भए यी
सबै ।१
डुङ्डुङ्ती छ
गन्हाउने सब यहाँ, चोटा र कोठा
भरी ।
यी मुर्दा अब
झिक्छ लान्छ कसले, पोल्ला कता के
गरी ।
आफू जान
हुँदैन सर्दछ रुघा, पोल्ने ज्वरो
आउने ।
यस्तो आपतमा
कहाँ र कसले, यी लास
पन्छाउने ।२
भन्थ्यो हात
धुए बचिन्छ जन हो ! यो हो बडो ओखती ।
आफैँले सरकार
हात पहिले, धोयो
बिरामीप्रति ।
खुल्ला छन् सब
अस्पताल तर यी, कोही हुँदैनन्
निको ।
कोरोना उपचार
पार नहुँदा, मर्दा भए झन्
छिटो ।३
बूढो गिद्ध
चिथोर्छ लान्छ कहिले, के लान्छ के लान्छ यो ।
घोर्ले स्याल
घिसार्छ तान्छ कहिले, के तान्छ के खान्छ यो ।
त्यो
गङ्गाजालमा मिसेर तुलसी, को दिन्छ खै प्यूँन र ?
मेरो यो घर नै
छ घाट अहिले, के सक्छु खै
ज्यूँन र !! ४
मेरा कविता,
स्वतन्त्र छन्द २११
एउटा ब्रह्मा
थिए ।
एक जोर राक्षस
आएर भुइँमा खसालिदिए ,
अनि आज करोडौं
अरू ब्रह्माहरू जन्मिए ।
एउटा कमल थियो
।
एक जोर भमरा
आएर परागसेचन गरिदिए ,
अनि आज करोडौं
अरू कमलहरू जन्मिए ।
एउटा पहाड
थियो ।
एक जोर मान्छे
आएर ढुङ्गामाटो खोतलिदिए ,
अनि आज करोडौं
पहाडरुपी घरहरू जन्मिए ।
एउटा
राजतन्त्र थियो ।
एक जोर
क्रान्तिकारी आएर उखेलिदिए,
अनि आज करोडौं
अरू राजाहरू जन्मिए ।
एउटा मन थियो
।
एक जोर
आँखाहरूले एक पटक हेरेर गए,
अनि आज
अनगिन्ती अरू टुक्रे मनहरू जन्मिए ।
हो ! तिनै
टुक्राहरू हुन् मेरा कविता ।
आजसम्म दुई
सयको हाराहारीमा भेला पारेँछु ।
हेरौँ, कति टुक्रा पारेर गएकी रहिछन् उनले !!
यमराजको आग्रह,
शार्दूलविक्रीडित छन्द २१२
तिम्रो त्यो
मनको विरक्त वह यो, जम्मै सुनेँ
हे दिदी ।
प्यारो भाइ त
भर्खरै मरिगयो, रुन्छौ सधैँ
के दिदी ।
यस्तै हो सबको
मनुष्य जनको, मर्नै छ है
आखिर ।
चाँडो होस् कि
ढिलो अवश्य यिनले, जानै छ है
आखिर ।१
मेरो कर्म यही
भयो भुवनमा, छानेर मार्दो
छु म ।
मान्छेको सब
जन्म मृत्यु मनले, जानेर तार्दो
छु म ।
तिम्रो भाइ
मर्यो भनेर अहिले, के दिक्क
मान्छौ तिमी ।
यस्तै हो उसको
नि आयु सकियो, छोड्यो छिटै
त्यो जिमी ।२
यौटा मात्र उपाय
भन्दछु दिदी, सुन्नू मजाले
अब ।
तिम्रो भाइ
जुरुक्क उठ्छ अहिले, लानू तिमीले
घर ।
मेरा ती गणमा
त काग कुकुरै, बुझ्नू तिमीले
सधैँ ।
काला कागहरू र
यी कुकुर झन्, पुज्नू तिमीले
सधैँ ।३
लक्ष्मीको पनि
गानमान उसरी, गाई पुजेझैँ
गर ।
बाल्नू दीपक
साँझमा घर भरी, होस् त्यो
उज्यालो घर ।
राख्नू भाइ
सरक्क भूतलतिरै, राम्रो दिनू
आसन ।
पूजाका सरजाम
ठिक्क गरियून्, राम्रा तथा
कञ्चन ।४
धारो तेल
बगिरहोस् धरधरी, टुट्दै
नटुट्ने गरी ।
दल्नू त्यो
अनुहारमा र शिरमा, सुक्दै
नसुक्ने गरी ।
डाकी ओखरभित्र
दुश्मनहरू, फोर्नू सबै
भाइका ।
बाधा अड्चन ती
हटी पर रहुन्, अन्तै फिरुन्
भाइका ।५
उन्दै उन्नत
जातको मखमली, माला लगाई
दिनू ।
ल्याई शुद्ध
दुबो चिटिक्क शिरमा, गुच्छा बनाई
दिनू ।
इन्द्रेणीसरिको
र सात रङको, टीको दिनू
माथमा ।
मीठा ब्यञ्जन
धेरथोर जति छन्, अर्पी दिनू
काखमा ।६
तिम्रो तेल
सुकेर जान्न कहिले, वैलन्न झन्
त्यो दुबो ।
माला फूल गला
भरी मखमली, वैलन्न वैलन्न
यो ।
वैलन्नन्
जबसम्म यी सब कुरा, त्यो भाइ
मर्दैन है ।
यस्तो माग
लिएर आउन यहाँ, दोबार पर्दैन
है ।७
दिदीको पुकार,
शार्दूलविक्रीडित छन्द २१३
हे प्यारा ! यमलोकका नृप
तिमी, स्वीकार मेरो नम ।
के कस्तो छ विसञ्च सञ्च तनमा, निश्कर्षमा त्यो भन ।
तिम्री ती यमुना सुसभ्य
बहिनी, सञ्चै त होलिन् यहाँ ।
जे जस्तो छ सबै सबै भन तिमी, के गर्न आयौ यहाँ ।१
छौ धेरै अति भाग्यमान् सुन
तिमी, राजा बनी बस्दछौ ।
आफैँ काल भएर आज सबको, पाता तिमी कस्दछौ ।
हे प्यारा यमराज ! मृत्यु
जगका, मार्छौ र लान्छौ किन ।
मेरो भाइ यतै कतै छ अहिले, मार्यौ तिमीले किन ।२
आफू चाहिँ सुविस्तसाथ मनले, बस्छौ यहाँ दिन्दिन ।
प्यारी ती बहिनी लिएर यमुना, रम्छौ तिमी छिन्छिन ।
गाढा प्रीत यहाँ छ दाजु
बहिनी, मेरो नभाको किन ।
मेरो सज्जन भाइ दुष्ट मतिले, मार्यौ तिमीले किन ।३
केका निम्ति भनेर प्राण उसको, तान्यौ तिमीले भन ।
मार्दाखेरि चसक्क भित्र तनको, रोएन तिम्रो मन ।
एक्ली आज भएँ म भाइविनुको, त्यो भाइ फिर्ता गर ।
सक्दै सक्दिनँ भन्दछौ यदि
भने, यो प्राण मेरो हर ।४
जस्तो ऊ पहिले थियो म नजिकै, उस्तै र आजै गर ।
तिम्रो दुश्मन आज बन्नु
नपरोस्, त्यो भाइ फिर्ता गर ।
यो बिन्ती अब सुन्नु पर्दछ
सधैँ, बाकी अरू भन्दिनँ ।
सुन्दै सुन्दिनँ भन्दछौ यदि
भने, मार्यौ तिमीले किन ।५
तिम्री ती बहिनी मरिन् यदि
भने, सक्छौ तिमी बिर्सन ।
मेरो भाइ हुने सधैँ मसँग नै, के सक्छु झन् बिर्सन ।
बिन्ती लाग्छ भने विनम्र
मनले, त्यो प्राण देखूँ अब ।
घुम्दै भाइ तिहारमा फनफनी, त्यो भाइ छेकूँ अब ।६
गर्भमै मर्न
पाऊँ , मन्दाक्रान्दा
छन्द २१४
छोरी भन्दै
मुख नयन वा, नाक
खुम्च्याउँने भा ।
अर्काको नै
घरथर भनी, काख पन्छाउँने
भा ।
पृथ्वीमा नै म
त अब छिटो, आज नै झर्न
पाऊँ ।
मेरी आमा !
विनति छ यही, गर्भमै मर्न
पाऊँ ।१
कोठा भित्रै
सडक वनमा, छन् दुराचार
गर्ने ।
आफ्ना भित्रै
कति कति यहाँ, छन् बलात्कार
गर्ने ।
यस्तो भन्दा
मुटु चिसिन गै , कोख नै सर्न
पाऊँ ।
मेरा बाबा ! म
त अब यतै, गर्भमै मर्न पाऊँ
।२
छौँडी बोक्सी
गरिब टुहुरी, दाइजो छैन
भन्दै ।
ज्यूँदै
पोल्छन् वदन मलिनो, बाँच्नु
पर्दैन भन्दै ।
यस्तो भन्दा
अगति नपरी, प्राण यो हर्न
पाऊँ ।
मेरा सङ्गी !
यहिँ म सजिलै, गर्भमै मर्न
पाऊँ ।३
छोरी चेली
सुसवल हुने, चण्डिका रक्ति
दिन्नन् ।
आफ्नै पुत्री
सुसफल हुने, अम्बिका शक्ति
दिन्नन् ।
माता अम्बे !
निशिदिन यही, कामना गर्न
पाऊँ ।
यस्तो भन्दा
शिशु नबनिदै, गर्भमै मर्न
पाऊँ ।४
पार्टी फुटाऊ
अब, शार्दूलविक्रीडित छन्द २१५
जो विश्वास
गरेर पुज्छ भगवान्, त्यो
हुत्तिहारा भयो ।
जो विश्वास
धरेर बुज्छ भगवान्, त्यो झन्
तिरस्कार भो ।
जो विश्वास
सकेर तोड्छ भगवान्, ऊ नै यहाँ खास
छ ।
झन् विश्वास
समाप्त हुन्छ जसको, ऊ नै यहाँ
शासक !१
पूजा थाल र
धूप दीप फलले, नैवेद्यले
भक्तिले ।
जे जस्तो जति
सक्नु गर्नु गरियो, आफ्ना सबै
शक्तिले ।
केही काम गरेन
मुर्ति जपले, आराधना
मन्त्रले।
आस्था फाल्छु
पखाल्छु आज छिनमै, आफ्नै कुनै
यन्त्रले ।२
मेरो ईश्वर जो
छ भित्र मुटुमा, जा जा हटी जा
पर ।
अर्कैको मनमा
सुटुक्क छिरिजा, अन्तै बना
त्यो घर ।
तेरो भक्त
कदापि हुन्न म अझै, खोज्नू कतै ती
अरू ।
बन्दै नास्तिक
पाल्छु दानवहरू, आफ्ना मनैमा
बरु ।३
चाख्लास्
युद्ध अनेक बुद्धि बलले, यी यन्त्र संयन्त्रले ।
तेरो आसन
डग्मगाउँछ तँ हेर् , यी राक्षसी
मन्त्रले ।
त्यो बेला तप
काल सत्य युगमा, त्रेता सबै
द्वापर ।
बाँचिस् भाग्य
थियो, सुधा जन थिए, बाँच्लास् यहाँ के तर ।४
को नै बस्दछ
ध्यानमा सरसले, यो ज्यान को
गाल्छ र ।
खै त्यो भक्ति
र भावना हृदयमा, को नै यहाँ
पाल्छ र ।
एक्लो आज भइस्
खुरुक्क अब जा, हार्छस् तँ
पक्का छ यो ।
भो पर्दैन यता
निवास नगरेस्, डेरा सराए भयो
।५
अर्ती साथ
उपाय दिन्छु भगवान्, आफैँ बनेस्
दानव ।
तिम्रो तस्बिर
मूर्ति विम्ब जति छन्, पुज्छन् सबै मानव ।
गर्दै जाल र
झेल सज्जन सबै, मारी कुटाऊ अब
।
अर्को शासन
कालको मन भए, पार्टी फुटाऊ
अब ।६
सुरम्य छिन्
वसुन्धरा, पञ्चचामर
छन्द प्र नि अ बाट २१६
शताङ्कमा
शताङ्क छिन् शताङ्किनी वसुन्धरा ।
शतायुमा शतायु
छिन् सुवासिनी वसुन्धरा ।
शिवम् र सत्य
सुन्दरम् सुमन्त्र छन् दह्रा दह्रा ।
सुसभ्य शिष्ट
साँच्चिकै सुरम्य छिन् वसुन्धरा । १
सहस्रबाहु
पादमा र शीर्षमा छ शंकर ।
सुपात्र योग्य
छन् अरू सुधीर वर्णसंकर ।
सुपथ्य सेवनी
सबै सुअन्न छन् गह्रा गह्रा ।
सुधामयी सुखी
सुधी सुरम्य छिन् वसुन्धरा । २
सुकर्मका
सुविज्ञ छन् सुरा र सुन्दरीहरू ।
सुमार्ग सैर
गर्दछन् सुशील षोडशीहरू ।
सुशान्त सौम्य
सोमले सुपुष्प छन् हराभरा ।
उषा निशा र
साँझमा सुरम्य छिन् वसुन्धरा । ३
चिटिक्क
सुन्दरी उनी उनै नसालु चञ्चला ।
सिपालु कल्प
बाँच्नमा उनै स्वयम् धुरन्धरा ।
सुप्राप्य
छिन् सुयोग्य छिन् स्वरूपमा मनोहरा ।
सुगम्य छिन्
सुलभ्य छिन् सुरम्य छिन् वसुन्धरा ।४
वियोग, वियोगिनी छन्द २१७
घरकी न त
घाटकी भएँ ।
बल सामथ्र्य न
आँटकी भएँ ।
सिउँदो पुछियो
निधारको ।
न त सौन्दर्य
न ठाँटकी भएँ । १
म त देख्दिनँ
रक्त ज्यानमा ।
म नियास्री र
विरक्तिनी भएँ ।
न त रूप छ
हेर्न लायक ।
म नराम्री र
विरूपिनी भएँ । २
पति देव हुँदा
सँगै सँगै ।
म त राम्री र
सुलच्छिनी थिएँ ।
अहिले म सधैँ
वियोगिनी ।
विरही माथ न
लच्छिनी भएँ । ३
म मरूँ कि
जिऊँ यसै गरी ।
कि पिऊँ आँसु
सधैँ यसै गरी ।
जब याद
बिथोल्न आउँदा ।
पतिको याद
सिऊँ कसो गरी । ४
काट्दै छु यो
जिन्दगी, शार्दूलविक्रीडित छन्द २१८
सुत्दाखेरि
ममा छ लाख सपना, उठ्दा सधैँ
शून्य छन् ।
उठ्दाखेरि
हजार प्रश्न मनमा, सुत्दा सधैँ
शून्य छन् ।
जस्ता प्रश्न
बने दिमाग मनमा, ती स्वप्नमा
आउँछन् ।
जेजे हुन्
सपना बिहानतिरमा, ती प्रश्न
सम्झाउँछन् । १
यी
प्रश्नोत्तर आज बुन्दिनँ भन्यो, आफैँ बुनिन्छन् सबै ।
केही सुन्दिनँ
आज भन्छु तर यी, आफैँ
सुनिन्छन् सबै ।
बुन्दै स्वप्न
हजार एक मनले, सुत्दै छ यो
जिन्दगी ।
सुन्दै प्रश्न
हजार एक मनले, उठ्दै छ यो
जिन्दगी । २
यो सुत्ने
क्रम पो रहन्छ कति नै, थाहा छँदै छैन झन् ।
यो उठ्ने क्रम
पो रहन्छ कति नै, थाहा छँदै छैन
झन् ।
उठ्दै सुत्छु, सुतेर उठ्छु म उसै, यस्तै कुह्यो जिन्दगी ।
हाँस्दाका
सपना तुहेर बिपना, क्वाँ क्वाँ
रुयो जिन्दगी । ३
सारै रुन्छ
हिरिक्क हुन्छ बिपना, यो स्वप्न हो भन्दछु ।
हाँसेका सपना
भनेर बिपना, सामान्य झन्
बन्दछु ।
यो ढाँट्ने
क्रममै छ जीवन मिठो, ढाँट्दै छु यो
जिन्दगी ।
स्वप्नामा
सटही गरेर बिपना, काट्दै छु यो
जिन्दगी । ४
बलात्कार
रोकौँ , शार्दूलविक्रीडित छन्द २१९
नारी
हुन् सब देवतीर्थ मनकी,
नारी
स्वयं भक्ति हुन् ।
नारी
विम्ब ल हेर शास्त्र भरमा,
नारी
स्वयं शक्ति हुन् ।
नारी
रुप विशुद्ध ईश घर हो,
बस्छन्
यहाँ ईश्वर ।
नारी
देह छ अग्निकुण्ड भरिलो,
जल्छन्
यहाँ नश्वर । १
नारी
कोमलता सधैँ वचनमा,
नारी
यिनी जाँगर ।
नारी
प्रेम भरी सलल्ल बहने,
नारी
यिनी सागर ।
नारी
गर्भ अचम्मको अवनिमा,
धर्ती
स्वयं हुन् यिनी ।
राम्रा
पुष्प सबै यतैतिर हुने,
बास्ना
स्वयं हुन् यिनी । २
नारी
साथ भयो भने सब यहाँ,
श्रीकृष्ण
बन्छन् तर ।
नारी
श्राप भयो भने यदि कतै,
श्रीविष्णु
गिर्छन् तल ।
नारी
लाज मुहानशीर्ष यिनको,
छोपेर
छोपिन्न यो ।
नारी
काख सहस्र प्रेम यिनको,
खोसेर
खोसिन्न यो । ३
केके
हुन्छ अनर्थ यो भुवनमा,
नारी
डराइन् भने ।
आफ्ना
यी क्षमता सकेर यिनले,
नारी
हराइन् भने ।
सिङ्गो
मानव भस्म हुन्छ यिनले,
रोइन्
कराइन् भने ।
सारा
सृष्टि विरूप हुन्छ यिनले,
त्यो
गर्भ फालिन् भने । ४
नारी
प्रेम म खोस्छु आज बलले,
भन्छन्
दुराचार यी ।
नारीका
गुण बिर्सिंदै कति यहाँ,
गर्छन्
बलात्कार यी ।
बन्दै
राक्षसझैँ नृसिंह नङले,
चोक्टा
लुछेझैं गरी ।
नारी
इज्जत अस्मिता हरण झन्,
गर्छन्
उसै हे हरि । ५
यस्ता
कर्म कुकर्म हुन् घृणित हुन्,
रोकौँ
सबै तत्क्षण ।
सोची
शुद्ध विवेकले अब गरौँ,
यो
सृष्टि संरक्षण ।
कालो
तामसपूर्ण बन्छ धरणी,
नारी
रिसाको क्षण ।
हाँस्छन्
फूल मुसुक्क जून जसरी,
नारी
भए रक्षण । ६
छोरो मजस्तै छ
रे, शार्दूलविक्रीडित छन्द २२०
जन्म्यो रे
उनको सुपुत्र अहिले, छोरो मजस्तै छ
रे ।
उस्तै नाक
सुलुत्तका नयन रे, गोरो मजस्तै छ
रे ।
आखीभौं र
निधारको गुजुमुजे, डोरो मजस्तै छ
रे ।
साह्रै आपत
पार्छ आज कि कसो, मोरो मजस्तै छ
रे ।१
देख्नासाथ
अचम्ममा हुन पुगी, सम्झिन् मलाई
अरे ।
मेरो नै
अनुहार झल्झल उही, ठ्याक्कै
मजस्तै छ रे ।
आए रे पति जी
उता नजिकमा, हेरूँ म छोरो
भनी ।
आफ्नो यो मनको
विशुद्ध तनको, हेरूँ म पोको
भनी ।२
कालो बाउ
हुँदा सुपुत्र पनि यो, कालै हुने हो तर ।
यो पाला त
अचम्म नै हुन गयो, गोरो छ छोरो
तर ।
ए बाबा ! कसरी
यसो हुन पुग्यो, सोच्दैछ रे आज
ऊ ।
अर्कैको त
अवश्य हैन नि भनी, सोद्धैछ रे आज
ऊ ।३
तिम्रो पुत्र
दुरुस्त हेर न भनी, राखिन् अरे
काखमा ।
शंका गर्नु हुँदै
हुँदैन नि भनी, ढाँटिन् अरे
बातमा ।
हे प्यारी !
अब ढाँट ढाँट यसरी, वर्षै भरी
ढाँट है ।
अर्को पुत्र
अवश्य नै भइदियोस्, यस्तै तिमी
आँट है ।४
बिर्सना, अनुष्टुप् छन्द २२१
अनुहार प्रियाको त्यो, सम्झिन्छु कति हो कति ।
छिट्टै बिर्सूँ म यो रूप, बिर्सिने के छ ओखति । १
जो जो देख्छु उनै लाग्छ, उस्तै नै रूप लाग्दछ ।
सबै सबै उनै देख्ने, बौलाहाको भयो गति । २
बिहान होस् कि यो साँझ, दिनमा मात्र छन् उनी ।
हुँदा यस्तो सधैँ मेरो, जम्मै बिग्री गयो मति । ३
पढौँ लेखौँ कतै छैन, विचार शून्य शून्य छ ।
ममा भयो अनायासै, सम्झिने शक्तिको खति । ४
भए कतै कुनै एक, नदी कुवा कि पोखरी ।
भनी दिनुस् सबै याद, पखाल्ने छु भए जति । ५
भयो अब म चाहन्न, सम्झिन्न रङ रूप नै ।
सम्झन्छु म यही आफ्नै, प्यारो यो वैँसको क्षति । ६
गजल, छ शंका
मलाई, भुजङ्गप्रयात
छन्द २२२
छ शंका मलाई
तिमी प्यार ठान्छौ ।
सधैँ जिस्किने
यो मिठो यार मान्छौ ।
म यस्तै छु
जिस्किन्छु आफ्ना सबैमा ।
तिमी
साँच्चिकैको म दिल्दार मान्छौ ।
हटाई अरू
दोस्त दोस्ती पछाडि ।
मलाई तिमी
विश्व संसार मान्छौ ।
म हेर्दै
नहेरूँ कुनै एक साँझ ।
रिसाएर बस्छौ
र दिक्दार मान्छौ ।
ढिला झन् भएमा
अझै बात गर्न ।
विनाअर्थमा यो
तिरस्कार मान्छौ ।
कतै भेटमा
सोध्छु सञ्चो विसञ्चो ।
यही जिन्दगीको
पुरस्कार मान्छौ ।
स्वर्गमा पस्न
पाऊँ, मन्दाक्रान्ता छन्द २२३
मेरी प्यारी
अलि वर सरी, थाप तिम्रो
निधार ।
तिम्रो मेरो
मन मुटु मिली, एक होस् यो
विचार ।
रातो टीको
हरित जमरा, माथमा
लाइदिन्छु ।
टीको साथै
त्यससित मिठो, प्रीत
बर्षाइदिन्छु ।१
बोल्नू राम्रो
मृदु मुख गरी, प्यार यो
घोल्न पाऊँ ।
राम्रो तिम्रो
हृदयभरको, द्वार यो
खोल्न पाऊँ ।
हेर्नू उस्तै
नयनभरमा, हर्षले
जग्मगाई ।
बाँच्नू यस्तै
हरपल सयौँ, वर्ष धेरै
रमाई ।२
तिम्रै पूजा
निशदिन गरी, पुज्छु दुर्गा
भवानी ।
हेर्दै तिम्रो
वदन कसिलो, बुझ्छु दुर्गा
भवानी ।
धेरै छन् यी
रिपुगण ममा, प्यारमा पार
आऊ ।
मेरा जम्मै
सुरअसुर यी, प्रेमले मार
आऊ ।३
यस्तै राम्रो
मधुर वय यो, देख्न पाऊँ
मनेरै ।
यस्तै प्यारा
सरल कविता, लेख्न पाऊँ म
धेरै ।
बाँच्दा साथै
सँगसँग रही, काखमा बस्न
पाऊँ ।
मर्नासाथै
प्रियतमसँगै, स्वर्गमा पस्न
पाऊँ ।४
आग्रह, वियोगिनी छन्द २२४
म यता छु तिमी उता उता ।
अब आऊ वर साथमा यता ।
कति बस्नु सदैव यादमा ।
मुटुको आज गरौँ न एकता ।
जति आपत दुःख दर्द हुन् ।
पर भागून् सब ती उता उता ।
तन दूर हुँदा निराशमा ।
मन यो रुन्छ सुनौँ जताजता ।
मनसाथ सँगै रहोस् तन ।
अनि वैराग्य नहोस् कताकता ।
घरफल, रथोद्धता छन्द २२५
जानु
हो यदि मृगेन्द्र वासमा ।
मिल्छ
भव्य गजमौक्ति हातमा ।
स्यालको
घर गुफा पुगेपछि ।
तुच्छ
चर्म खुर हुन्छ साथमा ।१
मित्रका घर गए जतातता ।
प्रेमपूर्ण मन बन्छ है त्यता ।
दुष्टका घर गएर छिर्नु त ।
दुष्टता घर लिएर फिर्नु छ ।२
देव मन्दिरतिरै गयो भने ।
धर्मका मठतिरै गयो भने ।
मूर्तिरूप भगवत् कृपा हुने ।
चित्त शान्त र विरक्त्तता
हुने ।३
प्रीत बाँड्छ मनको छ सज्जन ।
माग्न थाल्छ ऋण जो छ निर्धन ।
गन्गने घर हुँदा छ गन्गन ।
टाउको अनि दिमाग रन्थन ।४
माहुरी मह दिने छ बासमा ।
सर्प दिन्छ विष सास सासमा ।
घुम्न जानु छ भने तिमी घुम ।
सोच धेर पहिले घरै चुन । ५
म बस्दछु, द्रुतविलम्बित छन्द
२२६
अब त कृष्ण रमेर म बस्दछु ।
अब त कृष्ण भनेर म बस्दछु ।
वितल भूतलमा जति गाढियून् ।
अब त कृष्ण खनेर म बस्दछु ।
सय हजार कि लाख करोढ हुन् ।
अब त कृष्ण गनेर म बस्दछु ।
बरु हिरिक्क हुँदै म उसै मरूँ
।
अब त कृष्ण कनेर म बस्दछु ।
पद धुलो शिर–मा–थ भरी धरी ।
अब त कृष्ण बनेर म बस्दछु ।
लेखून् कि राखून् अरू, शार्दूलविक्रीडित छन्द २२७
पक्का लेख्दिनँ आज भन्छु
कविता, हाँसेर बस्छन् कपी ।
आँखासामु समीप शब्द कति हो,
नाचेर बस्छन् कति ।
लेख्दै लेख्दिनँ लौ भनेर
रिसले, झोक्रिन्छु आफैँ बसी ।
लेख्नै पर्दछ भन्छ यो कलम
झन्, पर्खिन्छ झन् त्यो मसी । १
मेरानिम्ति भयो अचेल कविता,
साह्रै नराम्रो नशा ।
छुट्कारा पनि पाउनै कठिन भो,
मेरो भयो दुर्दशा ।
वाचा गर्छु सधैँ म लेख्दिनँ
भनी, पक्का नलेख्ने भन्यो ।
झन् झन् शीर्षक आउँछन् अझ
नयाँ, झन् झन् नलेख्ने भन्यो । २
सिङ्गो वाक्य सरक्क फुर्छ
कहिले, त्यो छन्द नै बन्दछ ।
अर्को श्लोक तुरुन्त बन्छ अनि
झन्, लेख् लेख् तँ लेख् भन्दछ ।
अर्कै काम गरेर बस्छु कहिले,
फालेर यो लेखनी ।
भुल्ने यत्न प्रयत्न गर्छु
जहिले, बिर्सूँ म लेख्नै भनी । ३
केको बिर्सिन सक्नु लेख्न
कविता, साह्रै नराम्रो भयो ।
केकेमा अब लेख्नु कोर्नु कति
हो, लेखी नसक्ने छ यो ।
वाक्कै दिक्क भएँ म लेख्दिनँ
विभो, मागेर खाने बरु ।
आजैबाट चटक्क छोड्छु कविता,
लेखून् कि राखून् अरू । ४
शतश्लोकी पिता, भुजङ्गप्रयात छन्द २२८
उनै बक्रतुण्डी उनै बिघ्नहर्ता ।
म पुज्दै छु आज उनै कष्टहर्ता ।
चलोस् लेखनी सर्सरी बग्दियोस् है ।
पिता काब्यको निम्ति बन्दैछु कर्ता । १
कुनै श्लोकमा छन्द मिल्लान् नमिल्लान् ।
कुनै वाक्यमा ढङ्ग मिल्लान् नमिल्लान् ।
जसो जे गरी
अर्थले पूर्ण लेखूँ ।
कुनै शब्दमा रस्व दीर्घै नमिल्लान् । २
पिताका पुराना नयाँ याद बोकी ।
पिताकै कुरा काम सत्वाक्य घोकी ।
तयारी म गर्दैछु लेखूँ भनेर ।
सबै शब्द राम्रा बनून् मिष्ठश्लोकी । ३
समातेर यी हात ताते गरेका ।
नचाएर यो साथ ताथै गरेका ।
सबै सम्झना आज आउन् दुरुस्तै ।
रमाएर संवाद हाँस्दै गरेका । ४
हिले खेतमा बाहुला सुर्कँदाका ।
पिता साथमा साँधमा फुर्कँदाका ।
मिठा बात नौला पुराना सबै ती ।
पिता काखमा काँधमा हुर्कँदाका । ५
पिता शब्दको अर्थ गाह्रो छ लेख्न ।
पिताका सबै कर्म गाह्रो छ लेख्न ।
जसो जे बुझेँ लेख्न खोज्दै छु आज ।
पिता धर्मको मर्म गाह्रो छ लेख्न । ६
पिता स्थूलमा झन् महान् स्थूल हुन्छन् ।
पिता मूलमा झन् महान् मूल हुन्छन् ।
जगत् बागमा श्रेष्ठ फुल्छन् सदैव ।
पिता फूलमा झन् महान् फूल हुन्छन् । ७
पिता पैतृकी शेषका फूल हुन्छन् ।
पिता वृक्षको फेदझैँ मूल हुन्छन् ।
पिता मग्मगी जिन्दगीमा रहन्छन् ।
पिता साथमा कोपिला फूल बन्छन् । ८
पिता टाकुरा उच्च थुम्का पहाड ।
पिता शैलभन्दा उँचो भीमकाय ।
पिताझैँ छ अग्लो कतै त्यो हिमाल ?
पिताझैँ कसैको छ छाती विशाल ? ९
पिता शान्त सौहार्द ऐश्वर्य शान ।
पिता व्यावहारी पिता साम दाम ।
र सिद्धान्तमा मान्यतामा सदा नै ।
पिता बज्ज्र चट्टान ढुङ्गो समान । १०
पिता ज्यानले बोक्छ संसार धेरै ।
पिता ज्यानमा बग्छ संस्कार धेरै ।
पिता सभ्यताको सधैँ मूल खानी ।
पिता रक्तमा हुन्छ सञ्चार धेरै । ११
पिता जन्मनासाथ हुन्छन् समीप ।
पिता मातृका साथ हुन्छन् समीप ।
पिता मातृकै दुग्ध धारो बहन्छन् ।
लिटोमा पिता, भातकासाथ हुन्छन् । १२
पिता प्रातमा पुष्पमा बास छर्छन् ।
पिता साँझमा शंखमा आस भर्छन् ।
पिता पूर्णमा पूर्ण बन्छन् सदैव ।
पिता जैविकी प्राणमा सास भर्छन् । १३
पिता पैतृकी काममा खास हुन्छन् ।
पिता पैतृकी नाममै खास हुन्छन् ।
यिनै कामका नामकानिम्ति गर्दा ।
पिताजी स्वयं खासमा खास हुन्छन् । १४
पिता देखिने स्थानमा तन्त्र हुन्छन् ।
नदेख्ने कुनै स्थानमा मन्त्र हुन्छन् ।
पिता बाँध्दछन् आयु सौसालसम्म ।
पिता वायुको एक संयन्त्र हुन्छन् । १५
पिता भोकमा गाँसमा बास बस्छन् ।
पिता प्यासमा आपमा बास बस्छन् ।
पिता रोगमा औषधी हुन् तुरुन्तै ।
पिता जिन्दगीमा सधैँ बास बस्छन् । १६
बसी पेट आधा पिता टन्न बन्छन् ।
नखाई नखाई पिता टन्न बन्छन् ।
अघाएँ म, खाओ भएँ टन्न भन्दै ।
बसी भोकभोकै पिता टन्न बन्छन् । १७
पिता फन्फनी ब्यस्तको काममा छन् ।
पिता साँझको कालमा घाममा छन् ।
पिता मासको पाक्षिकी पन्ध्रमा छन् ।
पिता रातको चाँदनी चन्द्र –मा– छन् । १८
पिता हिम्मती हौसलामा रहन्छन् ।
पिता कार्यको कौसलामा रहन्छन् ।
कुनै निर्णयी कामको बात गर्दा ।
पिताजी स्वयं फैसलामा रहन्छन् । १९
पिता सात्विकी डेगमा बास गर्छन् ।
पिता राजसी वेगमा बास गर्छन् ।
सबै पुत्र पुत्रीहरूको निमित्त ।
पिता तामसी रोसमा बास गर्छन् । २०
पिता ब्रह्मकालीनका ब्रह्म हुन्छन् ।
दिवामा पिताजी दिवा ब्रह्म हुन्छन् ।
पिता साँझमा साँझकै ब्रह्म हुन्छन् ।
निशा स्वप्नमा नै पिता ब्रह्म हुन्छन् । २१
पिता प्रेम भर्छन् निखारी अशेष ।
पिता प्रेम गर्छन् सधैँ नै विशेष ।
जिऊँन् साथमा वा बसून् स्वर्गमा यी ।
सदा प्रेम गर्छन्, रची कीर्तिशेष । २२
पिताजी स्वयं बन्दछन् सत्य नेता ।
उँचो मात्र जाने पिता ऊध्र्वरेता ।
सबै बालबच्चाहरूको निमित्त ।
पिताजी स्ययं बन्दछन् ऊध्र्वरेखा । २३
कतै वाद संवादमा साथ हुन्छन् ।
कतै त्रास संत्रासमा साथ हुन्छन् ।
कुनै दुष्टले कष्ट सङ्कष्ट पार्दा ।
पिता साथमा सङ्कटाझैँ बनिन्छन् । २४
तिरस्कारमा, हारमा प्यार दिन्छन् ।
असत्प्यारको वादमा प्यार दिन्छन् ।
दुराचार हौँ वा कुलाङ्गार नै हौँ ।
कुलाचार सत्कारको प्यार दिन्छन् । २५
न ईप्सा न ईष्र्या न छन् द्वेष राग ।
न छल्ने न ढाँट्ने न ईषत् छ डाह ।
सदाका सदा नै पिता शुद्ध फूल ।
पिता हुन् जगत्का सधैँ मूल फूल । २६
पिता राख्दछन् शुद्धमा शुद्ध इच्छा ।
सबै बुझ्दछन् झट्ट इच्छा अनिच्छा ।
सबैको भलो होस् पिता सोच्दछन् झन् ।
बनून् शान्त ज्ञानी पिताको सदिच्छा । २७
पिता दिक्क हुन्नन् कुनै काम गर्दा ।
पिता वाक्क हुन्नन् जुनै काम गर्दा ।
कतै हुन्न जुम्सो र आलस्य बानी ।
सबै काम बन्छन् पिता काम गर्दा । २८
पिता सुन्दछन् शंखको शंखनाद ।
पिता सुन्दछन् आर्तको आर्तनाद ।
सबै धून सुन्ने सबै राग जान्ने ।
पिता सुन्दछन् कृष्णको कृष्णनाद । २९
कसैको कतै नै अनिन्दा नगर्ने ।
गरी बेतुकी काम निन्द्रा नहर्ने ।
बनी नित्य दैवज्ञ सानन्द शान्त ।
भलो मात्र गर्ने कुचेष्टा नगर्ने । ३०
पिता अर्थ जान्ने पिता अर्थशास्त्र ।
पिता वेद पढ्ने उनै वेदशास्त्र ।
सबै शास्त्रको ज्ञान राख्छन् पिताजी ।
पिता नै स्वयं भब्य नौलाख शास्त्र । ३१
पिताजी भएमा घरै त्यो उज्यालो ।
अझै हुन्छ चोटा र कोठा उज्यालो ।
कताबाट बल्दैछ यो ज्योति राम्रो ।
पिता जिन्दगीमा उज्यालै उज्यालो । ३२
पिता शुद्ध छन् गर्नमा खानपान ।
पिता बुझ्दछन् गर्दछन् यज्ञ, दान ।
सबै देवको दानको चेत राख्ने ।
पिताजी स्वयं बन्दछन् चार धाम । ३३
सधैँको छ पूजा सधैँ अर्चना छ ।
सधैँ पाठ गर्छन् सधैँ भावना छ ।
सबै साँझमा नित्य सन्ध्या नतोड्ने ।
सधैँ मोक्षकानिम्ति सत्साधना छ । ३४
व्यबस्थापिकाझैँ पिताको छ ऐन ।
र मन्त्री बनी गर्दछन् कार्य अन्य ।
अझै न्यायमा छन् पिता न्यायमूर्ति ।
यसैमा रहेको छ आराम चैन । ३५
पिता अन्नका गम्किला बोटमा छन् ।
पिता पादका हातका चोटमा छन् ।
पिताजी सबैका सबै ओठमा छन् ।
पिताजी स्वयं आँगनी मोठमा छन् ।३६
पिता खेतबारी सधैँ खन्न पुग्छन् ।
उनैका कृपाले भकारी भरिन्छन् ।
पिता गोठमा घाँसमा टाँढमा छन् ।
पिता कर्ममा माहुरीझैँ गनिन्छन् । ३७
मकै ढोड खोस्टा र खोयाहरूमा ।
गँठौटे र तोस्रा र पोयाहरूमा ।
पिता सर्सरी घुम्दछन् डोर बन्दै ।
मुना बाँस भाटा र चोयाहरूमा । ३८
पिता साँधमा छेउ भित्ताहरूमा ।
पिता खेतका टार कित्ताहरूमा ।
पिता नै सबै स्थानमा पुग्न सक्छन् ।
पिता नापमा इञ्च बित्ताहरूमा । ३९
पिता पर्वको हर्षमा हर्कमा छन् ।
पिता खर्चको तर्खरी गर्नमा छन् ।
पिता पौरखी पाखुरामा चिनिन्छन् ।
पिता लेकको लेक लेखर्कमा छन् । ४०
पिता पेट पाल्छन् पिता छानु टाल्छन् ।
पिता कर्मले दुःख आफ्ना पखाल्छन् ।
जिउँन् माम खाई भनी नित्य सन्ध्या ।
चुलोमा सबेरै पिता अग्नि बाल्छन् । ४१
कुचीकार बन्छन्
कतै हुन्न धूलो ।
बढारेर
फ्याँकछन् सबै झारमूलो ।
सदा व्यस्तमा
व्यस्त बन्छन् पिताजी ।
सबै काम गर्छन्
न सानो न ठूलो ।४२
पिता माघको शीतमा प्वालमा छन् ।
पिता चैत्रको स्याँठमा कानमा छन् ।
पिता श्रावणी भेल खोल्सीहरूमा ।
पिता आश्विनी मास दोकानमा छन् । ४३
बडो होस् कि
सानो कि होस् यो हलुङ्गो ।
कतै बोक्न गाह्रो छ भारी गह्रुङ्गो
।
पिता आउछन् ठस्ठसी कन्न थाल्छन् ।
र बोक्छन् नबोली गह्रुङ्गो
हलुङ्गो ।४४
कतै नाम दर्ता कतै दाम दर्ता ।
र अड्डाहरूमा कतै काम दर्ता ।
पिता नै सबै कुद्धछन् यत्रतत्र ।
बडेमा बडे कामको कार्यकर्ता ।४५
कुनै काम गर्दा फिटिक्कै नबोल्ने ।
कुनै काम गर्दा बढी बोल्नु पर्ने ।
जसो जे गरुन् गर्दछन् सत्यकर्म ।
उनै काम गर्छन् र बोल्नै नपर्ने ! ४६
बिरामी परेका लडेका सुतेका ।
कतै देखिँदैनन् पिताजी बसेका ।
म सञ्चै छु भन्छन् सधैँ नै पिताजी ।
सधैँ एकनासे बनेका बनेका । ४७
कतै दुख्छ होला कतै पोल्छ होला ।
कतै चोट लाग्ला र सुन्निन्छ होला ।
पिता दु:ख आफ्ना लुकाएर राख्छन् ।
सबै रोग झन् भित्रका गानुगोला । ४८
पिता नेत्रमा अश्रुधारा हुँदैनन् ।
बसी दु:खमा आँगनीमा रुँदैनन् ।
कता जान्छ जम्मै तितो आँसु जो छ ।
पिता सुँक्क गर्दै परेली धुँदैनन् । ४९
जसो जे भन्यो हाँस्दछन् यी मुसुक्क ।
जसो जे भन्यो गर्दछन् यी लुसुक्क ।
सकी काम छिट्टै पिता सास फेर्छन् ।
सबै काम गर्छन् र बस्छन् टुसुक्क । ५०
पिता ज्ञानमा मान सम्मानका हुन् ।
पिता ध्यानमा मान सम्मानका हुन् ।
पिता बातमै ज्ञान बग्छन् सलल्ल ।
पिता पूर्ण जीवन्त सत्कामना हुन् । ५१
मसीमा कपीमा र पानाहरूमा ।
नयाँ इस्कुले चट्ट जामाहरूमा ।
पिता पुग्दछन् फुत्त कुध्दै तुरुन्तै ।
दिवा भोकमा टन्न खाजाहरूमा । ५२
कतै सिर्कना डाम सुम्लाहरूमा ।
चिमोट्ने कतै हात औँलाहरूमा ।
पुरानै पिँढीमा पिता पाठ बुझ्छन् ।
यिनै पाठ घोकी सबै पास हुन्छन् । ५३
पिता कर्मका ज्योति दिन्छन् सुशिक्षा ।
पिता धर्ममा ज्योति दिन्छन् सुदिक्षा ।
पिता बन्दछन् पाठशाला अनौठा ।
पिता प्रश्न आफैँ उनी नै परीक्षा । ५४
पढी ज्ञान पाई अझै सिक्न भन्छन् ।
म हारूँ तिमी नै अझै जित्न भन्छन् ।
तिमी विश्वमा चम्क राम्रो भनेर ।
सबै काममा बिक्न झन् टिक्न भन्छन् । ५५
यता छैन मेरो पिता ल्याइदिन्छन् ।
उता छैन मेरो पिता ल्याइदिन्छन् ।
कसो के गरी ल्याउँछन् यी खुरुक्क ।
म चाहन्छु जेजे सबै ल्याइदिन्छन् । ५६
कुवा पोखरीका कतै तिर्तिरे हुन् ।
कुनै हाट घुम्दा नयाँ तिर्मिरे हुन् ।
किनी ल्याइदिन्छन् कि आफैँ बनाई ।
कुनै बाँसका मात्र यी फिर्फिरे हुन् । ५७
पिता खेल्दछन् मित्रझैँ साथसाथ ।
पिता बोल्दछन् पुत्रझैँ साथसाथ ।
कतै पीरमर्का परुन् जिन्दगीमा ।
पिता खोल्दछन् ती सबै बात साफ । ५८
सधैँ साथमा छन् पिता मित्र माया ।
सधैँ गाथमा छन् पिता छत्रछाया ।
दयाशीर्ष ब्यक्तित्वका श्रोत हुन् यी ।
जगत् सृष्टिका मूल शीर्षस्थ काया । ५९
सबै सञ्च हुन् कामना शुद्ध जाति ।
र आरोग्यताका पिता पक्षपाती ।
पहिले बचाऊ भनी बोल्न थाल्ने ।
कहिल्यै विसञ्चो नहुन्, हुन् नजाति । ६०
कतै हुन्छ लागो कतै चल्छ बायु ।
कि छौँडी कि बोक्सी बसी हेर्छ दाउ ।
भए गानुगोला पिता मन्सिनेछन् ।
भगाई सबै, थप्दछन् नित्य आयु । ६१
पिता वैद्य हुन्छन् र धामी बनिन्छन् ।
पिता आजको आज झाँक्री बनिन्छन् ।
लुतो होस् पखाला ज्वरो आउँ हैजा ।
निको चट्ट पारेर दामी बनिन्छन् । ६२
पढी सक्दछन् ती जसै पुत्र पुत्री ।
बढी सक्दछन् ती सबै पुत्र पुत्री ।
पिता साथ दिन्छन् ल खोजौँ भनेर ।
सबै जागिरे बन्दछन् पुत्र पुत्री । ६३
जसै ती सुपुत्री बढी ज्यान लिन्छन् ।
मयूरी जसै चालले हिँड्न थाल्छन् ।
पिता बुझ्दछन् कर्म पुत्रीहरूको ।
बिहे गर्नमा ती पिताजी खटिन्छन् । ६४
जसो जे पर्यो गर्दछन् सो तयारी ।
फुली नाकमा, झन् गला स्वर्ण हारी ।
नराम्रो नबोलून् कसैले भनेर ।
पिता गर्दछन् दाइजोको तयारी । ६५
पिता ब्याउला खोज्दछन् चट्ट राम्रा ।
सबै थोकले पूर्ण ज्ञानी र राम्रा ।
झिकी एक टुक्रो कलेजी कुनाको ।
बिदाई गरी एक आफ्नै मुनाको । ६६
पिता सोध्दछन् साथ राम्रो नराम्रो ।
पिता जान्दछन् बात राम्रो नराम्रो ।
सधैँ खोज्दछन् ज्वाइँ छोरी र नाति ।
पिता बुझ्दछन् प्यार राम्रो नराम्रो । ६७
जुँघा उम्रिए पुत्रका ओठमाथि ।
पिता धर्म बुझ्छन् सबै भाँति भाँति ।
उनै खोज्दछन् एक कन्या सुनौली ।
सबै बुझ्दछन् कूल के हो र जाति । ६८
सबै पुत्रको कर्म सत्कर्म गर्छन् ।
पिता माग्दछन् हात कन्यार्थ बन्छन् ।
बुझी धेर धेरै गरी झन् चिनारी ।
र भित्र्याउछन् एक कन्या कुमारी । ६९
पिताको छ दायित्व आफ्नै प्रकार ।
पिता भिन्न छन् कर्ममा बारबार ।
भए पुत्र जेठा र कान्छा सबैमा ।
अरू माइला साहिँला झन् भएमा । ७०
पिता गर्दछन् अंशबण्डा मिलेर ।
सबै खेत बारी मिलाई दिएर ।
कुनै धेर थोरै कतै हुन्न हुन्न ।
सबै ढुक्क आनन्द आनन्द हेर । ७१
पिता राख्दछन् भूमि आफ्नो भनेर ।
छ ज्यूँनी पिताको उही भाग फेर ।
दिई जो बचेको छ आफ्नो बनाई ।
पिता थाल्दछन् गर्दछन् बारबेर । ७२
स्वयं मृत्यु पश्चात् गरुन् यी भनेर ।
सबै प्रेत कर्मादि हुन्छन् भनेर ।
पिता साँच्दछन् अन्न पानी र मुद्रा ।
म आफैँ छिटै मोक्ष हौँला भनेर । ७३
पिता प्रेम गर्छन् पिता रेखदेख ।
पिता धर्म गर्छन् नबिर्सी अशेष ।
पिता आँटमा शक्ति सामर्थ्य भर्छन् ।
पिता कर्म गर्छन् उनीसामु जे छ । ७४
पिता बात बुझ्छन् त बाख्राहरूको ।
पिता बात बुझ्छन् पठेक्राहरूको ।
कराएर म्याँ म्याँ फगत् मात्र गर्दा ।
पिता बात बुझ्छन् लठेप्राहरूको । ७५
सबै काम गर्छन् तुरुन्ता तुरुन्तै ।
सबै ठिक्क पार्छन् तुरुन्ता तुरुन्तै ।
अरूले नगर्ने सबै काम गर्छन् ।
खसी बन्छ बोको तुरुन्ता तुरुन्तै । ७६
पिता भूतका झन् कहानी अझै हुन् ।
पिता आउने त्यो बिहानी अझै हुन् ।
दह्रो सूत्रले उन्न सक्छन् सबैमा ।
पिता एकताका निशानी अझै हुन् । ७७
कसैको उधारो कतै तिर्नुपर्ने ।
कतै सापटी छन् अझै माग्नुपर्ने ।
सबै चट्ट मिल्ने पिताजी हुँदामा ।
ऋणीका कतै ब्याज छन् भर्नुपर्ने । ७८
मिठा पाहुनामा पिता नै अगाडि ।
तिता दुष्टमा झन् पिता नै अगाडि ।
परैबाट चिन्छन् सबै हालचाल ।
सबै सामदामी पिता नै अगाडि । ७९
कतै आउँछन् माग्न जोगी भिखारी ।
कतै धाउँछन् शुद्ध भोले विहारी ।
पिता बुझ्दछन् चाल राम्रो नराम्रो ।
र भिक्षा दिनेछन् बिचारी बिचारी । ८०
पिता मोक्षमा अर्थमा कर्ममा नै ।
पिता ज्ञान विज्ञानमा धर्ममा नै ।
जुनै काममा सिद्ध हुन्छन् पिताजी ।
सबै जन्मको भेदको मर्ममा नै । ८१
पिता पर्ममा फुत्त मेलाहरुमा ।
पिता नीतिका गोप्य भेलाहरूमा ।
जता पुग्दछन् फुत्त फुत्तै तुरुन्तै ।
कुदी किन्दछन् सुत्त ठेलाहरूमा । ८२
पिता विष्णु
वैकुण्ठमाझैँ रहन्छन् ।
पिता एक हुन्छन्
सबै तृप्त हुन्छन् ।
उनै घुम्दछन्
फिर्दछन् ठाउँ ठाउँ ।
पिता खान
दिन्छन् र संतुष्ट हुन्छन् । ८३
पिता पाल्दछन्
पुत्र पुत्री जहान ।
पिता पाल्दछन्
वस्तु सारा बथान ।
पिता पाल्दछन
झन् पठेक्रा ससाना ।
पिता पाल्दछन्
ती बचेरा मसिना । ८४
पिता बाँड्दछन्
ती सबै अन्नदाना ।
पिता बाँड्दछन्
ती सबै घाँसदाना ।
सबै रम्दछन् पेट
पूजा गरेर ।
कतै हुन्छ खोले
कतै झोलचाना । ८५
बिरामी परेका
लुला लङ्गडाको ।
बिहानै सबेरै
मिठो माम पाक्यो ।
छ सद्दे ठिटो
ज्यान चौपट्ट राम्रो ।
उसैनिम्ति अर्को
नयाँ माम पाक्यो । ८६
पिता पाल्दछन्
झन् बिराला परेवा ।
पिता पाल्दछन्
ती मुसाका बचेरा ।
पिता पाल्दछन्
गोठ गाई र बाछा ।
पिता पाल्दछन्
गोरु भेडा र बाख्रा । ८७
सबै जीव जीवात्म
बस्छन् घरैमा ।
सबै माग्दछन्
अन्न पानी घरैमा ।
कताबाट खोजी सबै
ल्याइदिन्छन् ।
सबै पेट आनन्द
बस्छन् घरैमा । ८८
सबै भूत आत्मा
पिता तृप्त पार्छन् ।
सढेका डढेका सबै
तृप्त पार्छन् ।
कुनै झुन्डिएका
लडेका मरेका ।
दिई पिण्ड पानी
सबै तृप्त पार्छन् । ८९
पिता
पञ्चतत्वादि नै पाल्न सक्छन् ।
पिता पञ्चभूतादि
नै पाल्न सक्छन् ।
स्वयंभित्र
राखेर सम्पूर्ण सृष्टि ।
स्वयंले स्वयं
नै पिता पाल्न सक्छन् । ९०
पिता बीज छर्छन्
कुना कन्दरामा ।
पिता उब्जनी
गर्न सक्छन् गह्रामा ।
हलो गोरु फाली
जुवा मित्र साथ ।
पिता कर्म
गर्छन् सधैँ यो धरामा । ९१
स्वकर्मी बनी
नित्य टेर्दै नटेरी ।
पिता जोड्दछन्
खेत जग्गा घडेरी ।
अरू पुत्र
पुत्रादि जो जन्मिनेछन् ।
पिताजी स्वयं
खट्दछन् नित्य फेरि । ९२
पिता पाल्दछन्
जेष्ठ हुन् वा कनिष्ठ ।
पिता पाल्दछन्
दृष्य हुन् वा अदृष्य ।
बितेको गएको कि
होस् वर्तमान ।
पिता पाल्दछन्
आउने त्यो भविश्य ।
९३
पिता पूर्ण
बन्छन् सधैँ मातृसाथ ।
पिता स्वर्ण
बन्छन् सधैँ मातृसाथ ।
भएमा सधैँ साथ
अर्धाङि्गनी ती ।
सधैँ पूर्णमा
पूर्ण छन् मातृसाथ । ९४
कसैका पिताजी
नहोलान् घरैमा ।
र सम्झी पिताजी
त रोलान् घरैमा ।
किनी एक ऐना
तिमी हेर आजै ।
तिमीमै पिता छन्
तिमी हेर आफैँ । ९५
नमस्ते नमस्ते
नमस्ते पिताजी ।
नमस्ते म गर्दै छु धेरै पिताजी ।
जहाँ छौ जसो छौ तिमी पूर्ण नै छौ ।
तिमी पूर्णमा पूर्ण अङ्कै पिताजी । ९६
भनेको थिएँ लेखनी बग्दियोस् है ।
पिताको मिठो काब्य यो बन्दियोस् है ।
बग्यो सर्सरी लेखनी आज यस्तै ।
जसो जे भयो आज स्वीकार यस्तै । ९७
दुवै हात जोडेर अर्को नमस्ते ।
सबै भक्तिले भावले झन् नमस्ते ।
जसो कामना जे गरेँथेँ गणेश !
भयो आज पूरा नमस्ते नमस्ते ! ९८
कुनै बिघ्न बाधा कतै नै परेनन् ।
कुनै दु:ख कष्टादि पर्दै परेनन् ।
जसो लेख्न खोजेँ उही लेख्न पाएँ ।
कसैले कतै बिघ्न गर्दै गरेनन् । ९९
यिनै श्लोकमा अन्त्य गर्ने भएँ म ।
यिनै शब्दमा अन्त्य गर्ने भएँ म ।
पिताका पिताजी परम् पुज्य ब्रह्म ।
उही ब्रह्ममा अन्त्य गर्ने भएँ म । १००
पञ्जा, शार्दूलविक्रीडित छन्द २२९
मान्छे भित्र छ बीजमूल सबको, आकारमा के छ र ?
मान्छे मुख्य छ जीवमूल तहमा, साकारमा के छ र ?
बिब्ल्याँटो गर पूर्णरूप तन यो, पञ्जा निकालेसरि ।
धूलो झार कुटेर फाल मनको, पञ्जा कुटेझैँ गरी । १
आँखा बन्द गरेर साससँगमा, झन् भित्र जाऊ तिमी ।
सासैका भरमा सबैतिर डुली, फर्केर आऊ तिमी ।
सारा कञ्चन शुद्ध भाव जति छन्, हावा बनाऊ तिमी ।
जाऊ फुत्त छिरी उही पवनमा, सम्पूर्ण छाऊ तिमी । २
तातो सास मथेर ठोक्किन गई, आफैँ चिसो बन्दछ ।
आफैँ तप्प सरक्क झर्छ मुखमा, जो सोमझैँ बन्दछ ।
झर्दामा मधुरी मिठो अमृत झन्, तिम्रै महाऔषधी ।
अर्काको सब रोग देख्दछ जगत्, आफैँ तिमी औषधी । ३
पाँचै इन्द्रिय कर्मका जति सबै, ती ज्ञानका पाँच छन् ।
पट्याऊ गुजुमुज्ज पार सब यी, पञ्जाजसै बन्दछन् ।
पञ्जा नै अब बन्नु पर्दछ तिमी, आओस् र जाओस् हवा ।
पञ्जा मात्र बनेर बस्नु छ सदा, खेलोस् उही सर्वदा । ४
पक्का आउँछ एक हात कहिले, साक्षात् तिमीसाथ छ ।
पञ्जा लाउँछ एक फेर कहिले, जो ईश्वरी हात छ ।
सुल्टो पार्छ सरक्क एक करले, छोपिन्छ यो मूर्खता ।
पञ्जाभित्र बसेर ढुक्कसँगले, देखिन्छ यो पूर्णता । ५
दैवज्ञ सम्झिन्छु म, शार्दूलविक्रीडित छन्द २३०
के लेखूँ कविता म आज उनमा, कस्तो गरूँ वर्णन ।
आफैँ इन्द्रसमान छन् नगरमा, त्यो स्वर्गमा कञ्चन ।
गर्दै चम्चम केन्द्रमा गगनमा, साहित्य संसारमा ।
बोक्छन् हर्दम गोगने हृदयमा, साहित्यकै सारमा । १
बाँच्दाखेरि सरक्कसाथ यिनले, बाटो हिँडेछन् सही ।
आफ्नो जीवनकाल अन्त्य नहुँदै, माटो चिनेछन् सही ।
अज्ञानी म छु अल्मलिन्छु कहिले, जाने कता हो
कता ।
त्यो बेला म उसै उठेर थिगिरी, गर्दैछु थोरै यता । २
योगीझैँ उनले तिखो कलमले, मर्मज्ञ, आराध्यले ।
पारे जीवन अर्थपूर्ण चखिलो, स्वर्णाक्षरी काव्यले ।
बाटो छैन तथापि पुग्छ दुनियाँ, चिन्दैछ झन्
गोगने ।
बत्ती छैन परन्तु झल्मल यहाँ, बल्दैछ झन् गोगने । ३
आफ्नो गाउँ र मातृभूमि यिनले, माया गरे सर्वदा ।
भाषा अक्षरले र छन्द लयले, जोडेर बाँधे सदा ।
आत्मा बोल्छ मरेर प्राण जसको, सर्वज्ञ सम्झिन्छु म ।
टेम्केझैँ शिर उच्च हुन्छ जहिले, दैवज्ञ
सम्झिन्छु म । ४
रक गीत २३१
आउन त आयौ
मेरो जीवनमा तर ।
गई सकेपछि
तिमीभन्दा धेरै पर ।
अब अन्तै फर्क
माया,
अर्को जुनी
पर्ख माया,
अनि बनौँला
हामी बधूवर ।
(आउन त आयौ
मेरो जीवनमा तर... )
थोरै कुरा म
गर्नेछु थोरै कुरा तिमी गर ।
बरपीपलु जस्तै
बनौँ एकलाई अर्को भर ।
चिन्छौँ हामी
त्यो चौतारी,
उस्तै हुन्छ
त्यो द्यौराली,
चौतारीमा
ढुङ्गा साटी,
द्यौरालीमा
फूल भाकी,
हामी सरौँला
अलि वरवर ।
(आउन त आयौ
मेरो जीवनमा तर... )
अहिलेको माया
सम्झी अर्को जुनी माया गर ।
रित्तो रित्तो
भएँ भने माया तिमी भर्दै गर ।
अहिले आँसु
रोक माया,
आफ्ना दु:ख
छोप माया,
द्यौराली र
चौतारीले,
सम्झाउँछन्
हाम्रो माया,
अनि बनौँला
एकै घरथर ।
(आउन त आयौ
मेरो जीवनमा तर... )
बिर्सिनुस् है
भरे, स्रग्विणी छन्द, २३२
जे छ आफ्नो सबै
बिर्सिनुस् है भरे ।
जो छ आफ्नो सबै
बिर्सिनुस् है भरे ।
सम्झना, कल्पना, कामना, भावना ।
आउने गर्दछन्
बिर्सिनुस् है भरे । १
दुःख बाटाहरू, घाउ खाटाहरू ।
प्रेम वाचाहरू
बिर्सिनुस् है भरे ।
कृष्ण होस्, कंश होस्, राम वा रावण ।
देव, देवी, स्वयं, बिर्सिनुस् है भरे । २
ध्यानको चाहना, मोक्षको तिर्सना ।
स्वर्ग सम्भावना, बिर्सिनुस् है भरे ।
नीद, सम्भोगमा, मात, बेहोसमा,
हुन्न, आनन्दमा बिर्सिनुस् है भरे । ३
सोच संयन्त्र जो
खुर्किनुस्, फाल्दिनुस् ।
एकछिन् शून्य नै
बिर्सिनुस् है भरे ।
बिर्सिँदा
बिर्सिँदा बिर्सिँदा बिर्सिँदा ।
बिर्सिएको कुरै
बिर्सिनुस् है भरे । ४
रचना, भुजङ्गप्रयात छन्द २३३
म बाँच्दै थिएँ फेरि मारेर
छाडिन् ।
छु ज्यूँदो यसै लास पारेर छाडिन्
।
भिजेका परेली दुवै सुक्न
लाग्दा ।
बसी सम्झनामा रुवाएर छाडिन्
।
म जाँदै थिएँ अन्त एक्लै
रमाई ।
पछ्यौरी उनैले छुवाएर छाडिन्
।
थिए प्रेमका द्वार खुल्दै
नखुल्ने ।
सबै ह्वाङ्ग पार्दै उघारेर
छाडिन् ।
पसी भित्र झन् यो सिएको
कलेजी ।
चुँडाएर धागो उधारेर छाडिन्
।
बगे रक्त थोपा गरी तप्प तप्प
।
छिटा अञ्जुलीले उघाएर छाडिन्
।
न सिन्दूर लाइन् न लाली
लगाइन् ।
उसै रक्त थोपा चुहाएर छाडिन् ।
गीत, पञ्चचामर छन्द, २३४
महेशको जटाटवी
ससूत्र बर्बराइदे ।
गरेर ताण्डवी
अझै थुरुर्र थर्थराइदे ।
त्रिशूलले र
भालले सशक्त दर्फ़राइदे ।
खिचेर नाभि
दाँतले ...
थिचेर घाँटि
हातले ...
परक्क पार् न
दुश्मनै र भूमिमा गिराइदे ।
जरै थुतून् न
जिह्वको कतै नलर्बराइदे ।
डराउने
हिसाबले ...
र गोरखा
निसाफले ...
म मर्छु देश
बाँच्छ यो भनी अझै कराइदे ।
बनेर
रक्तकालिका चुसेर सत्रु मारिदे ।
नटेक् न वीरका
घुँडा ...
समीपमै छ यो
खुँडा ...
उठेर हिम्मती
बनी उतै घुसेर मारिदे ।
बलिष्ट पाउ
देशका कतै नलर्खराइदे ।
सिरान उच्च
हैममा ...
हिमाल शैल
शैलमा ...
बिहान चन्द्र
सूर्यको निशान फर्फराइदे ।
रचना, भुजङ्गप्रयात छन्द २३५
कसैले नहेर्दा
उनी हेर्न सक्छन् ।
कसैले नटेर्दा
उनी टेर्न सक्छन् ।
उनैको छ
लेख्ने उनैको छ मेट्ने ।
मिठो भाग्य
रेखो उनी केर्न सक्छन् ।
चिसा हात
मात्रै सबै भेटिएमा ।
अँगालो मिठो
त्यो उनी बेर्न सक्छन् ।
कतै दुष्ट
पापी फटाहा भएमा ।
लुकी फुत्त आई
उनी घेर्न सक्छन् ।
यिनै कृष्ण विष्णु
यिनै राम बन्दै ।
स्वयंले स्वयं
नै उनी फेर्न सक्छन् ।
शब्द र
जिन्दगी, भुजङ्गप्रयात
छन्द २३६
भए धेर ऐना
उही बिम्ब देख्छन् ।
सबैका सबै नै
उही सूर्य देख्छन् ।
सबै स्थानमा
सूर्य जो आउँदैन ।
सबै जिन्दगी
शब्दमा आउँदैन । १
नदी जिन्दगी
हो कटौरा छ शव्द ।
कटौरा छ सानो
नदी हुन्छ भब्य ।
कटौरा भरीमा
नदी आउँदैन ।
जसै जिन्दगी
शब्दमा आउँदैन । २
कुनै काव्यमा
भाव हुन्छन् तथापि ।
सबै टल्कने
स्वर्ण हुन्नन् कदापि ।
सबै भावना
काव्यमा आउँदैन ।
जसै जिन्दगी
शब्दमा आउँदैन । ३
म लेखूँ
प्रियाको मिठो सभ्य हाँसो ।
हुँदै हुन्न
उस्तै, यही हो गुनासो
।
उही ठ्याक्क
हाँसो कतै आउँदैन ।
सबै जिन्दगी
शब्दमा आउँदैन । ४
उता मर्छ
मान्छे उतै झर्छ आँसु ।
मिठा शब्दले
रोक्न सक्दैन आँसु ।
तितो वेदना
काव्यमा आउँदैन ।
सबै जिन्दगी
शब्दमा आउँदैन । ५
टु माइ
भ्यालेन्टाइन ! मन्दाक्रान्ता छन्द २३७
चाला हेर्दा
सुर असुरका, एकता
खल्बलिन्छन् ।
बोली सुन्दा
ऋषि मुनिहरू, देवता
अल्मलिन्छन् ।
हेर्छिन्
उस्तै मृग नयनले, बाण छोड्लिन्
कि जस्ती ।
हेर्दा हेर्दै
तरुण वयको, प्राण
तोड्लिन् कि जस्ती । १
पूजा गर्छन्
तनमन दिई, पञ्चकन्याहरूले
।
सुम्पी
दिन्छन् मुकुट मणि नै, नागकन्याहरूले ।
हिँड्दा बस्दा
कमर लचिलो, चट्ट आकार
राम्रो ।
ठूला आँखा, अधर मसिना, छैन केही नराम्रो । २
मानौँ यौटी
भुवनभरकी, प्रेमकी मूल
खानी ।
रङ्गीचङ्गी
रससहितकी, बागकी फूल
रानी ।
नाच्छिन्
राम्रो छमछम गरी, अप्सरा मात
खान्छन् ।
उस्तै पर्दा
विनय मनले, इन्द्र नै हात
माग्छन् । ३
यस्ती देख्दा
हृदयतहको, अङ्ग नै
सल्बलायो ।
मेरो आफ्नै
सबल तनमा, प्रेम आफैँ
पलायो ।
आऊ प्यारी !
अब निकटमा, पुष्पमाला
सजाई ।
नाचौँ हाँसौँ
अब सँगसँगै, प्यार साटौँ
लजाई । ४
यस्तो मुला के
कवि ! शार्दूलविक्रीडित छन्द २३८
लेख्दा भाव
सुभाव यो हृदयको, आधाजसो छोप्छु
म ।
बाँड्दा
कुण्ठित वेदना हृदयको, आधाजसो पोख्छु म ।
आफैँ लेख्छु र
पढ्छु हेर्छु कविता, मानौ स्वयं
पाठक ।
छुट्छन् भाव र
मुख्य मर्म जहिले, यो नै बन्यो
घातक ! १
लेखी सक्छु र
सोध्छु भित्र मनमा, लेखेँ सबै जे
थियो ?
जेजे पोख्नु
थियो कुरा मगजका, जम्मै उही
पोखियो ?
केको लेख्नु न
ओर्नु फुस्स सकियो, जम्मै छ बाँकी
सब !
लेखूँ चार कि
पाँच सात कविता, छोडूँ कि
लेख्नै अब ? २
मानौँ प्रेम म
लेख्न खोज्छु दिलको, आफ्नोपनाको तर
।
आफ्नै प्रेम
उतार्न सक्दिनँ भनेँ, के लेख्नु यी अक्षर ।
सिङ्गो सूर्य
म लेख्न खोज्छु कहिले, बन्दैन मेरो टुकी ।
लाखौँ अर्व
हजार लुक्छ मनमा, लेखिन्छ
मात्रै सुकी ! ३
यौटा तस्बिर
घुम्छ फन्फन गरी, आकार दे भन्दछ
।
छानी शब्द
चिटिक्कका गजबका, साकार दे
भन्दछ ।
हस् हस् भन्छु
र कोर्न थाल्छु कविता, सम्झिन्छु उस्तै छवि ।
मोटो तस्बिर
बन्छ सुत्त सुकुटे, यस्तो मुला के
कवि ! ४
गजल, भुजङ्गप्रयात छन्द २३९
भई जान्छ जो टार्न सक्दैन
कोही ।
उही काल हो, मार्न सक्दैन कोही ।
उसैको छ बैना उसैको छ ठेक्का
।
छ भाका उही, सार्न सक्दैन कोही ।
लुकी बस्छ ऊ मार्छ लैजान्छ
माथि ।
गयो जो उँभो, झार्न सक्दैन कोही ।
सधैँ मस्तले डुल्छ भेटिन्न
फेरि ।
कतै छेक्न वा बार्न सक्दैन
कोही ।
जसै आयुले डाक्छ गर्दै इसारा
।
उतै कुद्दछन्, हार्न सक्दैन कोही ।
बाँकी अरू के छ र, शार्दूलविक्रीडित छन्द २४०
आऊ कृष्ण यतै बसौँ सँगसँगै, वैराग्य जाओस् पर ।
सम्झौँ प्रेमिल सम्झना अब
सबै, नैराश्य भागोस् पर ।
सक्छौ सम्झिन पूर्ण रुप नसके, आधा तिमी सम्झिनू ।
छेवैमा यदि रुक्मिणी पनि भए, राधा तिमी सम्झिनू । १
ल्याऊ ध्यान र योग तेज बलले, तिम्रा सबै दर्शन ।
थालून् दर्शनासाथ चट्ट मिसिई, ती राधिका वर्षन ।
आउन् झल्झल सम्झना मन भरी, आत्मा रमाओस् अति ।
थालून् जिस्किन साथमा निकटमा, जो प्रेमकी ओखती । २
उस्तै छन् अझ राधिका चुलबुले, जस्ता कि तस्तै उनी ।
बल्दो रूप र यौवना झलमली, छन् मैनजस्तै उनी ।
बुढ्यौली तन रूप छैन उनको, मुस्कान नै खास छ ।
मेरी झन् अझ कामिनी, वदनमा चाञ्चल्यकै बास छ । ३
आ-आफ्ना प्रिय पात्र सम्झिन
पुगौँ, गर्दै गरौँ गन्थन ।
आ-आफ्ना मुटु-मित्र चिन्तन
गरी, लेख्दै गरौँ वर्णन ।
दीगो प्रेम प्रसङ्ग चल्छ
जहिले, प्रेमीहरूमा जब ।
हाम्रो प्रेम सदैव सम्झन पुगून्, बाँकी अरू के छ र ! ४
सास, शार्दूलविक्रीडित छन्द २४१
आफैँ नै यमराज
काल नभए, के मृत्यु
चिन्छौ तिमी ।
बाँच्दा नै
यमदूत ढाल नभए, के मृत्यु
जित्छौ तिमी ।
तिम्रो तर्क र
बुद्धि नास छ भने, के मृत्यु
देख्छौ तिमी ।
तिम्रो चेतन
पूर्ण शून्य छ भने, के मृत्यु
छेक्छौ तिमी ! १
मेरो एक मुठी
छ सास मुटुमा, बाँच्दै छु
भन्छौ तर ।
त्यस्तो सास उडेर
जान्छ सबको, फुस्केर
छिट्टै पर ।
फेर्दैनन्
अहिले त सास ऋषिले, वा देवकोटा तर
।
बाँचेकै पनि
छन् सबैतिर उनै, त्यो सासमा के
छ र ! २
पाली र्याल
सिँगानको र पिपको, या मूत्रको
गन्दगी ।
बाँच्दा नै
अमरत्व प्राप्त नगरे, के बाँच्नु यो जिन्दगी ।
जान्यौ जित्न सकिन्छ
मृत्यु जहिले, ज्यूँने तयारी
गर्यौ ।
मान्यौ जीवन
अर्थहीन जहिले, ज्यूँदो हुँदा
नै मर्यौ । ३
तिम्रा सालिक
चित्र तस्बिरहरू, वा मूर्तिमा
प्राण होस् ।
तिम्रा कर्म
सधैँ रही भुवनमा, झन् मान
सम्मान होस् ।
तिम्रो सास
उडेर जान्छ छिनमा, विश्वास पक्का
गर ।
छोडेमा यदि
कर्म काब्य गतिला, बाँच्छौ
शताब्दीभर ! ४
जोसँग
सम्बन्धित छ, शार्दूलविक्रीडित
छन्द २४२
खन्ती एक
फलामको कर लिई, खन्नू लगाई बल
।
खाँबो एक
चिटिक्कको र खिरिलो, गाढ्नू निकै
भूतल ।
पार्नू सम्म
खनेर चट्ट भुइँमा, छेस्का हटाई
सब ।
हाल्नू सोत्तर
स्याउला जतनले, ओच्छ्याउनू
त्यो अब । १
दाम्लो
प्लास्टिकको कि होस् अति दह्रो,चोयाहरूको मिलोस् ।
तान्दा
चुँड्नु हुँदै हुँदैन कसिला, पोयाहरूको लिनोस् ।
हाल्नू घाँस
सबै चुनेर हरिया, डाले कि होस्
वा अरू ।
आँफै गोरु
बनेर गोठतिरमा, बस्नू सधैँ नै
बरु । २
खानू टन्न
अघाउनू दिन भरी, खोले जुठो जे
मिलोस् ।
उग्राऊ गजधम्म
रातभर नै, टोकोस् कि
जेले चिलोस् ।
अर्कैको खनजोत
गर्न कसिने, माटो नचिन्ने
कठै !
आफ्नै खेत
सदैव बन्जर हुँदा, राँटो नछिन्ने
कठै ! ३
जो जो आउँछ
हात पार्दछ अनौ, जोत्ने उही भो
छली ।
केको चिन्नु न
जान्नु स्वाँठ पशुले, अर्कै छ तिम्रो हली ।
तिम्रो बुद्धि
विवेक चेत सकियो, मान्छे भनूँ
के गरी ।
लामो पुच्छर
साथमा सिङ दुई, टाँसी दिनोस्
हे हरि ! ४
पाऊँ म तातो
कहाँ, शार्दूलविक्रीडित
छन्द २४३
भेट्दाखेरि
सुटुक्क साँझ पहिले, साथी भएकी
थिइन् ।
आँखा तल्तिर
लाजले सरमले, राती भएकी
थिइन् ।
त्यो रातोपन
फेरि देख्छु कि भनी, आऊ भनेको थिएँ
।
बोली बन्द
गरेर गीत मनको, गाऊ भनेको
थिएँ । १
बाटो हेर्छु
अबेरसम्म डिलमा, आइन् कि उस्तै
भनी ।
चौतारीनिर आज
साँझतिरमा, धाइन् कि
उस्तै भनी ।
ताता घाम
पुगेर पश्चिम डुबी, तारा उदाए सब
।
तारा चम्चमसाथ
आज मनका, आशा हराए अब ।
२
पक्का भेट्न
भरे म आउँछु भनी, वाचा गरेकी
थिइन् ।
राखी हात
निधारनेर शिरमा, बादा गरेकी
थिइन् ।
तिम्रो साथ
समीपता नजरको, हो स्वर्ग
भन्थिन् उनी ।
तिम्रो काख
सिरान एक पलको, सर्वस्व
भन्थिन् उनी । ३
आउन्नन् किन
हो कुदेर मसँगै, अर्कै फकाइन् कि
त ।
रातै पार्छु
भनेर चट्ट उसकै, सिन्दूर लाइन्
कि त ।
बल्दो त्यो
अनुहारको र शिरको, पाऊँ म रातो
कहाँ ।
काम्दै थर्थर
काट्छु रात पुषको, पाऊँ म तातो
कहाँ । ४
लाग्दैछ आजै मरूँ ! शार्दूलविक्रीडित छन्द २४४
मान्छे व्यक्त भनिन्छ, बोल्छु म सधैँ, अभ्यस्त छु बोल्नमा
।
केही व्यक्त हुँदैन जे छ मनमा, अव्यक्त छु
खोल्नमा ।
बोलूँ बोल्न सकिन्न मन्त्र गतिला, फत् फत् गरूँ
के गरूँ ।
तेर्सो मूर्ति बनेर बोल्न सजिलो, लाग्दैछ आजै
मरूँ ! १
ढुङ्गो ठिङ्ग उभिन्छ मूर्ति विचरो, जम्मै कुरा
खोल्दछ ।
तेरो ईश्वर पुज्न आइज भनी, ऊ नै बढी बोल्दछ ।
सुन्छन् चङ्ख भएर मानव सबै, जो बात ऊ गर्दछ ।
सिङ्गो शास्त्र बनेर बोल्दछ उही, आफैँ न यो
मर्दछ । २
जो हो शास्त्रविहीन मूर्ख चतुरो, बुङ्गो बढी
बोल्दछ ।
बाठो नै यदि मूर्तिकार किन होस्, ढुङ्गो बढी
बोल्दछ ।
त्यो ढुङ्गो जसरी म बोल्दछु भनेँ, सुन्लान्
सबैले बरु ।
त्यस्तो ईश्वर बन्न, बोल्न म छिटै, लाग्दैछ आजै
मरूँ ! ३
मान्छे ईश्वर, मूर्ति हैन भगवान्, भन्दैछु पुज्दैछु म ।
कोही सुन्न तयार छैन किन हो, देख्दैछु बुझ्दैछु म ।
यो भन्दा बरु खाटबाट खटमा, लाग्दैछ डेरा सरूँ ।
ढुङ्गे-मूर्ति समान व्यक्त बनिँदै, लाग्दैछ आजै
मरूँ ! ४
कवि र कविता, अनुष्टुप् छन्द २४५
टेकेर छन्दको डुङ्गा मात्रै यी तर्दछन् भने ।
पुगेर पारि के भो र कविता मर्दछन् भने ।
म लेख्दैछु म जाग्दैछु भन्दैछन् कतिले तर ।
कवि जागेर के भो र कविता मर्दछन् भने ।
दिनकै लेख्छु पाँचोटा सातोटा कवि भन्दछन् ।
धेरै लेखेर के भो र कविता मर्दछन् भने ।
अनौठा छन्द जान्दैछन् छान्दैछन् शब्द तत्सम ।
छन्द छानेर के भो र कविता मर्दछन् भने ।
तर्दैछन् पद्यको बाढी भन्दैछन् बाँचियो अब ।
कवि बाँचेर के भो र कविता मर्दछन् भने ।
रचना, भुजङ्गप्रयात
छन्द, २४६
अचम्मै गर्यो
दैवले आज राति ।
पुराना कुरा
मात्र ल्यायो ममाथि ।
कतै बाल लीला कतै
बैँस क्रीडा ।
सबैका सबै याद
आयो ममाथि ।
उनै प्रेमिका
सम्झना भित्र ल्याई ।
उही प्रेम चोखो
खन्यायो ममाथि ।
लगी नीद अन्तै
कता हो कता हो ।
सबै रात छर्लङ्ग
पार्यो ममाथि ।
दुवै नेत्र यी
चिम्म गर्दा नगर्दै ।
नयाँ घाम अर्को
उदायो ममाथि ।
बूढो भएँ के गरी
? शार्दूलविक्रीडित छन्द, २४७
तिम्रो रूप धपक्क
देख्छु म सधैँ, आँखा दुवै प्रस्ट छन् ।
बोली सुन्छु र
चिन्छु झट्टसँगले, यी कान झन् प्रस्ट छन् ।
खाने गर्छु म शुद्ध
मिष्ट गतिलो, बोल्दैछु प्रस्टै गरी ।
यस्तोमा अहिले म
सोध्दछु सखे ! बूढो भएँ के गरी ? १
हेर्दामा पनि
चाउरी कहिँकतै, देखिन्न छालातिर ।
फुस्रा दागहरू
कतै पनि अझै, देखिन्न गालातिर ।
हड्डी चुस्त
दुरुस्त मस्त दह्रिला, हिँड्दैछु ठम् ठम् गरी ।
के पो छैन ममा
छिटो भन तिमी, बूढो भएँ के गरी ? २
आऊ बोक्छु म
लान्छु आज घरमा, चाँडै तिमी आउनू ।
यस्तो हिम्मत आँट
बोक्छु मनमा, कस्तो नपत्याउनु !
के गर्छौ अब
भन्नुपर्छ अहिले, राख्नेछु रानीसरि ।
राजा बन्न अझै
तयार छु सखे ! बूढो भएँ के गरी ? ३
मेरो प्रेम
पवित्र हुन्छ जहिले, वैलन्न झर्दैन यो ।
तन्नेरी मन बृद्ध
हुन्न कहिले, पक्का छ मर्दैन यो ।
के देख्यौ तनमा
कि भित्र मनमा, थाहा भयो के गरी !
ऐना हेर्छु ठिटो
छु पुष्ट तरुनो, बूढो भएँ के गरी ? ४
देखाउला के मुख
?! शार्दूलविक्रीडित छन्द, २४८
कालो मेघ
गड्याङ्ग गर्छ नभमा, राधा डराइन् कि त ।
झर्दा बादलमाझ
साँझ पखमा, राधा हराइन् कि त ।
बाक्लो हुस्सु
चिसो अझै असजिलो, राधा कराइन् कि त ।
हा हा कृष्ण
! नछोड साथ भनिने, त्यो गीत गाइन् कि त ।
१
इन्द्रेणीसँग
भेटमा र रङमा, थोरै लजाइन् कि त ।
मागी रोगन
रक्तवर्ण सिउँदो,थोरै सजाइन् कि त ।
बिर्सेका अघिका
तिता विरहका, बाधा भगाइन् कि त ।
सम्झी कृष्ण
मुहार भित्र मुटुमा, रातै लगाइन् कि त । २
ल्याई त्यो रङ
माथमा र करमा, दर्किन् कि पृथ्वीभरि ।
हान्दै बेग समान
वायु गतिले, छर्किन् कि पृथ्वीभरि ।
डाँफेको तनमा
मयूर शिरमा, घेरा लगाइन् कि त ।
पाखा पर्वत
कोपिला र रुखमा, डेरा जमाइन् कि त । ३
भोगी,
सज्जनवृन्दका, कुकुरका, अन्यादिका आदिका ।
जम्मैका मुटुमा र
केन्द्र सबमा, छन् राधिकै राधिका ।
मान्छेका मनमा,
नसा, रगतमा, छन् सासमा, कालमा ।
चारैतर्फ दसैदिशा
भुवनमा, राधा उही तालमा । ४
तेस्रो नेत्र
नियाल देख्नु छ भने, संसार राधा सब ।
थोत्रा नेत्र
फुकाल हेर असली, के भन्नु मैले अब ।
बाँच्दै चिन्न
सकेन जो मनुजले, भेटेन राधा सुख ।
मर्दा गोकुल
धाममा जब पुगी, देखाउला के मुख ?! ५
सञ्चले बाँच आज !
मन्दाक्रान्ता छन्द, २४९
जे गर्छन् यी सब
जनहरू, लाग्छ बेकार गर्छन् ।
गर्दा गर्दै दिन
तिथि गनी, लाग्छ बेकार मर्छन् ।
मान्छे भन्छन्
यति यति गरेँ, गर्न लाग्दैछु यत्रो ।
त्यत्रो गर्दा
पनि नसकिने, गर्न खोज्दैछ कत्रो ! १
जे गर्दैछन् अघि
पनि गरे, गर्न के नै छ बाँकी ।
गर्ने जम्मै अघि
पनि मरे, मर्न को नै छ बाँकी ।
नौलो गर्छौं अब
अझ भनी, खोज्दछन् आज कोही ।
केको हुन्थ्यो
भुवनभरमा, गर्न नौलो छ केही ? २
मान्छे मात्रै
अमर रहने, गर्न खोज्छन् सदैव ।
मान्छे होस् वा
सुँगुर कमिला, चिन्दथ्यो के र दैव ।
जोगीलाई बरु छ
सजिलो, छैन तेरो र मेरो ।
भोगीलाई विनय
मनले, यो छ सल्लाह मेरो । ३
स्वाँ स्वाँ
फ्वाँ फ्वाँ नित वदनका, नास टाढा भगाऊ ।
इच्छा आशा सकस
मनका, मास आजै हटाऊ ।
थोरै आस्था
अलिकति भए, ईशमा ध्यान लाऊ ।
चिन्दैनौ त्यो तर
यदि भने, मस्त आफैँ रमाऊ । ४
खाऊ पानी अलिकति
चिसो, टन्न पानी रमाओस् ।
खाऊ खाना अलिकति
मिठो, अन्न दाना अघाओस् ।
जेजे पर्ला
जतिजति परोस्, चल्छ यस्तै समाज ।
जे जस्तो छौ सुख
मन लिई, सञ्चले बाँच आज ! ५
भू स्वर्गको जीवन, शार्दूलविक्रीडित
छन्द २५०
कान्ता हात र मिष्ट भोजन हुने, त्यो स्वर्ग
के स्वर्ग हो !
बाबा साथ र मातृ काख छ यहाँ, भू स्वर्ग नै स्वर्ग हो ।
फर्की आउनु पर्छ धर्म सकिए, के काम भो स्वर्गको ।
चाहेको पनि बन्न नै नसकिने, त्यो स्वर्ग झन् नर्क हो । १
यस्तो जीवन बाँच हे मनुज हो, ईर्ष्या गरून् देवता ।
फाली लोभ र मोह कल्मषहरू, इच्छा बनून् बेपता ।
तिम्रो तेज अपूर्व मन्त्र बलले, पञ्चाग्नि झन्
दन्कियून् ।
गर्दै झल्मल मध्य रात नभमा, श्री सूर्य नै चम्कियून् । २
तर्दा सागर वा समुद्र र नदी, बाटो स्वयं छोड्दिऊन् ।
हिँड्दा हिंस्रक जीवजन्तु मुहुडा, अन्तै कतै
मोड्दिऊन् ।
छोएमा पनि मात्र शुद्ध करले, माटो अपुङ्गो बनोस् ।
टेकेमा यदि ती पवित्र पदले, चट्टान थुङ्गो बनोस् । ३
तिम्रो जीवन अर्थहीन नबनोस्, यो भू धरा धाममा ।
बाँच्नू, बाँच्न सकिन्छ लाख युग नै, दीर्घायुको कामना ।
देख्दा ज्ञान र कर्म धर्म गतिला, मानून् तिमी
ईश्वर ।
हेर्दा स्वर्ग बसेर देवगणले, ठानून् स्वयं नश्वर । ४
मात्रै एक उपाय हुन्छ यसको, बोल्छन् पुराना दसी ।
पक्का गर्न सकिन्छ पूर्ण घरमा, यद्वा वनैमा
बसी ।
झर्दा आँसु कतै कुनै हृदयका, आफ्नै भनी ती लिनू ।
मोतीझैँ मणि मूल्यवान् चहकिलो, पारेर फिर्ता
दिनू । ५
सरस्वती वन्दना,
इन्द्रबज्ज्रा छन्द २५१
सत्ज्ञान देऊ अझ
भारती हे !
विज्ञान देऊ न
सरस्वती हे !
तिम्रै कृपामा
जगदीश्वरी म ।
विद्वान् बनाऊ अझ
भास्वती हे ! १
त्यो हंसको बाहन
चढ्न सक्ने ।
वागेश्वरी हे !
सब पढ्न सक्ने ।
हे शारदा !
बुद्धि प्रदान गर्ने !
छौ बुद्धिदात्री
नित बढ्न सक्ने । २
दानी तिमी छौ
वरदान देऊ ।
ज्ञानी तिमी छौ
शुभ नाम देऊ ।
हे ब्रह्मरुपी !
हे चन्द्रघण्टा !
हे ईश्वरी ! शान
र मान देऊ ! ३
सम्पूर्णताकी
भुवनेश्वरी हे !
ब्रह्माण्ड
बुझ्ने जगदिश्वरी हे !
सत्कर्म सत्वाक्य
चुनेर देऊ ।
अम्बे जगत्की
परमेश्वरी हे ! ४
रचना, दिक्पाल
छन्द २५२
यो प्रार्थना छ मेरो, आऊ सबेर साथी ।
भेटौँ बिहान
चाँडै, आऊ सबेर साथी ।
जे जे हुने
हुनामी, टर्नेछ भोलिपल्ट ।
छिट्टै गरी
बिहानै, आऊ सबेर साथी ।
निम्तो दिँदैछु
मैले, यो प्रेमको चिठी हो ।
बुझ्नू कुरा तिमी
नै, आऊ सबेर साथी ।
हाम्रो सदैव
राम्रो, होस् प्यारको निशानी ।
पूरा हुनेछ
छिट्टै, आऊ सबेर साथी ।
के भन्नु लेख्नु
धेरै, विश्वास होस् ममाथि ।
टन्नै कुरा छ
भन्ने, आऊ मनेर साथी ।
हास्यगद्य, मुक्त छन्द, २५३
पहिले थिएन पछि पलायो, म के गर्नु त !
आफ्नै आँगनमा काग भलायो, म के गर्नु त !
न्वारनमा चाहिन्थ्यो रे, अगेनामा
पोल्नलाई ।
उसले व्रतबन्धमा जलायो, म के गर्नु त !
यति गरेपछि उच्छ्रिदैन, चिलाउदैन भन्दै
।
यता कन्यायो उता चलायो, म के गर्नु त !
विवाहमा त झन् नभई हुँदैन भन्दै ।
बातै बातमा गलायो, म के गर्नु त !
यो त किम्ती चीज हो, बेर्ना सार्नुपर्छ भन्दै ।
फेरि उस्तै अर्को फलायो, म के गर्नु त !
मान्छे बनाई
नदे ! २५४
मेरो जन्म सबै
निरर्थक भयो, बेकार यो नाश भो ।
मेरो मृत्यु
हुने छ निश्चित यहाँ, यो स्वर्गको बास हो ।
छानी जन्म
नयाँ नयाँ भुवनमा, फेरेर जम्मै तँ दे ।
ब्वाँसो स्याल
हुँडार हुन्छ बरु झन्, मान्छे बनाई नदे! १
के हो धर्म र
अर्थ मोक्ष अथवा, के काम हो जान्दिनँ ।
छन् रे वेद
पुराण वा उपनिषद्, केही कुनै मान्दिनँ ।
होला जन्म कतै
कुनै समयमा, हेरेर जन्मै तँ दे ।
सच्चा भक्त
बनी निवेदन गरेँ, मान्छे बनाई नदे ! २
चिन्ता पीर
हुने सदा मगजमा, चाहिन्न मस्तिष्क यो ।
माया मात्र
हुने सदा हृदयमा, चाहिन्न झन् प्रेम यो ।
मायाप्रेम
विहीनको सुँगुर वा, कुत्ता बनाई तँ दे ।
बिन्ती पत्र
बुझाउँदैछु भगवान्, मान्छे बनाई नदे ! ३
मान्छेको
अनुहारमा पशु भएँ, यो आयु धेरै भयो ।
व्यर्थैमा किन
फाल्नु जन्म यसरी, दीर्घायु खेरै गयो ।
ती अल्पायु
हुने झिँगा छिचिमिरा, कीरा बनाई तँ दे
चौरासी सय
जन्म दे तर विभो, मान्छे बनाई नदे !
............................. प्रभो.... मान्छे बनाई नदे ! ४
पञ्चचामर छन्द
रचना, २५५
हजार लाख छन्
कुरा सँगै बसेर सुन्छ को ?
सुनी मभित्रका
कुरा कठै ! भनेर रुन्छ को ?
असक्त रुग्ण
वृद्धझैँ सधैँ भएँ तिरष्कृत ।
प्रिया यहाँ
छु खै तिमी भनेर हात छुन्छ को ?
म जीर्ण
वस्त्रझैँ भई चुलो पुछेर बस्दछु ।
छ चाहना
रुमालको सियो लिएर तुन्छ को ?
असार भेलझैँ
गरी सलल्ल आँसु बग्दछ ।
पुगेर अश्रु
मूलमा पुछेर नेत्र थुन्छ को ?
म बोल्न खोज्छु
सासले हिरिक्क हुन्छु तापनि ।
तिता मिठा
कुरा सुनौँ भनी मसाथ हुन्छ को ?
नोस्टाल्जिया,
२५६
काट्थे घाँस
बुकी मुना र पदिना, काकाहरूले जब ।
सुँघ्थे
औषधिजन्य धूप र धुवाँ, बाबाहरूले जब ।
हेर्थे कञ्चन
शुद्ध पत्र हरिया, आँखाहरूले जब ।
सुन्थे शङ्ख र
घण्ट कान दुइटा, पूजाहरूमा जब ।१
खान्थे घट्घट
मूलको जल सधैँ, काकीहरूले जब ।
टोक्थे कट्टुस
दाँतले रस लिई, साथीहरूले जब ।
लाग्थ्यो फूल
थुँगा र चोप लहरा, जामाहरूमा जब ।
हुन्थे
गोबरयुक्त हात तकिया, आमाहरूका जब । २
हुन्थ्यो बर्त
र दान धर्म असली, योगादि गर्थे जब ।
सुत्थे मस्त
निदाँउथे सब जना, उठ्थे सबेरै जब ।
हिँड्थे
चप्पलहीन खालि पदले, कान्छाहरूले जब ।
गिँड्थे काठ र
दाउरा कटकटी, भान्जाहरूले जब । ३
फुक्थे चामल
थालमा र करमा, आलो र पालो गनी ।
बाचा मन्तरकी
फु हट् अब तँ जा, लागो र भागो भनी ।
काम्थे थर्थर
रात-रात नभनी, धामीहरूले जब ।
भाग्थे रोग
सबै सबै वदनका, जस्तासुकै हुन् तब ! ४
प्रेमको रङ्गशाला, २५७
उषाकालमा हैम राता नबन्दै ।
बिहानै छिटै सूर्य ताता
नबन्दै ।
तिमी आउनू रातको गीतजस्तै ।
सधैँ टल्कने पातको शीतजस्तै
।१
तिमी झट्ट हेर्नू मलाई निमेष
।
म तस्वीर खिच्नेछु यौटा
बिशेष ।
सजाएर राख्नेछु यो
चित्तभित्र ।
कलेजी कुनाभित्र तिम्रो
सचित्र ।२
कुनै रात वा साँझ रम्नेछु
हेरी ।
र सम्झिन्छु यी याद एक्लै म
फेरि ।
मरी गैगए याद होला नहोला ।
बचे जिन्दगी चित्र यो साथ
होला ।३
जता जेसुकै भन्न थालोस् समाज
।
कतै सुन्नु वा बोल्नु नै छैन
आज ।
जता हिँड्न खोज्छन् हिँडून्
पाइताला ।
पुगून् प्रेमको खेलको
रङ्गशाला ।४
अनायास गल्ती कतै हुन्छ होला
।
र हिँड्दा कुनै अङ्गमा छुन्छ
होला ।
कुरा नै कुरामा कतै ओठ
काम्लान् ।
नजानी कतै वैँसको प्रेम
माग्लान् ।५
सुनी प्रश्न मेरा तिमी
मुस्कुराऊ ।
उँधो भूमि हेर्दै तिमी
मुस्कुराऊ ।
लुकी झट्ट हेर्नेछु तिम्रो
मुहार ।
तिमी मुस्कुराऊ उही बारबार
।६
पुगौँला कुनै स्थानमा साँझ
साँझ ।
त्यहीँ बास पारौँ दुवै एक
साँझ ।
शिला वालुवाको बनोस् खाट दामी ।
नयाँ पालुवा चैतका हुन्
सिरानी ।७
चलोस् सिर्सिरे पातमा त्यो
बतास ।
नहोस् सूर्यको तेज तातो
प्रकाश ।
तिमी छेउमा आउनू बस्नलाई ।
समीपै बसी मात देऊ मलाई ।८
सुकेका कुनै पातमा मैन बाली
।
दियो बालुँला जैतुनी तेल
हाली ।
धुनी तापुँला साथ साथै रमाई
।
बसी हातले हातमा नै समाई । ९
उँभो चन्द्रमा झुल्किनेछन्
झुलुक्क ।
तिमी कामिनी नेत्र हेर्नू
पुलुक्क ।
जसै चाँदनी छेकिनेछन्
खुसुक्क ।
दियोझैँ तिमी हाँस उस्तै
मुसुक्क । १०
कसैले नहार्ने, दुवै साथ जित्ने ।
मिठो खेल खेलौँ पृथक् काल
बित्ने ।
सबै तृप्त हुन् देहका
अङ्गशाला ।
र रङ्गीन होस् प्रेमको रङ्गशाला ।११
सीताको गुनासो, २५८
मेरो यो मन
जित्नुपर्छ नभनी, आयौ उठायौ धनु ।
तिम्रो भक्ति
रहेछ मात्र शिवमा, मैले अरू के भनूँ ।
उठ्दामा
धनुबाण बाहु बलले, हे¥यौ मलाई अनि ।
क्षत्रीकै
बलले चिसो वदनमा, बे¥यौ मलाई पनि । १
सोच्थेँ
राजकुमार हौ र धनवान्, पाल्छौ सधैँ नोकर ।
अर्कैको
दरबा-र-हेछ छिनमै, छोड्यौ बन्यौ जोकर ।
भोगायौ
वनवासको असजिलो, रुन्थ्यो सधैँ यो मन ।
खेप्दै दु:ख
अनेक जङ्गलतिरै, बूढो भयो यो तन । २
देखेँथेँ मृग
एक स्वर्ण वयको, मागेँ तिमी तर्कियौ ।
केको हुन्छ र
स्वर्णको मृग भनी, झन् झन् तिमी झर्कियौ ।
पन्छीको जसरी
बलिष्ट पिँजडा, मेरो बनाई दियौ ।
रेखा लक्ष्मण
भाइको अझ दह्रो, घेरो बनाई दियौ । ३
प्रेमी एक
थियो सदा हृदयमा, राख्थ्यो मलाई तर ।
मा¥यौ रावण
हृष्टपुष्ट बलियो, सेना लिई वानर ।
फिर्ता गर्नु
थियो ग¥यौ पछि हिँडे, आफ्नी बनायौ पुनः ।
मागेँ पुत्र
दियौ विशुद्ध कुशको, सोच्दै नसोची सुन । ४
शङ्का रावणको
ग¥यौ म जिउँदै, झन् अग्निमा पिल्सिएँ ।
मर्यादा पतिको
बनोस् अझ भनी, त्यो तिक्तता बिर्सिएँ ।
धोबीको मुख
थुन्न फेरि नसकी, त्याग्यौ मलाई अझ ।
धर्तीको मृदु
गर्भभित्र म पसेँ, यो देह त्यागेँ अब ! ५
ऐना झुटो यो
किन ? २५९
मेरो मानव रूप
जो छ अहिले, यो कर्मको कोष हो ।
राम्रा छन्
कति अङ्ग जीर्ण कति छन्, यो कर्मकै दोष हो ।
आफ्ना कर्म म
हेर्न खोज्छु जहिले, भित्री सफा कञ्चन ।
बेग्लै बाहिर
रूप देख्छ यसले, ऐना झुटो यो किन ? १
मूलाधार लिएर
शीर्ष तहको, आज्ञा तँ देख् भन्दछु ।
आठै चक्र
घुमेर आइज सबै, त्यो हंस देख् भन्दछु ।
देखा कर्म
मभित्रका हृदयका, भन्दैछु झन् हर्दम ।
मात्रै यो मुख
नाक देख्छ जहिले, ऐना झुटो यो किन ? २
योद्धामा म
हुँ झन् युधिष्ठिर कि वा, अर्कै छ मेरो मन ।
धर्मात्मा मन
छैन कत्ति अथवा, बन्दैछु दु:शासन ।
जा जा हेर्
मनभित्र जा अझ उँधो, भन्दो छ मेरो मन ।
मात्रै देख्दछ
यो त्वचा फगतको, ऐना झुटो यो किन ? ३
लेखा राख्नु छ
चित्रगुप्त जसरी, मेरा सबै कर्मको ।
आफैँ हेर्नु छ
सूक्ष्म देह अहिले, हो पाप वा धर्मको ।
देखा है सब
पाप धर्म जति छन्, भन्दैछु रातोदिन ।
मात्रै स्थूल
शरीर देख्दछ सधैँ, ऐना झुटो यो किन ? ४
आकाश, २६०
हे आकाश ! म
माग्छु जीवन मिठो, मेरो बनाई तँ दे ।
राम्रा वस्तु
चिटिक्क सुन्दर लिई, घेरो लगाई तँ दे ।
छस् धेरै
धनधान्य मान्य तँ सधैँ, हे रिक्तता ! शून्यता !
केही छैन
तथापि पुष्ट भरिलो, आफैँ तँ होस् पूर्णता ।१
जम्मै सुग्रह
रातमा र दिनमा, कल्याण मेरो गर ।
तारापुञ्ज
अनेक सूर्यसरिका, रक्षार्थ मेरो गर ।
ज्यूँदामा सब
रोग नष्ट गरिने, दे चन्द्रमा ओखती ।
जाँदा प्राण
उडेर आउँछु उतै, दे सूर्य मेरो गति ।२
ताजा अन्न र
सागपात हरिया, गौदूग्धको सिन्धु दे ।
हावा निश्चल
नासिकातिर छिरी, ॐकारको बिन्दु दे ।
तेरो त्यो
ध्वनि कड्किने र बिजुली, पानी मलाई तँ दे ।
राम्रा कञ्चन
पञ्चतत्त्व असली, छानी मलाई तँ दे ।३
तेरो रूप
मभित्र बस्दछ सदा, बच्चा म आकाश हुँ ।
तेरै प्राण
मभित्र बग्दछ सदा, सच्चा घटाकाश हुँ ।
आएँथेँ म
तँबाट छुट्टिन गई, बाँच्दै छु एक्लै तर ।
बोला है
तँसँगै समीप कहिले, तेरै छ ठूलो भर ।४
(प्र नि अ बाट)
७७ को होली,
२६१
होली खेल्न
भनी सबेर पथमा, आए नयाँ यौवना ।
छ्यापे रङ्ग
सुभावाले गजबले, साटे मिठा भावना ।
लोलाको रङले र
झन् अबिरले, रातै भयो यो तन ।
मेरा वस्त्र
भिजेर रङ्गिन हुँदा, सादै रह्यो यो मन । १
खोज्थेँ चञ्चल
नेत्र छन् कि नजिकै, हेर्दै बसेका ममा ।
हेर्थेँ
सुन्दर हात आउँछ कतै, अर्कै नयाँ ढङ्गमा ।
प्यारीको
अनुहारमा रङ सबै, छर्किन्छु भन्थेँ तर ।
प्यारी नै
नहुँदा विरक्त मनले, फर्केर आएँ घर । २
अन्तै खेल्न
गएर मस्त रहँदा, बिर्सिन् मलाई कि त ।
कल्पी प्रेम
मभित्रको र उनको, सम्झिन् मलाई कि त ।
जेजे होस् तर
आइनन् रङ लिई, उल्लासको हर्षको ।
होली पर्व
निरास दिक्क नमिठो, दिग्दार यो वर्षको । ३
अर्को साल
अवश्य आउँछ छिटै, पक्का तिमी आउनू ।
मायाको जलमा
मिठा रङ मिसी, जम्मै तिमी ल्याउनू ।
छ्यापौँला रङ
साथ साथ मुटुका, होस् सप्तरङ्गी तन ।
होलीको दिनमा
मिल्यो मन भने, छुट्दैन आजीवन । ४
भुजङ्गप्रयात
छन्द रचना, २६२
छ थाहा मलाई
तँ के गर्न सक्छस् ।
बढीमा बढी तँ
स्वयं मर्न सक्छस् ।
हिजो नै मरेको
थिइस् भोलि मर्छस् ।
स्वयं
मृत्युको बीज होस्, छर्न सक्छस् ।
चढेँ भन्दछस्
जिन्दगीको उकालो ।
छिटै चिप्लिई
गर्तमा झर्न सक्छस् ।
छलेँ काल
नङ्ग्रा भनी मख्ख छस् तँ ।
तिखा दाँतको
बीचमा पर्न सक्छस् ।
कतै रौरवी
नर्क रित्तो रहेमा ।
त्यही स्थान
रित्तो छिटै भर्न सक्छस् ।
पर्दै नपर्नू
भर ! शार्दूलविक्रीडित छन्द २६३
केराझैँ रुख
काट्छ फेदतिरमा, खाऊँ भनी सुन्तला ।
लट्टेसाग
उखेल्छ हेर्दछ जरा, पाऊँ भनी मुम्फला ।
सुन्दामा पनि
सत्यका वचन झन्, टेर्दैन जो बैगुनी ।
यस्ताको मति
सुध्रिदैन भगवान्, पाओस् हजारौँ जुनी । १
हर्पेमा घिउ
टन्न दूध छ अझै, ठेकीहरूमा भनी ।
बेचेमा यदि
धेनु गोठतिरका, लैना बकेर्ना पनि ।
के नै पाउँछ
खान दूध कि दही, ठेकी सबै रित्तिँदा ।
बेची स्रोत र
मुख्य मूल धन नै, सावाँ सबै सिद्दिँदा । २
अन्नै अन्न छ
टन्न टन्न ढुकुटी, बोरा भकारी भरी ।
भन्दै राख्दछ
खेत बञ्जर भने, खाला सधैँ के गरी ।
आगो दन्दन
बल्छ बाल्न सजिलो, जोड्दैछ सुख्खा खर ।
के पाक्ला
उसको पराल खरले, जल्ने छ मात्रै घर ! ३
ठाडै भन्छ उही
छु पुष्ट बलियो, पैसा छ गोजीभरि ।
आफैँ सक्दछु
काम गर्न अहिले, बाँच्ने छु जेजे गरी ।
आमाबाबु सदैव
बिर्सिन गए, लक्ष्मी र नारायण ।
आशीर्वाद
दिनेछ भोलि कसले, के पाउला तत्क्षण ! ४
देख्दा फूल
वसन्त याम ऋतुमा, बिर्सिन्छ हेमन्त जो ।
भोग्दैमा सुख
वर्तमान पछिका, ती दु:ख बिर्सिन्छ जो ।
मान्छेमा
पटमूर्ख हो अधम हो, ठाडो छ मात्रै तर ।
बुख्याँचासरि
बुद्धिहीन पशु हो, पर्दै नपर्नू भर ! ५
उज्यालो मन !
मदिरा छन्द, २६४
जित्दछ को अनि
हार्दछ को नित मानव मार्छ मराउँछ को ?
धर्म बढाउँछ
पाप घटाउँछ कर्म कुकर्म गराउँछ को ?
हो कि दिवाकर
दीपक धप्धप बल्छ कि भव्य र पूर्ण छ यो ?
हो कि त
श्यामल वर्ण बिरूप र सूक्ष्म न सूक्ष्म अपूर्ण छ यो ? १
आउँछ यो किन
धाउँछ यो किन छैन कि यो छ कि हैन कि हो ?
वेद पुराण र
पण्डितको मत एक र सत्य छ छैन कि यो ?
हिँड्दछ
डुल्दछ नाच्दछ हाँस्दछ भित्र बसी सब गर्दछ को ?
जान्छ उडेर
कहाँ कसरी भन बाँच्दछ को अनि मर्दछ को ? २
ईश्वर बस्दछ
देह पवित्र छ शुद्ध सफा अनि शान्त छ यो !
मन्दिर गुम्बज
बुद्ध बिहार र चैत्य समान बिशुद्ध छ यो !
हेर्नु रमेर छ
नीद तुरीय सुसुप्त र जाग्रत स्वप्न भरी !
देख्नु छ
जान्नु छ सत्य असत्य छ श्याम कि श्वेत उमेर भरी ! ३
पानस बाल न
झल्मल पार न यो घर आँगन दिव्य सधैँ ।
चेतन मानस
बुद्धि विवेक र सोच सफा गर नित्य सबै ।
बाहिर भित्र र
वर्तिर पर्तिर तल्तिर मास्तिर हेर सिधा ।
क्लेश र कल्मष
खोज र मोह टिपेर बढार कुभाव बिदा !! ४
टाटा नगर्नू
अब, शार्दूलविक्रीडित छन्द, २६५
भेट्दामा
सुरुमा बिहान पखमा, हाई नगर्नू अब ।
छुट्दामा दिन
अन्त्यमा पनि कतै, बाई नगर्नू अब ।
यौटा हात
उचाल्छ जो मनुज-ता, त्यो के नमस्कार हो ।
त्यस्तो शक्ति
घटेर जान्छ जहिले, त्यो शक्ति संहार हो । १
हाम्रो हात छ
शक्तिकेन्द्र बलियो, यो शक्तिले चल्दछ ।
हेरौँ कृष्ण र
बुद्ध हात यिनमा, त्यो शक्ति नै बल्दछ ।
देखेमा कर
शुद्ध शान्त गतिला, हौँ भाग्यमानी अब ।
देखेमा कर
दुष्टका अगतिला, भो मानहानी सब । २
आशीर्वाद दिने
छ हात जसको, हल्लाउनै हुन्न है !
राख्नू त्यो
स्थिर पर्छ नत्र उसको, त्यो शक्तिले छुन्न है !
सच्चा शक्ति
लिनेछ जो मनुजले, बाँड्ने भएमा स्थिर ।
हल्लाए पछि
शक्तिकेन्द्र करको, मान्छे बन्यो अस्थिर । ३
जोड्नू हात
सधैँ दुवै समयमा, भेट्दा र छुट्दा कि त ।
वा भन्नू
मुखले गएँ अब भनी, त्यो हुन्छ सम्मानित ।
नाफामै यदि
हात चल्दछ भने, घाटा नगर्नू अब ।
बच्चा बालक
बैँस बृद्ध जन हो ! टाटा नगर्नू अब । ४
हो ब्रह्मको
विम्ब म ! शार्दूलविक्रीडित छन्द २६६
मेरो मृत्यु
हुँदा बसेर रमिता, हेर्नेहरू हो सुन ।
श्रद्धा
अर्पणका सचित्र कविता, कोर्नेहरू हो सुन ।
जल्दो त्यो शव
आर्यघाटतिरमा, मेरो हुँदै होइन ।
शङ्का लाग्छ
भने ल हेर अहिले, पक्का हुँदै होइन । १
मेरो विम्ब
थियो गयो बितिगयो, त्यो लास अर्कै भयो ।
मेरै भित्र
थियो उड्यो उडिगयो, त्यो सास अर्कै भयो ।
मेरो ज्यान
दुरुस्त एक कविता, हो ब्रह्मको विम्ब म ।
अर्कै काव्य
छिरेर बाँच्दछु सधैँ, अर्कै नयाँ विम्बमा । २
त्यो ज्यूँदो
कविता थियो अब उही, अर्कै भयो आज यो ।
मुर्दा रूप
जलेर भस्म बनिदा, त्यो विम्ब अर्कै भयो ।
विम्बै मात्र
रहेछ जीव र जगत्, यो घाट नै विम्ब हो ।
बाँचेका पनि
विम्ब हुन् फगतका, यो मृत्यु झन् विम्ब हो । ३
ज्यूँदामा कवि
सृष्टि गर्दछ पृथक्, पढ्ने मलामी भयौँ ।
ब्रह्माका
कविता बनी सबजना, ती विम्ब हामी भयौँ ।
च्यातौँ
पुस्तक नै मुना मदनको, त्यो विम्ब के डर्छ र ।
ब्रह्माको म
हुँ भव्य विम्ब कविता, यो विम्ब के मर्छ र ।४
चौतारो !
शार्दूलविक्रीडित छन्द २६७
एक्ले पीपलझैँ
थिएँ म वनमा, ऐँजेरु पाल्दै थिएँ ।
सुख्खा पत्कर
पात बोटतिरका, एक्लै म फाल्दै थिएँ ।
पोथ्रो बोट
थिएँ चुसुक्क मसिनो, मर्दै थिएँ सेपमा ।
ठूला वृक्षहरू
बढेर नजिकै, पर्दै थिएँ चेपमा । १
सिस्नो झाङ विषाक्त अन्य
लहरा, बेर्दै थिए ज्यानमा ।
आफ्नै बोट र
पात देख्न नसकी, गिर्दै थिएँ शानमा ।
मेरो ईज्जत
वंश नास्न कसिने, व्यक्तित्व भेट्दै थिएँ ।
आफैँमा म अरू
बनेर जिउँदै, अस्तित्त्व मेट्दै थिएँ । २
आयौ त्यो
वरझैँ समीप मसँगै, हेर्यौ मलाई सबै ।
मेरा दु:ख
विनास गर्न कसियौ, ऐँजेरु झार्यौ सबै ।
फाली
पत्करजन्य बोटतिरका, राम्रो बनाई दियौ ।
काटी सेप अनेक
सूर्य नभमा, देख्ने बनाई दियौ । ३
साथै बस्छु
भन्यौ सधैँ मसँग नै, हुर्कन्छु साथै भन्यौ ।
चौतारो पनि एक
पूर्ण गतिलो, राम्रो बनायौ खन्यौ ।
प्यारो मित्र
बन्यौ बस्यौ सँगसँगै, फाल्यौ सबै गन्दगी ।
क्या राम्रो
वरसाथ पीपल हुँदा, आनन्दको जिन्दगी ! ४
Not your Hay! २६८
In the morn when I go.
Saw a girl pretty so.
She was jogging by side.
As if tired and slow.
As our legs and the pace.
Become same in the race.
Eyes met one to one.
We saw each other's face.
Not in words but in heart.
Feelings started to chat.
It couldn't be controlled.
It was soul's lovely art.
When she looked like a kid.
I don't know what she did.
I followed by the bush.
For some time there we hid.
While return, we both fall-
En in love all in all.
And the rest of our life.
We remained as couple.
I have one thing to say.
On this beautiful day.
When the sun goes in west.
Make your love! Not your hay!
(Rhyming Pattern: aaba / Meter: Anapest -
similar to तोटक छन्द)
त्यो शैव हो
वास्तव ! शार्दूलविक्रीडित छन्द २६९
मान्छेको
शिरमा अजीव गतिलो, जीवात्मको बास छ ।
मान्छे मर्दछ
जीव बाँच्छ जहिले, त्यो जीव पो खास छ ।
हड्डी खप्पर
भित्र बस्दछ सदा, त्यो जीव एक्लो तर ।
हेरौँ हेर्न
सकिन्न सूक्ष्म छ बडो, आकार भन्दा पर । १
आयो यो कहिले
शरीर शिरमा, यो जन्ममा गर्भमा ।
जाला यो कसरी
कहाँ र कहिले, यो पाप वा धर्ममा ।
को नै सक्छ र
भन्न लेख्न सजिलै, यस्तो भएको थियो ।
वा यस्तो यसरी
यही समयमा, आई रहेको थियो । २
त्यस्तो जीव पुलिङ्ग
हो कि अथवा, स्त्रीलिङ्ग वा के छ यो।
वा हो त्यो
दुइटै नपुंशक कि झन्, जानी नसक्ने भयो ।
त्यस्ता जीव
सजीव हुन् र शिव हुन्, जीवात्मका बीज हुन् ।
यी नै ईश महेश
ईश्वर भनूँ, ब्रह्माण्डका जीव हुन् ! ३
जेजे सोच्दछ
आज मानव उही, त्यो सोच नै हो शिव ।
जस्तो सोच
लिएर बाँच्दछ उही, बन्नेछ उस्तै शिव ।
मान्छे मर्दछ
फुत्त काल गतिले, त्यो सोच के मर्नु र ।
अर्को रूप
लिएर बाँच्दछ सधैँ, शम्भो कहाँ मर्नु र । ४
यस्तो सोच
दगुर्छ कुद्छ जगमा, खाँदै निकै ठक्कर ।
यौटा खप्परबाट
सर्दछ छिटो, अर्को कुनै खप्पर ।
मान्छेमा
जबसम्म हुन्छ शिवजी, मान्छे भयो ऊ तब ।
मान्छेको यदि
सोच गायव भए, मुर्दा भयो ऊ अब । ५
मुर्दा घाट
पुगेर जल्दछ उही, त्यो सोच के जल्छ र ।
भागी अन्त
उडेर जान्छ पहिले, जल्दा उसैको घर ।
बाँच्दै
घुम्दछ सोच मात्र जगमा, यो कालको काल हो ।
पक्कै बाँच्दछ
सृष्टि अन्त्य भरमा, यो नै महाकाल हो । ६
अग्लो पर्वतमा
रहन्छ जहिले, मस्तिष्कमा माथमा ।
एक्लै शासन
गर्छ जीव सबमा, छैनन् अरू साथमा ।
आएमा अरू
इन्द्र, इन्द्रियहरू, ती ज्ञानका भोकमा ।
पारी तृप्त
गरी पठाउँछ उही, आनन्द मस्तिष्कमा । ७
सेवा गर्न
तयार विष्णु, मुटु छन्, सञ्चार रक्तादिले ।
बाँकी ब्रह्म
र वायु तेज जल छन्, छन् पूर्ण मेधादिले ।
जे गर्छन्
यिनले सदैव शिवको, आराधना मात्र हो ।
बाँचे सोच म
बाँच्छु झन् शिवसँगै, यो कामना मात्र हो । ८
मान्छे जो शिव
तत्त्व बुझ्न नसकी, निस्सार निस्सार छ ।
यस्तै हुन्छ र
रोग राक्षस बढी, आक्रान्त संसार छ ।
जो सोच्छन्
शिवमा छ सोच र जगत्, मान्छन् उही हो परम्।
त्यस्ताले सब
देख्छ जान्दछ उही, सत्यं शिवम् सुन्दरम् । ९
मान्छेको जब
सोच बिग्रन गयो, आफैँ उही क्रुद्ध हो ।
कुट्दै मार्छ
पछार्छ ताण्डव गरी, आफैँ उही रुद्र हो ।
मान्छेको यदि
सोच सप्रन गए, के खोज्नु अर्को शिव ।
आफैँमा अब
पूर्ण पूर्ण बनियो, आफैँ भयो ऊ शिव ! १०
मान्छेको शिर
भस्म होस् जलनले, वा अग्निका रापले ।
सोचेको नव सोच
बच्दछ सबै, जल्दैन यो तापले ।
मान्छे कुद्छ
दगुर्छ खोज्छ शिवजी, थाकेर ऊ ठिङ्ग छ ।
हेर्दैनन् किन
हो यता मगजमा, आफैँ स्वयं लिङ्ग छ । ११
यस्तो सोच
सदैव घुम्छ शिरमा, आकार पाऊँ भनी ।
सोचेको सब
पूर्ण होस् भुवनमा, साकार होस् यो भनी ।
धेरै सोच
पवित्र शुद्ध मनका, साकार हुन्छन् तर ।
केही सोच
अपूर्ण हुन्छ अनि ती, भागेर जान्छन् पर । १२
आयो सोच नवीन
एक तहमा, मस्तिष्कको कक्षमा ।
काटौँ यो शिर
छिन्नभिन्न तर यो, पुग्नेछ यो लक्ष्यमा ।
सानामै दृढ
लक्ष्य पुग्दछु भनी, सोच्थे त लम्बोदर ।
हात्तीको शिर
लाइयो वदनमा, के घाँस खान्थे तर । १३
मर्ने सोच
थियो म मर्छु मनमा, भन्दै थिए दक्षले ।
ब्यूँताए
शिवले शरीर उसको, हाम्रा कलाध्यक्षले ।
बोकाको शिर टाँसियो
वदनमा, त्यो सोच उस्तै थियो ।
आफैँले तब
लाजले शरमले, सत्प्राण आफैँ लियो । १४
गर्ने सोच
लिएर गर्छ मनुवा, त्यो सोचमा भक्ति छ ।
मर्ने सोच
लिएर मर्छ मनुवा, त्यो सोचमा शक्ति छ ।
पूरा हुन्छ
सदैव सोच जहिले, यो जिन्दगीमा कि त ।
चौरासी क्रम
सोच घुम्छ अथवा, मर्दैन यो किञ्चित । १५
जेजे सोच हिजो
थियो सब कुरा, निद्रा छ रातैभरि ।
उठ्दाखेरि उही
कुरा मगजले, सम्झिन्छ उस्तै गरी ।
सुत्दामा किन
बिर्सिदैन मनुवा, जेजे बित्यो जे भयो ?
सोच्ने यन्त्र
शरीर पात्र अनि यो, मस्तिष्क यौटै छ जो ! १६
पूर्वैजन्म
कुरा र सोच पनि छन्, सम्झिन्न मस्तिष्क यो ।
सोच्ने यन्त्र
यहाँ त फेरिन गई, मस्तिष्क अर्कै भयो ।
हाम्रो चेतन
सोच्छ खोज्छ जहिले, त्यो सोच कस्तो थियो ?
आफ्नै रूप
बसेर हेर अहिले, त्यो सोच त्यस्तै थियो । १७
बल्दो सोच
हुरुर्र बल्छ कुशमा, ताप्छन् अरूले बसी ।
बढ्दो लिङ्ग
हलक्क बढ्छ जगमा, श्री विष्णु रोक्छन् कसी ।
अर्धाङ्गी
शिवसोचको मयलमा, फक्रन्छ लम्बोदर ।
राम्रो सोच
सधैँ सधैँ शिव छ यो, नौलो यहाँ के छ र ! १८
आफैँमा
परिपूर्ण जो छ जहिले, के मान्नु अर्को डर ।
नामै मात्र
अनेकका हुन पुगे, के गोत्र के झन् थर ।
कोही छैन न
मातृ पितृ यिनको, माता पिता हुन् स्वयं ।
मात्रै सोच
फगत् छ शाम्ब शिवको, हुन् पुत्र पुत्री स्वयं । १९
जस्तो चिन्तन
गर्छ बन्दछ उही, त्यो सोच प्रारूप हो ।
आफ्नो रूप
नियाल आज दिनमा, त्यो सोचको रूप हो ।
त्यस्तो जीव छ
मस्त मस्तक भरी, हेर्नू मजाले अब ।
हेर्दा देख्छ
सचित्र सोच जसले, त्यो शैव हो वास्तव ! २०
जोडी, शिखरिणी छन्द २७०
सतीदेवी
हाँस्दा मुसुमुसु गरे, शङ्कर पनि ।
बिहानी
सन्ध्यामा झलमल भए, भाष्कर पनि ।
सँगै सीता
डुल्दा वरपर डुले, राम वनमा ।
दुवै ठट्टा
गर्दै पलपल रमे, धेर मनमा ।१
सतीदेवी जल्दा
धुरुधुरु भए, शङ्कर पनि ।
दिवा सन्ध्या
ढल्दा पछिपछि ढले, भाष्कर पनि ।
गइन् सीता
भित्रै पृथुतल रुए, राम वनमा ।
सबैको यस्तै
हो मनुज पशु वा, देव गणमा । २
चरी मर्दा
रुन्छन् चिरबिर गरी, एकल चरा ।
रुँदै खोज्दै
उड्छन् सगरभरमा, प्यार विचरा ।
यही पृथ्वीको
हो तलवितलको, व्योम नभको ।
युगौँको हो
चल्ती चलन पनि हो, सृष्टि जगको ।३
छ मायाको पोको
प्रकृतिसित नै, शुद्ध छ जहाँ ।
छ मायाको भोको
पुरुष जहिले, कुद्दछ वहाँ ।
मिलेका छन्
जोडी मधुमय हुँदै, हाँस्दछ उही ।
टुटेका छन्
जोडी हरपल रुँदै, बाँच्दछ उही । ४
गाउँको ब्यथा, शार्दूलविक्रीडित छन्द, २७१
मेरो गाउँ
सिकिस्त आज छ अरे, देख्नेहरूले भने ।
गाडीबाट झरेर
गाउँ घर नै, टेक्नेहरूले भने ।
चौतारा घर
माथिका र तलका, छैनन् अरे गाउँमा ।
भत्काएर
फराकिलो अनि सिधा, बाटो छ रे ठाउँमा । १
अग्लो पीपल
मात्र पूर्ण मुडुलो, हाँगा कटाए अरे ।
राम्रा
औषधिजन्य वृक्ष गतिला, डाँडा कटाए अरे ।
पूजापाठ
हुँदैन रे समयमा, भोकै छ रे देवता ।
गर्दैछन् सब
राजनीति यसमै, मात्रै छ रे एकता ! २
हुन्नन् रे अब
पितृकार्य घरमा, छैनन् अरे बाहुन ।
लागे रे
परदेशमा सबजना, चोखो मिठो पाउन ।
शिक्षा
संस्कृतको र मन्त्र गुरुका, ठ्याप्पै भए रे सब ।
आस्थाकेन्द्र
र मेरुदण्ड बलिया, प्याट्टै गए रे अब । ३
गिठ्ठा
भ्याकुर सातु सेल सुठुनी, खाजा हराए अरे ।
ट्याम्को मादल
शङ्ख घण्ट र धिमे, बाजा हराए अरे ।
गाडी जान्छ
उँभो उँभो सडकमा, मान्छे गए रे उँधो ।
बत्तीले
परसिर्जना अझ उँभो, आफ्ना भए रे उँधो ! ४
गीत, दिक्पाल छन्द २७२
हो चन्द्र
सूर्य मेरो, झन्डा छ शान मेरो ।
यो तेज ओज
मेरो, बढ्नेछ मान मेरो ।
छन् तीन रङ्ग
साथै, राता निला र सेता ।
हुन् क्रान्ति, शान्ति अर्को, हो ज्ञानको पँधेरो ।
चुच्चा दुई
चिटिक्कै, आकारमा त्रिकोणी ।
हुन् शैलका
चिनारी, पाखो चुली पखेरो ।
वैरी थुरुर्र
काँप्छन्, देखी निसान जङ्गी ।
सक्दैन तोड्न
कोही, बेग्लै छ युद्ध घेरो ।
पूर्खा मरी
बचाए, झन्डा सरक्क आफ्नो ।
बोल्छन्
प्रमाण ढुङ्गो, माटो धुलो कमेरो ।
जाऊँ म स्वर्ग
नर्कै, लाखौँ जुनी मरेर ।
आत्मा रमोस्
यसैमा, होस् साथ साथ मेरो !
रचना, भुजङ्गप्रयात छन्द, २७३
मुला जिन्दगी
फ्यात्त झर्दै कुहुन्छ ।
सबै द्वारमा
र्याल मात्रै चुहुन्छ ।
यता घुम्छ
मान्छे उता फुत्त घुम्छ ।
घुमी फन्फनी जिन्दगी यो
तुहुन्छ ।
हुने हो यही
अन्त्यमा हुन्छ हुन्छ ।
छ ठाडो जुनै
अन्त्यमा यो नुहुन्छ ।
नबोली लुकौँ कालले
सुन्छ सुन्छ ।
उही कालले
जिन्दगी यो दुहुन्छ ।
गलामा थिची
सास नै क्याप थुन्छ ।
मुला जिन्दगी
त्यत्तिकैमा फु - हुन्छ ।
मान्छे २७४
न जन्मको मूल बुझेर जान्छ ।
न मृत्युको मूल थुनेर जान्छ ।
म बुद्धिमा पूर्ण छु भन्छ आफैँ ।
न बुद्धिकै मूल पुगेर जान्छ । १
अचम्मको जन्तु रहेछ मान्छे ।
संसारकै लन्ठु रहेछ मान्छे ।
जन्मिन्छ कीरोसरि मर्छ उस्तै ।
बेकारको तन्तु रहेछ मान्छे । २
तुफानको वेग न छेक्न सक्छ ।
स्वयं मनोद्वेग न देख्न सक्छ ।
उडेर जाँदो छ पतङ्ग जस्तै ।
संवेग आवेग न छेक्न सक्छ ।
प्यूँने र खाने जल अन्न मात्रै ।
त्याग्ने सबेरै मलमूत्र मात्रै ।
यसो गरेँ यो अब गर्छु भन्छ ।
बम्किन्छ ऊ अर्थ न बर्थ मात्रै । ४
भुजङ्गप्रयात छन्द रचना २७५
खुसी खोज्छ मान्छे नपुग्दा कुरामा ।
खुसी हुन्छ धेरै स-साना कुरामा ।
खुसी खोज्न अस्ट्रेलिया जान्छ मान्छे ।
खुसी हुन्छ यो बैतडी बाजुरामा ।
सिको गर्छ मान्छे सिनेमा हिरोझैँ ।
खुसी हुन्छ आफ्नै दह्रा पाखुरामा ।
सधैँ हार हीरा भनी किन्छ मान्छे ।
खुसी बज्छ छन्छन्
बजारे चुरामा ।
उँभो चन्द्रमामा खुसी खोज्छ मान्छे ।
झुसीका झुसी छन् खुसी टाकुरामा ।
चिठी २७६
हुलाकीले ल्यायो खुब जतनले, पत्र र कुरा ।
थियो बाबाजीको प्रिय वदनको, एक टुकुरा ।
बुलाकीले राखिन् अझ जतनले, त्यो उदरमा ।
बनी सद्दे बच्चो अघि पछि गरेँ, गाउँ घरमा ।१
छ ठेगाना उस्तै वरपर सही, छाप छ उही ।
सबै मिल्दोजुल्दो घर थर उही, जात छ उही ।
बढी हुर्की खेली रनवन घुमी, काम भनियो ।
नखोली त्यो चिठ्ठी फगत जहिले, खाम भनियो ।२
थियो के के कस्तो खबर असली, बिर्सिन गएँ ।
गरी काया माया धन घर भनी, बृद्ध म भएँ ।
भयो मर्ने बेला हतपत गरी, खोज्दछु यहाँ ।
हरायो त्यो चिठ्ठी लिखत गतिलो, पाउनु कहाँ ! ३
त्यो पत्र नै दीव्य रहेछ धाम ।
त्यो पत्रले नित्य गरेछ काम ।
सोच्दैछु एक्लै अब गर्नु के र ।
चिठ्ठी थियो त्यो, म पढेँछु खाम ! ४
यी हुन्, वसन्ततिलका छन्द २७७
संहार हार नबुझी, अनि हार मान्ने ।
सम्भार भार नबुझी, अनि भार थाम्ने ।
दुष्टात्म दुष्ट मतिका, अति दुष्ट यी हुन् ।
भ्रष्टात्म भ्रष्ट मतिका, मतिभ्रष्ट यी हुन् । १
सम्मान मान नगरी, अनि मान खोज्ने ।
आराम राम नभजी, अनि राम खोज्ने ।
यी मूर्ख हुन् अधम हुन्, पटमूर्ख यी हुन् ।
सत्पात्र पात्र नभई, खलपात्र यी हुन् । २
बेकार कारणविना, अधिकार खोज्ने ।
साम्राज्य राज्य नभई, अधिराज्य रोज्ने ।
सिद्दान्त शून्य यिनको, अनुमान यी हुन् ।
शक्ती न पुच्छरविना, हनुमान यी हुन् । ३
सारेर सार कविका, कृतिकार बन्ने ।
संस्कार संकृतिविना, म छु सभ्य भन्ने ।
सङ्गीतमा रस लिने, मृगतुल्य यी हुन् ।
आगो समीप रहने, तृणतुल्य यी हुन् । ४
संस्कार, २७८
विना शारदा गीत गाना हुँदैन ।
विना भास्वतीको बजाना हुँदैन ।
यिनैले दिएको छ संस्कार हाम्रो ।
सु-संस्कारको कारखाना हुँदैन । १
छ गल्ती कसैको सह्राना हुँदैन ।
क्षमा हुन्न धेरै बहाना हुँदैन ।
भए धेर गल्ती स्वयं सुध्रिने हो ।
सु-संस्कारको कारखाना हुँदैन । २
कुसंस्कारको वैद्यखाना हुँदैन ।
र संस्कारको वृक्ष दाना हुँदैन ।
स्वयं भित्र हेरी स्वयं सिक्नुपर्छ ।
सु-संस्कारको कारखाना हुँदैन । ३
न फल्ने न फुल्ने न रोपेर सर्ने ।
न किन्ने न बेच्ने न उद्योग गर्ने ।
झिकी ल्याउने एक माना हुँदैन ।
सु-संस्कारको कारखाना हुँदैन । ४
(प्र नि अ बाट )
कविको मृत्युचक्र, २७९
जिन्दगी अन्त्य बेलामा जसै त्यो वाक्य बस्दछ ।
मात्रै प्राण बही भित्र छन्दमै भाव खस्दछ ।१
अन्तिम सासको झोक्का छन्दमै जब गर्दछन् ।
छन्दमा कविता लेख्ने छन्दमै सब मर्दछन् ।२
ह्रस्वमा रोकिए सास स्वर्गमा माथि पर्दछन् ।
दीर्घमा अड्किए सास नर्कमा तल झर्दछन् ।३
नर्कमा गाउँछन् फेरि अलाप राग गर्दछन् ।
पुग्नेले स्वर्गमा अर्कै आलोक राग भर्दछन् ।४
रोकिएमा कतै सास प्लुत वा त्यो विसर्गमा ।
जानु पर्दैन कोहीले न त स्वर्ग न नर्कमा ।५
मोक्षको गतिमा पुग्छन् गर्दछन् विष्णु आरति ।
पाउँछन् यिनले राम्रा हात्ती घोडा र सारथि ।६
भोगेर स्वर्ग वा नर्क धर्तीमा जब आउँछन् ।
पक्का छ यिनले फेरि कविकै जुनी पाउँछन् ।७
स्वर्गबाट फिरे जोजो कोयली स्वर गाउँछन् ।
नर्कबाट फिरेकाले कागजस्तै कराउँछन् ।८
साटौँ आज बराबर ! २८०
मरेका मृत आत्मा हो ! बिन्ती मेरो छ एउटा ।
आजै गएर भेट्नू ती स्वर्गका सब देउता ।१
उल्टो पारी दिनू भन्नू जन्म र मृत्युको हक ।
मरेका आउनू धर्ती हामी जान्छौँ त्यहाँ अब ।२
स्वर्गको सौख्य सानन्द भोगी सक्यौ उता सब ।
शरीर, भोग, ऐश्वर्य साटोफेरो गरौँ अब ।३
दुखायौ ज्यान एक्लैले रुवायौ मृत्यु पश्चमा ।
आँसुको दाग ताजै छ आएर हेर वक्षमा ।४
जेजे हाम्रो सबै तिम्रो, तिम्रो फिर्ता यता गर ।
धर्ती र स्वर्गको जम्मै साटौँ आज बराबर ।५
दिक्पालमा चार श्लोक, २८१
ढ्याङ्ग्रो लिएर आयो, बाजा लिएर आयो ।
खाँदा भुतुक्क पार्ने, खाजा लिएर आयो ।१
कोही न बाँच्न सक्ने, कोही न भाग्न सक्ने ।
यो व्याधिले समस्या, साझा लिएर आयो ।२
मारेर मृत्यु सम्राट्, कब्जा गरेर सत्ता ।
अत्यन्त क्रुद्ध अर्कै, राजा लिएर आयो ।३
थोत्रा भई सकेका, बासी तथा पुराना ।
फालेर कर्मचारी, ताजा लिएर आयो ।४
कि कालकै म चित्र हुँ ? २८२
बिहान मिर्मिरे हुँदा सबेर थोर मर्छु म ।
हिरिक्क हुन्छु घाममा दिवा सुकेर मर्छु म ।
हतार कामको हुँदा अबेर साँझ मर्छु म ।
गलेर हात पाउ झन् सकेर काम मर्छु म ।१
बलिन्द्र आँसु झर्दछन् सिरानमा र मर्छु म ।
झिमिक्क हुन्न नेत्र झन् उठेर रात मर्छु म ।
छु भोक भोकमा सधैँ भुँडी थिचेर मर्छु म ।
पियार रोगमा उता लिएर काख मर्छु म ।२
भएर मृत्यु सम्मुखी अखण्डबार मर्छु म ।
र बारबार बाँच्छु झन् हजारबार मर्छु म ।
कमाउने रमाउने अनेक यत्न गर्छु म ।
सबै प्रयत्न नासिँदा हरेक सास मर्छु म ।३
बुबा मुमा असक्त छन् उता छ साहुको ऋण ।
डराउने भयो स्वयं मदेखि आज कोभिड ।
हुँ काल वा म मृत्युको कि मृत्युकै म मित्र हुँ ?
अनन्त मर्छु बाच्छु झन् कि कालकै म चित्र हुँ ?४
पानी अचाऊ कि त, २८३
भो पर्दैन नहेर नेत्र अहिले, कर्के गरी लाजमा ।
खोल्नू नेत्र दुवै र हेर्नू रमिता, मेरो यही लासमा ।
मेरो नाम विरक्तको छ अहिले, बोल्दा अरू साथमा ।
जप्नू राम र राम ती अधरले, मुर्दा हुँदा घाटमा । १
मेरोनिम्ति भनी रुमाल नदिनू, पर्दैन तिम्रो चिनु ।
किन्नू हात छ-सातको अनि उही, कात्रो मलाई दिनू ।
रातो फूल गुलावको यदि फुले, अन्तै लुकाई दिनू ।
वैलाएपछि मात्र फुत्त खटमा, सम्झेर फाली दिनू । २
तिर्खाएँ अहिले यता मुख सुक्यो, पानी लुकाई दिनू ।
मर्दामा अँजुली गरेर भरिलो, पुष्पाञ्जलीमा दिनू ।
तिम्रो दिव्य मुहार छोप अहिले, बत्ती निभाई दिनू ।
मर्दामा घिउको दियो नजिकमा, राखी जलाई दिनू । ३
मेरो प्रेम हुँदा र जीवन हुँदा, गर्दै नगर्नू कुरा ।
जल्दा लास तिमी लुकेर वनमा, फोर्नू पँहेला चुरा ।
चोखो प्रेम मरेर जान्छ मसँगै, आऊ बचाऊ कि त ।
फिर्दामा जब घाटबाट शिरमा, पानी अचाऊ कि त । ४
पूजा, २८४
मेरो जम्मै मगजभरिको, प्यार आफैँ हराए !
मेरो पूरै मुटु-हृदयको, प्रेम शून्यान्त पारे !
पूजा गर्थेँ भरसक सधैँ, राम सीताहरूको ।
कन्ठै पार्थेँ स्तुति हरफ ती, कृष्ण गीताहरूको ।१
ढुङ्गाकोझैँ वरिपरि सधैँ, भब्य पर्खाल बारे !
माया बस्ने दिलतिर कुनै, बीज सार्दै नसारे !
धेरै जप्थेँ कति कति अझै, व्यासका दीब्य सर्ग ।
पूरै मान्थे यम नियम झन्, बुद्धका अष्टमार्ग ।२
मायाले नै कुमति भरिने, धेर सम्भावना छ ।
मायामा नै अगति परिने, पापको कल्पना छ ।
मेरो पापीपन सब हटी, धर्म आए मभित्र ।
बाल्थेँ बत्ती निशिदिन यहाँ, देवका स्थानभित्र ।३
माया भन्दै सब जनहरू, दु:ख दिन्छन् मलाई ।
सम्झी सम्झी हरपल मिठो, नीद लान्छन् भगाई ।
पाए मात्रै सबतिर घृणा, झन् तिरस्कार हेर ।
पूजा गर्थेँ भुवनभरका, चैत्य गुम्बा घुमेर ।४
होस् जोसुकै साथमा ! २८५
पक्का झार्छु भनेर सूर्य भुइँमा, हानून् गुलेली तर ।
बोलाऊन् जति चन्द्रमा अझ उँधो, हालून् सुसेली तर ।
झर्दैनन् सुन चन्द्र सूर्य यसरी, पुग्दैन तिम्रो बल ।
जो आफ्नै बलले पुग्यो सगरमा, झर्दैन पक्का तल ।१
छयाप्पै सुक्छ नदी भनेर बलले, गाग्री र लोटाभरि ।
राखून् पूर्ण गरेर पात्र जति छन्, चोटा र कोठाभरि ।
यात्रा निश्चित हुन्छ पूर्व जसको, मार्दैन जो जाँगर ।
रातारात बगेर पुग्दछ नदी, भेट्नेछ जो सागर ।२
बाढी भेल तुषार-पात नभनी, गर्ने सबैको हित ।
बिर्संन्छन् जसले भलो र कुभलो, जे जे भयो ऊसित ।
आफैँ छान्छ विषाक्त वस्तु जसले, आफैँ छ जो निर्मल ।
फालून् टन्न धुलो हुँदैन धमिलो, सङ्ग्लो छ गङ्गाजल ।३
थोरै दु:ख सहन्न जो मनुज-ता, पक्का छ नासिन्छ ऊ ।
पर्दा खाडलमा डुबेर दहमा, पक्का छ भासिन्छ ऊ ।
लार्भामा रहँदा सदैव पुतली, मात्रै त कीरा थियो ।
खाई हण्डर दु:ख कष्ट अनि पो, अङ्गार हीरा भयो ।४
बारीमा उखु रोप एक डिलमा, अर्को समीपै निम ।
हुर्कन्छन् सब एक साथ नजिकै, बढ्छन् सँगै दिन्दिन ।
माटो एक हुने तथापि दुइटा, बेग्लै हुने स्वादमा ।
आफ्ना नै गुण बोक्दछन् सबजना, हुन् जोसुकै साथमा ।५
द्रुतविलम्बित छन्द रचना, २८६
अधर खोल न खोल न हे प्रिया !
अब त बोल न बोल न हे प्रिया !
नगर यो मुटुमा दधि-मन्थन ।
दिल अझै नबिथोल न हे प्रिया !
सय हजार र लाख बढी छ यो ।
फगत शून्य नमोल न हे प्रिया !
मन दुई अब एक बनून् सदा ।
भन यही र कबोल न हे प्रिया !
हरघडी अनि रात दिनैभरि ।
अमृतको रस घोल न हे प्रिया !
बाल कविता, सबाई छन्द , २८७
सयौँ घर सयौँ थर एक मूल बारी ।
नेपाल हो देश हाम्रो एक फूलबारी ।
अन्न दिने तराईका फाँट लमतन्न ।
पानी दिने हिमाल छन् मेची काली टन्न ।
इन्द्रेणीझैँ प्रदेशका रङ्ग एकसाथ ।
उँचो निचो कोही छैन छैन जातभात ।
अनेक छन् जातजाति अनेक छन् भेष ।
अनेकताभित्र पनि एक हाम्रो देश ।
देख्दा रूप वर्ण बेग्लै भित्र एक रक्त ।
नेपालको समृद्धिमा हामी एक भक्त ।
तोटक छन्द रचना, २८८
कि नहेर मिठो कि त बोल बरु ।
मनमा मन यो कि त घोल बरु ।
भन सत्य कुरा मनमा छ भने ।
भन छैन भने प्रिय यादहरू ।१
तन मात्र यहाँ छ दिमाग उतै ।
अनि जान्छ बिचार र सोच उतै ।
जति गर्नु गरेँ अझ गर्छु अब ।
प्रिय काख समीप म मर्छु अब ।२
मुख नाक र ओठ चिथोर तिमी ।
र मुहार थिचेर निचोर तिमी ।
बरु मार तिमी र घिसार तिमी ।
अनि टुक्टुक पार सिकार तिमी ।३
तल माथि गरेर बटार तिमी ।
म अझै जिउँदै छु लछार तिमी ।
बल धेर गरेर पछार तिमी ।
पिस मस्मस पार अचार तिमी ।४
कलाकारहरूसँग निवेदन, २८९
औजार तिम्रो कसिलो बनाऊ ।
औकात तिम्रो दह्रिलो बनाऊ ।
ती हातले कोर सशक्त रेखो ।
तिम्रो सिमाना बलियो बनाऊ ।१
सम्पन्नतायुक्त मियो बनाऊ ।
यो देशमै एक सियो बनाऊ ।
नेपाल यो जग्मग होस् सदैव ।
नौलो नयाँ एक दियो बनाऊ ।२
उद्योगको केन्द्र कतै बनाऊ ।
व्यापारको केन्द्र कतै बनाऊ ।
भाषा मिठो संस्कृति शुद्ध पार्ने ।
साहित्यको केन्द्र कतै बनाऊ ।३
तिम्रो हलो चट्ट तिखो बनाऊ ।
तिम्रो कला छन्द मिठो बनाऊ ।
नेपाल यो उर्वर राष्ट्र पार्न ।
तिम्रो कुची झन् दह्रिलो बनाऊ । ४
(प्रतिभा निकुञ्ज अभ्यासबाट)
आजै तयारी बस, २९०
डोली एक लिएर आउँछु छिटै, फिर्ने गरी साँझमा ।
फेरा सात घुमेर मन्त्र विधिले, बोक्नेछु यो काँधमा ।
जेजे घस्नु छ ओठमा नयनमा, जम्मै तिमी ती घस ।
मेरै बन्नु छ बेहुली अब तिमी, आजै तयारी बस ।१
मागीको छ विवाह खर्च छ बडो, भन्ने इरादा भए ।
भागी नै पनि जाउँला अति छिटो, मात्रै इसारा गरे ।
जेजस्तो जसरी र जे गर तिमी, आँटी कटीमा कस ।
भाग्ने नै मनशाय हो यदि भने, आजै तयारी बस ।२
बौलाहासित लाग्छ के र कसको, को रोक्छ को छेक्छ र ।
प्रेमी पागल बन्छ रात दिउँसो, वैराग्य को देख्छ र ।
भाग्दा इज्जत जान्छ, थुक्छ दुनियाँ, लौ ऐनभित्रै पस !
चाहेमा कि त यो अदालत छिरौँ, आजै तयारी बस ।३
केको गर्नु अदालती असजिलो, को गर्छ हस्ताक्षरी ।
जेजे हुन्छ मिली दुवै कि त सँगै, खेलौँ न अन्ताक्षरी ।
जल्ले जित्छ खुरुक्क लान्छ उसले, बेग्लै छ गीती रस ।
घन्टा एक सिकेर आउँछु उतै, आजै तयारी बस ।४
म, २९१
पहिरो पनि उँभो जाँदो होला समुद्रमा,
किनकी उँधो जाने त ठाउँ नै हुँदैन होला ।
पानीमुनि कतै सिङ्गो आइस टुक्रिँदो होला ।
अनि ती टुक्राहरू हलुका हुँदा होलान् ।
अनि तिनलाई पानीको ऊर्ध्वचापले माथि उठाउँदो होला ।
अग्ला न अग्ला हुँदा होलान् ।
अनि आफैँले आफैँलाई थेग्न नसकी
फेरि तल झर्दा होलान् ।
बाँकी अरू टुक्राहरू पनि त्यसै गर्दा हुन् ।
बिचरा विकल्परहित टुक्राहरू !
पथविहिन र कमजोर टुक्राहरू !
रुन मन लाग्छ यिनलाई सम्झिएर ।
र झर्छन् आँसुहरू !
मेरो मनको समुद्रमा पनि उँभोतिर पहिरो जान थाल्छ ।
मनको पिँधमा कतै आशाहरू टुक्रिँदा होलान् ।
अनि ती टुक्राहरू हलुका हुँदा होलान् ।
अनि तिनलाई भावनाको ऊर्ध्वचापले माथि धकेल्दो होला ।
अनि आफैँले आफैँलाई थेग्न नसकी
फेरि तल झर्दा होलान् ।
बाँकी अरू थोपाहरू पनि त्यसै गर्दा हुन् ।
तप्प तप्प !
बिचरा विकल्परहित आँसुहरू !
पथविहिन, ताता तर कमजोर आँसुहरू !
मभित्रबाट आएको यो तातोपनाले
ज्वालामुखी सम्झाउँछ !
धर्तीको कतै भित्रि भागमा यस्तै तातोपना जम्मा हुँदो होला ।
कतै पोखिन खोज्दो हो, जान खोज्दो हो ।
कतै जान नपाएपछि आइसका टुक्राजस्तै, आँसुजस्तै
आफैँले आफैँलाई रोक्न नसकी,
बिस्फोट भएर माथि गएर एउटा लाभा फेरि तल झर्दो हो ।
बाँकी अरू लाभाहरू पनि त्यसै गर्दा हुन् ।
भुलुक्क भुलुक्क !
बिचरा विकल्परहित लाभाहरू !
पथविहिन लाभाहरू !
ताता तर कमजोर लाभाहरू !
र,
ताता लाभाहरू धर्तीमा मिले जस्तै,
आइसका टुक्राहरू समुद्रमा नै बिलाए जस्तै,
मेरा आँसु पनि मसँग नै बिलाउँछन् ।
बिचरा समुद्र !
बिचरा धर्ती !
र बिचरा म !!
पाठकको डर !, २९२
पर्दा पीर खुसी हुँदा मगजमा, जो भावना आउँछ ।
त्यस्तै भाव निकाल्न खोज्छु जहिले, जो शब्दमा आउँछ ।
निस्केको पहिलो छ शब्द अथवा, वाक्यांश जम्मैकन ।
छानी छन्द सुहाउँदो मनमनै, पर्खिन्छु केही क्षण । १
यौटा पङ्क्ति तयार हुन्छ जहिले, छाड्नेछु लेख्ने क्रम ।
पढ्दै बस्छु म उक्त पङ्क्ति पहिले, हेर्दै नहेरीकन ।
आत्माराम म हुन्न त्यो समयमा, सम्झिन्छु ती पाठक ।
के सोच्लान् यिनले पढेर कविता, भन्ने निकै लाग्दछ । २
पढ्दाखेरि खुरुर्र, वाक्य सजिला, भन्ने मलाई भए ।
जे भन्ने असली छ मर्म उसमा, भन्ने मलाई भए ।
थप्दै जान्छु म पङ्क्ति पङ्क्ति यसमा, हेर्दै उही आशय ।
पूरा हुन्छ जसै सचित्र कविता, राख्नेछु आफैँसँग । ३
जे जे भन्नु थियो भनेर सकियो, होला कतै क्यै भनी ।
फ्याट्टै राख्छु निकुञ्जमा म शुरुमा, लौ हेर्दिनुस् है भनी ।
यस्तो होइन, शुद्ध हुन्न यसरी, पर्दै नपर्नू भ्रम,
भन्ने टिप्पण टेर्छु मान्य गुरुका, यस्तै छ मेरो क्रम । ४
पुकार, २९३
म जन्मेँ यही मृत्तिकामा सुतेर ।
म हुर्केँ यही मृत्तिकामा कुदेर ।
म बूढो भई ज्यान छोडेर जाँदा ।
उडोस् प्राण यो मृत्तिकामै सुतेर ।१
यही आँगनीको धुलो सुँघ्न पाऊँ ।
र कान्लाहरूमा सदा घुम्न पाऊँ ।
दुवै हातले बागका बोट छाम्दै ।
बसी पातमा फूलमा चुम्न पाऊँ ।२
सिँचूँ कन्दरा खेत पाखा गह्रामा ।
सबै स्वेद पोखूँ म मेरै धरामा ।
बगी कल्कली शुद्ध पानी म आफैँ ।
पुगूँ अन्नबालीहरूका जरामा ।३
म देखूँ उँभो चट्ट लालीगुराँस ।
म देखूँ उँधो फेरि उस्तै पलाँस ।
जता हेर्छु आफ्नै रहोस् फूलबारी ।
नहोस् इन्द्रको स्वर्गको रत्ति आस ।४
म दौरा र चोलो तथा बख्खुमाझ ।
म बुर्का र कुर्था तथा गेरुमाझ ।
बनूँ एक डोरो म धोतीहरूमा ।
र छोपूँ सबै आङका पूर्ण लाज ।५
सबै तीर्थ हून् पाइला पाइलामा ।
रहून् देवता भीरका ती शिलामा ।
पुजारी बनी नित्य यो देशनिम्ति ।
पुजूँ शुद्ध चैतन्य माटो हिलामा ।६
म हाँसूँ कि रोऊँ कि हूँ वेदनामा ।
अवस्था जुनै स्वप्न वा चेतनामा ।
जपूँ नित्य यो देश नेपाल मेरो ।
बनोस् मन्त्रजस्तै र-होस् सम्झनामा ।७
बसोस् राष्ट्र सिङ्गो सदा यो हियामा ।
बसून् चन्द्र सूर्जे कलेजी फियामा ।
बलून् धप्धपी तेज सोसेर मेरो ।
थपूँ तेल थोरै म मेरै दियामा ।८
अझै उच्च सैपाल होस् त्यो हिमाल ।
फुलून् फेदमा ठ्याक्क उस्तै चिमाल ।
म बोकूँ दुवै शैल-सेतो र फूल ।
फुलोस् गर्वले ढक्क छाती विशाल ।९
ममा मात्र यौटा छ चोखो जुहार ।
सुनून् दैवले शुद्ध मेरो पुकार ।
सबै जाति भूगोलबासीहरूमा ।
सदा देख्न पाऊँ म मेरै मुहार ।१०
भेट गर्ने छ
धोको ! २९४
मेरी राधा !
सहरतिर छ्यौ, गाउँमा छ्यौ कि अन्त ?
एक्लै छ्यौ वा
स्वजनसँग छ्यौ, के छ सञ्चो बिसञ्च ?
तिम्रो साथी म
पनि त थिएँ, सम्झना छैन होला ।
बिर्स्यौ
क्यारे कति कति भयो, याद आउन्न होला ।१
तिम्रो कर्के
नजर अहिले, याद आई रहेछ ।
लालीवाला अधर
कलिला, भित्र छाई रहेछ ।
बोल्ने
गर्थ्यौ सरस मनले, हुन्नथ्यो रत्ति झर्को ।
त्यस्तै बोली
अझ पनि छ वा, फेरियो आज अर्को ?२
जेजे गर्थेँ
परपर बसी, बुझ्दथ्यौ ती इसारा ।
हाँस्दै
गर्थ्यौ मुसुमुसु सधैँ, टेर्दथ्यौ झट्ट सारा ।
त्यस्तै हाँसो
अलिकति लिई, आउनू भेट्नलाई ।
सम्झी सम्झी
बिगत दिनका, तिर्सना मेट्नलाई ।३
छान्यौ होला
प्रियवर ठिटो, भीमझैँ शक्तिशाली ।
वा छौ एक्लै र
अझ उसको, छैन हालीमुहाली ।
पाए हुन्थ्यो
खबर असली, सूचना शुद्ध चोखो ।
कोरोनाको कहर
सकिए, भेट गर्ने छ धोको !४
दोहोरी, २९५
एउटा:
परेवा तिथिमा
जन्मी पूर्णेमा पूर्ण हुन्न म ।
इन्द्रले बज्ज्र
नै हानून् तथापि चूर्ण हुन्न म ।
अर्को:
पँखेटा पार
टल्टल्ती चाँदी लाएर वा सुन ।
भुसुना भुसुनै
हुन्छन् सक्दैनन् चन्द्रमा छुन ।
एउटा:
कालो सेतो बनी
घुम्छौ फेर्छौ रूप प-पन्ध्रमा ।
जता मल्खु उतै
ढल्कु स्वार्थी छौ धेर चन्द्रमा ।
अर्को:
मात्रै तिमी
पिलो भन्छौ सुन्दैछु म यहाँ कति ।
नदिए चन्द्रले
शीत तिम्रो के हुन्छ ओखती ?
एउटा:
मृगौला मुटुमै
आऊन् गर्दैनन् तिनले खति ।
दुवै फेरेर
बाँच्ने छु चाहिन्न चन्द्र-ओखती ।
अर्को:
मुटुको नट
बिग्रेमा मृगौला बल्टु खुस्किए ।
कसरी बाँच्छ
त्यो ज्यान आफन्तीसँग ठुस्किए ?
एउटा:
पुराना नट
बल्टु ती खिया लागेर झर्दछन् ।
झर्दैमा एउटा
बल्टु केको मानिस मर्दछन् !
अर्को:
बल्टुले नट
छोडेमा जानेछौ अन्त नै खसी ।
कहाँ पुग्छौ
तिमी फेरि हेरौँला म बसी बसी ।
मातृ वन्दना, २९६
मेरो यो
मुटुको चाल तिम्रै हो स्पष्ट स्पन्दन ।
ढुक्ढुकी आज बोल्दैछ
गर्दैछ मातृ वन्दना ।१
मेरोनिम्ति
सह्यौ आमा तिमीले कति क्रन्दन ।
त्यही
क्रन्दनले रोई गर्दैछ मातृ वन्दना ।२
टीकी हौ
प्राणकी मेरी गेहकी चट्ट चन्दन ।
गेहले प्राणले
मेरो गर्दैछ मातृ वन्दना ।३
तिम्रो गर्भ
स्वयं स्वर्ग ऐश्वर्य शुद्ध कञ्चन ।
त्यही ऐश्वर्य
हाँसेर गर्दैछ मातृ वन्दना ।४
नातागोता अरू
टुट्लान् तिमी अटूट बन्धन ।
त्यही बन्धनले
आज गर्दैछ मातृ वन्दना ।५
(प्रतिभा निकुञ्ज अभ्यासबाट)
बाल कविता, इन्द्रबज्ज्रा छन्द , २९७
संसारमा देश छ
एक राम्रो ।
त्यो देश
नेपाल पवित्र हाम्रो ।
पुर्खाहरूको प्रिय
कर्म भूमि ।
हो बुद्धको
उत्तम धर्म भूमि । १
पाखा पखेरा
अनि कन्दरामा ।
बस्छन् सबै
देव यही धरामा ।
भाषा मिठा छन्
र निको छ भेष ।
छन् एकतापूर्ण
सबै प्रदेश ।२
झन्डा
त्रिकोणी छ निसान राम्रो ।
राख्नेछ
जम्मैतिर मान हाम्रो ।
छन् सूर्यझैँ
मानिस यी पवित्र ।
झन्
चन्द्रमाझैँ सबको चरित्र ।३
मान्छे हजारौँ
रङ छन् अनेक ।
मानौँ
बगैँचासरिको छ देश ।
हे देव !
अर्को पनि जन्म पाऊँ ।
यो बागको काख
बसी रमाऊँ । ४
हुँदो हो ! २९८
गगनतिर
नियाल्दा, धूम मात्रै छ कालो ।
धरणितल
निहार्दा, देख्छु मैलो तुवाँलो ।
अलिकति दिन मीठा, साँच्न पाए हुँदो हो ।
प्रकृतिसित
सुसेल्दै, बाँच्न पाए हुँदो हो !१
वरपर सब
हेर्दा, लास मात्रै लडेको ।
वदनभर सबैको, अङ्ग फोक्सो सडेको ।
मृत मुटुतिर
थोरै, सास आए हुँदो हो ।
अलिकति अझ
बाँच्ने, आस आए हुँदो हो !२
हरदिन
घरभित्रै, मृत्युको त्रास कस्तो ।
उदरतिर मुमाको, गर्भको बास जस्तो ।
प्रियवरसँग
हाँस्दै, घुम्न पाए हुँदो हो !
मुटुसँग मुटु
जोड्दै, चुम्न पाए हुँदो हो ।३
जय जय जय
शम्भो ! गर्दछौँ लाख बिन्ती ।
हरसमय
पुकार्छौँ, रोकियून् लास गिन्ती ।
जहर सब
उकेल्दै, हाँस्न पाए हुँदो हो ।
अलिकति दिन
थोरै, बाँच्न पाए हुँदो हो !४
छिमेकीको कथा, २९९
थिए भाले पोथी
मकमक सधैँ, रात र दिन ।
थिएनन् बाझेका
फगत निउँमा, बाझ्नु छ किन ।
थिए
बच्चाबच्ची गुँडतिर निकै, माथि रुखमा ।
सधैँ हाँस्थे
खेल्थे रुख नजिकमा, मस्त सुखमा ।१
थियो चारो
थोरै अपुग कनिका, दूर छ कुवा ।
बचेरालाई त्यो
वनसिमलको, फिर्फिर भुवा ।
गरी पालैपालो
वरपर उडी, एक छिनमा ।
सधैँ रुँघ्थे
बच्चा हरपल घडी, रात दिनमा ।२
गयो भाले
एक्लै अलिक पर ऊ, भिन्न वनमा ।
र ती पोथीलाई
अलि पिर भयो, खिन्न मनमा ।
नदेख्दा ती
स्वामी गलित तनले, बस्न नसकी ।
गईन् छोडी
बच्चा थकित मनले, साथ नबसी ।३
नभेट्टाई
स्वामी रनवन घुमी, फर्किन पुगिन् ।
स्वयंसाथै
एक्लै रिस अति गरी, झर्किन पुगिन् ।
छिमेकीले
भन्थे पति अब गयो, फिर्दछ कहाँ ।
लिई अर्की
राम्री चपल दुलही, अन्य वनमा ।४
सुनी यस्ता
वार्ता हृदयतहमा, घायल बनिन् ।
सरापिन्
स्वामीमा अनि पछि उनी, पोइल गइन् ।
कता
बच्चाबच्ची सब गुँडतिरै, शक्ति न बल ।
बसे कुर्दा
कुर्दा अनि सब मरे, अन्न न जल ।५
फिरे स्वामी
उड्दै जल र कनिका, चामल लिई ।
र देखेनन्
कोही शिशु न बचरा, प्यार न थिई ।
न आफ्नाको
माया न त गुँड थियो, कायल भयो ।
गरी खाने
इच्छा असफल भयो, पागल भयो ।६
फुलेका छन्
दाह्री सहर पथमा, सुत्छ जहिले ।
र माग्ने
जोगीझैँ गुँड नजिकमा पुग्छ कहिले ।
गरे चर्को
बोली अलिक गतिलो, सुन्छ बिचरा ।
स्वयं के के
भन्दै धुरुरु कहिले, रुन्छ बिचरा ।७
यो परीक्षा
नलेऊ ! ३००
मेरी प्यारी !
अब कति गरूँ, सम्झना बारबार ।
आऊ छिट्टै अब
त मसँगै, प्यार मेरो नमार ।
मागेँ थोरै
समय र मिठो, काखको एक छेउ ।
मर्नै लागेँ
अब अति भयो, यो परीक्षा नलेऊ ।१
भन्दा भन्दा
अब कति भनूँ, भन्न लाग्दैछ लाज ।
यस्तो पीडा अब
कति सहूँ, दिक्क लाग्दैछ आज ।
पीडा फाली रहर
मनका, पूर्ण पारेर देऊ ।
इच्छा मेरो
यति छ अहिले, यो परीक्षा नलेऊ !२
जे जे भन्छौ
सब भन तिमी, ढुक्कले सुन्न पाऊँ ।
बोलीमा नै अमर
पिरती, सञ्चले उन्न पाऊँ ।
बोल्नू झट्टै
अनि त मनको, बुझ्न पाइन्छ भेउ ।
ढुङ्गोजस्तै
अमुक नबनी, यो परीक्षा नलेऊ !३
माया लेऊ
गगनतलको, सूर्यको दीपजस्तो ।
माया देऊ
पृथुल तहको, चन्द्रको शीतजस्तो ।
प्यालाजस्ता
अधर दुइटा, लाज मानेर देऊ ।
एक्लै पारी
हरपल सधैँ, यो परीक्षा नलेऊ !४
नमारी हुँदैन, ३०१
नकाटी कुनै
वृक्ष भारी हुँदैन ।
र आरी छिनोले
नखारी हुँदैन ।
छिटै बन्छ
डुङ्गा सधैँ तार्छ खोलो ।
कहाँ सर्छ
आफैँ नसारी हुँदैन ।१
र यो जिन्दगी
बग्छ खोलो बगेझैँ ।
विना एक
डुङ्गा नतारी हुँदैन ।
नसोच्नू सदा
साथ देलान् अरूले ।
तिमी लम्क
एक्लै सवारी हुँदैन । २
हलीझैँ तिमी
गोरु चुट्नू निमोठ्नू ।
स्वयं जोतिने
खेत बारी हुँदैन ।
अरू बाँस हुन्
मात्र सोझा निगाला ।
नकाटे नताछे
भकारी हुँदैन ।३
बडो वृक्ष, आफन्तको ओतमा छौ ?
वृथा सेपमा छौ, छहारी हुँदैन ।
उँचो लक्ष्य
चुम्ने सुनून् दाजुभाइ ।
स्वधर्मी र
आफ्ना नमारी हुँदैन । ४
गीत, दिक्पाल छन्द ३०२
पानी दिइन्
प्रियाले माया पिएर आएँ ।
पृथ्वी र
चन्द्रमाझैँ बर्सौँ जिएर आएँ ।
देखेर बैँस
चोखो तिर्खा र निर्झरीको ।
भेट्ने सुवर्ण
मौका आजै दिएर आएँ ।
अड्किन्छ सास
भन्थे देख्दा प्रिया मुहार ।
बाँच्ने कला
सुनौलो अर्कै लिएर आएँ ।
धागो लिएर
बेग्लै यो प्रेमको सियोले ।
लाखौँ जुनी
नटुट्ने नाता सिएर आएँ ।
ह्याप्पी
बड्डे ! ३०३
पात्रामा तिथि
बार पक्ष नमिलून्, मात्रै गतेले हुने ।
जाडो हुन्छ
भनी नुहाउनु कता, ती हात मात्रै धुने ।
हो जन्मोत्सव
के र मान्नु कसरी, खै के यिनी जान्दछन् ।
आफैँले सबथोक
जान्दछु भनी, आफ्नै कुरा मान्दछन् !१
बत्ती बाल्न
निकै छ झन्झट भनी, बेचेर खाए दियो ।
त्यो भन्दा
सजिलो अझै फु फु गरी, बत्ती निभाई दियो ।
केको शङ्ख न
घण्ट, खोज्छ कसले, यत्रो बडो उत्सव ।
पड्कायो
पटटट्ट बेलुनहरू, सातो उडायो सब ।२
टोपी गाँस
टुपुक्क चट्ट शिरमा, चुच्चो न चुच्चो अनि ।
टीको टाँस
टसक्क नाकतिरमा, गालाहरूमा पनि ।
कोट्याईकन खान
हुन्छ सजिलो, नैवेद्य यो चाख्नुहोस् ।
खुट्टा टेक्न
सकिन्छ ती यदि भने, झन् हल्लिँदै नाच्नुहोस् ।३
रोटी बाबर सेल
हुन्छ अररो, त्यो केक नै कोमल ।
होली वाइन नै
पवित्र छ यहाँ, को प्यूँछ गङ्गाजल ।
फोटो एक खिचेर
फेसबुकमा, हाले अझै काइदा ।
बड्डेका दिनमा
यता सहरमा, छन् फाइदै फाइदा ।४
दिक्दारीपन, ३०४
कालो सूर्य
उदाउदैन किन हो, इच्छा छ देख्ने यही ।
कस्तो हुन्छ
भनेर हेर्नु छ बसी, आनन्द एक्लै रही ।
कालो होस् सब
अन्धकारमय होस्, रातो र सेतो किन ?
रातै रात
बनोस् नहोस् दिन कतै, होस् पूर्ण कालो दिन ।१
डोरी सर्प
बनोस् र सर्प लहरो, विद्वान् लठेप्रो बनोस् ।
तिर्खा तृप्त
हुने सबै विष बनोस्, कात्रो मजेत्रो बनोस् ।
प्यारा काख र
साथ दुश्मन बनून्, हून् तामसी एकता ।
मान्छेका
मुटु-केन्द्रबाट पर हून्, भागून् सबै देवता ।२
कालो बादल झन्
मडारिन पुगोस्, दुर्भिक्ष वर्षात होस् ।
बाँकी अन्न
कुअन्न होस् मल बनोस्, सम्पूर्ण बर्बाद होस् ।
हाहाकार बिहान
साँझ घरमा, चीत्कार चीत्कार होस् ।
सारा सृष्टि
विनास होस् प्रलय होस्, यो जन्म धिक्कार होस् ।३
पृथ्वी कम्पन
होस् ढलून् घरहरू, मान्छे बनून् थर्थर ।
हावा तीव्र
बहोस् हुरी र भुमरी, बच्चा उडाओस् पर ।
हून् एकादश
रुद्र रुष्ट सबमा, झन् तान्डवी नृत्य होस् ।
बग्दा
खप्परबाट रक्त नुनिलो, खोलो स्वयं तृप्त होस् ।४
रचना, ३०५
नयाँ घाम
देख्यौ यसैमा बधाई ।
नयाँ काम
देख्यौ यसैमा बधाई ।
यहाँ धेर
मान्छे मरेका मर्यै छन् ।
तिमी सास
फेर्छौ यसैमा बधाई ।
कहाँ को मर्यो
औषधी के भनेर ।
समाचार हेर्छौ
यसैमा बधाई ।
कतै लासमा
बेर्न पुग्दैन कात्रो ।
तिमी वस्त्र
फेर्छौ यसैमा बधाई ।
बिक्रीमा ! ३०६
बिक्रीमा म छु
आज किन्छ कसले, आऊ मलाई किन ।
हिँड्दै
जान्छु म आज को छ पसले, आऊ मलाई लिन ।
पैसा छैन भनेर
दिक्क नहुनू, लानू जमानी बसी ।
बैना मात्र गरे
हुनेछ अहिले, गन्नू रुपैँया पछि । १
खुद्रा होस्
कि त थोक एक दरमा, बेचिन्छु आफैँ यहाँ ।
घाटा हुन्न
अवश्य किन्छ जसले, नाफा छ पक्का ममा ।
सस्तोमा म छु
भाउ छैन कसिलो, सोधेर हेर्नू अरू ।
ठग्नेको मन
छैन कत्ति अहिले, घाटा छ मेरै बरु । २
किन्ने नै यदि
सोच बन्दछ भने, भन्नू मलाई अब ।
आऊ ! मात्र
सुने म हिँड्दछु उतै, लानू उधारै अझ ।
सावाँ ब्याज
हिसाब जान्दिनँ अझै, खाना भए पुग्दछ ।
ढाक्ने शुद्ध
शरीर मात्र चिथरा, नाना भए पुग्दछ । ३
तिम्रो चाकर
बन्छु सेवक सधैँ, विश्वस्त बन्नू तिमी ।
सच्चा दास
हुनेछु नत्र जहिले, बेच्नू मलाई तिमी ।
आऊ हेर बिचार
साँझतिरमा, आफैँ म बिक्री भएँ ।
लानू चट्ट
फिँजाउनू पसलमा,बाँध्नू कि सिक्री भए ! ४
रावणराज, वसन्ततिलका छन्द, ३०७
क्षेप्यास्त्र
चुस्त गतिला उसले बनायो ।
सीमा दह्रो अझ
भनेर नदी खनायो ।
रक्षार्थ देश
जनको धनको गरायो ।
आनन्द शान्त
पथ झन् सुनकै बनायो । १
बाँचूँ भनी
अमृतको छ घडा उसैको ।
जाऊँ विमान
नजिकै छ खडा उसैको ।
बस्ती र गाँउ
सबमा फलफूल अन्न ।
छैनन् दरिद्र
जनता सब पूर्ण टन्न । २
चेली सुरक्षित
सधैँ परिवार राम्रो ।
लङ्का लडाकु
सबको घरवार राम्रो ।
सिद्धान्तमा
अडिग छन् सब दाजुभाइ ।
स्वाधीन शासन
हुने नृपमा बधाई । ३
नेपालमा अझ
अरू कति कष्ट खेप्नु ।
यो राजनीति
बलियो किन हो नदेख्नु !
सत्पात्र रावण
यहाँ किन जन्मिदैनन् ।
मन्दोदरी अझ
यहाँ किन अन्मिदैनन् । ४
Comments
Post a Comment