Skip to main content

श्रुती, सत्र, मुक्त मन

सत्र, मुक्त मन

बरु कृष्णको काली खोल्सो नै ठीक रहेछ । आपत् पर्दा पानी खान त हुन्थ्यो । कम से कम मुख धुन त हुन्थ्यो । पासपोर्ट सबै भिजेछ र अझै भिज्नमा सहयोग गरिन् । फेरि दरबार छिर्नुको औचित्य थिएन । एकपटक मरेकालाई फेरि मर्न केको डर । बाहिर आइन् श्रुती । तल खोलाको आवाज जस्तै माथि सडकमा हुलको आवाज थियो । कल्याङ् कुलुङ् थियो दुबैतिर । हिजोसम्म क्रातिकारीले ल्याएका गाडिहरू र तिनमा टाँगेका ब्यानरहरू रातै थिए । बिस्कुट र चाउचाउका खोलहरू छरिएका थिए । कतिका कपडाहरू त्यतै गाडिका झ्यालमा थिए भने कति भूइँमा ।
एउटा हातमा ए.टि.एम. कार्ड च्यापेर, अर्को हातले टाउकाको माटो पुछ्दै बौलाही सरह हिँडिन् श्रुती बाँसघारी मुनीको सडकमा । पेन्टिङ्गकी सौखिन् श्रुती अहिले आफैं कसैको पेन्टिङ्ग जस्ती भएकी थिइन् र त्यही पेन्टिङ्गलाई भीडबाट जोगाउन भीडतिरै मिसिँदै थिइन् । तर जहाँ उनी जान्थिन् त्यहाँ कम भीड हुन्थ्यो, उनको शरीरको दुर्गन्धले ।
सोचिन् ः यतै कतै कृष्णलाई भेटे कति रमाइलो हुन्थ्यो । तर फेरि आफ्नो मनलाई सम्झाइन्, यसरी भीडमा, हो हल्लामा हिंड्दै, दुर्गन्धमा, हेर्दै र खोज्दै कृष्ण भेटिने भए, कतिले भेट्थे कृष्णलाई । फेरि, ऊ त वार्ताटोलीको सदस्यमा छनौट गरिएको ।
– दरबारमा त यस्तो हुन्छ भने हाम्रो के को सुरक्षा, होइन त ?
– त्यही त, सुन्दै कथा जस्तो । जासुसी उपन्यास जस्तो ।
भीडमा यस्तै गफ सुन्दै श्रुती लागिन् फिल्म हलतिर किनकि सबै उतै जाँदैथिए तर उनको कता जाने भन्ने योजना नै थिएन । धेरै जसो मानिसहरू खासखुसमा नै कुरा गर्थे । कहिल्यै राजारानीहरू देख्न नपाएका उनकै बारेमा कुरा गर्थे बाटामा ।
– कम से कम एकजना त बाँच्नु !
– सबैको एकैचोटी बीउ नै मासिनु पथ्र्यो त । जीन त अझै मरेको छैन होला है ?
– योजना नै बीउ मास्ने थियो, अनि किन नमासिउन् त ?
अन्तै मोडिन मन लागेको थियो श्रुतीलाई तर मोडिइनन् । किनकि अन्त अलिक कम भीड थियो । लुगा पुछ्न थालिन् हुलमा लुक्दै । सबै धसिङ्गरे थिए घिस्रिंदा । निहुरिएर पुछ्ने क्रममा उनी भीडसँग झण्डै टाँस्सिन पुगिछन् । एउटाले भन्दै रहेछ ।
– त्यो बौलाहीतिर न जा न, अलिक यताबाट हिंड् ।
मनमनै बोलिन् ।
– हे कृष्ण ! यस बखत मलाई बौलाही बनाइदिएकोमा तिमीलाई धेरै धरै धन्यवाद । म सोच्थें म बौलाही जस्ती छु तर माइनस महरू पनि मलाई बहुलाही नै सोच्दा रहेछन् । यस जीवनबाट उन्मुक्ति गर्ने बाटो देखाए वापत् म तिमीप्रति ऋणी भएँ । कतै बाँचिरहें भने तिम्रो एउटा तस्वीर बनाएर कसैलाई सुम्पने छु पूजा गर्न ।
व्यवहार फेरियो श्रुतीको । बाटाका बिस्कुटका खोल टिपिन् तीन–चारओटा । एउटामा ए. टी. एम कार्ड हालिन् र कुनामा बसेर रमिता हेर्न थालिन् बिस्कुटका खोलको र भीडको । अझ बढी खोल टिपिन्, सडक नै सफा गर्ने जस्तो उद्देश्यले । चाउचाउका खोल टिपिन् । गाडितिरका मिनरल वाटरका बट्टा टिपिन् र खेल्न थालिन् घर बनाइ खेले जस्तै । बोटलमाथि खाली प्लास्टिकका खोल राख्यो र बेस्सरी फू ग¥यो । पर पुग्थे तिनीहरू परका भीड जस्तै ।
हाँसिन् श्रुती । आखिर ती भीड र यी प्लास्टिकका खोल उस्तै नै रहेछन् । एकजनाले फू गर्दा एकातिर छरिने र कसैले जम्मा गर्दा त्यहीं भीड लाग्ने । हिजोसम्मका क्रान्तिकारीका जुलुस आज अर्कैका दर्शक भएका छन् र शायद भरे यिनै मलामी जान्छन् । र मैले चाहें भने यी भीडहरू म सँगसँगै र मेरै मलामी जान्छन् । अनि यो थाहा पाउँदैनन् कि म मरें वा म मलामी भएर हिँड्दैछु । यी बिस्कुटका खोलजस्तै यिनीहरू जसले फू गरे पनि पर जान्छन्, यो थाहा नपाइकन कि कसले फू गर्दैछ र कतातिर फू गर्दैछ ।
एउटा बोटलमा अलि पानी रहेछ । सडकको एक छेउमा बसेर सुरुवाल पुछिन् । गन्ध बाँकी नै थियो तर फोहोरी जस्तो देखिदैनथ्यो अब । हिँडिन् । पत्रिका भेटिन् । टिपिन् । प्लास्टिकको झोला भेटिन् । टिपिन् । लठ्ठी भेटिन् । टिपिन् । गाडि खाली थियो सडकका छेवैमा । झ्यालबाट हेरिन् र भित्र कोही नभएको थाहा पाइन् । त्यसैको पाङ्ग्रा नेर एकछिन् बसिन् । झ्यालै नेरको सीटमा राखेको पातलो ज्याकेट बाहिरैबाट झिकेर अघिनैको प्लास्टिकमा राखिन् । अब उनलाई त्यहाँ बस्नु थिएन । बौलाही अवतारको अन्त्य हुन लागेको थियो उनको । लागिन् उनी भीडबाट अलि अलि गर्दै अर्कैतिर ।
नजिकै थियो फूलबारि सहितको पोखरी । झिटीगुन्टा सहित् उनी त्यतै लागिन् । सामान एक कुनामा थुपारेर अर्कै कुनामा गइन् त्यही बगैंचाको । भीड क्रमशः हराउँदै थियो । शायद अर्कै ठाउँतिर कसैले फू गरिदियो । रात पर्नुको कुनै विकल्प थिएन त्यसैले उनी त्यहींको एउटा बुटामुनि प्लास्टिकको खोलको सिराने लगाएर कोल्टे परिन् ।
भोक लाग्यो । शोक लाग्यो । गन्ध आयो । पट्यार लग्यो । सेता तर साना पुतली उडे प्लास्टिक वरिपरि र कुर्तातिर । रिस उठ्यो उनलाई । यी मूला किराले किन दुःख दिएका होलान् मलाई भन्दै झपारिन् । तर किन टेर्थे र ! आखिर चिसै थियो सुरुवाल र टल्किँदै थिए प्लास्टिकका खोल ।
जेठका दिन न हुन्, साँझ नै ढीलो प¥यो । ढिलै सही पर्न त प¥यो । अन्धकार शुरू हुने बेला भयो । जे भए पनि कृष्णकाल, अन्धकाल शुरू हुनलाग्यो अब । फेरि उनको अवतारी र सहयोगी मित्र आयो उनलाई सहयोग गर्न ।
सुरुवाल मिलाइन् । माटो लागेको कुर्तालाई प्लास्टिक भित्रको ज्याकेट लगाएर छोपिन् । जानी नजानी कपाल एकै गुजुल्टो पारिन् र बगैंचाको अर्को कुनाबाट बाहिर निस्किइन् । खुशी भइन् थोरै भए पनि । फाट्टफुट्ट मान्छे थिए सडकमा । सडकका बत्ति वरिपरि अघिकै पुतली नाच्दैथिए । गर्मी यामका दिनभरिका घामबाट बाँचेर साँझको स्वतन्त्र शितलतामा नाच्न पाउनु उत्सव थियो उनीहरूलाई । बाटामा मान्छे कुरा गर्दैथिए ।
– दागबत्ति दिए रे ।
– बाग्मतीमा बगाएका सबै कपडाहरू मान्छेले टिपे रे ।
– अब कति दिन हो कुन्नी बत्ति बाल्न पाइदैन रे ।
– उत्सव गर्न र बाजा बजाउन नपाइने रे ।
– मान्छेले कपाल काट्न थालिसके रे  ।
फटाफट् हिंडिन् श्रुती पर्खालबाट टाढा, बाँसघारीबाट टाढा र बगैंचाबाट टाढा । उनको पहिलो उद्देश्य नै टाढा जानु थियो त्यहाँबाट । आफैंलाई हेरिन् सडकको बत्ति मुनि गएर । रिभर्स ज्याकेट रहेछ । भोको पेटले करिब आधा घण्टासम्म मात्र हिँड्न साथ दियो । देब्रे हातले आँखीभौं कन्याउदै र मुख पुछ्दै ए. टि. एम. को सदुपयोग गरिन् र लागिन् पसलतिर ।
प्रायः पसलहरू बन्द थिए । हिँड्दै गइन् र छिरिन् एउटा कपडा पसलमा । मनपर्ने कपडा त थिएनन् । तर पसल खुल्नु नै ठूलो कुरा भयो उनलाई । हलुका खालका एक–दुई जोर पहेंला र कलेजी रेडिमेड कपडा हालिन् नयाँ झोलामा र लागिन् बसपार्क नजिकैका लजतिर ।
– एक्लै हुनुहुन्छ कि साथी पनि आउँदैछन् ?
– छैनन् । म एक्लै छु ।
– यहाँ त धेरै एम. वी. हरू बस्छन् । ब्यानर देखिहाल्नु भयो होला । के गर्नु, नबस भन्यो भने मार्लान् भन्ने डर । अब त जान्छन् होला ।
– मलाई सिङ्गै रुम दिनुस् है, सानै भएपनि हुन्छ । अनि दिदी, मेरो कोठामा ती चिया पकाउने बहिनीलाई एकछिन् पठाइदिनुस् है ।
कोठा फोहोरी लाग्यो उनलाई । आफ्ना कपडा सम्झिइन्, कोठा फोहोरी लागेन उनलाई । तन्ना मिलाए जस्तो गरिन् र त्यहीं बसाइन् आफ्नो शरीर र झोलालाई । तन्नाको एक कुनामा साना अक्षरले राजतन्त्र मुर्दावाद लेखिएको थियो । शायद कुनैदिन् एम.वी. हरू सुतेका रहेछन् त्यहाँ । चिया लिएर केटी आई एकछिन पछि ।
– दिदी चिया यहाँ छ ।
– त्यहीं राख । अनि बहिनी, यहाँ नुहाउने ठाउँ कहाँ छ ?
– उ त्यो पल्लो हो ।
– अनि ... अनि.. एउटा ब्लेड र दाह्री काट्ने मिसिन मलाई ल्याइदिन सक्छ्यौ ?
– सक्छु, हाम्रै पसलमा छ ।
– अनि ..... अनि मलाई खाना पनि यही कोठामा ल्याइदिन्छ्यौ ?
– हुन्छ । तर अलिक पछि ।
ढोका तानेर गई केटी । श्रुती त्यहीं ढल्किइन् । उठेर चिया पिइन् । भोकमा चियाको स्वाद त्यस्तो हुन्छ वा चिया नै त्यस्तै थियो थाहा भएन उनलाई । धेरैपछि केटी खाना लिएर आई ।
– अब त मेरो पनि काम सकिन लाग्यो आजलाई । मेसिनहरू यहीं टेबलमा राखिदिएकी छु ।
भूइँमा बसेर खाना खानेबेलामा इज्जितालाई सम्झिइन् । नरमाइलो लाग्यो । तर करिब तीस घण्टा पछिको खाना नखाइपनि त भएन ।
– अनि बहिनी ! तिमीलाई दाह्री काट्न आउँछ ?
– तपाईंको दाह्री नै छैन । मेरो पनि छैन । कसको काट्नु प¥यो र ?
– त्यसै सोधेको ।
– आउँदैन । पसलमा खसी काट्ता कहिलेकाहीं मेसिन चाहिँ चलाएकी छु । त्यही पनि दाइहरू नभएका बेलामा ।
– आउँदो रहेछ त । मेरो कपाल काट्न सक्छ्यौ ? मेरा बुबाज्यू मुमाज्यू ..... समान हाम्रा देशका राजा रानीहरूको स्वर्गारोहोण भयो । एक पटक भेटेकी थिएँ । आज धेरै माया लाग्यो उनीहरूको । उनकै नाममा कपाल काट्न मन लाग्यो ।
– केटी मान्छेले किन काट्नु ? केटाहरूले चाहिँ काटेको देखिरथें । हाम्रो कान्छो दाइले पनि काट्नु भयो ।
– केटीहरूले पनि काटेका छन् । मैले दिउँसो देखेको ।
– हुन्छ । काटिदिन्छु तर ऐया, दुख्यो चाहिँ भन्न पाउनु हुन्न । खसीले पनि भन्दैनथ्यो ।
– खसी त मरेको हुन्थ्यो, अनि पो भन्दैन थियो त । मलाई दुख्यो भनें त भन्छु ।
– म तपाईंका यी थालहरू माझेर आउँछु अनि काटिदिन्छु है ? बरु तपाईं बाथरुममा गएर कपाल भिजाएर आउनुस् ।
झोलाबाट कपडा झिकिन् । आफ्ना दुर्गन्धित कपडा र ज्याकेट खोलेर पोको पारिन् र त्यही झोलाको एक कुनामा लुकाइन् । बाथरुममा सानो र मधूरो बत्ति थियो । नुहाएर आइसक्दा केटी कोठामै बसिरहेकी रहिछ थोत्रा पत्रिका हातमा लिएर ।
– टुप्पी पनि राखौं कि ?
– पर्दैन, किन टुप्पी चाइयो ?
– टुप्पी मान्छेको एन्टेना हो रे, हाम्रो पुरोहित बाजेले भनेको । टाढा टाढाका कुरा टिपेर दिमागसम्म ल्याइदिन्छ रे ।
– एक दुई इञ्चको टुप्पी पाल्दा त त्यस्तो हुन्छ भने, हामी केटीहरूको त यति लामो हुन्छ । त्यही पनि टाउकै भरि । खोइ हाम्रोले केही टिपेको छैन त ? ऐया !
– काटेको छैन । बरु यता फर्किनुस् । कपाल जति यही पत्रिकामा झार्नुपर्छ ।
– आधि भयो ?
– भूइँमा हेरेर विचार गर्नुस् न ।
– धेरै दुखायौ क्या तिमीले ।
– यत्तिकै छोड्दिउँ त ?
– मसँग पञ्जाब जाने पैसा पनि छैन अनि पगरी गुत्न पनि जान्दिन । टोपी नै लाउन सजिलो हुन्छ बरु । अनि, तिमी कति कक्षामा पढ्छ्यौ ?
– कतिमा हो कतिमा । बिर्सिपनि सकें । स्कूल जानै पाइँदैन । बन्दको बन्द । अस्तिदेखि आन्दोलनको बन्द । अब त बाह्र हो कि तेह्र दिन नै हुन्छ रे । अघि भर्खरै टि.भि.मा हेरेको, जलाउँदै थिए । पाँचै जनालाई सँगसँगै जलाएछन् । बाउ आमा, छोराहरू र छोरी रे । तपाईंले एकचोटी भेटें भनेको होइन ? कस्ता थिए ?
– राम्रा थिए । ज्यादै राम्रा ।
– आफू छोरी भएकोले होला, उसैको चाहिँ सोध्न मन लाग्यो । त्यो छोरी चाहिँ कस्ति थिई होला है ?
– कस्ति हुनु नि । म जस्तै थिई । तर कपाल चाहिँ काटेकी थिइन ।
– ल हेर्नुस् ऐनामा । कस्ति हुनुभएछ ? मैले दुख्ने गरि काटेको त छैन । किन रुनु भएको ?
– कपालको माया लाग्यो । ती राजा रानीको पनि माया लाग्यो । अनि .... कति पैसा लिन्छौ बहिनी एक रात बसेको ?
– आमालाई सोध्नुपर्छ । खाना अनुसार चार पाँच सय लिनुहुन्छ ।
– यी लिऊ । म बिहानै निस्कन्छु होला । तिमी उठेकी हुन्नौ होला । चाहिँदो जति आमालाई दिनू र बाँकी चाहिँ कपि किन्नू है । अनि मलाई एक–दुई ओटा प्लास्टिक पनि ल्याइदेउ न ।
– हवस् । चुकुल अलिक खुकुलो छ । दह्रो गरेर लाउनुस् है, दिदी ! बत्ति जान लाग्यो । छिटो ओछ्यानमा जानुस् ।
– बत्ति पनि जान्छ ?
– काठमाडौं टेकेको आजै हो कि क्या हो दिदी ?
– कहिले आउँछ ?
– बिहानको घामसँगै । सात घण्टा मात्रै हो लोडसेडिङ् । रातमा सात घण्टा बत्ति जाने भनेर नै हप्तामा सात दिन स्कुल बन्द भएका क्या दिदी ! भनेको नि मैले । गै हाल्यो नि । ल अब सुत्नुस् ।
पल्टिइन् श्रुती अँध्यारोमा ।
बिहानको घामसँगै । घाम त देखिएका थिएनन् तर उज्यालो हुन थालिसकेको थियो । उठिन् श्रुती रातभरि ननिदाई र छामछुम् गर्दै भिझेका कपडाहरू प्लास्टिकमा प्याक गरिन् अनि निस्किइन् लज बाहिर । उद्देश्य थियो बसपार्कतिरको । करिब दश मिनेट लाग्यो होला । ट्याक्सीहरू हेरिन् तर कहाँ लगिदिनु भन्ने ?
स्टार्ट भएको एउटा गाडि थियो बसपार्कको मुखैमा । त्यसैमा चढिन् । मान्छे आए । अरू मान्छे आए । गाडि चल्यो । सिंहदरबार, बबरमहल, एभरेस्ट होटल, कोटेश्वर, भक्तपुर ।
एकैचोटि एघार बज्दा आँखा खोलिए श्रुतीका । रातभरिको निद्रा पु¥याइन् गाडिमा । भोक पनि लागिसकेको रहेछ । झ्यालबाट हेरिन् निकैबेर । गाउँको दृश्य थियो । पुष्पपत्र उद्घाटन गर्दाको गाउँ जस्तो थियो । तर त्यो बाटो थानकोट हुँदै आएको थियो र अहिले उनी भक्तपुरतिरबाट बाहिरिएकी थिइन् ।
– दिदी कहाँसम्म होला ?
– परैसम्म हो । कति छ भाडा आजकल ?
– बन्दले पेट्रोल नपाएर थोरै बढेको मात्र हो । भाडा त उही हो ।
– लिनुस् ।
– टिकट चाहिन्छ ?
– चाहिँदैन ।
– ल फिर्ता लिनुस् ।
जङ्गल अयो । झोलाबाट प्लास्टिकको पोको झिकिन् र फालिदिइन् झ्यालबाट ।
झण्डै पाँच बजिसकेको थियो गाडिको अन्तिम स्टेसनमा आइपुग्दा । सबै मान्छे ओर्लिए र धूलो टक्टक्याए । श्रुती पनि झरिन् र मुख धुइन् ।
– दाइ यता नजिकै एउटा मन्दिर छ रे । कता होला ?
– मन्दिर .... मन्दिर त छैन आनी जी ! तर माथि गुम्बा चाहिँ छ । यहाँबाट पाँच छ घण्टा उकालो हिँड्नुपर्छ । आज त सम्भव छैन । अब भोलि मात्रै हो ।
– धन्यवाद ।
मुडुलो कपाल र कलेजी रङ्गको लुगा । अर्थात् आनी । सोचिन् ः अस्तिकी राम्री राजकुमारी म, हिजोकी काली बौलाही म र आजकी आनी म । अस्तिकी छोरी, हिजो बिहानसम्मकी मानसिक श्रीमती र आज बेलुका देखि हुन नसक्ने आमा म । तीन दिनमा तीनओटा रूप । त्रिरूपा स्त्री म । तर अरूका लागि मात्र रहेछ । न त म छोरी नै भएँ, न त श्रीमती नै भएँ, न त आमा । न त राजकुमारी नै थिएँ, न त बहुलाएकी थिएँ, न त आनी । म केही नै थिइनँ कहिल्यै पनि तर धेरै थोक देखेछन् देख्नेहरूले ।
म मात्र ब्रह्माको सास फेर्ने अङ्ग थिएँ आमाको गर्भमा, मात्र विष्णुको सास फेर्ने अङ्ग छु बाँचुञ्जेल र शायद मात्र महेश्वरको सास फेर्ने अङ्ग हुनेछु मृत्यु कालमा । त्रि–अङ्गि स्त्री म । प्राण, अपान र व्यान वायु वहने त्रिरूपा स्त्री म । दिनैभरि वहने र रातैभरि वहने त्रिवायु म । सास नै सासले गाइने गीत म र त्रिवायुले गाइने विना आवाजकी अजपा गायत्री म । मात्र गायत्री म । तर मेरा लागि मात्र रहिछु । अरूले त के के देख्दा रहेछन् रहेछन् । तब न हेर्दा रहेछन् मात्र अङ्गलाई, लुगालाई, कपाललाई र छालालाई । अनि फरक फरक देखिँदी रहिछु म । मात्र सास देख्ने भए कसले मन, बचन र कर्मले बलात्कार गर्थे होला र स्त्री जातिलाई ? त्रिवायु बन्द भएपछि राम्रै भए पनि कसको सोच आउँथ्यो होला बलात्कारको ।
– दिदी, यतातिर बस्ने होटलहरू कता होलान् ?
– ऊ त्यो पल्लो चाहिँ हो । त्यो मात्रै छ ।
– धन्यवाद ।
उतै लागिन् श्रुती ।
– यता बस्तै गर है नानी । खाना बन्दैछ । पाकेपछि हामी बोलाउँछौं ।
– हवस् ।
बसेकै ठाउँमा रात बित्यो श्रुतीको र त्यही ठाउँमा दिन शुरू गरायो सूर्यले । बासी चियाको सत्कार पछि ड्राइफुडको सामल च्यापेर श्रुती लागिन् उकालो । भरियाहरूको ताँती थियो बाटामा । करिब पचास पटक सोधिन् होला बाटामा कि गुम्बा कहाँ पर्छ भनेर । पचासै पटक उत्तर ‘उकालो’ आयो । पाँच छ घण्टा भनेको ठाउँमा उनी सात घण्टा हिँडिसकिन् र अब दुई घण्टा मात्र छ भन्थे अरूहरू । सोचिन्, रात नै पर्ने रहेछ ।
धारो र कुवा भेट्ने बित्तिकै भरियाहरू भारि बिसाउँथे र नभेटेको ठाउँमा टोकन मात्र लगाउँथे ढाकरको पींधमा तोक्माले । पानी चिसिदैं गयो लेकमा । खाँदाखेरी घाँटी हुँदै तल पेटसम्म पुगेको थाहा हुन्थ्यो । हिंडेको गर्मी थियो शरीरमा तर मौसम चिसो हुन थालिसकेको थियो ।
– दाइ ! ऊ त्यो हिमालको नाम के हो ?
– गौरी–शङ्कर । उतातिरको अग्लो चाहिँ शङ्कर र यतातिरकी हिउँको घुम्टो ओडेकी गोरी चाहिँ गौरी । आनीजीको पहिलो पटकको यात्रा हो गुम्बातिर ?
– हो । अब कति लाग्छ होला त्यहाँ पुग्न ?
– एक डेड घण्टा । डेड घण्टा त अलिक नलाग्ला पनि । तपाईंलाई लाग्छ पनि होला । ऊ त्यो पहाडको टुप्पा भन्दा अलिक तल हो । अब आधि घण्टा पछि देखिन्छ ।
– गुम्बा बाहेक अन्य रमणीय स्थानहरू के के छन् त यता ?
– सबै राम्रै ठाउँ छन् । पर एउटा ताल छ । नाम त सुन्नु भएकै होला । पहिले त्यस तालमा एउटा सुनको बसाहा थियो रे गौरी शङ्कर पट्टि नै फर्किएको । चुम्बकिय शक्ति थियो रे त्यसमा, एउटा त्यतैको जोगीले भनेको । त्यो ताल र गौरी शङ्करको माथि प्लेन पनि उड्न सक्दैन थियो रे । पछि खै कुन्नी कसले थाहा पाएर ताल फुट्न लाग्यो भनेर हल्ला फिँजायो रे । अनि आफ्नै प्लेन ल्याएर पनि परीक्षण ग¥यो रे । पछि बिजुली–सिजुली निकाल्ने भन्दै त्यो पनि लग्यो रे । हवस् त आनीजी, मेरो बाटो यतातिर हो । तपाईं सिधै उँभो लाग्नुहोस् ।
हिमाल । अलिक तल हरियो पहाड । पहाडको अलिक तलसम्म परेको ठूलो फराकिलो ठाउँ । त्यहीं रहेछ गुम्बा । टाढाबाट नै धेरै ठूलो देखिन्थ्यो । देख्दैखेरि पुगेजस्तो भयो उनलाई तर पुग्न अझै एक घण्टा लाग्न सक्थ्यो । बेलुकाको चिसोले टाउको दुख्न थालिसकेको थियो तर हिँड्नुको विकल्प थिएन । हिँडिरहिन् ।
हरियो दुबो र सिरुको कार्पेट थियो गुम्बा वरिपरिको चौरमा । कुकुर भुक्दै थिए पल्लो डाँडासम्म सुनिने गरि । पुरानो भवन रहेछ बीचमा र त्यसका वरिपरि नयाँ रङ्गीन भवनहरू । लेकाली राता फूलहरू थिए ठाउँ–ठाउँमा । टाउको माथि जस्तो थियो पानी सहितको मसिनु बादल । वाफ जस्तै । जति नजिक पुगिन्, कुकुर त्यति नै भुक्थ्यो । भुकाइको आवाजमा वृद्धि भएकै कारण गेटबाट एकजना आनी आइन् बाहिर । श्रुती बोलिन् ।
– नमस्ते आनीजी !
– नमस्ते ! भन्नुस् ।
– म गौरी । काठमाडौंबाट अएकी । त्यहाँको जीवन शैली, सङ्गत र सोचसँग म मिल्न सकिँन त्यसैले तपाईंहरूको जस्तो जीवन बिताउन यता आएकी ।
– खराब काम गरेर, आन्दोलनतिरबाट भागेर वा त्यस्तै काम गरेर लुक्न र बाँच्न त आउनु भएको होइन ?
– होइन होइन । विश्वास गर्नुस् ।
– माफ गर्नुस्, यो प्रश्न सोध्न मलाई मन लागेको त थिएन तर अस्ति भर्खरै एक महिलाले हामीलाई धोका दिइन् । त्यसैले सोधेको हो ।
– म त्यस्ती होइन् । मान्नुस् मलाई आफ्नाले देखेनन् र पराईले चिनेनन् । अनि मान्नुस् मेरा त नजिकका आफन्तहरू सबै सकिए । कसरी सकिए त्यो चाहिँ नसोध्नुस् ।
– हुन्छ । आउनुस्, यता बस्नुस् । तपाईंले एउटा सानो फाराम भर्नुपर्छ धेरै बस्ने हो भने । होइन, एक–दुई दिन घुम्ने र जाने हो भने त्यो पनि पर्दैन ।
– तपाईंहरूले बस्न दिउन्जेल बस्छुहोला । फर्म भर्छु म ।
– अहिले नै पर्दैन । भोलि पर्सि भरे पनि हुन्छ । नाम के भन्नु भयो रे ?
– श्रु...सुश्री गौरी । गौरी ।
– गौरी जी, यहीं बस्नुस् है एकछिन् ।

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...