Skip to main content

श्रुती, पन्ध्र, रहस्य मन

पन्ध्र, रहस्य मन

यतिबेलासम्म त आइपुग्नु पर्ने इज्जिता । आज मेरै गाडि पठाएकी पनि थिएँ । आमालाई अप्ठ्यारो भएछ कि ! आउने बेला त भयो, आदि सोच्दै थिइन् श्रुती । पर गाडिबाट ओर्लिएको देखिन् इज्जितालाई । पर्दा थोरै खोलेर हेरिन् र देखिन् , गाडि अर्कैतिर पार्क गर्न लगियो र इज्जिता सीधै डिनर टेबलतिर आइन् ।
खुशीले आफैंतिर पाइला बढाए जस्तो लाग्यो इज्जिता आउँदा । हेरिरहिन् एकछिन् । वल्लो रूखनेर आउँदा स्पष्ट भयो अनुहार । ओहो ! कस्तो सुहाएको कपडा, अस्ति आफूले एकपटक लगाउँदा त ठीकै देखिएको थियो । आफैंले दिएको उपहार र आफैं जस्तालाई दिएको चिनो सुहाएकोमा अर्को तहको खुशी बढ्यो श्रुतीलाई । सबै जना जम्मा भइसक्नुभएको थियो । नचिनेका पाउनाहरू एक लाइनमा बसे जस्तो लाग्यो श्रुतीलाई । सोचिन् ः यिनै मध्ये एक हुनुपर्छ मुमाज्यूले हेरेको केटो । उनीहरूको ढाडमात्र देख्दैथिइन् कक्षको पर्दाबाट लुकेर ।
मुमाज्यू, दाइज्यू, बुबाज्यूको अनुहार मैनबत्तिको प्रकाशले पहेंलो देखिएको थियो । सुसारेहरू अलिक परै बसेका थिए । इज्जिता टेबलको नजिकै पुगिन् । दाइज्यूले परैबाट हातको इशारा गर्नुभयो बस्नलाई । अरू पनि पाहुना आए । पछिबाट भाइ आयो । दाइज्यूले उसै गरी बस्न इसारा गर्नु भयो । सोचिन् ः गइहालें भने म पनि इज्जिता नजिकै गएर बस्छु । मुमाज्यूले बोलाउन नपठाए पनि हुन्थ्यो मलाई । यहीं बसी रहन्थें खाना खाउन्जेल् । एकछिन् पछि गफ गर्न इज्जिता आइहाल्छिन्, के के कुरा भयो सुनाइ हाल्छिन् । लुक्न सजिलो भयो उनलाई । क्याण्डल लाइट डिनरमा धेरै जसो बत्तिहरू निभाइएका थिए । आफ्नो कक्षमा पनि मधूरो नै बत्ति थियो । आँखालाई मात्र पुग्ने गरी पर्दा खोले भइगयो । बसिन् चेयरमा श्रुती र हेर्न थालीन् डिनर । हाँस्दै गफ गर्दै र संहालिँदै बित्दै थियो डिनर ।
बोली सुनिनन् तर हाऊभाऊ गरेको देख्दै उनी बुझ्दै थिइन् कि कसले के भन्दै छ भनेर । भाइ उठेर जान लागेका थिए, दाइज्यूको इसाराले फेरि बसे ।
अब दाइज्यूको पालो रहेछ । हात हल्लाइ देखेर नै बुझिन् कि दाइज्यूले आफ्नो कुरा स्पष्ट राख्नु भयो । हतार हतार मुमाज्यूलाई हेरिन् । अनुहार त देखिन् तर पढ्न सकिने गरी देखिनन् । बुबाज्यूको ओठ विस्तारै हल्लिन थाल्यो । फेरि दाइज्यू नै बोल्न थाल्नु भयो । अनुहारमा रीस बढ्दै गएको देखिन्थ्यो । अलिक डराइन् श्रुती । सुसारेहरू टेबल नजिक देखिनन् । सोचिन् ः नबोलाए पनि आफैं जानु प¥यो अब ।
ढोकातिर आइन् तर केही पड्किए जस्तो सुनिन् । ढोका खोल्नै लागेकी थिइन्, अझ बढी आवाज आयो । फेरि गइन् त्यही झ्यालतिर । बुबाज्यू र मुमाज्यू त लडिसक्नु भएको रहेछ ग्राउण्डमा । मुमाज्यू लरखराउँदै उठेर किचनको ढोकासम्म पुग्नु भयो । फेरि गोली लाग्यो र त्यहीं ढल्नु भयो । भाइ अलिक पर डराउँदै गयो । दाइज्यूले उतै गोली हान्नु भयो । आँखा बन्द गरिन् ऊ लडेको देखेर । भुइँ रातै भइसकेको थियो । दाइज्यू अझै बन्दूक चलाउँदै हुनुहुन्थ्यो । उनी चिच्याउन खोजिन् तर आवाज आएन । पाहुनाहरू एक दुई जना उठेका र एक दुईजना निहुरिएका देखिन् । दुबै हातले आँखा छोपिन् । सोचिन् ः कलि युगमा एकक्षण मात्रै कृष्ण कीर्तन ग¥यो भने पनि पापहरू नासिन्छन्, सङ्कट मोचन हुन्छ भन्छन् । के यही बेला हो त मैले उनलाई सम्झिने । हे राम ! हे कृष्ण !
ओठ तातो भयो आँशुले । हात हटाइन् आँखाबाट । दाइज्यू पर पर हेर्दै, गोली हान्दै भाग्नु भयो देब्रेतिर । पाहुनाहरू दाहिनेतिरको बाटो हतारिए । दाइज्यू फेरि आउनु भयो र लडेकालाई एक एक गरी हेरेर फेरि उतैतिर जानु भयो ।
लाटी भइन श्रुती, बोली आएन । अन्धी भइन्, रिङ्गटा लागेर सबैतिर रातो मात्र देखे जस्तो भयो । खुट्टा चलनेन् । प्यारालइसिस् भए जस्तो भयो । दुबै कानले धेरैबेर बन्दूकको आवाज मात्र सुनिरहे । अहिले त आँशु पनि झरेका थिएनन् । धन्न सास फेर्न गाह्रो पर्दो रहेनछ र यो आफैं पनि सकिँदो रहेनछ । खुट्टा डराए जस्ता गरे । थेगिएन शरीर र भुइँमा खसिन् कपडा खसे जस्तै ।
समय बित्यो । पहिलो होसमा आयो कान र सम्झायो उही आवाजलाई । आँखाबाट क्रमशः रातोपन हट्तै गयो । जबर्जस्ती फेरि आँखा बन्द गरेर खोलिन् । सपना होइन भने तिनीहरूले । आफैंलाई चिमटिन् र थाहा पाइन कि हातहरू चल्न थालेछन् । दिमागले बिस्तारै सबै अङ्गलाई अह्राउँदै गयो । बोल्न खोजिन् एक्लै तर जिब्रो चलेन । त्यसै मुख आँ गर्दै, बन्द गर्दै गरिन् । आफ्नै जिब्रोले नबोलेको हो वा बोलेर पनि आफ्नै कानले नसुनेको हो थाहा भएन । पानी खान मन लाग्यो तर ल्याइदिने कोही भएन ।
खाट र झ्यालको फेद समात्दै उठिन् र चिहाइन् बाहिर । आफैं टाउको थरर्र हल्लियो । आर्मी, सुसारे र पाउना त के परसम्म पुतली र किरा पनि उडेका थिएनन् । कोही बेला चरा नउडे पनि कराउँथे रातमा । पातसम्म पनि हल्लिइएका थिएनन् रूखमा अहिले । सब लाश जस्ता थिए, रूखको फेदको भाइ जस्तै ।
बिचरा भाइ ! विना कारण मारिनेको प्रथम सूचिमा प¥यो । बरु मलाई मारेको भए हुन्थ्यो दाइज्यूले । त्यसै म¥यो भाइ । इज्जिताले भने जस्तै, विना कारण । अकस्मात् सम्झिन् इज्जितालाई । खोइ त उनी ? अलिक बढी पर्दा खोलिन् । दुबै हात र टाउको टेबलमा राखेर मरिछन् । देखिन्, कपडा मात्र होइन रहेछ, बाला पनि उनैले दिएको लाएकी रहिछन् । तर अलिक राता भएछन् रगतले । चन्द्रमाको प्रकाशमा कालो कपाल पनि स्पष्ट कालो देखिएन । एक प्रकारले आफैं मरे जस्तो लाग्यो इज्जिता मर्दा उनलाई । आखिर उनैका लुगा र बाला छन् लाशको खोलमा ।
ढाडतिर सिरिङ्ग भयो श्रुतीलाई । बोली फुट्ला जस्तो भयो । मुख बन्द भएर दिमागतिर चिसो बतास कुद्यो । र बताससँगै कुद्यो अनैठो रहस्यको लहर । सोचिन्, म त वास्तवमा नै मरिसकेकी रहिछु । दाइज्यूले इज्जितालाई नै चिन्नु भएन । म जत्रै, उस्तै अनुहार, उस्तै कपाल, मेरै लुगा, मेरै बाला अनि मधूरो प्रकाश । त्यो पनि टेबलको अर्को छेऊबाट देखेको । फेरि मेरै गाडिबाट ओर्लिएर आएकी ।
दोधारमा परिन् श्रुती । आफू मरिसकेपछि यस्तो अनुभव हुन्छ वा आफू मरेकै छुइँन भन्ने स्पष्ट भएन उनलाई । आफैंलाई आफ्नै भूतले तर्साए जस्तो भयो । बच्चा जन्मि सकेपछि र पहिलो रुवाइ भन्दा अघिको बीचको समयको अनुभव गरिन् । रोकिएको समयको अनुभव गरिन् । जीउँदै भएर मृत्युको अनुभव गरिन् अनि मर्ने बित्तिकैको पहिलो चेतना पूर्ण जीवनको अनुभव गरिन् ।
धेरैबेर म यहाँ बसें भने बहुलाउँछु जस्तो लाग्यो श्रुतीलाई । धेरै रहस्य बुँझे भने बहुलाउँछु जस्तो लाग्यो । बरु मरेकै भए ठीक हुने रहेछ । दाइज्यूलाई धिक्कारिन् ः आफ्नी बहिनीलाई पनि नचिन्ने ! कति आनन्द हुन्थ्यो यसखेर, त्यही टेबलमा त्यसरी नै हात पसारेर म मरेकी भए ।
त्यस ठाउँबाट लुकेर भाग्न मन लाग्यो तर उज्यालोले बाटो छेकिदियो उनलाई । परका बत्तिले खासै असर पार्दैन थियो र नजिकका क्याण्डलहरू लाश जस्तै टेबल तल लडेका थिए । उछिट्टिएर पर पुगेका थिए कति । क्याण्डलको पृथ्वी तत्व पृथ्वीमा नै पसारिएको थियो र जल तत्व सुकिसकेको थियो उनीहरूको । तेज निभिसकेको थियो र धुवाँ रूपी वायु उसैमा मिलिसकेको थियो । आकाश तत्व शायद चन्द्रमासम्म नै पुगिसकेको थियो तब न उनी पनि अघि भन्दा अझ स्पष्ट चम्किदै थिइन् ।
उनलाई लाग्यो यो सब हुनुको कारण तिनै आकाशकी चाँदनीको हो । चाँदनी भएर चाँदनीलाई नै मार्न सहयोग गर्ने त्यो पनि उनैलाई सम्झिने सोमबारका दिन । अझ आफू आकाशमा देखिइसकेपछि । आफ्नो मन्द प्रकाशको मायाजालमा अरूलाई पारेर, अरूलाई मारेर, आफू चाहिँ एक्लै सोमरस पान गरि हाँसि बस्ने चन्द्रमाप्रति रीस उठ्यो श्रुतीलाई । अहिले उनलाई भाग्न नदिने पनि उनै सोम थिइन्, उनै चन्द्रमा थिइन् । पिर चिरिएर रिस ठाडो भयो । मनमनै सरापिन् तिनै चन्द्रमालाई ।
– रातभरि मृतात्मा देख्नु परोस् !
– तिमीलाई पृथ्वीले आफैंतिर तानुन् !
– सूर्यले पनि उतैतिर लघारुन् !
– म जस्तै आफ्नो परिवारबाट अलग भएर एक्लै बाँच्नु परोस् !
– कहिल्यै शान्तिसँग बस्न नमिलोस् !
– तिम्रो कोखमा पहिलो पटक कुकुरको बास होस् !
– मलाई जस्तै तीर्खा लाग्दा पानी खान नपाएस् !
– कालो बादलले ढाकिदियोस् तिमीलाई !
– देखिइहाले पनि दागै दाग होस् अनुहार भरि !
– मेरो जस्तै रातभरि आँशु झार्नु परोस् !
– मेरा पेन्टिङ्गका सर्पदेखि तिमीलाई डर लागोस् र शिवजीको घाँटी भन्दा तल ओर्लिन नपाएस् ।
हात उठाइन् चिथोर्न आकाशतिर हेरेर । अघिको भन्दा स्पष्ट थिइन् चाँदनी । श्रुतीलाई जिस्क्याए जस्तो गरेर अझै हाँस्दै थिइन् र मानौ भन्दै थिइन् कि, श्रुती ! तिम्रा सबै श्रापहरू त युगौं देखि नै मैले भोगी रहेकी छु । यी भन्दा बढी श्रापहरू मसँग छन् । बरु यहाँबाट छिट्टै भाग र देशका कुना काप्चामा, सक्छ्यौ भने विश्वमा नै शान्तिको ध्वनि छर्दै जाऊ तिमी । सराप्न छोड । कतिपय कामहरू मेरो उपस्थितिमा गर्न सजिलो हुन्छ । अलाप्न छोड अब ।
मुमाज्यूका रक्ताम्मे खुट्टा देखिन् । भान्साको ढोका बाहिर त्यति नै शरीरका भाग देखिएका थिए । बाँकी शरीर ढोकाको भित्र पट्टि कोठामा थियो । हुन त उनले मुमाज्यूलाई शायद त्यति मात्र बुझेकी थिइन् अघिसम्म । खुट्टा जति मात्र । सिङ्गो मुमाज्यूलाई बुझ्ने प्रयास कसले नै गरेको थियो र ! सोचिन् ः आखिर उहाँले छानेर नै गीत गुनगुनाउनु भएको रहेछ,
कति पराइ आफ्ना भेटें ......
कति आफ्ना पराइ देखें.... ।
आखिर आफ्नै कोखको छोराले मारेर भाग्यो उहाँलाई । शायद गोली पनि आफू नौ महिनासम्म बसेको ठाउँमा हान्यो होला । बरु आन्दोलनकारीले नै हानेको भएपनि उहाँको आत्माले छिट्टै शान्ति पाउँथ्यो होला । धिक्कार होस् हाम्रो  दाइज्यूलाई, कसरी जरै काटेर आफू हरियो बाँच्न मन लागेको होला !
पर्दाका चारै कुनाबाट चियाइन् । सबै थोक लाश जस्ता थिए । ढोकातिर कान लगाइन् । आफूले सास फेरेको आवाज मात्र बज्यो । ढोका खोलिन् बिस्तारै र हेरिन् मधूरो प्रकाशमा । कहीं कोही थिएनन् । कक्ष बाहिर आइन् । घोप्टो परेको लाश ढोकै नेर अल्झेको रहेछ । पार गरिन् एउटा मोड । बाटा छेउका सेता फूलमा रगतका राता छिटा थिए । अगाडि देब्रेतिर मुमाज्यूका खुट्टा र दाहिनेतिर बुबाज्यूको शरीर । टेबलमा इज्जिता, मैन बत्तिले डढेको सल थुप्रिएछ अनुहार भरि गुजमुज्ज परेर । चिनिनै नसकिने गरी ।
भित्रबाट देखे भन्दा बढी लाश रहेछन् बाहिर भुइँमा । एक माथि अर्को पल्टिएका थिए । निहुरिएर हेरिन्, निहुरिएर हिंडिन् । स¥याक्क ग¥यो केही त्यही बेला । श्रुती लाशहरूकै बीचमा सुते जस्तो गरिन् । तर फेरि त्यही आवाजमा अर्को रूखमा चरो सलबलायो । बिस्तारै उठेर कक्षतिर फर्किन् ।
ढोका छेवैको ड्रयरबाट हाते पेस्तोल, पासपोर्ट, मुमाज्यूले दिएको नयाँ ए.टी.एम. कार्ड र मोबाइल लिएर फेरि बाहिर आइन् । उही बाटो र उही सास विहीन शरीरहरू देखिन् । चन्द्रमा अलिकति ढाकिएका थिए । दक्षिण गेटतिर जान मन लागेन किनकि त्यहाँ धेरै खुल्ला ठाउँ थियो । विना आँशु र विना आवजले परिवारलाई श्रद्धाञ्जली दिइन् र अघि बढिन् । पूल पार गर्दै दहसम्म आइन् । आधि टल्किएकी थिइन् चन्द्रमा त्यही दहमा ।
जाली चन्द्रमा, एकैसाथ दुई रूप भएर बाँच्न सक्ने । अवतारी बहुरूपिया कृष्ण जस्तै । यसपाली सरापिनन् चन्द्रमालाई ।
दहमा नै उत्तानो अवस्थामा थियो अर्को लाश । भर्खरै देखेको लुगा जस्तो लाग्यो र डराउँदै झुकेर हेर्न गइन् । मुख आँखा नाक सबै खुलेका खुल्यै भए श्रुतीका । मर्नलाई डर र बाँच्नलाई रहर भएन अब उनलाई । उभिएर हिँडिन् तर फेरि आँशुहरू अलमलिए र सास रोकिएर चल्न थाल्यो । अझ नजिकै आइन् र स्पष्टसँग हेरिन् । किन झुकिन्थे उनका आँखाहरू । आफ्नैं दाइज्यूको लाश थियो उनका अाँखा अगाडि । मुमाज्यूले बिहान साइतका लागि दिएको औंठी टल्किरहेको थियो औंलामा । दिमागले काम गरेन एकछिन् । सोच्न खोजिन् ः दाइज्यू त उताबाट ज्युँदै भाग्नु भएको थियो, अनि यहाँ कसरी मर्नुभयो त ?
धेरैबेर आँखा चिम्लिएर त्यहीं बसिन् । बचे–कुचेको आँशुले ठेलेर आँखा खोलाई दिए । त्यही अलिकति आँशु चढाइन् दाइज्यूलाई र सम्हालिदै लागिन् चौरतिरको बाटो । रूखमुनि थोत्रा कुर्सी उभिएका थिए । पछाडि हेरिन् र फटाफट ओझेल पर्दै पुगिन् बन्द गर्न नमिल्ने पर्खालको गेटबाट बाहिर । दुई ओटा पुराना भवनका पेटीभरि रहेका फूलहरूको छायाँ पार्दै पर पुगीन् । ढिस्को देखिन् र देखिन् विजुलीको बाकस जस्तो रूपलाई । हतार हतार खोलिन् र धन्यवाद दिइन् दाइज्यूलाई । उहाँले नै देखाएको बाटो काम लाग्यो यतिखेर । भित्र पसेर ढोका बन्द गरिन् र अन्जानमा धिक्कारेकोमा दाइज्यूसँग माफ मागिन् ।
स्वर्ग शायद अध्याँरो र चिसो गुफा भित्र हुन्छ होला र त उनलाई लाग्यो उनी अहिले स्वर्गमा पुगे समान भइन् । कसैले नदेख्ने ठाउँमा पुगिन् । हुन त उनलाई हेर्ने पनि को नै बाँकी छ र अब । अँध्यारोले मात्र हेर्दै छ चारैतिरबाट । होचो र साँघुरो ठाउँ हुनाले निहुरिएर र कुप्रिएर बसिन् अनि देखिन् अन्धकारलाई जो उनको पर्खाल बाहिरको पहिलो मित्र बन्दै थियो ।
सोचिन् ः मेरा भरपर्दा र दीगा साथीहरू जहिले पनि अँध्यारोसँग नै सम्बन्धित हुँदा रहेछन् । सम्बन्धित हुँदा रहेछन् कालोसँग नै । बुबाज्यूको अण्डकोश भित्र अँध्यारोमा नै बाँचें कति महिना । मुमाज्यूको गर्भभित्र अँध्यारोमा नै बाँचें नौ महिना र अहिले पृथ्वीको गर्भमा उही अँध्यारोमा बाँच्दैछु । थोरै रमाइलो लाग्यो श्रुतीलाई, आफ्ना साथीले सधैं साथ दिएकोमा । पूर्णअन्धकारमय साथीले फेरि भेट दिने नै छ एक दिन, मुमाज्यूलाई जस्तै ।
शायद मुमाज्यूको पेटभित्र म यसरी नै बसेकी थिएँ होला । यसरी नैं कुप्रिएर र यसरी नै निहुरिएर अनि यति नै अँध्यारोमा । आँखा हुनु र नहुनुको अर्थ त उज्यालोमा मात्र रहेछ । आँखा देख्नुको अर्थ नै अँध्यारोमा हिंड्ने तयारी गर्नु रहेछ जस्तो लाग्यो । डोरीलाई सर्प देख्ने उपनिषदीय आँखाहरू उज्यालोमा छल गर्दा रहेछन्, छली चन्द्रमा जस्तै । आफू टल्किने र अरूलाई धोखा दिने । शायद यसैले होला आँखाहरू पनि टल्किएका । धोखेवाजहरू ! तब न मैले चिनिनँ मेरै दाइज्यूलाई कति पटक । मलाई बाइ गर्ने हातहरू र जिन्स् लगाउने खुट्टाहरूलाई जसले महिनौं अघिदेखि हाम्रो सामूहिक मृत्युको नाटक मञ्चन गर्नुपूर्व रिहर्सल गरिरहेको थियो । तर आँखा त उसका पनि टल्किएका थिए । तब न चिनेन इज्जितालाई अनि मा¥यो श्रुतीलाई । अनि अन्धाकारमय जीवनमा धकेलिदियो मलाई । यही मेरो वर्तमान मित्र अन्धकार भित्र । बिचरा उसलाई के थाहा कि अन्धकार मेरो साथी हो र उसले मलाई बचाउँछ भनेर । उसले मलाई रूपान्तरण गर्छ भनेर ।
वास्तवमा नै रूपान्तरित हुँदै छु फेरि एक पटक । एउटा अद्भूत र चिन्मय परिवर्तन । यही कालो गर्भबाट म जन्मिन लाग्दैछु फेरि अर्को संसारमा । नयाँ सूर्यसँग जन्मिने छु पर्खालको बाहिर पट्टी । खोलामा जन्मिनेवाली छु म भोलि । कालो खोलो । पानी फोहोर छ भन्नुहुन्थ्यो दाइज्यू । थोत्रा प्लास्टिक र लेउको साल नाल हुने छ मेरो शरीरभरि । शूद्रसमान पुनः रूपान्तरित हुँदैछु म र पहिलो पटक ठूलो स्वरमा रुने छु कृष्ण ! भनेर । त्यो मेरो विना आँशुको पहिलो रुवाइ हुनेछ  जीवनको ।
कति राम्रो संयोजन रहेछ उसको नाममा । अन्धकारको अर्को नाम नै कृष्ण हो, कालो हो र श्यामल हो । कृष्ण पनि उनको घनिष्ट मित्र नै थियो । अण्डकोशदेखिको मित्र र गर्भासयदेखिको मित्र अनि रूपान्तरित अवस्थाको मित्र । उसैसँग मिलन हुनका लागि उनी हतारिएकी थिइन् र सर्पका पेन्टिङ्गहरू कोरेकी थिइन् । कृष्ण मिलनका लागि लुकेर क्रान्ति गर्दै थिइन् उनी र श्रुती प्रेमका लागि रूप बदलेर क्रान्ति गर्दै थियो अवतारी कृष्ण पर्खाल बाहिरबाट ।
सोचिन् ः फोन गर्नुप¥यो कृष्णलाई एकपटक । फेरि सोचिन्, दिनभरिको क्रान्तिले थाकेको होला । भोलि बिहानै गर्छु र पुल नजिकै आउनु भन्छु । भुइँको चिसोबाट मोबाइल जोगाएर ढाडतिर सिउरिन् । फेरि सोचिन् ः यसरी मैले दुःख पाएको के आफ्नो शरीरको माया र मेरो आफ्नै प्रेमको कारणले मात्र होला त ? पक्कै होइन । मैले जसरी भए पनि मेरा परिवारको हत्यारालाई भेटेर बदला चाहिँ लिनै पर्छ । कृष्णको साथ पाएपछिको मेरो अर्को ठूलो काम भनेको नै यही हुनेछ ।
कालो सुरुङ्ग भित्र घिस्रन थालिन् श्रुती मोबाइलको मन्द उज्यालोमा । मोबाइल मुखले टोक्यो, दुबै हात पसारेर अगाडि बढ्यो अनि शरीर घिसा¥यो चिसो जमिनमा । तर धेरैबेर त्यसो गर्नु परेन । आकार बढ्दै थियो सुरुङ्गको अगाडितिर । सामान्य कुप्रिएर जराहरू छल्दै हिड्न सकिन्थ्यो । धेरैबेर तर बिस्तारै हिंडिरहिन् श्रुती । समयको ख्याल रहेन उनलाई । फेरि बाटो साँघुरियो र साँघुरिन पुगिन् उनी पनि । बाक्लै तर स–साना जरा जस्ता थिए । कतै काँध र टाउको मात्र प्रयोग गरिन् जरा हटाउन । पानीको कल्याङ् कुलुङ् सुनिन थल्यो । सोचिन् ः खोलामा आइपुग्न लागेंछु ।
एकैछिन्मा उनी दुर्गन्धित खोलाको नजिक आइपुगिन् । पर देब्रेतिर केही उज्यालो जस्तो देखिनुको अर्थ थियो खोलाको बाटो धेरै हिड्नु पर्दैन अब ।
फर्किएर अलिक पर गइन् जहाँ कम दुर्गन्ध आउँथ्यो । त्यहीं बसिन् बिहानको पर्खाइमा । मोबाइलमा पाँच बजेको थियो । अझै बस्नु पर्छ एकाध घण्टा । योजना बनाइन् ।
– पहिला फोन गर्छु कृष्णलाई,
– खोलाको मुखैनिर पुल मुनी गएर बस्छु ,
– जब सडकमा मान्छेको चहलपहल बढ्न थाल्छ तब निस्कन्छु । अस्ति अस्ति जस्तै सडक भरि नै मान्छे होलान् किनकि हिजो बेलुकासम्म क्रान्ति रोकिएको थिएन,
– कृष्णलाई भेटेपछि मेरो काम सकिइहाल्यो, मानौं म मोक्ष भइहालें । उनैको शरणमा बिताउँछु बाँकी जीवन । आखिर दुनियाका लागि श्रुती मरिहाली ।
समय बित्यो । चिसो आयो भुइँबाट । अलिक पर सरिन् । फेरि सुरुङ्गको मुखैनिर घिस्रिइन् । राजा उत्तानपाद जस्तै पहिले टाउको र पछि पैताला सहित दक्ष तरिकाले घिस्रिंदै खोल्सीमा झरिन्, सुरुङ्गी गर्भबाट । चिसो पानीले अलिकति धकेली दियो । उज्यालो बढ्दै थियो । खोलो गâाउने क्रम उस्तै थियो र आवाज पनि उस्तै । समय बित्यो । फोन झिकिन् र डायल गरिन् एक मात्र भरोसाका केन्द्र उनै कृष्णलाई ।
– माफ गर्नुहोला, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्वीच अफ गरिएको छ । सरी द मोबाइल यू ह्याभ डायल्ड् इज स्वीचड् अफ ।
आफ्नै आमा बुबा, दाजु भाइले त साथ दिएका थिएनन् यतिबेला, कहाँको कृष्णले कस्तो साथ दिन्थ्यो । अनि जिवित कृष्णले त साथ दिएन भने यो निर्जीव मोबाइलले के साथ देओस् ।
– तँ पनि दरबारिया नै रहिछस् र दरबारमा नै बस्, भन्दै फालिदिइन् मोबाइल त्यही खोलाको इँट्टामा । बिचरा फुटेर राम्ररी खोलामा पुग्न नपाउँदै बगायो कालो पानीले जसरी बग्यो उनको सपना पर्खाल बाहिर आइनपुग्दै ।

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...