नेपाली संस्कारमा पर्यावरण चेतना
ब्रह्मा मुरारि त्रिपुरान्तकारी
भानु शशी भूमि-सुतो बुधश्च
गुरुश्च शुक्र शनि राहु केतव :
कुर्वन्तु सर्वे मम : सुप्रभातम् ।
मलाई मस्त निद्राबाट ब्युँझाउने श्लोक हो यो सानामा
। आमाका
मुखबाट प्रत्येक बिहान सुन्दा सुन्दा उसै कण्ठ भएको र बर्सौंसम्म अर्थ नबुझेको
श्लोक हो यो । समाजका अरू मानिसका नजरमा मैले मेरी निरक्षर आमाभन्दा धेरै पढी
सकेपछि पो बल्ल यसको अर्थ खुल्यो मलाई जसले यो भन्दो रहेछ कि त्रिदेवका अतिरिक्त
अन्य ग्रहहरूले मेरो बिहानी राम्रो पारिदिऊन् ।
आफ्नो कल्याण तब हुन्छ जब आफू बसेको समाज, देश, भूगोल, ग्रह, छिमेकी ग्रह एवम् यी सबैको सम्पूर्णताको कल्याण हुन्छ । कति फराकिलो सोच ! कुर्वन्तु सर्वे मम : सुप्रभातम् । कति राम्रो पर्या-साहित्यिक दूरदृष्टि !
सामान्य अर्थमा पर्या-साहित्य एक यस्तो साहित्यिक धारा हो जसले प्रकृति र पर्यावरणसँग सम्बन्धित मुद्दाहरूसँग साहित्यिक कृतिहरूलाई आफूमा समाहित गर्छ । यसमा मानव र प्रकृतिको सम्बन्ध, प्रकृतिको संरक्षण, पारिस्थितिक प्रणालीको सन्तुलन, र प्रकृतिका विविध पक्षहरूको वर्णन हुन्छ । पर्या-साहित्यले आफ्नो लेखनीद्वारा समाजलाई पर्यावरणीय समस्याहरूबारे सचेत गर्न र तिनीहरूको समाधानका उपायहरूको खोजी गर्न प्रोत्साहित गर्छ । पर्या-साहित्य भन्नाले यस्तो साहित्यलाई बुझिन्छ जसले मानव र प्रकृतिका बीचको सम्बन्धको व्याख्या गर्दछ र मानवको आचरणका कारण पारिस्थितिक प्रणालीमा भइरहेको नकरात्मक एवं सकारात्मक प्रभावलाई उजागर गर्दछ । यो साहित्यको उद्देश्य केवल लेखन गर्नु होइन, बरु पाठकलाई पर्यावरणीय मुद्दाहरूप्रति संवेदनशील बनाउनु हो । संवेदनशील पनि अझ यसरी बनाओस् कि आफ्नो घर वरपरको मात्र नभएर पूरै विश्वब्रह्माण्डको बनाओस् जसरी आमाले भन्ने माथिको श्लोकले बनाएको छ ।
अब म एकछिन बुबातिर लागेँ । नातिको व्रतबन्धमा के के सामान चाहिन्छ भनेर एक दिन पुरोहित बालाई सोध्दै बस्नु भएको थियो । म उहाँ नजिकै पुगेपछि मलाई एउटा कापीमा टिप्न लगाउनु भयो । मैले सुन्दै लेख्दै गर्दा यति टिपेँछु ।
कपडाजनित सामानहरूमा जनै, पहेँलो वस्त्र, रक्षाबन्धन, नवग्रह कपडा, सौभाग्य कपडा, रातो र सेतो ध्वजा, रातो र सेतो कपडा, गुरु वस्त्र, धोती, कछाड आदि ।
बोटबिरुवाजनित सामानहरूमा हवन सामग्री, कुश, कुशको पवित्र, कुशको औँठी, लाजा, ग्रह समिधा, सुपाडी, श्रीखण्ड, तुलसीपत्र र मञ्जरी, तिल, जौ, रायो, सर्स्युं, दतिवन, पलाँसको समिधा, पञ्चपल्लव, सर्वौषधी, बाटेको धूप, काटेको बत्ती, अगरबत्ती, केराको बोट, उखुको बोट, पैयुँका हाँगा, दुना टपरी, केसरी, भष्म, बेसार (बुकुवा), नरिवलको जटा, सुकेको नरिवल, रुद्राक्ष माला, दुबो, कपुर, विभिन्न प्रकारका सुगन्धी फूल, मालाहरू, साथै विभिन्न फलफूलहरू आदि ।
जनावरजनित सामानहरूमा पञ्चगव्य, पञ्चामृत, दुम्सीको काँडा, शङ्ख, मृगचर्म आदि ।
धातु एवं खनिजजन्य कुराहरूमा भिक्षा पात्र, गायत्री माताको फोटो, सहस्र धारा थाली, आचमनी, पञ्चपात्र, घृतछाया कचौरा, सौभाग्य सामग्री, कमण्डलु, अबिर, सिन्दूर, काँसको कचौरा, देवी प्रतिमा, पञ्चरत्न, सप्तमृत्तिका, सुनको र चाँदीको छुरा आदि ।
ओहो ! कति धेरै
सामग्री ! अझ पुरोहित बाले सम्झिएर पछि टिपाउँला छुटेका भए पनि भन्दै हुनुहुन्थ्यो
। एउटा कार्जेका
लागि अन्न, पानी र सागपात बाहेक यति धेरै सामान चाहिने रहेछ ।
मैले मनमनै मेरो अर्वाचीन संस्कार र परम्परालाई नमन गरेँ । कमसेकम संस्कार छ र त यी वस्तुहरू जोगिएका छन् । कमसेकम संस्कारकै लागि र धर्मकै लागि भनेर त जोगिएका छन् । उल्लिखित वस्तुहरू र मानवबीचको सम्बन्ध, यो सम्बन्ध र पृथ्वीको दीर्घायुबीचको सम्बन्ध कति नजिक होला । अनि, यी सब कुराहरूलाई लेखेर, व्यवहारमा ल्याउने हाम्रो साहित्य कति सभ्य र भव्य होला !
हामी भन्छौँ कि पर्या-साहित्यिक धारा आधुनिक युगमा बढी लोकप्रिय भएको छ, खासगरी जब पृथ्वीका प्राकृतिक संसाधनहरूको दोहन र प्रदूषण बढे पश्चात् यो साहित्यको विकास भएको हो । हामी अहिले खोज्दै छौँ पर्या-साहित्यको उत्पत्ति ! हामी अहिले खोज्दै छौँ पर्यावरणीय र प्राकृतिक संरचनाको सम्बन्धमा बढ्दो चासोको कारण । हामी अहिले खोज्दै छौँ हेनरी डेविड थोरो र राल्फ वाल्डो इमर्सन जस्ता लेखकहरू जसले प्रकृतिका महत्वपूर्ण कुराहरूलाई आफ्ना कृतिहरूमा कसरी चित्रित गरे । हामी अहिले खोज्दै छौँ उनीहरूको लेखनले मानिसको जीवनमा प्रकृतिको महत्व र मानवताको कर्तव्यलाई कसरी स्पष्ट पार्छ भनेर । अनि हामी अहिले खोज्दै छौँ पर्या-साहित्यको जन्मदाता, विकासकर्ता र पर्यावरणीय आन्दोलनकर्ता को को हुन् भनेर जब कि हाम्रै संस्कारमा यतिविधि पर्याचेतना छ ।
अझ लाजै लाग्ने
विषय त यो हो कि कतिपय पर्या साहित्यका लेखहरूमा यतिसम्म भेटिन्छ कि पर्या
साहित्यको पहिलो चरण "रोमाण्टिक" विचारधारामा आधारित थियो, जसमा प्रकृतिका अनगिन्ती रूपहरू
र मानवको प्राकृतिक परिवेशसँगको घनिष्ठ सम्बन्धलाई चित्रित गरिएको थियो र यसलाई "प्राकृतिक
काव्य" अर्थात् नेचर पोइट्री नामले जानिन्थ्यो । एस् टि कलरिज, विलियम
वोर्ड्सवोर्थ आदिले यसको शुरुवात गरेका हुन् । यिनीहरूको समूहले नै पर्या-साहित्य आधार निर्माण गरेका हुन् । अनि फेरि
सम्झिन्छु हजुरबुबाले निधारमा, कण्ठमा र थोरै कानका लोतीमा टिको लगाई सकेपछि त्यतै
ऐना भएको मूल थामतिर हात पुछदै भन्ने गरेको सिलोक !
करारविन्देन
पदारविन्दं
मुखारविन्दे
विनिवेशयन्तम्
वटस्य
पत्रस्य पुटे सयानं
बालं मुकुन्दं
मनसा स्मरामि ।
यो के भनेको
हजुरबुबा भन्दा उहाँ भन्नुहुन्थ्यो : त्यो सानो बच्चो जो ठूलो तलाउको बीचमा वरको
पातको टपरीमा सुतेको छ र जसले हातका र खुट्टाका बुढी औँलाहरू मुखमा जोडेको छ उसलाई
म मनले सम्झिन्छु । बालक कृष्णको मन्त्र हो यो भन्नुहुन्थ्यो ।
एउटा संसार,
त्यो संसारमा एउटा ठूलो तलाउ, त्यो तलाउमा वरको पातबाट बनेको टपरी, त्यसमा एउटा
बच्चो ! अनि फेरी त्यही बच्चोलाई नै संसारको लयविलयको कारण मान्ने संस्कार हो
हाम्रो । र यो संस्कार पाश्चात्य रोमान्टिक कालभन्दा हज्जारौँ वर्ष अघिको हो ।
पर्या साहित्यको
महत्त्व विश्वकल्याणहेतु छ । विश्वशान्तिहेतु छ । प्रत्येकको प्रत्येकसँग
शान्तिपूर्ण सहअस्तित्त्वसँग छ ता कि प्रत्येक दीर्घायु हून् । पर्या साहित्यले
मानव र प्रकृतिबीचको सह-अस्तित्वको महत्त्वलाई उजागर गर्दछ । यसमा प्राकृतिक
घटनाहरू र संरचनाहरूको विश्लेषण गरिएको हुन्छ,
जसले मानिसलाई तिनीहरूको संरक्षण र सम्मान गर्ने प्रेरणा दिन्छ । पर्या
साहित्यले पाठकलाई प्रदूषण, जलवायु परिवर्तन, वन्यजीवहरूको सङ्कट, र जैविक विविधताजस्ता
पर्यावरणीय समस्याहरूको बारेमा सचेत पार्दछ । यसले मानवका कार्यहरूको पारिस्थितिकतन्त्रमा
पर्ने असरलाई प्रकट गर्दछ ।
पर्या साहित्यले
यो विश्लेषण गर्दछ कि मानिसको सांस्कृतिक र ऐतिहासिक परिप्रेक्ष्यले कसरी
पर्यावरणीय समस्याहरूलाई बढाउँछ साथै यसको समधानको खोजी पनि गर्दछ । यो साहित्यले
मानिसलाई प्रकृति संरक्षणको महत्त्व सिकाउँछ । पर्या साहित्यमा प्रकृतिको वर्णन
मात्र नभई यसले मानव र अन्य जीवहरूको परस्पर सम्बन्धलाई पनि प्रस्तुत गर्छ । यसमा
जङ्गली जीवहरूको संरक्षण र मानवका लागि जिम्मेवार आचरणको महत्त्वलाई स्पष्ट पार्छ ।
अनि वटस्य पत्रस्य
पुटे सयानं भन्ने संस्कारले जमीनको महत्त्व, जलको महत्त्व, वरको बोट र पातको
महत्त्व, बच्चाको महत्त्व दर्साएन त ! उसै हाम्रो संस्कार राम्रो संस्कार भनेको हो
र !
अब एकछिन दिदी बहिनीका कुरा गरौँ । तर कहाँबाट थालौँ ? माघ महात्म्यबाट जहाँ शिवजीलाई चढाउने वेलपत्र र धतुराका बेग्लाबेग्लै मन्त्र छन् वा पञ्चमी व्रतबाट जहाँ दतिवन र शुद्ध जल चढाउने बेग्लाबेग्लै मन्त्र छन् । कि जयन्ति मङ्गलाकालीबाट ? कि तिहारबाट ?
तिहारबाट । यमराजको पनि दूतको पूजा गर्छौँ हामी ! भैरवको वाहनको पनि पूजा गर्छौँ हामी ! गावो विश्वस्य मातारमंको कुरै गर्न परेन । आर्यदेव देवादिदेवको वाहन पूजा गर्छौँ हामी अनि पूजा गर्छौं सहोदर दाजुभाइ, दिदीबहिनीहरूको । एउटा मात्र तिहारको संस्कारले कतिओटा प्राकृतिक वस्तु र जन्तुको संरक्षण गरेको छ ! यी जनावर र दूबो, सयपत्री, मखमली, ओखर, तेल, फलफूल एवं मानवबीच कति दह्रो सम्बन्ध होला ! आफ्नै 'बिरुवा-मनुष्य' शीर्षकको दुई श्लोक सम्झिएँ यहाँ आएर ।
संस्कारभित्र तुलसी र दुबो बचेका
संस्कारभित्र वर पीपल छन् बचेका
डुम्री तिते र तिल जौ कुश बाँस काभ्रो
संस्कारले तृण र वृक्षहरू बचेका ।
संस्कारभित्र धतुरो असुरो बचेका
संस्कारभित्र कुरिलो पुदिना बचेका
हर्रो शिलाजितसँगै अझ पाँचऔँले
संस्कारभित्र कति औषध छन् बचेका ।
हामी त्यस्तो संस्कारमा हुर्किएका छौँ जहाँ हरेक स्थानमा लिखित पर्या-साहित्य छ । घर बनाउनुपूर्व जगपूजामा कछुवासँग पर्या-साहित्य छ, शिलान्यासमा शिलासँग पर्या-साहित्य छ, मूल ढोका राख्नेबेलामा काठसँग पर्या-साहित्य छ, गृहप्रवेशमा पैतालामा पर्या-साहित्य छ, मूलढोकामाथि चित्रहरूमा नागसँग पर्या-साहित्य छ, चुल्हामाथिको दियोघर नजिक उज्यालामा पर्या-साहित्य छ ।
घरभन्दा बाहिर आए
पूर्वी आँगनमा तुलसीसँग पर्या-साहित्य छ । माटामुनि र माटामाथि पर्या-साहित्य छ । खोलो
तर्नेबेलाको साँघुमा छ । समग्रमा भन्दा जन्मपूर्व देखि मृत्युपश्चात् पर्या-साहित्य
छ । त्यो पनि लिखित साहित्यसहितको छ । प्रकृतिको पूजा नभएको ठाउँ छैन । प्रकृतिको
पूजालाई धर्म मानिनु चानचुने कुरो होइन र त्यही धर्मको परिभाषामा 'धर्मो रक्षति
रक्षित:' अर्थात् धर्मको रक्षा गर्यो भने रक्षा गर्नेको पनि रक्षा हुन्छ भनेर
प्रकृति बचाउने सूत्र बनाइएकोछ । अनि जहाँ प्रकृतिको मान सम्मान इज्जत हुन्छ, जहाँ
प्रकृतिको संरक्षण हुन्छ त्यहाँ अवश्यमेव पर्या-साहित्यको उद्देश्य पूरा हुन्छ ।
पर्या साहित्यको
मुख्य उद्देश्य भनेको नै मानव रहुन्जेल स्वस्थ्य प्रकृति रहनु हो । वातावरणीय
समस्या र सङ्कटहरूको बारेमा जनचेतना फैलाउनु हो । यसले प्रत्येकलाई आफ्नो
जीवनशैलीमा सुधार ल्याउन र प्राकृतिक संसाधनहरूको अधिकतम उपयोग गर्नका लागि जागरूक
पार्ने काम गर्दछ । यसले प्रकृति र मानवताको बीचको सम्बन्धलाई विश्लेषण गरी, तिनीहरूको बीचको सन्तुलनको
महत्त्वलाई जोड दिन्छ । पर्या-साहित्यले पाठकलाई आफ्नो आचरणमा परिवर्तन ल्याउन
प्रेरित गर्दछ, जसबाट प्रेरित भई प्राकृतिक वातावरणको राम्रो
संरक्षण गर्न सकिन्छ । पर्या साहित्यले प्राकृतिक सौन्दर्यको महत्त्व र यसका विविध
रूपहरूको प्रशंसा गर्दछ । यसले पाठकलाई प्रकृतिसँगको सम्बन्धलाई अझ बढी गहिरो
बनाउनको लागि उत्प्रेरित गर्छ । समग्रमा, पर्या-साहित्यले
आजको पर्यावरणीय सङ्कट र चुनौतीहरूको सामना गर्नको लागि आम जनतालाई प्रोत्साहित
गर्दछ । यसले प्रकृति र मानवता बीचको सन्तुलनको महत्त्वलाई उचाइमा पुर्याउँछ र
भविष्यका पिँढीलाई पृथ्वी र पृथ्वीका संसाधनहरूको जिम्मेवार उपयोगको बारेमा सचेत
बनाउँछ । यो साहित्य न केवल मनोरञ्जनको लागि हो, बरु एक
सशक्त सन्देश हो जसले सबैलाई वातावरणको रक्षा र संरक्षणमा सहभागी बनाउँछ ।
माथिका
उद्देश्यहरू पर्या-साहित्यका उच्चस्तरीय उद्देश्यहरू हुन् तर पाठक निरक्षर भए के
गर्ने ? पाठकलाई साक्षर बनाउँदा बनाउँदै प्रकृति विनास हुन लाग्यो भने के गर्ने ?
एउटा भाषामा शिक्षा दिइयो तर अर्को भाषिक जनस्तरबाट प्रकृति विनास भए के गर्ने ?
एक देशले प्रकृतिको संरक्षणको मर्म बुझे रे, अर्को देशले विनास गर्यो भने के गर्ने
? ल सबैले बुझे रे तर सय, डेड सय वर्षसम्म मात्र बुझे रे अनि फेरि विनास हुन थाल्यो रे, अब के गर्ने ? यीभन्दा अझ
जटिल प्रश्न आए भने के गर्ने ?
यी सबै प्रश्नको उत्तर संस्कारको स्थापनामा
छ, धर्मको स्थापनामा छ र वैज्ञानिक कथाको
स्थापनामा छ । अनि मुख्य कुरो यी तीनवटै सूत्रहरूको स्थापना हाम्रो संस्कारमा छ ।
संस्कारको स्थापनाका हजारौँ
कुराहरू सजिलै देख्न पाइन्छ । जस्तो कि बारका नामहरू ! नवग्रहमद्धे सातैवटा बारका
नामहरू ग्रहको नामबाट राखिएका छन् । आधुनिक विज्ञानले सूर्य र चन्द्रलाई आजका
मितिसम्म ग्रह नमान्नु अर्कै कुरो हो तर यिनीहरू पनि आफ्नो बाटोमा घुम्छन् र यो
घुमाइले पृथ्वी र पृथ्वीवासीलाई सकारात्मक वा नकारात्मक असर अवश्य पुर्याउँछ
भन्ने युगीन सोच हाम्रो संस्कारमा उहिले नै विकास भएको प्रमाण आइतबार सोमबारबाटै
प्रस्ट हुन्छ । बाह्र महिनाका नाम सत्ताईस नक्षत्रहरूबाट नामकरण गरिनु अर्को
उदाहरण हो । यी बार र महिनाका नामहरू केका आधारमा र किन राखिएका होलान् भन्ने सामान्य प्रश्नको उत्तर खोज्न
थाल्ने बित्तिकै आधाभन्दा बढी पर्या-साहित्यको परिभाषा बुझ्न सजिलो हुन्छ ।
अब कुरा गरौँ कथा स्थापनाको ।
ग्रहहरूलाई पात्रको रूपमा परिणत गरिनु कथा बनाउनु हो । नक्षत्रहरूलाई पात्रको
रूपमा परिणत गरिनु कथा बनाउनु हो । पात्रलाई विशेष भूमिका दिई पूज्य बनाउनु धर्मको
स्थापना हो । पात्रको गुण र स्वभावअनुसार उनीहरूको लिङ्ग कायम गरी विशेष भूमिका दिनु पूर्वीय साहित्यको विशेषता हो ।
कथामा ग्रहमात्र पात्र छन्
भनेको कदापि होइन फेरि । पूजा त यिनको मात्र हुने रहेछ भनेको पनि होइन । यिनैलाई
मात्र सजिवीकरण गरेर स्तुत्य बनाएको होइन ।
उनले के हुने श्राप पाए ? घाँस । अनि अर्को ? तुलसी
? अनि अर्को ढुङ्गा । भूमिगत हुनुभन्दा अघि
उनीहरूले हतियार कहाँ लुकाए ? समीको
रूखमा । उनले कहाँ गएर तपस्या गरे ? पीपलको
फेदमा । यसरी
वनस्पतिहरूलाई पात्रमा परिणत
गरियो ।
अनि वनस्पतिहरूको गोत्रसम्म
कायम भयो । वनस्पतिहरू पूज्यपात्र भए । अनि सामान्य नियम यो हो कि पूज्य पात्रको
संरक्षण हुनुपर्छ नत्र अर्को मानव पुस्ताले के पुज्ने । वनस्पति देवाय नम : हाम्रो
संस्कार र हाम्रो धर्म । हाम्रो आफ्नो । नेपालीको !
ढुङ्गा माटो र वनस्पतिको मात्र संरक्षण गरौँ भनेको चाहिँ होइन फेरि । जलाधिपति वरुणदेवाय नम : । पानीको मात्र संरक्षण गरौँ भनेको होइन फेरि । पवन देवताय नम : । तेजरूपी प्रकाशको पनि पूजा हुन्छ । भर्गोदेवश्य धीमयी ... । छायाको पनि पूजा हुन्छ राहु र केतु भनेर ! ग्रहगति अनुसार हुने ऋतु परिवर्तन अनुसारका संस्कार, आचरण र आयुर्वेदीय पक्षहरूको पर्या साहित्यिक फेहरिस्त कति छन् छन् ।
प्रतिनिधि पञ्चतत्त्व
पात्रस्थापना पश्चात् कुरा गरौँ जनावरादिको । अमिबालाई विज्ञानले पहिलो जीवकोष
मान्नुभन्दा हज्जारौँ वर्ष अघि नै हाम्रो संस्कारले शतरूपालाई स्वयंभूकी पत्नी
अर्थात् मानवमूलकी पहिली आमा, आदिमाता
भनेर स्वीकार गरेको छ । अमिबाको कुनै खास आकार हुँदैन, यसले जस्तो पनि रूप बनाउन सक्छ । यो विज्ञानले दिएको
परिभाषा हो । शतरूपा नामानुसार परिभाषा पनि गर्नु पर्दैन । आफैँ चिनिन्छिन् कि
यिनका शय रूप हुन्छन् भनेर ।
जनावरादिको संरक्षण गर्ने उत्तम
उपाय पनि संस्कारकै स्थापनामा छ भन्ने चेतना हाम्रा प्राचीन मुनिलाई पक्कै थियो ।
तब न प्रत्येक भगवानका एक एकवटा वाहनहरू छन् ।
सानामा मुसादेखि ठूलामा
हात्तीसम्म, घस्रनेमा सर्पदेखि उड्नेमा मयूरसम्म र घरपालुवामा
गोरुदेखि जङ्गलीमा बाघसम्मका जनावर त एकै परिवारमा छन् । शिवको परिवारमा । अत: यी
सबै जनावर पूज्य छन् । पर्या-साहित्य अध्ययन गर्ने जोसुकैलाई यो वृहत् अध्ययन
सामग्री हो । अध्ययन मात्र नभई सिक्ने सिकाउने र अनुकरणीय सोच हो ।
पर्या-साहित्यको अध्ययन अनुसन्धानमा यस्ता अनुकरणीय सोच र संस्कारहरूमध्ये अर्को हो सोह्र संस्कार । यस अन्तर्गत एउटा मान्छेको जन्मपूर्वदेखि मृत्युपर्यन्तसम्मका संस्कार पर्दछन् । जल, वनस्पति, जनावर, ढुङ्गामाटो, हावा आदिका भन्दा धेरै संस्कार मानव सम्बन्धी छन् । यसो हुनु पनि स्वाभाविक नै हो किनभने जव एक सभ्य र सुशिक्षित मानव बाँच्छ तब उसले जल, वनस्पति, जनावर, ढुङ्गामाटो, हावा आदि सबैको कल्याण गर्न सक्छ । मानवले नै सबैको कल्याण किन गर्छ ? किनकि ऊसँग पर्याचेतना छ, किनकि उसलाई थाहा छ कि ब्रह्माण्डमा एकल उपस्थिति असम्भव छ । अनि यी सोह्रओटै संस्कारका विधिहरू लिखितरूपमा छन्, साहित्यिकरूपमा छन् ।
साहित्यले आनन्द दिन्छ । आनन्दमा शान्ति हुन्छ । पर्या-साहित्यको शान्ति दिगो हुन्छ किनभने यसले साहित्यमार्फत् क्षणिक मानसिक आनन्द र त्यो साहित्यले भने बमोजिम कर्मसंस्कार मार्फत् दीर्घ भौतिक आनन्द दिन्छ ।
हाम्रा प्राय: कर्मसंस्कारका अन्त्यमा एउटा शान्तिपाठ उच्चारण गरिन्छ ।
ॐ द्यौ: शान्तिरन्तरिक्ष
शान्ति: पृथिवी शान्ति
राप: शान्तिरोषधय:
शान्ति: वनस्पतय: शान्तिर्विश्वेदेवा: शान्तिर्ब्रह्म शान्ति:
सर्वँ शान्ति:
शान्तिरेव शान्ति: सामा शान्तिरेधि:
ॐ शान्ति: शान्ति:
शान्ति: !!
यो वेदको सर्वलोकप्रिय ऋचा हो र विज्ञानले नमाने पनि अपौरूषेय हो । यो ऋचाले विराट्देखी सूक्ष्म सम्मलाई शान्ति हुन प्रार्थना गरिएको छ । यो मन्त्र एक शान्ति मन्त्र हो जुन संसारभरिका सबै प्राणी र सृष्टिका तत्वहरूसँग शान्ति र समृद्धिको कामना गर्ने उद्देश्यले उच्चारण गर्नका लागि बनाइएको हो । यसमा "ॐ" शब्दको विशेष महत्व छ, जसलाई आध्यात्मिकताको प्रतीक मानिन्छ ।
द्यौ: भन्ने शब्दले आकाशलाई जनाउँछ र यसलाई शान्तिको लागि आह्वान गरिन्छ । अन्तरिक्षले अन्तरिक्ष जगत्लाई जनाउँछ र यहाँ पनि शान्ति चाहिन्छ । पृथिवी भनेको हाम्रो साझा घर हो जसमा हामी रहन्छौँ, र यसमा पनि शान्ति हुनुपर्ने बताइएको छ ।
आप: ले जलको प्रतिनिधित्व गर्दछ जुन जीवनका लागि अत्यन्त आवश्यक छ ।
त्यसपछि रोषधय: र वनस्पतय: शब्दहरूले वनस्पति र औषधिहरूलाई जनाउँछन्; यिनमा पनि
शान्ति चाहिन्छ । विश्वेदेवा:ले सबै देवताहरूलाई जनाउँछ, जसले संसारमा
शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । "ब्रह्म" शब्द
ब्रह्माण्डको प्रतिनिधित्व गर्दछ र त्यसमाथि शान्तिको आह्वान गरिएको छ । सर्वँ
शान्ति:, शान्तिरेव शान्ति:, र सामा शान्तिरेधि:ले सर्वव्यापी
शान्तिको आह्वान गर्दछ ।
सारांशमा, यो मन्त्र सम्पूर्ण सृष्टिमा शान्ति, समृद्धि र
सुखको प्रार्थना गर्दछ र यसले हामीलाई एकता, सद्भाव,
सहअस्तित्व, मेलमिलाप र शान्तिको महत्वको सम्झना गराउँछ ।
जब
देवलोकमा शान्ति हुन्छ,
अन्तरिक्षमा शान्ति हुन्छ, पृथ्वीमा शान्ति
हुन्छ, जलमा शान्ति हुन्छ, औषधीमा
शान्ति हुन्छ, वनस्पतिमा शान्ति हुन्छ, विश्वका
सवै देवतामा शान्ति हुन्छ, ब्रह्ममा शान्ति हुन्छ, सर्वजगत् शान्ति हुन्छ तब संसारमा स्वभाविकरूपमा
सवत्र शान्ति रहन्छ । कति भव्य पर्या चेतना !
एउटा कुरो, संसारका जुनसुकै भाषाका
निबन्ध वा लेखहरू हेर्ने हो भने पनि यति छोटा वाक्यमा यस्तो वृहत् अर्थ र यस्तो
भव्य कामना पाउन मुस्किल छ भने अर्को कुरो यी वाक्यभन्दा अघि अरू कुनै पनि भाषा
नभएको पनि हुनसक्छ । यसैबाट पनि हामीले अनुमान लगाउन सक्छौँ कि हाम्रो पर्यावरणीय
संस्कार कति प्राचिन र कति दूरदर्शी रहेछ भनेर !
फेरि ऋचाको उच्चारण मात्रले हाम्रो पर्यावरण सर्वकालीन सही अवस्थामा
रहन्छ भन्ने पनि होइन । यसका विधिविधान छन् र यी विधानहरू विज्ञानसम्मत छन् । उसै
'काले वर्षतु पर्जन्य पृथिवी शस्यशालिनी' भनेर पृथ्वीमा पानी पर्दैन र पृथ्वीमा
अन्नबाली भरिभराउ हुँदैन । यो मन्त्र र कामनासहित होमादि कर्म गरिनु पर्छ । यो
कर्म संस्कार हो । यस कर्मबाट पानीको बिउ धुँवा हुँदै आकाशमा रोपिन्छ ।
वर्तमान युगमा आएर
शिक्षित व्यक्तिहरूले पर्याचेतना भनेको रुखबिरुवाको संरक्षण भन्ने बुझेको देखिन्छ ।
रुख भयो भने पानी पर्छ, हावा दूषित हुन्न, माटो संरक्षण हुन्छ, पृथ्वीको आयु बढ्छ
आदि आदि । तर माथिको शान्तिपाठ यी कुरा भन्दा धेरै अघि बढेको छ । पृथ्वीमात्र
शान्त भएर हुँदैन, अन्तरिक्ष पनि शान्त हुनुपर्छ, आकाश पनि शान्त हुनुपर्छ, सबै
कुरामा शान्ति हुनुपर्छ ।
र अन्त्यमा,
पृथ्वीमा मानवले सधैँभरि रहने हो भने पृथ्वीसँगै मिलेर बस्नु अपरिहार्य छ । पृथ्वी रहुञ्जेल मानव रहन सक्छन् तर
पृथ्वीकै आयु छोटो बनाएर आफू लामो समयसम्म बाँच्न सदैनन् । अनि पृथ्वीको
दीर्घायुको लागि यसका अन्य पाटाहरू पनि बाँच्नु अत्यावश्यक छ । जसरी एउटा अङ्गको
कमिले गर्दा बिस्तारै बिस्तारै शरीर विनासतिर लाग्छ त्यसैगरी एउटा तत्त्वको कमिले
गर्दा पृथ्वीको आयु पनि छोटिँदै जान्छ र अन्त्यमा यसलाई आधार बनाएर बस्ने सम्पूर्ण
जीव जनावरको जीवनको अन्त्य हुन्छ ।
त्यसैले नेपाली पर्या-साहित्यिक
चेतना जसले सर्वकालीन पूर्णताको कामना संस्कार र धर्ममार्फत् सिकाउँछ, यसलाई
धर्मकर्म मात्र नभनेर विज्ञान मानी कर्म गर्दै अघि बढ्ने हो भने अवश्यमेव विश्वकल्याण
हुनेछ । नेपाली संस्कार र साहित्यमाजस्तो विशिष्ट पर्या-साहित्यिक चेतना अरू साहित्यमा सायदै होला । फेरि पनि आफ्नै
कविताको एक श्लोकबाट यो लेख अन्त्य गर्छु ।
संस्कार बाँच्छ जबसम्म सँगै रहन्छन्
संस्कार नासिन गएपछि यी रहन्नन्
बाँच्ने सँगै यदि भए बिरुवा-मनुष्य
संस्कार बिर्सिनु हुँदैन कुनै अवश्य ।
धन्यवाद
Comments
Post a Comment