Skip to main content

कविता ४०१ - ५२०

 

401.ती हुन् महापातकी ! ४०१

402.फूलमाला, ४०२

403.युवा जुटे देश अवश्य उठ्छ ४०३

404.शुभकामना छ ! ४०४

405.चाहिँदैन ! ४०५

406.यो प्राण दिन्छौँ बरु ! ४०६

407.नेपाल रक्षा गर ! ४०७

408.पक्का नभन्ने म त ! ४०८

409.बेस हुन्न ४०९

410.पुग्छौ तिमी नर्कमा ! ४१०

411.हुँदै हुँदैन ! ४११

412.विश्वकर्मा प्रार्थना ! ४१२

413.रचना ४१३

414.ताली ! ४१४

415.ती चन्द्रमामै गइन् ! ४१५

416.फोन, ४१६

417.रचना, ४१७

418.स्वप्नकै जिन्दगानी ! ४१८

419.हाउभाउ, ४१९

420.कविको भविष्य !! ४२०

421.उषाले उघारिन् ! ४२१

422.स्वास्थ्य र व्रत ४२२

423.मिलन ! ४२३

424.आश्चार्यमा पो परेँ ! ४२४

425.भाग्यमानी भएँ म ! ४२५

426.शरद् ऋतु वर्णन ४२६

427.खै के गरेर ! ४२७

428.के बोल्नु यस्तासित, ४२८

429.आकाश न्याय ! ४२९

430.मुस्कुराई रहूँ म, ४३०

431.याग, ४३१

432.आऊन् सुनौला दिन ४३२

433.दशैँ भजन (वन छन्द) ४३३

434.७८ दशैँ, ४३४

435.वाह ! ४३५, अर्चना छन्द

436.अर्को पाटो ! ४३६

437.देवझैँ शक्तिशाली, ४३७

438.बलात्कृताको प्रश्न ४३८

439.शक्ति, अनुष्टुप् रचना ४३९

440.राम्रो छ बाँकी अरू ४४०

441.प्रेमिकाको मुहार, ४४१

442.स्वदेश गान, ४४२

443.गीत, ४४३

444.उदाहरण, ४४४

445.शिवशर्मा ब्राह्मण ! ४४५

446.ढाँटेर के हुन्छ र ! ४४६

447.भेटिन्न पक्का ! ४४७

448.नदी ताल संवाद, ४४८

449.शुभकामना !! ४४९

450.कर्म ४५०

451.नपरौँ पछाडि ! ४५१

452.रचना ४५२

453.जिन्दगी ए ! ४५३

454.खिल ४५४

455.दान ४५५

456.सोच, ४५६

457.ट्रयाङ्गल ! ४५७

458.नौलो कुनै उन्नतितर्फ लाग ! ४५८

459.मङ्सिरे सल्लाह ! ४५९

460.रचना, ४६०

461.निद्रा मिठो हुन्छ र ! ४६१

462.केटाकेटी, मात्रिक छन्द ४६२

463.व्यापार ४६३

464.प्रियको मुहार ! ४६४

465.बालकको बिन्ती ४६५

466.करमा समाई ४६६

467.पैसा ! ४६७

468.मुक्तकहरू : ४६८

469.कि त मर्न सक्थेँ ४६९

470.औकात ४७०

471.भाषा ४७१

472.रचना, ४७२

473.कविताका बारेमा ! ४७३

474.दु:ख ४७४

475.मायाँ ४७५

476.विद्यार्थीहरूप्रति ४७६

477.चाखेर खाऊँ कि म ! ४७७

478.बाटो ४७८

479.कविता ४७९

480.बाँच्न पाऊँ ! ४८०

481.अस्ति बिहान ४८१

482.जिन्दगी र पर्दा ४८२

483.पितृहरूप्रति ४८३

484.रचना ४८४

485.रचना ४८५

486.जस्ता ४८६

487.रचना ४८७

488.भनेँ यो नढाँटी ४८८

489.भालुलाई पुराण ४८९

490.संस्कारको दीपक बालिदेऊ ४९०

491.नयाँ छैन केही ४९१

492.बनेँछु ! ४९२

493.चालिसे बैँस ४९३

494.आफैँ बचाऊ अब ४९४

495.रचना ४९५

496.बुढ्यौली ४९६

497.रचना ४९७

498.रचना ४९८

499.घामले वैलिँदै छन् ४९९

500.सर्वदा ५००

501.विवेक ५०१

502.झर्दै छ यो जन्ममा ५०२

503.प्रेतवाक्य ! ५०३

504.प्यारी रिसाइन् कि त ! ५०४

505.व्यर्थमा पर्खिएर ५०५

506.यात्रा ५०६

507.बाँकी रहन्छ ५०७

508.रचना ५०८

509.सोचेर बाँच्न पाऊँ ५०९

510.एक्ले जुरेली ५१०

511.रचना ५११

512.मुक्तकहरू ५१२

513.                        समय ५१३

514.                        मानवकर्म !  ५१४  

515.आराधनामा ५१५

516.पँधेरो संस्कार ! ५१६

517.शार्दूलसूक्ति ५१७

518.अभ्यागत ५१८

519.वन्दना ! ५१९

520.साथी ५२०

 


ती हुन् महापातकी ! ४०१

 

केही जान्दिनँ भन्छ सोध्छ मसँगै, लाटो कि बाठो भनी ?

यौटा उत्तर दिन्छु बुझ्छ सजिलै, ऊ रै'छ कस्तो भनी ।

बाठो गर्दछ राजनीति जहिले, लाटो पढेको पढ्यै ।

बाठो लड्दछ एकपल्ट हलुका, लाटो लडेको लड्यै ।१

 

नेता छन् सब एक एक यिनमा, को धेर को थोर हो ?

ती मध्ये असली गुनी भनिदिनुस्, को साधु को चोर हो ?

बाटो ढुक्दछ चुट्छ लुट्छ पथमा, त्यो साधु हो सज्जन ।

देशै लुट्दछ जो बसी सदनमा, त्यो चोर हो खत्तम ।२

 

लामो आयु र अल्प आयु कति हो, जान्ने कहाँ के गरी ?

को बाँच्छन् सय वर्ष वा अझ उँभो, मर्छन् छिटै के गरी ?

बाँच्यो शान र मानले सय उँभो, त्यो आयु अल्पायु हो ।

छोड्दै कीर्ति मरेर बाँच्दछ सधैँ, त्यो पूर्ण दीर्घायु हो ।३

 

जान्छन् मन्दिरमा र गुम्बज सधैँ, त्यो के सही कर्म हो ?

गर्छन् मन्त्र जपेर पूजन सधैँ, त्यो पाप वा धर्म हो ?

पूजा पाठ र मन्त्र तन्त्र रचियून्, पढ्ने पढून् सादगी ।

जो हेप्छन् मतपत्रका मतहरू, ती हुन् महापातकी ।४

 

 

फूलमाला, ४०२

 

जे वस्तु छन् साथ सबै टुटाऊँ

फालेर जम्मै अहिले फुटाऊँ

लाग्दै छ यस्तो किन दिक्क आज

यो सोच मेरो कसरी छुटाऊँ !१

 

पूजा हुनेको कि धुजा उडाऊँ

फुल्नेहरूको कि मुना चुडाऊँ

पाए यहाँ एक कुनै सलाई

सक्ने थिएँ आज सबै जलाई !२

 

लेखूँ भनेको कविता सुनौलो

देखूँ भनेको नवरूप नौलो

छैनन् ममा श्लील सुशब्द धेरै

नास्ने भए इज्जत आज मेरै !३

 

दारूँ जसो लाग्दछ दुष्ट कोही

मारूँ जसो लाग्दछ मित्र कोही

झारेर पाखा वन भीरबाट

सारूँ जसो लाग्दछ नर्क कोही !४

 

बुझ्दै नबुझ्ने पटमूर्ख साला

नाथे मुलाका अनुहार काला

जुत्ता छ घाँटीभरि झुन्डिएको

भन्छन् उही नै शुभ फूलमाला !५

 

 

युवा जुटे देश अवश्य उठ्छ ४०३

 

यो देश डुब्दै छ र भासिँदै छ

ज्यादै नराम्रोसँग नासिँदै छ

हेर्दै बसेमा अब भाग्य फुट्छ

युवा जुटे देश अवश्य उठ्छ ।१

 

चारै दिशा शत्रु उठेर आयो

हाम्रो सबै बुद्धि भुटेर खायो

यो शत्रुले निश्चय कुट्छ कुट्छ

युवा जुटे देश अवश्य उठ्छ ।२

 

यो शत्रुले जाल अनेक बन्छ

तँ हिन्दु होस् मुस्लिम होस् तँ भन्छ

आस्था यताको अनि धर्म टुट्छ

युवा जुटे देश अवश्य उठ्छ ।३

 

ज्यादै हरामी छ चलाख उस्तै

देख्दा सधैँ मित्र हुने दुरुस्तै

हाम्रो छिटै इज्जत लुट्छ लुट्छ

युवा जुटे देश अवश्य उठ्छ ।४

 

बुझौँ सबैले अब देश के हो

भाषा यहाँको अनि भेष के हो

हामी सबैको जब साथ जुट्छ

युवा जुटे देश अवश्य उठ्छ ।५

(प्रतिभा निकुञ्ज अभ्यासबाट)

 

 

शुभकामना छ ! ४०४

 

यो वर्षमा के दर खाइएन ?

भाका सुनौला पनि गाइएन ?

न पोस्ट देखेँ न त चित्र नौला

वेफुर्सदी भै कि त भ्याइएन ?

 

सारी र चोलो पनि लाइएन ?

फोटो नयाँ एक खिचाइएन ?

पोहोरजस्तै यस तीजमा झन्

खोज्दै छु बस्दै तर पाइएन ! २

 

राम्री बनी मन्दिर धाइएन ?

राम्रो मजस्तै पति चाहिएन ?

छ्यौ पार्वतीझैँ रङ रूप हेर्दा

चल्ने गुजारा शिव चाहिएन ?

 

मेरो तिमीमा शुभ भावना छ

राम्रो बनोस् जीवन चाहना छ

सारांशमा भन्दछु एक वाक्य

यो तीजको झन् शुभकामना छ ! ४

 

 

चाहिँदैन ! ४०५

 

स्वतन्त्र छाडापन चाहिँदैन

मायालु डाँकापन चाहिँदैन

नेपाल जस्तो छ उसै रहोस् यो

विकास नौलो बरु चाहिँदैन !१

 

ती किन्न खोज्ने अब चाहिँदैन

ती बेच्न खोज्ने अझ चाहिँदैन

लिलामको वस्तु हुँदैन देश

व्यापार पैसा बरु चाहिँदैन !२

 

सम्बन्ध गाढा पनि चाहिँदैन

विषाक्त काँडा पनि चाहिँदैन

एक्लै घुमी बस्दछु भीर पाखा

ती मित्र घाँडा पनि चाहिँदैन !३

 

विज्ञप्तिको सार विकार खोल्छ

लेख्दै नलेख्नू सरकार बोल्छ

देखे नराम्रो किन हो नलेख्नु

लेखे नछापे मन झन् पिरोल्छ !४

 

यस्ता कुतर्की अब चाहिँदैन

यो देश नेपाल रुवाइँदैन

शीर्षस्थको गीत र अन्धभक्ति

यो जन्ममा निश्चित गाइँदैन !५

 

 

यो प्राण दिन्छौँ बरु ! ४०६

 

छानो नै यदि छैन मूल घरको, कस्तो हुने त्यो घर

रानो नै यदि छैन घारभरिमा, के माहुरीको भर

छानो मुख्य कुरा रहेछ जहिल्यै, बाँध्नू मजाले धुरी

रानो साथ भए, छ आस महको, जान्छन् सँगै माहुरी ।१

 

हे नेतागण ! राष्ट्रभक्ति छ भने, छानो बनेस् राज्यको

रानो हौ मधुपर्कको र महको, माधुर्य साम्राज्यको

हामी छौँ जन माहुरी जग दह्रो, भत्किन्न हाम्रो घर

बोल्दै छौँ जगमा बसेर जनता, सोची बिचारी गर ।२

 

औँला मात्र चलेर सास नदिए, बज्ला र के बाँसुरी

को नाच्ला यस नादमा र लयमा, नाच्ला उही आसुरी

भो पर्दैन नडाक झन् असुरले, गर्दैन हाम्रो भलो

भाँच्छन् चाँप गुराँस मुक्त मुजुरा, बिग्रिन्छ हाम्रो थलो ।३

 

बल्दो अग्नि भए हुने हवन हो, मात्रै तिमी हौ चरु

हाम्रो देश छ यज्ञकुण्ड जहिले, चाहिन्न कर्ता अरू

हाम्रा यी वटवृक्ष हुर्किन दिऔँ, फुल्दै फलून् यी तरु

हामी छौँ सँग साथमा नडर है, यो प्राण दिन्छौँ बरु ।४

 

 

नेपाल रक्षा गर ! ४०७

 

माग्ने धार्मिक पात्र हो यदि भने, सोच्दै नसोची दिए

दाता व्यक्ति दधीचिले वदनको, हाडै दिएका थिए

माग्ने हेतु कतै अधार्मिक भए, मासिन्छ दाता स्वयम्

ती दुर्योधन अङ्गराज जसरी, दाता र भ्राता स्वयम् ।१

 

मागेथे विजया जया स्वजनले, ती छिन्नमस्ताकन

काटिन् गर्दन दातृले रगतको, धारो गरिन् अर्पण

मागेमा यदि मित्रले र हितले, हुन् पूर्ण ती चाहना

मागेमा यदि दुष्टले कुमतिले, बढ्नेछ पापीपना ।२

 

मागे वामनले र भूमि दिइयो, सङ्कल्प राम्रो गरी

रक्षा गर्नु थियो सबै भुवनको, माग्ने थिए श्री हरि

आफ्नो अङ्गुल एकलव्य जसले शिष्यत्व भेटी दिए

हारेनन् गुरु वाक्यको वचनको, राजी खुसीले दिए ।३

 

मागेथे जब कृष्णले समयमा, होस् धर्मको रक्षण

भन्दै ज्यान खुरुक्क वर्बरिकले, सुम्पी दिए तत्क्षण

दाताको जय होस्, लिने खुस रहोस्, रक्षार्थ होस् सत्यको

यस्तो दान भए दिए सब भयो, के काम यो स्वत्त्वको ।४

 

माग्दै छन् रिपुराज शस्त्र बलले, जो विश्वकै केन्द्र छ

देशै माग्दछ ढुक्कसाथ अहिले, जो पश्चिमी इन्द्र छ

पक्का हुन्न भलो, हुनेछ कुभलो, यो ख्याल राख्ने गर

माग्नेको मति तुच्छ देख्छु अहिले, नेपाल रक्षा गर

........................................ प्रभो ! नेपाल रक्षा गर ।५

 

 

पक्का नभन्ने म त ! ४०८

 

लेख्दा देश र दस्युको कलमले, रित्तिन्न मेरो मसी

भर्दै लेख्छु मभित्रको रगतले, रच्नेछु अर्को बसी

आऊ मार पछार काट अथवा, भाला छिराऊ कि त

तिम्रो दास बनेर 'मालिक जदौ !' पक्का नभन्ने म त !१

 

आमाकै बरु दास हुन्छु जहिले, हो मृत्तिका दास म

खोस्री बस्दछु भीरमा र पहरा, पाखो र पख्यान म

फित्कौली बरु लिन्छु एक गतिलो, हान्ने मट्याङ्ग्रो म त

तिम्रो दास बनेर 'मालिक जदौ !' पक्का नभन्ने म त !२

 

तिम्रो तर्जन धाक धक्कु म सहूँ, होला र यो के कतै

त्यो यायावरको प्रताडन सहूँ, सोच्दै नसोच्नू कठै !

भोको पेट भए म कस्छु पटुका, सुत्नेछु भोकै म त

तिम्रो दास बनेर 'मालिक जदौ !' पक्का नभन्ने म त !३

 

लौका पाक्छ र काट्छु बन्छ तुमडी, भर्नेछु खोल्सी गई

चुत्रो काफल पाक्छ माथि वनमा, खाने फुरुक्कै भई

सानो पर्णकुटी बनाउँछु यतै, नाचेर बस्ने म त

तिम्रो दास बनेर 'मालिक जदौ !' पक्का नभन्ने म त !४

 

यो मेरो ससुराल हो घर यही, मेरो यही मावल

सानो बोटजसै हलक्क म बढेँ, यो देश हो थाँवल

बढ्दो यो रुखको जरा छु अहिले, च्याप्नेछु माटो म त

तिम्रो दास बनेर 'मालिक जदौ !' पक्का नभन्ने म त !५

 

 

प्रतिभा निकुञ्ज अभ्यासको समस्याबाट, ४०९

 

"आफ्नै तँ आज घाँटी थिच्" भन्नु बेस हुन्न

"खाए तँ खा नखाए घिच्" भन्नु बेस हुन्न ।१

 

यी हातले निकै नै तिम्रो विरुद्ध लेख्दा

"ढुङ्गो लिएर आफैँ किच्" भन्नु बेस हुन्न ।२

 

झर्दै छ आँसु मेरो दुख्दै छ घाउ भित्र

"हाँसो छरेर फोटो खिच्" भन्नु बेस हुन्न ।३

 

तेरो थियो सबै जे दौडेर खोस्न थाल्दा

"गोडो दुखेछ मेरो मिच्" भन्नु बेस हुन्न ।४

 

 

पुग्छौ तिमी नर्कमा ! ४१०

 

खायौ त्यो जल तालको र नदको, त्यो कौशिकीको तर

बेच्दै छौ अहिले समूल जल नै, मान्दै नमानी डर

ती झर्ना छहरा र पोखर मिली, बग्दै छ तिम्रो नसा

धिक्कार्ला जलले पसी रगतमा, होला अरू दुर्दशा ।१

 

ल्यायौ सोत्तर पात टन्न वनका, गाई चरायौ त्यहाँ

काट्यौ बोट बुट्यान मस्तसँगले, पाखो र पख्यानमा

बेच्दै छौ वन फाँट दुष्ट खलमा, दिन्छौ सबै स्याउला

धिक्कार्ला वनले कुनै समयमा, थाहा तिमी पाउला ।२

 

मेरो देश शहीदको अमरको, गाथा तिमी भन्दथ्यौ

मेरो शान र मान यो सगरको, माथा तिमी भन्दथ्यौ

बेच्दै छौ अहिले हिमाल चुचुरा, पैसा लिई खन्खनी

धिक्कार्लान् हिम शैलले शिखरले, रोएर बस्नू अनि ।३ 

 

थुम्कीमा जब पुग्छ शत्रु ननिको, भत्किन्छ देवालय

रोदीमा जब सुत्त घुस्छ उसले, फोर्नेछ प्रेमालय

प्यारीको मन सुँक्क रुन्छ निठुरी, देखी तिनै दुर्जन

बेच्नू ती बरु प्रेमिका र शिव नै, थुप्र्याउनू झन् धन ।४

 

पायौ जन्म यहाँ र हुर्किन पुग्यौ, यै देशको काखमा

आफैँभित्र कतै अटेनछ कठै ! नेपालको आँगन

धिक्कार्लान् जब काख कोख यिनले, जान्छौ र मर्छौ कहाँ

पक्का स्थान हुँदैन स्वर्गभरिमा, पुग्छौ तिमी नर्कमा ।५

 

 

हुँदै हुँदैन ! ४११

 

हीनाङ्गको होस् बहु अङ्गको वा

शिक्षाविनाको कि त प्रौढ वृद्धा

अन्धो लुलो वा अझ लङ्गडो होस्

वेरूपको रङ्ग न ढङ्गको होस् ! १

 

कङ्गाल माग्ने पटमूर्ख नै होस्

लाटो गुँगो होस् विकलाङ्गझैँ होस्

श्री कृष्णको अंश अवश्य हुन्छ

मायाँ उनै केशवकै चुहुन्छ !

 

श्री कृष्णभन्दा पर जीव हुन्न

श्री कृष्णभन्दा पर बीज हुन्न

होस् दुष्ट वा दुर्जन, बेइमान

श्री कृष्णकै अंश अवश्य जान !

 

आफ्नो अवस्था पनि के छ हेरी

आफैँ रमाऊ अब एकबेरि

श्री कृष्ण हुन्छन् जति रुक्मिणीमा

ती कृष्ण हुन्छन् त्यति नै तिमीमा ! ४

 

देख्छौ जहाँ जे जति वस्तुभित्र

पक्का उनै कृष्ण, पृथक् छ चित्र

श्री कृष्ण बाहेक कुनै हुँदैन

भन्दै छु, भन्दै छु हुँदै हुँदैन ! ५

 

 

विश्वकर्मा प्रार्थना ! ४१२

 

निर्माणको खातिर विश्वकर्मा

हौ भौतिकी ब्रह्म विराट् छ कर्म

त्यो ज्ञानको राज बताइदेऊ

नेपाल उत्कृष्ट बनाइदेऊ ।१

 

दिन्छौँ हथौठा हँसिया र खुर्पा

औजार हाम्रा जति छन् रहेका

हे विश्वकर्मा ! अब आइदेऊ

नेपाल उत्कृष्ट बनाइदेऊ ।२

 

हून् ठाउँ राम्रा सब गाउँ राम्रा

हून् स्वर्णझैँ सुन्दर ठाउँ हाम्रा

उद्योग उत्थान सघाइदेऊ

नेपाल उत्कृष्ट बनाइदेऊ ।३

 

तिम्रा सबै भौतिक यन्त्र जे छन्

या वास्तुका मन्त्र र तन्त्र जे छन्

ती सीपको भेल बगाइदेऊ

नेपाल उत्कृष्ट बनाइदेऊ ।४

 

यो प्रार्थना हो अनि याचना हो

यै भावना हो अनि चाहना हो

कर्मी निकै झट्ट पठाइदेऊ

नेपाल उत्कृष्ट बनाइदेऊ ।५

(प्रतिभा निकुञ्ज अभ्यासबाट)

 

 

रचना ४१३

 

उकालै उकालो सिँडी जिन्दगानी

अँध्यारो र कालो छिँडी जिन्दगानी ।१

 

शरद् कालको घाम छिर्नै नसक्ने

ठिही नै ठिहीको पिँडी जिन्दगानी ।२

 

नखाऊँ छु भोकै अरू छैन केही

म खाऊँ छ पीरो ढिँडी जिन्दगानी ।३

 

निकाल्दै धुवाँ तान्छु घट्दै छ आफैँ

ठुटो मात्र बच्ने बिँडी जिन्दगानी ।४

 

कि यो टाउको वा कि खुट्टा म छोपूँ

विनाकामको यो मिडी जिन्दगानी ।५

(उत्प्रेरक कवि मित्र: N P Khatiwada)

 

 

ताली ! ४१४

 

नठोसी अगुल्टो कहाँ बल्छ साथी ।

नजोती गह्रा धान के फल्छ साथी ।

नकाटी नयाँ वस्त्र को स्यूँन सक्छ ।

नमारी अरू को यहाँ ज्यूँन सक्छ !१

 

उचाल्ने पछार्ने यहाँ छन् प्रशस्त ।

निमोठेर मार्ने यहीँ छन् प्रशस्त ।

उखेल्दा अरू घाँस सप्रिन्छ फूल ।

मडारी अरू काँस फक्रिन्छ फूल !२

 

छ माछो बडो निल्छ साना बचेरा ।

बडो गिद्दले छोप्छ साना भँगेरा ।

यही हो पुरानो प्रथा जिन्दगीको ।

सही हो यही नै कथा जिन्दगीको !३

 

स्वयं बाँच्नलाई कतै ठोक्नुपर्छ ।

र सिद्धान्त यो शुद्ध हो, बोक्नुपर्छ ।

नमारी अँध्यारो कहाँ खुल्छ लाली ।

नठोक्दा दुवै हात के बज्छ ताली !४

 

 

ती चन्द्रमामै गइन् ! ४१५

 

कालो बादलझैँ छ केश उनको, छन् दन्तका लस्कर

टल् टल् टल् अनुहार लाग्छ सुनको, बल्दै छ झैँ भाष्कर

नौरङ्गीसरि रङ्ग चट्ट उनको, डाँफे चरीझैँ गरी

हेर्छिन् चञ्चल कामिनी नयनले, हेर्दै म मर्ने गरी ।१

 

हेर्छन् सूर्य लुकेर साँझ पखमा, हेर्छन् उँधो चन्द्रमा

अन्दाजी कि त सोह्र सत्र अथवा, होलिन् उनी पन्ध्रमा

हे हे चन्द्र र सूर्य माथि नभका, हेर्नू उतैकी परी

भो पर्दैन नहेर हेर्दछु यता, मेरी यिनै हुन् परी ।२

 

बग्दो वैँस छचल्किँदै छ उनमा, नारायणी छालझैँ

मायाँको रस टन्न हुन्छ जहिले, सङ्लो नदी तालझैँ

सुख्खामा म छु आजकाल जहिले, जाऊँ म खोल्सीसित ?

गर्मीको मन शान्त शीतल गरूँ, मारूँ डुबुल्की कि त ?

 

भन्दै मख्ख परेर दौडिन पुगेँ, सोध्ने छु आजै भनी

भेटेँ झन् पहिले किनार दुइटा, कुर्दै बसेका त्यहीँ

मेरो भाव बुझी दुवै शुरु गरे, झट्टै दिए उत्तर

पालो आउँछ पर्ख जन्म सयमा, विश्वास हाम्रो गर ।४

 

हेरेँ बैँस गयो गयो बगिरह्यो, त्यो छाल बग्दै गयो

भेटेनन् दुइटा किनार जसले, त्यै ताल मेरो भयो

भन्थेँ चन्द्र मुहारकी जलपरी, ठ्याकै उही नै भइन्

बग्दै छालसँगै र बाफिन पुगी, ती चन्द्रमामै गइन् ।५

 

 

फोन, ४१६

 

यो फोनले बान्धव दूर पार्यो

राम्रै छ सन्चै छ भनेर टार्यो

प्यारा थिए इष्ट र मित्र जो जो

टाढा न टाढा यसले पुर्यायो ।१

 

आमा बिरामी र बुबा सिकिस्त

छोरो सधैँ फोन लिएर मस्त

भन्दै छ बोल्दै छु र पार्छ ठिक्क

यै फोनले आज भएँ म दिक्क ।२

 

जुम्रा परेको छ मुहार कालो

मैलो न मैलो छ अझै कठालो

छोरी बुहारी सब फोनमा छन्

सेल्फी खिचौँ एक सदैव भन्छन् ।३

 

सुत्ने र उठ्ने न छ आज टुङ्गो

यस्तै रहे मानिस बन्छ बुङ्गो

नैवेद्य कस्तो कलिले दिएछन्

बन्ने भयो गोवर नै अपुङ्गो ।४

 

चिन्दैन आफ्नै जन आज मान्छे

डुल्दै छ सञ्जाल बसेर मान्छे

बोल्दै छ अर्कैसित हेर्छ अन्त

जन्मौँ बिरामीसरिको छ मान्छे ।५

 

भान्सा छिरे भात सधैँ डढेको

खाइन्छ खाना चटनी सडेको

घोप्टो बनी हेर्छ सदैव भाइ

कस्तो हुने हो यसको पढाइ ।६

 

भेटेर बोल्ने जन नै हराए

माया दिने सज्जन नै हराए

यो फोनले मर्नु न बाँच्नु पार्यो

आफन्त प्यारा मन नै हराए !७

 

 

रचना, ४१७

 

उषा कालमा काल पल्किन्छ झैँ भो

दिवा कालमा अन्त सल्किन्छ झैँ भो !१

 

बढेको छ फुर्ती निकै मार्छ क्यारे

निशा कालमा विश्व मल्किन्छ झैँ भो !२

 

घटेका घट्यै छन् शरीरी यहाँका

सदा काल यो मृत्यु हल्किन्छ झैँ भो !३

 

गयो गृष्म, वर्षा टर्यो राहु भन्थेँ

शरद् कालमा घाउ बल्किन्छ झैँ भो !४

 

गह्रुङ्गो भई लासले धेर पृथ्वी

यही काल पाताल ढल्किन्छ झैँ भो !५

 

 

स्वप्नकै जिन्दगानी ! ४१८

 

सके सम्झिनू साँझमा प्रेम मेरो

सके बिर्सिनू रातमा प्रेम मेरो

म बिर्सिन्छु भन्दै तिमी बिर्स जम्मै

भरे स्वप्नमा देख्दछ्यौ प्रेम मेरो !१

 

जसै आउने गर्छु तिम्रो पछाडि

दुवै हातले नेत्र छोप्दै अगाडि

तिमी स्पर्शमै चिन्दछ्यौ हात मेरा

र छाम्छ्यौ सदाझैँ सबै काम छाडी !२

 

नबोली बसौँला निकैबेर मैले

मजाले कसौँला निकैबेर मैले

'चिनेँ, हात छोड्नू' भनी सुस्त बोल्नू

म खोल्नेछु यी हात आफ्ना खुसैले !३

 

गरौँ प्रेमका बात धेरै बसेर

दुवै स्वप्नमा छौँ कतै हुन्न बेर

घुमौँ स्वप्नमा मस्तले प्रेम जोडी

उठौँला अरूझैँ सदाझैँ सबेर !४

 

म उठ्दा यता स्वप्नको होस् निशानी

बिहानै त्यता काखमा होस् सिरानी

म जागा हुँदा प्रेम अन्तै भए नि

म सम्झूँ सदा स्वप्नकै जिन्दगानी !५

 

खुले नेत्र राती भए स्वप्नहानि

म उल्टो गरौँला यताको सिरानी

तिमी देख ठ्याक्कै उही स्वप्न फेरि

मिलौँ स्वप्नमै मस्तले एकबेरि ।६

 

 

हाउभाउ, ४१९

 

आइन् कुनै एक परी मनेरि

हेरेँछु मैले पनि बेरिबेरि

थोरै लजाएपछि चाल पाएँ

यी नेत्र मेरा अनि अन्त लाएँ !१

 

आँखा हटे, दूर गए तथापि

त्यै दृश्य साकार थियो ममाथि

आफैँ लजाइन् म त गर्नु के र

हेरूँ कि झैँ लाग्दछ एकफेर !२

 

भोटो छ छोटो जिउमा टपक्क

टाँसिन्छु भन्दै छ उतै चपक्क

यस्तो मुलाले तन छोप्छ के र

बढ्दो जवानी मन रोक्छ के र !३

 

तानिन् उँधो छोप्न भनी विशेष

खाली भए माथि दुवै प्रदेश

तानिन् उँभो छोप्छु भनेर फेरि

देखिन्छ झन् कम्मर नाभिनेरि !४

 

के सोध्न वा बोल्न समीप आइन्

बोल्दै नबोली किन हो लजाइन्

सोचेँ निकैबेर गमेर एक्लै

पाएँ मिठो उत्तर फेरि बेग्लै !५

 

आइन्, लजाइन् अब के छ बाँकी

आँखा नचाइन् अब के छ बाँकी

बोले सबै अङ्ग र हाउभाउ

डोली सजाई अब लान आऊ !६

 

 

कविको भविष्य !! ४२०

 

आयो म जान्ने कवि एक भन्दै

चौपट्ट राम्रो म त लेख्छु भन्दै

हेर्यो मजाले कविता बसेकी

लालीसँगै गाजल झन् घसेकी ।१

 

आऊ भन्यो सुस्त समीप फेरि

आइन् लजाइन् पनि एकबेरि

बोल्यो निकैबेर रमेर उस्तै

भन्थ्यो म लेख्नेछु दुरुस्त उस्तै ।२

 

राम्री न राम्री अझ बन्न थालिन्

बोली मिठो झन् लय हाल्न थालिन्

भन्दै थियो छन्द म छान्छु मिष्ट

छन् शब्द उत्पात ममा विशिष्ट ।३

 

लेख्यो बसी आसनमा जमेर

हेरून् सबैले कविता भनेर

हाँस्दा थिइन् चन्द्र मुहारजस्ती

लेख्दो भयो वृद्ध कुमारजस्ती ।४

 

त्यो रूप सौन्दर्य थियो वसन्त

हेमन्तझैँ वर्णन भो अनन्त

हेरिन् उनैले कविता र चित्र

देखिन् बलात्कार छ शब्दभित्र ।५

 

बोलिन् उनी रुष्ट बनेर फेरि

लेख्दै नलेख्नू कविता मनेरि

जाऊ कतै अन्त निबन्ध लेख्न

पर्दैन तिम्रो मुख नाक देख्न ।६

 

कालो र नीलो अनुहार पारी

भाग्यो कुदी जङ्गल खेत बारी

लुक्दै गयो सुत्त बन्यो अदृश्य

त्यस्तो नहोस् है कविको भविष्य ।७

 

 

उषाले उघारिन् ! ४२१

थिएँ स्वप्नमा वा कतै त्यो तुरीय

म बाँच्दै थिएँ जिन्दगी नारकीय

नदेख्नू सधैँ स्वप्न भन्दै पुकारिन्

पसी माथमा भित्र दैलो उघारिन् ।१

 

नयाँ भो बिहानी नयाँ जिन्दगानी

नयाँ कर्मकोनिम्ति राम्रो निसानी

उठी नित्यका कर्म गर्नैछ भन्दै

दुवै नेत्रका द्वार मेरा उघारिन् ।२

 

यता नेत्र खोलेँ उता सूर्यजस्तै

उता सूर्यले नेत्र खोले मजस्तै

सबै द्वार खोल्ने भनी जुर्मुराइन्

उषाले सबै शीघ्र दैला उघारिन् ।३

 

हिजोको सबै पेटको रिक्त पार्न

पचेका सडेका बढारी निखार्न

छिटै फाल भन्दै उनैले गुहारिन्

मलद्वार दोटै उषाले उघारिन् ।४

 

प्रभो ! राम्ररी ध्यान लागोस् भनेर

सदा भक्ति विश्वास जागोस् भनेर

सबै द्वारका दोष फोहोर झारिन्

सबै ब्रह्मका रन्ध्र एक्लै उघारिन् ।५

 

 

स्वास्थ्य र व्रत ४२२

 

हौँ जैविकी यन्त्र शरीरधारी

छन् ब्रह्म पुर्जा सब अन्नहारी

अन्नादिले यो घट भर्नुपर्छ

र ब्रह्मकै चिन्तन गर्नुपर्छ ।१

 

यी पाटपुर्जा पनि गल्न सक्छन्

धेरै गले यन्त्र नचल्न सक्छन्

विश्राम चाहिन्छ र बढ्छ ऊर्जा

खुरुर्र चल्छन् अनि पाट पुर्जा ।२

 

एकादशी/ पाक्षिक पर्व होस् वा

साप्ताहिकी/ मासिक कर्म होस् वा

गर्ने गरेमा उपवास राम्रो

चल्नेछ यो यन्त्र सदैव हाम्रो ।३

 

चाहिन्न जे जे सब फालिदिन्छ

कुतत्त्व धोएर पखालिदिन्छ

राम्रो छ धेरै व्रतको प्रभाव

रोगादिको मुख्य हुने अभाव ।४

 

खेलून् रमी पूर्ण र पञ्च वायु

बाँचौँ खुसीले सब दीर्घ आयु

भोकै बसेमा पनि काइदा छ

सिकौँ सिकाऔँ कति फाइदा छ ।५

(प्रतिभा निकुञ्ज अभ्यासबाट)

 

 

मिलन ! ४२३

लुकेझैँ आइन् झुकेझैँ आइन् बिस्तारै मनेरि ।

वियोगी मुटु दुखेझैँ आइन् नजिकै मनेरि ।

फूलका थुँगा मोती र मुगा थिएनन् उनका ।

हातमा बाला टल्किनेवाला थिएनन् सुनका ।१

 

तैपनि प्यारी असाध्यै राम्री स्वर्गकी परीझैँ ।

बैँसालु अङ्ग बैँसालु रङ्ग हिमाली चरीझैँ ।

मनमा पीर ओठमा हाँसो बोकेकी नक्कली ।

के बोलूँ बोलूँ भएर थोरै डराइन् चञ्चली ।२

 

आँखामा आँखा जुधाई हेरिन् एकाध निमेष ।

पुगेन धोको झन् हेर्न थालिन् मभित्र विशेष ।

यसरी हेरिन् आँखामा मेरो मनमै पुगेर ।

जे थियो मेरो लुकेको कुरो पढिछन् बुझेर ।३

 

मनको भाव ओठमा ल्याई आँखामै लुकाइन् ।

परेली झिम्म पारेर फेरि मनमै पुर्याइन् ।

परेन प्रश्न मबाट खस्न बोलिनँ आफैँले ।

आँखामा हेरी उत्तर दिइन् उनले आँखैले ।४

 

मनका बात मनले गरे मुटुका मुटुले ।

बिसन्चो सन्चो ओठले बोले प्रेमको मुटुले ।

के बुझ्थे हाम्रो आँखाको भाषा नबुझ्नेहरूले ।

हेरेको हेर्यै गरेर बसे दौँतरी अरूले ।५

 

 

आश्चार्यमा पो परेँ ! ४२४

 

त्यो बेला त्यसले त्यसो पनि गर्यो, त्यस्तो भई त्यो मर्यो

त्यै बेला उनले उसो पनि गरिन्, त्यस्ती भई ती मरिन्

जे जे पाप र धर्म कर्म जसले, त्यो त्यो गरे जे गरे

ठ्याक्कै मिल्दछ कालको निहुँ सबै, त्यै पाप भोग्दै मरे ।१

 

त्यो भन्दा पछि पुत्रले पनि सधैँ, त्यस्तै गरेको थियो

त्यस्तै मृत्यु मिल्यो र ऊ मरिगयो, त्यो पाप आफैँ पियो

कस्तो जान्दछ कालले समयले, के के गरेका थिए

लेखा राख्छ दुरुस्त चुस्त सबको, के के गरी ती जिए ।२

 

जस्तो सोच लियो जुनै मनुजले, त्यो भाव त्यस्तै भयो

जस्तो भाव बन्यो तुरुन्त उसको, आनी र बानी भयो

त्यो बानी, व्यवहारमा जब गयो, त्यो व्यक्ति त्यस्तै भयो

देख्दा अन्त्य हुनेछ थाह उसको, त्यो मोक्ष वा मृत्यु हो ।३

 

यो बेला यसरी यहाँ म अहिले, गर्दै छु यस्तो तर

फ्याट्टै मर्न तयार छैन तर खै, यो कालको के भर

अर्काको सब जन्म मृत्यु यसरी, लेखेँ छपाएँ गरेँ

आफ्नै मृत्यु हुनेछ भोलि कसरी, आश्चार्यमा पो परेँ ।४

 

 

भाग्यमानी भएँ म ! ४२५

 

मरी जाउँला जन्म अर्को नहोला

यही रूप आकार अर्को नहोला

तिमी त्यस्तरी सुन्दरी नै नहौली

त्यहाँ काव्यको लेखनी नै नहोला ।१

 

त्यही टल्कने वाल तिम्रो नहोला

त्यही ढल्कने चाल तिम्रो नहोला

मिठो स्वादिलो मन्द मुस्कान तिम्रो

अरू जन्ममा ठ्याक्क होला नहोला ।२

 

त्यहाँ छन्दको काम होला नहोला

ममा शब्दको ज्ञान होला नहोला

तिमी जीव अर्कै म अर्कै हुँदो हुँ

दुवैको मिठो भेट होला नहोला ।३

 

त्यसैले म यो काव्य कोर्दै छु आज

त्यही रूप सौन्दर्य हेर्दै छु आज

समाई यहीँ लेखनी लेख्छु तिम्रो

सबै छन्दमा भर्छु यी विम्ब आज ।४

 

तिमी प्रेमिकाको निशानी भएँ म

यिनै श्लोकमा झन् जवानी भएँ म

छ विश्वास मेरो अझै लेख्छु तिम्रै

यही जन्ममा भाग्यमानी भएँ म ।५

 

 

शरद् ऋतु वर्णन ४२६

 

घुम्छ यो ऋतु शरद् चराचर

हुन्छ रात दिन झन् बराबर

ठिक्कका किरणका दिवाकर

रातमा मधुर चन्द्रको भर ।१

 

शारदीय सब हुन्छ दर्शन

ओठले प्रकृति गर्छ चुम्बन

चन्द्र सूर्य जब हेर्दछन् तल

शुद्ध हुन्छ पृथुको सबै जल ।२

 

चाडपर्व सब मुख्य पर्दछन्

भक्ति भाव जन शुद्ध गर्दछन्

देवता पितृहरू अघाउँछन्

वंश - विस्तृति गरी सघाउँछन्।३

 

बाढ - भेल पनि छैन हरायो

उष्ण - ताप पनि मन्द गरायो

मानवेतर अझै रमाउँछन्

सन्चले दिन यहाँ बिताउँछन् ।४

 

हुन्छ ऐन्द्रजल शुद्ध कन्चन

देखिने हरित वृक्ष कानन

औषधीय गुणमा वसन्तझैँ

लाग्छ यो ऋतु समृद्ध सन्तझैँ ।५

(प्रतिभा निकुञ्जमा रथोद्धता छन्द अभ्यासबाट)

 

 

खै के गरेर ! ४२७

 

पिता बीजमा बीज मात्रै थिए र

न ता टोक्दथे अन्डको कोषनेर

सबै पुंस्त्वको वंशको नास गर्थे

सबै रक्त मांसादि आफैँ पिएर !१

 

मुमा गर्भमा भ्रूण मात्रै थिए र

न ता टोक्दथे गर्भमै मातृ हेर

लुछी पूर्ण आन्द्रा भुँडीमा रहेका

चुँडाल्थे तिनै दुष्टले मात्तिएर !२

 

हुँदा जन्ममा मात्र बच्चा थिए र

न ता दाँतले लुछ्दथे दूधनेर

सके बेच्दथे मातृको काख साख

र हिर्काउँथे लातले नाभिनेर !३

 

बढ्यो बीज दानो गयो आज खेर

उही गर्छ नेतृत्त्व बन्दै अटेर

मुमाजी पिताजी सबै बेच्छु भन्छ

बचाऊँ म यो देश खै के गरेर !४

 

(छन्द सारथि रमेश खकुरेल गुरुको स्टाटस पढेपछि)

 

 

के बोल्नु यस्तासित, ४२८

 

कस्तो धर्म यहाँ प्रशारण गर्यौ, आफैँ तिमी नास्तिक

आस्था के ? अनि धर्म के र किन हो ? भन्छौ म हो आस्तिक

छेपारो रङ फेर्छ फुत्त जसरी, यो धर्म फेर्छौ किन ?

टाई शूट धरेर धर्म पगरी, बेकार बेर्छौ किन ?

 

यो संसार असार पार नहुने, साँच्चै छ यो सागर

भन्छौ, मूर्ख हुनेछ तर्न कसिए, आफैँ गरे जाँगर

आफैँ पण्डित भै बिहान दिउँसो, नाची रहेको किन

तिम्रा शास्त्र छिरेर मोक्ष छ भने, बाँची रहेको किन ?

 

साँच्चै धार्मिक हौ मुमुक्षु पनि हौ, गर्नेछु बद्धाञ्जलि

ढाँटे दुर्जनझैँ मुमुर्षु बन है ! सुम्पिन्छु श्रद्धाञ्जलि

आफैँ मूर्ख बनेर मूढ बलिको, मेढो बनेको किन ?

बाठो मालिकको सधैँ पछि हुने, भेडो बनेको किन ?

 

भीरूझैँ भयभीत बन्नु छ भने, भेडै सही हो तर

बिल्पाते जसरी गफै गरिरहे, के भन्नु मैले छ र

जे गर्छौ गरिराख हेर रमिता, बोल्दै नबोल्नू कि त

बोली-कर्म पृथक् सधैँ रहिरहे, के बोल्नु यस्तासित !४

 

 

आकाश न्याय ! ४२९

 

आकाश ऐना छ मनुष्यनिम्ति

ढाँट्दैन केही पनि एक चिम्टी

जस्तो परावर्तन गर्छ ऐना

उस्तै हुने हो यसको विधान ।१

 

जस्तो यहाँ गर्दछ आज मान्छे

देख्नेछ उस्तै प्रतिविम्ब मान्छे

आकाशको न्याय हुने विचित्र

हो न्यायको मूर्ति उही सचित्र ।२

 

आकाश हो बीज सबै जनाको

सत्कर्म वा चिन्तन भावनाको

राम्रो नराम्रो जुन बीज हुन्छ

फल्नेछ फुल्नेछ यतै नुहुन्छ ।३

 

यज्ञादिका कर्म गरे प्रजाले

बर्सिन्छ वर्षा बहुतै मजाले

पापादिका कर्म गरे, भएमा

नोक्सान आफ्नै छ लुटे, हरेमा ।४

 

कालो भए सोच मनुष्यभित्र

कालै हुने हो उसको चरित्र

खन्ने भनी खाडल जो सुरिन्छ

पर्ने छ आफैँ अनि ऊ पुरिन्छ ।५

 

चाँडो नहोला तर हुन्छ पक्का

आकाशको न्याय सदैब सच्चा

देखिन्छ बाँचे सबथोक फेरि

आफ्नो अरूको सब एकबेरी ।६

 

मान्छे म कस्तो छु भनेर हेर्न

आकाशमै सास सदैव फेर्न

हेर्नू उँभो व्योम तुरुन्त ऐना

अर्को कुनै एक उपाय छैन ।७

 

 

मुस्कुराई रहूँ म, ४३०

 

तिमीझैँ कुनै फेरि अर्को नदेखूँ

विनाप्रेम तिम्रो म अर्को नलेखूँ

यही लाग्छ यो जिन्दगीमा सदैव

तिमी प्यार मेरी तिमी मात्र देखूँ !१

 

सदा साँझमा वा बिहानै म भेटूँ

पुराना नयाँ याद जम्मै समेटूँ

मिठो छाप यौटा दियौ जिन्दगीमा

र यो छाप तिम्रो म मेट्दै नमेटूँ !२

 

तिमी फूलबारी तिमी नै वसन्त

मिठा फूल मुस्कान फुल्छन् अनन्त

म देखूँ उही मन्द मुस्कान तिम्रो

डुलूँ बागमा त्यै नजाऊँ म अन्त !३

 

ममा मुक्ति वा मोक्षको चाह छैन

ममा राधिका कृष्णको डाह छैन

सधैँ काखमा बस्न देऊ मलाई

म तिम्रो हुँ तिम्रै अरू थाह छैन !४

 

सधैँ गीत यै गुन्गुनाई रहूँ म

सधैँ प्रीत यै सुम्सुम्याई रहूँ म

कतै मृत्यु आएर लग्ला तथापि

यिनै श्लोकमा मुस्कुराई रहूँ म !५

 

 

याग, ४३१

 

तिम्रो दर्शनले म रक्तिम भई, चल्दै गरेको थिएँ

तिम्रै श्पर्शनले तरङ्गित भई, बल्दै गरेको थिएँ

तिम्रा शब्द सुनेर झङ्कृत भई, गल्दै गएँ साखमा

वास्नाले अझ फेरि लठ्ठिन पुगी, ढल्दो भएँ काखमा !१

 

देखेँ प्रस्ट सुधांशु भव्य दुइटा, आँखा खुलेको पल

बग्थेँ सागरमा उसै सलिलझैँ, डुब्दै गएँ झन् तल

यस्तै भो शतधा निकै अझ बढी, व्याख्यान खै के गरूँ

यौटा याग समाप्त भो यमलको, डढ्दै गयो यो चरु !२

 

हृत्तन्त्री सब बज्दथे हृदयका, झंकार झं झं गरी

बज्दैथे पछिसम्म एक लयमा, के रोक्नु मैले हरि

खै के भो डरमा परेँछु पसिना, झर्दै थिए खल्खल

बाली नष्ट गरेँछु झैँ अब भयो, तिर्ने भएँ अर्मल !३

 

मूर्च्छाबाट उठी झसङ्ग म हुँदा, आफैँ म अर्कै थिएँ

मत्ताझैँ पहिले बिडाल अहिले, लुत्रुक्क पर्दै थिएँ

बेहोसी मतिभ्रष्ट अज्ञ म थिएँ, लाटै थिएँ वास्तव

आफू नै कि त शस्यश्यामल भयौ, लाग्दै छ यस्तो अब !४

 

वर्षा हुन्छ अवश्य एक दिनमा, झर्नेछ पक्का तल

बढ्दै जान्छ मझैँ र हुन्छ तरुनो, लाग्नेछ अर्को फल

यस्तै हो सबको छ रामरमिता, यै हो बडो दर्शन

गर्नै पर्दछ याग नत्र नभले, गर्ला कहाँ वर्षण !५

 

 

आऊन् सुनौला दिन ४३२

 

मेरा सज्जन मित्रमा सुहृदयी, आफन्त सत्पात्रमा

विद्यार्थी गुरुमा दशैँ अवधिमा, बाँड्दै छु सद्भावना

यौटै चाह मभित्र हुन्छ जहिले, बाँकी अरू भन्दिनँ

जाऊन् दु:ख र कष्टका पलहरू, आऊन् सुनौला दिन ।१

 

दुर्गाको नवरात्र मात्र नभई, सद्भक्ति होस् वर्षमा

दुर्गाजी मनमा भए जुन दिनै, बित्नेछ यो हर्षमा

बुझ्नू यत्ति कुरो मिलेपछि कृपा, पर्दैन रन्थन्निन

जाऊन् दु:ख र कष्टका पलहरू, आऊन् सुनौला दिन ।२

 

आफ्ना चण्ड र मुण्ड राक्षसहरू, आफैँ भगाऊ अब

ईर्ष्या द्वेष घृणा घमण्ड जति छन्, टाढा हटाऊ सब

मात्रै वाक्य छ एक यो हृदयमा, दोस्रो कुनै जान्दिनँ

जाऊन् दु:ख र कष्टका पलहरू, आऊन् सुनौला दिन ।३

 

मेरो मन्त्र यही थियो अझ उही, यस्तै रहोस् यो सदा

बाँच्ने शक्ति मिलोस् सदैव मनमा, आनन्द होस् सर्वदा

टीको रक्तिम माथमा र जमरा, होस् कानमा स्यूरिन

जाऊन् दु:ख र कष्टका पलहरू, आऊन् सुनौला दिन ।४

(प्रतिभा निकुञ्ज अभ्यासको समस्याबाट)

 

 

दशैँ भजन (वन छन्द) ४३३

 

जय जय अम्बे जय जय रानी

जय जय दुर्गे शतज भवानी

 

घटघट कालो हृदय कसैमा

अझ कति कालै मन छ दशैँमा

सबतिर पापी सबतिर लोभी

फगत यता छन् जगभर ढोँगी

 

जय जय अम्बे जय जय रानी

जय जय दुर्गे शतज भवानी

 

सब भय हर्दै असुर भगाऊ

प्रिथुतल साँच्चै मधुर बनाऊ

सबतिर हेर्दै नजर घुमाऊ

वदन निमोठ्दै नरक पुर्याऊ

 

जय जय अम्बे जय जय रानी

जय जय दुर्गे शतज भवानी

 

निशिदिन तिम्रो शरण म पर्छु

नमन गरी पूजन पनि गर्छु

झलमल बत्ती मनभरि बाल्छु

कलुषित इच्छा मयल पखाल्छु

 

जय जय अम्बे जय जय रानी

जय जय दुर्गे शतज भवानी

 

 

७८ दशैँ, ४३४

 

टीको लगाई दिनुपर्नेहरूप्रति :

मेरो हात निधारसम्म नपुगी, फर्किन्छ होला तर

तिम्रो माथ मदेखि टाढिन गई, तर्किन्छ होला तर

टीको रक्तिम अक्षता र जमरा, देखिन्न होला तर

मेरो याद कतै सचित्र मुटुमा, होला नहोला तर !१

 

आशीर्वाद निकै म दिन्छु मनले, इच्छा सबै पूर्ण हून्

सारा रोग शरीरका र मनका, सम्पूर्ण ती चूर्ण हून्

दुर्गाले धन शक्ति इज्जत दिऊन्, ऐश्वर्यशाली हुनू

आफ्नो मुख्य उद्देश्यमा जुटिरही, ती चन्द्रलाई छूनू !२

 

टीको ग्रहण गरिनुपर्नेहरूप्रति :

आठै अङ्ग नुहेर झुक्दछु सदा, साष्टाङ्ग बन्दै छु म

पाऊँ आसिक धेरथोर म सधैँ, सेवार्थ भन्दै छु म

टाढा नै म छु आज, भोलि दिनमा भेट्नेछु आई त्यतै

हाम्रो भेट अवश्य हुन्छ कहिले, के जान्छु टाढा कठै !३

 

आशीर्वाद म माग्छु मात्र यति नै, आरोग्य होस् ज्यानमा

मागी खान्छु तथापि चोर्नु नपरोस्, गिर्ने नहूँ सानमा

आत्माराम सदैव राम म बनूँ, बन्ने नहूँ रावण

वैरीले यदि युद्ध गर्न कसिए, हार्ने नहूँ त्यो रण !४

 

 

वाह ! ४३५, अर्चना छन्द

 

पाप गर्दा पुण्यको

नास पक्का निश्चित

धर्म गर्नू, कर्म हो

भन्दछन् ती पण्डित ।१

 

धर्म के हो जान्दिनँ

कर्म के हो जान्दिनँ

कृष्णजीको प्रेमको

मर्म के हो जान्दिनँ ।२

 

वेद रक्षा गर्नु नै

आत्म रक्षा भन्दछन्

शास्त्रवेत्ता बन्नु नै

चेतना हो भन्दछन् ।३

 

वेद के हो जान्दिनँ

चेत के हो जान्दिनँ

शास्त्र आत्मज्ञानको

भेद के हो जान्दिनँ ।४

 

मात्र यौटा थाह छ

मात्र यौटा चाह छ

प्रेम पाए ईशको

जिन्दगी यो वाह ! छ ।५

 

 

अर्को पाटो ! ४३६

 

अँध्यारोमै उज्यालाको हुन्छ अस्तित्व कन्चन

देखिनेछन् अँध्यारामै नौलाख तारका गण ।१

 

कालो पानी हिलो उस्तै विषाक्त सर्प डुल्दछन्

त्यस्तै तलाउमा प्राय: पङ्कज फूल फुल्दछन् ।२

 

मल विष्ठा सधैँ झर्ने दुर्गन्धी अङ्ग हुन्छ जो

त्यसैबाट चलेको छ सृष्टि यो आजसम्मको ।३

 

सुन्दैमा घिनलाग्दो छ छादेको छ सबैतिर

मह हो माहुरी छाद खाएकै छौँ निरन्तर ।४

 

निर्लज्ज यौनको प्यासी चारखुट्टे जनावर

पुजिन्छन् अघि गौभन्दा तिहारमा सधैँभर ।५

 

 

देवझैँ शक्तिशाली, ४३७

 

भन्यो फूलले बोटमा मुस्कुराई

नफुल्दै छ आनन्द कस्तो मलाई

फुले टिप्दछन् चुँड्दछन् झन् लतार्छन्

सके बोट हाँगा सबैले पछार्छन् !१

 

भन्यो जूनले रातमा मुस्कुराई

छ औँसी असाध्यै मिठो झन् मलाई

न देखिन्छ मेरो कुनै खास दाग

सबैमा हुने कामको न्यून चाह !२

 

भन्यो दीपले साँझमा मुस्कुराई

म निभ्दै छु राम्रो नबाल्नू मलाई

बले तात्छ यो ज्यान दुख्नेछ धेरै

वृथा जल्नु पर्दैन साँझै सबेरै !३

 

भन्यो त्यो नदीले अझै मुस्कुराई

हुँदा भेल बाढी छ आहा मलाई

न माझी न माछा न पौडी न कौडी

स्वयं बग्छु आनन्द एक्लै म दौडी !४

 

भन्यो मूर्तिले बुद्धझैँ मुस्कुराई

म ता बन्छु मान्छे बनाओ मलाई

न पूजा न भेटी न नैवेद्य थाली

छ मान्छे स्वयं देवझैँ शक्तिशाली !५

 

 

बलात्कृताको प्रश्न ४३८

 

भोगी भोग विलासमा कुकुरझैँ, टासिन्छ हड्डीप्रति

त्यस्तै यौन पिपासु छौ चलनमा, देख्छौ सबै श्रीमती

गर्छौ पाप अनेक चेत नहुँदा, बोल्दैन तिम्रो हरि

मैले पर्दछ सुन्नु 'ए नकचरी !' यस्तो भयो के गरी ?

 

रोगी डाक्टर हो स्वयं यदि भने, के गर्छ ऊ ओखती

काम्दै थर्थर मर्नुपर्छ सबले, पक्का हुने हो क्षति

मेरो प्रश्न यही थियो अझ उही, यस्तो भयो के गरी

तिम्रो इज्जत गर्भमा बढिरह्यो, मेरो गयो के गरी ?

 

नारीको सुख खोस्छ नास्छ बलले, त्यो मर्द के मर्द हो

ब्वाँसो हो बरु जङ्गली मन हुने, त्यो जन्तु नामर्द हो

मेरो अण्ड र अस्मिता छ मसँगै, आफैँ गिरेछौ झरी

तिम्रो लाज मभित्र बग्दछ भने, मेरो गयो के गरी ?

 

आफैँ शोषणमा म पर्छु जहिले, गर्छौ तिमी भक्षण

घुम्छौ ढुक्क भएर गाउँ घरमा, तिम्रै हुने रक्षण

भन्छन् वंश विनाशिनी म छु अरे, सोध्दै छु बन्दै दह्री

तिम्रो वंशलता म पाल्दछु भने, मेरो गयो के गरी ?

 

तिम्रो इज्जत लाज वंश छ ममा, बढ्दै छ हुर्किन्छ यै

थोपो रक्त छरेर पुंसक भयौ, तिम्रो अरू के छ खै

पुत्री होस् कि त पुत्र होस् छ मसँगै, जन्माउने हो पनि

तिम्रो बाउ थियो, मर्यो कुकुरझैँ, भन्ने छु मैले अनि !५

 

 

शक्ति, अनुष्टुप् रचना ४३९

 

खिच्ने छ शक्तिले डोरो शक्तिमा छ नियन्त्रण

निमित्त कार्य हुन् अन्य शक्ति हो मुख्य कारण ।१

 

शक्तिले राख्छ जीवन्त शक्तिले गर्छ मारण

नपत्याए सधैँ हेर्नू महाभारतको रण ।२

 

शक्तिमा मिल्नको निम्ति रचिन्छन् भव्य कारण

नपाए शक्तिमा मिल्न कहाँ मर्थ्यो र रावण ।३

 

शक्ति हो/ हुन्छ नासिन्न मर्दैन यो कुनै क्षण

टुक्रिँदा सूर्यको शक्ति पृथ्वीमा सर्छ तत्क्षण ।४

 

धर्म शक्ति सधैँ हुन्छ पापबाट विकर्षण

देवको गण बेग्लै छ बेग्लै छ राक्षसी गण ।५

(प्रतिभा निकुञ्ज अभ्यासबाट)

 

 

राम्रो छ बाँकी अरू ४४०

 

के खाऊँ अहिले भरे पनि उही, खाने कुरो के छ खै

भन्दै नै दिन बित्छ फुत्त कहिले, के भन्नु के भन्नु खै

टार्नै मुस्किल पर्छ छाक जहिले, के काम नौलो गरूँ

भोको पेट सुतेर नीद नहुने, राम्रो छ बाँकी अरू !१

 

यी बाक्ला कपडा म किन्नु कसरी, जाडो बढे रातमा

केले ढाक्नु र आङ छोप्नु म चिसो, के गुत्नु यो माथमा

टालो एक भिरेर बस्छु जहिले, मागूँ कता के गरूँ

मात्रै यत्ति छ दु:ख कष्ट भनिने, राम्रो छ बाँकी अरू !२

 

बेचूँ साग र पात धान सकियो, बाढी पस्यो खेतमा

गाई एक थियो लडी मरिगयो, चौथो यही बेतमा

प्यारीको पनि साथ छैन अहिले, भन्नोस् कता के गरूँ

एक्लै बस्छु मतानको डिल उँधो, राम्रो छ बाँकी अरू !३

 

गोडो काम्दछ थर्र टेक्न नहुने, घस्रन्छु एक्लै पर

खोकी लाग्छ हुरुक्क हुन्छु कहिले, यो ज्यानको के भर

यस्तो यो स्थितिमा म सोच्दछु बसी, लाग्दै छ आजै मरूँ

जेजे भन्नु थियो भनेर सकियो, राम्रो छ बाँकी अरू !४

 

घुट्को एक गिलासमा जल लिई, खाऊँ भनेथेँ तर

हातै थर्थर भो र पोखिन गयो, यो दु:ख को देख्छ र

भित्री इश्वर काम्छ आज मसँगै, भन्दै छ साथै मरूँ

यस्तै हालतमा म बस्दछु सधैँ, राम्रो छ बाँकी अरू !५

 

नाडीमा मुटुमा छ धड्कन कठै ! मात्रै यही चाल छ

बाँकीका सब चाल बन्दसरि छन्, बेहाल बेलाल छ

गम्दै बस्छु म चाल यो हृदयको, के गम्नु नौलो अरू

सुन्दै चाल म काल पर्खिरहने, राम्रो छ बाँकी अरू !६

 

भर्सेलीतिर छैन आज कसुँडी, बल्दैन आगो त्यता

ढुङ्ग्रामा पनि छैन ओलन मिठो, सुख्खा छ सुख्खा त्यता

डालामा पनि छिद्र छन् सबतिरै, होलान् मुसा ती बरु

जेजे टन्न थियो छ रिक्त अहिले, राम्रो छ बाँकी अरू !७

 

 

प्रेमिकाको मुहार, ४४१

प्रतिपल सँग हुन्थे, प्रेमका एक जोडी

प्रतिपल सँग डुल्थे, साथ छोड्दै नछोडी

गुनगुनगुन हुन्थ्यो, प्रेमकै बात हुन्थ्यो

मनसँग मन हुन्थ्यो, हातमा हात हुन्थ्यो !१

 

समय रहरिलो त्यो, चैत वैशाखजस्तो

प्रकृति पुरुष मिल्दा, फूल हाँस्दै छ जस्तो

गगन पृथु नियाल्दै, मुस्कुराई रहन्थ्यो

कर वदन उनैका, सुम्सुम्याई रहन्थ्यो !२

 

समय फरक आयो, प्रेमिका अन्त लागिन्

कर अधर रहेको, प्रेम धोई पखालिन्

शुरु शुरु नव जोडी, शुद्धि नै सल्बलायो

पछि पछि दिन बित्दा, प्रेम अर्कै पलायो !३

 

मदनसरि ठिटाकी, प्रेमिका अन्त लाग्दा

नयन कति रसाए, फुत्त छाडेर भाग्दा

शिवसित अहिले ऊ, गर्छ यौटै पुकार

युग युग म नदेखूँ, प्रेमिकाको मुहार !४

 

 

स्वदेश गान, ४४२

 

ॐ छ दर्शन ब्रह्म छ चिन्तन

देव अनन्य छन् सन्त समान ।

मोक्षको चाहना मूर्तिको पूजन

अखिल निरन्जन धर्म सनातन ।१

 

ने मुनि काखमा पीपल पातमा

सुम्निमा देख्दछन् बुद्ध बिहान ।

बोन छ जैन छ प्रकृति चैन छ

कुरान पुराण र मेरी नाम ।२

 

फूल विभिन्न छन् बाग अभिन्न छ

न्याय नियमको सूत्र महान् ।

विश्व छ साथमा देश छ माथमा

गुञ्जन ध्वननन राष्ट्रिय गान ।३

 

फाँटमा अन्न छ फेटमा औषध

नगझैँ उच्च छ स्वाभिमान ।

मेची महाकालीको सिञ्चन

उब्जनी गर्छ अनेक किसान ।४

 

खुकुरी धारमा चमचम चम्किने

चन्द्र र सूर्यसहित निसान ।

बहुजन मनको नूतनपनको

श्रम पसिनाको बन्छ विधान ।५

 

 

गीत, ४४३

 

धाएर हेर आफैँ, आएर हेर आफैँ

चाहे सुटुक्क मायाँ, लाएर हेर आफैँ ।१

 

कस्तो छ जिन्दगी यो, पत्तो कहाँ तिमीमा

निस्सार हुन्छ धोका, खाएर हेर आफैँ ।२

 

टाढा बसेर एक्लै, भो सान्त्वना नदेऊ

भित्रै पसी कलेजी, छाएर हेर आफैँ ।३

 

लेख्दै छु गीत मेरै, पीडा बिछोडका म

यी गीतमा तिमी छ्यौ, गाएर हेर आफैँ ।४

 

साँची रहेछु मैले, मायाँ मभित्र चोखो

प्रेमी छु कृष्णजस्तै, पाएर हेर आफैँ ।५

 

 

उदाहरण, ४४४

 

दिने व्यक्ति सधैँ माथि लिने हुन्छ सधैँ तल

हेर्नुस् न व्योमको मेघ हेर्नुस् सागरको जल !१

 

हेर्नुस् न मातृको धारा हेर्नुस् न शिशु चञ्चल

इन्द्रेणी रङ हेर्नुस् न हेर्नुस् न फूल कोमल !२

 

हेर्नुस् न वीरको वज्ज्र हेर्नुस् न भूमिको खल

हेर्नुस् न ढिकीको मुस्ली हेर्नुस् न तल ओखल !३

 

हेर्नुस् न हैमको चुच्चो हेर्नुस् न खोँच कल्कल

हेर्नुस् आसन सत्ताको हेर्नुस् विपक्षको दल !४

 

हेर्नुस् न कालको दण्ड हेर्नुस् न मृत्युको पल

हेर्नुस् न सूर्यको शक्ति हेर्नुस् न बोटको फल ! ५

 

 

शिवशर्मा ब्राह्मण ! ४४५

 

कराल काल चेपमा परेर जाउँला कतै

म सिन्धु मृत्युको छिटै तरेर जाउँला कतै !१

 

लिएर बीज एक यो फलाउनू फुलाउनू

स्वयं म बीज वैँसको छरेर जाउँला कतै !२

 

छ उष्णता सदा सदा छ भूमि शुद्ध कञ्चन

म उम्रिई टुसा बनी सरेर जाउँला कतै !३

 

फुलून् वसन्त पुष्पझैँ अनन्त काख काखमा

म बारबेर बागमा गरेर जाउँला कतै !४

 

दसी प्रमाण छ्यौ तिमी म मृत्यु सम्मुखी भए

यही स्वरूप नेत्रमा भरेर जाउँला कतै !५

 

 

ढाँटेर के हुन्छ र ! ४४६

 

श्री व्यास हुन् व्यक्ति मनुष्य जाति

लेख्थे पुराना कति काव्य जाती

गर्थे सधैँ प्रेम अनन्त वर्षा

त्यै प्रेमकै हुन्छ सदैव चर्चा !१

 

प्रेमी थिए एक विशिष्ट आफैँ

गर्थे सदा प्रेम विशिष्ट आफैँ

प्रेमी म हो भन्न उनी डराए

अर्कै उही कृष्ण भनी बनाए !२

 

श्री कृष्ण हुन् एक विशिष्ट पात्र

जो व्यासकै हुन् दह्रिलो म पात्र

जेजे थियो भन्नु सबै भनाए

जेजे थियो गर्नु सबै गराए !३

 

देख्थे प्रेम हजारमा र सयमा, ती गोपिनी साथमा

गर्थे प्रेम बिहान साँझ पखमा, डुल्थे कतै रातमा

इच्छा जो मनमा थियो सब कुरा, लेखेर पूरा गरे

बाँकी पात्र बनेर कृष्ण जसरी, देखेर पूरा गरे !४

 

हज्जारौँ कविका म पढ्छु कविता, आफैँ अझै लेख्दछु

अर्कै पात्र रचेर भाव कविले, लेखे जसो देख्दछु

आफ्नै प्रेम भनेर भन्न नहुने ? भन्नू न केको डर

पढ्नेले अब बुझ्दछन् सब कुरा, ढाँटेर के हुन्छ र !५

 

 

भेटिन्न पक्का ! ४४७

 

बगैँचा पुगेँ बागको सान हेर्न

उज्यालो उषा पूर्वका घाम हेर्न

पहेँला पहेँला थिए पुष्प घाम

बिताएँ बिहानी गरी यत्ति काम !१

 

त्यही बागमा प्रेमिका याद आइन्

झझल्को दिँदै पुष्पझैँ सल्बलाइन्

छँदै छिन् उज्याली उही घामजस्ती

उही बाग सौन्दर्यको सानजस्ती !२

 

खिचेँ एक तस्वीर गोदावरीको

र अर्की उज्याली अझै बाबरीको

नियाँले निकैबेर ती चित्रभित्र

र देखेँ प्रिया बीचमा छिन् सचित्र !३

 

उतारूँ भने शब्दमा आउँदैनन्

प्रिया रूप यी काव्यले ल्याउँदैनन्

जसो जे गरी शब्द लेखौँ तथापि

प्रियाझैँ मिठा वाक्य हुन्नन् कदापि !४

 

भनौँ जून वा शीत वा पातजस्ती

शरद् पूर्णिमाको मिठो रातजस्ती

परी, अप्सरातुल्य, लालित्य, सच्चा

अलङ्कारमा प्रेम भेटिन्न पक्का !५

 

 

नदी ताल संवाद, ४४८

 

यौटा थियो ताल पुकार गर्दै

बोल्यो नदीतर्फ मुहार गर्दै

हे हे नदी ! दौडिन छोड व्यर्थ

दौडेर के हुन्छ न अर्थ व्यर्थ !१

 

हेर्नू मलाई सब सन्च सन्च

केको यहाँ गर्नु छली प्रपञ्च

देखिन्छु आफैँ सब टन्न टन्न

कस्तो मिठो जीवन धन्य धन्य !२

 

तिम्रो भएको मति फेर साथी

बग्दै गएको क्षति हेर साथी

आऊ बसौँ चट्ट बनेर मित्र

आऊ अटाऊ अहिले मभित्र !३

 

बग्दो नदीले पनि बात मार्यो

त्यो ताललाई पनि धाप मार्यो

अल्छी भइस् जाँगर छैन तेरो

तोड्दे बरु त्यो अब ताल घेरो !४

 

आफैँ तँ सोच् उत्तर थाह हुन्छ

बग्ने नदी सागर छुन्छ छुन्छ

बग्दै गरे मिल्छ अवश्य पुण्य

अल्छी गरे लाग्दछ हात शून्य ! ५

 

 

शुभकामना !! ४४९

 

खासमा म देवकोटालाई भगवान् ठान्छु

किनकि पहिलो अवतारमा मैले उनलाई

श्यामस्वेत तस्बिरमा किताबमा देखेको थिएँ

सरस्वती वन्दनाको पाठमा सरस्वतीको

फोटो जस्तै !

 

खासमा म देवकोटालाई भगवान् ठान्छु

किनकि दोस्रो अवतारमा मैले उनलाई

मूर्तिमा देखेको थिएँ

बुद्धको, कृष्णको मूर्तिजस्तै !

 

खासमा म देवकोटालाई भगवान् ठान्छु

किनकि तेस्रो अवतारमा मैले उनको मूर्तिमा

मान्छेले पूजा गरिरहेको देखेको थिएँ

टेलिभिजनमा

भक्तले भगवान् को मूर्ति पुजेजस्तै !

 

र अझै पनि म देवकोटालाई भगवान् नै ठान्छु

किनकि चौथो अवतारमा मैले उनलाई

यात्रीमा, के नेपाल सानो छ ? मा, पागलमा

मुनामदनमा बोल्दै गरेको सुनेँ !

 

पछि कुनै समयमा नेपाली साहित्यको स्तर

खस्किन गयो भने यसैगरी पाँचौँ, छैठौँ, सातौँ ...

अनन्त अवतार लिएर आउनू है !

जन्म दिनको कोटी कोटी शुभकामना प्यारा !

 

 

कर्म ४५०

समय सत्य हो बोल्छ सत् कुरो

प्रगति गर्छ जो छुन्छ टाकुरो

अधम व्यक्ति नै हुन्छ निर्धन

असल व्यक्तिको कर्म हो धन ।१

 

लवण ल्याउने ख्वाउने भनी

मदन पुग्दथे भोटमा पनि

अमर भै गए कर्म गर्नमा

असल व्यक्तिको कर्म हो धन ।२

 

धनु र बाँणका साथ अर्जुन

समर लड्दथे रात वा दिन

विजय पाउँथे भव्य हर्दम

असल व्यक्तिको कर्म हो धन ।३

 

प्रकृति बोल्दिनन् दृश्य बोल्दछन्

ऋतु र मासले भाव खोल्दछन्

पुरुष व्यक्तिमा हुन्न बन्धन

असल व्यक्तिको कर्म हो धन ।४

 

गगन हेरियोस् रात पन्ध्रमा

किरण सूर्यले चुम्छ चन्द्रमा

किरण हौ तिमी लम्क लम्क न

असल व्यक्तिको कर्म हो धन ।५

(प्रतिभा निकुञ्ज अभ्यासबाट)

 

 

नपरौँ पछाडि ! ४५१

 

लेख्थे महाकवि कुनै दिन वाक्य एक

उद्देश्य के लिनु उडी छुनु चन्द्र एक

त्यो चन्द्रमा छुन भनेर बढौँ अगाडि

साहित्य साधकहरू नपरौं पछाडि ।१

 

लेख्दै नलेख कहिले सरकार भन्छ

आफैँ न लेख्छ रचना न त लेख्न दिन्छ

लेखौँ सबै विषयमा सबथोक छाडी

साहित्य साधकहरू नपरौं पछाडि। २

 

हाम्रा समाज घरमा अनि देशमा छन्

कैयौँ खराब ननिका कति सोच बन्छन्

फ्याँकौं सबै जन मिली र हिँडौँं अगाडि

साहित्य साधकहरू नपरौं पछाडि। ३

 

सन्न्यास हुन्न कविको कहिल्यै हुँदैन

झुक्दैन यो कलम झन् कहिल्यै रुँदैन

हो लेखनी, कवि, मसी नहुने कवाडी

साहित्य साधकहरू नपरौं पछाडि। ४

 

पढ्थ्यौं सधैँ कलम नै तरबार भन्दा

पक्का हुनेछ बलियो दरबार भन्दा

त्यो लेखनी अब लिएर बढौँ अगाडि

साहित्य साधकहरू नपरौं पछाडि। ५

(प्र नि अ बाट )

 

 

रचना ४५२

 

को बाँच्छ जीवन सधैँ नमरी हुँदैन

संसार सागर बडो नतरी हुँदैन !१

 

हेर्नू कुनै वनविषे फल जेसुकै होस्

पाकी कुनै समयमा नझरी हुँदैन !२

 

मर्ने भनेर पहिल्यै किन तान्नु खुट्टा

उद्योग एक अहिल्यै नगरी हुँदैन !३

 

पक्का छ मृत्यु जगमा तर याद राख

सङ्घर्षको बिउ कुनै नछरी हुँदैन !४

 

आएँ यहाँ म कसरी किन मर्नु भन्दै

सद्ज्ञान यो मगजमा नभरी हुँदैन !५

(प्र नि अबाट)

 

 

जिन्दगी ए ! ४५३

 

जसो लेख्दछस् जिन्दगी ए ! कथा तँ

फिटिक्कै फिटिक्कै नबुझ्ने भएँ म

तँ भर्दे मसी जिन्दगी ए ! मलाई

रुँदै लेख्छु मेरा व्यथा वेदना म !१

 

नजान्ने भइस् जिन्दगी ए ! तँ लेख्न

नसक्ने भइस् दु:खको काव्य लेख्न

तँ छोड्दे सबै जिन्दगी ए ! मलाई

स्वयं कोर्छु रेखो म सिक्दै छु लेख्न !२

 

तँ हारिस् तँ जा जिन्दगी ए ! उता जा

नयाँ काम खोज् वा अरू स्थानमा जा

मलाई तँ सुन् जिन्दगी ए ! म भन्छु

तँ भन्दा बरु प्रस्ट नै बोल्छु जा जा !३

 

सिधा मात्र सोच्छस् सिधा मात्र देख्छस्

सधैँ जन्मको साथमा मृत्यु लेख्छस्

दुई बिन्दुको बीचमा जिन्दगी ए !

मरेँ लाख लाखौँ कहाँ देख्न सक्छस् !४

 

 

खिल ४५४

 

पोहोर एउटा काँडाले छोएको थियो खुट्टामा

अलिकति काँडाले नै झिकेँ तर काँडो टुक्रियो

अलिकति सियोले नै झिकेँ तर काँडो फेरि टुक्रियो

अस्पताल गएर खुट्टा चिरेर झिकेँ

काँडो र रगत सँगसँगै निस्किए ।

 

परारै साल एउटा फूलले छोएको थियो हातमा

त्यहीवेला हातले नै हटाएँ तर फूल टुक्रिएछ

त्यहीवेला मनले पनि हटाएँ तर फूल फेरि टुक्रिएछ

अस्पताल गएर हात चिरेर झिक्न खोजेँ

चिरिदिएनन् ।

 

फूलै फूलको खिल पल्टिएको छ मुटुभरि अहिले

कोट्याउँछु, एउटा कविता निस्किन्छ

फेरि कोट्याउँछु, अर्को गीत निस्किन्छ ।

 

 

दान ४५५

 

दिएर दानीजन रित्तिदैन

पिएर पानी नद सिद्धिँदैन

लेख्ने र देख्ने जन सत्य भन्छन्

दाता सधैँ शान्त प्रशान्त बन्छन् !१

 

मैले दिएँ यो किन भन्नु हेर

तातो दिएँ भन्दछ सूर्य के र

बोल्दै नहिँड्नू सहसा फुकेर

जानेछ पक्का खहरे सुकेर !२

 

मागे कसैले तब झट्ट देऊ

बन्दै तिमी बादल बर्सिदेऊ

त्यस्तो महान् बन्छ मनुष्य खास

ठान्दैन आफ्नो जति जे छ पास !३

 

बन्छन् पुराना जति वस्तु किन्छौ

बन्छन् नयाँ झन् जति वस्तु दिन्छौ

दिने कुरै छैन ममा नभन्नू

मायाँ दया प्रेम छ दान भन्नु !४

 

पत्तो कहाँ खै कसरी छ जानु

के नै यहाँ हुन्छ मरेर लानु

बाँकी कतै हुन्न शिवाय दान

मर्दा यही दान छ लानु जान !५

 

 

सोच, ४५६

 

नाङ्गो देह छ लाज छोप्नु छ भने, नारीहरूको कतै ।

चौबन्दी पटुकी अभाव छ भने, सारीहरूको कतै ।

मेरा वस्त्रहरू फुकाल जन हे ! नाङ्गिन्छु आफैँ बरु ।

ढाकून् अङ्ग सबै दिदी र बहिनी, चेलीहरूले अरू । १

 

प्रेमी हेर्न तयार छन् यदि कुनै, आँखाहरूले भने ।

बोली सुन्न तयार छन् यदि कतै, प्रेमीहरूले भने ।

आँखा कान झिकेर मिल्दछ भने, लानू सबै दिन्छु म ।

आऊ वैद्य लिएर साथ घरमा, सम्पूर्ण सुम्पिन्छु म ।२

 

मान्छे रक्तविहीन छन् यदि कतै, रोई रहेका भने ।

भित्री अङ्ग सडेर बिग्रिन गई, झोक्री बसेका भने ।

तान्नू रक्त मभित्रको तनतनी, सोसेर लानू सबै ।

झिक्नू अङ्ग चुनी चुनी सब कुरा, रोजेर लानू सबै । ३

 

वैरी आउँछ देश लुट्न कसिई, क्षेप्यास्त्र नौला लिई ।

काँचै खान्छु म भन्छ बोल्छ नडरी, औजार आफ्नै लिई ।

मेरा हाडहरू लिनू सहजले, साना र ठूला सबै ।

पार्नू ती हतियार दुस्मनहरू, तर्सेर भागून् सबै ।४

 

 

ट्रयाङ्गल ! ४५७

 

यता प्रेम यौटा छ पर्खी रहेको

दुवै नेत्रमा अश्रु दर्की रहेको

'पखेस्' आज वा भोलि छिट्टै भनेर

उता प्रेम अर्को छ झर्की रहेको !१

 

उनी आउँछिन् भेट्नलाई भनेर

बिहानै उतै ऊ छ फर्की रहेको

उतापट्टिको प्रेम पक्का झुटो हो

वृथा प्रेम यौटा छ लर्की रहेको ! २

 

लिई प्रेमको शुद्ध पानी सदा ऊ

उनैमा उनैमा छ छर्की रहेको

नलागोस् त्यही मन्त्र पानी भनेर

उता प्रेम अर्को छ तर्की रहेको ! ३

 

कतै भेट प्यारो नहोला कि भन्दै

यता प्रेम छाती छ चर्की रहेको

नयाँ प्रेम जोडी सँगै भेट होला

भनी प्रेम अर्को छ थर्की रहेको ! ४

 

 

नौलो कुनै उन्नतितर्फ लाग ! ४५८

 

केही कुनै काम भएन गर्न

मेला तथा पर्म रहेन भर्न

टारी र बारी पनि खन्न छैन

बाली उठाऊँ पनि अन्न छैन !१

 

उद्योग धन्दा म गरूँ कहाँ के

ल्याएर भाँडा म भरूँ कहाँ के

व्यापारमा हिम्मत सीप छैन

मिल्ने कुनै साथ र मीत छैन !२

 

बाजा बजाऊँ पनि जानिदैन

गाडी चलाऊँ पनि जानिदैन

बेकारको लन्ठु भएर बस्छु

बेकाम मान्छे म बनेर बस्छु !३

 

यो लेखनीमात्र सधैँ घिसार्छु

सोझा कुनै पाठक यी बिगार्छु

पढ्नेहरूको पनि काम छैन

लेख्नेहरूको पनि दाम छैन !४

 

पढ्नेहरूले अब पढ्न छोड

लेख्नेहरूले अब लेख्न छोड

आहा बडो सुन्दर भन्नु सट्टा

अर्को कुनै काम गरेर हेर !५

 

पाइन्छ के नै कविता पढेर

भरिन्न यो पेट यसो गरेर

त्यो हातको फोन सरक्क राख

नौलो कुनै उन्नतितर्फ लाग !६

 

 

मङ्सिरे सल्लाह ! ४५९

 

चिन्ता दूर हुने थकान नहुने, प्यारी हुँदा साथमा

ठन्डी झन् कहिल्यै फिटिक्क नहुने, हेमन्तको रातमा ।

लाग्यो मङ्सिर आजबाट शुरु भो, यो कृष्णको मास हो।

जोडी चाहतको निमित्त असली, यो मास झन् खास हो ।१

 

खल्तीबाट निकाल फोन अहिल्यै, प्रस्ताव आजै गर ।

जालिन् अन्त सुटुक्क फेरि पछुतो मानेर के गर्नु र ।

फिर्ता गर्नु हुँदैन हुन्न सटही, अर्कै भइन् ती भने ।

फेरा सात घुमी घुमी पतिसँगै, अन्तै गइन् ती भने ।२

 

आफ्नो हिम्मत छैन, बोल्न नसके लाऊ लमी नै अरू ।

गर्नू मुख्य कुरो थपक्क पहिले, खाऊ कमी नै बरु ।

भेट्नू साँझ बिहानको समयमा, एकान्तको स्थानमा ।

एकार्कासँग बात होस् हृदयको, चौपट्ट सम्मानमा ।३

 

अर्को वर्ष नपर्खिनू अब भयो, यै वर्ष हो उत्तम ।

खोज्नू पण्डित एक शुद्ध गुरुबा, जोडी छ सर्वोत्तम ।

हेर्नू साइत झन् छिटो लगनको, बाजा बजून् नौमती ।

भित्र्याऊ दुलही चिटिक्क जिउकी, आनन्द होला कति !४

 

 

रचना, ४६०

 

उता शान्त बोल्यौ यता बर्बरायौ

उता लेप लायौ यता चर्चरायौ १

 

म जल्दो र बल्दो थिएँ अग्निज्वाला

बनी भेल बाढी मलाई डरायौ २

 

तुलो लच्कियो प्रेमको भेल बढ्दा

जिताई पराई मलाई हरायौ ३

 

भयो लाजमर्दो बसेँ चुप्प लागी

हराएँ भनी फेरि आफैँ करायौ ४

 

म सोच्थेँ कथा मात्र हो जानकीको

छ धर्ती यतै भासिऊँ झैँ गरायौ ५

 

 

निद्रा मिठो हुन्छ र ! ४६१

 

फेर्छन् औषधिजन्य वस्तु कतिले, फेर्छन् कुनै डाक्टर

फेर्दैनन् तर खानपान यसरी, त्यो रोग के भाग्छ र

शैली जीवनको उही छ जहिले, सुत्ने र उठ्ने पल

खाँदा औषध मात्र देहभरमा, के आउला खै बल ।१

 

फेर्छन् देव अनेक भक्त म भनी, झन् धर्म फेर्छन् कुनै

फेर्दैनन् तर कर्म, चिन्तन कुनै, आस्था र विश्वास नै

सम्झी ईश्वर सुँक्क सुँक्क मनमा, एक्लै रुँदैनन् तर

कस्तो ईश्वरको छ चाह यिनमा, केको हुँदो हो भर ।२

 

फेर्छन् वस्त्र नयाँ नयाँ दिनदिनै, रातो र नीलो तर

फेर्दैनन् यिनले स्वयं हृदयको, यौटै कुना कन्तरा

हेर्दैनन् रङ मुख्य एक मुटुको, मायाँ दयाको घर

मान्छे सुन्दर हुन्न हुन्न यसरी, ती वस्त्रमा के छ र !३

 

फेर्छन् मित्र कुनै, कुनै पतिहरू, पत्नीहरू फेर्दछन्

फेर्दैनन् तर प्रेमदृष्टि यिनले, अर्कै नयाँ हेर्दछन्

हीराको तकिया र खाट सुनको, होला कसैको तर

स्वार्थी प्रेम भए दुवै नयनमा, निद्रा मिठो हुन्छ र !४

 

 

केटाकेटी, मात्रिक छन्द ४६२

 

केटाकेटी क ख ग घ पढ्छन्

पढ्दै पढ्दै अघि अघि बढ्छन्

साना भन्दै हेप्नु हुँदैन

काखी मात्रै चेप्नु हुँदैन ।१

 

राम्रो काम के हो सुझाऔँ

श्रम र पसिना के हो बुझाऔँ

बाडौँ विद्या बुद्धि र सीप

बाल्छन् नौलो चेतन दीप ।२

 

साझा लक्ष्य तेरो न मेरो

यो नेपाल हाम्रो कटेरो

रक्षा यसको हरपल गर्छन्

देश बचाउन आफैँ मर्छन् ।३

 

बढ्दै जान्छन् पढ्दै जान्छन्

अलिअलि ठक्कर खाँदै जान्छन्

हाँस्दै खेल्दै सिक्छन् ओर्छन्

दुस्मन माथा यिनले फोर्छन् ।४

 

लेक र बेँसी फाँट तराई

दोश्रो अर्को छैन पराई

शहर र गाउँ मिलिजुली बस्छन्

देश बनाउन कम्मर कस्छन् ।५

(अन्तर्राष्ट्रिय बालअधिकार दिवसको शुभकामनासहित !)

 

 

व्यापार ४६३

 

पुँजी शरीर हो स्वस्थ लगानी ईश चिन्तन

नाफा हो मोक्षको प्राप्ति व्यापार हुन्छ जीवन ।१

 

विक्रेता जन्मको काल क्रेता हो मृत्युको पल

जिन्दगी चन्चले वस्तु व्यापारी हुन्छ निश्चल ।२

 

मायाँले खोज्दछिन् सस्तो महङ्गो बुद्धि खोज्दछ

भोगीले रोज्दछन् मायाँ जोगीले बुद्ध रोज्दछ । ३

 

पुराना वस्तुको खेलो व्यापारी गर्छ खै कहाँ !

त्यसैले राख्छ ऊ आत्मा प्रत्येक जीव जीवमा ।४

 

चिन्नेले चिन्दछन् तत्त्व नचिन्ने मात्र खोक्दछन्

घाटा सहेर त्यस्तैले हज्जारौँ जन्म भोग्दछन् ।५

 

 

प्रियको मुहार ! ४६४

 

कल्पिन्छु आफ्नै प्रियको मुहार

सम्झिन्छु रम्दै उनको मुहार

बाँच्ने नयाँ हिम्मत जोस बढ्छ

आभामयी त्यो सुनको मुहार !१

 

आई खुसीले नजिकै मनेर

सोध्छन् सबैले सुख के भनेर

सुन्दै बसी सज्जनको पुकार

यै भन्छु, 'हेर्नू प्रियको मुहार' !

 

पूजा गरूँ के गफ गर्न थाल्छन्

नैवेद्य भेटी पनि सोध्न थाल्छन्

सुन्दै सधैँ उत्तर यो कहन्छु

पूजा प्रियाकै गरिने म भन्छु !३

 

दुर्गा उनै हुन् अनि शक्तिदातृ

विद्या उनै चेतन बुद्धिदातृ

यो शक्तिको नित्य पुकार गर्दा

बाँच्दा खुसी, मोक्ष भइन्छ मर्दा !४

 

जो व्यक्ति बुझ्दैन प्रिया पुकार

जो व्यक्ति पुज्दैन प्रिया मुहार

त्यो व्यक्तिको जीवन खेर जान्छ

त्यो व्यक्ति निस्सार सडेर जान्छ !५

 

 

बालकको बिन्ती ४६५

 

म सानो छु धेरै म ठूलो बनूँला

पढी बन्छु कस्तो म आफैँ भनूँला

दिनू ज्ञान आकाशगङ्गाहरूको

अरू सूक्ष्म तारा म हेर्दै गनूँला !१

 

म बच्चा छु कच्चा छु काँचो म माटो

छ थोरै ममा बुद्धि सच्चा छु लाटो

दिनू ज्ञान सत्पथ्यगामीहरूको

हिँडूँ बुद्धझैँ सत्यको एक बाटो !२

 

सकूँ शान्तिको बीज यौटा म छर्न

सकूँ चम्किने काम यौटा म गर्न

दिनू ज्ञान शब्दार्थ भाषाहरूको

सकूँ देशको रिक्त पाना म भर्न !३

 

सबै जीव जीवात्ममा प्यार पोखूँ

कुनै स्थान स्वर्णाक्षरी नाम खोपूँ

बनूँ प्रेममा मातृवात्सल्यजस्तो

कसैको म टालो बनी लाज छोपूँ !४

 

बुटी ओखतीको मुनाझैँ पलाऊँ

सबै आर्तका घाउमा लेप लाऊँ

दिनू ज्ञान सेवा र निस्वार्थताको

दियोझैँ बली नित्यश: झल्मलाऊँ !५

 

 

करमा समाई ४६६

 

लाएर सभ्य सुकिलो, अझ एक सारी

हेर्यौ ममा नयन ती, दुइटै उघारी

मर्ने भएँ म त यही, व्यबहारले नै

देदीप्य रूप हँसिलो, अनुहारले नै !१

 

हे कामिनी जलपरी, दुलही बनेर

आऊ समीप मसँगै, अहिल्यै मनेर

जाऔँ कतै सँगसँगै, गफगाफ गर्दै

मैला तिता हृदयका, सब साफ गर्दै !२

 

सक्छ्यौ भने अब तिमी, सुन यो पुकार

सौन्दर्य छाम्न म सकूँ, कलिलो मुहार

त्यो वैँस साट मसँगै, अब भेट्न आऊ

जो तिर्सना छ मनमा, सब मेट्न आऊ !३

 

चौतर्फ पुष्परस होस्, ऋतु होस् वसन्त

दैवी छटा प्रकृतिको, गुण होस् अनन्त

श्री कृष्णझैँ वन डुलूँ, करमा समाई

ती ओठमा अझ चुमूँ, करमै समाई !४

 

 

पैसा ! ४६७

 

पैसा भनेको पनि शक्ति नै हो

सम्पत्ति हो, जीवन-रक्ति नै हो

गन्दा र भन्दा हँसिलो मुहार

लक्ष्मी स्वरूपा कलि भक्ति नै हो ।१

 

पैसा सधैँ नै सुख दिन्छ भन्छन्

पैसा मिलेमा खुश मिल्छ भन्छन्

पैसाविना काम हुँदैन भन्दै

मान्छे सबै बेखुशमा रहन्छन् ।२

 

पैसा मिलेमा थर बेचिदिन्छन्

बाबा मुमाकै घर बेचिदिन्छन्

मान्दै नमानी डर एक चिम्टी

विश्वास, आस्था, भर बेचिदिन्छन् ।३

 

बेचेर मुस्कान लिइन्छ पैसा

साटी मिठो बैँस दिइन्छ पैसा

सम्साँझ बाटातिर चट्ट बस्दै

चुस्की लिई मस्त पिइन्छ पैसा ।४

 

ठूलो कुनै जागिर किन्छ पैसा

द्यौता तथा मन्दिर किन्छ पैसा

सोझो कतै व्यक्ति भए रहेमा

भन्दै 'सडेस्' जन्जिर किन्छ पैसा ।५

 

मर्दा मलामी पनि किन्छ पैसा

बाँच्दा सलामी पनि दिन्छ पैसा

आफ्ना कुनै कर्तुत छोप्नलाई

दर्ता चलानी पनि छिन्छ पैसा ।६

 

बच्चो र बूढो पनि चिन्छ पैसा

लाटो गुँगो दुर्जन चिन्छ पैसा

पैसा नचिन्ने जन भेटिएनन्

आँखै नदेख्ने पनि चिन्छ पैसा ।७

 

 

मुक्तकहरू : ४६८

 

१. जिन्दगी

म भन्थेँ सिकूँ सिक्न गारो रहेछ

म भन्थेँ बिकूँ बिक्न गारो रहेछ

सिकेँ सिक्छु भन्दै बिकेँ बिक्छु भन्दै

त्यही स्थानमा टिक्न गारो रहेछ ।

२. बुद्धि

बुझे जिन्दगी बुझ्न गारो रहेछ

नबुझ्दा अझै ज्यूँन गारो रहेछ

त्वचा रक्त मांसादिले बुझ्न सक्थे

त्यही चेतना नै तगारो रहेछ ।

३. शंका

विनाचेतको मूर्ति नै देव हुन्छ

भए चेतना मूर्ति नै देह हुन्छ

गरे देहको चेतना पूर्ण शून्य

हुने देव वा देह सन्देह हुन्छ ।

४. प्रेम

हुने देखिने साटिने प्रेम हैन

छुने भेटिने चाखिने प्रेम हैन

सबै अङ्गमा सच्चिदानन्द हुन्छन्

कुनै अङ्गमा टाँसिने प्रेम हैन ।

 

 

कि त मर्न सक्थेँ ४६९

 

को को बसेका सब छौ मभित्र

आऊ सबै फुत्त यता सचित्र

देखूँ सबै सज्जन छौ कि छैनौ

ठ्याक्कै मजस्तै कि त हौ कि हैनौ !१

 

आमा बुबा छौ कि त दाजुभाइ

मिल्दै बसेका सबमा रमाई

प्यारा हितैषी नवमित्र मेरा

आयौ सजायौ मनभित्र डेरा !२

 

एक्लो भएँ झैँ पनि लाग्छ फेरि

तिम्रो मिठो साथ छँदैछ फेरि

हेरी स्वयं आज यतै हराऊँ

सानो म बच्चो जसरी रमाऊँ !३

 

प्यारी कता छौ अनि पुत्र पुत्री

श्री कृष्णको चट्ट कता छ मूर्ति

राधा पियारी अब छोड लाज

आऊ सबै साथ मिलेर आज !४

 

तिम्रै सुधा प्रेम पिई रहेछु

तिम्रै कृपामा म जिई रहेछु

एक्लै भए जे पनि गर्न सक्थेँ

बाँच्थेँ यसै वा कि त मर्न सक्थेँ !५

 

 

औकात ४७०

खोलो थियो एक बगेर जाँदो

पानी पँधेरो नित शुद्ध खाँदो

बग्थ्यो सधैँ निर्मल गाउँबीच

पाईरहेथ्यो जनबाट प्रीत ! १

 

बग्थ्यो सदा खोँच कतै कतै ऊ

बाँड्थ्यो चिसो ओस कतै कतै ऊ

आफ्नै थियो नाम र सान राम्रो

मान्छेहरूको गुणगान राम्रो !२

 

बग्दै उँधो बल्ल पुग्यो तराई

त्यो खोँच आफ्नो अब भो पराई

देख्यो बडो सागर फैलिएको

माछाहरू सुन्दर पौडिएको !३

 

आहा ! म फैलन्छु भनेर ठान्यो

आफ्नो झिनो ज्यान तनक्क तान्यो

फैलेर आयो जब एकबेरि

आफैँ सुक्यो बग्न सकेन फेरि ! ४

 

औकात आफ्नो जब बिर्सिदिन्छ

पक्का त्यही व्यक्ति सदा खिइन्छ

जे गर्छ अर्को सब गर्नुहुन्न

खोलोजसै सुक्नु र मर्नुहुन्न ! ५

 

 

भाषा ४७१

 

पुर्खाको अपनत्व बिर्सिन पुगी, जिब्रो घिसारेपछि

नेपाली जनजिह्वको हृदयको, भाषा बिगारेपछि

आफ्नानिम्ति भनेर शब्द दुइटा, लेख्दै नलेखे बसी

बाबाबा बबबा बबैब बबबा, बेबे भनौला पछि !१

 

भाषाको पनि हुन्छ शुद्ध गणना, मान्छेहरू झैँ यहाँ

लेखा हुन्छ सबै सबै लवजको, बोल्नेहरू छन् जहाँ

बोल्नै पर्दछ बोल बोल अहिले, बोल्दै नबोलेपछि

भाभाभा भभभा भभेभ भुभुभा, भेभे भनौला पछि !२

 

एकै हुन् सब तीन यी प्रकृतिका, आमा र भाषा जिमी

अर्काको परदेशको लवजमा, रम्दै बसौला तिमी

जेजे होस् सब होस् भनेर अहिले, आनन्द मानेपछि

हाहाहा हुहूहु हुहेह हुहुहू, हेहे भनौला पछि !३

 

तिम्रो इज्जत मान बढ्छ जहिले, भाषा रमायो भने

अर्कैको सरकार बोल्छ कहिले, भाषा हरायो भने

माताश्रीसँग बात मार्नु कसरी, भाषा हराएपछि

लाटोझैँ अकमक्क बोल्न नसकी, क्वाँ क्वाँ कराएपछि !४

 

 

रचना, ४७२

 

यही प्रश्न मेरो छताछुल्ल पारेँ

गरेँ युद्ध यौटा जितेँ वा म हारेँ ।१

 

उठाई सकेँथेँ र बोकी सकेँथेँ

उनी जित्न खोजिन् दुवै हात झारेँ ।२

 

गलेझैँ मरेझैँ भएँ साथ छुट्दा

'बचाऊ' भनी फेरि उल्टै कराएँ ।३

 

थियो शक्ति धेरै ममा जित्न सक्ने

'जित्यौ, हार खाएँ' भनी युद्ध टारेँ ।४

 

उनी मस्त हाँसिन् हराएँ भनेर

'दह्री छ्यौ हरायौ' भनी मक्ख पारेँ ।५

 

 

कविताका बारेमा ! ४७३

 

लेखूँ एक भनेर हुन्न कविता, लेखिन्न यो बातमा

देखूँ एक भनेर हुन्न सविता, झन् मध्यको रातमा

आएमा कविता जसै हृदयमा, रोकिन्न यो क्यै गरी

बग्ने हो सरिता सलल्ल जसरी, छेकिन्न यो क्यै गरी !१

 

आउन्नन् कविता भने यदि कतै, तान्ने कुरा होइन

कस्तो भाव म राख्न सक्दछु भनी, छान्ने कुरा होइन

चाम्रा शब्द उनेर हुन्न कविता, लेखिन्न यो सासमा

औँसीका दिन चन्द्रमा जति गरौँ, देखिन्न आकाशमा !२

 

बग्दैनन् कविता कुनै रहरमा, छुन्नन् कुनै नोटमा

फल्दैनन् कविता कुनै सहरमा, हुन्नन् कुनै बोटमा

आफैँभित्र नियाल्नु पर्दछ सदा, लेखूँ म केमा भनी

देख्नै पर्छ खुसी दया र करुणा, देखे छ जेमा पनि !३

 

आए भाव कतै नयाँ अति मिठा, खेल्नू उसैमा बसी

टिप्नू त्यो नवभाव शुद्ध पहिले, पार्नू तयारी मसी

सम्झी इष्ट सरस्वती भगवती, वा देव जो छन् अरू

गर्नू अर्पण यज्ञकुण्ड जसरी, होस् भावको नै चरु !४

 

 

दु:ख ४७४

 

जो दु:ख आफ्नो मनमा रहेको

ठ्याक्कै उही हो तनमा भएको

सोच्यो, पलायो सब दु:ख उस्तै

हो बाहिरै भित्र उही दुरुस्तै !१

 

भोग्दा भयो यो पहिले स्वयंमा

जाग्दो भयो अङ्ग कुनै कुनैमा

वा भावमा खिन्न हुँदा कसैमा

यो दु:ख छुट्दैन कुनै दशैँमा !२

 

यो दु:ख मेरो जब मीत बन्छ

टासिन्छ मैभित्र र गीत बन्छ

श्री कृष्णका मित्र थिए सुदामा

हो दु:ख उस्तै अब सम्झँदामा !३

 

जो दु:ख यौटा जब बित्न थाल्यो

दोस्रो कुनै फेरि नयाँ पलायो

लाग्दै नलाग्ने अब कत्ति झर्को

देखा उही पर्छ तुरुन्त अर्को !४

 

यी दु:ख सुन्ने भन को छ आज

हाँस्छन् यिनै दु:ख सुनी समाज

हाँस्दा अरू दु:ख बढेर जान्छ

भित्री कलेजो मुटुमाझ खान्छ !५

 

आफ्ना सबै दु:ख र दर्द छोप

मान्छौ भने बाहिर झन् नपोख

यो दु:ख बाँड्दा निमिट्यान्न हुन्न

कस्तै गरेमा पनि छ्याङ्ग हुन्न !६

 

 

मायाँ ४७५

 

घोत्लिन्छन् कुखुरा जसै सहरमा, दाना नखाएपछि

झोक्रिन्छन् वयवृद्ध एकल भई, खाना नपाएपछि

बाछो मर्दछ भाद्र मास जसरी, छाया नपाएपछि

मर्छन् वृद्धहरू जसै स्वजनको, मायाँ नपाएपछि !१

 

आफू स्वस्थ हुँदा गरे कति कुरा, ठेला उठाए कति

बाँचून् यी कलिला मुना सब भनी, मेला जुटाए कति

आफू वृद्ध हुँदा मुना पर भए, जोडी जुटाई गए

बूढा जीर्ण जराजुरी सहितको, साङ्लो छुटाई गए !२

 

आफ्ना फूल र कोपिला हृदयका, फुल्दै हराएपछि

को नै रुन्न र सुँक्क सुँक्क मनमा, एक्लो गराएपछि

बूढो ज्यान असक्त भो बल गयो, आमा बिरामी भईन्

आएनन् जब भेट्न बालवनिता, आमा बिरानी भईन् !३

 

बोल्ने व्यक्ति हुँदैन आज अनि पो, हुन्छिन् हुरुक्कै उनी

ए आमा ! अब सन्च भो ? यदि सुने, उठ्छिन् जुरुक्कै उनी !

बाँच्ने हिम्मत बढ्छ हुन्छ सजिलो, आफन्त देखेपछि

छेवैमा यदि हातले नजिकमा, छोएर भेटेपछि !४

 

मैमत्ता नबनौँ, म फूल नभनौँ, गर्ने गरौँ आदर

बोटै मर्दछ फेदमा यदि भने, के फूल फुल्ला तर

राम्रो डाक्टर छैन विश्वभरमा, आफ्ना पराई भए

केही औषध चाहिँदैन भगवान्, आफन्त राम्रा भए !५

 

 

विद्यार्थीहरूप्रति ४७६

 

छ थाहा तिमी जेसुकै गर्न सक्छौ

छ रित्तो जहाँ जे तिमी भर्न सक्छौ

उकालो चढी शैलको माथ चुम्दै

सरक्कै तिमी फेदमा झर्न सक्छौ ! १

 

छ विश्वास हाम्रो तिमीमा सदैव

भरोसा छ हाम्रो तिमीमा सदैव

यही प्रार्थना गर्दछौँ देवलाई

कृपा बर्सियोस् झन् तिमीमा सदैव ! २

 

नयाँ सीप जे होस् तिमी सिक्न सक्छौ

बिझे धेर काँडा तिमी झिक्न सक्छौ

तिमी वीर छौ धीर छौ शक्तिशाली

सबै युद्ध तिम्रा तिमी जित्न सक्छौ ! ३

 

उठी नित्यश: मातृको पाउ हेर

पिता हातको वक्षको घाउ हेर

तिनै पाउका घाउमा लेप लाग्न

तिमी औषधी बन्नको दाउ हेर ! ४

 

हिजो आजका कामले बन्छ भोलि

सिके सीप नौलो मिठो बन्छ भोलि

गुरोर्वाक्य नै मन्त्र हो जिन्दगीको

यही मन्त्रले मात्र सप्रिन्छ भोलि ! ५

 

जहाँ ध्यान लाऊ त्यहाँ ज्ञान मिल्छ

जसै ज्ञान पाऊ त्यहाँ मान मिल्छ

तिमी ज्ञानको ध्यानमा मात्र लाग

यही सूत्रले मानसम्मान मिल्छ ! ६

 

 

चाखेर खाऊँ कि म ! ४७७

 

बिर्सिन् रे अब भेट हुन्न भनिछिन् साथी सँगीमा पनि

को हो चिन्दिनँ ऊ, म जान्दिनँ अरे, यस्तै भनिन् रे अनि

भट्टीमा अहिले गएर मुख यो, पूरै डुबाऊँ कि त

गाँजा भाङ मिसेर टन्न धतुरो, हुक्का उडाऊँ कि त !१

 

बोलेको पनि छैन रे दिन कुनै, एकान्तमा साथमा

भेटेको पनि छैन रे मसँग नै, सम्साँझमा रातमा

बौलाहा म बनी यही समयमा, नाचूँ कि गाऊँ कि म

बाटामा अहिले गएर मुरली, एक्लै बजाऊँ कि म !२

 

मेरा अक्षर जो जहाँ जति थिए, च्यातेर फ्यालिन् अरे

अर्कै पत्रहरू मिठो जतनले, साँचेर राखिन् अरे

प्रेमी पागलझैँ बनेर म सधैँ, एक्लै घुमूँ झैँ भएँ

देखी सुन्दर यौवना पसलको, पुत्ला चुमूँ झैँ भएँ !३

 

अर्कै प्रेम लिई मिठो रहरिलो, घुम्छिन् अरे साथमा

मेरो यो पहिलो पियार छ भनी, चुम्छिन् अरे हातमा

मेरो ज्यान कतै कुनै सहरमा, राखेर आऊँ कि म

वा यौटा विषको विषाक्त लहरो, चाखेर खाऊँ कि म !४

 

 

बाटो ४७८

 

थोत्रो मुहार छ सधैँ कति पोज दिन्छौ

थोत्रै छ पेट जहिले कति भोज लिन्छौ

थोत्रो छ यो सुन सबै जिउ अङ्ग अङ्ग

यी अङ्गले सयथरी किन मोज लिन्छौ !१

 

यी अङ्ग छन् चुलबुले ननिका छुचा छन्

सत्ज्ञानहीन बिचरा र लिँडे बुचा छन्

लाग्यौ भने हरघडी यिनका पछाडि

बढ्ला र जीवन सधैँ कसरी अगाडि !२

 

भोटाहरू जति सिऔँ पछि छोटिने छन्

फोटाहरू जति खिचौँ पछि मेटिने छन्

छाडेर पोज अहिल्यै अनि मोज भोज

श्री कृष्ण राम अथवा शिवतत्त्व खोज !३

 

त्यस्ता मुहार कति लाख हजार हुन्छन्

त्यस्ता लुगा घरघरै र बजार हुन्छन्

यस्ता झिना र मसिना जति जे कुरा छन्

ज्ञानी र सज्जनहरू सब त्यागिदिन्छन् !४

 

बाटो यही अघि थियो तर मेटिएन

अर्को नयाँ पथ कुनै पछि भेटिएन

योगीहरू ऋषिहरू जुन मार्ग पुज्छन्

ज्ञानीहरू नित हिँडी शिव तत्त्व बुझ्छन् !५

 

 

कविता ४७९

अरू भन्दछन् बोक्नलाई गह्रुङ्ङो

थिच्यो टाउकोमा अचाक्ली गह्रुङ्ङो

मजत्रै प्रिया बोक्छु यो टाउकोमा

हुने ज्यान मेरो सधैँको हलुङ्गो !१

 

नबोके प्रिया हुन्छ गारो मलाई

नबोके प्रिया-याद साह्रो मलाई

त्यसैले सधैँ बोक्छु ती प्रेमिका नै

विनाप्रेमिका हिँड्न गाह्रो मलाई !२

 

म जाऊँ जहाँ साथमा बस्दछिन् ती

म जाऊँ जहाँ यादमा बस्दछिन् ती

निदाऊँ कि जागूँ जसो जे गरूँ म

सधैँ सास-प्रस्वासमा बस्दछिन् ती !३

 

सदा सुस्तरी पस्दछिन् भित्र भित्र

र आरामले बस्दछिन् भित्र भित्र

उनी त्यस्तरी खेल्दछिन् भित्र मेरो

जसै राधिका मस्त छिन् कृष्णभित्र !४

 

 

बाँच्न पाऊँ ! ४८०

प्रभो ! बिर्सिऊँ दु:खदाताहरू म

प्रभो ! बिर्सिऊँ कष्टदाताहरू म

नसम्झूँ कुनै व्यक्ति वा वस्तु एक

नछोडूँ म बाटो गुमाई विवेक । १

 

कसैले कुनै श्राप देलान् मलाई

कसैले कतै ताप देलान् मलाई

प्रभो ! बिर्सिऊँ श्रापदाताहरू म

प्रभो ! बिर्सिऊँ तापदाताहरू म । २

 

कुनै सन्त होलान् कुनै बेइमान

म देखूँ सबै व्यक्ति एकै समान

कुनै दुष्ट होलान् कुनै व्यक्ति दानी

नचिन्ने बनूँ धूर्त हुन् वा इमानी । ३

 

म सम्झूँ सबै कृष्णका अंश हुन्छन्

नसम्झूँ कुनै शत्रु वा कंश हुन्छन्

सबैको भलो होस् यही नै चिताऊँ

र यस्तै गरी जिन्दगी यो बिताऊँ । ४

 

चिताए नराम्रो कसैले मलाई

प्रभो ! बर्सियोस् झन् उसैमा भलाइ

यही वाद सिद्धान्तमा बाँच्न पाऊँ

बनूँ मूर्खजस्तै यसै नाच्न पाऊँ । ५

 

प्रभो ! मूर्खझैँ बुद्धझैँ बाँच्न पाऊँ

प्रभो ! बुद्धझैँ मूर्खझैँ बाँच्न पाऊँ ।।

 

 

अस्ति बिहान ४८१

 

टीको टलक्कै छ निधारबीच

मायाँ मनग्यै छ हियारबीच

लेखूँ म के अस्ति भनेर सोच्दा

आयौ तिमी झट्ट विचारबीच । १

 

ल्याएँ उही सुन्दर रूप तिम्रो

खोजेँ चहारेँ मनभित्र तिम्रो

मेरै मिठो तस्बिर भित्र पाएँ

आत्मा रमायो म उसै रमाएँ । २

 

हेरेँ निकैबेर शरीर रूप

लाली उषाझैँ हँसिलो स्वरूप

हे स्तुत्य ! हे नित्य ! भनी पुकारेँ

लक्ष्मीस्वरूपा ! मनले पुकारेँ । ३

 

पाएँ नयाँ शीर्षक लेख्नलाई

तिम्रै मिठो यौवन देख्नलाई

नौलो कुनै भाव समेटिएन

अर्को कुनै शीर्षक भेटिएन । ४

 

लेखेँ उही शीर्षक भाव तिम्रो

छानेँ मिठा शब्द स्वभाव तिम्रो

पढ्दै गएँ पूर्ण भएछ काव्य

लाग्यो ममा छैन अभाव तिम्रो । ५

 

 

जिन्दगी र पर्दा ४८२

 

हिजोको सके जिन्दगी फेर्नलाई

म चाँडै उठेँ जिन्दगी हेर्नलाई

उघारी दुवै नेत्र हेरेँ अगाडि

थियो एक पर्दा त्यहाँ मै अगाडि ।१

 

भनेँ, जिन्दगी एक पर्दा रहेछ

मझैँ लत्रिने हल्लिने पो रहेछ

उचालेँ निकै माथि पर्दा हटाएँ

र यस्तै गरी त्यो बिहानी कटाएँ । २

 

उता दृश्यमा देखियो एक कूप

सबै गर्दथे कूपमै दौड-धूप

भनेँ, जिन्दगी दौडजस्तै रहेछ

उतै दौडिएँ हेर्न कस्तो रहेछ । ३

 

मजाले कुदेँ जिन्दगी हेर्नलाई

नयाँ जिन्दगी नै सके फेर्नलाई

अरू दौडिए लक्ष्यमा पुग्नलाई

म झन् दौडिएँ लक्ष्य थाहै नपाई । ४

 

जसै कुद्न थाल्दा भएँथेँ फुरुक्कै

गलेँ दौडिँदा सास अड्क्यो हुरुक्कै

फिरेँ साँझमा सुत्नलाई भनेर

उही एक पर्दा थियो त्यो मनेर । ५

 

बुझेँ, जिन्दगी एक पर्दा रहेछ

कतै जन्मदामा र मर्दा रहेछ

दुई बिन्दुको सुर्कनेमा मजाले

मझैँ हल्लिँदै फुर्कने पो रहेछ । ६

 

 

पितृहरूप्रति ४८३

 

कसैको म छोरो कसैको म नाति

र नाता अरू छन् जसो जे ममाथि

वृथा हुन् सबै नाम नाता र गोता

म ता ब्रह्मको कल्पनाको प्रजाति । १

 

म ता ब्रह्मको कल्पनाको प्रजाति

म ता विष्णुको कामनाको प्रजाति

म ता सृष्टिको चेतना गर्भ-बीज

र भोले कृपा भावनाको प्रजाति । २

 

चिताए कसैले कुनै काल बेला

मझैँ व्यक्ति होस् एक बेला कुबेला

त्यही भावना अन्ततः बीज बन्दा

भएँ मूर्त साकार चाँडै / अबेला । ३

 

जजल्ले चिताए नहोलान् तथापि

गए प्राण छोडेर अन्तै तथापि

गरूँ मान सम्मान त्यस्ता पितामा

म ज्यूँदै हुँदा मृत्यु होस् वा तथापि । ४

 

सयौँ कल्पका कल्पना नै पिता हुन्

सयौँ भावका भावना नै पिता हुन्

कुनै भावको कल्पको मृत्यु हुन्न

र बाँच्छन् सदा जो उही नै पिता हुन् । ५

 

 

रचना ४८४

 

मन मङ्गल होस् तन मङ्गल होस्

बल बुद्धि र चेतन मङ्गल होस् । १

 

मन बुद्धि र चेतन नै धन हुन्

सबको असली धन मङ्गल होस् । २

 

सब भावहरू नित शुद्ध भई

दिनका दिन चिन्तन मङ्गल होस् । ३

 

शुभ चिन्तन भाव र सोच मिली

हर शब्द र लेखन मङ्गल होस् । ४

 

नव काव्य पढेर विचार गरून्

अनि पाठक आँगन मङ्गल होस् । ५

 

 

रचना ४८५

 

पुरस्कार अर्को लिएँ आज फेरि

प्रिया गैगइन् फुत्त हेर्दै नहेरी ।१

 

निकैबेर हेरेँ परैसम्म हेरेँ

उनी फर्किनन् हेर्न खै एकबेरि ।२

 

म सोची रहेँथेँ हिजो साँझदेखि

उनी आउलिन् बोल्न भन्दै मनेरि ।३

 

नियास्री बसेँ सोच जम्मै हरायो

सबै चेतमा बुद्धिमा भो खडेरी ।४

 

थियो पारिलो शान्त मध्याह्न वेला

ममा चन्द्रमाहीनको भो अँधेरी ।५

 

 

जस्ता ४८६

 

कठै ! स्वर्ण भेट्लान् र जस्ताहरूले

अझै प्रेम गर्छन् मजस्ताहरूले

खिया लाग्छ टुक्रिन्छ जस्ता र पाता

नताके भयो स्वर्ण सस्ताहरूले ।१

 

उनी स्वर्ण हुन् एकलौटी छ भाउ

छ हीरा जहाँ गर्दछिन् आउजाउ

सकेसम्म हीरै चुनी प्रेम गर्छिन्

कता भ्याउँछिन् हेर्न कालो म धाउ ।२

 

उनी जेसुकै भाउमा चल्न सक्छिन्

कतै ठोस बन्छिन् कतै गल्न सक्छिन्

म अङ्गार बन्ने निभेको ठुटो हुँ

उज्याली उनी रातमै बल्न सक्छिन् ।३

 

त्यसैले मजस्ताहरू जो जहाँ छौ

तिमी मात्र जस्ताहरू हौ जहाँ छौ

तिमी खोज जस्ता मजस्ताहरू नै

मजस्ता र सस्ताहरू हो जहाँ छौ । ४

 

 

रचना ४८७

दिन आउँछ रे दिन आउँछ रे

सिउँदो भरिने दिन आउँछ रे ।१

 

अलपत्र थिएँ बिचरी म थिएँ

दुलही जसरी लिन आउँछ रे ।२

 

पहरोसरि जीवनमा जहिले

लहरो अब अल्झिन आउँछ रे ।३

 

म विरक्त उराठ थिएँ मनमा

मसँगै अब मस्किन आउँछ रे ।४

 

म हिलो जलमा जलमग्न थिएँ

जलसाथ छचल्किन आउँछ रे ।५

 

 

भनेँ यो नढाँटी ४८८

 

कुनै कार्यमा पुष्पको हार होला

बडो मान सम्मान सत्कार होला

कुनै कार्यमा शून्य नै हात पर्ला

पुरस्कार झन् भाग्यमा नै नपर्ला ।१

 

जितेको जित्यै गर्न सक्दैन कोही

नहारी सधैँ बस्न सक्दैन कोही

जितेमा कतै हार मिल्नेछ अर्को

र हारे कतै जित्न सक्नेछ अर्को ।२

 

कतै सूर्य ताता कतैको तुवाँलो

छ हीरा कतै छैन यौटै पुवाँलो

कतै घाटमा लास छन् , जन्मिदै छन्

कतै छुट्टिँदै छन् कतै अन्भिदै छन् ।३

 

यही जिन्दगी हो यसैमा रमाऊ

यसैमा रमी जिन्दगी पार पाऊ

अरू भन्नु वा लेख्नु नै के छ बाँकी

यही सत्य देखेँ भने यै नढाँटी ।४

 

 

भालुलाई पुराण ४८९

 

कतै भन्दथे वीज दाना उनै हुन्

उनै श्रोत हुन् बोट साना उनै हुन्

उनै फुल्दछन् फल्दछन् खान दिन्छन्

अझै बाँड्न चाहे उनै लान दिन्छन् ।१

 

उनै भोग हुन् भोग्य वस्तु उनै हुन्

उनै भोक हुन् खाद्य वस्तु उनै हुन्

उनै निल्दछन् पच्दछन् भित्र भित्र

स्वयं सृष्टि हुन् काल आफैँ विचित्र ।२

 

विराट् हुन् उनी स्थूल हुन् शून्य एक

सबै देख्न पाइन्छ लाए विवेक

यसो हुन् उसो हुन् भने भन्नलाई

र हेरूँ जसो भो सबै त्यो मलाई ।३

 

त्यतै टन्न दाना मकैका जुटाएँ

हथौडो लिई प्याट्ट हानेँ फुटाएँ

न ता स्थूल पाएँ न ता सूक्ष्म पाएँ

पिठो मात्र पाएँ र रोटी पकाएँ ।४

 

 

संस्कारको दीपक बालिदेऊ ४९०

 

ल्याएँ पिठो पिण्डजसै पकाएँ

राखेँ कुनै टेबलमा सजाएँ

टुक्रा बनाएँ अनि भाग लाएँ

क्या स्वादिलो केक भनी चखाएँ ।१

 

खायौँ रमायौँ अनि भन्न थाल्यो

यो पिण्डजस्तो कसले बनायो ?

खाना छ यो प्रेतहरू सबैको

हाम्रो हुँदै हैन, अरू कसैको ।२

 

ल्याएँ निकै बेलुन फेरि खोजी

सेता र काला रङ चट्ट रोजी

घोचेँ फुटाएँ पटटट्ट पारी

जम्मै रमाए नर हुन् कि नारी ।३

 

सुन्दै बस्यो फेरि उही करायो

ड्वाङ् ड्वाङ् र डुङ् डुङ् कसले गरायो ?

द्यौताहरूको नित वासबीच

यो प्रेत बाजा कसले बजायो ?

 

ल्याएँ अझै मैनहरू जलाएँ

फुक्दै निभाएँ थपडी बजाएँ

कालो भयो छैन कतै उज्यालो

चौतर्फ चौपट्ट विरक्त कालो ।५

 

कालै कुनाबाट उही रिसायो

बत्तीहरू खै ? कसले निभायो

पारेर कालो सब देव भागे

बत्ती निभ्यो प्रेतहरू रमाए ।६

 

यी प्रेत बाजा सब फालिदेऊ

यी प्रेत खाजा अब फालिदेऊ

जे धर्म तिम्रो छ, नछोड बिन्ती

संस्कारको दीपक बालिदेऊ !७

 

 

नयाँ छैन केही ४९१

 

नयाँ छैन केही नयाँ छैन केही

पुरानै छ यो देहमा भित्र देही

पुरानै छ तिर्खा पुरानै छ भोक

पुरानै खुशी छन् पुरानै छ शोक ।१

 

कुनै कालवेला मजस्तै कसैले

कसैमा मिठो प्रेम गर्थ्यो कसैले

र लेख्थ्यो मिठा प्रेमका गीत उस्तै

परी देख्दथ्यो ऊ उनैमा दुरुस्तै ।२

 

मुना सम्झिँदै लेख्दथ्यो प्रेमपत्र

मझैँ कल्पिँदै बस्दथ्यो यत्रतत्र

त्यही काम गर्दै छु मैले दुरुस्तै

परीकी परी हुन् म भन्दै छु उस्तै ।३

 

पछि प्रस्ट यै हो कुनै कालवेला

मझैँ जन्मिने छन् अरू प्रेमचेला

र लेख्छन् तिनै प्रेमका गीत उस्तै

पुरानै कुरा लेख्दछन् ती दुरुस्तै ।४

 

 

बनेँछु ! ४९२

 

म आकारको मात्र मान्छे बनेँछु

र बेकारको मात्र मान्छे बनेँछु

उसै वैलिने घाँस वा पातजस्तो

वृथा झारको मात्र मान्छे बनेँछु ।१

 

वृथा झारको मात्र मान्छे बनेँछु

विनासारको मात्र मान्छे बनेँछु

न हाँसो खुशी मिल्छ यो जिन्दगीमा

म चीत्कारको मात्र मान्छे बनेँछु ।२

 

म चीत्कारको मात्र मान्छे बनेँछु

म निस्सारको मात्र मान्छे बनेँछु

जुनी गैगयो व्यर्थको प्रेम खोज्दै

म धिक्कारको मात्र मान्छे बनेँछु ।३

 

म धिक्कारको मात्र मान्छे बनेँछु

म दिक्दारको मात्र मान्छे बनेँछु

जितूँ भन्दथेँ प्रेम यो जिन्दगीमा

सदा हारको मात्र मान्छे बनेँछु ।४

 

 

चालिसे बैँस ४९३

 

त्यो कुर्कुरे बैँस त बैँस हैन

त्यो बैँसजस्तो पनि रत्ति छैन

उत्ताउलो चञ्चलको उमेर

यो बैँस राम्रो कहिले हुँदैन ।१

 

झन् बाइसे बैँस त बैँस के र

अन्योलमै जान्छ उसै चुहेर

केके न होला अनि के हुने हो

भन्दै जवानी गइजान्छ खेर ।२

 

यो चालिसे बैँस छ बैँस सच्चा

यो बैँस हो सुन्दर सत्य पक्का

पाकाहरू योग्य यतै हुँदामा

यो बैँसको प्रेम हुँदैन कच्चा ।३

 

पच्पन्न साठीतिर के हुने हो

झन् सत्तरीमा अझ के हुने हो

भोग्नेहरूले सब भन्नुहोला

नब्बे अठासीतिर के हुने हो ?

 

 

आफैँ बचाऊ अब ४९४

 

सिङ्गो एक मियो थियो जब ढल्यो, सैपाल कालो भयो

बल्दो एक दियो थियो जब निभ्यो, नेपाल कालो भयो

रोएझैँ पनि लाग्छ सुन्छु कहिले, मेची र टिस्टाहरू

हाँसेझैँ पनि लाग्छ सुन्छु कहिले, फुच्चा र फिस्टाहरू ।१

 

यौटा गर्जन सुन्न पाइनँ कतै, खाली छ सिंहासन

मात्रै सुन्छु म हाउ हाउ जहिले, गर्जन्छ स्यालासन

साँचेका सपना सदैव चुहिँदा, रोई बसेको छु म

फाटेको तन आँसुले मनमनै, धोई बसेको छु म ।२

 

खोलो फिर्छ भनेर ढुक्क म थिएँ, खोलै हरायो कता

बाँड्ने न्याय निसाफ चिन्तन मिठो, झोलै हरायो कता

थोत्रा दर्शन मात्र रट्न कसिने, कालाहरू देख्छु म

पोल्टो दुश्मन मात्र भर्न कसिने, सालाहरू देख्छु म ।३

 

सिङ्गो तन्त्र सुकेर नासिन गयो, यो राष्ट्रको हो क्षति

मेरो देश विदेश बेचिन पुग्यो, हाम्रो भयो दुर्गति

मेरा मालिक भूपते हृदयका, यो देश आऊ अब

तिम्रो दर्शन सोच सभ्य असली, आफैँ बचाऊ अब ।४

 

 

रचना ४९५

 

रहरमा गजल लेख्न के गर्नुपर्छ ?

बहरमा गजल लेख्न के गर्नुपर्छ ?

 

कुरा गाउँका प्रेमका जान्दथेँ म

सहरमा गजल लेख्न के गर्नुपर्छ ?

 

छ सामान्य आधार बाँच्ने, ठिकै हो

कहरमा गजल लेख्न के गर्नुपर्छ ?

 

सुधा प्यूँदछन् लेख्दछन् प्रेम काव्य

जहरमा गजल लेख्न के गर्नुपर्छ ?

 

नदी सिन्धु खोला सबै छन् प्रयुक्त

लहरमा गजल लेख्न के गर्नुपर्छ ?

 

 

बुढ्यौली ४९६

 

तानौँ सबैजन मिली जल बर्सिँदैन

पर्खौँ सबैजन मिली पल पर्खिँदैन

जेजे गरौँ जति गरौँ फलफूल खाऔँ

बूढो शरीर छ भने बल फर्किँदैन ।१

 

यो वृद्धकाल नमिठो अमिलो रहेछ

छानेर शुद्ध नहुने धमिलो रहेछ

छ्या छ्या न छो पर नजा छुनुहुन्न भन्छन्

फोहोरझैँ मल हिलो र गिलो रहेछ ।२

 

यो यो गरौँ अनि यसो मन भन्छ सुन्छु

क्यै काम गर्न नसकी म हुरुक्क हुन्छु

सम्झिन्छु ती विगतका पल बैँस मेरा

लाग्छन् सदैव सपनासरि सुँक्क रुन्छु ।३

 

आफ्नै दलान घर आँगन दूर देश

जाऔँ भने पद लुला कति लाग्छ ठेस

लौरो लिएर पनि हिँड्न हुँदैन रत्ति

यस्तो सही जिउनु के बरु मर्नु बेस ।४

 

त्यो काल खै अब यता किन आउँदैन

त्यो दूत एक यमको किन धाउँदैन

यो फ्याउरो पनि सधैँ घर घुम्छ मात्रै

त्यो मृत्युको लय छिटो किन गाउँदैन ।५

 

 

रचना ४९७

 

लुब्धा मिलेर धेरै बोल्नै हतार गर्छन्

ज्यूँदै छ देश मेरो पोल्नै हतार गर्छन् ।१

 

यो देश काँध राखी मुर्दा भयो भनेर

आफ्नो सरक्क टोपी खोल्नै हतार गर्छन् ।२

 

छर्कौँ सबै जनाले आशौच बार्न भन्दै

गौदुग्ध शुद्ध पानी घोल्नै हतार गर्छन् ।३

 

यो देशमा अचाक्ली लुच्चा भए मलामी

जौ धान पीण्ड काँचो मोल्नै हतार गर्छन् ।४

 

 

रचना ४९८

 

आकारमा सुन्दर देखिने यी

ज्यादै मजाले नित छोपिने यी

राम्रा न राम्रा कति दिव्य दाना

यी स्वर्गका नै फल हुन् ससाना ।१

 

गोलो छ टुप्पो पनि झन् टुपुक्क

देख्दा निकै सुन्दरको चुटुक्क

छाम्दा भने यो नरमी भुवाझैँ

हेर्नू भरे एक कतै सुटुक्क ।२

 

बच्चाहरूले पनि खान खोज्छन्

बूढाहरूले पनि खान खोज्छन्

बैँसालुले झन् अझ चाह गर्ने

काँचै चपाई पनि खान खोज्छन् ।३

 

जस्तो छ यो बाहिर भित्र उस्तै

जेजे भनेँ ठ्याक्क यहाँ दुरुस्तै

खोलेर हेरे अझ भित्र भित्र

देखिन्छ संसार अझै विचित्र ।४

शीर्षक : प्याज, छन्द : इन्द्रवज्ज्रा

 

 

घामले वैलिँदै छन् ४९९

 

प्रात: प्रात: झलमल गरी, घाम लाग्छन् सदैव

झुल्किन्छन् यी हरदिन उही, काम लाग्छन् सदैव

कैयौँ मान्छे अवनितलमा, घामझैँ फैलिँदै छन्

कैयौँ मान्छे अवनितलमै, घामले वैलिँदै छन् ।१

 

इच्छा राखी अशुभ मतिले, गर्दछन् कर्म कोही

इच्छा त्यागी असल मतिले, गर्दछन् धर्म कोही

खुट्टा थेग्ने जग भर दिने, घामझैँ फैलिँदै छन्

खुट्टा तान्ने छल कपटले, घामले वैलिँदै छन् ।२

 

आफ्ना अर्का स्वजन परका, एकझैँ देख्न सक्ने

साना ठूला नृप र जनता, एक हुन् लेख्न सक्ने

आशिष् पाई भुवनभरको, घामझैँ फैलिँदै छन्

अर्काखाले तृणसरहका, घामले वैलिँदै छन् ।३

 

खाने खेल्ने नुन चुक पिठो, जिन्दगीमा रमेर

हाँस्ने बोल्ने सबसँग मिठो, के छ कस्तो भनेर

जल्दाबल्दा नग शिखरमा, घामझैँ फैलिँदै छन्

लुच्चा लुब्धा नद तटतिरै, घामले वैलिँदै छन् ।४

 

 

सर्वदा ५००

 

देखेँ दिव्य मुहार फेरि उनको, राधा पियारीसरि

राखूँ काख समीपझैँ हुनगयो, छोपेर मायाँ गरी

मेरो जीवनमा सदैव दुइटा, हेर्ने भयो चाहत

यौटा प्रेम मुहार सुन्दर मिठो, अर्को महाभारत ।१

 

जम्मा एक थियो अझै पनि उही, हेरेँ सदा एक छ

मात्रै फेर्दछ रूप रङ्ग यसले, एक्लो यही चेत छ

यस्तो चेतनमा सदैव उनको, मायाँ सजाई रहूँ

मर्दामा पनि याद रूप कलिलो, ताजा बनाई रहूँ ।२

 

मात्रै तीन बुझेँ पुजेँ हृदयले, होमी विवेकी चरू

प्रेमी प्रेम र प्रेमिका यति भए, चाहिन्न केही अरू

जम्मै चार दिशा घुमेँ भुवनमा, झन् शास्त्र हेरेँ जुनै

मायाँ हो मन शान्त शीतल दिने, लेखेन अर्को कुनै ।३

 

मात्रा मात्र घटी बढी गुण उही, मान्छे मुसो मच्छर

ब्रह्मा विष्णु महेश देव गण वा, हुन् राक्षसी किन्नर

मायाँहीन भएर बाँच्न कसिए, यी नासिने हुन् सब

सुख्खा एक परालको तृणजसै, यी भाँचिने हुन् सब ।४

 

मेरो जीवन धान पात हरियो, गाभा बढोस् प्रेमले

वैली सड्न तयारको तृण नहोस् , आभा बढोस् प्रेमले

देखूँ दिव्य मुहार फेरि उनकै, हेरी बसूँ त्यो सदा

मायाँमै अझ दौडियोस् हरघडी, यो लेखनी सर्वदा ।५

 

 

विवेक ५०१

 

न यो जिन्दगी देख्न सक्ने भएँ म

न यो जिन्दगी लेख्न सक्ने भएँ म

कुनै अङ्गले काम गर्दैन मेरो

न यो जिन्दगी खेप्न सक्ने भएँ म ।१

 

म हाँक्ने भएँ जिन्दगी नै कुराले

म बाँच्ने भएँ जिन्दगी-झैँ- भुराले

जता हेर्छु मान्छे उतै जाल बुन्छ

जसै जाल बुन्छन् सधैँ माकुराले ।२

 

म उम्केर जाऊँ कतै छैन ठाउँ

विनाजालको स्थान वा एक गाउँ

बनूँ बुद्ध भन्थेँ म बन्दै छु बुद्धु

भयो छट्पटी झन् कता आज जाऊँ ।३

 

कुनै मिष्टभाषी कुनै सत्यवादी

भए भेट्न जान्थेँ कुनै एक साथी

म बुझ्थेँ निकै जिन्दगी यो अवश्य

र लेख्थेँ मिठो जिन्दगीको रहस्य ।४

 

कृपा होस् ममा कृष्णझैँ मित्र एक

मिलोस् ज्ञान वैराग्य वा भक्ति एक

सुदामा बनी नित्य सेवा गरूँ म

मिलोस् जिन्दगी लेख्न सक्ने विवेक ।५

 

 

झर्दै छ यो जन्ममा ५०२

 

यौटा स्याल सिकार गर्न नसकी, नासिन्छ यो जीवन

यौटा तत्त्व निखार गर्न नसकी, नासिन्छ यो जीवन

हाम्रो जीवन कर्महीन टुहुरो, झन् आयु छोटो हुने

यौटा मृत्यु विचार गर्न नसकी, नासिन्छ यो जीवन ।१

 

यौटै यन्त्र बनाउनै नसकिने, यस्तो मुला जिन्दगी

यौटै तन्त्र बनाउनै नसकिने, यस्तो मुला जिन्दगी

लाखौँ मन्त्र पढेर एक नथपे, के अर्थले पढ्नु खै

यौटै मन्त्र बनाउनै नसकिने, यस्तो मुला जिन्दगी ।२

 

मैले हो र म गर्छु मात्र म हुने, मेरो नछोड्ने जुनी

यस्तै स्वार्थ र मन्द बुद्धिपनको, घेरो नतोड्ने जुनी

केकानिम्ति भनेर बाँच्नु यसरी, तेरो र मेरो भनी

जन्मौँजन्म घुमी घुमी पनि उही, फेरो नछोड्ने जुनी ।३

 

जे देख्यौँ पहिले उही छ अहिले, सर्दै छ यो जन्ममा

सर्दै मर्छ मरेर सर्छ कहिले, मर्दै छ यो जन्ममा

यौटै मात्र चुरो कुरो छ असली, बाँकी वृथा हुन् सब

आफ्नै आयु घटी घटी प्रतिपला, झर्दै छ यो जन्ममा ।४

 

 

प्रेतवाक्य ! ५०३

 

तेरा धार्मिक शास्त्र लुट्नु लुटियो, तैँले गरिस् के तर

तेरै देश छिरेर भस्म कुटियो, तैँले गरिस् के तर

सँस्था एक थियो मिलेर सबले, ढाल्यौँ फुटायौँ सब

सिङ्गो राष्ट्र चिरा चिरा पनि गर्यौँ, रोजेर लान्छौँ अब ।१

 

आस्था नै निरपेक्ष भो सदनमा, तैँले गरिस् के तर

पार्दा जात विभेद झन् सडकमा, तैँले गरिस् के तर

हिंसा द्वन्द्व भयो विनास गरियो, आगो बल्यो देशमा

के चिन्थिस् बिचरा ! म को तब थिएँ, सन्मित्रको भेषमा ।२

 

ढिक्को जे छ फुटाउँछौँ सब मिली, पार्टी र भाषा जुनै

काटाकाट बनाउँछौँ स्वजनमा, बाँकी नराखी कुनै

तेरो त्यो सब राजनीति अहिले, मैबाट नै चल्दछ

मेरो वाक्य सुनेर उच्च तहको, हड्डी सबै गल्दछ ।३

 

धेरै गर्नु गर्यौँ तथापि जनमा, झन् चेतना बढ्दछ

हेर्छौँ गाउँ कतै कतै शहरमा, बच्चो अझै पढ्दछ

ती विद्यालय बन्द गर्न अहिले, कत्रो समस्या भयो

पुस्ता बिग्रन जान्छ धेर अबको, शिक्षा सबै गैगयो ।४

 

के गर्छस् तँ मुला सके अब ल गर्, त्यो बुद्धि देखा अब

तेरो राष्ट्र गुलाम बन्दछ छिटै, हेरेर बस्नू तब

सक्छस् डाडु कुनै लिएर उसमा, पानी तताएर मर्

तेरो देश तँभित्र देख्दिनँ कतै, पासो लगाएर मर् ।५

 

 

प्यारी रिसाइन् कि त ! ५०४

 

आमाबासँग साथमा घर हुँदा, धेरै डराइन् कि त

आफ्ना मित्रहरू त्यतैतिर हुँदा, थोरै लजाइन् कि त

मेरो प्रेम गह्रौँ भएर उनले, भारी बिसाइन् कि त

लाग्यो फोन उठेन खै किन अहो ! प्यारी रिसाइन् कि त ।१

 

अर्कै नम्बर बोक्दछिन् कि अहिले, फाली पुरानो सिम

मेरो नम्बर बिर्सिछिन् कि उनले, जाऊँ कता खै दिन

आफ्नो बैँस सुटुक्क साट्न दगुरी, अन्तै मिसाइन् कि त

लाग्यो फोन उठेन खै किन अहो ! प्यारी रिसाइन् कि त ।२

 

ज्यादै व्यस्त भइन् कि ! सोच्न म पुगेँ, फर्काउलिन् है तर

पर्खेँ रात अबेरसम्म पनि खै, आएन क्यै उत्तर

मेरा याद सबै थिचेर पदले, च्याती पिसाइन् कि त

लाग्यो फोन उठेन खै किन अहो ! प्यारी रिसाइन् कि त ।३

 

अर्कै काम हुँदा र फोन घरमा, छाडेर जाँदा कतै

बच्चासाथ मिलेर खेलकुदमा, भागेर जाँदा कतै

मेरो नम्बरको तँ फोन नउठा, यस्तै सिकाइन् कि त

लाग्यो फोन उठेन खै किन अहो ! प्यारी रिसाइन् कि त ।४

 

 

व्यर्थमा पर्खिएर ५०५

 

दुख्यो चस्स छाती प्रिया टाढिँदामा

म एक्लै बनेँ बीचमै छाडिँदामा

म सोच्थेँ सबै सम्झना बिर्सिदिन्छु

नसक्ने भएँ याद झन् गाढिँदामा ।१

 

थियौँ मत्स्यजस्तै कुनै पोखरीमा

सधैँ खेल्दथ्यौँ घाम वा निर्झरीमा

उनी वेग हानेर लागिन् समुद्र

म एक्लै भएँ आज यो पोखरीमा ।२

 

गइन् गैगइन् याद ताजा छ मेरो

घुमेका सँगै साथ सेरो र फेरो

बसी हेर्छु यै पोखरीको कुनामा

छ औँसीजसै दिक्कलाग्दो अँधेरो ।३

 

म सुक्दै गएँ आँसुझैँ दर्किएर

उनी आउलिन् के यहाँ फर्किएर

गरूँ के गरूँ छैन केही उपाय

म मर्ने भएँ व्यर्थमा पर्खिएर ।४

 

 

यात्रा ५०६

 

लामो बाटो हुँदैमा पृथुतल जननी, वास माग्छिन् कसैमा ?

यौटा साथी भए पो ! म सँगसँग हिँडौँ, आस राख्छिन् कसैमा ?

एक्लै एक्लै बगेका कति कति सरिता, सास फेर्दै नफेरी

यात्रा हाम्रो यही हो भरसक दगुरौँ, अन्त हेर्दै नहेरी ।१

 

हात्ती हेर्दैन साना अगणित भुसुना, आङमा बस्न आए

गोही देख्दैन उस्तै जलचर मसिना, ज्यानमा डस्न आए

बाधा हट्छन् स्वयं नै सुपथ नजिकका, सुन्नुहोस् दाजुभाइ

कोही छेक्दैन बाटो खुरुखुरु कसिए, लक्ष्यमा पुग्नलाई ।२

 

जाडो गर्मी सहन्छन् तृण र तरुलता, बढ्न के छाडिदिन्छन् ?

फल्दै पाक्दै दिँदै छन् रुख फल रसिला, बाँड्न के छाडिदिन्छन् ?

आई बस्छन् र चुस्छन् कतिपय भमरा, फूल के मास्न सक्छन् ?

बढ्दै गर्छन् बगैँचाभर सय मुजुरा, फूल झन् हाँस्न सक्छन् ।३

 

जम्मै एक्लै यहाँ छौँ स्वजन र परका, लाग्दछन् लाग्नलाई

यात्रा हाम्रो छ एक्लै अनवरत हुने, लाग्छ यस्तो मलाई

हाम्रो यात्रा धराको घर वरपरको, मृत्युमा अन्त्य हुन्न

बन्छौँ अर्कै शरीरी तर पनि यसरी, देहमा सन्च हुन्न ।४

 

एक्लै हिँड्दा उकालो विकट र पहरा, गुम्न सक्ला विवेक

त्यो वेलामा यहाँझैँ हर पल पलमा, सम्झिनू कृष्ण एक

जेजस्तो होस् कुबाटो सुमधुर धुनझैँ कृष्ण नै मित्र हुन्छन्

यात्रा गर्दा सबैका हृदय हृदयमा, कृष्ण नै भित्र हुन्छन् ।५

 

 

बाँकी रहन्छ ५०७

 

कुरा सुन्नुहोस् मित्र मेरो अवश्य

बुझेझैँ भयो आज यौटा रहस्य

जुनै सुख्ख होस् त्यो बिती जान्छ जान्छ

भएमा कुनै दु:ख बाँकी रहन्छ ।१

 

हिजो जे लियौँ मस्त हाँसेर खाना

बित्यो काल भाग्यो भयो त्यो रमाना

उहीझैँ खुसी फेरि आउन्न अर्को

नटेरी गयो फर्किनै मान्छ झर्को ।२

 

भएदेखि खाना कतै त्यो विषाक्त

निकै पेट पोल्ने हुने वाक्क वाक्क

बडो कष्ट यो ज्यानले झन् सहन्छ

भएको सबै दु:ख बाँकी रहन्छ ।३

 

हिजो खेल्दथ्यौँ हातमा हात जोडी

सँगै हिड्दथ्यौँ काँधमा काँध जोडी

खुसीको सिमाना थियो टन्न टन्न

बितेको खुसी आज उस्तै रहन्न ।४

 

मरे मित्र धेरै अझै पोल्छ छाती

बित्यो साथ हाम्रो भयो झन् नजाती

गयो शुद्ध सङ्लो धमिल्चो बहन्छ

भएमा कुनै दु:ख बाँकी रहन्छ ।५

 

 

रचना ५०८

 

लिएर सम्झना मिठा, बनेछु खास यादको

मभित्र बस्छ सम्झना, बनेछु वास यादको ।१

 

यसो तँ गर् उसो नगर् , भनेर ऊ अह्राउँछ

र राज गर्छ दैनिकी, बनेछु दास यादको ।२

 

मरेँ भनेँ बितेँ भनेँ, सडेर नासिएँ भनेँ

मसाथ साथ मर्छ ऊ, बनेछु सास यादको ।३

 

नमर् तँ बाँच् सदैव बाँच्, मनिम्ति बाँचिदे अरू

सुटुक्क भन्छ सासले, बनेछु आस यादको ।४

 

बनेर फुर्सदी स्वयं, ममा म हेर्छु आज पो !

भएर पूर्ण रिक्त झैँ , बनेछु रास यादको ।५

 

 

सोचेर बाँच्न पाऊँ ५०९

 

हेरे मुहार आफ्नै नेपाल देख्छु मेरो

हेरेर भित्र आफ्नै गोपाल देख्छु मेरो

मात्रै सधैँ यिनै छन् सादृश्य छैन केही

यौटै रहेछ जम्मै यो देश देह देही ।१

 

खोलूँ म नेत्र मेरा नेपाल काख पाऊँ

हून् बन्द नेत्र मेरा गोपाल साथ पाऊँ

अर्को कुनै न मेरो इच्छा रहोस् कदापि

लाटो गुँगो र बुङ्गो हूँ मूर्ख नै तथापि ।२

 

त्यो मृत्यु घेर्न आए नेपालमै मिलूँ म

त्यो मोक्ष हेर्न आए गोपालमै मिलूँ म

बाँच्दा सदैव मेरो होस् ज्ञान यी कुराको

मर्दा सदैव उस्तै होस् ध्यान यी कुराको ।३

 

गोपालमा लुकेका सद्ज्ञान छन् अनन्त

नेपालमा फुलेका सद्वाक्य छन् अनन्त

ती बुद्धवाक्य जम्मै खोजेर बाँच्न पाऊँ

यो मातृभूमि मात्रै सोचेर बाँच्न पाऊँ ।४

 

 

एक्ले जुरेली ५१०

 

शिशिर ऋतु असाध्यै गर्न लाग्यो तमास

दिनभर रवि छैनन् छैन केही घमास

सबतिर छ तुसारो टार पाखा टरेली

रुखमुनि पर यौटा रुन्छ एक्ले जुरेली ।१

 

तप तप तप गर्दै झार्छ दिव्याश्रु दाना

स्फटिक धवल जस्तै देख्छु मोती ससाना

अझ नजिक म जाऊँ भिज्छ मेरै परेली

सुँक सुँक सुँक गर्दै रुन्छ एक्ले जुरेली ।२

 

करुण रस निकाली बोल्छ के के म सुन्छु

प्रहर हर नियाली हेर्छु ऊसाथ हुन्छु

प्रकृति कृति नमिल्दो जिन्दगीको तरेली

लुग लुग लुग काम्दै रुन्छ एक्ले जुरेली ।३

 

रह विरह पखाल्ने छैन केही उपाय

हरपल यसरी नै मृत्यु कुर्ने शिवाय

बरु परतिर लुक्दै ताक्छ कोही गुलेली

अनि त मजसरी नै रुन्छ एक्ले जुरेली ।४

 

 

रचना ५११

 

बाँच्नेछ जिन्दगी यो सिद्धान्त चाहिँदैन

हेरे भयो मलाई दृष्टान्त चाहिँदैन ।१

 

आफैँ नियाल्न खोजे देखिन्छ भीडमा नै

पर्दैन बन्नु जोगी एकान्त चाहिँदैन ।२

 

हून् शून्यभन्दा धेरै वा हून् निकै कमी नै

चल्नेछ जिन्दगानी शून्यान्त चाहिँदैन ।३

 

हो जिन्दगी उसैको हो मृत्यु झन् उसैको

होस् ज्ञान यत्ति अर्को वेदान्त चाहिँदैन ।४

 

मेरा प्रभो ! कृपा होस् साकार देख्न पाऊँ

ज्यूँदै रमूँ म बेग्लै प्राणान्त चाहिँदैन ।५

 

 

मुक्तकहरू ५१२

 

१. फुर्सद

भएँ फुर्सदी भेट्न जाऊँ कता म

र यो तिर्सना मेट्न जाऊँ कता म

कता छिन् कता छिन् म जानूँ कसोरी

प्रिया काखमा लेट्न जाऊँ कता म !

२. प्यार

हौ प्यार मेरी म त ढुक्क हुन्छु

हौ यार मेरी म त ढुक्क हुन्छु

यै भन्छु यै लेख्छु सदा सदा म

दिल्दार मेरी म त ढुक्क हुन्छु !

३. खुसी

खुसीको सिमाना बढेको छ मेरो

तुवाँलो थियो जो हटेको छ मेरो

कुवा खोज्दथेँ प्रेमको शुद्ध एक

बिहानै छिटै भेटियो त्यै पँधेरो !

४. परी

तिमी दूर छैनौ तिमी साथमा छ्यौ

तिमी अन्त छैनौ तिमी काखमा छ्यौ

हजारौँ सयौँमा नगन्नू तिमीले

परी हौ तिमी अर्बमा लाखमा छ्यौ !!

५. सम्झना

आए हजारौँ कति लाख खास

गए हजारौँ कति लाख खास

सम्झिन्न यौटै पनि जिन्दगीमा

मात्रै तिमी छ्यौ हर एक सास !

 

समय ५१३

 

न त कुनै छ भविष्य न भूत खै

समय यो कसरी सब बित्छ खै

समय नै कि म हो गत, भूत हो

समयकै कि म एक सपूत हो ?१

 

पवनमा नभमण्डलमा छु कि

गगनमा पृथुमास्तिर पो छु कि

रवि शशी कि त मङ्गलमा छु म

बुध शनि ग्रह जङ्गलमा छु म ?२

 

हृदयको नजिकै मनभित्र छु कि

मगजमा मुटुमा तनभित्र छु कि

म छु कता छु कता कि त छैन म

मनुज नै म हुँ वा कि त हैन म ?३

 

स्वजन मित्रहरू पनि देख्दिनँ 

असल सज्जनका पनि भेट्दिनँ 

कि त म एकल नै छु सधैँभरि

सब भनी दिनुहोस् अब ए हरि !४

 

मानवकर्म !  ५१४ 

 

मान्छेले धर्म वा कर्म के चाहिँ मुख्य गर्दछ

धर्म भन्ने कुरा कि त्यो धर्मले मात्र गर्दछ

मान्छेले धर्म गर्नेभा आकाश धर्महीन भो ?

समुद्र केन्द्रमा उस्तै, पाताल धर्महीन भो ?

 

उँभो आकाशमा आज त्यहाँ के धर्म छैन र ?

प्रकाश रविले न्यानो दिएको आज छैन र ?

उँधो पातालमा फेरि रोकियो धर्म के गरी ?

यमराज बसेकै छन् धर्मरक्षा गरिगरी !

 

मान्छेको कर्म हो मात्रै मान्छेलाई सजाउने

यही हो धर्म मान्छेको मान्छेलाई बचाउने

गाई गङ्गा र देवादि पुज्नु पर्दैन के अब ?

शास्त्रिय छन्द वेदादि बुझ्नु पर्दैन के अब ?

 

गाई गङ्गा दुवै मातृ मान्छेले छ सजाउनु

वेदादि देव हुन् पितृ मान्छेले छ बचाउनु

जेजे वस्तु कि हुन् प्राणी मान्छेकै रुप हुन् सब

बाँच्न पाऊन् सबै साथै यही हो धर्म वास्तव !

 

आराधनामा ५१५

 

श्रुति ज्ञान हो शारदाकै समान

स्वयंमा छ यो अन्त पर्दैन जान

म खोलूँ ममै ज्ञानको कारखाना

रहूँ शारदाको म आराधनामा ।१

 

गरून् ज्ञानका अङ्गले पूर्ण धर्म

बढाऊन् सदा ज्ञान वैराग्य कर्म

रमूँ नित्य नैमित्यको कामनामा

रहूँ शारदाको म आराधनामा ।२

 

सधैँ शुक्लको पञ्चमी होस् मभित्र

म देखूँ सदा भास्वती नै सचित्र

म हाँसूँ म बाँचूँ यही चाहनामा

रहूँ शारदाको म आराधनामा ।३

 

छ इच्छा ममा सूक्ष्म यौटा सदाको

बसूँ साथमा काखमा शारदाको

र रम्दै उडूँ भावमा भावनामा

रहूँ शारदाको म आराधनामा ।४

 

- प्रतिभा निकुञ्जको सरस्वती पूजा विशेष अभ्यासमा

 

पँधेरो संस्कार ! ५१६

 

बाङ्गो आङ बनाउँदै कति जना, जान्थे पँधेरातिर

आफ्नै ढाड कन्याउँदै कति बिँडी, तान्थे पँधेरातिर

झुल्के घाम हुँदैनथ्यो कति छिटै, पुग्थे पँधेरातिर

आशौचादि हुँदा र आपत हुँदा, लुक्थे अँधेरातिर ।१

 

पुस्ता तीनहरू सबै सँगसँगै, हुन्थे पँधेरातिर

आफ्ना मन्त्र र तन्त्र बालकहरू, सुन्थे पँधेरातिर

चोखो एक जनै लिएर गुरुबा, उङ्थे पँधेरातिर

मैलो गोबरको गयो कि छ भनी, सुँग्थे पँधेरातिर ।२

 

आए चाड र पर्व चट्ट र सफा, पार्थे पँधेरातिर

एघारौँ तिथि फूल तोरण गरी, तार्थे पँधेरातिर

आफ्ना अङ्ग नुहाउने समयमा, छोप्थे पँधेरातिर

ॐ ॐ ॐ हरि ॐ भनी वरुणमा, ढोग्थे पँधेरातिर ।३

 

आफन्ती मृत कर्म काज ढिकुरो, हुन्थ्यो पँधेरातिर

अर्कै प्रेत बनेर साँझपखमा, रुन्थ्यो पँधेरातिर

जन्ती फर्कनुपूर्वमा कति घडा, थाप्थे पँधेरातिर

"हाम्रो प्रेम सदा सदा अमर होस् " भाक्थे पँधेरातिर ।४

 

अर्काको सुख दु:ख पूर्ण विधिले, बुझ्थे पँधेरातिर

मर्दामा पतिहीन अङ्ग सिउँदो, पुछ्थे पँधेरातिर

पीडा दु:ख बिसाउने कति जना, हुन्थे पँधेरातिर

आफ्नै पीर पखाल्न सुँक्सुँक गरी, रुन्थे पँधेरातिर ।५

 

प्रेमीले अझ प्रेमिका सरसिली, भेट्थे पँधेरातिर

आ-आफ्ना मन तिर्सना रहरका, मेट्थे पँधेरातिर

सद्मीमा शतवीजको बिउ निकै, छर्थे पँधेरातिर

जम्मै पैतृक धर्म कर्म सबले, गर्थे पँधेरातिर ।६

 

यस्ता पँधेरा अब नासिँदै छन्

उठ्नै नसक्नेसरि भासिँदै छन्

हाम्रा पँधेरातिर जान थालौँ

संस्कार राम्रा जति छन् सम्हालौँ ।७

 

शार्दूलसूक्ति ५१७

 

मिल्ने मिल्छ सरक्क मिल्न नसके, दौडिन्छ अर्कैतिर

बढ्दो वेग छिचोल्न तर्न नसके, पौडिन्छ अर्कैतिर

उड्दै जान्छ धुवाँ उँभो गगनमा, झर्ने खरानी तल

पानी दूध सुमित्रझैँ हुन गए, बन्छन् सधैँ निर्मल ।१

 

लेखी लेख्न सकिन्न काव्य रचना, झन् शत्रुका मित्रका

देखी देख्न सकिन्न दुस्मनहरू, आफैँ स्वयं भित्रका

जेको दुस्मन जो छ हुन्छ जहिले, सप्रिन्न कालो मति

पानी तेल मिसिन्न जे जति गरौँ, घोली तताऔँ कति ।२

 

भेटिन्छन् कति मित्र तत्पर हुने, निस्वार्थ सेवा दिन

देख्दा बाहिरबाट शुद्ध असली, ती स्वार्थ छोड्थे किन

आफ्नै स्वार्थ हुनेहरू सबजना, गर्छन् मिलेझैँ तर

त्याग्छन् मित्र चटक्क काम सकिए, छुच्चा झुसे वानर ।३

 

पुत्री पुत्र लुला दह्रा र तगडा, हुन् जेसुकै तापनि

हुन् ती चोर समान, सज्जन बडा, हुन् मूर्ख नै तापनि

मायाँ मात्र खन्याउँछिन् हृदयको, दिन्छिन् सुधा सर्वदा

आमाको ममता समग्र शिशुमा, उस्तै हुने हो सदा ।४

 

घुर्की आउँछ, आँसु झर्छ छिनमा, पाइन्छ हाँसो मिठो

भान्सा शून्य हुँदा कडा रिस हुँदा, खाइन्छ काँचो पिठो

प्रेमै प्रेम सलल्ल बग्छ कहिले, फेवा र रारासरि

मायाँको अवतार एक दिनमा, नौलाख तारासरि ।५

 

अभ्यागत ५१८

 

तानौँ गौरव काल भूत पलको, तान्ने कहाँ के गरी

डोरी छैन भविष्य तान्नु कसरी, बाँध्ने कहाँ के गरी

आफैँ आउँछ जान्छ हेर्दछु सधैँ, त्यो कालको तागत

डेरा दिन्छ सधैँ सधैँ समयले, आफैँ हुँ अभ्यागत ।१

 

भन्छन् रोक्न सकिन्छ काल कतिले, ॐकारको नाममा

गर्दा ध्यान सदैव पूर्ण नचली, एकान्तको स्थानमा

घुम्छन् नौ ग्रह पूर्व पश्चिम गरी, मेरो छ के तागत

घुम्ने यो ग्रहमा म बस्दछु सधैँ, आफैँ हुँ अभ्यागत ।२

 

आए साँझ सबेर रात दिनमा, यौटा कुनै पाहुना

मागे वास म दिन्छु, भर्छु टपरी, वा थाल साना दुना

के टुङ्गो असली छ वास कसको, गर्दै छु जो स्वागत

मेरैमा पनि वास माग्छु म सधैँ, आफैँ हुँ अभ्यागत ।३

 

आयो सास मभित्र बस्दछ कता, हेर्दा कतै देख्दिनँ

भाग्यो सास भने मबाट दगुरी, पक्का म यो भेट्दिनँ

मेरै सास मबाट छुट्दछ भने, मेरो छ के तागत

मेरो प्राण म हैन मात्र शिव हुन्, आफैँ हुँ अभ्यागत ।४

 

वन्दना ! ५१९

 

जब नीद पुगेर म नित्य उठूँ

जल चन्दनसाथ लिएर जुटूँ

अनि सेवकझैँ नित पाउ छुन

कहिल्यै कहिल्यै कहिल्यै नछुटूँ ।१

 

जति जन्म भए पनि साथ लिनू

ननिको म भए पनि काख लिनू

निज मातृजसै हर रात दिन

नित नित्य निरन्तर साथ दिनू ।२

 

वर माग्छु वसन्त हजार कटूँ

बरु लाख पुगूँ कहिल्यै नघटूँ

यस जीवनबाट म पार भए

नवजीवननिम्ति सदैव खटूँ ।३

 

अझ दीक्षित हूँ अझ पढ्न सकूँ

वरदान मिलोस् अघि बढ्न सकूँ

बल बुद्धि र चेत दिनोस् असली

स्वर शब्द सिँढी अझ चढ्न सकूँ ।४

 

साथी ५२०

 

तिमी साथमा हौ भए यत्ति पुग्छ

तिमी काखमा हौ भए यत्ति पुग्छ

अरू कामना चाहना छैन मेरो

हुँदामा तिमी स्वर्गझैँ यो कटेरो ।१

 

यही मात्र यौटा छ मेरो पुकार

म देखूँ सदा चन्द्रजस्तो मुहार

भएमा कुनै दर्द पीडा ममाथि

तिमी छेउ पर्दा सबै हुन्छ जाती ।२

 

दियोझैँ बनूँ एक जाज्वल्य दीप

जहाँ छौ तिमी बल्न पाऊँ समीप

उज्यालो बनोस् झल्झली रूप सारा

बगून् नेत्रमा तप्प हर्षाश्रु धारा ।३

 

तिमीझैँ अरू मित्र नै पाइँदैनन्

तिमी साथमै छौ अरू चाहिँदैनन्

तिमी स्वप्न संसार मेरो परानी

तिमीमै बितोस् पूर्ण यो जिन्दगानी ।४

 

 

 

 

 

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...