Skip to main content

प्रिय बेहुलीहरू

 चैत्रको तेस्रो बुधबार,

२०७७ गोगने, भोजपुर

      आगामी वर्षका सम्भावित प्रिय बेहुलीहरू ! शुभाशीर्वाद र गच्छे अनुसारको दर्ज्यानी नमस्कार ! असीम माया पनि । छयालीस सालपछि पहिलोपटक चिठी लेख्दैछु, हात पर्यो भने भाषा मिलाएर पढ़िदिनूहोला । खासमा यो चिठी मैले तिम्रो अभिभावक र शुभचिन्तक बनेर लेखेको हो किनकी कतिपय बुबा आमालाई यो कुरा तिमीलाई भन्न मन लागेको हुन्छ तर भन्न सकिरहनु भएको हुँदैन । यो पोस्ट देखेपछि त सेयर र म्यासेन्जराबाट भए पनि तिमीसम्म आइपुग्ला भन्ने आशा गरेको छु ।

      यता सबै ठिकै छ । त्यता कस्तो छ ? ठिकै होला भन्ने कामना गर्दछु । अनि ? आगामी वर्षबाट त नयाँ जीवनसाथीसँग नयाँ जीवन बिताउने कुरो सुनेँ । खुशी लाग्यो र यो पत्र कोर्न जाँगर गरेको हुँ । हुन त तिम्रो बिहेमा म किन खुशी हुनु र तैपनि पैला गइनछौ, रितिथिति र परम्परा तोडिनछौ, बा आमालाई रुवाइनछौ । खुशी नै छु । साँची २० त कट्यौ होइन ? नकटेको भए त कुनै छुसीले बिहेको दिनमा नै पुलिसलाई खबर गरिदेला र नाचाहिँदो लफडा होला है घरमा ! त्यस्तो हुनु भन्दा त बरु एक दुई वर्ष पर्ख । अहिले केको हतार छ र !

      अनि नि, हुनेवाला ज्वाइँ चाहिँ कसले खोजेको है ? बा आमाले नै होला तिम्रो त, होइन ? जात भात त पक्कै मिल्ने नै खोज्नु भयो होला । हुन त अचेल के जात भातका कुरा गर्नु र तैपनि अरूले कहिलेकाहिँ कुरा उठाउँछन् कि अनि सोधेको मात्र हो । नमिले पनि केही भन्नु छैन मेरो यस विषयमा । जमाना कहाँ पुगिसक्यो । जो भए पनि महिला र पुरुष त हो नि । मिल्दै नमिल्ने सर्प र चमेराजस्तो भए पो जिन मिसिएर कोरोना भाइरसजस्ता छोराछोरी जन्मिन्छन् कि भन्ने पीर, होइन ? कि आफैँले खोजेकी हौ हुनेवालालाई ? हो भने पनि मेरो केही भन्नु छैन । राम्रो नै खोज्यौ होला भन्नेमा म ढुक्क छु । हुन त ढुक्क नै त कसरी हुनु र फेरि ! पहिला पहिला पनि आफैँले खोजेर, विवाह गरेर परिपक्क भएकी होइनौ, अनुभव छैन यस्ता कुरामा तिम्रो । तिमी ज्योतिषी पनि होइनौ । जे त होला नि । कि एकपटक बा आमालाई राम्ररी बुझ्न लगाउँछौ त ? तिमीले भन्दा पक्कै बढी बुझ्नुहुन्छ उहाँहरूले । मान्छे लगाएर भए पनि सोधखोज गर्नुहुन्छ । ए ! एक दुई दिनमै उसको तीन पुस्तेको खबर पत्ता लगाइदिनुहुन्छ ।

      तर छोडिदेऊ यस्ता कुरा । तिमीले त ऊसँग पो बिहे गर्ने त, उसका तीन पुस्तासँग हो र ? ल भैगो । तैपनि बुझ्दैमा के फरक पर्छ र भन्न खोजेको मात्र हो मैले । वा त्यो परिवारमा कतै बलात्कारी रगत पो छ कि, अथवा सामान्य कुरामा नै दिक्क लागेर आत्महत्या गर्ने सोचका मान्छे छन् कि, अथवा यस्तै कुनै वंशाणुगत समस्या छ कि जुन एक जनालाई मात्र हेरेर थाहा पाइँदैन भनेर सोधेको मात्र हो ।

      अनि जसले खोजे पनि हुनेवाला ज्वाइँ चाहिँ कस्तो हुनुहुन्छ है ? उसै सोधेको यो पनि । भेटेरै अलिअलि गफगाफ त भयो होला तिम्रो । ज्यादै खस्रा खालका छन्, पैसा मात्र हेर्ने खालका छन् भने त सोच है एकपटक । यसो सेन्स अफ ह्युमर नभएका, इसारायुक्त गफगाफ नगर्ने, साहित्यिक रसका एक दुई आफ्नै वाक्यहरू नभएका, अर्काको सामान्य भावना पनि बुझ्न नसक्ने खालका त जिन्दगीभरि नै दिक्कलाग्दा होलान् नि । हुन त नयाँ नयाँमा सबै उस्तै रोमान्टिक नै हुन्छन्, कसरी थाहा पाउनु र ! तैपनि यी पक्षको पनि परोक्षरूपमा ख्याल गर्नू भनेको मात्र हो ।

      अनि अर्को कुरा चाहिँ के भने, बिहे गरेपछि मैले त के के न भेटेँ जस्तो गरेर धेरै मख्ख चाहिँ पर्नु पर्दैन है फेरि । सबैको बिहे भएकै हो, अरूको पनि हुन्छ । जनावरले त जोडी पाउँछन् । बरु, अरूले थाहा पाउने वा नपाउने गरी एक दुईवटा शास्त्रीय र गृहस्थ नीति सम्बन्धी निर्णयसिन्धु जस्ता किताबहरू पढ्दै गरे हुन्छ । यिनमा अन्य प्राकृतिक नियमका साथै सम्भोगका नियमहरू पनि हुन्छन् । घरका सबैले पढ्नेखालका किताब हुन् यिनीहरू, ल्याएर राखे हुन्छ । जे होस्, सकेसम्म प्राकृतिक नियमको पालना गर्नू, आफ्नो र परिवारको भलो हुन्छ भनेको मात्र हो । हुन त युट्युब र गुगल नै अचेलभरिका सबैभन्दा नजिकका सल्लाहकार हुन् । आफूलाई चाहिएको कुरा त्यतै खोजिहाल्छौ, तैपनि गर्भ निरोधक चक्की त सुरुमै नलिनू है, डाक्टरले जेसुकै भनुन् । आ ! के हो के हो नि । गर्भ बस्ने स्थानलाई नै के बिगार्नु है कलिलो उमेरमा नै । फेरि यो ख्याल ख्यालको र जिस्किने कुरो पनि होइन । तिमीले जीवनमा सबैभन्दा ठूलो बन्ने पद भनेको नै आमा हो, असल आमा । यो मामलामा अन्तिम निर्णय चाहिँ तिमीले नै लिनू । बाहिरी आधी आकाशको कुरा अलिक पछि गरे पनि हुन्छ, आफू भित्रको पूरै आकाशको ख्याल पहिला गर मात्र भनेको हो । त्यसमा पनि गर्भमा छोरी भन्ने थाहा पाएर गर्भ पतनतिर लाग्छौ वा अरूका कुरा सुन्छौ भने त तिमी आमा नै होइनौ, बन्दा पनि बन्दिनौ । कुरै गर्नु परेन । अथवा आफ्नो ज्यान राम्रो हुन्छ रे भन्ने लागेर आफ्नो अमृतधारा खेरा फाली बच्चालाई बजारे दूध खुवाउँछौ भने पनि तिमीलाई कसैले राम्रो सल्लाह दिन सक्दैन । यी विषयमा पनि घरका, माइतका आमा - हजुरआमासँग एक्लै भएको बेला हँसिमजाक गर्दै भए पनि गफ गरिहाल्छौ कि भन्ने आशय मात्र हो मेरो ।

      पत्रको अन्त्यमा, अब बुहारी भईहालेँ, मेरो सबै कुरा सकियो, म अर्कैकी भएँ, अर्कै मान्छे भएँ, मैले सबै अर्कैको खटनपटनमा बस्नुपर्छ भनेर आफूलाई पूर्ण समर्पण चाहिँ नगर्नू नि ! तिमी जे हो र जे बन्न खोजेको हो त्यो पूरा गरेरै छाड्नू भलै अरूको साथ सहयोग घटिबढी होला । आफ्नोपन चाहिँ नागुमाउनू । दुवै परिवारका सदस्यहरूलाई मायाले जोडेर आफू पनि खुसी भएर बस्नू । ल त, आजलाई यत्तिकैमा कलम बन्द गरेँ । बाँकी कुरा पछि गरौँला । नयाँ वर्षको र दाम्पत्य जीवनको एकमुष्ट शुभकामना !

      - उही तिम्रो शुभचिन्तक,

      आत्माराम न्यौपाने

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...