Skip to main content

मलाई गाउँ जान मन लागेको छ

 गफगाफ: मलाई गाउँ जान मन लागेको छ

- आत्माराम न्यौपाने


     बिहान झिसमिसेमा आँखा खुल्नु भन्दा अगाडि सपनामा हो कि बिपनामा थाहा नहुने गरी रेडियोमा बजेको धूनजस्तो त खासमा करेसाबारीमा पाकेका खोर्सानीका बियाँ खान आएका रुप्पीको र हिजो बेलुका खोलेको भाँडोमा हाल्दा पोखिएको सितासिती खान आएका भँगेराको पो रहेछ भन्दै छ्याङ्ग ब्यूँझिन मलाई गाउँ जान मन लागेको छ

      ब्यूँझिई सकेपछि पनि तल्लापट्टीको झ्यालका हावा मात्र छिर्ने मसिना प्वालबाट सुइराजस्ता घामका किरणहरू छिरेर सीधै म र परको भित्तासम्म पुगेको हेर्न र तिनमा अझ भरखर चुलोमा बालेको खोयाको धुँवा आउँदै, गुडुल्की मार्दै, जाँदै गर्दा सुतिसुती आफ्ना हातले तिनको बाटो छेक्दै, छोड्दै फेरि छेक्दै, छोड्दै गर्न मलाई गाउँ जान मन लागेको छ

     अझ कसैले उठ् नभनुञ्जेलसम्म उत्तानो परेर आफू माथिका लामा, छोटा, कोर्खे, सीधा, ताछेका, नताछेका, काला जम्मै दलिनहरू वरदेखि परसम्म र फेरि परदेखि वरसम्म गन्न; निदालका प्रत्येक चेपमा घुसारेका तोस्रो, फेर्नकालागि राखिएको कोदालीको बिँड, खै कसका नाममा हो पातमा बेरेर चढाएको बिगौती, कप्टेराको मुठो, मकैका झुत्ता सुकाउने कालो प्लास्टिकको डोरी र सबैभन्दा वल्ला छेउका विना खुकुरीको दाप, त्यसमा भएको चकमक हेरेर सुतिरहन मलाई गाउँ जान मन लागेको छ       

     धातुको हो कि माटाको चिन्न नसकिने भुडुँल्कोजस्तो सानो हिले भाँडोबाट परारै साल फाटेको सानीको ढाकाको दौरा चोपेर माली गाईको गोबरले मझेरीदेखि लिप्दै जाँदै गर्दा भुइँमा परेका आमाका पाइलाका ताजा छापमा एकैपटक मेरी आमा, गौमाता र पृथ्वी माता सम्झिएर कसैले पनि नदेख्ने गरी ती विष्णुपादुकासरहका छापलाई ढोग्न मलाई गाउँ जान मन लागेको छ; र आँटमुनिको सानो खोपोबाट झिकेको रातो माटोले पोतारोको जस्तै रातो रङ दियो घरको वरिपरि, ब्रतबन्ध गरेकाले र नगरेकाले भात खाने ठाउँ छुट्ट्याउने सानो खोल्सीजस्तो सिमानामा, अगेनोको डिलमा र दैलाको ठेलामा हेर्न र त्योबेलाको माटोको गन्ध सुँघ्न मलाई गाउँ जान मन लागेको छ    

     आङ तान्दै मूल दैलोबाट बाहिर निस्किने बित्तिकै हिजो ब्याड़े गह्रो साउँदा तिल्केको पुच्छरबाट टाँसिएको र नसुकेको हिलोको बुट्टा भएको कमेज लगाएर आँगनको पल्लो कुनामा भर्खरै अर्जापेको सिरुपातेले आजकोलागि जुवा हरिस र शैला ठोकठाक गर्दै मिलाउँदै गरेका बुचे कट्टुमा सजिएका साक्षात् विष्णुको दर्शन गर्न मलाई गाउँ जान मन लागेको छ      

     अलिकति बिट फर्किएको तामे अम्खोराबाट हरहर गङ्गे भन्दै साझी पानीले घामतिर हेर्दै मुख धोएपछि देब्रे हातले हिजोका बासी रोटी र दाहिने हातले पल्लाघरे काकाले बुनिदिएको मालिङ्गोको काम्रो खुस्किन लागेको डोको बोकेर सल्लाघारीका खोल्सामा सप्रिएर पलाएको सालिम्बो चोर्न मेरै उमेरका साथीसँग सुसेल्दै ओह्रालो झर्न मलाई गाउँ जान मन लागेको छ         

     एक्ले पीपलनेरको द्यौरालीमा ढुङ्गो चढाउन निकै माथिदेखि बाटा छेउका छरिता ढुङ्गा हातमा लिएर नजिक पुग्ने बित्तिकै मनमनै लौ है द्यौराली ! मेरो प्रेमको रख्खे गर भन्दै अस्ति नै घाँस काट्दा एकै मिनेट देखेकी नक्कलीको मिठो अनुहार सम्झिएर त्यत्रा साथीहरूको भीडमा एक्लै खुसी हुन मलाई गाउँ जान मन लागेको छ   

     फर्किँदा मूल बाटोछेउको हजुरबुबा भन्दा पुरानो चिप्ली ढुङ्गो जसमा बर्सेनी बर्खामा पलाएको र प्रत्येक हिउँदमा सुकेको लेउले मलाई हजुरबुबाको फुलेको दाह्री सम्झाइदिन्छ, हो त्यसै ढुङ्गामा एक निम्ठो सालिम्बो बिसाएर पारी गाउँका गोठबाट  निस्किएको धुँवा कति समयमा र कसरी हल्लिँदै हल्लिँदै माथिको वादलमा ठोक्किन पुग्छ भनेर हेर्न मलाई गाउँ जान मन लागेको छ

     घर आउनासाथ सुन्तलाको फेदमा डोको बिसाएर, बलेसीको दलिनामा हँसिया घुसारेपछि पूर्वी आँगनको तुलसी मोठ पूजा गरेर त्यहीँ राखिएको पञ्चपालाको अघिनैको घामजस्तो रातो टीको लगाएर बाहिरैबाट "भात पस्किदिनू है, भोकले जानै आँटे" भन्दै बाहिरतिरका भएभरका फलफूल वा अन्य खानेकुरा खाँदै भित्र पस्दा दिदीले झर्के थालमा पस्किएर दिएको भात, लेकाली जिम्बुमा झानेको दाल, हेर्दै मुखभरि रस आउने अचार, अमिल्चो अमिल्चो एक गिलास मोही खाएर बुबा आमा गएको मेलामा बुर्कुसी मार्दै कुद्न मलाई गाउँ जान मन लागेको छ

     कैँदले धाराका आजसम्म नदेखिएका नागबाट जोगिन पहिले अलिकति मूलतिर पानी अचाउँदै अघिको मोहीभन्दा चिसो पानी खाएर अलिक ओभानो आलीमा एक छिन उभिएर चार हल गोरुले एकैपटक हिल्याएको, हली दाइ दाँदेबाट ओर्लिएपछि पनि परसम्म गोरु कुदेको, साँधे गह्रामा घुमले छोपेर राखेका खाजाका डाला, गह्रैपिच्छेको कामको चटारो र मान्छेपिच्छेको हतारो हेर्न मलाई गाउँ जान मन लागेको छ

     खले गह्रोको बीचमा जमरातुल्य बिउको मुठोको जैविक मूर्ति बनाई त्यसको वरिपरी बिउकै गोलाकार घेरो लगाएर भएजति रोपाहारहरूलाई आमाले सुब्बेफाब्बेको आशीर्वचन दिँदा हिलाम्य शक्तिरूपिणी साक्षात् भगवतीहरूको ओठको मायावी मुस्कान र अनुहारमा आदिमकालदेखि बोकी ल्याएको नारी जातिको पुस्तौनी सम्पत्ती हेर्न मलाई गाउँ जान मन लागेको छ अनि त्यहाँबाट आ-आफ्नो मेलो समाउन जाँदा उत्ताउला बाउसेको हिलो छ्यापाइबाट बच्न कोही तर्किँदै, कोही रिसाउँदै र कोही मनमनै खुसी हुँदै भागेको हेर्न मलाई गाउँ जान मन लागेको छ

     कामकै सिलसिलामा कसैलाई चोटपटक लाग्दा वा सामान्य बिरामी हुँदा कोही मैला जुहारीकोटको भित्री गोजीबाट काँचोकागजमा पोको पारेको सालधूप खोज्दै गरेको, कोही सिमेभूमे लागेको हटाउने मन्त्रले फु फु गर्दै गरेको, कोही फलानो झारको मुन्टाले चट्टै पार्छ भन्दै खोज्न हिँडेको र कोही यस्तैखाले बिरामीको सफल उपचारको विगतको अनुभव सुनाउँदै गरेको सुन्न र हेर्न मलाई गाउँ जान मन लागेको छ

      जब खाजा खाने बेला हुन्छ ... के लेख्नु खै ! भलै हिला न मैला हात हुन्, भलै चिसो आलीमा बसेका हुन् वा बस्ने ठाउँ नभएर उभिएकै हुन्, भलै टोपीको भित्रपट्टि वा भोर्लाको पातमा राखेका हुन्, वा भलै देब्रे हातले नै किन नखाउन् एक पित्को आफ्ना इष्टदेवलाई नअर्पी कोही खाँदैनन् र आँखाभरि यो दृश्य साँच्न मलाई गाउँ जान मन लागेको छ गोरुलाई नदिई हलीदाइ म खान्न भन्ने, केटाकेटीलाई नदिई काकी म खान्न भन्ने, खेतालाहरूलाई नदिई बुबा म खान्न भन्ने, बुबाले नखाई आमा म खान्न भन्ने ! यही सुन्न र हेर्न मलाई गाउँ जान मन लागेको छ

     गोरु फुकाएर सङ्ग्लो मूल कुलोमा ल्याएपछि दुवै हात चोपल्दै अँजुलीभरी पानी छ्यापेर दिनभरि जोत्दा लागेको गोरुको शरीरको हिलो पखालेपछि    तिनीहरूकै पछिपछि र तिनीहरूकै एकनासे गतिमा उत्तिसघारिका झ्याँउँकीरीको -याईँ -याईँ सुन्दै गौँडै गौँडा उकालो लागेर झमक्क साँझमा घर पुग्दा बहिनीले बालेको नौसुते बत्तीले भ्याएसम्म दिएको उज्यालो हेर्न, अगेनामा भरखरै जोरेको आगो बल्दै गरेको हेर्न, त्यहीबेला माथ्ला घरमा बजेको शंखघण्टको आवाज सुन्न मलाई गाउँ जान मन लागेको छ

     मैले भात खाएको निकैबेरपछि आफू उँघ्न उँघ्न लागेको बेलामा तलको बिरौटे खेतबाट आएका खेतालालाई "ल नलढी जाओ है, भोलिको मेलो चाहिँ यस्तो अबेरसम्म नपार्ने गरी बिहान बरु चाँडो आउनू" भन्ने सुनेपछि ल दाइ पनि घर आइपुग्नुभयो भन्ने ढुक्क हुन्छ अनि म बहिनीजसरी नै निदाउन मूल खाँबोकोनेरको भित्ताको ओच्छ्यानमा बिहान उठेदेखि नपट्ट्याइको सिरकभित्र पसेर फुस्स निदाएको अनुभव गर्न मलाई गाउँ जान मन लागेको छ

     मनभरि अनेक सपना बोकेर सहरमा निदाउन होइन, मस्त निदाएर आँखा खुल्दा गाउँमा ब्यूँझिन मलाई गाउँ जान मन लागेको छ

    

                 

 

           

 

 

 

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...