लघुकथा १ :
गिरफ्तार
मावलबाट दाइ
आउँदै हुनुहुन्छ भनेपछि सुनिता फुरुक्क भइन् । हिजो आमाले फोनमा गफ गर्दै गरेको त
सुनेकी थिइन् । आमा भन्दै हुनुहुन्थ्यो,
"ठिकै छ त !
बन्दाबन्दीभरि दाजु बहिनी सँगै बस्छन्, सँगै परीक्षाको तयारी गर्छन्, नजानेको कुरा छलफल गर्छन् । यतै पठाईदिनू छोरालाई ।" नभन्दै भोलिपल्ट दाइ
आइपुगे र परिवारमा अर्कै रौनक थपियो ।
पढ्ने क्रममा
सुनिताले एक दिन आफ्नो मोबाइल देखाउँदै दाइलाई सुनाइन्, " हेर्नु न दाइ ! यसले मलाई जहिले पनि केके मात्र भनिरहन्छ । कक्षामा पनि यस्तै
गर्थ्यो, अहिले स्कुल बन्द भएर ढुक्क भएको छ ।"
दाइले हौसला
दियो, " त्यसलाई म ठिक पारिहाल्छु नि बहिनी ! तँ
चिन्तै नगर न । बरु तेरा सर मिसहरू चिनाई दे मलाई, फेसबुकमा साथी त पक्कै होलान् ।"
दाइले नयाँ
फेसबुक अकाउन्ट खोलेर सुनिताबाट सूचना लिँदै उनका सर मिससँग गफ गर्दै पन्ध्र दिन
सम्ममा त्यो केके भन्ने साथीलाई सोधपुछका लागि प्रहरीबाट गिरफ्तार गराउने सम्मको
काम गरिसको कुरा सुनितालाई तब थाहा भयो जब प्रहरीहरू उनकै घरमा छानबिन गर्न आइपुगे
।
महिला
प्रहरीले सोधे, " के हो त सुनिता ! तिम्रो साथीले तिमीलाई गलत
नियतले नै हेरेको हो त ? हामीले गिरफ्तार गर्नै पर्ने भयो त उसलाई ?"
सुनिता बोलिन्, " पर्दैन पर्दैन । बरु यी मेरै दाइ भनाउँदोलाई गिरफ्तार गरे हुन्छ । म
सिकाइदिहाल्छु नि मेरी बहिनीलाई भन्दै कहिले यता छुन आउँछ । यो हिसाब यसरी गर्ने
होइन त, अर्कै सूत्र लगाउनू पर्छ भन्दै उता छुन आइपुग्छ । आफ्नो घर पनि जाँदैन । मेरो
दाइ भनाउँदो देखि नै म त दिक्क भइसकेँ !"
लघुकथा २ :
टेक्स्ट मेसेज
"ल जाऊँ बुढी आज घुम्नलाई । कति काम गरेर
बस्छ्यौ सधैँभरि । यसो रमाइलो पनि पो गर्नुपर्छ कहिलेकाहीँ ।"
दाइको कुरा
सुनेर भाउजू मख्ख परिन् । थपिन्,"राम ! राम ! कहाँबाट यति राम्रो मति पलायो आज
। तीन बज्न लागिसक्यो, कता जाने हो र ?"
दाइ पल्लो
कोठामा पसिसकेका थिए, प्रश्न नै सुनेनन् ।
सामान्य तयारी
गरिन् भाउजूले तर भित्र भित्र अत्यन्त खुसी थिइन् आज । दुवैजना घरबाट निस्किए र
लागे नजिकैको पार्कतिर ।
"ऊ त्यो ठूलो ढुङ्गानेर बस्दै गर है, म एउटा चिसो लिएर आउँछु" भन्दै दाइ नजिकैको पसलमा गए । नभन्दै लिएर आए
पनि । निकैबेर बसे त्यहाँ, ढुङ्गामा अरूले कोरेका नामहरू हेरे, गफिए । भाउजूले पनि एउटा गट्टाले आफ्नो र
दाइको नामको पहिलो अक्षर लेखेर बीचमा प्लसको चिन्ह कोरिन् ।
धेरै दिनपछि
यसरी घुम्न आउँदा आज उनलाई दाइसँगै लपक्कै टाँसिएर हिँड्न मन लागेको थियो बाटामा तर
समाजले के भन्ला जस्तो लाग्यो ।
दाइले भनेको
होटलमा गए, दाइले भनेको ठाउँमा घुमे र दाइले मगाएको खाए । उनलाई लाग्यो, खासमा घुम्नकोलागि ठाउँ महत्त्वपूर्ण होइन रहेछ, बरु साथ ठूलो कुरो रहेछ । मायाँ गर्ने साथ
भयो भने जुनसुकै ठाउँ पनि स्वर्ग हुने रहेछ ।
घर फिरेपछि
पनि उनमा थकानको निसान थिएन । छिट्टै खानपिन गरेर दाइको देब्रे हातको सिरानी गरेर
आनन्दले निदाइन् ।
अनि दाइले
दाहिने हातले मोबाइलमा टेक्स्ट मेसेज टाइप गरे :- हेर न हिजो बिहानदेखि मलाई
तिम्रो धेरै याद आयो, हामी घुमेको पार्कको, ढुङ्गाको, होटेलको याद आयो अनि तिनै सम्झिँदै सम्झिँदै आज ती ठाउँ एक्लै घुमेर आएँ ।
मिल्छ भने भोलितिर आऊ है !
लघुकथा ३:
उत्कृष्ट
शिक्षक
अनिवार्य
अवकास पाउँन दुई वर्ष बाँकी हुँदा कोरोना कहरपछि श्याम सरको गाउँको विद्यालय खुल्यो
। डराउँदै डराउँदै सहरबाट गाडी चढे उनी ।
छ घन्टाको
यात्रापछि दोभानेमा ओर्लिए । एउटा ग्यास सिलिन्डर, एक कार्टुन चुरोट, केही चाउचाउ र बिस्कुट किनेर बाटाको भित्तामा राखे अनि फोन गरे विज्ञानलाई ।
"हेल्लो विज्ञान ! एकछिन दोभानसम्म झर ल ।
अलिकति सामान छ, मैले बोक्न नसक्ने भएँ ।"
आफ्नो सरलाई
सहयोग नगर्ने कुरै भएन । एक घन्टामा विज्ञान आइपुग्यो र दुवैजना उकालो लागे । करिब
पन्ध्र मिनेट हिँडेपछि विज्ञानले भारी बिसायो चौतारामा र दुवैले थकाई मारे ।
"विज्ञान ! एक-एकवटा चाउचाउ खाऔँ पानी
भेटिएकोबेला" भन्दै झोला खोतले । खाइसकेर खोल त्यतै फालेर उकालो लागे । श्याम
सरले तानेको चुरोटको धुवाँ विज्ञानको अघिपछि आउँदै हराउँदै गर्थ्यो ।
"अनि विज्ञान ! गाउँमा केके नयाँ हुँदै छ त ?", गफिने विचार गरे सरले ।
यसै त उकालो
त्यसमाथि गर्मी दिन भएकाले स्वाँ-स्वाँ गर्दै विज्ञान बोल्यो, "सबै ठिकै छ सर । स्कुल खुलेको आज पाँच दिन भयो । आज चाहिँ वातावरण दीवस रे, कार्यक्रम मात्र हुन्छ, पढाई हुँदैन रे अनि म स्कुल नगएको । पल्लो खोरबारे वनमा बाटो आईपुग्यो । दुइटा
डोजरले धमाधम खन्दै छन् अहिले, म त्यहीँबाट झरेको । अरू त पुरानै छ सर
।"
" ल गजब भएछ । आघौँ त म पनि एउटा थोत्रो
मोटरसाइकल लिएर स्कुल आउन पाउने भएँ " भन्दै चुरोटको धुवाँसहितको ठुटो त्यतै
बाटामा मिल्काए । गाउँ आइपुगेपछि भने,
"विज्ञान !
त्यहीँ मेरो कोठानेरि राखीदेऊ है, म स्कुलमा हाजिर गरेर आउँछु ।"
विद्यालय
परिसरमा पाइला टेक्दा ठूलो स्वरमा माइकिङ हुँदै थियो: र यस वर्षको उत्कृष्ट शिक्षक
हुनु भएको छ हाम्रै विद्यालयका वातावरण शिक्षक श्री श्याम .... !!
लघुकथा ४:
अवतारीसँगको दोश्रो भेट
धुलीखेलको
पहिलेकै ठाउँ हो तर यसपाल कोरोनाले गर्दा त्यहाँ चिया पसल र पहिलेकाजस्ता रोकिएका
ट्रकहरू थिएनन् । त्यो दिन म चार-पाँच दिनपछि घरबाट बाहिर निस्किएको थिएँ, बिहान करिब साढे नौ बजेतिर, यो सोचेर कि अब त भरेको छाककोलागि तरकारी
पसलहरू खुले होलान्, तर रहेनछन् ।
फर्किँदा भेट
भयो अस्तिकै अवतारीसँग । यसपालीको भेट कोठै नजिक भएकाले र उसले पनि डबल मास्क
लगाएकाले मैले "जाऊँ कोठातिर" भनेँ । ऊ आयो पनि । घरकासित परैबाट चिनजान
भएपछि मैले खाना खान अनुरोध गर्दा उसले "हुन्छ" भन्यो ।
"हामी त साकाहारी हौँ, लसुन प्याज पनि चल्दैन, फ्राई गरेका केही पनि छैनौँ, एकदम सादा पो खान्छौँ त, बिरामीले खानेजस्तो । तोरीको साग, कालो दाल र भात छ आज" मैले भनेँ र फेरि
सोधेँ, "कि अरू केही बनाऊँ ?"
"मलाई एकथोक मात्र भए पुग्छ" उसले भन्यो
।
म खाना पस्किन
तयार हुँदै गर्दा उसले सोध्यो, "प्रत्येकपटक तोरीको साग टिप्दा कृष्णलाई
अर्पण गर्नुभएको छ ?, प्रत्येकपटक जरा चिमट्दा कृष्णलाई अर्पण गर्नुभएको छ ?, पखाल्दा, नुन तेल हाल्दा, ओइरिँदा गर्नुभएको छ ?, चलाउँदा, पकाउँदा, झिक्दा, पस्किँदा अर्पण गर्नुभएको छ ? छ भने पस्कनुस् है । तीन तीन थोक पनि पर्दैन
मलाई, एकथोक भए पुग्छ ।"
ऊ एकछिन
रोकियो । म खाना पस्कूँ कि नपस्कूँ भन्ने दोधारमा भएँ ।
"अथवा तपाईँले सबैभन्दा बढी कृष्णलाई जे अर्पण
गर्नुभएको छ त्यही दिए हुन्छ, पानी नै दिए पनि हुन्छ । थाप्दा कृष्णलाई
अर्पण गरेको होस्, ल्याउँदा अर्पण गरेको होस्, सार्दा र दिँदा होस् " ऊ लगातार
बोलीरह्यो ।
उसका कुरा
सुन्दै गर्दा मेरा आँखा रसाई सकेछन् । लुकेर पुछ्ने प्रयास गर्दै थिएँ, उसैले पुछिदियो र भन्यो, "मलाई यति भए पुग्छ, म अघाएँ ।"
मेरो एक थोपा
आँसु पिएर बिदा भयो ऊ !
लघुकथा ५: गोजी
गाउँबाट भर्खर सहर आउनुभएकी हजुरआमा बिहानको घाम ताप्दै दस
वर्षिया नातिनीको कपाल कोरिदिँदै हुनुहुन्थ्यो । कोर्दै गर्दा भन्नुभयो,
" छोरी
! तैँले अर्कै लुगा लगाएर स्कुल गए हुन्न र ? हेर्, तेरा दुवै सर्ट फरकमा गोजी रहेनछन् । गोजी
भएका पो लगाउनुपर्छ त । "
मुखमा च्यापेको रिबनको फूल झिक्दै नातिनीले सोधिन्,
" किन
र हजुरआमा ?"
सिउँदो मिलाइदिँदै हजुरआमाले भन्नुभयो,
" गोजी
भएन भने तँ कहिल्यै धनी हुन्नस् । कसैले तँलाई दिएको पैसा पनि तैँले अरूलाई राख्न
दिनुपर्छ । अरूले त्यो पैसा तँलाई फिर्ता नदिन पनि सक्छन् । हातैमा बोक्दा हराउन
पनि सक्छ,
च्यातिन
सक्छ ।"
नातिनीले हत्त न पत्त सहमति जनाइन्,
" हो
हजुरआमा ! पोहोरको दशैँको पैसा कति धेरै भएको थियो, बाबाले सकिदिनु भएछ ।
अस्ति मागेको त,
त्यही
पैसाले मेरो कपी किनिदिएको भन्नुभयो
।"
"कस्तो लाग्यो त मेरो
कुरा ! देखिस् त !" हजुरआमाले थप्नुभयो, " गोजी भएको भए तैँले त्यो
चेन बिग्रिएको घडी पनि बोक्न सक्थिस् अनि तँलाई समय अनुसार काम गर्न पनि सजिलो
हुन्थ्यो । हेर् त,
तँसँग
अहिले न त चेन बनाउने पैसा छ न त घडी बोक्ने गोजी छ ।"
दुवै हातले कपाल सम्म पार्दै नातिनी बोलिन्,
" हजुरआमा
! त्यो चेन चाहीँ तपाईँकै पैसाले बनाइदिनू न है । स्कुल ढिलो पुगेर सधैँ गाली खानु
पर्छ मैले ।"
"
ल
ल भोलि बनाइदिउँला " भन्दै हजुरआमा फेरि बोल्न थाल्नुभयो,
" हेर्
छोरी ! गोजी भए तैँले सानातिना हतियार पनि बोक्न सक्छेस् । अब तँ ठूली भइस् ।
फटाहाहरूले तँलाई दु:ख दिन पनि सक्छन् ।"
नातिनी-हजुरआमाको कुरा सुनिरहेकी पल्लो घरकी पसल्नी आन्टीले
पनि थप्नुभयो,
" हो
छोरी हो ! गोजी भए महिलाको आर्थिक विकास हुन्छ । गोजीमा समय,
साहस,
हिम्मत
र डर बोक्न सकिन्छ । हेर,
मेरो
न सारीमा,
न
चोलोला,
न
पेटिकोटमा,
न
मजेत्रोमा,
न
घुम्टोमा केहीमा गोजी छैन ! तिमी पनि ठूली भएपछि मजस्तै नबन्नू है !"
कपाल कोरी सकेर नातिनीले दाइको गोजी भएको प्यान्टको एउटा
गोजीमा हजुरआमाले दिएको पाँच रुपीया र अर्को गोजीमा चेन बिग्रिएको घडी बोकेर समयमै
स्कुल पुगिन् । स्कुल पुग्नेबित्तिकै सरले आउट ड्रेसमा स्कुल आउन पाइदैन भनेर
गेटबाटै फर्काइदिनुभयो । विचरी रुँदै घर फर्किन् ।
लघुकथा ६: पारिवारिक निर्णय
समाजमा महिला अधिकारको नारा लाएर तीन वर्ष अघि बुबाकी
दोस्री श्रीमती हुन पुगेकीलाई हुर्किएका छोराछोरीले मनैदेखि आमाको संज्ञा दिइसकेका
थिएनन् घरमा । गाउँमा फेरि बेकारको नाराबाजी होला र आफ्नो घरको बारेमा अनावश्यक
कुरो बाहिर आउला भनेर अरूको अगाडि "सानीमा - सानीमा" भन्थे ।
हुन त बुबालाई पनि शंकाको घेरामा नै राखेका थिए उनीहरूले
किनकि सानीमा भित्र्याउँदा दु:ख गरेर जम्मा गरेको सम्पत्ति नचाहिँदो पाराले भोज
भतेरमा खर्च गरेका थिए उनले ।
छोराछोरीहरू मात्र गफ गर्दा भन्थे,
"जे
भने पनि आफ्नै बुबा आमा हुन्, हामीले पनि अभिभावकत्व पाएकै छौँ,
बेलाबेलामा
उखानतुक्का सहितको पारिवारिक हँसिमजाक गरेकै छौँ, विगत दुई अढाई वर्षमा
बुबाले पनि अलिअलि पैसा जोगाएर राख्नुभएकै छ, सबैजना मिलेर धनी परिवार बन्नुपर्छ भन्नुभएकै
छ,
ठिकै
छ त ।"
अझ थप्थे, "अस्ति भाइलाई कोरोना
लाग्दा पनि बेसार पानी र गुर्जो खुवाएर निको पार्नुभयो,
अस्पतालको
खर्च पनि जोगाउनुभयो । लोक सेवा पास गर्नलाई केको निजी क्याम्पस पढ्नुपर्छ भन्दै
दिदीको पढाई खर्च पनि जोगाउनुभयो, अब त हाम्रो परिवार ठिकै होला त !"
छोराछोरीको यो अड्कलबाजी तब फेल खायो जब उनीहरूले यो कुरा
थाहा पाए कि,
बुबा
र सानीमाबीचको आपसी समझदारीमा नै पारपाचुके गरेर आजसम्म बचाएको पैसाले बुबाले फेरि
धुमधामकासाथ अर्को विवाह गर्ने पारिवारिक निर्णय गर्नुभयो ।
लघुकथा ७: परिणाम
लगातार तीन वर्षदेखि सामाजिक विषयमा जिल्लाकै उत्कृष्ट
नतिजा ल्याउन सफल विद्यालयमा आफू पनि सामाजिक शिक्षक बनेर जाँदा गोमा मिसलाई
चुनौति र अवसर कुन बढी थियो थाहै थिएन । पहिलाकी सामाजिक शिक्षिका,
शब्दकला
मिस पनि यसै गाउँकी हुन् भन्ने थाहा पाउँदा उनलाई भेटौँ भेटौँ लाग्यो र एक साँझ
भेट्न गइन् । उमेरले साठी कटेकी शब्दकला मिस त्यतिबेला सानी नानीलाई आफ्नो दूध
चुसाउँदै थिइन् घरमा । सामान्य परिचय पछि गोमाले सोधिन् - होइन,
यो
उमेरमा पनि .... ?
शब्दकलाले पनि प्रष्टै उत्तर दिइन् - यी मेरा जेठी छोरीका
सन्तान हुन् । वर्षेनी एक एक गर्दै छ वटी छोरी जन्माई मेरी छोरीले । समाजले के के
भन्यो अनि पोहोरको साल यी सबैलाई छोडेर गई । गर्नै नहुने काम गरी ! आफ्नो ज्यान नै
फाल्न नहुने थियो त्यसले ! यो कान्छी नातिनीलाई चाहिँ फुल्याउनै गाह्रो पर्छ अनि
आफ्नै दूध चुसाएर झुक्क्याएकी मात्र हो मैले ।
त्यतिकैमा एउटा सानो छोरो पनि टुकुर टुकुर गर्दै शब्दकलाको
काखमा आएर बस्यो । उनले उसैगरी आफ्नो अर्को दूध चुसाइन् । गोमाले फेरि सोधिन् -
होइन,
छोरो
पनि रहेछ त,
अनि
किन आत्महत्या .....?
शब्दकलाले
फेरि पनि प्रष्ट उत्तर दिइन् - यो मेरी कान्छी छोरीको छोरो हो । तर यसकी आमाले पनि
दिदीको सिको गरेर अस्ति भर्खर मात्र आत्महत्या गरी !
गोमालाई बोलौँ कि नबोलौँ भयो एकछिन । मन थाम्नै नसकेर
सोधिन् - कान्छीको त छोरो नै जन्मिएको रहेछ त ! अनि किन .... ?
काखका
नातानातिनाका टाउकामा आँसु चुहाउँदै शब्दकला बोलिन् - हो,
छोरै
जन्माएकी थिई तर बिबाह नगरिकन ... र यो पनि हाम्रो समाजलाई पचेन मिस पचेन ।
लघुकथा ८: अक्षर
कोरोना कहरको बन्दाबन्दीले गराएको सात महिने विद्यालय
बन्दपछि पालिकाको सूचनाको आधारमा विनिता पुरानो मास्क लगाएर विद्यालय गइन् ।
धेरैपछि विद्यालय पुगेकी र आधाजति साथी देखेपछि खुसी नै थिइन् उनी । हुन त बन्दको
समयमा पनि उनले बा आमासँग धैरैकुरा सिकेकी थिइन् । नियमित अभ्यास गरेर अक्षर अब्बल
दर्जाका पारेकी थिइन् । चित्र कोर्न र नाँच्न पनि सिकेकी थिइन् ।
रेडियो शिक्षा कार्यक्रम, टेलिभिजनको सिकाई र
आफैँले गर्न सक्ने गृहकार्य गरी राम्रा अक्षरमा लेखेको कपी शिक्षकलाई जाँच गर्न
दिइन् सुरुकै दिनमा । बेलुका सबै कपी फिर्ता लिएर घर गइन् । सबै कपी जाँच भएका थिए
। एउटा कपीमा चाहिँ ठिक चिन्ह मात्र दिएर अन्त्यमा रातो मसीले केही लेखेको थियो ।
त्यसको मुनि शिक्षकको हस्ताक्षर र मिति पनि लेखेको थियो । शिक्षकले के चाहिँ
लेख्नुभएको उनले बुझिनन् । बा आमालाई पनि देखाइन् तर ठ्याक्कै खुट्टाउन सकेनन् ।
भोलिपल्ट विद्यालय पुग्ने बित्तिकै विनिताले उही शिक्षकलाई
भेटेर सोधिन - सर ! यो के लेख्नु भएको तपाईँले ? शिक्षकले हेर्ने बित्तकै
पढिदिए - त्यति पनि बुझ्दिनस् लाटी ! अक्षरमा सुधार गर भनेको ! प्रष्टै छ त ।
लघुकथा: ९ पाँच मिनेटको प्रेम
बाग बजार, पुतलीसडक, रत्नपार्कतिर दिनभर घुम्दा
घुम्दा र एउटा पनि काम नबन्दा म लखतरान भएको थिएँ । गर्मी पनि उस्तै थियो त्यो दिन
। मान्छेको भीड उस्तै थियो सडकतिर र गल्लीतिर ।
चैत वैशाखका दिन न हुन् । सारै लामो लाग्यो त्यो
दिन मलाई अझ । सायद काम नबनेर पनि हुन सक्छ । बेलुका पाँच बजे धुलिखेल फर्किने
तयारी गरेँ । सडक छेउमा पोलेका मकै खाँदै हिँड्दा कतिखेर बसपार्क आईपुगेँछु थाहै
भएन ।
“दाइ धुलिखेल हो, यता है यता” “पहिले यो जान्छ है”
यस्तै भन्दै थिए सहचालकहरु । आफूलाई भने धुलो धुवाँ र थकानले दिक्क
बनाएको थियो । म उनिहरूका कुरा सुन्दै नसुनी निकै परको गाडिमा गएर बसेँ । मलाई
केहीको हतार थिएन, मात्र
बसमा सिट चाहिएको थियो, धुलिखेलसम्म
जान ।
म बसेको पाँच सात मिनेट पछि त्यो गाडीको पालो आयो ।
मान्छेहरू एकैछिनमा खचाखच भरिए । गाडी गुम्म भयो । टाँ टाँ र टिँ टिँ सुरु भयो ।
सिँहदरबारसम्म आएको थाहा पाइरथेँ । त्यसपछि निदाएँछु ।
एकैचोटि बनेपा आईपुगेपछि पो आँखा खुलेछन् । बल्ल
६ः३० भएछ, उज्यालै
थियो । निद्रा र मकैले ज्यानमा फुर्ति पनि ल्याइदिएछ । म उसै ओर्लिएँ त्यहाँ
एकछिन्, गाडी
रोकुञ्जेल खुट्टा तन्काउन । त्यहाँबाट धुलिखेल जाने मान्छेको धुइरो थियो । एकछिन
पछि म पनि चढेँ त्यही गाडीमा । मेरो सिटमा अरू कोही बसिसकेको थियो । मैले वास्ता
गरिनँ । पाँचै मिनेटको बाटो न थियो अब । उभिएँ म त्यतै प्यासेजमा । ठेलमठेल भयो
एकै छिनमा ।
“बाटो खाली गरिदिनू है दाजु । ओ दिदी एकापट्टि
मात्रै फर्केर बस्नु न”, सहचालक
बाहिरैबाट कराउँदै थियो । “तिमी नै
आऊ न, अब भरियो
जाऊँ” भन्दै
थिए यात्रुहरू भित्रबाट । म भने बाङ्गिएर त्यतै उभिएको थिएँ ।
अचानक ढाडमा कसैले स्पर्श ग¥यो मलाई । मैले त्यो पनि
वास्ता गरिनँ । मान्छेहरू अझ थपिँदै गए र म झन् पेलिँदै गएँ । यसो टाउको फर्काएर
पछाडि हेरेको मलाई स्पर्श गर्ने कुनै महिला रहिछिन् भन्ने मात्र थाहा भयो । पहेँलो
कुर्तामा थिइन् उनी । उभिँदा उनको टाउको मेरो घाँटीसम्म आउँथ्यो । अगाडितिर
फर्किएर उभिएकी रहिछन् । मैले उनले थाहा नपाउने गरी फेरि हेरेँ उनलाई पछाडिबाटै ।
सलक्क परेको जिउ थियो । सिल्की कपालको चुल्ठो बानेको थियो, शायद गर्मीले होला ।
अचानकको त्यो स्पर्श प्यारो लाग्न थाल्यो अब मलाई
। अगाडिको ढोकाबाट अझै मान्छे थपिए हुन्थ्यो जस्तो लाग्यो मलाई । दिउँसो पनि गर्मी
नै थियो तर अहिलेको न्यानोपन अर्कै प्रकारको थियो, प्यारो गर्मी थियो । पिच बाटो नभइदिएको भए, धुलिखेल सम्मको दूरी लामो
भइदिएको भए जस्ता कल्पनाहरु मनमा आउन थाले । हुने नहुने स्वप्निल योजना बने एकै
छिनमा । प्रेमिल सोच बने उभिई उभिई ।
तर सोचेजस्तै सधैँ कहाँ हुन्छ र । एकै छिनमा गाडी
धुलिखेल पुग्यो । मान्छेहरु ओर्लिन थाले । उनी पनि बिस्तारी बिस्तारी अघि बढ्न
थालिन् ओर्लिन र मेरा सपनाहरू पनि उनीसँगै ओरालो लागे । गाडी भाडा हातमा लिएर म
पनि उनको पछि लागेँ ।
एकपटक अनुहार चाहिँ पक्कै हेर्छु वा धुलिखेलतिर
फेरि देख्छु कि जस्तो लाग्यो र अलिक लामा पाइला चालेँ पहेँला कुर्तातिर ।
“ए ! तपाईँ पनि यही गाडीमा हो ? कि अर्कैमा हो ? राम राम ! यसमा त कस्तो भीड, हैट !” भन्दै उनी मसँगै टाँसिन
आइपुगिन् । मेरी श्रीमती पो बनेपातिर गएकी रहिछन् किनमेल गर्न अस्तिमात्र किनेका
पहेँला कुर्ता सुरुवाल लगाएर ।
Comments
Post a Comment