Skip to main content

कथा शीर्षक: रक्सी

 कथा शीर्षक: रक्सी


उनको समयको बहुचर्चित गीत सुन्दै, गहुँ काट्दै थिइन् सुनिता आफ्ना साथीहरूसँग । बाटाभन्दा अलिक तल नै थियो खेतको पाटो । बिहान भरिमा त्यो गहुँ काटीसकेर दश बजे भित्रमा विद्यालय पुगिसक्नु पर्ने थियो । लाइनमा बसेर सबैजनाका अगाडि उठबस गर्न उनलाई धेरै अप्ठ्यारो हुन्थ्यो । ढिलो पुग्नेलाई त्यही सजाय थियो विद्यालयले बनाएको ।

पल्लो गाउँका एकहुल केटाहरू ओह्रालो लागे खेत माथिबाट । फटाफट हिंड्दैथिए उनीहरू । सुनिता लगायत प्रायः सबैले एकछिन् तिनीहरूतिर नै हेरिरहे । गीत बजीरहेको थियो मोवाइलमा । देब्रे हातले गहुँका बाला छाम्दै थिए र आँखाहरू माथिको बाटामा नै थिए । प्रायः केटाहरू उनीहरूले चिनेका थिए । सबैभन्दा पछाडि नीलो जिन्समा सुनिताकै कक्षामा पढ्ने रोल नम्बर पचास थियो ।

महेश भन्दा पनि रोल नम्बर पचासले नै चिनिन्थ्यो ऊ । किनकी एकदिन धेरै रक्सी खाएर विद्यालयमा उपद्रो गर्दा प्रधानाध्यापकले साफ चुटेका थिए उसलाई । अनि, रोल नम्बर पचास, त्यसैले पचास पटक उठबस गर्नुपर्छ लाईनमा भनेका थिए ।

प्रायः गहुँ काट्ने खेतालाहरूले उसलाई चिने । सुनिताले त अझ स्पष्ट थाहा पाइन् कि ती केटाहरू आर्मीको जागिरकालागि फाराम भर्न सदरमुकाम गएका हुन् भनेर । म पनि जान्छु भनेर अस्तिदेखि उनलाई भनेको थियो उसले । अरूले पनि त्यही लख काटे । धेरैले आफ्नो अनुमान त्यही राखे कि दश कक्षामा नै यति रक्सी खानेले के आर्मीको जागीर पाउला र त्यो रोल नम्बर पचासले । गीतका भन्दा ठूलो स्वरमा हाँसे अरू खेतालाहरू । सुनिता बिस्तारै बोलिन् । 

– वर्षमा एक–दुई पटक रक्सी खाएर के असर गर्ला र त्यत्रो ज्यानलाई !

+++++++++++++++++

महेश बोल्दै थियो । सुनिता सुन्दै थिईन् । अनि अर्कोले के सोध्यो भने .....अँ ..... पूर्वतिर फर्किएको गोरुको पुच्छर कतातिर फर्किन्छ भनेर । मैले पश्चिमतिर भनी हालेंछु । “तँ बाहिर जा भनीहाल्यो ।”  धन्न कप्तान काका त्यहीँ हुनुहुँदो रहेछ र फेरि भित्र बोलाउनु भयो । अनि उहाँले नै सोध्नु भयो, ल भन् त केटा, तँ तेरो कोठाभित्र पस्दा तेरो आफ्नै काकाकी छोरी नाङ्गै तेरै खाटमा सुतेको भेटिस् भने के गर्छस् ? यो प्रश्न उहाँले हामीलाई गाउँमा भेट्दा पनि सोध्नुहुन्थ्यो । मैले फ्याट्ट भनीहालें । “के गर्नु र, मेरी काकाकी छोरी भरखर एक वर्षकी छे  । जाडो भयो होला भनेर थाङ्नाले गुटुमुटु पारी आफ्नै काखमा सुताउँछु ।” अनि त म पास भइहालें । पर्सी तीन गतेदेखि ट्रेनिङ छ । अब दुई दिन मात्र यहाँ बस्ने । घर आउने बित्तिकै तिमीलाई भेट्न तिम्रो घर गएको थिएँ, तिमी रहिनछौ, अनि आज आएको । आउँदाखेरि केटाहरूले जागीर भएको उपलक्षमा अलिकति भएपनि रमाइलो गर्नुप¥यो भने । मैले पनि थोरै पिइहालें । माइण्ड नगर है सुनिता । सुनिता बोलिन् । 

– ठिकै छ, उमेरमा कहिलेकाहीँ रमाइलो भइहाल्छ नि !

+++++++++++++++++

कप्तान काका पछि अफिसरमा बढुवा हुने पहिलो व्यक्ति थियो महेश त्यो गाउँको । अरूहरू तल्लै पदमा सलाम ठोक्दै थिए । गाउँतिर आर्मी भन्ने बित्तिकै कप्तान काका र महेशको नै नाम लिइन्थ्यो । गाउँलेले जब महेशको नाम लिन्थे, खुशी हुन्थिन् सुनिता पनि ।

घरतिर आउँदा सुनितालाई नभेटी ड्युटी नै जाँदैन थियो महेश । दुई चार गाउँलेलाई पनि थाहा थियो यो कुरा । उनीहरू पनि थाहा पाउन् नै भनेजस्तो गरी भेटघाट गर्थे बेलाबेलामा । महेश र सुनिताको घरमा पनि बिस्तारै थाहा भयो यो कुरा । 

विदामा घर आएको बेला सुनिताका परिवारले सोधपुछ गरे दुबैजनालाई । कोही केही बोलेनन् । महेशका बुबा आमासित कुरो मिलाए र अरू दुई चार दिन विदा थप्न लगाए महेशलाई । सकेसम्म छिटो लगन जुराउँदा रातिको जुरेछ ।

विवाहको भोलिपल्ट  बेलुका विशेष पाहुना बोलायो महेशले । कप्तान काका पनि आए । भर्खरै जागिरे भएका केटाहरू, उसको विवाहमा सहयोग गर्नेहरू, रोल नम्बर उनन्चासहरू पनि थिए । खसी, कुखुराहरू देखाएरै घरमा ल्याइएको थियो र बुबा आमाले नदेख्ने गरी एउटा विदेशी सीलप्याक पनि छोपेर राखिएको थियो कोठाभित्र । रात पर्दै गयो । मासु सकिनै लाग्यो । दुलाहा दुलही पनि सँगै थिए । अप्ठ्यारो मान्दै महेशले सुनितासँग अनुमति माग्यो । हेर सुनिता ! यी मेरा अति मिल्ने हितैषीहरू हुन् । बुबा आमालाई नभनिदेऊ । धेरै पनि छैन । यति एक बोतल मात्र हो । के गरौँ त अब ? सुनिता बोलिन् ।

– आफ्नै घरमा नै हुनुहुन्छ क्यारे । आफूहरूचाहीँ होहाल्ला नगर्नुस् । बरु छिटो गर्नुस्, साथीहरूलाई घर जान अप्ठ्यारो पर्ला यति राति । 

+++++++++++++++++


सदरमुकाममा नै क्वाटर थियो महेशको । सुनितालाई पनि उतै लग्यो । हाकिम नै हाकिम बस्थे सबै क्वाटरमा । हाकिम्नी, जर्नेल्नी र साहेव्नीहरू रङ्गिन्थे प्रत्येक पार्टीमा । कसैको बढुवाको पार्टी हुन्थ्यो, कसैको विदाइको । कसैका भतिजाले जागिर पाउँथे र कसैका सालाले । पार्टी भने टुट्दैनथ्यो क्वाटरमा । सुनिताले पनि मनग्गे मेजर्नीहरू र जर्नेल्नीहरू चिनीसकेकी थिइन् । ज्यू लगाउन पनि जानीसकेकी थिइन् र स्योस्मा बानी परिसकेकी थिइन् । पार्टीमा गफ हुन्थे महिला टोलीका । प्रत्येकले आ–आफ्ना श्रीमानको प्रशंसा गर्थे । भन्थे । 

– मेरो श्रीमान खानचाहीँ खाइसिन्छ तर किनेर कहिल्यै खाइसिन्न । वाइनकै लागि भनेर एक रुपयाँ पनि खर्च गरेको थाहा छैन ।

– मेरा श्रीमानलाई धेरै चाहीँ चाहिँदैन तर एक पेग नलगाई चाहीँ निद्रै आउँदैन । फेरि थोरै मात्र हो । सानामा खेतमा लडेर ढाड ठोकिएको थियो रे त्यसैले अलिकति नखाए बिहान उठ्नै गाह्रो हुन्छ रे ।

– मेरो त एक्लै बसेर पिउनु हुँदैन भन्नुहुन्छ । साथीहरूसँग कहिलेकाहीँ सामान्य चल्छ, आजको जस्तो ।

– मेरो श्रीमानको राम्रो बानी भनेको आफ्ना लेवलकासँग मात्र खानुहुन्छ । आफूले नचिनेका र आफूभन्दा तलकासँग बसेर कहिले खानुहुन्न । 

– उहाँको त स्वदेशी र लोकल भनेपछि छुँदै नछुने बानी छ । उपहार स्वरुप विदेशबाट ल्याइदिएका मात्र खाने हो । 

– मेरो श्रीमानको मलाई मन पर्ने बानि भनेको उहाँ हार्ड ड्रिङ्स भनेपछि छुँदै छुनुहुन्न । सफ्ट चाहीँ मज्जाले चल्छ ।

– हाम्रा त जस्तो सुकै होस, मासु छैन भने छुँदा पनि नछुने । मासुसँग कहिलेकाहीँ खाँदा डाइट पनि पुग्दो रहेछ क्यार, सधैँ उस्तै देखिनु हुन्छ । 

– मेराले खाएपछि सुतिहाल्नु पर्ने । कसैलाई पनि थाहा नहुने । आनन्द ।

– मेरो उहाँ त झन् बाहिर भनेपछि कहिल्यै नखाने । पार्टी होस् कि सार्टी होस् । बरु कहिलेकाहीँ घरमा नै ल्यायो, अरूले थाहा पनि पाउँदैनन् । ढुक्क ।

– मेरो श्रीमानले त जति नै खानुहोस न, लाग्ने भनेपछि फिटिक्कै होइन । खाएको हो कि नखाएको हो पत्तै पाइँदैन । 

– हाम्रो उहाँ त यसो चाडबाड आउँदा मात्र साथीहरूसँग लिनुहुन्छ । अरूबेला खासै त्यस्तो मातेको देखेकी छुइँन ।

– मेरो श्रीमान चाहीँ यो नखाई कसैले केही काम नै गरिदिदैनन् भन्नुहुन्छ । कामका लागि, साथीसँग मिल्नकालागि र झरीमा चाहीँ बढी मन पराउनु हुन्छ । अनि सुनिता जी ! महेश सरको त कुरै गरिसिएन त । सुनिता बोलिन् ।

– उहाँको राम्रो बानी भनेको मेरो अनुमति नलिई कहिल्यै खाएको थाहा छैन । र त्यति गरे मलाई पुग्छ ।

+++++++++++++++++


साथीहरू र हाकिमहरू खबर पाउने वित्तिकै अचम्ममा परे । ड्युटीमा नपरेकाहरू र भर्खरै निवृत्तिभरण पाएकाहरू सकेजति छिटो आर्मी अस्पतालमा पुगे । इमर्जेन्सी वार्डमा भर्ना गरिएको रहेछ महेशलाई । सुनिता विरामी नजिकै बसिरहेकी थिइन् । परिचारिकाहरू वरिपरि घुमिरहेका थिए । 

ज्वरो नाप्ने, रक्तचाप नाप्ने, पिसाब जाँच्ने, रगत परीक्षण गर्ने, मुख खोल्ने, आँखा च्यात्ने, सुई लगाउने सबै काम भईसक्यो तर महेशको होस फर्केन । आइ सि यू मालगे महेशलाई । सुनिता पनि पछि पछि लागिन् । भ्यान्टिलेटरमा गयो महेश । सुनिता त्यतै हिंडडुल गर्न थालिन् ।

गाउँबाट आफन्त आइपुगे महेशका र सुनिताका । अस्पतालमा बढीजसोले सुनितालाई यही प्रश्न गर्थे कि, रक्सी त धेरै खानुहुन्न थियो । कसरी यस्तो रोग लाग्यो होला है ? सुनिता उत्तर दिन्थिन् ।

– खासै धेरै त खानुहुन्न थियो । अरूले कति खान्छन् । खै त्यति खाँदा त उहाँलाई यस्तो नहुनु पर्ने । 

+++++++++++++++++

आज महेशको तेह्रौँ पूण्य तीथि । घरभरी सुनसान अनुहारको चहलपहल थियो । काम छिट्टै सकियो । सेता लुगाका कुरा गर्न थाले कति आफन्तहरू । उपदान र सञ्चयकोषको वारेमा कुरा गर्न थाले जागिरेहरू । विमा र रक्सीको वारे प्रश्न गर्दैथिए अलिक परकाहरू ।

काममा जम्मा भएका एक हुल केटाहरू गफ गर्दै अलिक परको पसलतिर लागे र त्यहीँको दृश्य हेर्दै गफिंदै गए । जब पसलमा आएका अरू मान्छेहरू सामान किनेर गइसके, केटाहरूले साङ्केतिक भाषामा रक्सी मगाए र चाउचाउलाई सित्तन बनाए । साउजीले सम्झाउँदै भन्दैथिए । धेरैबेर चाहीँ होइन है केटा हो । मेरा रेगुलर ग्राहक आउँछन् अब । 

छिटो छिटो खाइसकेर ती केटाहरु महेशकै घरतिर गए र अरु नजिकै बसे । कसैले मुख खोलीहाल्यो । होइन हो केटा हो, आज एक दिन नखाए हुँदैनथ्यो तिमीहरुलाई  । सबैलाई थाहा छ, महेशको काल यही बन्यो भनेर । केटाहरु पनि के कम, भनीहाले । “हामी महेश दाइ जस्ता त होइनौ नि, मरुञ्जेलसम्म खाने । यति मुलाले यत्रो ज्यानलाई के असर गर्छ र ?” सुनिता पनि त्यहीँ थिइन् । केटाहरूको कुरा सुनेपछि अलिक पछाडिबाटै बोलिन् ।

– महेश सर रक्सीले बित्नु भएको होइन । फेरि उहाँ तिमीहरू जस्तो जहिले पायो तहिले, लुकी लुकी र तिमीहरुको जस्तो सस्तो रक्सी कहिले पनि खानुहुन्नथ्यो ।

+++++++++++++++++


Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...