कथाकार – पवित्रा अधिकारी
ठेगाना – अरुण गा पा, भोजपुर
नयाँ म
निकै माथि चौतारामा स्कुले
उमेरका केटाकेटीहरू भेला भएर नाटक हो वा वक्तृत्वकला हो, अभ्यास गर्दै थिए
। पाका उमेरका छ सात जना उनीहरूको क्रियाकलाप हेर्दै र सुन्दै थिए । म पनि थकाइ
मार्न त्यहीँ बसेँ एकछिन् ।
केटो ठूलो स्वरमा करायो, “आरामदायी कोठामा
बसेर रुखको पोथ्रामा चढेर, एक घुट्की झोल पिएर सजिलो मृत्युवरण मन पराउनेहरू हो
! तिम्रो मृत्यु पछि अरुलाई शान्त हुन्छ, तिम्रो बदला पूरा हुन्छ, तिमीले दिएको
माया सही हुन्छ, तिम्रा गल्तिहरु माफ हुन्छन् भन्ने तिमीहरूलाई मात्र
लागेको हो । उनीहरूलाई त्यस्तो लाग्दैन । आफैँ नष्ट हुनु भनेको हार्नु हो । तिम्रो
मृत्युमा न कसैको हार हुन्छ न कसैको जीत । यति याद गर कि, नैराश्यता सबैमा
हुन्छ ;
कसैमा अलिक धेरै
र कसैमा अलिक थोरै । फरक यति मात्र हो ।”
उही उमेरकी अर्की केटी पनि
उत्तिकै ठूलो स्वर पार्दै कराई, “बरु जाऊ न
सीमानामा र जायज युद्ध गरी रक्ताम्य भएर मर । बरु जाऊ न सगरमाथामा एक चपरी माटो थप
अनि चिसोले कठ्याङ्ग्रिएर मर । बरु जाऊ न कतै सामाजिक विकृतिको पर्खाल लडाऊ अनि
धुलाम्य भएर मर । बरु जाऊ न हातमा एक चोक्टो मासु अनि आँखाभरि माया लिएर जङ्गलमा
अनि बाघसँग ........ ।”
धेरै बेर अलमलिनु थिएन मलाई ।
सानीको परिवार भेट्नु थियो । पाका मान्छेहरूलाई फेरि सोधेँ बाटो । “यतै हो, अब आइपुग्न
लाग्यो” भने । थपे, “हाम्रो पनि बाटो
त्यतै हो ।”
पछि लागे उनीहरू पनि । गफिँदै
आए । “आजको कुरो पनि
ठिकै गरे भुराहरूले ।” अर्काले थप्यो, “अस्ति पनि ठिक
भनेका थिए । आफूले चिने जानेका र आफन्तसँग दाजिँदा पो मान्छेलाई चित्त दुख्छ त, उनीहरूका अगाडि
देखिन मन लाग्दैन त । बिस्तारै बिस्तारै कहिले पनि देखिन मन लाग्दैन र आत्महत्या
गर्छन् । त्यस्तो लाग्ने बित्तिकै त्यो ठाउँबाट धेरै टाढा र नचिनेका ठाउँमा गए, अलिकति भए पनि मन
अन्तैतिर फिरिहाल्छ कि !”
मेरो अगाडि जङ्गल देखियो ।
जङ्गलको मुखैमा मेरै उमेरका मान्छेहरू डोरीको नेट टाँगेर भलिबलमा रमाउँदै थिए ।
त्यो देखेर दिक्क लाग्यो आफैँदेखि एकछिन् । सम्झिएँ, वनारसबाट फर्किए
पछि बाको टुङ्गो छैन, घरमा एक्ली आमाको अवस्था त्यस्तो छ, दाइको यत्रो
वर्षसम्म अत्तो पत्तो छैन, छोराका मृत्यु पछि भाउजू एकोहोरो हुनुभएको छ । भएकी
एउटी श्रीमतीले छोडेर गई, कमाइका नाममा केही छैन । ऋणको व्याज बढ्दो छ, साथीभाइले मान्छे
गन्न छोडिसके । थुइक्क जिन्दगी ! कि यही जङ्गलको भीरमा हामफालेर मरुँ ?
मर्नु भन्दा बहुलाउनु निको
भन्थे,
हो रहेछ भन्दै
बौलाहा जस्तो हिँडिरहेँ जङ्गलै जङ्गल । जङ्गल सकिने बित्तिकै अर्को छेउमा सानीको
परिवार छ भन्नेसम्म सुनेँ र हिँडिरहेँ । केही समयमा नै जङ्गलको बीच बीचमा फाट्ट
फुट्ट ससाना घरहरू देखिए । सोध्दै जाँदा सानी अहिले कहाँ छिन भन्ने थाहा पाएँ ।
करिव तीस बत्तीसकी जस्ती
देखिने सानीलाई मैले त्यहाँ देख्दा, उनी सानो के को हो कुन्नी
विरुवामा पानी हाल्दै थिइन् । मेरो थोरैवेरको विस्राम पछि र एकैछिन मलाई हेरेपछि
सानीले आधि गिलास पानी खाइन् र भनिन्, “म मेरै कथाकी
प्रमुख पात्र हुँ अहिले, मेरो विगत नकोट्याइदिनुहोला ”
थोरै मुस्कुराउँदै थपिन्, “अझ खासमा भन्ने
हो भने,
त्यो कथा मैले
कथा प्रतियोगितामा भाग लिनका लागि लेखेकी थिएँ । कथा कता गयो, प्रतियोगिता कता
गयो, म भने यहाँ छु ।” अघि जस्तै
मुस्कुराइन् फेरि । “यो पनि मिलेन क्यार । अझ भनौं, म पनि कता गएँ
कता । अहिले त म कथाकी सानी मात्र हुँ ।”
“कथा मैले इमेल
गरेकी थिएँ, पासवर्ड भेट्टाएँ र सम्झिएँ भने पढ्न सकिन्छ । ‘डिप्रेसन’ शीर्षक दिइरथेँ
मैले त्यो कथाको । मैले नै पढाएका तीनजना विद्यार्थीहरूले आत्महत्या गरेका थिए
त्यो बेला । त्यस मध्ये एक जनाले गाडी दुर्घटना पश्चात् गरिवीका कारणले, अर्कीले प्रेम
प्रसङ्गका कारण र तेस्रोले परीक्षाको असफल नतिजाका कारण भने तर हो वा होइन, थाहा भएन । सानी
पनि कहिले काहीँ त्यस्तै पाराका कुरा गर्थिन् मेरो कथामा ।”
बोल्दै गइन्, “राम ! राम !
अहिले त्यस्तो छैन । यत्रो परिवार छ अहिले मेरो । अहिले त, अस्ति एक जना
डाक्टरलाई लौ न डाक्टर साहेव ! मलाई घटिमा पनि तीन सय वर्ष बाँच्ने औषधि दिनुप¥यो भनें ।
डाक्टरले पनि यसो छामछुम गरेर पानी खाने गरेकै रहेनछ, सुत्न उठ्नको
ठेगान रहेनछ, भन्नुभयो । अचेल त बाह्र पन्ध्र गिलास खान्छु दिनहुँ, यी हेर्नुहोस् त” भन्दै फेरि अर्को
गिलास पिइन् ।
मेरी कथाकी सानी पनि कहिले
कहिले त्यस्तै गर्थिन् । तर मलाई उनलाई डिप्रेसन भएको भन्ने पछि मात्र थाहा भयो ।
मलाई सोधेकी पनि थिइन् एक पटक – मैले स्वतन्त्र भएर काम गर्न
पाइनँ, मेरा कुरा सुन्ने कोही छैनन्
जस्तो लाग्छ, म के गरौँ भनेर । म ठाडो उत्तर दिन्थेँ त्यो बेला ।
म भन्थेँ, “तिमी के टापुमा
एक्लै जन्मिएकी हौ र पूर्ण स्वतन्त्र हुनलाई ? समाजमा बसेपछि समाज हुन्छ, परिवार हुन्छ, कुरा हुन्छ, सँस्कार
कुसँस्कार हुन्छ, चलन हुन्छ, नीतिनियम हुन्छ, मान्छे हुन्छन्
। उनीहरूलाई मिलाउँदै र यिनीहरूसँग मिल्दै
पो जानु पर्छ त !”
“मलाई कसैले माया
नै गर्दैन जस्तो लाग्छ” पनि भन्थिन् । म फेरि ठाडो
हुन्थेँ । भन्थेँ – अरूले माया गरिदिएपछि तिमी खुशी हुने ? ल गरेनन् रे, अब के गर्छौ ? दुःखी नै
भइरहन्छौ ? तिमीलाई चाहिने जति माया तिमी आफैँ गर न । सके
अरूलाई पनि गर सक्कि गयो नि !
एक दिन चिया गफमा सानीले गरिवीको
प्रसङ्ग पनि निकालेकी थिइन् । आफ्नो आर्थिक अवस्था न्यून भएका कारणले अरूले
हेप्दैछन् कि जस्तो लाग्छ भनिन् । मैले फेसबुके दिमाग लगाउँदै भनें –तिमीसँग त्यति
मीठो हाँसो छ, दया माया छ, गरी खानकालागि हात खुट्टा
चलेकै छन्, बेला बेलामा अरूको भलाईको पनि कुरा गर्छौ । स्वस्थ
छौ, औसत राम्री पनि
छौ, के को पीर !
अरूले जे सुकै भनुन् न, तिमीलाई ठिक लागेको तिमी गर ।
उनका कुरा सुन्दा सुन्दा म
आफैँ पनि डिप्रेसनमा जान्छु कि जस्तो लाग्यो एक दिन । उनका बारेमा धेरै सोचेँ मैले
। बिहान बेलुका राति एक्लै हुँदा पनि सोचेँ कति महिना अनि मात्र लेखेकी थिएँ त्यो
डिप्रेशन शीर्षकको कथा । आफ्नै निर्माता संझिएर मेरी पात्रले मलाई यति कुरा चाहिँ
धन्न भनिछे । यति पनि नसुनाएकी भए ! ओहो !
“कम्ति गाह्रो प¥यो मलाई सानीलाई
सम्झाउँन,
तपाइँलाई के थाहा
!” सानीले मलाई
सुनाउँदै गइन् । “त्यति माया गर्ने माइतीलाई
सम्पर्क गर्न छोडिन्, सिमकार्ड फालिदिइन्, फेसबुक बन्द
गरिन् । घरपट्टिकालाई झन वास्तै गरिनन् । श्रीमान कहाँ छ वा छैन थाहा नै पाइनन् ।
गाउँले भजन किर्तन, साथी संगी सबबाट टाढा । भन्थिन्, मलाई यसैमा आनन्द
छ । पछि रक्सी खान थालिन् वेपत्तासँग ।” “त्यो चाहीँ नखाऊ
न त” भन्यो सधैँ एउटै
जवाफ आउँथ्यो – यसमा जति आनन्द अरू केमा छ र ! अर्को बेलुका गफ ग¥यो, एक्लै बस्नुमा
जति आनन्द अरू केमा छ र ! फेरि गफ ग¥यो, अँध्यारोमा
बस्नुमा जति आनन्द अरू कहाँ छ र ! फेरि बस्यो, मृत्यु पछि त झन आनन्दै आनन्द
। आहा ! चिने जानेका कोहीसँग भेट गर्नु पर्दैन ।
म आफैँलाई दिक्क लाग्यो
सानीदेखि अनि उनको हातै समातेर यो गाउँमा छ वर्ष अगाडि ल्याएकी हुँ, उनको मनै समातेर
यो गाउँमा छ वर्ष अगाडि ल्याएकी हुँ । “तिमीलाई आनन्द
चाहिएको रहेछ होइन ? म दिन्छु आनन्द ” भन्दै त्यहाँबाट
हिँडाएँ । हिँड्ने बेलामा सानीले आफ्नो कोठाको भित्ताभरि दश पन्ध्र ठाउँ मलाई
नखोज्नुहोला लेखिन् र बेहोशीमा नै घर छोडिन् ।
अहिले हेर्नु त, मलाई जति आनन्द
कसलाई छ ! राम ! राम ! कहाँदेखि खोज्दै खोज्दै तपाइँ यहाँ आउनु भयो । अरू पनि
आउँछन् कति । अस्ति त झन एक गाडि नै आउनु भएको थियो । मेरो सबै परिवारसँग एक
हप्तासम्म बसेर, गफ गरेर जानु भयो ।
एकछिन शान्त बसिन् सानी । यसो
तलमाथि हेरिन् र भनिन् “ हिँड्नु अघि मैले सानीको
नागरिकता र सर्टिफिकेटहरू जतनसाथ प्लास्टिकमा पोको पारेर पछि भेटिने गरी बारीमा
गाडिदिएँ,
कथामा गाडिदिए
जस्तै । अब सानीको नाम थर सानीमात्र भयो । सानीको पढाइ, जन्म बोलिमा
सीमित भयो । सानीको काम गराइमा भर प¥यो र सानीको रूप हेराइमा भर प¥यो ।
कसैले नचिन्ने ठाउँमा आएपछि
सानीले थोरै समयका लागि मर्न बिर्सिछिन् क्यार । अलिक स्वतन्त्र महशुस गरिछन्
क्यार । यिनीहरुले त मेरो न्यून आर्थिक अवस्था थाहा पाउँदैनन् जस्तो लागेछ क्यार ।
चिनेका मानिससँग हत्त पत्त भेट हुँदैन जस्तो लागेछ क्यार । नचिनेका मानिसले माया
नगरेपनि चित्त दुख्दैन जस्तो लागेछ क्यार अनि सानी हाँसिन् आकाशलाई हेरेर । अनि
मैले त्यही हाँसोलाई समातेँ र सानीको आनन्दलाई अर्कोतिर तन्काउन थालेँ । सानीलाई
यो विश्वास दिलाउन थालेँ कि पुरानो तिमी मरिसक्यौ अब, गाढिइसक्यौ अब, सर्टिफिकेट गडिए
जसरी । उसको आत्महत्या भइसक्यो अब ।
सानीलाई मैले सहरको एउटा
क्याम्पसको प्रयोगात्मक कार्य गर्न आएकी हुँ भन्दै यही गाउँको पुछारमा रहेको
विद्यालयमा जान सल्लाह दिएँ । बेलुका फर्केर आउँदा सानी “नयाँ मिस” बनेर आइन् ।
राम ! राम ! त्यो दिन सम्झिदा
अचम्म लाग्छ आफैँदेखि । “भोलि पनि हाम्रो
कक्षामा आउनू है, मिस !” रे एकजना
फुच्चीले भनेको । मलाई पनि बोलाउने मान्छे रहेछन् जस्तो लाग्यो ।
भोलि पनि म गएँ स्कुलमा ।
धेरै जनाको नमस्ते खाएँ त्यो दिन, सानाको पनि र ठूलाको पनि अनि
पढाउन मन लाग्यो जीवन । छ वर्षमा मैले कक्षा भित्र भन्दा बाहिर बढी पढाएँ क्यार, विषय भन्दा जीवन
बढी पढाएँ क्यार, नम्बर भन्दा अरु नै केही पढाएँ क्यार र त मेरो
परिवार यत्रो ठूलो छ आज । कोही फेल हुँदैनन् यहाँ । सबका सब पास । सब बाँचेका छन्
।
“नमस्ते दाइ !
भोलि बिहान पाँच बजे भेला हुने है एकछिन् ।” बाटामा हिँड्दै
गरेको मानिसलाई बसी बसी सूचना गरिन् सानीले ।
अलिक पर बारीमा साग गोड्दै
गरेको एक पुरुषलाई देखाउँदै सानी बोलिन् । “उहाँ हाम्रो
परिवारको सबैभन्दा पछिल्लो सदस्य हो । हामीलाई फेसबुक पेजबाट थाहा पाएर यहाँ आउनु
भएको हो । उहाँलाई पनि पहिले मेरो जस्तै फिलिङ आउँदो रहेछ । उहाँको पनि विगत
नकोट्याइदिनुहोला । अस्ति उपचार गर्ने क्रममा थाहा पाएअनुसार ओ पोजेटिभ ब्लड ग्रुप
रहेछ । हामी सबै मिलेर उहाँलाई छ छ महिनामा एक एक पाउण्ड रगत दान गर्ने र अरु
कसैको ज्यान बचाउने सल्लाह दिएका छौँ । यहीँ बस्ने, यहीँ खाने, यहीँ काम गर्ने र
छ महिना पछि हस्पिटल गएर रक्तदान गर्ने । बाचुञ्जेल गर्ने । यही निहुँँमा हामीसँग
बस्नुभयो भने उहाँलाई हामी पक्कै निको पार्छौ ।”
चिया खाइसकेपछि सानी बोलिन्, “अहिले चिया
ल्याउने दिदी चाहिँ हाम्रो यो ‘नयाँ म’ भन्ने सँस्थाको
संस्थापक सदस्य मध्ये एक हो भने पनि हुन्छ । पेशाले नर्स हुनुहुन्थ्यो पहिले । पोइजन
लिनु भएको रहेछ । अस्पतालमा नै भएर धन्न बाँच्नु भएछ । उहाँ अहिले हाम्रो सँस्थाको
गर्भसँग सम्बन्धित सम्पूर्ण विषयको प्रमुख हुनुहुन्छ ।
विवाह नभई गर्भ बसेका कारण
आत्महत्या गर्न खोज्नेहरू, वलात्कृत भएर मर्न चाहनेहरूलाई खोजी खोजी यहाँ
ल्याउनुहुन्छ । विज्ञापन नै गर्नुहुन्छ सामाजिक सञ्जालमा । एकैपटक दुईओटा हत्या
किन गर्नु ? कतिपयले त यहाँ आएर बच्चा जन्माएर घर पनि
फर्किसके । भरे हेरौँला ती बच्चाहरूलाई ।
कति राम्रा पो छन् है !
अचेलभरि उहाँ गर्भमा छोरी
भएकै कारण गर्भ पतन गराउने सोचका दम्पतिहरूलाई यहाँ आएर बच्ची जन्माएर जानको लागि
भन्दै हुनुहुन्छ । हामी पाल्छौँ उनीहरूलाई । हामी बनाउँछौँ ठूलो परिवार । यही
विषयमा कानूनी प्रकृया बुझ्न भोलि हाम्रो सानो भेला पनि छ । तपाइँ पनि आफ्नो राय
भन्न सक्नु हुन्छ ।
मलाई चिया खाँदै गर्नुस् भनेर
सानी लागिन् बारितिर । चिया पछि म पनि सानीकै बाटो लागेँ । निकैबेर अल्मलिएँ आफ्नै
सुरमा ।
हुर्किँदै गरेको जङ्गलजस्तो
ठाउँमा थियो बस्ती । एकतले स–साना तर चिटिक्क परेका थिए
घरहरू । ठाउँ ठाउँमा ‘नयाँ म’ का वोर्डहरू
झुण्ड्याइएका थिए । प्रत्येक घरका भित्तामा एक दुई लाइन नेपालीमा लेखिएका थिए ।
महिला र पुरुषहरू एक एकओटा काममा व्यस्त देखिन्थे । बाटै छेउको एउटा घरको भित्तामा
“तपाईँहरूको कोही
छैन भने हामी छौँ” भन्ने लेखिएको थियो । म त्यही
घरतिर लागेँ । घर एकतले जस्ताको छानो भएको र सफा थियो । ढोका खुल्ला थियो तर
मान्छेको चालचोल भने थिएन । पेटिको पर्खालको ठूलो ढुङ्गामा बसेँ म । एकजना बूढा
मान्छेसहित सानी नै आइपुगिन् त्यहाँ पनि ।
परैबाट, “ए ! यता पो
आइपुग्नुभयो ?” भनी सोधिन् । बूढा बा यसो
मुस्काराउँदै घरभित्र पसे । “उहाँ अहिले त्यति
कान सुन्नु हुन्न” भन्दै सानी फेरि कथा सुनाउन
थालिन् ।
जजमानी काम गर्नुहुन्छ उहाँ ।
सुदुर पूर्वतिरको । बूढाबूढीले बाँच्न जानेका, हैट ! उहाँहरूका कुरा सुन्दा
त हामीले के नै दुःख खेपेका छौँ र जस्तो लाग्ने । पोहोर उहाँसँग गफ गरेको, हामीसँग
मिल्दाजुल्दा गफ गर्नुभयो अनि सँगै बस्न बोलाको । उहाँको नातिले पनि आत्महत्या
गरेको रहेछ । “जसले जति गाली गरेपनि एक दिन
म गतिलो मान्छे बनेर देखाउँछु हजुरबुबा” भन्थ्यो रे ।
त्यति राम्ररी कोहीसँग बोल्दैनथ्यो रे । होला तानि भन्ने सोच्नु भएछ बाले पनि, भरे .... । “बन्न सकेनछ क्यार, अरुले पनि कुरा
सुनिदिएनन् होला । ऊ पनि धेरै नबोल्ने, त्यत्तिकै ज्यान फाल्यो
मोराले” भन्नुहुन्थ्यो ।
उहाँ पनि पुराना कुरा गर्न त्यति मन पराउनु हुन्न त्यसैले तपाइँले पनि
नखोतल्नुहोला ।
अलिक अगाडिको कुरो रे, एकजना तपाइँभन्दा
अलिक जेठो मान्छेले पनि यी बासँग यस्तै कुरा गरेछन् । जानी नजानी, “सकभर त्यसो
नगर्नू बाबू । यसले कसैगरी पनि तिम्रो भलो हुँदैन । पछि तिम्रै परिवारलाई अरुले
हेप्छन्,
तिम्रो मुक्ति
पनि हुँदैन । यो भन्दा आपत अर्को जुनीमा खेप्नुपर्छ । आत्महत्याको अर्थ नै मन
मार्नु हो । ज्यान मार्नु होइन । आत्माको हत्या पनि होइन, यो मर्दा पनि
मर्दैन” भनेर सल्लाह
दिनुभएछ ।
फेरि उहाँलाई आफ्ना कुरा
खाएजस्तो लागेनछ । अनि थप्नु भएछ, “यदि तिमीलाई
त्यही ठीक लाग्छ भने कतै हस्पिटलमा गएर तिमीले के के दान गर्न सक्छौ बुझ । आँखा
दान, मृगौला दान, मुटु दान, अरु के के हुन्छ
बुझ, दान गर । यी
कुराको वास्ता तिमीलाई पो भएन त । तिम्रा कारणले अरुले जीवनदान पाउँछन् । त्यसपछि
आएर मलाई भेट । म तिम्रो दश दान, वैतरणी गराइदिन्छु । तिमी
मान्छौ भने म तिम्रो श्राद्ध नै गराइदिन्छु अनि जे मन लाग्छ त्यही गर ।”
त्यसपछि त्यो दाइ गाउँबाट
हराउनु भएछ । भारततिर गएर हस्पिटलामा नै काम गर्नु भएछ कति वर्ष । परिवारले माया
मारिसकेका थिए रे । पछि फर्केर आएछन् ती दाइ । आएदेखि नै यहीँ बासँग बस्नुहुन्छ ।
भरे यहीँ आउनुहुन्छ । हाम्रै परिवारमा हुनुहुन्छ अहिले । घरतिर जान मान्नु भएको छैन
।
गाउँभरी नै एकनाशको घण्टी
बज्यो आधा मिनेट जति । मलाई अचम्म लाग्यो । मलाई एकछिन यतै बस्ने सल्लाह दिँदै
सानी घरभित्र पसिन् । कान्ला मुनिबाट, रुख पछाडिबाट, तल्लो घरको
तल्लापट्टिबाट, मतानभित्रबाट धेरै मान्छेहरू म भएतिर आए । अघिको साग
गोड्ने नयाँ सदस्य पनि देखा परे । गर्भ प्रमुख पनि देखा परिन् । त्यत्रा मान्छे
एकैपटक आउँदा डर पनि लाग्यो एकछिन् ।
एकै छिनमा घरभित्रबाट सानी
थालीमा बत्ती बालेर बाहिर आइन् । सबैजनाले एकसाथ साँझको आरति गरे । जीवनको भजन
किर्तन गरे, जीवनको स्तुति गरे र बिस्तारै बाहिरिए त्यहाँबाट । मलाई
पनि सही ठाउँमा आएँछु जस्तो लाग्यो । म त्यही घरको पाहुना बनें त्यो रात ।
भोलि बिहान उठ्ने बित्तिकै
मैले सानीलाई भनेँ, “सानी ! यहाँ आएर तिम्रा कुरा
सुन्दा र तिम्रो नयाँ म सँस्थाको काम हेर्दा म आफै नयाँ भइसकेँ । तिमीले भनेजस्तै
म कसैको पनि विगत कोट्याउँदिन । म पनि अरूजस्तै तिमी, दाइ, बासँगै यहीँ बस्न
चाहन्छु । तिमी ...... तिमी नयाँ मसँग दोस्रोपटक विवाह गर्छौ ?”
Comments
Post a Comment