पाँच मिनेटको प्रेम (लघुकथा)
बाग बजार, पुतलीसडक, रत्नपार्कतिर दिनभर घुम्दा घुम्दा र एउटा पनि काम नबन्दा म लखतरान भएको थिएँ । गर्मी पनि उस्तै थियो त्यो दिन । मान्छेको भीड उस्तै थियो सडकतिर र गल्लीतिर ।
चैत वैशाखका दिन न हुन् । सारै लामो लाग्यो त्यो दिन मलाई अझ । सायद काम नबनेर पनि हुन सक्छ । बेलुका पाँच बजे धुलिखेल फर्किने तयारी गरेँ । सडक छेउमा पोलेका मकै खाँदै हिँड्दा कतिखेर बसपार्क आईपुगेँछु थाहै भएन ।
“दाइ धुलिखेल हो, यता है यता” “पहिले यो जान्छ है” यस्तै भन्दै थिए सहचालकहरु । आफूलाई भने धुलो धुवाँ र थकानले दिक्क बनाएको थियो । म उनिहरूका कुरा सुन्दै नसुनी निकै परको गाडिमा गएर बसेँ । मलाई केहीको हतार थिएन, मात्र बसमा सिट चाहिएको थियो, धुलिखेलसम्म जान ।
म बसेको पाँच सात मिनेट पछि त्यो गाडीको पालो आयो । मान्छेहरू एकैछिनमा खचाखच भरिए । गाडी गुम्म भयो । टाँ टाँ र टिँ टिँ सुरु भयो । सिँहदरबारसम्म आएको थाहा पाइरथेँ । त्यसपछि निदाएँछु ।
एकैचोटि बनेपा आईपुगेपछि पो आँखा खुलेछन् । बल्ल ६ः३० भएछ, उज्यालै थियो । निद्रा र मकैले ज्यानमा फुर्ति पनि ल्याइदिएछ । म उसै ओर्लिएँ त्यहाँ एकछिन्, गाडी रोकुञ्जेल खुट्टा तन्काउन । त्यहाँबाट धुलिखेल जाने मान्छेको धुइरो थियो । एकछिन पछि म पनि चढेँ त्यही गाडीमा । मेरो सिटमा अरू कोही बसिसकेको थियो । मैले वास्ता गरिनँ । पाँचै मिनेटको बाटो न थियो अब । उभिएँ म त्यतै प्यासेजमा । ठेलमठेल भयो एकै छिनमा ।
“बाटो खाली गरिदिनू है दाजु । ओ दिदी एकापट्टि मात्रै फर्केर बस्नु न”, सहचालक बाहिरैबाट कराउँदै थियो । “तिमी नै आऊ न, अब भरियो जाऊँ” भन्दै थिए यात्रुहरू भित्रबाट । म भने बाङ्गिएर त्यतै उभिएको थिएँ ।
अचानक ढाडमा कसैले स्पर्श ग¥यो मलाई । मैले त्यो पनि वास्ता गरिनँ । मान्छेहरू अझ थपिँदै गए र म झन् पेलिँदै गएँ । यसो टाउको फर्काएर पछाडि हेरेको मलाई स्पर्श गर्ने कुनै महिला रहिछिन् भन्ने मात्र थाहा भयो । पहेँलो कुर्तामा थिइन् उनी । उभिँदा उनको टाउको मेरो घाँटीसम्म आउँथ्यो । अगाडितिर फर्किएर उभिएकी रहिछन् । मैले उनले थाहा नपाउने गरी फेरि हेरेँ उनलाई पछाडिबाटै । सलक्क परेको जिउ थियो । सिल्की कपालको चुल्ठो बानेको थियो, शायद गर्मीले होला ।
अचानकको त्यो स्पर्श प्यारो लाग्न थाल्यो अब मलाई । अगाडिको ढोकाबाट अझै मान्छे थपिए हुन्थ्यो जस्तो लाग्यो मलाई । दिउँसो पनि गर्मी नै थियो तर अहिलेको न्यानोपन अर्कै प्रकारको थियो, प्यारो गर्मी थियो । पिच बाटो नभइदिएको भए, धुलिखेल सम्मको दूरी लामो भइदिएको भए जस्ता कल्पनाहरु मनमा आउन थाले । हुने नहुने स्वप्निल योजना बने एकै छिनमा । प्रेमिल सोच बने उभिई उभिई ।
तर सोचेजस्तै सधैँ कहाँ हुन्छ र । एकै छिनमा गाडी धुलिखेल पुग्यो । मान्छेहरु ओर्लिन थाले । उनी पनि बिस्तारी बिस्तारी अघि बढ्न थालिन् ओर्लिन र मेरा सपनाहरू पनि उनीसँगै ओरालो लागे । गाडी भाडा हातमा लिएर म पनि उनको पछि लागेँ ।
एकपटक अनुहार चाहिँ पक्कै हेर्छु वा धुलिखेलतिर फेरि देख्छु कि जस्तो लाग्यो र अलिक लामा पाइला चालेँ पहेँला कुर्तातिर ।
“ए ! तपाईँ पनि यही गाडीमा हो ? कि अर्कैमा हो ? राम राम ! यसमा त कस्तो भीड, हैट !” भन्दै उनी मसँगै टाँसिन आइपुगिन् । मेरी श्रीमती पो बनेपातिर गएकी रहिछन् किनमेल गर्न अस्तिमात्र किनेका पहेँला कुर्ता सुरुवाल लगाएर ।
Comments
Post a Comment