अवतारीसँगको भेट
धुलिखेल
बसपार्कबाट आधा किलो तिते करेला लिएर कोठातिर फर्किदैँ थिएँ हिजो बेलुका करिब पाँच
बजेतिर । चप्पल लगाएर अल्छि पाराले लखर लखर हिँड्दै थिएँ सडक किनारमा । एक हातमा
तिते करेलाको झोला र अर्को हातमा बाह्र सयको पुरानो मोबायल थियो । श्रीमतीले अरु
केही किन्न सम्झाउलिन् भनेर हातमा नै बोकेको मोबायल थिएँ ।
अलिक वर नयाँ
बन्दै गरेको घरनेरि आईपुगेपछि एकजना मान्छे भेँटेँ । पातलो पातलो लामो लामो कपाल
भएको र करिब २५,२६ वर्षको देखिने । चिनेचिने
जस्तो पनि लाग्यो मलाई र सोधिहालेँ । “चिने जस्तो लाग्यो
र बोलेको है दाई । हामी कहिल्यै भेट भएको थियौँ पहिला ? म त बिर्सिहाल्छु
छिट्टै ।”
“खै । हुन पनि
सक्छ । म पनि उस्तै छु । नचिने पनि केही फरक पर्दैन । फेरि चिनजान गरौँ न” उसले भन्यो ।
मान्छे मिजासिलो नै लाग्यो मलाई ।
मैले मेरो
सामान्य परिचय दिएँ । शिक्षक हुँ, भोजपुरमा
जन्मिएको हुँ भने । ऊ अझ मसँग नजिकिएर कुरा गर्न थाल्यो । ऊ पनि भोजपुरमै जन्मिएको
रहेछ ४२ वर्ष अघि । भोजपुरकै गाउँको कुरा गर्यौँ एकछिन् । मेले सोधेँ, हेर्दा त ४२
वर्षको जस्तो देखिनु हुन्न त ?
उसले हाँस्तै
भन्यो “यो मेरो दोश्रो अवतार हो । म अवतारी
हुँ । म अहिले २४ वर्षको छु ।”
डर लाग्यो मलाई ।
उसको अनुहार पनि हेर्न सकिनँ एकछिन । बोली पनि अड्कियो । शायद ऊ यस्ता कुरामा बानी
परेको थियो अनि आँफैँ बोल्यो, “अचम्म मान्नु
पर्दैन दाई, यस्तो हुन्छ ।”
डर त अझै थियो
मनमा । त्यही पनि के गर्ला र यसले भनेजस्तो लाग्यो । मैले खासमा अवतारी हुन्छन्
भन्ने मात्र सुनेको थिएँ । भेटेको थिइनँ । भेटेको बेला गफ गरौँ गरौँ जस्तो
लाग्थ्यो मनमनै । तर यो सब नभेट्दा खेरिको कल्पना मात्रै रहेछ । अलिक गफ गरुन्जेल
हामी धेरै माथि आईपुगेका थियौँ ।
कुरा अगाडी
बढाउँदैँ मैले फेरि सोधेँ, “अनि तपाईँ
अघिल्लो जन्ममा भएका सब कुरा सम्झिनुहुन्छ त ?”
उसले मलाई चिया
खाँदै गफ गर्ने हो त एकछिन ? भन्ने
प्रतिप्रश्न ग¥यो । मलाई ऊसँग होटेलभित्र
जान मन लागेन र ईसारा गर्दै ट्रक पार्किङ्गको घुम्ति चिया पसलतिर बसौँ न त एकछिन्
भने । त्यतै गयौँ र दुध चिया बनाइदिन भन्यौँ । ती साहुनीसँग मेरो सामान्य चिनजान
पनि थियो । मलाई त्यति डर पनि नहुने त्यहाँ ।
म हिजो अस्ति
आफैँले देख्दाखेरि पनि वास्तै नगर्ने छिमेकिलाई परैबाट अमुक अभिभादन गर्थेँ त्यहिँ
बसिबसी ता कि अवतारीलाई लागोस् यसका चिनजान धेरै रहेछन् यतातिर ।
गफको क्रममा उसले
भन्यो “यो अवतारको कुरै नगरौँ ।
अहिले म २४ वर्षको छु तर आज भन्दा २५,२६ वर्ष अगाडी
पनि म यस्तै थिएँ । ठ्याक्कै यस्तै । यसरी नै हिँड्थे तर ठाउँ अर्कै थियो । यस्तै
बोल्थेँ तर साथी अर्कै थिए । यत्रै थिएँ, अग्लो पनि र
दुब्लो पनि । राजनितिक, सामाजिक र आर्थिक रुपले पनि
यस्तै थिएँ । अहिले पनि उस्तै छु । उ बेलाको गाउँको कुरा पनि सम्झिन्छु र अहिलेको
शहरको कुरा पनि सम्झिन्छु ।”
धेरै गफ भए चिया पिउन्जेल । उसका अनुसार उसमा
पहिलेमा र अहिलेमा खासै परिर्वतन भएको
छैन ।
झ्याप्पै साँझ
पर्न लागेकाले भोलि पनि यतै भेटेर चिया पिउँने सर्तमा त्यहाँबाट निस्क्यौँ । मेरो
कोठा आइपुग्न लाग्दासम्म हामी सँगै थियौँ । मसगैँ किन आएको होला यो मान्छे जस्तो
पनि मलाई लाग्यो । छोरीले कोठैबाट देखिछे मलाई र बोलाई, “बाबा कति ढिलो
आउनु भएको ?”
म झसङ्ग भएँ ।
हतार हतार मेरो अवतारी साथिलाई म भित्रै लुकाएँ र भनेँ, “एकजना साथी
भेटियो बाटोमा अनि ढिलो भयो छोरी ।”
“को साथी ? कहाँको साथी ? सर हो ?” भनेर सोध्दै थिई
। मैले उसै “हो ।” भनेर टारीदिएँ ।
ऊ पनि सर नै हो क्यारे !
Comments
Post a Comment