शक्तिको पुजारी
त्यसवेला म बाह्र कक्षामा पढ्थेँ । लुगा कपडा ठिकैका थिए तर ज्यानमा मकै भटमास र पानी मनग्य लागेको थियो । दिनहुँ घरमा पाञ्चायनको पूजा हुन्थ्यो । म प्रायः टीका लगाएर स्कुल जान्थेँ ।
त्यो उमेरमा र ती साथीहरूबीच हुनेकुरा भनेका पिटाइ खाने, जिस्क्याउने, कुदी खेल खेल्ने, मौसम अनुसारका फल चोर्ने,
धेरै नम्बर आए अरुलाई सिकाइ टोपल्ने आदि हुन्थे । कक्षामा सबैलाई सबैको बानी व्यहोरा थाहा थियो, व्यक्तिगत पनि र घरायसी पनि ।
घरको कामले एक दिन विद्यालय गइन । भोलिपल्ट सरले सोधेको उत्तर मलाई आएन । उहाँले कुट्नु त भएन तर कता कता नराम्रो लाग्यो । चौथो घण्टीमा पनि पढ्नतिर ध्यान लागेन । खाजाको समयमा पनि त्यसै बरालिँदै माथिको कुवासम्म पुगेँछु । फर्किँदा चण्डिकासित भेट भयो । उनी पनि माथ्लो चौरमा साथीहरूसँग खाजा खान गएकी रहिछन् । सँगै झ¥यौँ एकछिन् अनि उनी उनका साथीसँगै मिसिएर कुदिन् गुटुटु ।
बाटामा सरहरू कराउँदै हुनुहुन्थ्यो,
“यी दश कक्षाका केटीहरू कति कुदेका । खुट्टा भाँच्छन् अनि थाहा पाउँछन् !” म एक्लै झरेँ बिस्तारै । त्यो दिनका बाँकी घण्टीहरू त्यसै बिते । वेला वेलामा त्यो उत्तर भन्न पाएको भए कति राम्रो हुन्थ्यो,
उनीसँग अझ बढी गफ गर्न पाएको भए कति राम्रो हुन्थ्यो जस्तो लाग्यो । घर जाँदा पनि तिनै कुरा खेलाउँदै हिँडेछु ।
भोलिपल्ट पनि त्यस्तै भयो । उत्तर नै आएन । अलिक बढी निराश भएँ त्यो घण्टीमा । दश कक्षातिर हेरेँ झ्यालबाट । उनैलाई देखेँ । खै को साथीसँग हाँस्तै रहिछन् । अनौठो लाग्यो त्यो हाँसो मलाई । राम्रो थियो तर त्यसरी पनि हाँस्न सकिने रहेछ जस्तो लाग्यो ।
ती दुई दिनका घण्टीको कुरा सम्झिदा स्कुलबाट भागेर कतै गइहालौँ जस्तो भयो, फेरि त्यो हाँसो सम्झिदा एकछिन् बसौँ कि जस्तो पनि लाग्यो । त्यो दिन स्कुलबाट घर जाँदा दुष्ट मन्त्रीका कारण विरक्तिएका राजा सुरथ जस्तै गरी घर हिँडे म, बिस्तारै र टोलिँदै ।
मेरो कक्षाको एउटा साथी पनि हातमा एउटा सिर्कनु बोकेर बाटो वरपरका सुँगुरेका मुन्टालाई हिर्काउँदै आउँदै रहेछ । मैले त्यत्तिकै,
किन ढीलो आयौ त भनी सोधेँ ।
“खै ढीलो भइहाल्यो । आज दोस्रो घण्टीमा सरले नम्बर सुनाउनु भएको तिमीलाई पनि थाहा छँदै छ । म त फेरि पनि पहिलाको जस्तै भएँ । पास भन्ने कहिल्यै सुन्न पाइएन । घर जान पनि मन लागेको छैन”, उसले भन्यो ।
उसको कुरा सुन्दा र अनुहार हेर्दा मलाई त्यतिवेला धन, पुत्र र पत्नी बिहीन व्यापारी समाधीको सम्झना आयो । अहिले हामी हिँडे जस्तै हिँडेका थिए होलान् ती सुरथ राजा र व्यापारी समाधी मेधा ऋषिको आश्रम जाने क्रममा ।
म घर पुग्दा त उनी उहिल्यै आफ्नो घर पुगेर लुगा फेरेर तल खेतमा पुगिसकेकी रहिछन् । स्कुलका भन्दा अरु लुगामा भएर होला अझ बढी ठूली देखेँ मैले उनलाई,
त्यो पनि परैबाट । उमेरको दीव्य गहनामा टाडैबाट टल्किएकी थिइन् । देहमा कान्ति परैबाट देखिन्थ्यो ।
म त्यतै घरतिर डुल्दै,
तलको धारो र मतान हेर्दै,
मकै भटमास खान थालेँ । साह्रा भए पनि स्वादिला थिए । अन्त्यमा चिसो पानी पिएँ र घरभित्र पसेँ । कोठाको झ्यालबाट उनी भएतिर नै आँखा पुगेछन् । बाहिर आएँ र डाले घाँस काट्ने बहानामा खुकुरी बोकेर उनी भएतिरै कुदेँ ।
हुन त म उनीभन्दा टाडै थिएँ, सायद उनले मलाई देखेकी पनि थिइनन् होला तर मलाई भने जति पाइला सार्थें उति नै शरीर फुलेजस्तो हुँदै गयो । बिस्तारो नै हिँड्दा पनि दमको रोगी जस्तो सास बढ्दै गयो । सयौँ पटक हिँडेको बाटोमा हिँड्दा पनि अचानकको रौनकपन जन्मियो ममा जसरी देवताहरूको कार्य सफल पार्न महामाया अचानक जन्मिएकी थिइन् । त्यस्तै भयो र अचानक भयो ।
डर लाग्यो आफँैदेखि एकछिन् तर पनि उनीतिरै हिँडिरहेँ । किन, के गर्न, के ल्याउन वा के भन्न जाँदैथिएँ पनि बिर्सिएँ तर गइरहेँ । धारो कटेँ, मतान कटेँ । उनी नजिकै पुगेँ । पुग्ने वित्तिकै मलिन स्वरमा भनें,
“फर्किँदा सँगै फर्किनु पर्छ है, पर्खंदै गर ।” उनले हुन्छ भनिन् ।
म कुदेँ । अलिकति घाँस झारेजस्तो गरेँ र हतारिँदै बाटामा निस्केर पर्खें । कसैलाई पर्खिंदा सायद पर्खिनु भन्दा अर्को काम हुँदैन क्यार त्यसैले धेरैबेर पर्खे जस्तो लाग्यो । रीस पनि उठ्यो । के के सोचेर अझै पर्खें । झमक्कै भइसक्यो तर उनी आइनन् । सायद अर्कै बाटो गइछन् अनि म पहिलो पटक ठगिएर हारेँ जसरी मधुकैटभ आफ्नै बोलिका कारण ठगिएर हारेथे, जाली विष्णुद्वारा ।
हार्नुको मजा नै बेग्लै हुँदो रहेछ । असफलता अनौठो हुँदोरहेछ । घर पुगेपछि म एकदम रिसाहा भएँ । घाँस त्यतै फालिदिएँ,
खुकुरी त्यतै मिल्काइदिएँ बाटामा । बेस्सरी ढोका खोल्दा झण्डै भाँचियो आग्लो साग्लो पनि । खुट्टा नधोई सीधै गएर पाहुना आउँदा बुबा बस्ने ठाउँमा गएर बसेँ,
मानौँ म नै बुबा थिएँ अहिले त्यो घरको ।
यो बेला म महिषासुर जस्तो भएको थिएँ । दैत्यराज बराबर रिस उठेको थियो मलाई । कतै इन्द्र हुँदो हो त उसलाई पछारेर म बस्थेँ त्यो स्थानमा । अनि नचाउँथेँ अप्सराहरूलाई मेरै अगाडि । अग्र पङ्तिमा भने उनैलाई स्थान दिन्थेँ ।
कति रमाइलो हुन्थ्यो मगन्ते इन्द्रले भीख माग्दै गरेको सुन्दा कि “हे भगवान ! मलाई इन्द्राशन फर्काइदिनुस् ।” कति मलीन अनुहार पारेर माग्थ्यो होला । अघि मैले
“फर्किँदा सँगै जानुपर्छ है, पर्खंदै गर” भने जस्तै गरेर ।
अनि देवताहरूले तेजको थुप्रोबाट प्रकट पार्ने थिए एक नारी रुप ! विष्णु कृपाबाट
हात, शंकर कृपाबाट मुख, यमराज कृपाबाट कपाल, चन्द्रमा कृपाबाट स्तन, इन्द्रबाट कम्मर बरुणबाट तिघ्रा,
पृथ्वीबाट नितम्ब, ब्रह्मबाट गोडा, सूर्यबाट औँला,
कुबेरबाट नाक, दक्षप्रजापतिबाट दाँत,
अग्निबाट आँखा, सन्ध्याबाट आँखिभौँ,
वायुबाट कान अनि यस्तै अन्य देवताहरूका कृपाबाट एकएक अङ्ग निर्माण गरी फेरि प्रत्येक देवबाट एक एकओटा अस्त्र प्रदान गर्दाहुन् उनै अङ्ग सुहाउँदा र म महिषासुर समानसँग युद्ध गर्न पठाउँदा हुन् ।
यी र यस्तै कुरा सोच्दै बित्यो त्यो रात । बिहान स्कुल सम्झेँ । आज मलाई केही नसोधिदिए हुन्थ्यो सरहरूले जस्तो लाग्यो । उठेर मुख धुन धारामा गएको त उनी नै रहिछन् । मुख धोइसकेर नपुछी पानी भर्दै रहिछिन् गाग्रीमा, साथीसँग हाँस्दै,
गफ गर्दै रहिछन् । उही हाँसो थियो तर अट्टहास भने थिएन,
त्यो हँसाइले समुद्र छचल्किएको थिएन तर मेरो मन छचल्किएको थियो ।
हिजो बेलुका मलाई नपर्खिएको रिस सम्झदै उनैतिर गएँ । उनले म तिर हेरिन्,
यसरी हेरिन् कि हिजो मलाई रिस उठाउनु पनि उनको नियत नै थियो । एकै हेराइमा अनेक प्रश्न गरिन् उनले,
अनेक अस्त्र फालिन् ममाथि । अब पो मलाई थाहा भयो कि उनले त हिजो अस्ती देखि नै म विरुद्ध युद्ध सुरु गरिसकेकी रहिछन् भनेर, मेरो महिषासुरी रुप हेर्न चाहेकी रहिछन् भनेर ।
मैले जवाफी हेराइ फर्काएँ उनीप्रति । अनि थाहा भयो कि यी त उनै रहिछिन् । यमराजको कपाल, इन्द्रको कम्मर,
चन्द्रमाको स्तन आदिबाट उत्पन्न गराइएकी नारी रुप !
त्यो रुपको दर्शन भएकोमा म गौरवान्वित थिएँ । म उनी नजिकै गएँ । गाग्री भरिइसकेको थियो र म नजिकै पुग्दा उनका साथीहरू त्यहाँबाट हिँडिसकेका थिए । विना गफ हेराहेरको शक्ति प्रदर्शन भयो हाम्रो त्यही धारामा ।
उग्र रिसाहा राँगोको हेराइ थियो यतापट्टी र सिङ्गै निलुँला जस्तो भोकी बघिनीको हेराइ थियो उतापट्टी । मेरै मदबाट भएको थियो आजको हेराई । लखेटेँ पर मतानसम्म । एकान्त स्थल भेटेपछि उनलाई थप बल प्राप्त भएछ, आक्रमण गरिन् ममाथि ।
उदयकालीन हजारौँ सूर्यको समान कान्ति भएकी,
रातो रेशमी कपडा लगाएकी, अनुहारमा चन्द्रमाको टलक लगाएकी,
स्तनमा रक्त चन्दनको लेप लगाएकी उनले मैले जुन जुन अस्त्र फाल्थेँ सोही सोही अस्त्र फालेर युद्ध गरिन् ।
दुवै जना स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ भइसक्यौँ तर थकावटको चिन्ह कतै देखिएन धेरै बेरसम्म । शंख, मृदङ्गादिको आवाज गुञ्जियो, त्रिशूलादिले छातिमा प्रहार भयो, त्रिनेत्राद्वारा आक्रमण भयो । कम्मर भाँचिएला जस्तो भयो, मतान भित्रका खर पराल मडारिए, वरपरका ससाना विरुवाहरू पिल्सिए । हात खुट्टा गले तर युद्ध निरन्तर भयो । दुबैका पसिना छुटे तर चित्कार र हुँकार निरन्तर भयो । ॐकार निरन्तर भयो ।
लाग्यो, म भन्दा आठ गुण शक्तिसाली थिइन उनी । लाग्यो, मलाई जित्नकै लागि जन्मिएकी रहिछिन् उनी । म गलेँ, थाकेँ, हारेँ । मेरा सम्पूर्ण अङ्गहरू छिने जस्ता भए । लाग्यो,
म दोस्रो पटक काटिएर मारिएँ जसरी महिषासुर मरेथ्यो शक्तिसाली चण्डिकाद्वारा काटिएर ।
युद्ध सकियो । उनी सन्तुष्ट भइन् । म मोक्ष भएँ । देवता खुशी भए र पुष्पवृष्टि गरे । सेतो पुष्पको वृष्टि भयो, नदेखिएको स्वर्गबाट नदेखिने पृथ्वी गर्भमा वृष्टि भयो । आवाज परिवर्तन भयो । छन्द परिवर्तन भयो । मैले छोटा वाक्यमा उनैलाई स्तुती गरेँ ।
हे चण्डिका
! मदेखि प्रसन्न होऊ । मेरो सम्झना हरबखत तिमीलाई नै होस् । मर्ने बेलासम्म तिम्रै सम्झना आवस् । तिमी सधैँ यस्तै जवान रहनू । मेरो यो प्रकारको कष्ट सधैँ तिमीले नै नास गरिदिनू । मेरो मोक्ष प्राप्तिको साधन तिमी नै बनिदिनू । म भित्रका महिषासुरहरू तिमीले नै मारिदिनू । मैले चाहने बित्तिकै तिमीले दर्शन दिनू ।
उनले हिजो स्कुलको झ्यालबाट हाँसे जस्तै हाँसिन् र तथास्थु भनिन् । मैले यस्तै अरु के के मागेँ । उनले पुनः तथास्तु भनिन् र मतान बाहिर निस्किएर मैले हेर्दा हेदैँ अलप भइन् ।
लरखरिदै उठेपछि अब सरले सोधेका धेरै प्रश्नहरूको उत्तर दिन सक्छु जस्तो लाग्यो मलाई । अब मैले निन्याउरो अनुहार लिएर कक्षामा बस्नु पर्दैन जस्तो लाग्यो ।
भित्र भित्रै पखालिइसकेको म धारामा आएर बाहिर पनि पखालिएँ । उनको गाग्री त्यता थिएन । हुन त अहिले मलाई चाहिएको पनि थिएन । म घर गएँ र सकेजति सामान्य बने ।
चार पाँच दिनसम्म घरतिर र स्कुलतिर कतै देखिन उनलाई । अरूलाई सोध्ने आँट पनि गरिन । नदेखेको धेरै दिन भएपछि म अलिक बेचैन जस्तो भएको थिएँ । एक पटक हेर्न पाए मात्रै हुन्थ्यो जस्तो लाग्यो । उनका घरतिर गएर घुमाउरो तरिकाले बुझ्दा मावली गएकी रहिछन् र अब छिट्टै आउनेवाली रहिछन् भन्नेसम्म थाहा पाएँ । उनको मावलीबाट फर्कने बाटो हाम्रै घरको थियो । हाम्रो घरबाट ठाडै उकालो,
लगभग एकदिनको बाटो थियो उनको मावली गाउँ ।
मेरो दैनिकी अब थोरै परिवर्तन भयो । स्कुल सकेर घर आउने वित्तिकै म खुकुरी लिएर घरभन्दा माथि जङ्गलतिर जान थालेँ स्याउला काट्न,
सोत्तर हुन्थ्यो गाई वस्तुलाई । झमक्कै साँझ नपरी घर आइपुग्दिन थिएँ । प्रत्येक बेलुका घरमाथिको जङ्गलमा हुन्थेँ म । एक दिन आइनन्, दुई दिन आइनन् तर सधैँ नआएर कहाँ हुन्थ्यो र ।
म निकै अग्लो रुखमा थिएँ । माथिको ठूलो ढुङ्गाको चौताराबाट कोही झरे जस्तो देखेँ । काट्ने काम बन्द गरेँ र त्यतैतिर हेरेँ निकैबेर । उनी झर्दै थिइन् एक्लै । कहिले रुखले छेकिन्थिन्, कहिले देखिन्थिन् । मैले हेर्दाहेर्दै निकै तल झरीसकेकी थिइन् ।
सेतो हिमाल मुनि, हरियो पहाडमा,
गोधुली साँझमा, सेता कुर्था सलवारमा ओह्रालो झर्दा लाग्थ्यो उनी नै परम् सुन्दरी पार्वती हुन् जसले आफ्नो लावण्यद्वारा सिङ्गो पहाडलाई चम्काइरहेकी छिन् यो बेला । यस्ती पहाडपुत्रीलाई मैले कहिल्यै अनुभव गरेको रहेनछु । “सम्झने बित्तिकै दर्शन दिनू” भन्दा तथास्तु भनीरथिन्, हो रहेछ । आज दर्शन भयो फेरि त्यो रुपको र यो परिवेशमा । म निशब्द बसिरहेँ रुखमा । उनी ओह्रालो लागिन्, हाम्रो घरको माथ्लो पाटोबाट उँधो ।
बेलुका सुत्ने बेलामा असाध्यै सम्झना आयो उनको । साँझमा चण्डमुण्डरुपी मेरा दुवै आँखाले देखेका दृश्य निरन्तर मेरो दिमाखमा पठाइरहे र मलाई उक्साइरहे । मलाई सम्बोधन गर्दै भन्थे,
“हे शुम्भराज ! यस्ती परम् सुन्दरी कल्याणकारी स्त्रीलाई तपाइँ अधीनस्थ गर्नुस् । उनका लागि तपाइँ भन्दा उत्तम बर अरू कोही छैन, वरण गर्नुस् ।”
उनीहरूको उक्साइ र मेरो कल्पनामा नै उनी आएर उनले म भित्रका मनग्य रक्तवीजहरूको क्षणमा नै वध गरिन्,
मलाई सशरीर कमजोर पारिदिइन् रातारात ।
बिहान सबेरै धारातिर गएँ । निकै मान्छेहरू जम्मा भइसकेका रहेछन् । पालो कुर्नुपर्ने भयो एकछिन् । उनी पनि आइपुगिन् अस्तिको गाग्री बोकेर । जानी जानी मैले मेरो पालोमा अरूलाई अघि बढाएँ ।
सामान्य गफ गाफ अरूकै अगाडि गरेँ । दुबैजनाले पानी भरिसकेपछि मैले प्रस्ताव राखेँ । हेर चण्डिका
! अस्तिको दिनदेखि आजसम्म मैले के जाने भने मेरो चेतना,
बुद्धि, नीद्रा, सुधा, शक्ति, तृष्णा, क्षान्ति, श्रद्धा, कान्ति, लक्ष्मी, स्मृति, तुष्टि, दया सबै तिमी नै रहिछ्यौ । मेरा इन्द्रियकी अधीष्ठात्री र मेरी चैतन्या तिमी नै रहिछ्यौ । तिमी विना म म रहन्न त्यसैले तिमी अब सधैँकालागि मेरी होऊ । यो प्रस्ताव अस्वीकार नगर है ।
हाँस्दै सुनिरहिन् मेरा सबै कुराहरू र भनिन्, “अस्ती तिमीले हारेको हेइन मतानमा ? हरुवा कहीँ नभएको ! म त्यतिबेला तिमीलाई स्वीकार्छु जतिबेला तिमीले मलाई युद्धमा जित्छौ । अब आउँदा अझ दह्रिलो हतियार लिएर,
कडा ढाल लिएर आउनू । आऊ, युद्ध गर, जित र आफ्नी बनाऊ ।” बोलि सकिनासाथ गाग्री बोकेर हाँस्दै उकालो लागिन् घरतिर ।
उनले किन हाँसेकी थिइन् त्यो उनैलाई थाहा होला तर मलाई युद्धका लागि लल्कारे जस्तो लाग्यो । “हरुवा” शब्दले म भित्रको शक्तिलाई दोब्बर बनाए जस्तो लाग्यो । मेरा आँखामा रीसको धुवाँ यति पलायो कि म धुम्रलोचन सरह भएँ । म अघि बढेँ र उनको गाग्री खोसेर धारामा लगेर राखिदिएँ । उनले मतिर हेरिन् र मेरो रीसलाई यसरी जलाएर खरानी पारिन्
कि जसरी देवीले धुम्रलोचनलाई छुँदै नछोई खरानी पारेकी थिइन् ।
अनि उनले लखेटिन् मलाई । म जानी जानी फेरि उही मतानतिरै भागेँ, अनि छेडियो शक्ति प्रदर्शन सहितकोे दोस्रो महायुद्ध !
दुवैजना विपक्षीको युद्ध कौशलको बारेमा जानकार भइसकेका हुनाले सुरुमा नै दिव्य अस्त्रको प्रयोग भयो दुवैतिरबाट । मेरा झिना मसिना अस्त्रहरू त उनले आफ्नो लिलाद्वारा नै काटिदिन्थिन् । एक हातमा ढाल र अर्को हातमा मुशल लिएर म जाइलागेँ । सिङ्गो शरीरभरि विद्युत समान तेज लिएर उनी ममाथि आइलागिन् ।
दुबै तर्फका तीखा र धारिला हतियारहरूको टकराव परपर सम्म सुनिन्थ्यो । कसलाई, कहाँ र कति चोट लाग्यो कसैलाई थाहा भएन । युद्धभूमि रक्ताम्मे भयो । बेहोशीमा पनि युद्ध भयो । मेरो निशुम्भपनले हुत्याएर उनलाई आकाशसम्म पु¥यायो । म दङ्ग भएँ तर आकाशमा नै उनले अत्याधिक बल प्रयोग गरिन् र त्यो प्रहार सहन नसकी सम्पूर्ण पृथ्वीलाई कम्पायमान गर्दै म लडेँ जसरी पार्वतीको प्रहारद्वारा निशुम्भ लडेथ्यो रणभूमिमा ।
उनको सामू म सकिएँ, म फेरि हारेँ । मेरो मोक्ष पश्चात मेरा देवताहरू हर्ष विभोर भए । अनि पुनः स्तुति गरेँ । हे बलशालीनी ! हे मोक्षदाता
! हे ऐश्वर्यरुपिणी ! हे गुह्य महाविद्या ! हे सर्वशक्तिसम्पन्ना
! हे शास्त्रचर्चिता र हे सृष्टि रचयिता ! यो धर्तीमा म अडिने एकमात्र ठाउँ तिमी नै हौ, मलाई तृप्त पार्न सक्ने शक्ति तिमीमा नै छ । तिमी खुशी हुँदा मेरा सबै रोगहरू नीको हुन्छन् । हे दयासागर
! म देखि सदैव खुशी हुनू,
युगौँ युगसम्म साथ नछोड्नू ।
उनले हाँस्दै तथास्तु भनिन् र फेरि अलप भइन् ।
हारेको,
थाकेको र डराएको म बिस्तारै मतान बाहिर आएँ । एक हातले दाँत माझ्दै र अर्को हातले सुँगुरेका मुन्टा सिर्कनाले हान्दै मेरो विरक्तिएको मित्र पनि धारामा नै आउँदै रहेछ । मुख धोएर हामी दुवैजना गफ गर्दै उकालो लाग्यौँ । मैले म मोक्ष भएको सम्पूर्ण वृत्तान्त उसलाई सुनाएँ । मेरा कुरादेखि ऊ अति प्रभावित भयो, सहमत पनि जनायो । छुट्टिने बेलामा उसले मुस्कुराउँदै भन्यो,
“अब उप्रान्त म पनि एक इष्टदेवीको प्रत्यक्ष आशीर्वादमा शक्तिको पुजारी हुनका लागि आजैदेखि लागि पर्नेछु ।”
Comments
Post a Comment