मलामीहरूप्रति 65
उड्दो प्राण घनन्न बज्छ नभमा, यो शंख बज्दैछ
झन् ।
मेरो लास यहाँ सरक्क खटमा, यी वाक्य झन्
बन्द छन् ।
मेरो अन्तिम कालमा सँगसँगै, आयौ मलामी यहाँ ।
आफ्नै बन्धु र मित्र हो भनिकनै, अप्यौ{ तिलानी ममा ।१।
तिम्रो साथ नबिर्सिने क्षण भयो, आयौ मलाई लिन ।
आत्मा यो उनको महेश शिवको, फिर्ता उनैमा दिन
।
पानीमा, कुशमा र शुद्ध तिलमा, आत्मा छ यो
आश्रित ।
तिम्रो हात तिलाञ्जली म पिउँला, श्रद्धा मिठो
मिश्रित ।२।
खाली पाउ र टोप छैन शिरमा, बोकेर ल्यायौ
यहाँ ।
तिम्रो यो ममता दया र करुणा, सम्झन्छु
सम्झिन्न म ।
जाऊ स्वर्ग भनी पवित्र मनले, आगो लागाई दिनू ।
बोकेका अब दाउरा यदि भए, मुर्दा जलाई दिनू
।३।
आगो दन्दन गर्छ यो वदनमा, ती पीर तिम्रा जलून् ।
बुर्कीका वलले त खेतभरिमा, ती अन्न राम्रा
फलून् ।
हिँड्दा जो पथमा खसाल्दछ टीलो, लक्ष्मी बनून्
दाहिना ।
पानीले जसले पखाल्दछ चिता, आस्था बनोस्
कञ्चन ।४।
हे प्यारा सुन बन्धु मित्र जनहो ! फर्केर जाऊ घर ।
यो हो सत्य शरीर मर्छ सबको, संसार के पो छ र
!
ईष्र्या, रोष, घृणा र कल्पष सबै, टिप्दै र फाल्दै
गर ।
माया, सत्य र पूण्यकर्म दिलमा, खोजेर भर्दै गर
।५।
आरति 66
हे श्री सूर्य बिहानको नमन यो, गर्दैछु यो आरति
।
अर्घौतो छ पवित्र थाल करमा, यो अर्घको आरति ।
घुम्छौ फन्फन वेगले भुवनमा, हे विश्वका सारथी
!
घुम्दै देख्छु सधैँ यतातिर तिमी, गर्छौ ममा आरति ?
मेरो केन्द्र सदा तिमी सब जगत्, हे सूर्य ! हे
भाष्कर !
तिम्रो को हुँ म ? घुम्दछौ वरिपरी, आफ्ना उठाई कर ।
तिम्रा साथ सदैव देख्छु गतिलो, थाली छ गोलो उता
।
बाल्छौ दीपक टल्कँदो छ घर यो, तिम्रो कृपाले
यता ।
गर्दा आरति यो बिहान दिनमा, बत्ती उता
बाल्दछौ ।
गर्दा आरति साँझमा त घरमा, बत्ती कतै
सार्दछौ ।
आफैँ उल्लु भएँ म आज किन हो ? को बस्छ यो
केन्द्रमा ?
तिम्रो केन्द्रतिरै म बस्छु कि कसो ? छौँ वा दुवै
केन्द्रमा ?
द्यौता नै यदि हौ भने भुवनमा, यो रात्रि कालो
किन ?
पूर्णैपूर्ण भयौ भने गगनमा, आलो र पालो किन ?
आधा सूर्य कतै मभित्र रहने, मारेर लान्छौ भने
।
सिङ्गै बाँच बनेर एक गतिलो, आऊ मलाई लिन ।
तिम्रो आरति गर्छु नित्य म यहाँ, सिङ्गो छ को ? चूर्ण को ?
मेरो आरति सूर्य गर्दछ भने, को अंश हो ? पूर्ण को ?
द्यौता खोज्न हतारिने मनुज हो ! सोचौँ न एकै छिन ।
कल्ले आरति गर्छ आज कसको, द्यौता ल को हो
भन ।वाचा 67
लाखे है कविता म आउँछु भरे, पर्खेर बस्नू तिमी ।
केटो यो त अवश्य आउँछ भनी, लर्केर बस्नू तिमी ।
आँखा गाढ्न तयार छन् सबजना, तर्केर बस्नू तिमी ।
गर्दै नाटक जान्न जान्न म भनी, झर्केर बस्नू तिमी ।
तिम्रा निम्ति भनेर रात दिनमा, यी सूत्र घोक्दै छु म ।
तिम्रै निम्ति भनेर काव्य गतिला, छानेर बोक्दै छु म ।
लाई बार निबन्ध, नाटकहरू, छेकेर बस्दै छु म ।
तिम्रै रूप छ वक्षभित्र मुटुमा, बोकेर जाँदै छु म ।
प्यारीकासँग साथ छुट्न नसकी, मर्दो चखेवासरी ।
उस्तै प्राण लिएर हेर म हिँडे, एक्लो परेवासरी ।
यस्तै हो सबको छ पेट पहिले, भर्नै प¥यो जे गरी ।
पक्का भेट्न म आउँनेछु कविता ! वाचा नतोड्ने गरी ।
सारी चट्ट सुहाउँने शिखरिणी, चोलो छ यो तोटक ।
लामो पार्न र बेर्नओर्न पटुकी, शार्दूलविक्रीडित ।
लाऊ गाजल स्वागता नयनमा, झुम्का बनून् स्रग्विणी ।
टीको त्यो उपजाति, शम्भु सिउँदो, त्यो कण्ठमा रागिणी ।
बन्नू जग्जग बेहुली अनि तिमी, हेर्नू मलाई भरे ।
मायाले बलले सरक्क करले, बेर्नू मलाई भरे ।
सारा उत्तम कर्मका फलहरू, जो ल्याउनेछु भरे
खाई टन्न अघाउनू र मसँगै, त्यो रात काट्नू भरे ।
इच्छाको नदी 68
यौटा सूर्य उदाउँने समय हो, यो मिर्मिरे काल हो ।
सारा चेत खुलाउँने समय यो, यो ब्यूँझिने काल हो ।
सन्ध्या यो पहिलो बिहान दिनको, यो आरति काल हो ।
लाखौँका सपना यहाँ सुरु हुने, साकारको काल हो ।
छन् धेरै पुरबासमा शहरमा, नौला यहाँ मानिस ।
धेरै पौरख गर्न हिम्मत हुने, फालेर यो आरिस ।
मान्छेका बह छन् यहाँ रहर छन्, लाखौँ करोडौँ यहाँ ।
श्री सूर्योदयकालका सँगसँगै, ती स्वप्न खोज्छन् यहाँ ।
इच्छाको छ नदी सलल्ल बहने, पुग्ला गरे जाँगर ।
बग्दो यो छ नदी त रात दिनमा, खोज्दैछ ऊ सागर ।
इच्छा टल्टल टल्किँदो छ रहमा, श्री सूर्य झन् टल्किने ।
मान्छे झन् कति जोसले र बलले, गन्तव्यमा लम्किने ।
राम्रो विम्ब यहाँ म देख्छु सरिता, यो चित्रको साथमा ।
अर्को विम्ब दुरुस्त देख्छु सबिता, यो चित्रको माथमा ।
पृथ्वीका जलदेखि माथि नभमा, मान्छेहरू छन् सबै ।
हिँड्दामा सब यी निरन्तर गरी, गन्तब्य पुग्छन् सबै ।
घरबेटीको सन्देश 69
पाँचै भूत मिली बन्यो घर बडो, साह्रै छ राम्रो तर ।
अर्कै मालिक बस्छ यो घरतिरै, यी भूत छन् नोकर ।
पाँचै इन्द्रियबाट माग्छ उसले, भाडा नराम्रो सधैँ ।
जे जे माग्छ मिठो ल इन्द्रियहरू, टक्र्याइदिन्छन् अझै । १
कस्तो मालिक बस्छ यो घर भनी, जान्ने इरादा गरी ।
लागेँ एक बिहानमा घरतिरै, भेटेर बोलौँ भनी ।
खुल्ला छन् दसद्वार बन्द नहुने, आश्चर्यको यो घर ।
खोजेँ फन्फन भित्र बाहिर कतै, भेट्तै नभेट्ने तर । २
को बस्छन् घरभित्र एक मनुवा, अर्कै छ वा नश्वर ।
वा छन् यी शिव राम कृष्णसरिका, वा हुन् नयाँ ईश्वर ।
हेर्दै बस्छु बिहान साँझ दिनमा, बस्छन् यिनी खै कहाँ ।
आफैँ फेरि विचार गर्छु मनमा, छैनन् कतै रूपमा । ३
कुर्दा धेर अबेर रात दिनमा, झन्डै भएँ सालिक ।
भन्छन् नोकर ती बसेर मसँगै, आयो, गयो मालिक ।
आएको पनि चाल हुन्न यिनको, दौडी कहाँ यी गए ।
अर्को भन्छ सँगैबसी नजिकमा, सन्देश छोडी गए । ४
छायातत्व हटाइदे हृदयको, देख्लास् तँ मेरो मुख ।
मायातत्व हटाइदे मगजको, भोग्लास् म जस्तै सुख ।
तेरो त्यो घर तुच्छ जीर्ण अपुरो, भत्कन्छ बिग्रन्छ यो ।
मेरो यो घर पूर्ण, शुद्ध छ अहो, भत्कन्न बिग्रन्न यो । ५
यस्ता यी घर मांसपिण्ड जति छन्, जल्ने खरानी हुने ।
छैटौँ इन्द्रिय यो अझै अगतिलो, केले पखाल्ने धुने ।
यस्ता उत्तर सोधखोज नगरी, भेटिन्न देखिन्न म ।
सत्सङ्मा पस ध्यानमा बस सधैं, आएर भेट्नेछु म । ६
गुरुहरूप्रति 70
देख्यौ बीज मभित्रको हृदयको, रोप्यौ र हाल्यौ जल ।
आयो एक टुसो उही हृदयको, ल्याएर हाल्यौ मल ।
फाल्यौ ती सब झारपात जति छन्, चुँड्दै निमोठ्दै गरी ।
लायौ बार तिखा तिखा घँगरुका, मार्लान् अरूले भनी । १
बाह्रैमास खटेर रात दिनमा, माटो दियौ हातले ।
ढाक्यौ घाम र राप नत्र म छिटै, मर्ने थिएँ तापले ।
उप्केरा अनि गोडमेल छ सधैँ, माया ग¥यौ होसले ।
हाल्यौ ओत ममा विचित्रसँगले, के मर्दथेँ ओसले । २
लाग्यो ज्यान हलक्क बोट म भएँ, हाँगा पलाए अरू ।
थाल्यौ गर्न ल रेखदेख गतिलो, भोकै बसेरै बरु ।
देख्यौ यी जब कोपिला हृदयका, हाँस्यौ मजाले तिमी ।
तिम्रो पौरखले सुवास भरिँदा, आनन्द मान्थ्यौ तिमी । ३
तिम्रो नै म हुँ कोपिला अब फुलेँ, खै के गरूँ अर्पण ?
आफैँ फूल बनी म आज दिनमा, अर्पन्छु यो जीवन ।
जस्तो फूल फुलेँ फुलेँ फुलिगएँ, उस्तै छ यो अर्पण ।
श्रद्धाभाव मिसेर गर्दछु नमः, स्वीकार यो अर्पण । ४
बन्दाबन्दीका कविहरूप्रति 71
दिया यी उज्याला र बत्ती उज्याला ।
थपे तेल संस्कारको झन् उज्याला ।
बने मृत्तिका चूर्ण आकार पाई,
डढे रापमा तापमा झन् उज्याला । १
उही रापले तापले आज आई ।
बने काव्य नौला सुबाटो समाई ।
गरे देशको प्रेम भाषा रमायो,
र नेपाल हाँस्यो मिठा गीत गाई । २
दिई यो उज्यालो बने मैन जस्ता ।
नबल्दा नजल्दा त वेचैन जस्ता ।
कला छन्द साहित्यको रूप हेर्दा,
पुराना यिनी काव्यका ऐन जस्ता । ३
सफा पोखरीमा ल नारा भरून् यी ।
पिऊँ घट्घटी छन्द धारा बगून् यी ।
शताब्दी दिउन् दैवले आयु स्वस्थ,
उज्याला स्वयम् सूर्य तारा बनून् यी । ४
बन्दाबन्दीका गजलकारहरूप्रति 72
म सोझो छु सोझै रहौँला कि नाइँ ।
म जस्तो छु उस्तै रहौँला कि नाइँ । १
छ गर्मी बसौँ भित्र आऊ न भन्दा,
डराई म भित्रै पसौँला कि नाइँ । २
हिजो बातमा अन्त फस्दै नफस्ने,
तिमीले भनेमा फसौँला कि नाइँ । ३
सदा बासको निम्ति आफ्नै छ डेरा,
त्यतै रात पर्दा बसौँला कि नाइँ । ४
तिमीले इसfरा गरे प्रेमको झन्,
अँगालो मिठो यो कसौँला कि नाइँ । ५
बन्दाबन्दीका मुक्तककारहरूप्रति
मलाई छ थाहा तिमी छौ मजस्तै ।
तिमी जान्दछौ यो कुरा झन् मजस्तै ।
तिमी दाहिने नेत्र बन्दा म देब्रे,
नभेट्दा नदेख्दा त रुन्छौ मजस्तै ।
बन्दाबन्दीका गाउँखाने कविता लेख्नेप्रति
प्रश्नः
बिहानै म उठ्दा नउठ्दै सदैव ।
म देख्दैछु नौलो नयाँ प्रश्न एक ।
भनी गाउँखाने कडा प्रश्न सोध्ने ।
ल भन्नुस् त को हो पु¥याई विवेक ?
उत्तरः
म उठ्दा नउठ्दै सकी नित्य काज ।
सधैँ गाउँखाने र खाने समाज ।
निली गाउँ जम्मै अघाउन्न भन्ने,
उनै हुन् उनै हुन् उनै कोषराज ।
झरी 73
हे आकाश ! नरो नरो अब नरो, रोएर के हुन्छ र ?
झार्दै आँसु छिटो दुई नयन यी, धोएर के हुन्छ र ?
तेरा ती पिरका कथा विरहका, को नै यहाँ सुन्छ र ?
साह्रै दिक्क भइस् भनेर तँसँगै, आएर को रुन्छ र ? १
मेरा निम्ति नरोइदे अब अरू, झर्दै झरी दर्दरी ।
उस्तै हालतमा म हुन्छु मनमा, यी नेत्र छन् धर्धरी ।
आफैँ झार्छु र टिप्छु आँसु सब यो, तैँले टिपेझैँ गरी ।
आफैँ भिज्छु भिजाइदिन्छु अब लौ, आफैँ बनौँला झरी । २
सातै सागर छन् मभित्र मुटुमा, बग्ने अरू छन् नदी ।
तापैताप छ भित्र बाहिर उँभो, तातो छु आगोसरी ।
सोस्दै यो जल तापले दिनदिनै, त्यो वाफ साँच्दै गरी ।
चिस्याएर म झार्छु नेत्र तटमा, आफ्नै छ मेरो झरी । ३
तेरो आँसु तरक्क झर्छ भुइँमा, छाता हरायो कता ।
मेरो आँसु रुमालमा र करमा, को देख्छ यो वाध्यता ।
तेरो त्यो ऋतुमास वर्ष दिनमा, बर्सन्छ एकै झरी ।
मेरो बग्छ झरी त वर्ष दिनमा, बर्सात वर्षैभरि । ४
प्रेमालाप 75
प्रेमालाप सधैं म गर्दछु यहाँ, एक्लै छु एक्लै तर ।
एक्लैमा पनि बात हुन्छ रसिलो, के प्रेम बेग्लै छ र !
आफैँ प्रश्न म गर्छु उत्तरहरू, आफैँ म दिन्छु स्वयम् ।
मिल्दा उत्तर प्रश्नका गजबले, आफैँ म हाँस्छु स्वयम् । १
आफैँ सोध्छु नयाँ कुरा खबर यी, सञ्चो बिसञ्चो पनि ।
आफैँ भन्छु सबै ठिकै छ अहिले, आराम सञ्चै भनी ।
हाँस्दै प्रश्न म गर्छु हाँस्छ मन यो, एक्लै बसी रातमा ।
एक्लै हुन्छु तथापि मान्छु जहिले, हुन्छिन् उनी साथमा । २
बोल्दामा जब नाम लिन्छु उनको, बेग्लै छ अर्को थर ।
निन्द्रामा पनि नाम लिन्छु कि भनी, लाग्दै छ अर्को डर ।
हे प्यारी ! सपना बनी अब छिटै, आऊ न मेरो घर ।
एकै गोत्र बनून् दुवै मनहरू, एकै बनोस् यो थर । ३
बोली बन्द गरिन् कुनै समयमा, लौ के भयो सोच्दछु ।
आफैँ कारण खोज्छु एक गतिलो, माफी उसै माग्दछु ।
हाँसिन् खित्खित ओठमा, वचनमा, आनन्द यो जिन्दगी ।
हेरिन् प्रेम भरी दुवै नयनले, आहा ! भयो जिन्दगी । ४
कोल्टे फेर्छु र हेर्छु देख्दिन कतै, बौलाउँझैँ लाग्दछ ।
हेर्दै चित्र म भित्रको हृदयको, बोलाउँझैँ लाग्दछ ।
मेरी नै यदि हौ भने अब सधैँ, यो रात काटौँ सँगै ।
नौला बात गरौँ, रमौँ सँगसँगै, यो प्रेम साटौँ सँगै । ५
शीर्षक: बिदाइ 76
मेरी आमा, अब म कसरी, छोड्नु यो काख तिम्रो ।
मेरा बाबा, अब म कसरी, छोड्नु यो साथ तिम्रो ।
भ्राता मेरा, अनुज कसरी, तोड्नु यो साथ तिम्रो ।
साथीसङ्गी, भन न कसरी, मोड्नु यो प्रीत तिम्रो । १
पोते रातो, अझ तिलहरी, साथमा आज हेर ।
रातै सारी, अनि छ सिउँदो, माथमा आज हेर ।
नारीको यो, चलन पनि हो, कर्म संस्कार हो यो ।
जानै पर्ने, पतिसँग उतै, धर्म संसारको यो । २
जाऊँ जाऊँ, पनि छ मनमा, लाज सङ्कोच थोरै ।
ब्यौला राम्रा, कुसुमसरिका, प्रीत गाढा छ मेरै ।
मन्दाक्रान्ता, मनमुटु भयो, मन्द आक्रान्त धेरै ।
हिँड्नै लागेँ, िप्रयवर सँगै, साथ छन् यी मनेरै । ३
पाखा बारी, चउर हरिया, याद राख्नू मलाई ।
पानी धारो, मन मगजमा, याद राख्नू सजाई ।
खोलानाला, रनवन सबै, फूलझैँ मुस्कुराई ।
जानै लागेँ, अब गर बिदा, आज मेरो बिदाइ । ४
न्यानो माया, अपरिचितको, प्यार धेरै म पाऊँ ।
दोस्रो मेरो, असल घर यो, कर्मले झन् सजाऊँ ।
सम्झी प्यारा, विगत दिनका, तिर्सना मेट्नलाई ।
छुट्टी मागी, पछि म कहिले, आँउला भेट्नलाई । ५
बत्ती नबाल्नू भरे 77
हे प्यारी ! सुन एक बात नमिठो, चिन्ता नगर्नू भरे ।
पर्दा झिस्मिस साँझको समयमा, बत्ती नबाल्नू भरे ।
जे जे खेप्नु थियो भयो बितिगयो, सम्झाउलान् है भरे ।
आफैँ सम्झ अरू दह्रो मुटु गरी, बत्ती नबाल्नू भरे । १
माताश्री जब सुन्नुहुन्छ पिरको, यस्तो नराम्रो कुरो ।
बग्ला आँसु तरक्क नेत्र डिलमा, सम्झेर सानो भुरो ।
सारी छेउ लिएर एक करले, त्यो आँसु पुछ्दै गरे ।
हे आमा ! अनुरोध गर्छु अहिले, बत्ती नबाल्नू भरे । २
मेरो आयु तँ ले, भनी अझ बुबा जो थप्नुहुन्थ्यो अघि ।
बाँचौँझैँ पनि लाग्दथ्यो मनमनै, त्यो आयु थप्दै गरी ।
उल्टो काल भएछ आज किन हो, ती काल अन्तै सरे ।
हे बाबा ! म गएँ ल आयु सकियो, बत्ती नबाल्नू भरे । ३
बुझ्ने छन् बहिनी दिदी सबजना, चेलीहरू छन् जति ।
अर्को वर्ष तिहार रोकिन गयो, यो माइतीको खति ।
सुर्कामा अब फूल यो मखमली, बेर्ना नसार्नू हरे ।
खोपामा छ दियो र तेल बिटुलो, बत्ती नबाल्नू भरे । ४
प्यारा मित्र ! ल गाउँका सहरका, आजै म टाढा गएँ ।
नौला यी कविता मिठा रहरका, आजै म सक्दो भएँ ।
मेरौ ज्यान रहेछ विम्ब ननिको, त्यो विम्ब देख्नू भरे ।
ढल्दा भाष्कर साँझमा गगनमा, बत्ती नबाल्नू भरे ।
आगो 78
म छैन आज के भयो, अरू त छन् नि साथमा ।
बिसञ्च सञ्च के छ हो, भनेर सोध्न गाथमा ।
हरेक नेक दाउरा, बिहानमा र साँझमा ।
तिमी समीप बल्दछन्, खुसी दिएर साथमा ।
ठिकै छ जे भयो तिमी, रमाउँनू यसैगरी ।
दिएर ताप अग्निको, तताउनू यसैगरी ।
रमेर दाउरासँगै, प्रकाश बाल प्रीतको ।
प्रफुल्ल बाँच प्रेममा, सुदीप देख प्रेमको ।
उमेर ढल्किँदै गयो भने बुढेस कालमा ।
सकिन्छ निभ्छ वैँस यो, अँगार काठ काठमा ।
यता नहाँस जिन्दगी, उमङ्ग रुन्छ देहमा ।
उता नसाँच जिन्दगी, अभाव छैन गेहमा ।
जता छ अग्नि दन्किँदो, उतै घँचेट दाउरा ।
ठुटा मुढा यतै रहुन्, चिसा झिँजा ल बाहिर ।
जसै सकिन्छ दाउरा र अग्नि निभ्न थाल्दछ ।
झिँजा जलाउँनू तिमी, ठुटो झरर्र बल्दछ ।
जलेर शुष्क भष्म हुन्, झिँजा ठुटा कि दाउरा ।
अँगार बन्छ मृत्तिका, म बन्छु फेरि आँकुरा ।
हलक्क बढ्छु प्रेममा, म प्रेम हैन भन्दिनू ।
सरक्क फुल्छु फूल यो, म फूल हैन भन्दिनू ।
तिमी नदेख कोपिला, म फूल नै फुलेँ भने ।
तिमी नदेख बोटका, जराजुरी मरेँ भने ।
खुरुक्क काट आज नै, छ बञ्चरो यतै कतै ।
र दाउरा बनाउँनू, जलाउँनू यतै कतै ।
छन्दः मदिरा, शीर्षकः मदिरा 79
दे मदिरा मदिरा मदिरा मदिरा, मदिरा मदिरा अझ दे ।
मात्छु म आज त नाच्छु म आज त, होस गुमाउँछु आज त दे ।
राम म सुन्छु र राम म देख्छु र, राम म गाउँछु आज त दे ।
दे मदिरा मदिरा मदिरा मदिरा, मदिरा मदिरा अझ दे ।
रावण काट्छु बिभीषण पाल्छु र, फाल्छु अरू जति दुष्ट सबै ।
प्रीत म लाउँछु गीत म गाउँछु, वानर यो हनुमानसँगै ।
यो छ सुधारस पान म गर्दछु , तृप्त म बन्छु न आज त दे ।
दे मदिरा मदिरा मदिरा मदिरा, मदिरा मदिरा अझ दे ।
ध्यान म गर्दछु नेत्र म खोल्दिन, बस्छु र कस्छु म कुण्डलिनी ।
नाक छ वाण छ सास छ तीर छ, जान्छु ल आज म युद्धजिमी ।
निश्चित निश्चित भन्छु ल आज त, बन्छु हराम म आज त दे ।
दे मदिरा मदिरा मदिरा मदिरा, मदिरा मदिरा अझ दे ।
लक्ष्मण भेट्नु छ अङ्गद हेर्नु छ, यो वनबास म आज हिँडेँ ।
त्यो परिवार जता छ म जान्छु ल, कुद्छु म पुग्छु म आज हिँडेँ ।
सागर तर्नु छ पीपल चढ्नु छ, लौ न गिलास भरी अब दे ।
दे मदिरा मदिरा मदिरा मदिरा, मदिरा मदिरा अझ दे ।
बोक्छु खराउ र भेट्छु जटायु र, सोध्छु म यो पथ आज भरे ।
राम र लक्ष्मण नाम भजी अब, बुझ्नु छ को कति पार तरे ।
नाउ म चढ्दछु जीवन तर्दछु, ईश अँगाल्छु म आज भरे ।
दे मदिरा मदिरा मदिरा मदिरा, मदिरा मदिरा अझ दे ।
टुँडाल 80
मेरो मन्दिर पूर्ण शुद्ध छ यहाँ, फर्की नआऊ तिमी ।
ढोका बन्द गरेर बस्दिनँ यहाँ, तर्केर जाऊ तिमी ।
तिम्रा दृष्टि कुदृष्टि छन् नयनमा, पर्दैन के आउनू ।
तिम्रो सोच सदैव भ्रष्ट मतिको, पर्दैन के धाउनू ।
नाप्छौ हात र पाउ यो वदनका, होचा र मोटा भनी ।
खोज्छौ हेर्न शरीरका रङहरू, काला र गोरा भनी ।
हेर्छौ रूप र अङ्ग, ढङ्ग जति छन्, बोल्छौ मिठो तालले ।
के देख्छौ यसरी कुरा अब तिमी, के बुझ्नु यो चालले ।
खोल्छौ वस्त्र सरक्क रात दिनमा, ढोका उघार्छौ उता ।
देख्छौ मख्ख परी टुँडाल गतिला, जो काष्ठका हुन् कला ।
तिम्रो मूर्ति यहाँ पुजिन्छ यसरी, यो पुष्पको अर्पण ।
तिम्रा निम्ति टुँडाल मूर्ति भगवान्, देख्छौ स्वयम् दर्पण ।
मेरा यी दसद्वार बन्द नहुने, पर्खाल नाघ्छौ तिमी ।
मूर्दा झैं सब यी टुँडाल रमिता, जीवन्त देख्छौ तिमी ।
मैलो त्यो दिलमा दिमागभरिमा, जुत्ता फुखाल्छौ उता ।
आत्माको भगवत्स्वरूप छ यहाँ, खुट्टा पखाल्छौ उता ।
ठोकी टाप खुरुक्क अन्य जगमा, बाटो तताऊ कतै ।
बत्ती बाल कपासका टलटली, ती नेत्र सेक्नू कतै ।
लाऊ चन्दन लेप ठप्प शिरमा, टीको लगाऊ तिमी ।
मेरो मन्दिरमा छ भाव असली, फर्की नआऊ तिमी ।
अटेरी 81
भनेको नमान्ने म आफैं अटेरी ।
अरूको कुरा के म आफैं अटेरी ।
यसो गर्नु पर्दैन भन्दैछु आफैं ।
उही गर्न खोज्दैछु आफैं अटेरी ।
जता जे छ राम्रो उही हेर्नुपर्ने ।
नहेर् भन्छु मान्दैन आँखै अटेरी ।
नखा है नखा है बडो रोग लाग्ला ।
म भन्दैछु खाँदै छ दाँतै अटेरी ।
जता मिल्छ यो स्वाद चोक्टा कि झोल ।
उतै चाख्न खोज्दैछ जिब्रो अटेरी ।
गरे काम थोरै त मिल्नेछ मेवा ।
म जा जा सधैं भन्छु तिघ्रो अटेरी ।
उठी नित्य सन्ध्या गरेस् योग भन्दा ।
सुनेरै नमान्ने म कस्तो अटेरी ।
म आफैं यहाँ वा कि अर्कै छ कोही ?
भनेकै नसुन्ने यहाँ को अटेरी ?
म मर्दा यही सोच मर्ला नमर्ला ?
र अर्को जुनी झन् कि बन्ला अटेरी ?
पुरानो नै नयाँ !! 82
पुराना कुरा मात्र देख्छन् सबैले ।
पुराना कुरा मात्र लेख्छन् सबैले ।
नयाँ छैन केही म नौलो नहेरूँ ?
नयाँ लेख्न थाले कि हेप्छन् सबैले !
उता पढ्छु यो रोष उस्तै पुरानो ।
यता पढ्छु यो प्रेम उस्तै पुरानो ।
घृणा पाप पुण्यादि माया वितृष्णा ।
सबैका सबै आज उस्तै पुराना ।
पुरानो भयो धर्म आस्था पुरानो ।
पुरानै भयो जन्म कालै पुरानो ।
म खोज्दैछु नौलो यहाँ के छ आज,
नयाँ शब्द आफैं म देखूँ पुरानो ?
थिए जो पुराना उही आज नौला ।
झनै पूर्व प्राचीन उस्तै सुनौला ।
जता हेर्न जाऊँ जता पढ्न थालूँ ।
उनै व्यास नै पो भए आज नौला ।
पात्रो 84
पात्रो छ तिम्रो ऋतु मास घुम्ने ।
त्यो चैत्र बैशाख छ फूल चुम्ने ।
मेरा सबै यी पल छन् वसन्त ।
माया म गर्नेछु यहाँ अनन्त ।
त्यो रात कालो दिन साँझ ढल्दो ।
धेरै भयो काम शरीर गल्दो ।
छैनन् यता रात बिहान साँझ ।
छैनन् हिजो भोलि सधैं छ आज ।
पर्खी बसौला युग रूप नौलो ।
के आउला खै युग यो सुनौलो ।
जाला कतै जीवन प्राण धर्को ।
पात्रो हटाऊ अब फेर अर्को ।
त्यो बुद्धको काल र कृष्णकाल ।
बित्यो गयो पुग्न सकिन्न हाल ।
बेकारमा टन्टन गर्छ घाउ ।
आऊ तिमी साथ मनेर आऊ ।
मेरो यहाँ को छ र जिन्दगीमा ।
तिम्रो कहाँ को छ र जिन्दगीमा ।
पात्रो बनाऔं अब एक राम्रो ।
यो मङ्सिरे मास सदैव हाम्रो ।
Comments
Post a Comment