Skip to main content

कथा भित्रको कथा (Nepali Story)


कथा भित्रको कथा

        ए आमा ! एउटा कथा चाहियो । भन्दिनु प¥यो छिट्टै । लक्ष्मीले खाटमा सुती सुती आमालाई भनी ।
        लक्ष्मीकी आमा घाँसको भारी बिसाएर, नाम्लो फुकाएर साहिँला मामालाई पठाइदे, पाठा फुकेर साग खालान्, भित्र पानी छ कि छैन हेर, हिजोको जस्तो राति धारामा जानु नपरोस्, झिक्रा भित्र लानू, अलिक फुर्ति गर । पुस माघका दिन छिट्टै जान्छन् । दिउँसोहुँदो नसुत । भन्दै तलतिर लागिन् ।
        निकैबेर पछि लक्ष्मी दलानको खाटबट उठी र अल्छिलाग्दो पाराले ढुनमुन गर्न थाली आँगन वरिपरि ।
        उसैको काम हेरिरहेँ धेरै बेरसम्म र कथा खोजी रहेँ उसैमा । जवान छे, राम्री छे १२ पास गरेकी छे, नेतृत्व क्षमता देखिन्छ, दाइसँगै बसेर क्रान्तिका कुरा गर्छे भन्ने पनि सुनेको थिएँ उसको बारेमा ।
        बेलुका खाना खाइसकेर ओच्छ्यानमा पल्टिएपछि पनि लक्ष्मीले आमालाई भनी, तपाइँले भनेका कथा लेखेर पहिले म फस्ट, सेकेण्ड हुन्थेँ त । पुरस्कार पनि ल्याउँथे त । तपाइँले भनेको भाषण गरेर म वक्तित्त्वकलामा प्रथम हुन्थेँ त, त्यही भएर पो भनेको त । एउटा तपाइँको बेलाको कथा भन्दिनु न आज रातभरीमा । फूलबुट्टा म नै भरौंला बरु । निदाउनु भन्दा अघि नै भन्दिनु है, आजै । भोलि बिहान म लेख्न थाल्छु । अलिक राम्रो सम्झेर भन्नु ल ।
        तेरा कथा सथा फाल्दे जुठेल्नामा । पुरुस्कार हो कि के हो त्यो पनि फाल्दे । यहाँ आफूलाई कसरी बाँच्नु भन्ने भइरछ । उसलाई चाहियो कथा । थपिन्, त्यो पनि आजको आजै । भाँडा माझेर आइस कि त्यसै ? कोल्टो फेर्दै लक्ष्मीकी आमाले सोधिन् ।
        अँध्यारोमा चकमन्न भयो निकैबेर । सानो स्वरमा लक्ष्मी नै बोली । आज मात्रै त हो नि मैले काम नगरेको । अल्छि लाग्यो त के गरौँ । भोलिदेखि गरीहाल्छु नि । मैले एकदिन काम नगर्दैमा कसरी बाँच्ने भन्ने भइराछ भन्नु पर्छ त । रिसाइहाल्नु पर्छ त ? साना तिना कथा त आँफै लेखिहल्छु नि । तपाइँका पालाका कथा अचेलका मान्छेले नसुनेका होलान् ,अरुभन्दा अलिक फरक होलान् भनेर पो सोधेको त ।
        भित्तातिरै फर्केर आमा बोलिन् । तेरो टाउको । क कसका कथा भनौं म तँलाई । क कसका लेखेर सक्छेस् । तेरै बाउको कथा लेख्न सक्छेस् भने । बाउ कहाँ छन् दुई दिनदेखि थाहा पाएकी छेस् ? देखिरैछस् ?
        झकाउन लागेकी लक्ष्मीको निन्द्रा एकाएक गायव भयो । बुबाको बारेमा त सोचेकै थिइन । सोचमग्न भई एकछिन् । आजसम्म सोच्नु पनि परेको थिएन । पहिले पनि एक दुई दिन घरमा नआउनु सामान्य कुरो थियो । के आपत आएछ बालाई । पहिले जस्तो द्वन्द्व पनि  छैन अचेलभरी गाउँमा । बाले त्यस्तो कुनै अनैतिक कार्य गर्नुभए जस्तो पनि लाग्दैन । कसैले फिरौतिका लागि अपहरण गर्ने परिवार पनि हैन हाम्रो ।
        मध्य रातसम्म नै सोची तर कुनै उत्तर आएन । अनि फेरि सोची, मलाई त यो कुराले निन्द्रा लागेन भने आमा त झन् पक्कै निदाउनु भएको छैन । अनि सोधी, आमा, साँच्चै बा खै त ?
         तेरा बाउलाई गाउँ निकाला गर्ने योजना छ, फागुनको एक दुई गते । त्यही भएर ........
        अर्को प्रश्न गर्न मन लागेन लक्ष्मीलाई । आमा छोरी दुबैले रात बिताए । निन्द्रा कसैलाई लागेन । बिहान उठेर मुख धोएपछि लक्ष्मी दाजु भएतिर लागी जो तन्की तन्की दाउराको खलियो लगाउँदै थियो । लक्ष्मीको पहिलो प्रश्न थियो, बालाई किन गाउँ निकाला गर्न लागेका दाइ ?
        दाइ बोल्यो, बालाई मात्र होइन, तँलाई पनि हो, मलाई पनि हो अनि आमालाई पनि हो ।
        रिस उठ्यो लक्ष्मीलाई । बेलुका आधा कुरो भन्छन्, राति आधा कुरो भन्छन्, आज बिहान आधा कुरो सुन्छु । पूरै कुरो भन् न ।
        पूरै त मलाई पनि थाहा छैन । सुने अनुसार, माथिको कृष्ण मन्दिरमा जाँदा बाहिरको पेटीको ठूलो ढुङ्गोमा कहिल्यै बसेकी खेलेकी छस् ? छस् भने, त्यहाँ कोरेका चित्रहरु हेरेकी छस् ? ती चित्रहरु राधाकृष्णका हुन् र हाम्रै बा आमाले रातभरि लगाएर बनाएका हुन् रे । माथिको मुख्य कृष्ण मन्दिरमा जस्ता चित्र बाले देख्नु भएको थियो त्यस्तै बनाउनु भएको रे । अनि त्यो चित्र चाहिँ हाम्रो बा आमाको प्रेमको प्रतीक रे । त्यस दिनदेखि हाम्रा बा आमा त्यही चित्रलाई पुजा गर्नुहुन्छ रे, मन्दिरमा जानुहुन्न रे । ती परतिरका दाउरा यता सार त मैले सुनेको यत्ति हो ।
        लक्ष्मीले दाउरा ल्याउँदै भनी, बहुलाइस् कि क्या हो दाइ, चित्र कोर्दैमा गाउँ निकाला गर्नुपर्छ त ?
        यता दे न । म अहिले बीस वर्षको भएँ । एक्काइस वर्ष अघि हाम्रा बा आमालाई त्यही मन्दिरको, त्यही पेटीको, त्यही ढुङ्गामा उभ्याएर बाहुनहरुले गाउँ निकाला गरेका थिए रे । अब बाहुन गाउँमा नपस, हाम्रो जुठो सुतक नबार, हामीसँगको सम्बन्ध त्यागिदे भनेका थिए रे । दलितकी छोरीसँग बिबाह गर्ने मान्छे हाम्रो समाजको सदस्य हुँदैन भनेका थिए रे ।
        बालाई पनि अर्कै जिल्ला जाउँ की आमालाई लिएर जस्तो लागेको थियो रे, हामी जन्मिनु भन्दा अगाडि । तर फेरि लाग्यो रे, भागेर समस्याको समाधान हुँदैन, भागेर क्रान्ति हुँदैन, भागेर समाज परिवर्तन हुँदैन । त्यसैले बाहुन गाउँबाट यहाँ सर्नु भएको रे । हामी मावली गाउँमै जन्मेका रे, यहीँ हुर्केका रे । ती परका पनि यता सार्दे अनि खाना बनाउन जा ।
        लक्ष्मी दाउरा समाउन दिँदै बोली, मैले सुने अनुसार त हाम्रा बा आमालाई भव्य स्वागत गरिएको थियो रे एक ठूलो कार्यक्रम गरेर, दोसल्ला ओढाइएको थियो रे । हाम्रो घरको मुल ढोका अगाडिको बा आमाको फोटो त्यही बेला खिचिएको रे । पत्रिकामा पनि समाचार छापिएको थियो रे । पछि कहिले हो बा आमाले पुरस्कार पनि पाउनुभयो रे अन्तरजातीय बिबाह गरेकोले । साँहिला मामा अहिले पनि भन्दै हुनुहुन्छ यस्ता कुरा । अनि फेरि, एक्काइस वर्ष अघि बाहुनले आफ्नो गाउँबाट गाउँ निकाला गरेकै रहेछन् । अहिले फेरि किन यो कुरा आयो ? कि अब ससुराली गाउँबाट पनि निकाला गर्नु परेछ बाहुनहरुलाई ? हामीले केही बिगार त गरिदिएका छैनौँ । कि तैंले पनि बाहुनी केटी नै भगाउन लागिस् दाइ ? हो भने भगा व्यारे । जे पर्ला पर्ला ।
        दाइसँग यस्ता कुरा गर्न लाज लाग्दैन ? पछाडिबाट आमाको आवाज सुनियो । तीनै जना चुपलागे निकैवेर । दाइ घरभित्र पस्यो । एक अङ्गालो दाउरा भित्र पनि ले है ।
        यसपालि बाहुनहरुको दोष छैन छोरी । तेरै मावलीहरुले गाउँ निकाला गर्दैछन् हामीलाई । फागुन एक भन्दा आगाडि नै हामी सबै तराइ झरिसक्छौँ । नभइ नहुने तेरा खातापाताहरु झोलामा हाली राख् । बाउले सानो घर हेरिसक्नु भयो रे तराइमा ।
        लक्ष्मी सुन्दै गई । तेरा बा यो गाउँमा आए पछि हाम्रो परिवारको मात्र प्रगति भयो रे । जिल्ला भरिका नेताले हामीलाई मात्र हेरे रे । स्कुलमा तिमीहरुमात्र प्रथम, द्वितीय भयौ रे । तिमीहरुले मात्र पुरस्कार पायौ रे । कलेजमा छात्रवृत्ति तिमीहरुकै भयो रे । वत्तृmत्वकला होस् कि नाटक होस्, कविता होस् कि गीत होस्, तिमीहरुले मात्र जित्यौ रे । वन समिति उपभोक्ता समिति व्यवस्थापन समितिमा हामी मात्र भयौँ रे, वडाको चुनावमा पनि हामीले नै जित्यौँ रे । हामीमात्र धनी बन्यौँ रे । हामी मात्र सफा र स्वास्थ भयौँ रे । हाम्रो मात्र सानो र सुखी परिवार भयो रे । हामी मात्र साकाहारी भयौँ रे । हामी मात्र पढन्ते र बुझन्ते भयौँ रे । हामी यहाँ रहुञ्जेल तेरा मावली गाउँका कसैको पनि विकास हुँदैन रे, त्यसैले हामीलाई जुन गाउँबाट आएको हो त्यही गाउँमा पठाउने योजना बनाएका छन् रे तेरा मावलीले । एउटा कार्यक्रम गरेर गाउँ निकाला गर्ने योजना रहेछ हामीलाई ।
        आहा कति राम्रो कथा भन्यौ आमा । लक्ष्मी बोली । तिमी नै पकाउ भात सात । म कथा लेख्न थाल्छु अब । मेरो कथामा चाहिँ हामी चारै जनालाई बेग्ला बेग्लै ठाउँमा गाउँ निकाला गरेको बनाउँछु है ?

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...