Skip to main content

मुर्ख श्री (Nepali Poem)

मुर्ख श्री 1
यो मेरो मन हो कि यो त वन हो, धेरै छ कालो किन ?
मेरो चित्त र भित्र यो हृदयमा, धेरै छ जालो किन ?
छन् इन्द्रीय सबै कि श्यामल अझै, यो वुध्दि कालो किन ?
यो अन्तस्करणै र श्री अगतिलो, आत्मा छ कालो कि न ?
यो एकाक्षर मन्त्र सुन्छु धमिलो, कैवल्य कालो छ कि ?
यी व्रह्माच्युतशंकरै बसिलिने, कूटस्थ कालो छ कि ?
मेरो भक्ति र ज्ञानमार्ग, ऋतुजा, वैराग्य कालो छ कि ?
मेरो सत्य दया र धर्म तप नै, नैराश्य कालो छ कि ?
लज्जा धैर्य स्वभाव तेज जति छन्, निस्पट्ट काला भए ।
माया मोह र कर्मबन्धनहरू, ती मोति माला भए ।
यो कालो मनले र कृष्णपनले, श्री सुर्य के देख्छु म ?
आफैँ दिन्छु उपाधि आज अब लौ, श्री मुर्ख श्री लेख्छु म ।



बुढो मन तन्नेरी मन, तोटक छन्द 2



जब प्रात भयो अनि घुम्न गएँ,

नव सूर्य जसै चुम्न गएँ

पदचाप सुनँे नजिकै वनमा,

छक्क परेँ गुने मनमा



पछि हेर्छु बसी कसिलो तनकी,

गुण रूप धनी नवयौवनकी

तरुनी पनि घुम्न उसै पथमा,

मसितै पछि आइपुगिन् वनमा



घनजङ्गलको वनबीचमहाँ,

लहरा रुखमा कति फूल थिए

कति श्वेत थिए, कति पीत थिए,

कति रागहरू अनि गीत थिए



मृदुभाष गरिन् अनि ती युवती,

जान्छु टिप्छु भनेर यति

जव फूल टिपिन् कमला करमा,

तव लान्छु भनिन् सब यी घरमा



तव प्रश्न गर्दछु हे ! सरसा,

अव उत्तर भन्न यता सर

कुन फूल यो कलिलो रुखको ?

कुन फूल यो बुढो रुखको ?



बटवृक्ष दुई तल फेदतिर,

सब फूल उही नभ काण्डतिर

अलमल्ल परिन् कुन हो कुन हो,

चिन्दिन है, कुनको कुन हो



अनि फूल लिई उनकै करको,

भन्न गएँ अव उत्तर यो

तन जीर्ण भए पनि फूल उही,

तन यौवनमा पनि फूल उही



जसरी अहिले फुलेँ वनमा,

मन फूल फुले रुखका तनमा

रुखको, जनको तन हुन्छ बुढो,

कहिले पनि यो मन हुन्न बुढो

कविता 3
(शेक्स्पीयरको दूरान्तर style मा चौध हरफे)
टाढा पश्चिमकी तिमी सुरसिली, यो पूर्वमा बस्छु म ।
आऊ मध्य पहाडका नजिकमा, लौ कम्मरै कस्छु म ।
मेरो फोन म दिन्छु चिन्छु सहजै, तिम्रो दिनू नम्बर ।
भेटौँला धुलिखेलमा अनि घुमौँ, खावा, बनेपातिर ।
खोजौँ एक सफा छ होटल कतै, या रेस्टुराँ होस् कि त ।
खाऔँ बात गरेर प्रेम सरिका, पक्वान्न व्यवस्थित ।
जाऔँ भित्र पसौँ, बसौँ नजिकमा, गोडा पखालौँ अब ।
पुछौँ हात रुमालले मुख सबै, डेरा बसालौँ अब ।
एक्लै मात्र भयौँ सधैँ, अब दुई, वेकार कन् कन् कति ।
ईच्छा चाह सबै सबै बुझिलियौँ, तिम्रा र मेरा जति ।
अर्काले अब हेर्छ देख्छ उसले, ढोका नखोलौँ अब ।
भित्ताको पनि कान हुन्छ मुसुरी, बोल्दै नबोलौँ अब ।
साटौँ यी गहना र दीव्य रचना, झँकार गाना बजोस् ।
आत्मा यो अब शान्त होस् मनमनै, ॐकार हो यो भनोस् ।

कोरोना र भ्रष्टाचार 4
चोरी गर्न रमाउने मनमनै, हे चोरका खन्ति हो !
धोक्रो भर्न समाउने दिनदिनै, हे लोभका कन्ति हो !
आफ्नो धर्म हराउने छिनछिनै, हे कालका गन्ति हो !
आफ्नै भर्न कमाउने प्रतिपलै, हे भ्रष्टका जन्ति हो !
रोटी गुन्द्रुक भात खीर पसिना, विस्टा तिमी चिन्दछौ ?
पृथ्वी भानु र बुद्ध राम सबको, निष्ठा तिमी चिन्दछौ ?
घुस्याहा अनि नीतिहीन जनको, हुदैन उँभो गति ।
पुस्ता सात भरी थुपार पनि लौ, आउन्न तिम्रो मति ।
लज्जाहीन चरीत्र छ्या ! रगतको, टाटो पखाल्नू अब ।
ब्वाँसो स्याल जुका र गिद्ध सरिको, बाटो सपार्नू अब ।
ठूलो भुँडि छ भर्नु पर्दछ भनी, आफ्नै जिमी बेच्दछौ ।
तिम्रो आयु म किन्छु आज अब लौ, खै मूल्य के तोक्दछौ ?

सिङ्गो रास्ट्र हरेर आफ्नु गर लौ, लंका बनाऊ तिमी ।
यौटा वानर भस्म गर्छ सहजै, रोएर बस्नू तिमी !
यस्तै वानर एक आई अहिले, मार्दैछ पृथ्वीभरि ।
यो बेला पनि भ्रष्ट कर्म गर लौ, आनन्द मान्लान् हरि !


शेक्स्पीयरको दूरान्तर क्तथभि मा चौध हरफे 5

टाढा पश्चिमकी तिमी सुरसिली, यो पूर्वमा बस्छु
आऊ मध्य पहाडका नजिकमा, लौ कम्मरै कस्छु
मेरो फोन दिन्छु चिन्छु सहजै, तिम्रो दिनू नम्बर
भेटौँला धुलिखेलमा अनि घुमौँ, खावा, बनेपातिर

खोजौँ एक सफा होटल कतै, या रेस्टुराँ होस् कि
खाऔँ बात गरेर प्रेम सरिका, पक्वान्न व्यवस्थित
जाऔँ भित्र पसौँ, बसौँ नजिकमा, गोडा पखालौँ अब
पुछौँ हात रुमालले मुख सबै, डेरा बसालौँ अब

एक्लै मात्र भयौँ  सधैँ, अब दुई, वेकार कन् कन् कति
ईच्छा चाह सबै सबै बुझिलियौँ, तिम्रा मेरा जति
अर्काले अब हेर्छ देख्छ उसले, ढोका नखोलौँ अब
भित्ताको पनि कान हुन्छ मुसुरी, बोल्दै नबोलौँ अब

साटौँ यी गहना दीव्य रचना, झँकार गाना बजोस्
आत्मा यो अब शान्त होस् मनमनै, ॐकार हो यो भनोस्


द्यौताको गीत 6

यहाँ जाम हुन्थ्यो, यहाँ लाम हुन्थ्यो
यहाँ पाठ पूजा, यहाँ धाम हुन्थ्यो

बिहानै सबेरै उठी नेत्र खोल्दा,
कुना कन्दरामा, यहाँ राम हुन्थ्यो

नशा राम सीताहरूको भएमा,
सबै मास बैशाखको याम हुन्थ्यो

नैवेध्य दिन्छन्, पानी खान,
दुबै साँझ मेरो, यही माम हुन्थ्यो

मरेछन् कि मान्छे, सुते झिस्मिसेमै ?
यहाँ शंख घण्टादिको साम हुन्थ्यो

डराए कि क्या हो, कि आस्था हरायो ?
हिजो अस्तिसम्मै, यहाँ काम हुन्थ्यो

Limerick style को अक्षरी कविता 7

ताराबाजी लै लै !
नाराबाजी खै खै !
नेता आए घोडा
नेतृ आइन् डोली

जोनि जोनि एस पापा
कोही युवा कोही पाका
इटिङ सुगर नो पापा
घुम्छन् .पा, गा.पा

पापा ल्याइन् सोली
सम्वृद्द्ध नेपाल भोलि
टेलिङ लाई नो पापा
यस्तै लेख्छन् छापा

ओपन् योर माउथ हाहाहा
ढाँटेको पाइयो थाहा
राहत जति सुटुक्क
काफल गेडी कुटुक्क

कार्यकर्ता गर्छन् म्याउँम्याउँ
जनता भन्छन् उछिट्याउँ
ट्विङ्कल ट्विङ्कल लिटल स्टार
चारैतिर भ्रष्टाचार

हाउ आइ वोन्डर व्हाट यु आर
निर्मलाको बलात्कार
अप अबोभ वोर्ल्ड सो हाइ
चाला बुझौं दाजुभाइ

लाइक डाइमन्ड इन स्काइ
माथी पुर्याऔं यिनलाई
ताराबाजी लै लै
नाराबाजी खै खै


चेस 8

कोठीको खेल यो हाम्रो, को नै यो चाल पाउँछ .
सोझासाझा जनता ती, को नै पो यहाँ आउँछ .
आऊ लौ कोठीमा आज, चौसठ्ठी स्थानमा रही
एकान्तमा बसौं हामी, आऊ नाचौं रमी रमी

सीपाही टन्न छन् योद्धा, राखौंला अग्र पङ्तिमा
आठ तिम्रा मेरा आठ, सोह्रै छन् यिनी गन्तिमा
श्यामश्वेत बरण्डामा, युद्ध गर्छन् ती रक्षक
भित्र लुकेर कोठीमा, साटौंला प्रणय रस

उँट छन् हात्ती, घोडा छन्, चढौंला यिनमा मिली
लाज के यिनका माझ, चालौं दाउ दुवै मिली
एउटा अस्त्र मेरो , अर्को शस्त्र तिमीसँग
जित वा हारको स्वाद, फेरौं आजै मजासँग

अहिले बन्छु राजा, रानी बन्नू तिमी पनि
चाल जो गर्दछु मैले, उस्तै चाल उता तिमी
मर्ने, मार्ने लड्ने जो, मरेर गैसके तर,
बन्दी तिम्रो बन्दैछु, इच्छा जो पूरा गर

कविता, सल्लाह 9
नयाँ वर्षमा लौ, कतै जानुहोला ।
नखाने कुरा त्यो, कतै खानुहोला ।
बिरामी भएका, भयै छन् त मान्छे,
बटारेर खुट्टा, कतै लानुहोला ।
दही, दूध, नौनी र मोही यहाँ छ,
विदेशी मिलेमा, कतै तान्नुहोला ।
चना, आलु, तामा, यतै छन् प्रसस्त,
खसी मासु काँचो, कतै छान्नुहोला ।
अघाएर हिँड्दा, र मातेर हिँड्दा,
मीठो गोल यौटा, कतै हान्नुहोला ।


नयाँ वर्ष 10 उही चाल देख्दा, नयाँ वर्ष के को ? उही हाल देख्दा, नयाँ वर्ष के को ? जहाँ जे गरौं लौ, यहाँ मृत्यु पक्का, उही काल देख्दा, नयाँ वर्ष के को ? पुरानै छ खाँबो, पुरानै छ डोरी, उही पाल देख्दा, नयाँ वर्ष के को ? दुखेको दुख्यौ गर्छ, उस्तै छ घाउ, उही ताल देख्दा, नयाँ वर्ष के को ? खडेरी उही हो, र वर्षा उही हो, उही छाल देख्दा, नयाँ वर्ष के को ? चतुर्भिर्यकारै, छ यो छन्द उस्तै, उही माल देख्दा, नयाँ वर्ष के को ? गायत्री छन्दमा, नेपालस्तुति 11 ॐ भूर्भुवः स्वः, तत्सवितुर्वरेण्यम्, भर्गोदेवस्यधीमहि, धियोयोनः प्रचोदयात् ! हे ! चन्द्र सुर्जे, स्थूल ग्रहादि तारा, घुम्ने जम्मै मिली अब, भनौं नेपालको जय ! हे ! श्रुति चारै, स्मृति र अन्य गीता, सुन्ने जम्मै मिली अब, भनौं नेपालको जय ! हे ! तत्त्व पाँचै, धर्म दया र श्रद्धा, मिल्ने जम्मै मिली अब, भनौं नेपालको जय ! हे ! देवदेवा, मानव भूत प्राणी, हिँड्ने जम्मै मिली अब, भनौं नेपालको जय ! हे ! सूक्ष्म काया, जीव अजीव छायाँ, उड्ने गुड्ने मिली अब, भनौं नेपालको जय ! हे ! काल आत्मा, नित्य अनित्य ॐ श्री, आस्था बोकी मिली अब, भनौं नेपालको जय ! ॐ भूर्भुवः स्वः, तत्सवितुर्वरेण्यम्, भर्गोदेवस्यधीमहि, धियोयोनः प्रचोदयात् । (गगलगग, गललगलगग, गगगगलगलल, लगगगलगलग)


लोग्नेको बिलाप 12

हानी वाण छुरासरी वचनले, के बाँच्न दिन्थ्यौ तिमी
स्वस्थानी व्रत नित्य वर्ष दिनमा, के मर्न दिन्थ्यौ तिमी
तिम्रो दास भई सरक्क निहुरी, यो देह मर्ने भयो
औंठी एक भिरेर मख्ख परेँ, नत्थी भयो औंठी यो

तिम्रो त्यो तनमा लुपुक्क गरूँ, के गर्न दिन्थ्यौ तिमी
अर्कीको मनमा सुटुक्क सरूँ, के सर्न दिन्थ्यौ तिमी
साँढे त्यो दिन रात उँग्छ जसरी, पस्दैन मन्दिर
द्यौता भित्र तिमी भयौ भएँ, बस्ने सधैं बाहिर

हिँड्दा बाहिर हाँस्नु पर्दछ सदा, त्यो मुर्ति झैं काठको
बस्दा यो घरभित्र नाच्छु सदा, तिम्रै इशारा जो
पंखा हुन्छु घुम्छु फन्फन गरी, के निभ्न दिन्थ्यौ तिमी
बत्ती धिप्धिप गर्छ बल्न मनको, के बल्न दिन्थ्यौ तिमी

गाँठो गिँड्न थाल्छु यो लगनको, के गिँड्न दिन्थ्यौ तिमी
बाँधी पाउ हात यो वदनको, के हिँड्न दिन्थ्यौ तिमी
माछो बाल्टिनमा बाँच्छ कति हो, निस्सार निस्सार
ज्यूँदो लास भएर जीवन गयो, धिक्कार धिक्कार


पियारी पियारा 13

यता छिन् पियारी, उता छन् पियारा
दुबै नेत्र भिज्छन्, बगी अश्रुधारा
भयो बीचमा व्याधिको भेल ठूलो,
दुबै हिँड्न खोज्छन्, किनारै किनारा

यो व्याधि कालो, यो भाइमारा
रुवाएर मार्ने, भयो प्रेममारा
उडी प्रेमिका भेट्न को सक्छ आज,
जता हिँड्न खोज्यो, तगारै तगारा

कता पुँजिवादी, कता सर्वहारा
नहेरी उही फ्याँक्छ लौरा झटारा
मिली बस्न पाए, दुबै हर्ष हुन्थे,
बनी एक अर्को, दुबैको सहारा

हटी दे हटी दे, खोल्दे तगारा
बनी एक नौका, जोड्दे किनारा
दुबै भेट्न पाउन्, मिठो गीत गाउन्,
खुशी हुन् पियारी, खुशी हुन् पियारा

डाक्टर साप ! फ्याट्ट मर्दिन होला नि है ? !$

सानामा बि.सि.जी. डि.पी.टी. के के को सुई लागाइदिए
केही थाहा छैन, केही रेकर्ड छैन
के के लागाइदिए, कहिले लगाइदिए
केही अत्तो छैन, केही पत्तो छैन
त्यसैले पो बाँचेको छु कि,
नलगाएको भए पनि बाँच्थेँ कि ?
अहिले एकाएक यो व्याधि आयो
ट्याब्लेट छैन, भ्याक्सिन छैन
डाक्टर साप ! फ्याट्ट मर्दिन होला नि है ?

क्वारेण्टाइनमै छु, घरमै छु
बिहान बेलुका डेड दुई सय पाइला मात्र हो,
अन्त कतै गएको छैन, अन्त कतै खाएको छैन
स्यानिटाइजर नभए पनि साबुन पानीले हात धोएको छु
सामाजिक दुरी पनि कायम गरेको छु
अहिले एकाएक व्याधि आयो
औषधि छैन, उपचार छैन
डाक्टर साप ! फ्याट्ट मर्दिन होला नि है ?

कतिपय अस्पतालले भर्नै गर्दैनन् रे
गरे पनि अरुलाई भेट्न दिदैनन् रे
मरे पनि मलामी हुँदैनन् रे
लासलाई कसैले छुँदैनन् रे
अचम्मको व्याधि आयो अहिले
दवाइमुलो छैन, ओखति छैन
डाक्टर साप ! फ्याट्ट मर्दिन होला नि है ?

रोग लागेकै थाहा पाइँदैन भन्छन्
पत्ता लगाउने साधन नै छैन भन्छन्
लागे पनि लक्षण नदेखाउन सक्छ भन्छन्
केही असर नै नगरिकन,
हिडँ्दा हिँड्दैको मान्छे,
खाँदा खाँदैको मान्छे,
डाक्टर साप ! फ्याट्ट मर्दिन होला नि है ?

Sonnet 15
Rhyming pattern - abba abba cde cde 


If they do Namaste,
Why not a sonnet I write ?
Why not corona I fight,
If they remain home stay ?

If they lock up whole day,
Either common or knight.
Whole day and whole night.
Why not I do as do they ?

The scholars are in quest.
To search covid solutions,
Why not I do as they request ?

Across the world east to west.
Round the globe in the earth .
Why not we all do the best ?


तात्तातो गीत 16


(माला उनी एक्लै बसेँ,
बाख्रा हेर्दै चौतारीमा)
हेर्दै हेरिनौ माया ! हेर्दै हेरिनौ ...
गुराँसको बोटमुनि हेर्दै हेरिनौ

(साँझपख भेट हुँदा,
इशाराले तिमीलाई छुँदा)
बेर्दै बेरिनौ माया ! बेर्दै बेरिनौ ...
एकैपल्ट अँगालोमा बेर्दै बेरिनौ

(भोलि यतै आऔँ भनें,
मेला भर्न जाऔँ भनें)
टेर्दै टेरिनौ माया ! टेर्दै टेरिनौ ...
थोरै माया लाऔ भन्दा टेर्दै टेरिनौ

(कपी थियो कलम थियो,
चिठी लेख्ने सीप थियो)
केर्दै केरिनौ माया ! केर्दै केरिनौ ...
दुई शव्द प्रेम पत्र केर्दै केरिनौ


आजको अर्ति 17

पृथ्वी घुम्दा तिमी घुम्छौ, दुबैमा के अन्तर
दुबै स्थूल दुबै पीण्ड, दुबै घुम्ने निरन्तर
पृथ्वी तातो भए तिम्रो, पसिना छुट्छ माथमा
पृथ्वी चिसो भए तिम्रो, वस्त्र न्यानो साथमा

वर्षिन्छ जल पृथ्वीमा, आकासबाट तल्तिर
जति खाऊ तिमी पानी, पिसाब झर्छ तल्तिर
भैंचालो जान्छ पृथ्वीमा, तिमी लर्खर गर्दछौ
स्थिर हुन्छ जसै पृथ्वी, बाँच्ने तर्खर गर्दछौ

उज्यालो हुन्छ पृथ्वीमा, तिम्रा आँखा स्वतः खुले
जसै रात भयो फेरि, निद्रामा अब चिम्लिए
उम्रन्छन् बीज नौला यी, पृथ्वीमा कति ओखती
उब्जन्छन् सोच नौला यी, तिमीमा कति हो कति

पृथ्वीभित्र अनेकौंमा, जन्तु छन् जीव जीवन
धेरै कोष तिमी भित्र, तन्तु छन् अब लौ गन
पृथ्वीको केन्द्र तातो , तिम्रो मुटु छाम
नसा खोला भए जस्तै, हड्डी ढुङ्गो मान

हेर तिम्रो शरीरैमा, वायु भित्र बाहिर
अनेकौं प्राण वायु छन्, पृथ्वीको भित्र बाहिर
पृथ्वीमा जति जे जे छन्, तिमीमा सब मिल्दछ
तिमीमा जति जे जे छन्, पृथ्वीमा सब मिल्दछ

उत्पत्ति हुन्छ पृथ्वीको, तिम्रो जन्म भएसरि
नाशवान यो पृथ्वी, आयु घट्छ सधैंभरि
पृथ्वी बाँच्यो तिमी बाँच्यौ, दुबै बाँच सदा सदा
तिमी मर्यौ भयौ लास, पृथ्वीमै मिल्दछौ सदा

जस्तो पृथ्वी तिमी उस्तै, यस्को प्रभाव पर्दछ
भलो वा कुभलो सोच, उस्तै प्रभाव पर्दछ
एउटा ग्रहको मात्र, यत्रो चिज मिलेपछि
नौवटा ग्रह छन् जम्मा, होला कस्को के गति

देख्दछौ सुर्य पृथ्वी यी, चन्द्र तारा उतातिर
हेर्छौ तिमी सबै पीण्ड, पीण्ड हेर्छन् तिमीतिर
जे गर्छन् यिनले गर्छन्, तिमी श्रस्टा नबन्नु है
जे सोचेको थिएँ मैले, त्यो पुगेन नभन्नु है

छन्द दीवस 18
तिम्रो त्यो मुटु छाम ढुक्ढुक गरी, यो छन्दमा चल्दछ ।
फोक्सो त्यो पनि गर्छ फुस्फुस उसै, यो छन्दमा चल्दछ ।
बोक्दै प्राण र वायु श्वास नलिले, यी छन्दमा चल्दछन् ।
बोकी हिँड्छ नसा नसा रगतको, यी छन्दमै बग्दछन् ।
उठ्यो रीस सनक्क वेग बदली, हुँकार यो छन्द हो ।
गर्दा ध्यान प्रशान्त शुद्ध मनले, ॐकार यो छन्द हो ।
हाँस्यौ खित्खितले कुनै समयमा, यो छ्न्द सङ्गीत हो ।
वा रुन्छौ अब सुँक्क सुँक्क मनमा, यो छन्दको गीत हो ।
हावा नै बुझ छन्द हो जगतमा, आवाज फेर्दो हुने ।
हावा नै सब शव्द हो जगतको, यो पिङ्गलाले सुने ।
टिप्दै टप्टप शव्द वायु बटुली, ब्रह्माण्डमा छन् जति ।
लेखे शास्त्र र छन्द सूत्र यिनले, पढ्छौँ रमाई अति ।
भाषा अक्षर ह्रस्व दीर्घ गणना, यो छ्न्द नै होइन ।
मिल्नै पर्छ अरे सबै गणहरू, यो बन्धनै होइन ।
पानी दर्दर पर्छ विश्व जगमा, यो छन्दमा छैन र ?
मौरी भुन्भुन गर्छ फूल जतिमा, के छन्दमा हैन र ?


मेरो मृत्यु र म

गरी सकाम देशमा, हिरिक्क भै मरेँ भनें,
हिमाल फेद, तल्तिरै, पहाडमा रहन्छु म ।
गरेर कर्म देशमा, हपक्क भै मरेँ भनें,
मदेस फाँट, मास्तिरै, चुरेतिरै रहन्छु म ।

झरेर आँसु नेत्रमा, दुखी भई मरेँ भनें,
कुवा र पोखरी बनी, नदीसरी बहन्छु म ।
खुशी भएर प्राण यो, मुसुक्क भै मरेँ भनें,
पलाँस पात पातमा, गुराँसमा रहन्छु म ।

म खेतमा र टारमा हलो सँगै मरेँ भनेँ ।
बिहान साँझ बेलुका म गाँसमा रहन्छु म ।
पखेरु, भीर, पातमा र झारमा मरेँ भने ।
पराल, माच, गोठमा र घाँसमा रहन्छु म ।

कुबुद्धिले मरेँ भनें, कुपुत्र देशद्रोह झैँ,
सुबुद्धिले मरेँ भनें, सुपुत्र भै सपूत झैँ,
जसो गरी र जे गरी, जतासुकै मरूँ तर,
बनूँ म भूत प्रेत नै, स्वदेशमै रहन्छु म ।

हजार मृत्यु पार हुन्, र जन्म हुन् नयाँ नयाँ ।
प्रदेश सात भित्र नै, यतै कतै रहन्छु म ।
निशान चन्द्र सूर्यको, छ माथ उच्च होस् जहाँ,
त्यहाँ गएर खोज है, समीपमै रहन्छु म ।

मच्छर 20

छि¥यौँ चट्ट दुई जना समयमै, कोठा स सानो थियो ।
निभ्यो मैन र अन्धधुन्ध भइयो, संसार कालो भयो ।
टाँग्यौँ त्यो झुल हत्त पत्त जसरी, सुर्केर डोरी पर ।
बेकामी भइयो यही बखतमा, के काम बाँकी छ र ।

गर्मीमा अब वस्त्र खोल्नु छ भनी, गर्दै थियौँ तर्खर ।
सानो एक दुलो थियो झुलतिरै, आए दुई मच्छर ।
एकै स्वर गरी गरी घरिघरी, यी बात गर्छन् दुबै ।
बेले झैं पनि गर्दछन् टिनिनिनी, यी मस्ति गर्छन् खुबै ।

यौटा टोक्छ किटिक्क कान तिरमा, अर्को त गालातिर ।
उड्दै जान्छ सुलुत्त फेरि सहजै, टोक्दो छ छालातिर ।
मारौं मच्छर यी भनी सकसले, हान्यौं दुबै हातले ।
गर्छौं प्याट्ट र पुट्ट रात भरमा, के मर्छ यो तालले ।

धेरै बेर अबेर रात भर नै, यस्तै भयो हालत ।
चुस्नैसम्म चुसे, डसे बल गरी, निभ्दै गयो चाहत ।
छोडे टोक्न ल हेर तृप्त हुन गै, विश्राम भो, बन्द भो ।
जे जे भो जति भो र जे हुनु भयो, आनन्द आनन्द भो ।
पल्लो घरको ढोका र म 21

मेरो झ्याल म खोल्छु देख्छु नजिकै, त्यो काठले निर्मित ।
मान्छेका पसिना र खून जतिले, जन्म्यो, भयो सिर्जित ।
खुल्ला हुन्छ र बन्द हुन्छ कहिले, ढोका उही हो तर ।
मान्छे भित्र र बाहिरै घरिघरी, ढोका छ एक्लै पर ।

पुत्री एक थिइन् उही घरमहाँ, बिहे गरिन् भर्खर ।
ढोका गर्छ बिदा पराइ घरमा, जाउन् भनी तर्खर ।
छोरो एक थियो बिहे गरिलियो, पोहोरको सालमा ।
ढोका स्वागत गर्छ ती वरवधू, उस्तै उही तालमा ।

जन्म्यो नाति ल हेर वर्ष दिनमा, ढोका छिरी गैगयो ।
बामे सर्छ र खेल्छ द्वारतिर नै, यो मित्र झैं भैगयो ।
वृद्धा एक थिइन् हिजो बितिगइन्, संघार खुल्ला भयो ।
ल्याए बाहिर लास आँगनतिरै, ढोका उदाङ्गो भयो ।

ढोका हेर्छु बसेर नित्य घरमा, ढोका म हुन्छु स्वयम् ।
ढोका झैं म छु हेर आज जगमाखुल्ला र बन्द स्वयम् ।
आउन् जो जति दुष्ट, साधुजन ती, जाउन्, बसुन् के छ र ।
ढोका तुल्य बनेर बस्छु म सधैं, जे गर्न सक्छौ गर ।

मुख्य समाचार 22

यौटा पढ्छ प्रकाण्ड बन्छ सहजै, विद्वान हुँ ” भन्दछ ।
टुक्काराम त भन्छ सञ्च दिलले, बेकाम यो बन्दछ । 
अर्को भन्छ प्रचण्ड बेग बलले, मैले गरेँ जे गरेँ
फाली राज र तन्त्र यो मुलुकमा, संघीयता जो भरेँ

अर्को गर्छ हतार द्रव्य लिनमा, पापी छ यस्को मन ।
भ्रष्टाचार गरेर घाटतिरमा, लाँदैन है त्यो धन ।
रक्सी खान्छ र जान्छ साँझ पखमा, अर्को उता छिन् भनी ।
अर्काकी दुलही लिई दिनदिनै, मेरी तिमी हौ भनी ।

अर्को बोल्छ चिहानबाट नउठी, बेकारमा कन्दछ ।
गीता मन्त्र जपेर बोल्दछ सधैं, श्री विष्णु हुँ भन्दछ ।
अर्को बोक्दछ एक बन्दुक उता, नेपाल मेरो भनी ।
अर्को हार्छ अठार पल्ट तर ऊ, मान्दैन लाजै पनि ।

अर्को भन्दछ लौ फुटौँ अब फुटौँ, आलो न पालो, मरोस् ।
अर्को भन्दछ लौ जुटौँ तर सबै, सत्ता यता नै परोस् ।
यस्ताका मतिले र हीन गतिले, नेपाल के बन्दछ ।
झन् यो व्याधि छ आज यो मुलुकमा, नेपाल यो बन्द छ ।

Song/ Gajal 23


नहान्नू नजान्नू नहान्नू मलाई ,
तिखा ती नजरले नहान्नू मलाई ।

भनेकै थिएँ प्रष्ट, प्रष्टै छु आज,
कतै जिस्किएको नठान्नू मलाई

म एक्लै यही भीडमा मर्छु आज,
समाएर औंला नतान्नू मलाई ।

कतै जन्म अर्को नयाँ फेरिएला,
तिमी छान अर्कै, नछान्नू मलाई ।

कलि सत्य त्रेता घुमी द्वापरैमा,
कहिँ मित्र तिम्रो नमान्नू मलाई ।

प्रेमिका, सरस्वती र आमा 24

शशि सूर्य तिमी, जल तेज तिमी ।
नवरूप धरा, वल ओज तिमी ।
वन कुञ्जल कुञ्ज निकुञ्ज तिमी ।
हर सन्त वसन्त प्रशान्त तिमी ।

अभिमान र शान र मान तिमी ।
सब दान मुहान बिहान तिमी ।
सब सञ्च बिसञ्च प्रपञ्च तिमी ।
अविदीर्ण अजीर्ण सुवर्ण तिमी ।

नवशीर्षक काव्य र छन्द तिमी ।
र निबन्ध प्रबन्ध सुगन्ध तिमी ।
बस पानसमा, बस मानसमा,
गर धिप्धिप दीप प्रदीप्त तिमी ।

सब सार प्रसार असार तिमी ।
उपलभ्य तिमी र सुलभ्य तिमी ।
सब जीवन जीव सजीव तिमी ।
बहुमूल्य अमूल्य समूल तिमी ।

म छु स्वाँठ अपूर्ण, र पूर्ण तिमी ।
म छु दीन र हीन, प्रबुद्ध तिमी ।
भर प्रेमसुधा, अनि हेर ममा ।
र दया गर स्तुत्य हिरण्य जिमी ।

जड्याहाको बोलि 25

नतान आज हे सखे, बिराममा परेँ म त ।
नमान दिक्क हे सखे, सिरानमा लडेँ म त ।
नहान वाण शव्दका, नघोप मर्म मर्ममा ।
चसक्क हुन्छ घाउ यो, असह्य दुख्छ चर्ममा ।

म जान्न जान्न भन्दथेँ, उता उता लगी गए ।
म खान्न खान्न भन्दथेँ, दिए गिलास एक यो ।
म साथ मात्र दिन्छु है, भनें बसेर साथमा ।
थपे थपे अझै थपे, चढी गएछ माथमा ।

उठेँ अबेर साँझमा, र हिँड्न गर्छु तर्खर ।
झनन्न गर्छ हात यो, र पाउ गर्छ थर्थर ।
हिजो त सम्म नै थियो, भएछ आज खाडलै ।
जता म टेक्छु पाइला, उता जमीन हुन्न है ।

लडेर दुःख पाउँदा, र ज्यान यो पछारिँदा ।
मजा सजा सबै गयो, हुलुक्क छाद आउँदा ।
उतार वस्त्र यी चिसा, पखाल पाउ हात यी ।
गिलास एक यो भरी, छिटो पिलाउ कागती ।

अबेर रातमा कतै, म रुन्छु दर्दमा बसी ।
सरक्क लेप लाउनू, यहाँ छ है ल ओखति ।
तिमी सिपालु गर्नमा, हरेक कर्म नर्स झैं ।
चिटिक्क आज झन् अहो, अठार सत्र वर्ष झैं ।


विधवा विवाह 26

किस्तीबाट खसेर ओढ्न नहुने, खादा बनेकी थिएँ ।
रातो रङ्ग उडेर फुङ्ग हुन गै, सादा भएकी थिएँ।
आयौ स्वागत गर्न मंच नजिकै, खादा टिप्यौ हातमा
रातो रङ्ग भरेर जीवन दियौ, रङ्गीन यो माथमा ।

सादामा पनि खोल बन्न नसकी, कात्रो बनेकी थिएँ ।
वासन्ती ऋतु, शुक्लपक्ष नहुने, पात्रो भएकी थिएँ ।
आयौ जून बनेर मृत्यु मुखमा, घुम्टी लगायौ ममा ।
नौला पुष्प फुलाउँने ऋतु दियौ, आलोक भो जन्ममा ।

खाली नै छ तथापि लेख्न नहुने, खाता भएकी थिएँ ।
लेखेको पनि पढ्न नै नसकिने, पाता बनेकी थिएँ ।
आयौ सर्सर बग्नु पर्दछ भनी, बोकेर यो लेखनी ।
थाल्यौ पढ्न फरर्र पण्डित बनी, निस्सार यो जीवनी ।

देख्दा सुन्दर मात्र, ओत नदिने, छानो भएकी थिएँ ।
पाकेको तर स्वादहीन अलिनो, चानो बनेकी थिएँ ।
आयौ टाल्न भनेर छिद्र जति छन्, आला पुरानाहरू ।
स्वादै स्वाद भरेर व्यन्जन दियौ, स्वादिष्ट खानाहरू ।


कृषि क्रान्ति 27

साँढे गोरु छ एकमात्र शिवको, नारुन् हलो के गरी ?
के खन्थे उनले त्रिशूल छ तिखो, खन्दैन कस्तै गरी ।
गाई पाल्दछ एक कृष्ण भनिने, जोतुन् र गाई कहाँ !
राँगो त्यो यमराजको पनि उसै, एक्लै छ जोतोस् कहाँ !

हिँड्छन् ती बलराम, मात्र छ हलो, यी युद्धमै व्यस्त छन् ।
बारी जोत्छु भने कठै जनकले, पुत्री उता फल्दछन् ।
ब्रह्मा बिष्णु बसेर तर्खर गरे, के जोत्नु त्यो सागर ।
अर्को त्यो हलि कुम्भकर्ण उसको, घट्दै गयो जाँगर ।

छाडी त्यो घरबार राज महलै, सिद्धार्थ अन्तै गए ।
लागे है वनवास भाइ सहितै, श्री राम अन्तै गए ।
ती लम्व्वोदर जी गणेश भनिने, लेखेर बस्छन् सधैं ।
कल्ले खन्छ र रोप्छ बीज गतिला, के फल्छ के फुल्छ खै !

राजा इन्द्र विरेन्द्र वीर कति छन्, राजा हुनै व्यस्त छन् ।
रानी झन् कलिका कठै वरिकठै !, शृङ्गारमै मस्त छन् ।
भन्छन् क्रान्ति त गर्नुपर्छ कृषिमा, कल्ले कता के गरे ?
नारा सुन्छु र छक्क पर्छु यिनका, संवृद्ध नेपाल रे !

 Old Song 28

दौरा सुरुवाल साँइला लगाऊ न चिटिक्कै ।
बुचे कट्टु साँइला सुहान फिटिक्कै ।

म जस्तालाई साँइली कल्ले पो टेर्छ र ।
लाए पनि साँइली कल्ले पो हेर्छ र ।

कपडा लेऊ साँइला सिलाउँला खिटिक्कै ।
धागो छिराऊ साँइला टोकीदेऊ किटिक्कै ।

गुन्यू चोली साँइली लाइछौ नि आज त ।
सबै छोप्यौ साँइली छोपिनौ लाज त ।

ढाका टोपी साँइला किनेर ल्याकिछु ।
तिम्लाई भनी साँइला देखाउँन आकी छु ।

सुनारेले साँइली कमाको फुली ।
लाइदेऊ यति साँइली देखिन्छौ बेहुली ।

छ पैसाको साँइली तेल लाउली कपालमा ।
सँगै हिँड साँइली जाउँ बरु नेपालमा ।



शव्दसिन्धु 29
छालैछाल छ शव्दको गगनमा, बग्दो छ बग्दो छ यो ।
बग्दो सागर झैं छ, सुद्ध नभमा, आवाजमा छैन यो ।
पृथ्वीमा जल, तेज, वायुसँगमा, झर्दो छ यो तल्तिर ।
बग्दै जान्छ सलल्ल फेरि तल यो, बन्दो छ यो सागर ।

नीलो वर्ण छ यो उता सगरमा, नीलै छ त्यो सागर ।
पक्का नै अब हेर्छु, सुन्छु म भनी, धेरै गरेँ जाँगर ।
मेरै ज्यान भएर बग्दछ उँधो, दो कर्ण यी माध्यम ।
थुन्दै कान म शव्द सुन्छु कहिले, आवाज नै चिन्दिन ।

छन्दैछन्द र वर्ण, दण्डकहरू, एकाक्षरी मन्त्र छन् ।
शव्दैशव्द र ह्रश्व, दीर्घ, गण ती, साकार ॐकार छन् ।
हेर्दै बस्छु निशव्द शव्द रमिता, ती शव्दका तालमा ।
गम्दै रम्छु अपौरुषेय कविता, ती शव्दका छालमा ।

मेरो मृत्यु अवस्य हुन्छ जहिले, त्यो शव्दमा पुग्छु कि !
आत्मा मोक्ष भयो भने यदि कतै, त्यै शव्द पो हुन्छु कि !
हे निर्वाण ! अनन्त ! मार अब लौ, नाचौं म त्यो विन्दुमा ।
तिम्रा शव्द सबै घनन्नन बजून्, त्यो शव्दको सिन्धुमा ।


भ्रूणश्वासप्रयास, भुजङ्गप्रयात 30

हरे दैव ! यो के ग¥यौ आज फेरि ?
उता गै गयौ आज हेर्दै नहेरी ।

यहाँ गर्भमा बासको प्रश्न गर्दा,
कि सुन्दै सुनेनौ, कि गर्छौ अटेरी ?

सिमी बीज झैँ मात्र बन्दै थिएँ म ।
जरा नै सुकायौ बनी त्यो खडेरी ।

म बढ्दैछु भन्दा र जन्मन्छु भन्दा,
रुवाएर मा¥यौ मलाई नटेरी ।

कि पितृत्व मातृत्व जम्मै डढायौ ?
कि हे दैव ! तिम्रै गयो प्राण फेरि ?

भरेको रात 31 चरो म उड्ने पनि हैन हे सखे । दह्रो म कुध्ने पनि हैन हे सखे । कसो कसोरी अब भेट्न आउनु । जहाज उड्ने पनि हैन हे सखे । छ चहाना भेट्न र बात मार्नको । छ कामना प्रेमिल बीज सार्नको । तिमी उता एकलमा निदाउँने । यता सिरानी म सधैँ भिजाउँने । दिवा भयो लौ जपना तिमी हुने । र नीद आए सपना तिमी हुने । जसै अँधेरो सब रात रातमा । मरेसरी जीवन आर्यघाटमा । जता सुकै जे अब आँट हे सखे । जसो जसो हो अब ढाँट हे सखे । म हिँड्न थाल्दैछु अबेर साँझमा । भरे मिली काट्नु छ रात हे सखे ।
छोरो मान्छे 32
नारी हैन अरे, पुलिङ्ग हुँ अरे, स्त्रीलिङ्ग नै हैन रे ।
देवी हैन, म देव हो, पुरुष रे, स्त्रीजात नै हैन रे ।
खस्रो बोल्छु अरे, रिसालु छु अरे, साह्रै फटाहा छु रे ।
मर्दाङ्गी हुँ अरे, रुखो, विरसिलो, यस्तै सधैँ हुन्छु रे ।
नारीमा रहने दया र ममता, मेरा हुँदैनन् कि त ?
नारी कोमलता क्षमा र करुणा, मेरा हुँदैनन् कि त ?
देख्दा दुःखहरू दुबै नयन यी, मेरा रुँदैनन् कि त ?
नारी स्नेह र भावना मन भरी, मेरा हुँदैनन् कि त ?
मेरो गर्भ मभित्र बस्दछ सदा, स्त्रीजात नौ मास हो ।
मेरो गर्भ तुहुन्न बाँच्तछ सदा, यो ब्रह्मको बास हो ।
मेरा मानसपुत्र आज पनि छन्, छन् दीर्घजीवी पनि ।
मेरो अमृत तत्व गुप्त छ सदा, यो पूर्ण सञ्जीवनी ।
एकैमा नरसिंह बाँच्दछ भनी, यो शास्त्र जो बोल्दछ ।
पानीका सँगमा दुई अणुहरू, विज्ञान यो खोल्दछ ।
नारी अर्धस्वरूपको छ शिवको, हे अर्धनारेश्वर !
बाबा मात्र सुनेर दिक्क म भएँ, आमा म के हैन र ?
मृत्यु 33

वृद्धावृद्ध म देख्छु बाल वनिता, वैंसालु उस्तै यहाँ ।
गाईबस्तु मृगादि सर्प कमिला, देख्दैछु उस्तै यहाँ ।
कस्को मृत्यु कहाँ भएछ भन लौ, को को गए घाटमा ?
एक्लै को छ कहाँ कुनै समयमा, जल्दैछ को यादमा ?

ईर्ष्या , द्वेष घृणा र कल्मषहरू, के मर्दथे झन् अझै ।
माया, सत्य, दया र धर्म, करुणा, के जल्दथे छन् अझै ।
यी जम्मै पहिले थिए र अहिले, जम्मै यतै देख्छु म ।
यस्तै जीवन भोलि यो जगतमा, ठ्याक्कै उही देख्छु म ।

मान्छे बाँच्न हतार गर्छ किन हो, मर्ने हुँदै हैन यो ।
बाँच्दैमा यदि मृत्यु आस छ भने, के बाँच्नु व्यर्थै भयो ।
मुर्दा नै अब त्रास हो यदि भने, जिम्दो छु के आज म ?
जिम्दो नै अब लास हो यदि भने, मुर्दा हुँ के आज म ?

मात्रै काल छ घुम्छ फन्फन गरी, यो मर्छ जन्मन्छ यो ।
रोप्दै बीज उखेल्छ यो घरिघरी, पूर्णत्त्वमा पार्छ यो ।
मेरो मृत्यु हुँदा जलेर रहँदा, रौला कतै घाटमा ।
अर्को फूल तुरुन्त फुल्छु म सदा, नौला कतै पातमा ।


उल्टो कविता 34

उल्टै मात्र सधैँ म देख्छु किन हो, ब्रह्माण्ड उल्टो छ कि ?
उल्टै घुम्दछ रे धरा वसुधरा, यो विश्व उल्टो छ कि ?
मान्छेको छ जरा दिमाग भनिने, आकाशमा मास्तिर ।
सारा विश्व समग्र एक छ अरे, यौटै छ रे अक्षर ।

ती रत्नाकरले बसेर वनमा, उल्टो जपे मन्तर ।
बोल्दै शब्द मरा मरा भनिकनै, ती राम चिन्थे तर ।
राधाकृष्ण रमे र भक्तजनमा, त्यो प्रेमधारा भयो ।
उल्टै बग्दछ कृष्णप्रेम कि कसो, धारा त राधा भयो ।

आँखा चिम्म गरेर हेर्छ बबुरो, ध्यानस्थ बन्दै अति ।
उल्टो पीपल झैँ छ रे जगत यो, देख्छन् बसेरै ऋषि ।
छोडी मान र शान ती महलमा, सिद्धार्थ अन्तै गए ।
उल्टै जप्दछ बुद्धचित्त कि कसो, माला त लामा भए ।

घाँटी काट्छ पलाउँदैछ मुजुरा, हेर्नुस् न रामायण ।
आफैँ मर्न भनेर गर्छ हरणी, उल्टो छ यो रावण ।
तीनै पाउ जमीन माग्छ उसले, पुड्के छ यो वामन ।
लामो पुच्छर केशमाथि शिरमा, उल्टै भयो ब्राह्मण ।

आउँछु रे 35

अब आउँछु रे अब आउँछु रे ।
सरितासरि झैँ अब आउँछु रे ।
म त दङ्ग भएँ म त मख्ख भएँ ।
वनितासरि झैँ अब आउँछु रे ।

सहनै नसकी सब दुःखहरू ।
अनि भर्न भनी सब सुख्खहरू ।
रबितासरि झैँ अब आउँछु रे ।
सबितासरि झैँ अब आउँछु रे ।

मनको वनमा तन यौवनमा
मनमग्न भई अब जीवनमा
गुनकेसरी झैँ अब आउँछु रे ।
सुनकी चरी झैँ अब आउँछु रे ।

सब भाव तरङ्ग प्रभाव लिई ।
र अमङ्गल धूनहरू नलिई ।
नव जून बनी अब आउँछु रे ।
नव धून बनी अब आउँछु रे ।


परीक्षा 36
प्रश्नै प्रश्न भए, दिमाग भरियो, पाए कतै उत्तर ।
मेरो यो मन शान्त, सञ्च हुन गै, बल्थ्यो कुना कन्तर ।
कस्तो यो परिवार हो शिवजिको, ठ्याक्कै नमिल्ने भयो ।
बस्दैछन् किन हो हिमालतिरमा, साह्रै चिसोमा अहो ।
आफ्नो गर्भ छँदाछँदै वदनमा, ती पार्वतीले किन ।
पालिन् पुत्र कुमार औ गणपते, त्यो गर्भ खाली किन ?
ए बाबा ! कसरी यसो हुन गयो, हे पार्वती श्रीमुखे ?
भोले पञ्चमुखे र पुत्र छ मुखे, अर्को छ हात्ती मुखे !
बाको वाहन गोरु बस्छ घरमा, त्यो सर्प घाँटीतिर ।
माईको पनि बाघ बस्छ यसमै, घुम्दै कुना कन्तर ।
कान्छाको त मयूर नाच्छ गृहमा, ती जेष्ठको त्यो मुसो ।
धेरै चक्चक गर्छ भित्र यसले, साह्रै पिराहा छुचो ।
सिङ्गै निल्दछ सर्पले घरमुसो, मार्दै नमार्ने किन ?
साँढेको अझ सत्रु बाघ बलियो, दार्दै नदार्ने किन ?
मान्छे बोक्दछ यो चरो यदि भने, हात्ती छुचुन्द्रो किन ?
रानीका गहना गनी नसकिने, राजा खरानी किन ?
गंगाका, विषका, जटामुकुटका, उन्मत्तका, मातका ।
शम्भोका, जलधारका पृयकथा, त्यो गोत्रका, जातका ।
यस्ता प्रश्न हजार छन् मनभरी, लेखेर नै सक्दिन ।
हुन्छौँ फेल सधैं सधैं यदि भने, पूजा गरेको किन ?

नेपाल माफी गर 37
आमा तीन भनेर बुझ्न म सकूँ, गाई र माई, जिमी ।
सातै जन्म चिनेर पुज्न म सकूँ, नेपाल आमा तिमी ।
तिम्रो काख म खेल्छु, खन्छु दिनमा, यो स्वप्न बोक्दै झिनो ।
मर्दाखेरि म ओढ्न पाउँ चपरी, यो मृत्तिकाको चिनो ।
तिम्रो रूप धपक्क बल्छ सबमा, त्रैलोक्यकी सुन्दरी !
दागा धर्छ पराइले कुमतिले, सुस्ता, धुरा माधुरी ।
तिम्रो त्यो लिपुलेकको हृदयको, चित्कार यो सुन्छु म ।
तिम्रा आर्त कथा तिता बिरहका, यो चित्तमा उन्छु म ।
तिम्रो त्यो मन रुन्छ, हुन्छ, अमिलो टन्किन्छ घाउसरि ।
चोटैचोट छ हात पाउ भरिमा, देखिन्छ प्रष्टै गरी ।
टोकी च्यात्छ धरर्र गर्छ फरिया, हे प्राण ! हे मेदिनी !
सुन्दैमा मन यो सिरिङ्ग हुन गै, रोकिन्छ यो लेखनी ।

व्यर्थै जन्म दिलाइछौ कनिकनी, सन्तान मेरो भनी ।
मेरो जन्म त अर्थहीन हुन गो, हे नित्यकी नन्दिनी !
तिम्रा ती हिमशैल, फाँट, वनको, रक्षार्थ आफैँ गर ।
माफी माग्छु म आज माथ निहुरी, नेपाल माफी गर ।


भोगटेको रुखमुनि 38
छिट्टै उठ्छु र हेर्छु आँगनतिरै, साह्रै अनौठो छ यो ।
हेर्दै बस्छु बिहानमा घरिघरी, आश्चर्यको जन्तु यो ।
हेर्दा कम्मर बाघको छ छरितो, भाचिन्छ झैं देख्छु म ।
चुल्ठा ती सिँङ झैं दुईतिर उसै, गाँसिन्छ झैं देख्छु म ।
हिँड्ने चाल अहो लुसुक्क छिनमा, ढाडे बिरालो सरि ।
आँखा टल्टल टल्कने छ मृग झैं, हाब्रे, हुँडारै सरि ।
जे दिन्छन् सबले लिई कपकपी, गर्छौ तिमी भक्षण ।
फेर्दै रूप र रङ्ग सर्पसरि झैं, लुक्छौ तिमी तत्क्षण ।
टीको चट्ट निधारमा छ शिरमा, पाण्डा कतै हौ कि झैं ।
खुट्टा हात त हृष्टपुष्ट बलिया, त्यो सिंह पो हौ कि झैं ।
बोल्दा रीस हराउँने घरिघरी, मैना चरी, कोयली ।
नाच्छौ गीत सुनी मयूर जसरी, साह्रै भयौ चञ्चली ।
साना छन् कलिला भुरा घरतिरै, तर्सेर रोलान् कतै ।
देख्दा रूप विचित्रको नियमको, पर्लान् बिरामी कठै ।
के बस्छौ घरमा, ल फर्क वनमा, जाऊ कुदी बेस्सरी ।
जाऊ झट्ट तुरुन्त, हे वनचरी !, हे कामिनी सुन्दरी !
विसङ्गतिवाद 39 मेरा मित्र यहाँ मनेर रिसले, आए बडो हर्षले । पोको एक अगाडि सुन्दर दिई, बार्ता गरे तर्कले । अत्यन्तै गुलिया थिए तरबुजा, वा हो कि नौला अरू । खाएँ टन्न भएँ फुरुङ्ग म भएँ, मागेर खाएँ अरू । सोचेंथेँ अब आउने छ दिन यो, खानेछु राम्रा फल । ठ्याक्कै आज परेछ यो दिन उही, राम्रा थिए काफल । धेरै बेर बसेर हेर्छु मुखमा, मिल्दै नमिल्ने छ यो । मेरा मित्र यहाँ मनेर रहने, यो मित्र नै हैन पो ! सोधेँ प्रश्न हजारमा र सयमा, लौ भन्नुहोस् को तिमी । लाटो झैँ अकमक्क पो हुनगयो, बिर्सेछ भाषा पनि । दोबाटे तटमा सधैँ म रहने, एक्लै यहाँ रातमा । साथै बस्न भनेर आउनुभयो, पोको लिई हातमा । जे जे भन्दछ ऊ म सुन्छु रसले, के अर्थ नै बुझ्दिन । जे जे भन्छु म फेरि सुन्छ उसले, सक्दैन ऊ सम्झन । आहा ! सुन्दर ! मार्मिकै छ रसिलो, वा ! वा ! छ काव्यार्चना । मेरा मित्र म झैँ फुरुक्क हुन गै, अर्को गरे सिर्जना ।


कल्पना 40

तिमी टम्म पानी, म आली बनौँला ।

तिमी फूल थुङ्गा, म माली बनौँला ।

सँगै फुल्न सक्छौँ, सँगै फल्न सक्छौँ ।

तिमी अन्न बन्नू, म बाली बनौँला ।

उता कल्पनाको, तिमी मूर्ति बन्नु ।

पुजारी र टीको, म थाली बनौँला ।

तिमी टन्न छौ, आज देऊ मलाई ।

बनी पूर्ण झुसी, म डाली बनौँला ।

म माग्दैछु तिम्रो, तिमी हात देऊ ।

दुबै हात साटौँ, र ताली बनौँला ।
गजल 41 ठिकै हो रिसाएर मार्नू मलाई । मजाले रिसाएर मार्नू मलाई । रहेको भएमा कतै छुस्स हाँसो, खुशी त्यो मिसाएर मार्नू मलाई । कतै कोल होला पिना तेल छान्ने, यसैमा पिसाएर मार्नू मलाई । म भारी बनौँला कतै सम्झनाको, र डोको बिसाएर मार्नू मलाई । जसो जे गरी हुन्छ पार्नू भुतुक्कै, तताई चिसाएर मार्नू मलाई । ठिकै हो रिसाएर मार्नू मलाई । मजाले रिसाएर मार्नू मलाई ।



साँध 42

साँधमा जब म पुग्छु अगाडि ।
वाण धेर अब गर्छु तयारी ।
हान्छु बेस्कन म मार्न बसेको ।
साँधमा छ अझ शत्रु बसेको ।।१
भर्छु यो वदनमा बल धेरै ।
उठ्छु आज म बिहान सबेरै ।
छैन आज म त हार्न बसेको ।
साँधमा छ अझ शत्रु बसेको ।२
मित्र हे ! सकल आज ल आऊ ।
राख्नुपर्छ अब जीवन दाउ ।
गन्नुपर्छ अब लास खसेको ।
साँधमा छ अझ शत्रु बसेको ।३

चम्को 43

आफैँ तात्न नसक्नु पीर छ बडो, हालेर बाल्छन् सिटा ।
आफैँ पाक्न पकाउनै नसकिने, पोलेर खान्छन् मिठा ।
चम्का तीन भएर तात्छु म सधैँ, सेलाउँदै गर्छु म ।
ढुङ्गो प्राण विहीन हुन्छु बिचरो, के पाक्छु के डढ्छु म ।
चैटा चिर्पट दाउरा अनि झिंजा, हुन्छन् सदा मित्र यी ।
ओदानो मनभित्र साथ रहने, डढ्छन् सबै भित्र यी ।
आगो भर्भर गर्छ सोच्छु मनमा, आए कि नौलाहरू ।
आए आउन मात्र हेर्न रमिता, बन्दै रुपौला अरू ।
आगो दन्दन बल्छ भित्र जहिले, आएर ताप्छन् मिठो ।
ताजा साग र भात टन्न कहिले, खाएर जान्छन् छिटो ।
सिङ्गो त्यो रुख भष्म हुन्छ दिनकै, बन्दै खरानी भने,
तिम्रो रूप अवश्य सुक्छ कहिले, आश्चर्य मान्नु छ के ।
चम्को बन्न तयार छौ यदि भनें, साथी बनौँ आज नै ।
चम्का चार बनौँ रमौँ सँगसँगै, आजन्म आजन्म नै ।
चौको धप्धप पार्नुपर्छ दिलको, जल्दै मरोस् राग यो ।
आगो निभ्न म दिन्न बल्दछु सदा, यो जीव जीवात्मको ।



गाउँले जीवन 44
झुल्किन्छन् सविता हिमाल शिरमा, ढिस्का बनिन् बेहुली ।
पाखा पर्वत खर्क हर्क भरियो, छन् छन्दमा कोइली ।
साह्रै स्निग्ध सुरम्य प्रष्ट छरितो, यो गाउँले चिन्तन ।
साच्चै शान्त र सौम्य सभ्य छ अहो, यो गाउँले जीवन ।

पास्नी भोज बिहे पुराण रमिता, जाग्राम मेलादिमा ।
पातैपात सलल्ल बग्छ कविता, यो शुद्ध सङ्गीतमा ।
एक्लैमा डर छैन साथ छ मिठो, पोथ्रा चरा माहुरी ।
सग्ला शास्त्र समीपमा प्रकृतिको, ऐश्वर्यको माधुरी ।

जो दिन्छन् ऋतुमा सबैतिर घुमी, यो गाउँले सोम हो ।
जो लिन्छन् सब भानुले भुवनमा, यो गाउँले होम हो ।
बाँकी जन्म र कर्म मृत्यु चरु हुन्, यो कुण्ड हो व्योमको ।
चारै पाउ चटक्क एक लयमा, यो गाउँले ओम हो ।

यौटा नेत्र फुटाल्छ शुक्र कहिले, विज्ञान फैलाउँने ।
तेस्रो नेत्र नियाल्छ रुद्र जहिले, सद्ज्ञान मौलाउँने ।
उद्यानी रहमा म डुल्न नसकूँ, हे ग्रामबासी किन ?
कुण्ठा यी सब नष्ट पार्छु छिनमा, आऊ मलाई लिन ।

पारिजातको इज्जत 45

हेर्दै बस्छु म पारिजात दिनकै, आँखा समीपै उनी ।
बारी आँगनबीच यी नजिकमा, बढ्दै गरेकी उनी
सानामा कलिली छँदा कहिँ कतै, वास्ता न व्यास्ता भइन् ।
अग्लो ज्यान गरिन् सलक्क ज यी, यी नेत्र तान्दी भइन् ।
आयो बैँस चडेर काण्ड भरिमा, मुस्कान ती ओठमा
थालिन् छोप्न कठै र पुष्पित भइन्, श्रृङ्गार यो बोटमा ।
थाले हेर्न र फूल टिप्न जन यी, वृद्धा तथा बालक ।
थाले पुज्न सिँगार्न ईश जति छन्, यी विश्वका पालक ।

देख्दा दानव झैँ उदण्ड मतिको, यौटा यतैको ठिटो ।
च्याप्पै पार्दछ वृक्षवक्ष लले, हल्लाउँदै यो छिटो ।
चोखो बैँस बरर्र झर्छ भुइँमा, ती कोपिला तर्सिए ।
काम्दै थर्थर मूल पात र जरा, हाँगाहरू झस्किए ।
सिङ्गो ज्यान म दिन्छु फुल्दछु अझै, वर्षौँ म बाँचू भनिन् ।
तिम्रो साथ मिलेर प्रीत लयमा, वर्षौँ म नाचूँ भनिन् ।
के बुझ्थ्यो उसले फुलेर रिसले, आगो बुझाई गयो ।
पारी इज्जतको धुजा प्रकृतिको, इच्छा तुहाई गयो ।

बुढेसकाल 46
डस्ना भिज्छ दिसा पिसाब सरिको, डुब्दोहुँला तालमा ।
निल्दा ओखति, जाउलो म त कतै, ढल्दोहुँला थालमा ।
पर्दा खट्पट आङमा वदनमा, बन्दो हुँ बेहाल म ।
आऊ है यमराज मार ल भनी, पर्खिन्छु यो काल म ।
मेरा साथ समीपमा मसँग नै, बस्ला र को खाटमा ।
पानी खान भनी गिलास भरिलो, देला र को हातमा ।
खोक्दा यो कफ थुक्न फ्याक्न छरितो, होला र को साथमा ।
तातो ज्यान भएछ लौ अब भनी, छाम्ला र को माथमा ।
आफ्ना सज्जन बन्धुबान्धव सबै, छोरा र छोरीहरू ।
जालान् देश विदेशमा प्रगतिका, पंखा उचाली बरू ।
ती पल्ला घरका छिमेकतिरका, सोध्लान् कसो के भनी ।
मेरो वाक्य बसी म भित्र मसिनो, सुन्ला र को त्यो घडी ।

त्यो बेला मनमा सदैव म जपूँ, हे राम ! हे राम ! हे ।
प्यारा कृष्ण मभित्रका हृदयका, हे श्याम ! हे श्याम ! हे ।
मेरा बन्धु सबै तिमी बनिदिनू, डस्ना र पानी पनि ।
लैजाऊ तन यो फुरुङ्ग म बनौँ, मेरै तिमी हौ भनी ।

छन्दः इन्दिरा 47 शीर्षकः इन्दिरा अब त इन्दिरा, खास लाग्छ कि । अब त इन्दिरा, आस लाग्छ कि । अति भयो अति, साथ साथमा । अब त इन्दिरा, प्यास लाग्छ कि । अब त इन्दिरा, झोक लाग्छ कि । अब त इन्दिरा, भोक लाग्छ कि । अति भयो अति, काख काखमा । अब त इन्दिरा, तोक लाग्छ कि । अब त इन्दिरा, दोष लाग्छ कि । अब त इन्दिरा, होस जाग्छ कि । अति भयो अति, बात बातमा । अब त इन्दिरा, जोस जाग्छ कि । अब त इन्दिरा, चोट लाग्छ कि । अब त इन्दिरा, पोट लाग्छ कि । अति भयो अति, रात रातमा । अब त इन्दिरा, बोट लाग्छ कि ।



शीर्षकः दमितको बिन्ती 48


मेरो क्रान्ति म भित्र मर्छ जहिले, छिर्दा अरूको घर ।
पुज्दाखेरि त जल्छ मूर्ति जहिले, ढल्दैछ यो मन्दिर
पानी चल्छ पराइका सहरमा, राम्रो उता शुद्ध छ ।
मेरोमा किन हो अशुद्ध छ यहाँ, विषाक्त के घुल्दछ ?


मेरा यी पद पाइला सडकमा, नाङ्गै हिँडेथे तर ।
अर्कै बोल्छ कडा कडा सदनमा, ऊ गर्छ अर्कै कुरा ।
के का निम्ति म युद्धमा मुछिगएँ, धिक्कार यो क्रान्ति यो ।
जे का निम्ति मरेर पुत्र गइगो, ब्यर्थै अशान्ति भयो ।
सोच्दैनौ कहिले सबै रगतका, टाटा सुकेका किन ?
सोध्दैनौ कहिले छ घाउ मनमा, खाटा बसेका किन ?
सुन्दैनौ जहिले व्यथा दलितको, माटो करायो किन ?
लेख्दैनौ कि कसो कथा दमितको, बाटो हरायो किन ?


चर्को भाषण गर्दछौ घरिघरी, वास्ता गरे झैँ गरी ।
केही काम गरिन्न आज तर खै, आस्था मरे झैँ गरी ।
गर्दै आज श्रमिकको बनिबुतो, धान्दैछु यो प्राण म ।
देऊ पाल्न जहान, वृद्ध, बचरा, यो बिन्ती गर्दैछु म ।


फूल 49
वासना र विषयको हौ कि तिमी मूल ?
भ्रमरा त्यो तिमीसँगै नाच्छ किन फूल ?
मायाकी हुँ प्रतिमूर्ति मायाँ नै हो मूल ।
आधा जगत् भ्रमरा हो आधा जगत् फूल । १


घोच्छौ पनि रोप्छौ पनि कस्ता तिखा शूल !
किन पाल्छौ ? किन राख्छौ ? भयो खुलदुल  ।
सुरक्षार्थ आफ्नोलागि पाल्छु आफैँ शूल ।
टिपिहाल्छन् सकिहाल्छन् आउँछन् हुलहुल । २


तिमी फुल्दा मेरो मन गर्छ चुलबुल ।
मेरो मन तिमी जस्तै छ कि क्या हो फूल ?
धेरै प्रश्न सोध्नु हुन्न गर्दै तुलबुल ।
सबै तत्त्व खुल्दै जान्छन् बगैँचामा डुल । ३

जाऊ कतै पर्तिर 50



हे मेरी नवसङ्गिनी सुन तिमी, जस्तो छु उस्तै छु म ।
जस्तो त्यो पहिले थिएँ अटलको, उस्तै दुरुस्तै छु म ।
मेरा निम्ति भनेर स्थान दिलमा, राख्दै नराख्नू तिमी ।
अर्कै ताक बरू र राख मुटुमा, त्यो प्यार देऊ तिमी ।


तिम्रो रूप धपक्क बल्दछ भनी, भन्लान् अरूले तर ।
तिम्रो ज्यान चटक्क मिल्दछ भनी, मान्लान् अरूले तर ।
तिम्रा सुन्दर हात पाउ छरिता, ठान्लान् अरूले तर ।
तिम्रो चित्र मभित्र छैन मनमा, जाऊ कतै पर्तिर ।


तिम्रो चाल र ढाल शुद्ध गतिलो, देख्लान् अरूले तर ।
तिम्रो भाव सुभाव हो भनिभनी, लेख्लान् अरूले तर ।
तिम्रो स्वाद र तिर्सना मरिमरी, मेट्लान् अरूले तर ।
तिम्रो स्थान मभित्र छैन मुटुमा, जाऊ कतै पर्तिर ।

तिम्रो सित्तनसाथ सोम रसिलो, तान्लान् अरूले तर ।

तिम्रो लाज मुसुक्क, ज्यान कसिलो, मान्लान् अरूले तर ।
तिम्रो प्रीत पवित्र शुद्ध छ भनी, जान्लान् अरूले तर ।
तिम्रो चित्र मभित्र छैन मनमा, जाऊ कतै पर्तिर ।


तिम्रो ढङ्ग सुढङ्ग हो रटिरटी, घोक्लान् अरूले तर ।
तिम्रो रङ्ग सुरङ्ग हो कनिकनी, बोक्लान् अरूले तर ।
तिम्रो अङ्ग सुअङ्ग हो घरिघरी, टोक्लान् अरूले तर ।
तिम्रो स्थान मभित्र छैन मुटुमा, जाऊ कतै पर्तिर ।


तिम्रो मात सुमात हो भनिभनी, चाख्लान् अरूले तर ।
तिम्रो साथ सुसाथ हो जपिजपी, ताक्लान् अरूले तर ।
तिम्रो बात सुबात हो रमिरमी, सुन्लान् अरूले तर ।
तिम्रो चित्र मभित्र छैन मनमा, जाऊ कतै पर्तिर ।


पीपलको बोटमुनी 51


ढाई अक्षर प्रेम पोख न निशा, श्री सुर्य डाकौँ अब ।
डेढी श्वास मभित्र राख न दिवा, श्री चन्द्र ताकौँ अब ।
सिङ्गो बुद्ध म बन्न पो मन गरेँ, सिद्धार्थ भागोस् पर ।
सादा जीवन उच्च सोच मनमा, यो विश्व हाँकौँ अब ।


देऊ अन्न पवित्र बोटभरिमा, यो पाकशाला भरूँ ।
देऊ शुद्ध मथेर ज्ञान गतिलो, यो पाठशाला बनूँ ।
देऊ मन्त्र र तन्त्र अग्नि भरिलो, यो यज्ञशाला बनूँ
देऊ वर्ण सुवर्णका कखहरू, यो वर्णमाला बनूँ ।


थोरै घ्राण सप्रेम दे कुकुर दे, त्यो सिंह प्रेमी बनोस् ।
सर्को प्राण भरेर दे ढुकुर दे, त्यो गिद्द साथी बनोस् ।
थोपो शक्ति सरक्क दे वदनमा, हाँसून् सबै दुर्जन ।
पित्को भक्ति सलल्ल दे हृदयमा, बाचून् सबै सज्जन ।


मेरो यो अवनी सदैव रसिलो, अक्षुण्ण होस् सर्वदा ।
मेरा यी जनका पवित्र शिरमा, फक्रोस् फुलोस् नम्रता ।
आठै कर्म र आर्यसत्य जतिछन्, सम्पूर्ण यो विश्वमा ।
होओस् पालन बुद्धका वचनका, यो शान्त नेपालमा ।

सिद्धिचरणप्रति 52
गरे गाउँ प्रेम हुँदैन मरण ।
भन्ने तिमी हौ एक प्रमाण ।
सूत्र तिम्रो यो गर्छु म वरण ।
मेरा प्यारा हे ! सिद्धिचरण ।

गाउँ र भाषा देशका पाउ ।
पुज्यौ तिमीले दुईटै चरण ।
गाउँ छ ज्यूँदो भाषा जाग्दो ।
ओखलढुङ्गा हो उदाहरण ।

दर्शनलाई छ मेरो नमन ।
आत्मालाई छ श्रद्धा सुमन ।
हौ कारक कर्ता कर्म करण ।
श्री हौ मेरा श्री सिद्धिचरण ।

नपरोस् जानू वैरीको शरण ।
नगरोस् गाउँ शत्रुले हरण ।
लिम्पियामाथि नलागोस् ग्रहण ।
जन्माऊ अरू सिद्धिचरण ।
(पादाकुलक मात्रिक छन्द )

वैवाहिक वार्षिकोत्सवकालागि
गीत 53
म सुम्पन्छु आफैँ, कतै क्यै नहेरी ।
बिहे गर्छु दोस्रो, तिमीसङ्ग फेरि ।
जता चम्कियून् सूर्य तारा उज्याला ।
तिमी जून मेरै, यही बस्छु हेरी ।
मिठो प्रेम चोखो, नदेलान् कसैले ।
सधैँ बस्छु यो साथ फेर्दै नफेरी ।
अरूले भनुन् जेसुकै पीर छैन ।
स्विकार्ने छु दाम्पत्य टेर्दै नटेरी ।

यही रङ्ग छाओस् यही ढङ्ग आओस् ।
र आत्मा रमाओस् तिमीसङ्ग फेरि ।

भावाकार 54
द्यौराली वनमा र देवथलमा, द्यौता पुका¥यौ कि त ।
नौला वस्त्र भिरेर मूल घरको, ढोका उघा¥यौ कि त ।
खाजा बाँढ्न रुमाल छेउतिरका, फुर्का फुकायौ कि त ।
मेरो आँगन छेउमा मखमली, कुर्था सुकायौ कि त ।१।
झार्नै फुत्त भनेर एक कमिलो, चोली चलायौ कि त ।
मार्नै प्राण भनी तिखा नयनले, गोली चलायौ कि त ।
काट्ता घाँस कतै बिहान वनमा, हाल्यौ सुसेली कि त ।
ढुङ्गो त्यो खिरिलो लिएर मनको, हान्यौ गुलेली कि त ।२।
खेल्दा खित्खित मित्रसाथ खुशले, हाँस्यौ रमायौ कि त ।
जात्रामा मसँगै कतै रहरले, नाच्यौ समायौ कि त ।
आफ्नै ज्यान अचम्म हेर्न नसकी, आफैँ डरायौ कि त ।
ऐनामा जब हेर्दछौ घरिघरी, आफैँ हरायौ कि त ।३।
भाँडा माझ्न भनी कुनातिर बसी, गाला भिजायौ कि त ।
सम्झी ती मनका कुरा रहरका, रातै बितायौ कि त ।
हेरुन् है ल भनेर फेसबुकमा, फोटो टँसायौ कि त ।
टालाकी दुलही बनेर वरको, माला गँसायौ कि त ।४।
चल्दा सिर्सिर यो बतास शिरमा, त्यो केश छाड्यौ कि त ।
चौबन्दी कसिलो फुकाउँन भनी, त्यो लेस तान्यौ कि त ।
रोप्दा त्यो भटमास खेत डिलमा, त्यो प्रेम रोप्यौ कि त ।
भेट्दा मिर्मिर साँझका समयमा, यी नेत्र छाेप्याै कि त ।५।
के गर्दा दिलमा सुटुक्क छिरिछौ, यो भाव आकारमा ।
आऊ झट्ट तुरुन्त आज दिनमा, साकार आकारमा ।
देखौँ झट्ट तुरुन्त आज दिनमा, साकार आकारमा ।
हेरौँ झट्ट तुरुन्त आज दिनमा, साकार आकारमा ।६।

जिन्दगी 55
ओहो ! म कस्तो छु हुनेछु कस्तो ।
ल हेर बन्दै छु अझै म सस्तो ।
आकाशमा छैन तथापि खस्दो ।
जहाँ म बस्दै छु उहीँ छु खस्दो ।
सङ्गीत नौलो न मिठो गला छ ।
उचाल्न साहित्य न यो कला छ ।
देख्दैछु खल्लो धमिलो पला छ ।
विना कला जीवन यो थला छ ।
त्यो चित्र कोरूँ शिवको पितिक्क ।
न एक यो मूर्ति बनोस् चिटिक्क ।
बाजा बजाऊँ मन हर्न सक्ने ।
न सीप मेरो छ कतै फिटिक्क ।
विज्ञानको ज्ञान नि रत्ति छैन ।
र ज्ञान यो ज्योतिषको नि छैन ।
वक्तृत्त्व वा भाषणमा रमेर ।
नबोल्न सक्ने छु कतै गएर ।
पाक्दै नपाक्ने फल जिन्दगी यो ।
बगेर जाने जल जिन्दगी यो ।
चिप्लेर भाग्ने पल जिन्दगी यो ।
कुहेर सड्ने मल जिन्दगी भो ।

आफैँ हुँ झैँ लाग्दछ 56
चङ्गा हेर्छु दशैँ तिहारतिरमा, इच्छा उँभो उड्दछ ।
धागो छिन्छ र झर्छ एक तल यो, आफैँ हुँ झैँ लाग्दछ ।
यौटा मित्र छ जून यो जगतमा, रित्तिन्छ यो जाग्दछ ।
पूर्णेचन्द्र म देख्छु यो ग्रहणमा, आफैँ हुँ झैँ लाग्दछ ।
माली देख्छु म गोठमा चरनमा, गाईसँगै नाच्तछ ।
बाछो झर्दछ भीरबाट वनमा, आफैँ हुँ झैँ लाग्दछ ।
पानी बग्दछ मूलमा कलकली, तिर्खा कता भाग्दछ ।
दुर्गन्धी ढल देख्छु यी सडकमा, आफैँ हुँ झैँ लाग्दछ ।
पूर्वी आँगनमा म रोप्छु तुलसी, जीवन्त मौलाउँछ ।
रित्तो मोठ म देख्छु आज किन हो, आफैँ हुँ झैँ लाग्दछ ।
अग्ला पीपल हेर्छु रम्छु हरिया, पीडा सबै भाग्दछ ।
ढल्दो यो दिन देख्छु शुष्क ठिँगुरो, आफैँ हुँ झैँ लाग्दछ ।
टाट्नामा हरियो छ घाँस दुधिलो, बाख्रो छ उघ्राउँछ ।
बोको पर्सिन लान्छ आज दुनियाँ, आफैँ हुँ झैँ लाग्दछ ।
फूलैफूल छ वागमा नजिकमा, रङ्गीन यो हाँस्दछ ।
वैलेको जब फूल देख्छु कलिलो, आफैँ हुँ झैँ लाग्दछ ।
गर्दै इज्जत द्रव्यको रहरले, मान्छे यता साँच्दछ ।
मन्सेको डबली म देख्छु पथमा, आफैँ हुँ झैँ लाग्दछ ।
आमा नौ महिना दुखेर तनमा, बच्चो उता मर्दछ ।
सुत्केरी मन देख्छु फुङ्ग नमिठो, आफैँ हुँ झैँ लाग्दछ ।

दशावतार 57

बच्चो बालक जन्मियो ल घरमा, माछो छ तेर्सो छ ऊ ।
पानीबाट झरेर मत्स्य जसरी, नाङ्गो भुतुङ्गो छ ऊ ।
बामे सर्छ सरक्क छेउतिरमा, बच्चो यता वा उता ।
दोस्रो एक छ कूर्म यो छ कछुवा, भोटो छ छोटो उता ।
खुट्टा चार गरी फटाफटा हिँडे, बढ्दै गए तेजले ।
तेस्रो त्यो भनिए वराह यसरी, हिँड्ने बडो वेगले ।
बामेबाट उठेर गर्छ थिगिरी, लड्दैछ उठ्दैछ ऊ ।
चौथोमा नरसिंह नै हुनपुगे, आधा न मान्छे पशु ।
मान्छे बल्ल बने दुई चरणका, कुद्ने भए आँगन ।
हिँड्ने चाल मनुष्यको छ यिनको, पुड्के भए वामन ।
बढ्दै जान्छ उमेर हुन्छ तरुनो, ज्यादै रिसाहा बनी ।
कुद्दै हिँड्छ र काट्छ मार्छ, उसले ती पर्सुरामैसरि ।
भुल्दै जान्छ गृहस्थमा र गृहमा, आदर्शमा बस्छ ऊ ।
मर्यादा उसको छ उच्च तहको, श्रीराम झैँ बन्छ ऊ ।
सिक्दै जान्छ अनेक काम र कुरो, सिक्दो छ भन्दो छ ऊ ।
गीताज्ञान सिकेर दिन्छ सबमा, श्रीकृष्ण बन्दो छ ऊ ।
खोज्दै ज्ञान सुकर्मको हृदयको, सत्मार्गको चित्तको ।
अर्को यो अवतार हुन्छ यिनको, सत्पात्रको बुद्धको ।
बूढो हुन्छ शरीर केश पनि यो, फुल्दैछ यो श्वेत नै ।
अर्को यो अवतार अन्तिम हुने, श्री कल्कि छन् श्वेत नै ।
जाऊ तीर्थ जहाँ जतातिर तिमी, भेटिन्छ के देवता ?
भन्छन् मूर्ख त देव नै मरिगए, मर्थे र के देवता !
हाम्रो यो रथरूप शुद्ध तनमा, जन्मन्छ यो देवता ।
हाम्रै आँगनबीचमा र घरमा हुर्कन्छ यो देवता ।
(The God is not Dead)

गीत 58
देखाऊँ देखाऊँ लागिराछ
छोपौँ लागिराछ ।
आज किन लाज सबै
पोखौँ लागिराछ ।
नहेरी नि धर छैन यतै हुन्छ धेरै ।
अरूसित बात मार्दा लाग्छ ऊ हो मेरै ।
दुई शब्द प्रेमपत्र
केरौँ लागिराछ ।
लुकिलुकी उसैलाई
हेरौँ लागिराछ ।
थापाएमा जिस्क्याउलान् खिज्याउलान् फेरि ।
नजिक आई भन्दे हुन्थ्यो तिमी सधैं मेरी ।
उसैसँग आज एक्लै
घुमौँ लागिराछ ।
थाहै नपाई उसैलाई
चुमौँ लागिराछ ।

सङ्केत 59
उनै कृष्णका रूप आधा कहाँ छन् ?
उनै कृष्णका रूप राधा कहाँ छन् ?
न सिङ्गो म देख्ने, न आधा म देख्ने,
दुवै विश्व आधार आधा कहाँ छन् ?
कुरुक्षेत्र टाढा भयो युद्ध हेर्न ।
कहाँ खोज्नु दुर्योधनै रीस फेर्न ।
जहाँको त्यहाँ आज बस्तै छु हेर,
यिनै कृष्ण राधा त टाढा कहाँ छन् !
हटाऊ न पर्दा यिनै शास्त्र भन्छन् ।
सबै नाश वाधा भनी व्यास भन्छन् ।
म देख्दै नदेख्ने कहाँ के छ पर्दा,
नदेख्ने छु मैलो र वाधा कहाँ छन् ।
दुवै शीघ्र आऊ बलोस् यो प्रकाश ।
सँगै भेट्न पाऊँ दुवै साथ साथ ।
अरू खोज्न आए, अरू सोध्न आए,
भनूँ कृष्ण राधा, ममा नै ममा छन् ।

रिस 60

यौटा बोट म रोप्छु आज रिसको, त्यो बीज देऊ तिमी ।
पानी हाल्छु सरक्क आज विषको, आफैँ बनौला जिमी
मेरो माथ बनोस् सुछत्र यसको, यो ओत थेगोस् सबै
मैलो सोच सदैव यो मल बनोस्, हुर्की बढोस् यो सधैँ ।

हुर्केला जब यो हलक्क बिरुवा, ती पात चिल्ला गरी ।
फुल्लान् चञ्चल पुष्प यी रहरका, ती फूल बोटै भरि
चर्को स्वर कराउँला म मनमा, गाली गरौँला स्वयम् ।
फाल्दै बाण म क्रोधले वचनका, जाली गरौँला स्वयम् ।

फक्री पुष्प अवश्य लाग्छ फल यो, सम्मोह पार्दो ममा ।
आफैँ डुब्छु खुसुक्क मत्स्य जसरी, यो क्रोधको तालमा
मेरो यो स्मृतिको अमूल्य गहना, नासिन्छ यो नष्ट होस् ।
मोरो बुद्धि कुबुद्धि हुन्छ अब यो, आनन्दले भ्रष्ट होस् ।

बुद्धि भ्रष्ट भएर पागल हुँदा, मान्छे नबन्दो हुँ म ।
मातेको मदमत्तको सुँगुर झैँ, नासिन्छु नासिन्छु म ।
मेरो ज्यान अवश्य मर्छ कहिले, सद्भाव पाल्नू तिमी ।
देऊ त्यो रिसको छ बीज अहिले, माया उमार्नू तिमी ।

विश्वको अणु, विष्णु 61

यौटा वस्तु छ सूक्ष्म यो भुवनमा, सूक्ष्माति यो सूक्ष्म छ ।
अर्को वस्तु यतै यसै भुवनमा यत्रै छ झन् सूक्ष्म छ ।
मानौँ यी अणु छन् दुवै, भुवनमा ज्यूँदा र जाग्दा अनि ।
मानौँ भेट भए कुनै समयमा, के बात गर्लान् यिनी । १

ठोक्किन्छन् जब यी दुई अणुहरू, यौटा कुरा निश्चित ।
चारै थोक अवश्य हुन्छ यिनमा विज्ञानको वाक्य छ ।
एकैमा पहिले दुरुस्त र छिटो आवाज यो आउँछ ।
दोस्रोमा गतिको र चाल यसको यो भिन्नमा आउँछ । २

तेस्रोमा अब शक्तिमा र वलमा यो भिन्नता छाउँछ ।
चौथोमा अणु यी दुई मिलिकनै आकार फैलाउँछ ।
यो आवाज र शक्तिको र गतिको आकारको चित्र त ।
सोचेमा ल अवश्य मिल्छ सजिलै यो ज्यान नै भित्र छ । ३

यो आवाज प्रतीकको छ गतिलो, यो शंखको साथमा ।
अर्को यो गतिलो प्रतीक छ नयाँ, यो चक्रको साथमा
अर्को शक्ति गदा भयो, स्वरुपको आकारको पद्ममा ।
शंखै चक्र गदा र पद्म पनि छन् श्री विष्णुका हातमा ।

मानौँ एक त शूक्रकीट अणु हो, अर्को त डिम्बाशय ।
मिल्छन् यी अणु साथ साथ कहिले, नौलो छ यो आशय ।
गर्भैमा अवतार हुन्छ यिनको, हे विष्णु ! साना अणु ।
आफैँ विग्रह गर्छु आज यिनको, यी विश्वका हुन् अणु । ५

साना छन् अति सूक्ष्म यी अणुहरू, के देख्छ यो नेत्रले ।
खोज्दै मन्दिर मूर्ति घुम्दछ यता, के भेट्छ यो ले ।
खोजेमा तनभित्र शास्वत यहाँ, यो धाममा विष्णु छन् ।
लौ गन्नुस् अब विष्णु विष्णु कति छन्, ढोग्नुस् यहाँ विष्णु छन् । ६

मेरो यो तनमा छ विष्णु गतिलो, तिम्रो त के छैन र ?
अर्कोमा पनि हुन्छ विष्णु यसरी, सम्पूर्णमा हैन र ?
शालिग्राम पखाल चूर्ण तुलसी, खाऊ सबेरै तिमी ।
तिम्रा विष्णु अवश्य पुष्ट हुन गै, बाँच्लान् शताब्दी यिनी । ७

बाँचे विष्णु दह्राखरा भइकनै, कल्याण तिम्रो भयो ।
दुब्ला विष्णु भएर धर्म सकिए, वर्वात तिम्रो भयो ।
हिन्दू तत्त्व तिमी विरोध नगरे, यो विश्वको धर्म हो ।
गर्नू इज्जत विष्णुको मनमनै, सम्पूर्णको कर्म हो । ८

हाम्रो भित्र शरीरमा तरलमा, मेदादि बोसो यहाँ
सेतै बग्दछ क्षीर सागर उसै, श्री विष्णु हुन्छन् जहाँ ।
जालैजाल जताततै वरिपरी, बाङ्गा नसा छन् अझै ।
नागैनाग शरीरमा वरिपरी, श्री विष्णुका साथ नै । ९

मिल्दा यी अणु गर्भमा सकसले, बन्दो छ बच्चो यहाँ ।
आमाको मुखबाट खान्छ यसले, जाँदैछ यो नाभिमा
यौटा ब्रह्म तुरुन्त फुल्दछ यता, यो गर्भको वासमा
अर्को फूल दुरुस्त यो कमलको, श्री विष्णुका नाभिमा । १०

चारैतर्फ समुद्र नै छ त जगत्, त्यो ब्रह्म एक्लो भयो ।
बच्चो एक छ गर्भमा तरलमा, साथी नदेख्दो छ यो ।
मायावी मधुनाम हुन्छ उसको, अर्को भयो कैटभ ।
आए दानव यी दुई सँगसँगै, यी युद्ध गर्छन् अब । ११

तिम्रो ब्रह्म पवित्र पुष्ट छ भने, मर्छन् दुवै राक्षस ।
ब्रह्माकै अब धर्भ भ्रष्ट छ भने, मारिन्छ ऊ निश्चित ।
बाँचे ब्रह्म कतै जितेर यिनले, कल्पान्त यो कोखमा ।
पृथ्वीमा अवतार हुन्छ यिनको, त्यो मत्स्यको रूपमा । १२

बच्चो बालक जन्मियो ल घरमा, माछो छ तेर्सो छ ऊ ।
पानीबाट झरेर मत्स्य जसरी, नाङ्गो भुतुङ्गो छ ऊ ।
बामे सर्छ सरक्क छेउतिरमा, बच्चो यता वा उता ।
दोस्रो एक छ कूर्म यो छ कछुवा, भोटो छ छोटो उता । १३

खुट्टा चार गरी फटाफटा हिँडे, बढ्दै गए तेजले ।
तेस्रो त्यो भनिए वराह यसरी, हिँड्ने बडो वेगले ।
बामेबाट उठेर गर्छ थिगिरी, लड्दैछ उठ्दैछ ऊ ।
चौथोमा नरसिंह नै हुनपुगे, आधा न मान्छे पशु । १४
मान्छे बल्ल बने दुई चरणका, कुद्ने भए आँगन ।
हिँड्ने चाल मनुष्यको छ यिनको, पुड्के भए वामन ।
बढ्दै जान्छ उमेर हुन्छ तरुनो, ज्यादै रिसाहा बनी ।
कुद्दै हिँड्छ र काट्छ मार्छ, उसले ती पर्सुरामैसरि । १५

भुल्दै जान्छ गृहस्थमा र गृहमा, आदर्शमा बस्छ ऊ ।
मर्यादा उसको छ उच्च तहको, श्रीराम झैँ बन्छ ऊ ।
सिक्दै जान्छ अनेक काम र कुरो, सिक्दो छ भन्दो छ ऊ ।
गीताज्ञान सिकेर दिन्छ सबमा, श्रीकृष्ण बन्दो छ ऊ । १६

खोज्दै ज्ञान सुकर्मको, हृदयको, सत्मार्गको चित्तको ।
अर्को यो अवतार हुन्छ यिनको, सत्पात्रको बुद्धको ।
बूढो हुन्छ शरीर केश पनि यो, फुल्दैछ यो श्वेत नै ।
अर्को यो अवतार अन्तिम हुने, श्री कल्कि छन् श्वेत नै । १७

जाऊ तीर्थ जहाँ जतातिर तिमी, भेटिन्छ के देवता ?
भन्छन् मूर्ख त देव नै मरिगए, मर्थे र के देवता !
हाम्रो यो रथरूप शुद्ध तनमा, जन्मन्छ यो देवता ।
हाम्रै आँगनबीचमा र घरमा हुर्कन्छ यो देवता । १८

हिन्दू तत्त्व विरुद्ध बोल्छ अहिले, कोही यतैको भुरो ।
अर्को झन् परको बुझेर पनि ऊ, बुझ्दैन यस्तो कुरो ।
सिङ्गो मानव जन्म हुन्छ यसरी, के बुझ्न खोज्दैछ ?
आफैँ प्राण भरेर बाँच्छ कि कसो, के पुज्न खोज्दैछ ? १९

आफैँमा भगवानरूप छ भनी, यो वाक्य बोल्दैछु म ।
धर्मो रक्षति रक्षितम् कनिकनी, यो सूत्र खोल्दैछु म ।
तिम्रो धर्म जता छ जे छ मनमा, विश्वास आस्था गर
अर्काको घर ध्वस्त पार्दछु भने, बिग्रन्छ आफ्नै घर । 20

गीत 62

राम्राले झन् रुवाउँछन् ।
हाम्राले झन् रुवाउँछन् ।
सोधेपछि बोल्ने ठिकै,
चाम्राले झन् रुवाउँछन् ।

चाहना र आशा घोली, तिमीसँग बोलेँ मैले ।
तिमीलाई आफ्नो ठानी, मनपेट  खोलेँ मैले ।

ती आशा छन् रुवाउँछन् ।
चाहना झन् रुवाउँछन् ।
एकै पल्ट भेटौँ भन्दा
बहाना झन् रुवाउँछन् ।

तिर्सनामा हराएँछु, बिर्सिनमा डराएँछु ।
कल्पनाको तालभित्र, निसासिँदै कराएँछु ।

सम्झनाले रुवाउँछन् ।
कल्पनाले रुवाउँछन् ।
पराईको कुरै छोडौँ ।
आफ्नाले नै रुवाउँछन् ।

प्रेम 63
प्रेम आराधना हो तपस्या पनि ।
प्रेम सन्तुष्टि हो, हो निराशा पनि ।

कर्मकी प्रेमिका छन् भने साथमा ।
प्रेम हो जिन्दगीको भरोसा पनि ।

मूर्ख झैँ मातमा छन् भने प्रेमिका ।
प्रेम बेकारको हो तमासा पनि ।

जन्मकी प्रेमिका मातृका हात ती ।
माथमा छन् भने प्रेम आशा पनि ।

स्रग्विणी छन्द नै प्रेमिका छिन् भने ।
प्रेम हो लेखनी बग्छ भाषा पनि ।

देश र महेश 64

सदैव शान्त देश होस्, र शान्त हुन् सबै जन ।
सहस्रपादको कृपा, पवित्र हुन् सबै मन ।

छ बीज क्लेशको कतै, कुभावना नजानिदो ।
त्रिशूल यो तयार होस्, उखेल्न बीज तत्क्षण ।

अभाव भोक पेटमा, लुकेर बस्दछन् भने ।
हलो अनौ छ खेतमा, कुदुन् न तान्न वाहन ।

निशा जमेर बस्दछिन्, दिमागमा कतै भने ।
महेशमाथ सोमले, पखालियून् न दुर्जन ।

र धर्म गोत्र ठाउँको, घमण्ड वक्षमा भए ।
भुजङ्ग कण्ठका उठी ल रोक यो विभाजन ।



Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...