लेख, मनका कुरा, चिठीपत्र
आत्माराम कोभोगो
माननीय श्री पालिका प्रमुख ज्यूहरु, स्थानीय निकायका श्री शिक्षा प्रमुखज्यूहरु र स्थानीय शिक्षा विद्हरु, नमस्कार !
विद्यालयको एउटा कार्यक्रममा मन्तब्य राख्ने क्रममा जम्मा भएका सम्पूर्ण श्रोतालाई हाम्रो पालिकाको शैक्षिक सुधार गर्न राय सल्लाह योजना दिनुहोला भन्नुभएको थियो । त्यसपछि मेरो भेट भएन त्यसैले यही पत्र मार्फत् केही सल्लाह दिँदैछु । कतिपय सल्लाहहरु ससर्त र दीर्घकालीन पनि छन् ।
सर्वप्रथम त तपाईँ अबका पच्चीस तीस बर्षसम्म स्वस्थ भएर बाँच्नुहुन्छ भन्ने के आधार छ ? तपाईँ स्वच्छ हावामा जगिङ्ग गर्दै गरेको हामी देख्न सक्छौं ? मर्निङ वाकमा कतै कुध्दै गरेको भेट्न सक्छौँ ? तपाईँलाई बिहान कतै खेल खेलेको वा कसरत गरेको अबस्थामा देख्न सक्छौँ ? एकाध घण्टासम्म दैनिक ध्यान गर्नुहुन्छ ? महिनाको एकपटक जुनसुकै धर्मको भए पनि आफ्नो पालिकाभित्र सत्सङ सुन्नुहुन्छ ? यी कार्य गर्ने स्थान तपाईँको पालिकामा छन ? छैनन् भने बनाउन पहल गर्नुस् र आफू नै स्वस्थ जीवन बिताउन लाग्नुस् । यदि माथिका कार्यहरु गरी तपाईँलाई अवका पच्चीस तीस बर्ष स्वस्थ भएर बाच्न सक्छु भन्ने लाग्छ भने मसँग शिक्षा विकास सक्बन्धि एउटा योजना छ ।
लामो समयको योजना भएका कारण अर्को प्रसङ्ग । तपाईँको मृत्यु पश्चात् पनि तपाईँले थालेको शैक्षिक योजना कार्यान्वयन हुन्छ भन्ने कुरामा कति विश्वस्त हुनुहुन्छ ? अर्को निर्वाचनमा अर्को व्यक्ति वा दल अगाडि आएर योजना विचैमा रोकिने हो कि ? यसकालागि आफ्नै कार्यकर्ताभित्र श्पष्ट पार्न सक्नुहुन्छ ? प्रतिपक्षि दललाई तिमीले जितेर आए पनि यो योजनाले चाहिँ तिमिहरुको पनि फाइदा हुन्छ, यसलाई पूर्णता देऊ, कार्यान्वयन गर, यसलाई साझा कार्यक्रम वनाऊ भन्न सक्नुहुन्छ ? उनीहरुले तपाईँलाई सघाउलान् जस्तो लाग्छ ? यदि यी काम गर्न सक्नुहुन्छ भने मसँग शिक्षा विकासको एउटा योजान छ ।
सामान्य शिक्षित नेपालीले नेपालको मुख्य परिचय दिनु परेमा उनीहरुले प्रायः दिने परिचय भनेको गौरबमय इतिहास (वीर गोर्खाली आदि), हिन्दूराष्ट्र (पशुपति क्षेत्र, पूराण आदि), भौगोलिक अवस्थिति (सगरमाथा आदि) र कृषिप्रधान देश भन्दछन् । यी शब्दहरुलाई नेपालको पर्यायवाची शब्द मान्दछन् तर अहिले संविधानतः नेपाल हिन्दूराष्ट्र होइन, इतिहास र भूगोल विषय माध्यमिक तहसम्म पढाई हुदैनन् अनि आयातित दाल चामल गाउँ गाउँसम्म पुगेको छ । यो अवस्थामा नेपालको पहिचान के ? जे थियो त्यो त रहेन । अवका पच्चीस तीस वर्षमा नेपाललाई के भनेर चिनाउने सोच्दै हुनुहुन्छ ? यो उत्तर संघीय सरकारले खोजोस् भन्नुहोला । तपाईँको पालिकालाई चाहिँ भविश्यमा के भनेर चिनाउने सर सल्लाह गर्दै हुनुहुन्छ ? कोसँग गर्दै हुनुहुन्छ ? नगरे पनि बनाउने सोच त बनाउदै हुनुहुन्छ ? कि स्थानीय तहलाई दिइएको शैक्षिक अधिकार मास्टरलाई तह लगाउने मात्र भन्ने बुझ्नु भएको छ ? यदि यो संकुचित सोच छैन भने मसँग शिक्षा विकासको एउटा योजना छ ।
शिक्षामा सही पनि हुनुपर्छ र अरुभन्दा फरक पनि हुनुपर्छ भन्ने मान्यतामा कतिपय पालिकाले आफ्नो लोगो सहितका पोषाकहरु विद्यार्थीलाई वितरण गरिसकेका र गरिरहेका छन् । यो कार्यक्रम धेरै प्रकारले राम्रो छ । शिक्षकको पनि संघीयस्तरको पोषाक छँदैछ । तर तपाईँका पालिकाका शिक्षक विद्यार्थीले सर्ट र प्यान्ट चाहिँ किन जोगाइदिनु प¥यो ? कसको परिचय हो यो ? सर्ट प्यान्टमा के विज्ञान छ ? राष्ट्रिय पोषाक जोगाए हुँदैन ? ल यो सकिएन रे, पालिका भित्रका वहूसंख्यक जनताको प्राथमिकताका आधारमा स्थानीय स्तरको पोषाक विकल्पमा राखे हुदैन र ? यीनमा हाम्रो इतिहास, विज्ञान, कला हुन सक्छ । यदि यो काम गर्न सकिन्छ जस्तो तपार्इँलाई लाग्छ भने मसँग शिक्षा विकासको एउटा योजना छ ।
अर्को प्रसङ्ग पनि पहिचानको नै छ र त्यो हो भाषाको । चुनावी अभियानमा तपार्इँ र तपाईँ निकटकाहरुको एउटा नारा थियो – प्रत्येक सामुदायिक विद्यालयमा निजि विद्यालय सरह अंग्रेजीमा पठन पाठन गरीने छ । र अहिले त्यस्तै भइरहेको पनि छ । धेरै राम्रो छ । यी विधार्थीहरु भोलिका दिनमा तपार्इँको अन्तर्वार्ता अंग्रेजी माध्यमबाट नै लिन सक्छन् । तर अहिले पो अंग्रेजहरु अगाडि छन् त ! विज्ञान र प्रविधिमा चाईना र जापान पनि आइसके । जागीर दिने क्रममा कोरिया र खाडि मुलुकहरु आइसके । अवको अर्को चुनावमा फेरि चाईनिजमय, जापानिजमय वा यस्तै मय बनाउछु भन्ने नारा त आउँदैन नि ? तपाईँहरुलाई थाहा होला वा नहोला, अहिले पनि किताब मात्र अंग्रेजी माध्यमका छन्; सिकाईको माध्यम त नेपाली नै छ कतिपय पालिकाहरुमा । शिक्षकले बुझाउँदा नेपालीमा छ, त्यही कुरो पढौँ न त भन्दा अंग्रेजीमा छ । अलमलमा छन् सिकारुहरु । कतिपय शिक्षकनै अलमलमा हुनुहोला । हुन त कति परिपक्व प्रमुखहरु नै अलमलमा हुनुहुन्छ यस अर्थमा कि धेरै विदेशी र स्वदेशी विद्वानहरु ज्ञानको भण्डार संस्कृतको वेद हो भन्छन् र आफू संस्कृत पढ्छन् तर अरुलाई भने अंग्रेजीको महत्व पढाउँदै हिडँछन् । यदि यस्ताखाले अलमल हटाउँन प्रयासरत हुनुहुन्छ भने मसँग एउटा शैक्षिक विकासको योजना छ ।
भाषा विज्ञान पनि हो । यसको सही उच्चारणमा औषधिमय गुण हुन्छ । प्रत्येक धर्म र जातका गुरुका मन्त्रहरु आफ्नै भाषामा छन् । श्रोताहरुलाई यो ध्वनिप्रति विश्वास छ तर कतिपय विद्यालयमा स्थानीय पाठयक्रम अतर्गत ऐच्छिक अंग्रेजी पढाई हुन्छ ।
अर्को प्रसङ्ग । शिक्षासँग सम्बन्धित एक अन्तराष्ट्रिय स्तरको संगठनको मान्यतामा “बाल बचाऊ” पहिलो नम्वरमा आउँछ; संरक्षण, विकास र सहभागिता भन्दा अगाडि । बचाउने काम गर्भदेखि नै शुरु हुन्छ । अहिलेका विद्यार्थीको चटपटे पानीपुरी लगायतका खाजा खाना, वयस्क भइसकेपछि शंकाकै आधारमा गर्भनिरोधक औषधिको प्रयोगले गर्भ प्रदूषण भइरहेको छ । विषादियुक्त ताजा खानाको प्रयोगले शुक्रकीट प्रदूषण भइरहेको छ । अब जन्मिने बच्चाको न बीज सहि हुँदैछ, न हुर्कने ठाउँ सहि हुँदैछ न त मलजल नै । यसरी जन्मिएको बच्चालाई गुणस्तरीय शिक्षा दिनु पक्कै पनि चुनौतिपूर्ण छ । अवका एक दुई वर्षमा तपाईँको पालिकामा निश्चित ठाउँमा मात्र निश्चित खानाहरु बेच्न पाइने नियम बन्ला त ? जस्तै पालिकाभरि, मानौ दुई शय वटा पसलमा मात्र रक्सी बेच्ने वा मानौ दुई शय पचास वटा स्थानमा मात्र जंकफुड बेच्ने आदि । यदि यस्ता नियम बनाएर कार्यान्वयन गर्ने सोच तपार्इँमा आउँदैछ भने मसँग शिक्षा विकासको एउटा योजना छ ।
बिहान घरको काम सकेर, खाना खाने बित्तिकै हतारमा कुद्दै विद्यालय आएका विधार्थीहरु लाईनमा उभिएर स्ट्याण्ड एट इज र अटेन्सन भन्दै पि.टि खेलेपछि राष्ट्रिय गान गाउँछन् हाम्रा विद्यार्थीहरु, अनि कक्षा कोठामा पस्छन् । यो पिटीको परम्परा कुन उद्धेश्यकालागि, कस्ता व्यक्ति उत्पादनका लागि, कसले र कुन समयमा शुरु ग¥यो ? अहिले पनि हामी यस्तै व्यक्ति उत्पादमा नै छौँ त ? कसरतको सट्टा कक्षा शुरुपूर्व दश मिनेट ध्यान गराए हुन्न र ? शिक्षक वा समाजका अग्रज व्यक्तित्वबाट दश मिनेट नैतिक प्रवचन सुनाएपछि कक्षा शुरु गरे हुन्न र ? यदि यस्ता कुरा पनि गर्न सकिन्छ र हुन्छ भने मसँग शैक्षिक सुधारको एउटा योजना छ ।
अब कुरा गराँै मायाको । एकछिन सोच्नुस् त शिक्षकलाई कसले माया गर्छ ? सकभर उत्तर नै आउँदैन । आए पनि ढिला आउँछ । बरु उत्तर भन्दा अघि “गर्नु चाहिँ किन प¥यो ?” भन्ने प्रतिप्रश्न आउँछ । विद्यालयका केही कार्यक्रममा सम्मान गरेर अतिथीलाई बोलायो, भाषण गर्ने क्रममा गाली गरेर जान्छन् । अच्चमको संस्कार छ शिक्षकका पाहुनाको । पाहुना वाहेक अरुहरु पनि मास्टरलाई दोष लगाउन पाए आफूलाई मानसिक सन्तुष्टि भएको ठान्दछन् । गाउँ गाउँमा सिंहदरवार भएपछि त झन्, अब देख्छन् मास्टरहरुले भन्ने सोच बनेको छ । जागिरे प्रवृत्ति र राजनैतिक प्रवृत्तिविच शीतयुद्ध चर्किँदो छ । अनि चारैतिरबाट माया नपाएका शिक्षकहरुले विधार्थीहरुलाई कति माया गर्लान ?
अलिक अगाडिसम्म शिक्षकलाई दुई वटा आरोप लागाउँदै गाली गरिन्थ्यो । पहिलो, उनीहरु राजनीति गर्छन् । अब नगरुन् पनि कसरी ? अहिले पो शिक्षक सेवा आयोग सक्रिय भयो त ! पहिले जागीर नै राजनीतिबाट खाए होलान् अनि टिक्नु परेन ? दोस्रो, शिक्षक भएर जग्गा दलाल वा ब्यापार ब्यवसायमा संलग्न छन् । किन नगरुन् त ? शिक्षकको तलबले खानै धौ धौ हुन्थ्यो । अहिले पनि हुन्छ । त्यसमाथि विरामी भयो भने त सोच्नुस्, मास्टर म¥यो नै । साँचि, तपार्इँले चाहिँ आफ्ना पालिकाका शिक्षकलाई कति माया गर्नु भएको छ ? मेरो पालिकाभरिका शिक्षकलाई नजिकैको फलानो अस्पतालमा बीस पच्चीस प्रतिशत छुटको ब्यवस्था गर्छु, पालिकास्तरीय तालिम केन्द्रमा तालिम गराउँछु, शिक्षा सम्वन्धि नीति बनाउँदा सम्पूर्ण शिक्षकको राय सल्लाह लिने व्यवस्था मिलाउँछु, शिक्षकका खोज तथा अनुसन्धानमुलक लेखलाई पालिकाको सम्पत्ति बनाउँछु जस्ता कार्य गर्ने सोच ल्याउँदै हुनुहुन्छ ? शिक्षकलाई माया गरेपछि मात्र शैक्षिक सुधार संभव छ भन्नेमा विश्वस्त हुनुहुन्छ ? यदि हुनुहुन्छ भने, मसँग एउटा शैक्षिक विकासको योजना छ ।
अन्त्यमा, अबका पच्चीस तीस वर्षमा मेरो पालिकाभित्र घटिमा एउटा जडिवुटी सहितको आयुर्वेदालय, विधार्थीहरुलाई निश्चित छुटमा अस्पताल, माया सहितको बिद्धाश्रम, कृषि सूचना केन्द्र, व्यायाम स्थल, अन्तराष्ट्रिय र स्थानीय भाषा सिकाई केन्द्र, कम्प्युटर र डा«ईभिङ सिकाई केन्द्र, अन्य प्राविधिक शिक्षालय, विज्ञान प्रयोगशाला, प्रार्थनास्थल, मनोरञ्जन पार्क, स्थानीय लोक संगीत सिकाई केन्द्र, स्थानीय संग्रालय, आय आर्जज वृद्धि केन्द्र, जस्ता कार्यालयहरु तयार पार्छु र सकभर यी कार्यालयहरुमा मेरै पालिकाभित्रका विधार्थीहरुलाई दक्ष बनाई रोजगार दिन्छु भन्ने जस्ता सोच बनाउँँनु हँुदैछ भने मसँग शिक्षा विकासको एउटा योजना छ ।
हवस् त, विस्तृतमा पछि भेटेरै गफ गरौँला । अहिलेलाई यति ।
तपाईँको शुभचिन्तक,
आत्माराम कोभोगो श्री चण्डेनी मा.वि.
मण्डनदेउपुर न.पा, काभे्र
Comments
Post a Comment