Skip to main content

कविता गजल गीत



कविता 


कोरोना युद्ध 1
अर्काको अब सास छैन करमा, फोक्सो भयो बन्द रे ।
आफ्नाको अब लास छैन घरमा, टीलो भयो बन्द रे ।
बाँच्नाको अब आश न्यून नरमा, के गर्नु के गर्नु के ।
बस्दैछौँ प्रहरी र वैद्य भरमा, हे राम हे राम हे ।
आयो उत्तरबाट यो समयमा, यो दुष्ट यो राक्षस ।
गर्दै नास समग्र विश्व जनको, खाँदैछ यो भक्षक ।
मायावी छ र रुप फेर्छ यसले, देखिन्न छामिन्न यो ।
फाल्दै अस्त्र र शस्त्र भित्र मुटुमा, यो युद्ध गर्दो भयो ।
आए डाक्टर, नर्स ती पुलिस नै, यो युद्ध लड्छौँ भनी ।
थर्मोमीटर, मास्क, लठ्ठी बटुली, द्यौता रहेछन् यिनी ।
द्यौता दानव युद्ध हुन्छ जहिले, लेख्छन् पुराना मुनि ।
यो व्याधी पनि भस्म हुन्छ सहजै, हामी बनौं संयमी ।
आँखा नाक र श्वासबाट चुहिने, यो रालको बीज हो ।
हेप्नै हुन्न र भन्न हुन्न अब लौ, यो मामुली चीज हो ।
जम्मा धेर भएर बाहिर गए, यो पापी झन् सर्दछ ।
एक्लै युद्ध गरे बसेर घरमा, पक्का छ, यो मर्दछ ।

मंसिरे निम्तो 2
निम्तो मंसिरको गर्छु सबमा, कन्यार्थका देवमा,
आफ्ना यी सब इस्टमित्र जति छन्, यी बन्धु बस्छन् जहाँ
हाम्रो आँगन शुद्ध हुन्छ जब ती, खुट्टा यहाँ टेक्दछन्
हाम्रै आशिषले दुई वरवधू, स्वप्ना नयाँ देख्दछन्

हुर्केकी घरमा, यही नगरमा, खाएर पानी मिठो
जामा कट्टु चप्पलै पनि भिरिन्, धोई पखाली छिटो
साह्रै कोमल अङ्ग, पाउ कलिलो, डोली लिई आउनू
सारी चट्ट सुहाउँदो पटुकी, चोली लिई आउनू

खुट्टा हात पखाल्नु शुद्ध जलले, राम्रा बनुन् दम्पती
कन्यादान दिनू पवित्र मनले, माया बनोस् सम्पत्ति
विद्या, वेद ज्ञान, मन्त्र ऋचा, घोकी पढी आउनू
माग्दै बास, हिँडेर पैदल तथा, गाडी चडी आउनू

झर्ला आँशु तरक्क ती नयनमा, जाँदा पराई घर
दुख्ला घाउ चसक्क त्यो वदनमा, फेर्दा अनैठो थर
टिप्नै आँशु भनी टपक्क सुनको, थाली लिई आउनू
फेर्दा गोत्र दिने शुभाशिष भरी, डाली लिई आउनू

जे जे पाक्दछ धेरथोर घरमा, बाँडेर दिन्छन् जति
खाँदैखान्न नभन्नु, खानु रसले, पाए दिए जति
छोरी छिन् नवकोपिला सरहकी, माली बनी आउनू
लुट्लान है रिपुले कतै बगरमा, काली बनी आउनू

नवदूर्गालाई  निम्तो 3
चण्डी पुस्तक हातमा मनमा, तिम्रै बडो चित्र
छिट्टै दर्शन गर्न पाउँ जननी, जस्तो यहाँ भित्र
ध्यानावस्थित तत्गतेन मनसा, पस्यन्ति यँ योगिनो ,
भन्ने मन्त्र जपेर ध्यान कन नै, बस्दै है पुत्र यो

काम्लान\ थर्थर हात पाउ डरले, देख्दा अनौठो रुप
सुक्ला घाँटि शब्द बन्द हुन गै, बोली नफुट्ला कि
टुट्ला धड्कन छातिभित्र मुटुमा, सम्मानका खातिर
फुट्ला खप्पर पट्ट भै मरुँला, झुक्दै नझुक्ला शीर

उड्ला यो मन रोक्न छेक्न गतिलो, छानो लिई आउनू
आफैं बढ्दछ शक्तिपुन्ज जसको, गानो लिई आउनू
ठूलो रूप देख्न सक्दिन विभो, सानो लिई आउनू
छिट्टै फल्दछ ग्यानबीज जसको, दानो लिई आउनू

आऊ शान्त रमेर शीतल बनी, छोरी बनी आऊ है
कालीरूप हेर्न सक्दिन तिमी, गौरी बनी आऊ है
पक्कै चिन्छु द्वार खोल्छु मनको, डेरा जमाई दिनू
टीका तीलक फूल भेटि जमरा, सुम्पन्छु लाई दिनू !!

काभ्रेको निम्तो 4
गर्मी जाडो वासन्ती याम
यो स्वर्ग, बैकुण्ठ, कैलाश धाम
नयाँ स्थान रम्दै, नयाँ वर्ष मान्न,
बनेपा, पनौती, धुलीखेल आऊ

लिई एक नौली परी सुन्दरी वा,
पुरानै भएमा अझै प्रेम गाढा
मनैका तनैका दुखाई पखाल्न,
बनेपा, पनौती, धुलीखेल आऊ

परापूर्वकालीन प्राचीन जात्रा,
शालीन देवादिका मूर्ति हेर्न
बिदाई गरी चैत्र, वैशाख फेर्न,
बनेपा, पनौती, धुलीखेल आऊ

हिमाली, पहाडी, मधेशी, विदेशी,
बिहानै उठी एक गाडी समाऊ
नयाँ वर्षमा लौ गर्दैछु निम्तो,
बनेपा, पनौती, धुलीखेल आऊ

गाईजात्रे निम्तो %

बाटो हो अथवा कि खेत गतिलो, छुट्याउनै कष्ट छ ।

चड्दा गाडि ढिलो हुने बरू उसै, हिँड्दा छिटो प्रष्ट छ ।

चिल्ला कार लिई छ हुइँकिनु भने, अन्तै कतै धाउनू ।

बाटामा यदि गाडि ठेल्नु छ भने, नेपालमा आउनू ।



पानी छैन तराइका नहरमा, बाँझो छ आँठो सधैँ ।

फोटो खिच्न भनी यता सहरमा, रोपिन्छ बेर्ना कठै ।

धेरै धान कतै फलाउनु परे, अन्तै कतै धाउनू ।

माटोको गमलामा रोप्नु छ भने, नेपालमा आउनू ।



मान्छे मार्दछ जो उही सदनमा, सर्वोच्चमा हुन्छ ऊ

माग्यो न्याय भने कतै पिडितले, पातालमा पुग्छ ऊ

डाका चोर विरुद्ध लड्नुछ भने, अन्तै कतै धाउनू ।

माग्दै न्याय लडेर सड्नु छ भने, नेपालमा आउनू ।



सुन्दा भाउ सिरिङ्ग हुन्छ मन यो, तर्कारी के किन्नु खै ।

बन्दाको पनि भाउ उच्च हुनगो, के किन्नु के किन्नु खै ।

भ्यान्टा, आलु र प्याज तार्नु छ भने, अन्तै कतै धाउनू ।

गोटाको यदि तीस तिर्नुछ भने, नेपालमा आउनू ।



अँगे्रजीमय पार्नुपर्छ अब लौ, स्थानीयले भन्दछ ।

नेपाली पनि बिर्सियो अनि कतै, अँग्रेज यो बन्दछ ।

राम्रा क्याम्पस छान्नु पढ्नु छ भने, अन्तै कतै धाउनू ।

पैसाले यदि अंक थप्नु छ भने, नेपालमा आउनू ।



मिल्यो स्वार्थ कतै झिना रहरमा, नेता यहाँ जुट्दछन् ।

अंशै वण्ड मिलेन उच्च पदमा, पार्टी यहाँ फुट्दछन् ।

मन्त्री सांसद योग्य छान्नु छ भने, अन्तै कतै धाउनू ।

टुक्का भाषणमा रमाउनु परे, नेपालमा आउनू ।


म्यारिज 6
जो जो म्यारिज सिक्न चाहत हुने, मेरा कुरा सुन्नु है
ल्याऊ फुत्त किनेर तास घरमा, प्याकेट तीनै वटा
साथी वा परिवारमा सबमिली, बाँड्नू गनी फट्फटी
गन्दै बीस एकमात्र नभए, होला बडो खट्पटी

एक्का, दुक्कि तिर्कि एक रङका, हुन् चार पाँचै
वा हुन् सात आठ, नौ अबभने, नौकार्ड यो बन्दछ
झारौँ झट्ट छिटोगरी सबजना, काटौँ मीठो जोकर
धेरै माल पर्यो भने मनमनै, हाँस्दै नबस्नू तर

मानौँ काट्नुभयो चार चिडिको, चौका सबै जोकर
अर्को माल भनिन्छ लौ सुरतको, चौकै भयो अल्टर
बाँकी पाँच तीन हेर चिडिका, यी माल थोरै हुने
थोरै मात्र भए भने पनि ठिकै, यी जोकरै माल् हुने

बाँड्दा तीन परे एक रङका, यो चैँ टनेला हुने
छिट्टै शो पनि गर्नुपर्छ नभए, यो चैँ अबेला हुने
डुब्ली झन् सजिलो सात गनिने, अर्को थपे शो भयो
गन्नैपर्दछ लौ पइन्ट सबको, खेलै सबै सक्कियो

रुन्चे दशैँ 7
टीको थाप्न जान्छु अन्य घरमा, साथी लिई साथमा
सारै सुन्दर देख्छु वस्त्र गहना, टीको बडो माथमा
राम्रै रैछ सोच्छु लौ तर कहाँ , अर्कै कुरा देखियो
रुन्छन् ती सब धर्धरी मनविशे, सोही कुरा लेखियो

छोरो रुन्छ विदेशमा परबसी, छुट्यो दशैँ भन्दछ
आमा बाबु श्रीमती बिहिनमा, सुख्खा दशैँ बन्दछ
रुन्छिन् ती दुलही बसी नगरमा, एक्लै भएँ भन्दछिन्
अर्को साल अवस्य आउँछ भनी, औँला उसै गन्दछिन्

सासूको मन छैन शान्त घरमा, उस्तै बुहारी पनि
आफ्नै भाग्य सराप्न थाल्छ ससुरा, यस्तै भए यी भनी
झार्दै आशुँ तरक्क ती भतिज , काका उता धर्धरी
काकी झन् जहिले जता पनि रुने, टल्पल् अाँखा भरी

सालीको मन खिन्न हुन्छ किन हो, रुन्चे सालो अति
जेठो दाजु, भिनाजु, भाइ, बहिनी, आमा, दिदी ज्वाँइ ती,
फोटो खिच्न भनेर एक गतिलो, जम्मा हुँदा हाँस्दथे
एक्लै फेरि भए भने मनमनै, तीता कुरा साट्दथे

मेरै स्वजन मात्र हुन् कि अथवा, अन्यत्रमा हुन्छ यो,
भन्दै खोज्न पसेँ छिमेक घरमा, झन् झन् बढी रुन्छ पो !
आम्मै ! छक्क पर्छु किन हो, रुन्छन् सवै यी जन ?
एक्लै भेट्न हुँदैन हो कि किन हो, गर्छन् सधैं गन्गन

अर्काको मन मात्र रुन्छ यसरी, कस्तो मेरो मन ?
आफैंभित्र गमेर हेर्न पुगेँ, हाँसेन मेरै मन
ओहो ! अर्थ वर्थ पो हुनगयो, के लेखियो आज खै !
साँच्चै भन्छु सार भाव अब लौ, रुन्चे भयो यो दशैँ

श्री कृष्ण जन्माष्टमि *

यहाँ कर्ममा नै रहेका सबै छन् ।

यहाँ मर्ममा नै रहेका सबै छन् ।

तिमी धर्म रक्षार्थ जन्मिन्छु भन्छौ,

यहाँ धर्ममा नै रहेका सबै छन् ।



वहेकै छ हावा बगेकै छ पानी ।

बढेकै छ बच्चो र राधा जवानी ।

तिमी पे्रमका निम्ति जन्मिन्छु भन्छौ,

यहाँ पे्रममा नै रहेका सबै छन् ।



जसै टेक्छ धर्ती र जन्मिन्छ बाछो ।

उठी दूध खोज्दैछ कस्तो छ बाठो ।

तिमी ज्ञानका निम्ति जन्मिन्छु भन्छौ,

यहाँ ज्ञानमा नै रहेका सबै छन् ।



कहाँबाट आएँ र जाने कहाँ हो,

भनी ध्यान गर्छे बकुल्ली चरी त्यो ।

तिमी ध्यानका निम्ति जन्मिन्छु भन्छौ,

यहाँ ध्यानमा नै रहेका सबै छन् ।



यता जोड्छ चुच्चो उता जोड्छ पाउ ।

मनै मात्र जोड्दै निको पार्छ घाउ ।

तिमी योगका निम्ति जन्मिन्छु भन्छौ,

यहाँ योगमा नै रहेका सबै छन् ।



छ जो दुष्ट पापी दुरात्मा घमण्डि,

दुराचार गर्दै स्वयम् भासिदैछन् ।

तिमी कंश हत्यार्थ जन्मिन्छु भन्छौ,

यहाँ कंश जम्मै स्वयम् मासिदैछन् ।



फेदीको पहिरो (

उँधै मात्र जाने छ होला तँ जस्तै ।

उँधै मात्र लाने छ खोला तँ जस्तै ।

विना सूचना नै झरी देह मार्ने,

अरू शक्तिसाली नहोला तँ जस्तै ।



थिए नीदमा मस्त प्यारा तँ नेरै ।

झरिस् झट्ट गर्दै विहानै सबेरै ।

भयो कोख रित्तो भयो काख खाली ।

बरू कंश पापी नहोला तँ जस्तै ।



थियो नाम जस्तो थियो बानी उस्तै ।

थिए सज्जनै प्रेमका खानि उस्तै ।

उसैलाई छानिस् उसैलाई हानिस् ।

दिएँ श्राप धेरै तँ रोलास् म जस्तै ।



बगे अश्रुधारा भए नेत्र राता ।

भयो वृष्टि धेरै रुइन् धर्ती माता ।

बरू राक्षसै दुष्ट जाली छ होला ।

छली रावणै त्यो नहोला तँ जस्तै ।



खने यन्त्रले जोडले बेर लाई ।

नउठ्ने नबोल्ने भएको छ भाइ ।

तँ आइस सुताइस् पछारिस र मारिस््

बरू होलिका छैन होला तँ जस्तै ।



म हेर्दैछु फिर्दै बिहानै र साँझ ।

म देख्दैछु फेदी भयो शून्य आज ।

डराइस् भगाइस् बताइस् छ मृत्यु ।

बरू पुतना छैन होला तँ जस्तै ।



तँ जा जा परै जा हटी जा उता जा ।

छँदै छैन तेरो कुनै काम आज ।

छ निर्धो र सोझो उही मार्नु पर्ने,

विना अर्थ मार्ने नहोला तँ जस्तै ।

शीर्षक : खसीको बिन्ती 10
छन्द : इन्द्रबज्ज्रा
हे मृत्यु ! हे काल ! तिमी कता छौ ?
खोज्दै हिँड्दैछु तिमी जता छौ
छिट्टै गरि दर्शन आज देऊ,
त्यागेर अर्कै नवप्राण देऊ

यो धर्म धर्म भनी कराए,
मान्छे सबै बुद्ध हुनै डराए
म्याँ म्याँ गरेको किन सुन्नुहुन्न ?
बाख्रो नमार्दा किन धर्म हुन्न ?

सानै थिएँ बर्ष दिनै नबित्तै,
काटेर फाले सब अण्डकोष
हुँदा जवानी रित्तिएँछु ,
कोसँग मेरो अब साट्नु जोस !

आफू स्वयंको पशुतुल्य बानी,
संस्कार थेग्दैछ बनेर दानी
आफू बलात्कार दिनै रात,
बोको बली दिन्छ पखाल्न पाप

यो अस्टमीमा अब मर्न पाऊँ ,
सन्सारको सागर तर्न पाऊँ
हे ममृत्युराजा ! अब टेरिदेऊ
मारेर अर्कै जुनि फेरिदेऊ

मेरो विद्यालय, श्री विद्येश्वर मा.वि., पादाकुलक छन्द !!

पढाई के हो थाहा नहुँदा,

गुनाई के हो चाह नहुँदा ।

जाने गर्थेँ श्री विद्येश्वर ।

श्री हो मेरो श्री विद्येश्वर ।



पीपल वरको चौतारीमा,

शीतल मनका नव दौँतरीमा ।

खेल्दै, कुद्दै जान्थेँ मन्दिर ।

यो हो मेरो श्री विद्येश्वर ।



ट्याम्के छ शीर हरिया बुट्टा ।

प्रगतिपथका सल्यानी खुट्टा ।

काखमा मेरो बस्दछ ईश्वर ।

यो हो मेरो श्री विद्येश्वर ।



गोगनेबीच चुस्त र स्फूर्त ।

ब्राम्हण क्षेत्री वैश र शुद्र ।

सब जप्छन् सत्य छ शिव सुन्दर ।

हो मेरो यो श्री विद्येश्वर ।



शीर्षक : सहीदको गुनासो 12
छन्द : पन्चचामर
भूत हुँ भविस्य हुँ , वर्तमान हुँ सधैं
सहीद हुँ सपूत हुँ , मर्छु देश निम्तिमै
विरुद्ध एक तन्त्रको, विशुद्ध लोकतन्त्र हुँ
सार्वभौम देशको, पवित्र एक मन्त्र हुँ

जसै सिमा मिचेर यो, त्रिकोण झुक्न थाल्दछ
इमान सान देशको, दबेर लुक्न थाल्दछ
सनक्क उठ्छ रीस यो, त्रिनेत्र बल्छ माथमा
निशान वीरको खुँडा, साथ दिन्छ हातमा

रक्त ज्यानमा सबै, देशमा बगाउँछु
नयाँ बिहान ल्याउँदै, देश यो सजाउँछु
सूर्य तेज बाहुमा, चन्द्र ओस घाउमा
बग्छ गण्डकी नशा, शीरदेखि पाउमा

! पछार मार लौ, गोलि हान छातिमा
मृत्युमा रमाउँछु , पछाडि हट्न मान्दिन
रुन्छु आज धर्धरी, बसी चिहानमा तर
देख्छु देश मक्किँदो , भत्किँदो सबैतिर

सपार्छु देश भन्छ जो, बन्छ एक नम्बर
बिगार्न देश चम्किने, उही स्वयं तत्पर ।।

कविता 13
लेख्दै लेख्दिन लौ आज कविता, के लेख्नु खै शीर्षक ?
देख्दै देख्दिन लौ आज कविता, श्रोता खै दर्शक ?
जान्दै जान्दिन लौ लेख्न कविता, के दीर्घ के ? ह्रस्व के ?
छान्दै छान्दिन लौ शब्द गतिला, के भाव के ? अर्थ के ?

अर्काका कविता पढ्छु तिनमा, सद्ज्ञान, विज्ञान
आफ्ना यी कविता पढ्छु यिनमा, अज्ञान, अज्ञान
गन्दै गन्दिन लौ अक्षरहरू, के गन्नु ? के सार ?
कन्दै कन्दिन लौ लेख्न कविता, के कन्नु ? बेकार

बग्छन् रे कतिका सलल्ल कविता, दुःखान्तमा, हर्षमा
सक्छन् रे कतिले काव्य गतिला, मासान्त वा वर्षमा
बग्दै बग्दिन लौ बग्नु कसरी ? के पुग्छु गन्तव्यमा ?
सक्दै सक्दिन लौ लेख्न कविता, होस् पद्य वा गद्यमा

छान्छन् छन्द सुहाउँदा शिखरिणी, हुन्छन् कुनै तोटक
या हुन्छन् कतिका मत्तमयुरी, शार्दूलविक्रीडित
छान्नै जान्दिन लौ छन्द गतिलो, वेछन्दको गन्ध
मान्दै मान्दिन लौ लेख्न कविता, वेढङ्गको बन्दछ

अर्को यात्री, छन्द तोटक !$

अब मन्दिरमा म त जान्न बरू ।

फलफूल प्रसाद म खान्न बरू ।

जल चन्दन पुष्प र पातीहरू,

बटुली घरमा अब लान्न बरू ।



जति मान्नु थियो अव मानिसकेँ ।

जति जान्नु थियो अव जानिसकेँ ।

मन मन्दिर हो तन यो रथको, 

तन जान्छ जता मनकै पथ हो ।



मनको तनको जव भेट भयो ।

अनि जैविक मानव जन्म भयो ।

जव जन्म भयो सब मानवको ।

तव जन्म भयो सब दानवको ।



मन स्वच्छ सफा अव मानव भो ।

मन दुष्ट भए तव दानव भो ।

सब मानवको मन मन्दिरमा,

हरि, केशब, राम र बुद्ध न हो ।



रथ आशन गर्दछ जो हरि हो ।

मन शासन गर्दछ जो हरि हो ।

रथ अर्जुनको मन कृष्ण भयो,

जव कृष्ण गयो तव अर्जुन गो ।



नर वानर होस् कि नरावापति

सबको मन नै यिनको मठ हो ।

मन शान्त प्रशान्त नपारिकन,

जव खोज्दछ देव उही शठ हो ।



अब शास्त्र अरू नपढे पनि म,

अब मन्त्र अरू नरटे पनि म ।

सब मानवको मन पुज्न सकूँ ।

अनि मानवकै हित गर्न सकूँ ।



ससंकल्प अर्कै गर !%

जग्गादान पवित्र कर्म छ बडो, यो भूमिको दान हो ।

यो भन्दा पनि उच्च दान नहुने, यो काम सम्मान हो ।

धेरै टन्न छ पुग्छ लौ अब भने, भत्किन्छ है त्यो घर ।

जङ्गे पिल्लर सर्छ उत्तर भने, संकल्प अर्कै गर ।



कन्यादान उसै छ कर्म गतिलो, सन्तान फैलाउने ।

मान्छेकै नव पुष्प फुल्छ यसमा, कैल्यै नवैलाउने ।

अर्काकी बहिनी म जान्दिन भने, सप्रिन्न है त्यो घर ।

चेली बेचिन बाध्य पार्नु छ भने, संकल्प अर्कै गर ।



गाईदान पवित्र धर्म छ भनी, बोल्दैछ विज्ञान यो ।

पञ्चामृत र पञ्चगव्य यसको, घोल्दैछ विज्ञान यो ।

गाई पाल्छ, दुहेर खान्छ जसले, सप्रन्छ है त्यो नर ।

गौहत्यादि गरी कमाउनु परे, संकल्प अर्कै गर ।



विद्यादान छ पूर्ण दान जनमा, यो ज्ञानको दान हो ।

विद्यार्थी सबको र विज्ञ गुरूको, यो मान सम्मान हो ।

विद्या शासन गर्छ विश्व नभमा, अर्को यहाँ को छ र ।

चर्को शुल्क लिई पढाउनु परे, संकल्प अर्कै गर ।



पानीदान समान छैन जनमा। जे जे दियोस् दानमा ।

जन्मैमा जलदान गर्छ जसले, जाँदैन ऊ नर्कमा ।

बग्दै जान्छ म के गरौँ अब भने, सप्रिन्न है त्यो घर ।

कर्णाली यदि बेच्नु पर्दछ भने, संकल्प अर्कै गर ।



दानैबीच छ वीर्यदान यसको, शास्त्रोक्त चर्चा छ नि ।

जन्मन्छन् कति जून घाम सरिका, सन्तान उस्तै अनि ।

पुत्री पुत्र सबै समान छ भने, सप्रन्छ है त्यो घर ।

छोरी जन्मिनुपूर्व फाल्नु छ भने, संकल्प अर्कै गर ।



अर्को हो वलिदान हुन्छ यसमा, यो ज्यानको अर्पण ।

सुम्पिन्छन् कतिले त राष्ट्र हितमा, काट्दै पराई तन ।

यस्ता मानव पाइँदैन सजिलै, सत्कार गर्दै गर ।

खोल्सामा यदि लाश फाल्नु छ भने, संकल्प अर्कै गर ।


वलि 16
तिम्रो मुखमा दागबत्ती, कहिले पनि बल्दैन ?
घिउ परालले गुम्स्याउदा, तिम्रो हड्डी गल्दैन ?
कति काट्छौ, कति मार्छौ, कति भोज लगाउछौ ?
चितामाथि मूढा थप्दा, तिम्रो शरीर जल्दैन ?

पेटारेको घाँटी सानो, पर्सेपछी मार्यौ होइन ?
सुङुर दाइको घाँटी ठूलो, मुटु रोपी मार्यौ होइन ?
आफ्ना छोरा पोस्नलाइ, अरुका छोरा काट्नेहरू !
लाम्कानेको आन्द्राभुडी, हेर्दाहेर्दै तार्यौ होइन ?

सानो, फुच्छे कुखुरोलाइ रेटीरेटी फालेपछी,
अग्लो, ठूलो राङोलाइ हम्मर ठोकी ढालेपछी,
जीवो जीवस्व जीवनम संस्कृतिको कुरा गर्छौ,
भेडा, च्याङ्रा, बङुरलाइ कुकरभित्र गालेपछी ?

मूर्ख सबै बुद्ध भए ? भेडा वलि दिएपछी ?
सम्भोगादि कम भयो ? हंस वलि दिएपछी ?
तिमीभित्रै पशुत्व , खोजी खोजी वलि देऊ
बलात्कारी नासिए ? बोका वलि दिएपछी ?

ईश्वरप्रति आक्रोश 17

मेरो अक्षरव्रह्म आज किन हो, उल्टो, उभिन्डो भयो ।
उल्टै बुद्धि भयो र शीर पनि यो, काँचो कुभिन्डो भयो ।
मेरा शव्द सबै सुनामिसरी छन् , यी वाक्यमा रीस झन् ।
सुल्टा प्रश्न म गर्छु, उत्तरहरू, उल्टा सबै आज छन् ।

जे राम्रो उसमा सधैं मन रमे, त्यो राम वा काम हो ?
जे देख्यो उसमा सधैं मन गए, त्यो कृष्ण वा तृष्ण हो ?
के हो यो भगवान तत्त्व भनिने, देखिन्न जानिन्न खै ?
छिट्टै आज तुरुन्त जान्न नसके, पूजिन्न मानिन्न है ।

तेरै सृष्टि अरे सबै जगत यो, यी मूर्ख जो भन्दछन् ।
बुझ्दैनन् कि कसो, पुजी शिवसती, झन् मूर्ख यी बन्दछन् ।
तेरो त्यो घर मोठ, मन्दिर भए, कल्ले बनायो घर ?
तेरो मूर्ति शरीर हो यदि भने, कल्ले बनायो तर ?

तेरो बाउ म हुँ, र मातृ पनि हुँ, त्यो जन्मदाता म हुँ ।
तेरो चामल, अक्षता, जल दिने, त्यो अन्नदाता म हुँ ।
तेरो रक्त मभित्र बग्दछ भने, सुख्खा बनी बस्छु म ।
तेरो प्राण मभित्र चल्दछ भने, लैजा बरू मर्छु म ।

केको फूर्ति लगाउँछस् घरिघरी, यौटा म हुँ भन्दछस् ?
लुक्दै भित्र कताकता मनबिसे, द्यौता म हुँ भन्दछस् र ?
लौ आ ! तर्क गरौं, सदृश्य अब लौ, एकान्त जम्मा भई ।
तेरो ईश म हुँ कि ईश्वर तँ होस् रु जानून् सबै मूर्ख यी  !


निर्मला पन्त 18
छँदा प्राण तातो, सुके शब्द सारा
गइन् शुन्यतामा आत्मा करायो
बचेका अरू निर्मला लौ आओ
सडेको, हरामी, छली त्यो समाओ

भई एक ढिक्का, बनी एक दुर्गा
सबै मातृको शक्ति हुङ्कार ल्याओ
बनी बाघ जस्तै, चिथोर्दै मार्दै,
समातेर पापी, पछारेर आओ

भयो न्यायको मृत्यु, अन्याय छायो
गयो मान सम्मान, अस्तित्व भाग्यो
कठै ! निर्मला जो अरू हुर्कदैछन्
नजीरै बनी अस्मिता लौ बचाओ

प्रश्नोत्तर 19
कति सजिलो शिक्षक बन्न ?
जति सजिलो बारि खन्न

कता बारि ? कता खेत ?
नववालकको दिमाग के ?

मलजल के हो ? बिऊ के को ?
मलजल संस्कार, ग्यान बिऊ हो

हलो कोदालो कता साथी ?
शिक्षक अनुभब, किताब, कापी

झार उखेल्नु? गोड्नु मेल्नु ?
समय समयमा परीक्षा पेल्नु

फूल पनि फुल्छ ? फल पनि लाग्छ ?
के हो फूल ? के हो फल ?

शिक्षित ब्यक्ति, रास्ट्रको फूल
सभ्य समाज, विश्वको फल

मौसम 20
मौसमले मतिर क्यामेरा तेर्सायो,
मैले पनि मौसमतिर गरेँ त्यस्तै
मौसमले मतिर बिजुली चम्कायो,
मैले पनि मौसमतिर गरेँ त्यस्तै
दुबैले फोटा साटासाट गर्यौ,
मौसम उस्तै उस्तै

यता आँसु झरेछ, उता पानी परेछ
यता मन खुलेछ, उता गगन खुलेछ
छिनमै रुने, छिनमै हास्ने,
छिनछिनमै परिवर्तन हुने,
मौसम उस्तै उस्तै

श्री हरि 21
पूर्वै जन्म कता कता वितिगयो थाहा कसोरी हुने ?
अर्को जन्म हुन्छ वा नभइ नै बित्नेछ व्यर्थै जुनी
यो वेला बिचामा बसेर घरमा सोच्छु धेरै घडि
के के हुँ ? अथवा को छु अहिले ? हुँ को ? भन्द्यौ हरि

बच्चो, बालक काखमा तनतनी चुस्तै विगौते दूध
कान्छो हो सबको भाइ घरको गाली नगर्नू बुझ
भान्जो, नाति, पनाति, पुत्र रुपमा नाचेंछु धेरै घडि
के के हुँ ? अथवा को छु अहिले ? हुँ को ? भन्द्यौ हरि

विद्यार्थी भइयो साथी भइयो जो मित्रका साथमा
काका, दाजु, फुपाजु, प्रेमी भइयो वैंशालु तीं वर्षमा
काले, चोर भने कुपुत्र, भतुवा भन्थे नाना थरी
के के हुँ ? अथवा को छु अहिले ? हुँ को ? भन्द्यौ हरि

गोठालो, हलिया, कमाल भरिया, घाँसे ढाक्रे अनि
खेतालो बलियो लेखक मिठो, नेता मामा पनि
सालो, शिक्षक शान्त, शत्रु सुरिलो भन्थे सबै त्यो घडि
के के हुँ ? अथवा को छु अहिले ? हुँ को ? भन्द्यौ हरि

स्वामि श्री, पति जी, महेश्वर भनिन् अर्धाङ्गिनीले जव
ज्वाइँ, जेठु, भिनाजु आदि कहियो बढ्दै गएछन् पद
तन्नेरी, कसिलो, जवान, रसिलो बोल्थे नसुन्ने गरी
के के हुँ ? अथवा को छु अहिले ? हुँ को ? भन्द्यौ हरि

जन्म्यो पुत्र लहेर वर्ष दिनमा पुत्री उसै सुन्दरी
बाबा श्री अथवा बुबा भनिभनी खेल्दै कुद्धै गरी
सम्बन्धी भइयो पुत्रतिरको सम्धी एकै घडि
के के हुँ ? अथवा को छु अहिले ? हुँ को ? भन्द्यौ हरि

बाबामाथि नयाँ विशेषण थपी भन्थे हजुर्बा बूढो
थोते बा, ससुरो, नसे सुकुटे, ¥याले, सिगाने बूढो
भङ्जाहा, झुसिले यो कचकचे सुन्छु सुत्ने घडि
के के हुँ ? अथवा को छु अहिले ? हुँ को ? भन्द्यौ हरि

नामै मात्र अनेकका हुनपुगे सिङ्गो छु है एउटा
खुट्टादेखि सुरु शीर बिचमा लिङ्गो छु है एउटा
अण्डा भित्र रही कराइरहने चल्लोसरिको
संस्कारी धनको पितृ तनको डल्लोसरिको

जन्मै मृत्यु धर्म कर्म बिचमा संस्कार धेरै थरी
जे जे भन्दछ त्यो उही समयले त्यै गर्छु वर्षैभरी
बोल्यो आज उही घुमेर घडिमा टिक् टिक् गरी बेस्सरी
जन्म्यो पुस्तक यो यही समयमा सुम्पन्छु है श्री हरी

नारी दिवस 12
आधा समुद्र हाम्रो भन्छ्यौ,
वानरको सेतु देख्दिनौ दिदी ?
आधा आकाश हाम्रो भन्छौ,
राहु केतु देख्दिनौ दिदी ?

यता जान्छ्यौ, बैठक बस्छौ,
उता कुद्छ्यौ, भाषण गर्छौ
मुख्य कारण पितृसत्ता ठान्छ्यौ,
मातृको हेतु देख्दिनौ दिदी ?

गाडीका सिटमा बीस प्रतिशत माग्छ्यौ,
सार्वजनिक सेवामा तेत्तीस,
राजनीतिमा चालीस प्रतिशत माग्छ्यौ,
काल्पनिक आकाशमा पचास

तिम्रै पाठेघरमा महिला भ्रूणको
शत प्रतिशत संरक्षण छैन,
आफ्नै कोखबाट छोरीको गर्भपतन,
आफैं देख्दिनौ दिदी ?

अनैतिक दृष्टान्त 23
गतिशून्य मतिन्यून, ठडिइरहन्छ निरन्तर,
मरेको वृक्षको हाँगो, नसुकेको कहाँ !

देखिन्छ गुणीको दोष, गुणका रासमा पनि,
स्वास्नी फिर्ता गर्यौ राम !, धोबीले भनेकै नि

प्रायको लोकमा हुन्छ, एकैनास समुन्नती,
नेता नेपालका हेर, सम्पत्ती कति हो कति

मिलेर काम गर्नाले, सधैं हुदैन फाइदा,
बाख्रा नारेर दुईटा, जोत्यौ खेत यदाकदा ?

योग्यस्थानबिषे मान, धेरैले छैन पाएको,
वासुदेब बसी जेल, छैन नेल लगाएको ?

विपक्षी कार्यकर्तामा, अर्ति गाली बिझाउँछ,
दूधै नपिएको सर्प, पनि विष बगाउँछ

चित्रभित्र मित्र कृष्ण @$

उसले बाहिर बनायो वा मैले भित्र बनाएँ ?

ऊ अचल बसिरह्यो र मैले उसको चित्र बनाएँ ।



कसले कसलाई बनायो कसलाई पत्तो छ यहाँ ?

ऊ बेकार बसिरह्यो र मैले उसको चित्र बनाएँ ।


उसका पनि आमाहरु रहेछन् मेरा जस्तै, दुरुस्तै ।

मैले आमा फेरिन, उसले आमा फेरेको चित्र बनाएँ ।


उसकी पनि प्रेमिका रहिछ, मेरी जस्तै, दुरुस्तै ।

मैले उनैलाई स्वीकारेँ, उसले अर्कै रोजेको चित्र बनाएँ ।


उसका पनि स्वजन रहेछन् मेरा पनि दूर्जन छन् कडा कडा ।

मैले दूर्जन मारिन, उसले स्वजन मारेको चित्र बनाएँ ।


कति होच्याउनु ,कति गालि गर्नु, कति काले चोर भन्नु ,

धूलो र पानीले च्यातिने वेलामा चित्रलाई मित्र बनाएँ ।


उसले मलाई बनायो वा मैले उसलाई बनाएँ ?

गलेर थाकेर मर्ने बेलामा चित्रलाई मित्र बनाएँ



नेपाल आमा @%

कतै दुष्ट चाला छिमेकीहरूका ।

कतै वक्र इच्छा पराईहरुका ।

बरू गाभ इच्छा र साझा बनाऊ,

नगाभेर नेपाल आमा बचाऊ ।



सबै पुत्र पुत्री सबै इष्टमित्र ।

मिली आज जम्मै भई एक ढिक्का ।

गरी दृढ संकल्प खाका बनाऊ,

नबाझेर नेपाल आमा बचाऊ ।



बरु भोक भोकै अरुको भलाई,

गरौं कर्म प्यारो सबै दाजुभाइ ।

बरू आज बाँडी जति जे छ खाऊ ।

नबाँडेर नेपाल आमा बचाऊ ।



बरू आज काटी मलाई पकाऊ ।

बरू बाँड चोक्टा निचोरेर खाऊ ।

रमाई रमाई मलाई पचाऊ ।

नकाटेर नेपाल आमा बचाऊ ।


कतै जन्ति जाँदा कसैको मलामी ।

कतै बाढी वर्षा कसैको खरानी ।

बरू साट पीडा उसैमा रमाऊ ।

नसाटेर नेपाल आमा बचाऊ ।



मिलन @^

पूर्व पश्चिम राजमार्गको बीचमा,

उत्तर दक्षिण लमतन्न भएर,

रात बिताउन मन छ ।

सडक माथि सडक जस्तै भएर,

उसैसँग मिल्न मन छ ।

आनन्दसँग सुत्न मन छ,

ऊ सुते जस्तै ।

तर के गर्नु, मर्छु र मात्रै पो !



ब्युँझिए पछि तिनै सडक मुनिका

नदी खोलामा बग्न मन छ ।

नदी भित्र नदी जस्तै भएर ।

उनैसित मिल्न मन छ ।

आनन्दसँग बग्न मन छ,

उनी बगे जस्तै ।

तर के गर्नु, मर्छु र मात्रै पो !



नदीको कुनै अग्लो भीरको टुप्पामा गएर,

त्यतै भएका रुखमा चढी आकाश छुन मन छ ।

त्यहाँबाट उढेर अझै माथि गई

उही बेगले तल झरेर,

ढुङ्गा माटोमा मिल्न मन छ ।

ती मिलेका ढुङ्गा माटो जस्तै ।

तर के गर्नु, मर्छु र मात्रै पो !



चण्डेनी प्रार्थना @&

छ रिस राग चित्तमा, त्यो चूर्ण पार चण्डेनी ।

अपूर्ण जो छ बुद्धिमा, त्यो पूर्ण पार चण्डेनी ।



गुरूहरू बनिरहुन्, ती देवका वृहष्पति ।

सदा तयारी ज्ञानको, गुरूआमा सरस्वती ।



छ अल्प सीप चेतना, प्रचण्ड पार चण्डेनी ।

छ खण्ड खण्ड सोचमा, अखण्ड पार चण्डेनी ।



समाज देश विश्वको, म हित कार्यमा रहूँ ।

वनस्पति र प्राणीमा म प्रित गाँस्नमा रमू ।



म कोपिला छु चञ्चले, र फुल्न देऊ चण्डेनी ।

सुसभ्य, स्वास्थ्य, शान्तिको, सुवास देऊ चण्डेनी ।



जता म जाऊँ विश्वमा, भविश्यमा रमी रमी ।

त्यता चिनाऊँ चण्डेनी, सगौरव बनी बनी ।



छ सूत्र वीज जीवको, दुरुस्त पार चण्डेनी

छ प्यास औधि ज्ञानको, त्यो तृप्त पार चण्डेनी ।



वेहालतन्त्रको शिक्षक 28
घुम्थेँ, डुल्थेँ सल्लाह दिन्थेँ
नयाँ ज्ञान बाँड्दै पुराना लिन्थेँ
नौनी, मोही, रित्तो भएँछु,
दानी नबन्दै मदानी बनेँछु

कहाँ बन्छ खाना पकाए नजानी
कतै मात्र चोक्टा, कतै शुद्ध पानी
सोच्थेँ मीठो मसाला बन्छु,
मसाला नबन्दै साला भएँछु

यो विश्व व्रम्हाण्ड साझा सबैको,
भनी लेख लेख्थेँ थरैको, घरैको
अरू देश पढ्दा नेपाल बुझ्दा,
देशी नबन्दै विदेशी भएँछु

काली, गोरी सबै एक भन्थेँ
ठूले साने, सबै जान भन्थेँ
अशिक्षा पछार्दा शिक्षा उघार्दा,
साने नबन्दै मसाने भएँछु

शीर्षक: तुलना 29
त्रिवेणी योनी रहेछन् दुरुस्तै
दुवै जन्मदाता रहेछन् दुरुस्तै
पखालेर मैलो, बनी शुद्ध कूल,
भरी ब्रह्मनाला बहेछन् दुरुस्तै

मृगौला दुई, एक अण्डा नलीले,
त्रिवेणी बन्यो तीन मिल्दा नदीले
इडा, पिङ्गला सुसुम्ना नसाले,
बनाई त्रिवेणी बगेछन् दुरुस्तै

लिई पेटमा मास नौसम्म भारी,
दिई जन्म नौलो, धरा धन्य पारी
मरी जान्छ मान्छे, सुताई चितामा,
पुनर्जन्म दिँदै गएछन् दुरुस्तै

जहाँबाट जन्म्यो बिना वस्त्र चोली,
उही स्थानमा दागबत्ती नबोली
संकेत धेरै त्रिवेणीहरुमा,
संस्कार हाम्रा बनेछन् दुरुस्तै

घटाकास उस्तै आकाश उस्तै,
ऋतुमासकालीन वर्षात उस्तै
कहिल्यै नसुक्ने दुबै मूल पानी,
दुबै प्राणदाता भएछन् दुरुस्तै

दुबै स्थानमा पार्वती अङ्ग उस्तै
गरि स्थापना शैवका लिङ्ग उस्तै
यहीँ हुन्छ काम, यहीँ बन्छ धाम,
दुबै खोँचमा नै बसेछन् दुरुस्तै

कुनै मूर्ख आई बलात्कार गर्दा,
बिज्ञान मातेर भित्तो चिथोर्दा,
कठै वेदना ती सहेछन् दुरुस्तै
नमिल्दो कहानी कहेछन् दुरुस्तै

शीर्षक बसाइँ, छन्द  शिखरिणी 30

थियो यौटा सानो घर नजिकमा कूप गतिलो
खान्थेँ पानी त्यो कलकल गरी खूब रसिलो
बिना चौताराको वर पनि थियो माथि घरमा
हाल्थेँ अँगालो तर पनि कहाँ अट्नु करमा  

वनैका छेवैमा अलिक वर नै ओखर हुने
टिप्थेँ पोल्टामा टपटप गरी बेर नहुने
निबाराका दाना कति मह हुने धेर गुलियो
गयो टिप्यो खायो रनवन गरी भोक भुलियो

जुठेल्नामा फल्थे अति रस हुने आरु बखडा
तिनै हुन्थे मेरा किसमिसहरू काजु छगडा
हुने काँक्रा फर्सी कति कति बडा अम्मन हुने
हुने गिठ्ठा धेरै अनि तरुल ती पौष्टिक हुने

दुनामा जन्मिन्थे कुश ऋषिहरू मोटकहरू
गह्रामा गुञ्जिन्थे कति शिखरिणी तोटकहरू
अगेनामा घुम्थे वरपर गरी यज्ञ चरु
खोपामा सुत्थे ऋषि कृति महाँभारतहरू

सबै छोडेँ आएँ सहर पसेँ ज्यान यता
पुराना सम्झौता मन सपनी ध्यान उता
बसाइँ सर्दामा पर पर हुने मात्र तन यो
सबै सम्झी एक्लै धुरुधुरु रुने मात्र मन हो

मेरा टारी बारी  निरस नबने है घरिघरि
मेरा कान्ला आली  विरह नसुसाए घरिघरि
तिमी मेरो स्वामी मन मुटुमा राज गर लौ
हिजो जस्तो गथ्र्यौ अव पनि उही आज गर लौ

लाटीको माया #!

थियो वाल्यकालै म बस्थें नबोली ।

थिए मित्र धेरै र खेल्थें नबोली ।

सुने जन्म नौलो भयो रे उनैको ,

गएँ बच्ची हेर्न म एक्लै नबोली ।



सुतेकी रहिछन् उनी मस्त साथ ,

बसें बेर धेरै दुवै नेत्र खोली ।

पुग्यो नीद टन्नै भयो पेट रित्तो ,

र हेरिन् मलाई नबोली नबोली ।



यता खेतबारी उता सम्म चौर ,

बितायौं उमेरै छँदामा कुदेर ।

न पढ्ने न लेख्ने न कापी न ठेली ,

र हुर्की गएछौं नबोली नबोली ।



लजाइन् र हेरिन् मलाई नबोली ।

गरिन् जो इशारा नबोली नबोली ।

म दैडें बडो गर्वले बोल्नलाई ,

सुके शव्द सारा र फर्कें नबोली ।



रमाएँछु धेरै र आत्मा खुशी भो ।

डराएँछु थोरै र आत्मा दुखी भो ।

गएँ भोलि साँझ उनैसँग भेट्न ,

ग¥यौं बात धेरै नबोली नबोली ।



भयो भेट हाम्रो लगातार फेरि ,

बिते साँझ धेरै नबोली नबोली ।

म सुन्थे कुरा ती उनी भन्दिनन् जो ,

उनी ’हुन्छ’ भन्थिन् नबोली नबोली ।



कला त्यो उनैको नहाँसी नहेर्ने ।

दुवै नेत्रमा नेत्र गाँसेर हेर्ने ।

भयौं एक जोडी, भयो एक ज्यान ,

भए पुत्र पुत्री नबोली नबोली ।



दिइन् हात धेरै, दिइन् साथ मेरै ।

सधैं काम गर्थिन् बिहानै सबेरै ।

विरामी परेकी कहिल्यै थिइनन्,

“म सञ्चै छु’ भन्थिन् नबोली नबोली ।



सकिन् काम धन्दा हिजो साँझ फेरि ।

निकै बेर हेरिन् मलाई नबोली ।

विदा भै गइन् जो नबोली नबोली ।

सुताएँ चितामा नबोली नबोली ।



दिएँ दागबत्ती सलाई जलाई ।

भइन् राख एक्लै नबोली नबोली ।

पखालेँ चिता खै १ पखालिन्न याद ।

म सम्झिन्छु एक्लै नबोली नबोली ।



अजिब समय 32
उनको मेरो समय अब अजिब हुनेछ
दुबैको सास अब नजिक हुनेछ
उता जाओ, परै बस, अन्त कतै हेर बरु,
मायाको मुर्ती अब सजिब हुनेछ
उनको मेरो समय अब अजिब हुनेछ

कहाँका टुडाल, कसको शास्त्र, सबै बिर्सिदेउ।
तिम्रा ती ताजमहल अब पग्लिनेछन।
आखामा साचेका दृश्य अब हल्लिनेछन
दुबैको साथ अति करिब हुनेछ
उनको मेरो समय अब अजिब हुनेछ

श्रुति, स्मृती व्याकरण बन्द गर अब
वैदिक ऋचाहरु क्रमशः टुक्रिनेछन
मन्त्रहरु स्वत उच्चारित हुनेछन
दुबैको ॐकार अब क्रमिक हुनेछ
उनको मेरो समय अब अजिब हुनेछ


गजल
रदिफ, काफिया, बहर, मतला केही नै थाछैन।
त्यसैले मेरो गजल, गजल भाछैन

अन्तै किन्छन् शव्दहरू, अन्तै बेच्छन् स्वरहरू,
त्यसैले मेरो गजल, पसल भाछैन

बैँस बारि बाँझो राखी, शेर बेर्ना सार्न थाँले,
त्यसैले मेरो गजल, फसल भाछैन

ऊनीसँग नखेलेर, शव्दसँग खेल्न थाँले,
त्यसैले मेरो गजल, असल भाछैन

गजल
परैबाट अाँखा, डुलाउन सक्छौ
बनाई निशाना, रुलाउन सक्छौ

चिनी दूधमा मात्र, घुल्ने कहाँ हो !
पानी छु पानी, घुलाउन सक्छौ

भयो बन्द ढोका, के मान्नु चिन्ता,
यता झ्याल अर्कै, खुलाउन सक्छौ

उता फूल उस्तै, बगैंचा उही हो,
यता फूल नौलो, फुलाउन सक्छौ

सधैं साथ हुन्छौ, चखेवा चरी झैं,
पठाएर अन्तै, भुलाउन सक्छौ

गजल

लडेछौ तिमी हात देऊ, भन्दैन कोही
छु एक्लै तिमी साथ देऊ, भन्दैन कोही

दहीले भरेको ठेकी, बग्दैछ पानी
मदानी घुमाएर मात्रै, बन्दैन मोही
छु एक्लै तिमी साथ देऊ, भन्दैन कोही

निकै छोप्दछौ वैँशका ती, चाला माला
लुकाएर मात्रै जवानी, रम्दैन कोही
छु एक्लै तिमी साथ देऊ, भन्दैन कोही

फलामे कुरो हेर्छ तामा, चश्मा दोषी
हीरासरी गर्छु माया, गन्दैन कोही
छु एक्लै तिमी साथ देऊ, भन्दैन कोही

अरू फुल्दछन् पुष्प, मेरो रित्तो बारी
फुल्दै फलाउँछु बाला, खन्दैन कोही
छु एक्लै तिमी साथ देऊ, भन्दैन कोही

गजल
उल्था, Translation
सदा बच्पना लेकवेंशी बितायौँ ।

मजाले दुई साथ हाम्रा वितायौँ ।

म स्वस्थान बस्दै रमे कल्पनामा,

भइछौ पराई तिमीले बितायौ ।

We enjoyed the rural life,
Sang in the hills and plain.
I wished for being native,
And you became foreign again.

तिमी म्यान हुन्थ्यौ म त्यो खड्ग राम्रो ।

मिलेरै बनेको थियो साथ हाम्रो ।

बनायौ मलाई पुनः म्यान हेर ।

न घोच्यौ न काट्यौ तिमीले बितायौ ।

I used to be the sword,
And you used to be the man.
You changed the position and,
Gave me lot of pain again.

न गर्मी न जाडो थियो चाहा साझा ।

दगु¥यौँ दगु¥यौँ न पानी न खाजा ।

म थाकेँ नराम्रो मरुभूमि बीच ।

बनी सुस्त वर्षा तिमीले बितायौ ।

We sought for the oasis.
And together we ran for it.
I reached in a gloomy desert,
And you enjoyed the rain again.

म साँच्दैछु मायाँ पु¥याई विवेक ।

म जोड्दैछु संख्या थपी एक एक ।

यता एक पुग्दा उता धेर हुन्छ ।

पुगी लाख लाखौँ तिमीले बितायौ ।

I added one in one cos,
I thought for the union.
You put zero after one,
And you became ten again.

म सोच्थेँ तिमीले म जस्तै त सोच्थ्यौ ।

न नाफा न घाटा फगत् प्रेम खोज्थ्यौ ।

रमाएर घाटा म हिँड्दैछु आज,

बढाएर नाफा तिमीले बितायौ ।

I believed you think as I.
As we promised no loss and gain.
Only profit became your aim,
And my desires go vain again.

गजल
सवै पीर मर्का घटोस् जिन्दगीको ।

दुःस्वप्नादि जम्मै कटोस् जिन्दगीको ।

तिमी ओठमा फूल बोकेर आऊ,

गुलावी चयन्मा फटोस् जिन्दगी यो ।



सुन्यौँ तर्क नौला पुराना गुरूका ।

पढ्यौँ पुस्तकै सूत्र ठेली अरूका ।

तिमी नेत्रमा सूत्र बोकेर आऊ,

नयाँ सूत्र आजै रटोस् जिन्दगी यो ।



बटुल्छौँ बटुल्छौँ र पुग्दैन खान ।

खटिन्छौँ खटिन्छौँ र बन्दैन काम ।

तिमी छातिमा प्रेम बोकेर आऊ,

नयाँ काममा लौ खटोस् जिन्दगी यो ।



सिमाना दुईबीच थोरै छ बाँकी ।

उघारौँ र पर्दा हटोस् जिन्दगीको ।



गजल

तिमी आऊ छिट्टै अरु जन्दिन म ।

बहाना सहाना कुनै मान्दिन म ।

जता चम्कियून् सूर्य तारा सुनौला,

तिमी जून यौटै अरु छान्दिन म ।



हलो जिन्दगीको कता अड्कियो खै,

दिई काँध एक्लै सधैँ तान्दिन म ।



उता सुक्छ धारो यता डड्छ खाना,

न खाना न पानी घरै धान्दिन म ।



सबै भन्दछन् मोति दाना महङ्गो,

अमूल्यै तिमी छौ अरु ठान्दिन म ।



गीत !

आकाशमा बीऊ तिम्रो, धरतीमा फल ।

चन्द्रमाको औषधिले, ग¥यो जलमल ।



चिसोमै म खाउँ कि तिमीलाई,

तताएर खाऊँ 

सजिलै म खाउँ कि तिमीलाई,

सताएर खाउँ 



पूर्णिमाको नशा लाग्ने, पर हुँदा पनि ।

छुँदाखेरी मात लाग्ने, वर हुँदा पनि ।



खुसुक्क म खाउँ कि तिमीलाई,

बताएर खाउँ 

होेशमै म खाउँ कि तिमीलाई,

मताएर खाउँ 



हिलो मैलो कहिँ छैन, अमलाकी दानु ।

नौनीसरी बनेकी छिन्, आज मेरी सानु ।



पुछेरै म खाउँ कि तिमीलाई,

पखालेर खाउँ 

जमाएर खाउँ खाउँ कि तिमीलाई,

पगालेर खाउँ 



गीत 2
कथा आफ्ना आफ्नै हेर, ब्यथा आफ्ना आफ्नै
रिन पान धन जिलो, जेथा आफ्ना आफ्नै

कोहि कोहि आश बोक्छन
कोहि रोज्छन खास
रास माथी रास रोज्छन
बनी त्यसकै दास

गाँस आफ्ना आफ्नै हेर, वास आफ्ना आफ्नै
बाचुन्जेल दुई मुठी, सास आफ्ना आफ्नै

कोहि काख प्यारो भन्छन
कोहि भन्छन साथ
कोहिलाई रात प्यारो
छैन जात भात

उमेरमा काख हेर, साथ आफ्ना आफ्नै
मरेपछी मुर्दाको नि, घाट आफ्ना आफ्नै

कथा आफ्ना आफ्नै हेर -------

मुक्तक
नजिक नजिक नआऊ, मात लाग्ला नि फेरि
अलिक पर पर जाऊ, बात लाग्ला नि फेरि
तनवदन कसिलोमा, हात लाग्ला नि फेरि
हर शरद सुत जन्मी, खात लाग्ला नि फेरि

मुक्तक भूकम्प पिडित

बिजेताहरु भन्छन्, वाँयाको सरकार गठन गरौं ।

उपबिजेताहरु भन्छन्, छाँयाको सरकार गठन गरौं ।

हामी सबै भूकम्प पिडित, जसले दुबै पक्षलाई भोट दियौं,

आऊ हामी अब, मायाको सरकार गठन गरौं ।



हामी नै बनौला हाम्रो प्रधान, हामी नै बनौला उप ।

टहरामा राजधानी, झुप्रामा मन्त्रालय, बाँचुञ्जेललाई सुखै सुख ।

मर्दा पर्दा गाह्रो हुँदा, सहरबाट बोलाउँला मलामी,

पोलुन् कि गाढुन्, काटुन् कि राखुन्, हामीलाई के को दुःख ?



मुक्तक
केटा :
ठूला खोजेको होइन मैले,
पहिले तिमी साना देऊ
पाथी खोजेको होइन मैले,
पहिले तिमी माना देऊ

हागा बढ्लान, काट्नु पर्ला,
जरा सुक्लान, पानी हाल्नु पर्ला,
टप्प टिपेर क्वाप्प खाने,
पहिला तिमी दाना देऊ

केटी :
थर फेर्नुछ मैले, घर फेर्नुछ,
पहिले तिमी नाम देऊ
शृमतीले मात्र गर्न पाउने,
पहिले तिमी काम देऊ

राम्रा अक्षरकि छु,
उसले पनि हेर्न खोज्छ।
बेनामी चिठिजस्ती छु,
उसले पनि पढ्न खोज्छ,
टिकट ठेगाना सहितको
पहिले तिमी खाम देऊ

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...