Skip to main content

श्रुती, पच्चीस, मिलन मन

पच्चीस, मिलन मन

काम त केही गरेकी थिइनन् तर भ्याइ नभ्याइ थियो कृष्णकी आमालाई बिहानै देखि । ज्वाइँहरू नमस्ते गर्नमा र छोरीहरू चिया पकाउनमा व्यस्त थिए । गाउँभरिका केटाकेटीहरू गुलियोमा रमाउँदैथिए आँगनतिर ।
धाइपातिरबाट पनि फाट्टफुट्ट मान्छे देखिँदै थिए, कामीगाउँबाट पनि आउँदैथिए । शिवालयबाट पनि झर्दैथिए । तल रमितेमा पनि राता सारीहरू उँभो लागेजस्ता देखिन्थे ।
एकैछिन्मा दलान भरियो । केटाकेटीहरू बारीमा पुगिसकेका थिए । आँगन छोपियो मान्छेले । अट्न छोडेपछि मान्छेहरू लागे आश्रमतिर ।
हुनेजति र सकेजति सजाइएको थियो आश्रमलाई बर, पीपल, आँप, पाखरी र डुम्रीका पातले । तोरणले फन्को मारेको थियो तीन पटक । फूलैफूलले ढाकिएका थिए मन्दिरहरू । आश्रम वरिपरि ढुङ्गा छापेका थिए र भञ्ज्याङ्गको चारैबाटामा स्वगत गेट बनाइएको थियो बाँस र वनमालाको झारले । स्वागतम् लेखिएका राता कपडाहरू परैबाट देखिन्थे ।
– हेर्नु त बुबा ! पुलिसको गाडि पनि आयो तलबाट । किन आएका पुलिस् ?
– ठूला मान्छे पनि आउँदैछन् नि त आज । तिनीहरूका गार्ड होलान् ।
गाडि भन्ने बित्तिकै केटाकेटीहरू रमितेतिर कुदे । कति हानिए ओह्रालो । बूढाबूढीहरू पनि नजानिँदो पाराले पाटातिर जान थाले ।
– हो रहेछ !  हो रहेछ ! निकै आएछन् गाडि पनि । आउन पो सक्छन् कि सक्दैनन् ! बाटो त्यस्तो छ ।
– त्यहाँसम्म आए भने त हिंडेरै पनि आइहाल्छन् नि । कति नै हिंड्नुपर्छ र त्यहाँबाट त ।
बिहेको भतेर जस्तो देखिन्थ्यो बारीको डिलभरि र घरतिर हेर्दा । मान्छेहरू आउने क्रम जारी थियो । सेतैसेता लुगा लगाएका एक हुलहरू पनि आइपुगे र नयाँ भवनतिर गए हेर्नलाई । अर्कै थरी लुगा लगाएकाहरू पनि देखियो ।
– बुबा ! किन तिनीहरूले मुख छोपेका ?
– उनीहरूको चलन नै त्यस्तै हो ।
– अघिकाले त छोपेका थिएनन् त, बुबा !
– उनीहरूको नछोप्ने चलन थियो नि त, हाम्रो जस्तै ।
– हामीले पनि छोपेर हिँडे हुन्छ त ? बुबा !
– तँ उता पर गएर गाडि हेरेर बस् अब साथीसँग । म अलि अलि काम गर्छु यतातिर ।
– के काम बुबा ?
– जा न तँ चाहिँ, म गरिहाल्छु नि ।
झण्डै घरैसम्म गाडिहरू आइरहे । दुइ–तीन जना अगाडि र अलिक धेरै पुलिसहरू पछाडि लगाएर मन्त्री सगुन आइपुगे कार्यक्रम स्थलमा । एउटै ऋतु परेकाले होला सगुनका घाँटी भरी पनि तिनै जातका फूलका माला थिए जुन कृष्णका शरीर भरि थिए कुनै दिन । नमस्तेको ओइरो लाग्यो बारीका पाटामा ।
पछि पनि आए मान्छेहरू र गाडिहरू । एक दिनका लागि स्कूलबाट मागेर ल्याएका कुर्सीहरू भरिए पाहुनाले । सुकुल, गुन्द्री र वरिपरिका अस्थाई बेञ्चमा बस्तै गए मान्छेहरू । मान्छेसँगै विषयहरू पनि बढ्दै गए गफका ।
– अरूले नै उद्घाटन गर्ने भए मन्त्रीलाई किन बोलाउनु प¥यो ? मन्त्रीलाई नै प्रमुख अतिथी बनाएर उद्घाटन गराउनु पर्छ ।
– सय वर्ष नाघेका वृद्ध–वृद्धा छन् यहाँ । जेष्ठ नागरिकहरूबाट हुनुपर्छ आजको उद्घाटन ।
– होइन, जसले बनायो उसैले गरे भइहाल्यो नि ! कि कसो त ? महिलाले बनाउन चाहिँ हुने अनि उद्घाटन गर्न नहुने भन्ने छैन त । शहरतिर पुरुषले गर्छन् अरे, गाउँतिर महिलाले नै गरुन् न ।
आमा निस्किइन् कृष्णकी । मान्छे देखेरै अलमलिइन् एकछिन् । परिचयात्मक कार्य भइरह्यो धेरैबेर । मन्त्री सगुनले माला फुकाले र धेरै जनासँग परिचय गराइदिए । धेरै जिल्लाका मान्छे जम्मा भएका रहेछन् । सामान्य खाजा खुवाएर बत्ति बाल्दै आश्रम उद्घाटन पश्चात् विभिन्न धार्मिक गुरुहरूबाट प्रवचन र सत्सङ्ग गर्ने खाका बन्यो त्यस दिनको । माइकबाट मधुरो आवाज निस्किन थालिसकेको थियो । शायद त्यसैले होला वरपरका मान्छेहरू पनि त्यतैतिर लागे ।
– ऊ क्या त्यो, देख्नु भएन ? सेतो सारी लगाएकी छिन् नि, हो उनैले बनाएको अरे । सबै घर खेत बेचेर ।
– बूढो मरिगयो । एउटा छोरो बेपत्ता छ अरे, अर्को पनि मरि गयो । केलाई राख्नु त अब सम्पत्ति ? ठीक गरिछिन् ।
माइकको आवाज बढ्दै गयो । कान्लातिर उक्लिए मानिसहरू । हेर्न लागे रमिता र सुन्न लागे उद्घोष ।
– ..... र यसै क्रममा आउनु भएको छ माननिय मन्त्री सगुन ! उहाँलाई विशिष्ट अतिथिको आसन गरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु ।
– यसै गरि हाम्रै जिल्लाबाट आउनु भएका किराँत समाजलाई पनि मञ्चको अगाडितिर आएर आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु ।
– यसै गरि हाम्रै अञ्चलबाट प्रतिनिधि स्वरूप आउनु भएका चर्च र मस्जिदका पाहुनाहरूलाई पनि मञ्चको अगाडितिर आएर आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु ।
– साँस्कृतिक भ्रमण टोली मार्फत् यहाँ पाल्नु भएका सम्पूर्ण अतिथिहरूलाई यथा स्थानमा आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु ।
– आसन ग्रहणको क्रममा हाम्रो छिमेकी अञ्चलबाट आउनु भएका गौरिशङ्कर गुम्बाका गुरु र आनीहरूलाई पनि मञ्चको अगाडितिर आएर आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु ।
संस्थाहरू, आमन्त्रित पाहुनाहरू, निर्माण सहयोगीहरू, चन्दा दाताहरू, स्थानीय नेताहरू, विद्यालय र क्लबहरू लगायतलाई सम्बोधन गर्नमा नै एक घण्टा भन्दा बढी लाग्यो । सम्बोधन पश्चात् माइक बोल्दैथियो ।
– ..... हाम्रो गाउँको, गाउँको त के जिल्लाकै र देशकै क्रान्तिकारी राम उर्फ क. कृष्णको तेस्रो पुण्य तिथीमा .......
आफू अलमलिए जस्तो लाग्यो श्रुुतीलाई । आफैं भित्र डराए जस्तो गरिन् एक छिन्, र फेरि सुनिन् ।
– ....... उहाँकी ममतामयी आमाबाट आफ्नो छोरो कमरेड कृष्णको नाममा निर्माण गरिएको यस आश्रम ......
उकुस मुकुस भयो श्रुतीलाई । बोलिन् ।
– एकै छिन् है आनीजी, म आइहाल्छु ।
मन्दिर र मञ्चलाई दाहिने पारेर भीडभाडबाट अगाडि आइन् श्रुती । परैसम्म मान्छे उभिएका थिए । माथिसम्म नै मान्छे उभिएका थिए । अझ माथि हेरिन् । कान्लाभरि बसेका थिए मान्छे । अझ माथि हेरिन् । बरको रूख ।
छिटो छिटो भीडबाट टाढा आइन् र सानो डाँडाको धारैनेर आइपुगिन् जहाँ केटाकेटीहरू चिउरा खाँदै चिप्ली खेलिरहेका थिए ।
– बहिनी, यो माथिको मन्दिर शिवालय हो ?
– हो ।
– त्यो पल्लो डाँडाको नाम खोलापारी डाँडो हो ?
– कुन ? त्यो ओखरको रूख पारिको ? हो, हामी भर्खरै गएका थियौं बाख्रा चराउँन ।
– अनि काली खोल्सो खोइ त ?
– यहाँबाट देखिँदैन । ऊ त्यसैको सीधा तल पर्छ ।
– यो धाराको पानी कहाँबाट ल्याएको थाहा छ ?
– छ । ऊ त्यो डाँडा माथिको तीनधारेबाट ।
गर्मी भएर आयो श्रुतीलाई । सपना देखे जस्तो भयो उनलाई । कृष्णको चिठीको बीचको अनुच्छेदमा आफू उभिए जस्तो लाग्यो । नजिकै रहेको धारो एउटा हातले समातेर मुडुलो टाउको भिजाइन् र दुबै हातले धारालाई समातेर धेरैबेर पानी खाइरहिन् ।
त्यहीं बसिन् एकछिन् र हेरिरहिन् चारैतिर । केटाकेटी सरह कुध्दै गएर त्यहाँबाट देखिएका जति सबै कुरा छाम्न, सुँघ्न र हेर्न मन लागेको थियो एकछिन् । नजिकै मतान थियो, नचिनेकी कुटुनी बूढीदेखि डराइन् । परतिर सचिवको बारी थियो, ऐंसेलुको काँडादेखि तर्किइन् ।
बसिरहेको डाँडो र आफू बसेको घाँस न्यानो हुँदै आयो एकैछिनमा । केटाकेटीहरू अझै खेलिरहेका थिए र पर नबुझिने गरी माइकले आवाज दिइरहेको थियो । घाँसको न्यानो काख छोड्न त मन थिएन तर कार्यक्रम स्थलतिर जानु परिहाल्थ्यो । फेरि त्यो पनि त कृष्णकै थियो । जता गए पनि र जता हेरे पनि कृष्णकै थियो वरिपरि । उनी फर्किइन् कार्यक्रम स्थलतिर । यस पाली गइन् घरकै बाटो र हेरिन् नब्बे साल र पैंतालीस सालको भूकम्पले पनि नभत्काइकन उनलाई साँचेर राखिदिएको घरलाई ।
घरमाथिको बाटो अगाडि बढिन् । गाई घाँस खाइरहेको थियो गोठमा । मान्छेहरू फाट्ट फुट्ट हेर्दै थिए उनलाई । बिस्तारै पुगिन् उद्घाटन स्थलमा । उनी पुग्दा उद्घाटन भइसकेको रहेछ आश्रमको । मन्दिरको वरिपरि धेरै बत्ति बालिइसकेका रहेछन् दिया भरि । कतिपय भ्रमण टोलीका सदस्य र गाउँलेहरू अझै पनि बत्ति बाल्दै थिए । उतैतिर लागिन् श्रुती पनि र कृष्णमन्दिर अगाडि त्यहिँ भएका दुईओटा धूप सल्काइन् अनि आएर आनीहरूको नजिकै बसिन् र हेर्न थालिन्  विधवा स्त्रीहरूलाई र चिन्ने प्रयास गरिन् कृष्णकी आमालाई ।
– ...... र यसै क्रममा आफ्ना दुई शब्द राखिदिनुहुन म मञ्चमा बोलाउँदैछु उनै परिचित स्व. कृष्ण लगायत हामी सम्पूर्णकी ममतामयी आमालाई ।
– यस कार्यक्रममा उपस्थित सबै ....
हेरिरहिन् श्रुतीले उनै आमालाई । कृष्णको र कृष्णकी आमाको अनुहार मिलाउँन थालिन् बसी बसी । उनले बोलेको खासै सुनिनन् । बेला बेलामा राम, कृष्ण भनेको सुन्थिन् । रोएको जस्तो स्वर सुनिन्थ्यो उनको बोलीमा । उनलाई पनि नरमाइलो लागेजस्तो भयो । अन्त्यमा सबैले एकैपटक ठूलो ताली बजाए ।
– कति राम्रो बोलेको है, गौरी ?
– हो आनी जी !
अझै ताली बजाएकै अवस्थामा थिए श्रुतीका हातहरू । त्यही अवस्थामा उनी बोलिन् ।
– आनी जी ! जाऔं न एकछिन् हामी बाहिरतिर र नयाँ ठाउँहरू हेरौं । आखिर हामी भ्रमणमा नै निस्किएका हौं ।
तीन चार जना आनीहरूका अगाडि लागिन् श्रुती । हिंड्दै थिइन् र बोल्दै थिइन् बेला बेलामा ।
– ल जाउँ ऊ त्यो डाँडाको टुप्पातिर । तलसम्म पनि देखिन्छ जस्तो छ र माथिको तीनधारे पनि देखिन्छ होला ।
– यता तीनधारे पनि छ र? गौरी !
– छ । छ ..... अरे । अघि ऊ त्यहाँकी सानी बहिनीलाई सोधेकी थिएँ । त्यो माथितिरको डाँडामा चाहिँ शिवालय पनि छ अरे । जाने त त्यतातिर ? चौरहरू पनि छन् अरे ठूला ठूला ।
– नजाने । यत्रो उकालो हिँड्नुपर्छ ।
– उँधोतिर जाउँ न त एकछिन् । काली खोल्सातिर ! सुरुङ्ग पनि छ अरे दुईओटा खोलाको बीचमा । हिँड्न सकिन्छ अरे ।
– कति थोक सोध्न भ्याउनु भयो गौरी एकैछिन्मा ?
– नयाँ ठाउँमा आएपछि सोध्न मन लागि गयो । सोधें धेरै कुरा ।
उनीहरू भएतिर नै आए अन्य मानिसहरू पनि । माननीयलाई चियापान गराई बिदाई गर्नतिर लागे कृष्णका दिदी बहिनीहरू । आमालाई फुर्सदै थिएन कसैसँग धेरैबेर कुरा गर्ने । गाउँलेहरूले सहयोग गरे त्यही भ्रमणदलका दुई–चार जना पनि भ्रमणबाट फर्किएपछि त्यही आश्रममा बस्ने कुरा हुँदैथियो । तल गाडितिर झर्न थालिसकेका थिए कति मान्छेहरू । भ्रमणटोलीहरू पनि उतैतिर लाग्ने सुरसार गर्दै थिए । श्रुतीलाई हिँडिहालौं जस्तो लागेन । सोचिन् ः एकपटक कृष्णकी आमालाई नभेटी र कुरा नगरी कसरी जानू !
फेरि सोचिन् ः आज म जीउँदै हुनुमा धेर–थोर जति भए पनि कृष्णको हात छ । उसलाई पहिले नै नदेखेको भए सायद त्यो कालो सोमवारको रात त्यही डिनरमा हुन्थें होला र बुबाज्यूहरूसँगै मरिसक्थें होला । त्यस दिन म बाँच्नु भनेको पक्कै पनि कृष्ण मसँग खुसि छन् र उनले मलाई थप आयु दिए उनको सेवा गर्न अथवा त्यस दिन म नमर्नु भनेको मैले अझै उनले चाहे जति सेवा गर्न सकेकी छैन र मलाई उनीसँगै माथि लगेनन् । जे होस्, बाँचेको उपलक्ष्यमा मैले पक्कै केही गर्नुपर्छ उनै कृष्णको नाममा र छिट्टै पनि गर्नुपर्छ सायद किनकि कतिखेर मर्ने भन्ने टुङ्गो छैन ।
बेला बितिसकेको थियो दिनको र श्रुती लागिन् आमाको खोजिमा । घरमा आइन् र खाटतिर जान खोजिन् । मान्छे धेरै थिए त्यतातिर । त्यसै आँगनमा वरपर गर्दै हेर्न थालिन् । मूल ढोकाको माथि उनका आँखा पुगे । नजिकै गइन् र हेरिन् । उही आँखा थिए फोटोमा । सम्पादककालीन आँखाहरू थिए पूर्वक्रान्तिकालीन अनुहारमा । धेरैबेर हेरेपछि त्यहीं उभिएकाहरूलाई सोधिन् ।
– के यही फोटोको मान्छेकै नाममा बनाएको हो आश्रम ?
दुई–तीन जनाले एकैचोटिी हो भने । ऊ नै राम दाइ हो भने कतिले ।
– उहाँकी आमासँग एकछिन् कुरा गर्न सकिन्छ होला अहिले ?
– सकिन्छ । पर्खनुस् है त एकछिन् । हामी भित्र गएर बोलाइदिन्छौं ।
उनले पर्खिरहँदा आनीहरू उनैलाई खोज्दै त्यतै आउँदै थिए ।
– आमा ! उहाँ नै हो । तपाईंसँग एकछिन् कुरा गर्ने रे ।
– नमस्ते, आमा !
– नमस्ते ।
धेरै पाहुनाहरूका बीच एकछिन् कुरा गरे दुबैले । बीचबीचमा थोरै भएपनि अरुसँग गफ गर्न भ्याउनु पथ्र्यो आमाले । श्रुतीलाई अझै धेरै गफ गर्न मन लाग्दैथियो । आनीहरू उनीहरू नजिकै आइपुगे । श्रुती बोलिन् ।
– एकछिन है आमा, म आइहाल्छु ।
आनीहरू सँगै मिसिइन श्रुती र घरबाट अलिक वर आइन् । उनीहरूमात्र भएको अवस्था हेरी बोलिन् ।
– आनी जी, मलाई गाली नगर्नुस् है ।
– किन, के भयो र गौरी ?
– भएको त केही छैन तर ..... तर के भने, म तपाईंहरूसँग जान्न है अब । सकेंछु भने तपाईंहरू जाने धार्मिक स्थलहरूमा म पछि जान्छु र सकिनँ भने जान्न पनि । तपाईंहरूलाई गुम्बामा भेट्दा नै मैले धेरै तीर्थस्थलहरू भेटेजस्तो लागिरहेछ । मेरा धर्म गुरुआमाहरू पनि तपाईंहरू नै हो । गुम्बाको क्षण शायद म कहिले बिर्सिन्न होला । शायद अर्को जुनीमा पनि बिर्सिन्न होला । मलाई तपाईंहरूसँग छुट्टिन त मन लागेको थिएन तर किनकिन यहीं बस्न मन लाग्यो ।  यहाँ अप्ठ्यारो जस्तो लाग्यो भने फेरि तपाईंहरूकै गुम्बामा आउन पनि सक्छु । मैले तपाईंहरूलाई माया मारेको भने पक्कै होइन । तपाईंहरू मेरो हृदयमा बस्नु भएको छ र मैले बिर्सिए पनि मेरो सासले सम्झिइरहन्छ । मलाई यही ठाउँमा बस्न मन लाग्यो । मैले अघि नै कृष्णकी आमासँग पनि कुरा गरिसकें । हुन्छ भन्नु भएको छ । यिनै वृद्ध–वृृृृृृृृृृृृृृृृृृृद्धाको सहयोगी भएर बस्छु है, यही आश्रममा ?
– फर्किएर आएपछि बसे हुँदैन र गौरी ? अहिले जाउँ न यो भ्रमण दलसँगै ।
– हुन्छ, तर ..... ।
– ल ल बस्नुस् । तर हामीलाई सम्झिनुस् नि । जाँगर चल्योे भने यहाँका सबैलाई हाम्रो गुम्बा देखाउन ल्याउनुस् पछि पछि । यो झोलामा केही औषधिहरू छन्, लिनुस् । पछि काम लाग्न सक्छ र यतातिर नपाइन पनि सक्छन् । बूढाबूढीलाई त धेरै रोग बिसेक गराउँछन् यिनीहरूले ।

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...