Skip to main content

श्रुती, चौबीस, सेवा मन

चौबीस, सेवा मन

दुई ओटा होचा होचा ढोकाका बीचमा ठूला अक्षरमा वृद्धाश्रम लेखिएको थियो । दक्षिण फर्किएका ढोकाहरू मध्ये एउटा ढोकाको दाहिने छेउमा सानो राममन्दिर र अर्को ढोकाको देब्रे छेउमा कृष्णमन्दिर थिए । जुनसुकै ढोकाबाट भित्र पसे पनि अलिक पर गएपछि एउटै हलमा पुगिन्थ्यो । हल ठूलो र लामो थियो एकतले भवनमा । थाम नै थाम थिए वरिपरि । दुई–तीन सय जम्मा भएर भजन–कीर्तन गर्न पुग्ने गरि बनाइएको थियो । भित्ता–भित्ताका वरिपरि भनेजसो नै गुन्द्री बिच्छ्याइएको थियो ।
– सुत्ने ठाउँ यही नै हो । बस्ने पनि यही नै हो । छानाका ती चारओटा खाली ठाउँमा चाहिँ सेता जस्ता ल्याएर हाल्न बाँकी छ, उज्यालोको लागि । झ्याल चाहिँ यस्ता मात्र बनायौं, ती पनि पुराना घरका छन् कति त ।
हल पछिको अर्को कोठा भान्साका लागि तयार पारिएको थियो । जसमा साना दुईओटा जस्केला, काला दराजहरू र दुई–तीन ओटा तयारी अवस्थाका चुल्हाहरू थिए ।
– ठूलै बनाउनु भएछ त भान्सा पनि, आमा !
– अनि बाबू ! अलि अलि त हुन्छौं होला नि यहाँ बस्ने । चौध–पन्ध्र जनाले त हामी पनि यहीं बस्छौं भन्दै नाम लेखाएर गइसकेका छन् । कतिले चन्दा स्वरूप पैसा पनि छोडेर गएका छन् बाबू ।
– ए त्यस्ता पनि हुँदा रहेछन् ह,ै आमा !
– किन नहुनू, मनग्गे ।
भान्सा पछिको कोठा अलिक अग्लो पारेर उठाइएको थियो जमिन देखि । लिम्सिएर कमेरो माटो छ्यापेको थियो भित्ता वरिपरि । जस्ताका ठाउँमा ढुङ्गा थिए । शिव, पार्वती, क्राइस्ट, बुद्ध, मोहम्मद, नानक र अन्य धेरै धार्मिकगुरुका फोटाहरू भित्ताको वरिपरि टाँसिएका थिए जस मध्ये कमरेड सगुनले कति त चिनेनन् पनि । एकचुच्चे, बहुचुच्चे र विनाचुच्चे मन्दिरका चित्रहरू थिए । भुइँमा मात्र पीरा र चकटी थिए ।
– यो चाहिँ पूजा कोठा हो आमा ?
– पूजा त बाहिरकै कोठामा गर्छौं, बाबू ! यो चाहिँ यसो बूढाबूढीलाई चिन्तन, मनन, स्मरण गर्ने ठाउँ बनाएको, बूढेसकालमा बूढाबूढीलाई निदाउने बाटो ।
– ए ! ठूलो पो भएछ त आश्रम त । माथि बरको फेदबाट हेर्दा त लामो मात्र देखिन्थ्यो, मान्छे सुते जस्तो । फेरि यतातिर चाहिँ सिराने लगाए जस्तो अल्गो पार्नु भएछ । 
– खै बाबू ! आफ्नो ठाउँ यस्तै थियो । बनाउँनेले यस्तै बनाइदिए । अह्राउने–सिकाउने कोही होइन । मैले त दह्रो चाहिँ पारिदेओ मात्र भनें । दह्रै छ भन्थे । होला त नि !
– छ आमा, छ । यत्रा मोटा गाह्रा रहेछन् । फेरि एकतले, त्यसमाथि पनि जस्ता त हो नि । बनाउनु भएछ आमा एक्लैले यत्रो ।
– अहिलेसम्म एउटा गोठ त बनाएकी थिइन, बाबू ! तर मैले मात्र बनाएको चाहिँ होइन है ! अलि अलि गाउँलेले पनि साथ दिएका छन् । छोरीहरू आए भ्याएको बेलामा । त्यै पनि अझै काम छ । जे होस्, भित्रैदेखि चाहे पछि र साँच्चै आँटे पछि सकिँदो रहेछ । बाबूहरूले चाहिँ त्यत्रो वर्षसम्म दुःख गरेर पनि अझै भनेजस्तो काम गर्न सकिएन है !
– सकिन्छ आमा त्यो पनि । तर के हुँदो रहेछ भने यो आश्रम बनाउन तपाईं एक्लैको खटन–पटन थियो । हाम्रोमा त्यस्तो हुँदैन । हामी धेरै छौं । एक्लै भएपछि मिल्नु नै पर्दैन । जे ठीक लाग्यो त्यही गर्नु भयो तपाईंले । हामीले त्यसो गर्न पाएनौं । अरू दलसँग मिल्नु परिगयो । मिल्दैनन् । मिलाउनु प¥यो ।
– त्यो त हो, बाबू ! यो चुनाव सुनाव भनेको नै मिल्न नचाहनेहरूका लागि रहेछ । अब, मिले त किन चुनाव गर्नुप¥यो, हेइन त ?
– ठीक हो आमा । प्रजातन्त्र भनेको नै बहुमतीय सभ्यताको सर्वोत्कृष्ट तरिका न हो । सबैको एकमत भए किन चाहियो र लोकतन्त्र नै !
आश्रमको दुबैतिर फराकिला र लामा बारीहरू थिए । छेऊ–छेऊमा के का हो कुन्नी रूख रोपेका थिए लहरै । खेती गरिएको थिएन तिनीहरूमा । दूबो पलाउँदै थियो कुनातिर । शायद धारा बनाउनका लगि होला स–साना गाह्रा उठाउँदै थिए चार–पाँच ठाउँमा ।
– अनि बाबू ! रामको तिथीको दिनमा मैले त यसो रुद्री पढाएर एक–दुई जना वृद्धालाई खाना खुवाएर यसको शुरूवात् गर्ने भन्ने सोचेकी थिएँ । छोरीहरूले मान्दै मानेनन् । मान्छे बोलाएर उद्घाटन नगरी हुँदैन भन्न थाले । छिमेकीहरू पनि त्यसै भन्दैछन् । त्यसैले यो उद्घाटनको जिम्मा चाहिँ तिमीलाई । तिमीहरू भए मान्छे चिन्छौ, बोल्न पनि जान्दछौ । त्यति सहयोग चाहिँ गरिदिनू प¥यो साथीलाई ।
– हुन्छ । मान्छे आइहाल्छन् नै, यति राम्रो काम गर्नु भएको छ,  सबैलाई देखाउनु पनि पर्छ । अरूले पनि सिक्छन् । मान्छेहरूलाई त म भनिहाल्छु नि । फेरि कृष्णकी आमाको कार्यक्रम भनेपछि त्यसै मान्छे हुन्छन् ।
धेरैबेर कुरा भयो क. सगुन र कृष्णकी आमाको । आश्रम निर्माणदेखि लिएर कृष्णको विनाशसम्मका कुरा भए मन्दिर अगाडि बसेर । गफ सुन्नै भए पनि धेरै मान्छेको भीड जम्मा भइसकेको थियो ।
– अनि बाबु सगुन ! मान्छेहरूलाई खबर गर्दा सकिन्छ भने सबै धर्मका लाई गर्नु है । भएदेखि त यसो गुरुहरूलाई पनि बोलाए हुन्थ्यो । तिमीहरूका त गाडि पनि छँदैछन् । तिमीहरूले पनि ज्ञानगुनका कुरा सुन्न पाउँछौ । बूढाबूढीको आश्रम भनेपछि धार्मिक संस्थामा नै बढी चर्चा हुन्छ । जुनसुकै धर्मका भएपनि आखिर बूढाबूढी एकै हुन् ।
– भइहाल्छ नि, आमा । हाम्रो पुरानो क्रान्तिकारीको सांस्कृतिक टोलीले यही बेला मौका पारेर विभिन्न धर्मका धर्मगुरु लिएर हिमाली र पहाडी जिल्लाहरुमा सांस्कृतिक भ्रमण गर्दैछ, जेठ असारमा हिँऊ पर्दैन भनेर । त्यही टोलीलाई भनेपछि मान्छेहरू त आइहाल्छन् नि ! अहिले पल्लो जिल्लामा छन् । तपाईं पनि घुम्न निस्कनु हुन्छ त तिनीहरूसँगै !
– जान्न बाबू ! जान्न ! यहीं बस्छु अब ।

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...