Skip to main content

श्रुती, अठार, छली मन

श्रुती, अठार, छली मन

एक प्रकारको आरामको अवस्था थियो डिभिजनमा । देशले नयाँ राजा पाएपछि पर्ख र हेरको नीतिले समय काट्तै थिए वर्ग संघर्षीय कमरेडहरू । क्रान्तिकारीका दोस्रा जैविक पुस्ता जन्मिइसकेका थिए । बालबच्चा स्याहार्ने र मायाका डल्ला खेलाउने काम हुन्थ्यो दिनभरि । लुटेका सम्पत्तिले कति सुत्केरीहरू तङ्ग्रिदै थिए ।
– हेर्नु त, यो पनि क्रान्तिकारी नै हुन्छ जस्तो छ । कस्तरी हेर्दैछ दुई महिनामा नै ।
– किन नहेरोस् त, आखिर छापामार बाबा आमाको छोरो न प¥यो । म भन्दा पनि कडा बन्नुपर्छ है छोरा ।
– सुइ लगाएर फलाएको तरकारी, बीस दिनको मुला र पोलिस गरेको चामल खएका छैनौं हामीले । सहरको जस्तो हस्पिटलमा जन्मिएको होइन हाम्रो राजा । कडा भइहाल्छ नि !
– राजा चाहिँ नभनेको भए हुन्थ्यो ।
– ल ल हाम्रो छोरो । क्रान्तिकारी छोरो । भयो अब । गोली हान्दा हान्दै उन्यू घारीका कुनामा जन्मिएको किन कडा नहोस् । एसिया भरिकै नेता हुन्छ मेरो बाबु ।
– हुन त हो । पृथ्वीमा आउन नसकेर अप्रेशन गरेर जन्माइएकाहरूले के क्रान्ति गर्छन् है छोरा ? दश महिनासम्म कालो कोठरीमा बसे पनि आफैं क्रान्ति गरेर धर्तीमा स्वतन्त्रता पूर्वक पाइला चाल्न र सूर्यको उज्यालो हेर्न आउने तिमी जस्तो पो हुनुपर्छ । बाहिर र भित्रैदेखि तातो हुनुपर्छ, है छोरा ।
– बाहिर त कोनि बाबा, भित्र त तातै रहेछ हाम्रो छोरो ।
– यति सानैमा कसरी थाहा पायौ तिमीले ?
– भर्खरै पिसाब गरिदियो क्या भूँडिमा । कस्तो पोल्यो । एकछिन् छोरो सामात्नुस् त !
यस्तै गफ हुन्थे पूर्वी डिभिजनमा जहाँ कृष्ण हिजो मात्र पुगेको थियो ।
पुराना पुष्पपत्रका चाङ्ग थिए डिभिजनको एउटा कोठामा । नपल्टाइ र नछोइकन हे¥यो धेरैबेर । नजिकै दराज थियो कालो । त्यही दराज हे¥यो नखोलिकन । नयाँ डिभिजनको नयाँ कुरा हेरिरह्यो धेरैबेर । पल्लो झ्यालबाट बाहिर डोरी टाँगेर भोटा सुकाइएका थिए । कुर्ता सुरुवाल र थाङ्ना थिए । भुत्ला थिए तेलले काला भएका । पोहोर मात्रै जनयुद्धमा होमिएकी क. तरिकाले बिबाह गरिछिन् । पोते टल्किँदै थियो उनको गलामा । गएर भेट्न मन गरेन । कोठैमा बसिरह्यो अबेर दिनसम्म ।
साँझमा हतियार कक्षतिर गयो । तार, कुकर, बारुदका बोरा, भाटाका लठ्ठी, बग्रेल्ती थिए । कुनामा सलले छोपेर बन्दूक ठड्याइएका थिए ।  एउटा टिपेर आफैंतिर फर्कायो र ट्रिगर दबाउन खोज्यो । एकछिन् त्यही बन्दूकलाई हेरेर फेरि त्यहीं ठड्याइदियो । अरू बन्दूक हे¥यो । डालाभरि ग्रिनेट छोपेर राखेको रहेछ प्लास्टिकका टपरीले । कार्टुन हे¥यो, सकेट र पाइपका टुक्राहरू रहेछन् । त्यसै टुक्रुक्क बसेर एउटा सकेट खोल्यो र बन्द ग¥यो । छोपछाप गरेर फेरि कोठैमा नै फर्कियो । सेन्ट्रिमा बस्ने बाहेक सबै लडाकूहरू एकत्रित भए । प्रत्येक साँझको रुटिन थियो त्यो । कृष्णले आफ्नै झ्यालबाट हे¥यो । गफ सुनिदैनथ्यो । त्यता जान मन लागेन उसलाई । सोच्यो ः भोलि–पर्सि जाउँला ।
एक घण्टासम्म सबै जना त्यतै थिए । झमक्कै साँझ परिसकेको थियो । डिभिजन भरि सुनिने गरि शंख बज्यो । सबैजना टेन्टमा गए । कृष्ण पनि त्यतै लाग्यो । ठूला ठूला तपेस भरि भात पाकिसकेको रहेछ । तरकारी पनि उत्रै ठूला कराइमा । वरै देखि आगोको ताप र भातको वाफको तातो आउँथ्यो । प्लास्टिकको टपरी बोकेर उभियो एकछिन् र टपरीलाई नै हेरिरह्यो । कसैले थालमा नै भात ल्याएर दियो कृष्णलाई र ऊ लाइनबाट बाहिरियो ।
– ओहो ! कमरेड कहिले आउनुभयो ?
– लालसलाम कमरेड ! मलाई पार्टीले अहिले यही डिभिजनमा खटाएको छ । चार–पाँच दिन भयो म यतै छु । अब एक–डेड महिनाजति यहीं बस्छु होला । अनि कृष्णजी ! दिनभरि भेट नै हुन सकेन कता जानुभयो ?
– कता जानु र सगुनजी, अलिक गले जस्तो भयो किनकिन । कोठैमा पल्टिरहेंछु दिनभर ।
– कहिले कहिले मलाई पनि यस्तै हुन्छ कृष्णजी । खास भन्ने हो भने मैले तपाईंको बारेमा कार्यकर्ताबाट केही कुरा सुनेको छु । आजकलका बैठकमा तपाईं सहभागी हुनुहुन्न रे, बोल्न पनि मन गर्नु हुन्न रे,  हो त ?
– सगुनजी, पार्टीका अरूलाई त नभन्नुस् तर पाँच–छ दिन भयो, मलाई केही गर्न पनि मन लागेको छैन । कसैलाई भेट्न र गफ गर्न पनि मन लागेको छैन । हेर्नु न, वार्ताका लागि तयार भएको मान्छे म, अहिले केही बोल्नै मन लाग्दैन । आन्दोलनतिर पनि खासै इच्छा लाग्दैन । यतिसम्म कि यहाँ आउँदा पनि त्यहींको घर नपसी आएँ । आमालाई पनि नभेटि यतातिर लागें । पार्टीबाट पनि ..... तपाईंलाई एकदमै विश्वास गरेर भनेको है, .... पार्टीबाट पनि अलग भएर बस्न मन लाग्छ कहिलेकाहीं । कहिले फेरि आमालाई लिएर नेपाल बाहिर गएर बसौं कि जस्तो पनि लाग्छ । फेरि साथीभाइहरूले के भन्लान्, आमाले नै के भन्नुहुन्छ जस्तो लाग्छ । म अलग भएपछि मैले नै बनाएका यत्रा कार्यकर्ताहरू के गर्लान् जस्तो लाग्छ । म के गरुँ सगुनजी ?
– हेर्नुस् कृष्णजी ! हाम्रा सोचहरू हाम्रो नियन्त्रण बाहिर हुन्छन् । आज जुन सोच छ, त्यो भोलि हुँदैन र भोलिको सोच पर्सिका लागि रहदैंन । त्यसैले तपाईंले केही चिन्ता गर्नु पर्दैन । भोलिपर्सि आफैं ठीक हुनुहुन्छ तपाईं । पार्टी छोड्ने कुरै नगर्नुस् । हामीले छोड्नका लागि पार्टी समातेकै होइन । तपाईं हाम्रो हातमा दुई करोड जनताले समाइ रहेका छन् र हामीले छोडिदियौं भने ती सब भिरबाट लड्नेछन् र हामीलाई सराप्नेछन् । यत्रा शहीदहरूले धिक्कार्नेछन् । यतातिर सोच्तै नसोच्नुस् । बरु तपाईंलाई एउटा खुशीको खबर छ । छिमेकी राष्ट्रहरूमा तपाईंको व्यक्तिगत विवरण एकदम राम्रो पारिएको छ । तपाईंलाई गोप्य तरिकाले विशेष पद दिनेवाला छन् छिट्टै नै ।
– मलाई खासै चासो नै छैन सगुनजी, जेसुकै बनाउन् । आखिर म म नै हुँ ।
– त्यसो नभन्नुस् । बरु एक–दुई दिन घर गएर आमालाई भेट्नुस् । म गाडिको व्यवस्था गरिहाल्छु । पछि लिन पनि पठाइदिउँला । उतै आराम गर्नुस् केही दिन ।
– खै, यहाँ बस्न पनि मन छैन । घरमा जान पनि मन छैन । अहिले चाहिँ म कोठातिर लागें है ।
कोठातिर गयो कृष्ण । पुष्पपत्रका दुबै चिठी पढ्यो । आफ्नो पढ्यो, श्रुतीको पढ्यो र राखिदियो । सुत्ने प्रयास ग¥यो । दुई–तीन ओटा सिराने च्यापेर पल्टियो । एउटा सिराने भरि गोली रहेछन् । छामेर नै थाहा पायो कि त्यी हाते पेस्तोलका थिए ।
– हेलो ! नं. पचहत्तर, सगुन ।
– के छ कमरेडको खबर ?
– हामीले सोचे जस्तै रहेछ । किन चाहिँ थाहा छैन तर पहिलाको जस्तो बनाउन सक्दैनौं कृष्णलाई हामीले । के गर्नु अब ?
– पुष्पपत्रको अठारौं अङ्कको तेस्रो चिठी पढ्नुस् र त्यसै अनुसारको उपचार गर्नुस् । अर्को पटक त्यो मेरो पहिलेकै नम्बरमा फोन गर्नुहोला ।
– कं सगुनले कृष्णकै कोठामा गएर निर्देशित अङ्कको पत्र पढ्यो । कृष्ण त्यहीं पल्टिएको थियो । खासै बातचित भएन । पढिसकेर अर्को कोठामा गयो क. सगुन । उसले बोलाएको कमरेड आइसकेको रहेछ ।
– मलाई बोलाउनु भएको हो कमरेड ?
– हो, ल यता सुन्नुस् । अस्ति ल्याएका ती बीस ओटा ड्रेस थिए नि, उताबाट सिलाएका । ती कहाँ छन्, खोज्नुस् र तयार पार्नुस् । कृष्ण कमरेड कतै गएको बेलामा एउटा हाते पेस्तोल पनि तयारीमा राख्नुस् । अनि त्यो भर्खरै खनेको नयाँ बाटो छ नि, सल्लाघारी नेर, त्यहाँ गएर लुक्न सक्ने ठाउँ तयार पार्नुस् भोलि बेलुका भित्रमा । सकिन्छ नि ?
– सकिन्छ कमरेड ।
– अनि मुख्य कुरा थाहा पाइराख्नुस्, दुई–जना मात्रै मान्छे हुन्छन् । ड्राइभरलाई केही नहोस् । ऊ मेरो विशेष मान्छे हो । मेरो विशेष मान्छे भनेको थाहा छ नि तपाईंलाई ? गाडि नम्बर म एस.एम.एस गर्छु पर्सि बिहान । रेडि पोजिसनमा बस्नुस् । खतरा मान्छे छ । तर ड्राइभरले पनि तपाईंलाई सहयोग गर्छ ।
– हुन्छ सर । अनि के अपहरण कि ........
– अपहरण गर्ने भए तपाईंलाई भनिरहन्थें होला त ?
– पोहोरको कार्तिकेको जस्तै हो । तपाईंलाई यो भन्दा बढी के भन्नु पर्छ र । अनि तपाईं यो डिभिजनमा बास पनि नबस्नुस् आज भोलि ।
– हुन्छ सर ।
– अनि के पनि गर्नुस् भने काम सकेर तपाईं मेसो मिलाएर लाग्नुस् तराइतिर । म कमरेड सागरलाई खबर गरिदिन्छु, उसैकोमा जानुस् ।
– हुन्छ सर ।
– धन्दा मान्नु पर्दैन कमरेड । कार्तिकेको भन्दा चारगुणा बढी हुन्छ तपाईंलाई । यतापनि र उतापनि । काम यो धेरै गाह्रो पनि छैन ।
कमरेड सगुन बाहिरियो डिभिजनबाट । बरालिए जस्तो देखिन्थ्यो दिनै भरि । यता गयो, उता डुल्यो, नयाँ बाटो हे¥यो, नयाँ मान्छेसँग चिनजान ग¥यो । सल्लाघारीतिर डुल्यो । बेरोजगारी डुलाइ डुल्यो भरदिन । अनि बेलुकाको रुटिन । मिटिङ्ग र शङ्खनाद पछिको खाना ।
– हेल्लो नं पचहत्तर ।
– भन्नुस् ।
– पर्सि बिहानलाई पोहोरकै मान्छे बोलाएको छु । उपचार गरिसकेर त्यतैतिर आउँछहोला ।
– ल मिलाउनुस् । तपाइँलाई एउटा मन्त्रालय पक्का हुन्छ पछि ।
योजनामा नै बिते दुई–दिन सगुनका र विना योजना बिते दिन कृष्णका र डिभिजनका अन्य सदस्यका । अलर्ट रहने र सूचना सङ्कलन गर्ने प्रमुख काम थियो आजकल ।
– कृष्णजी ! के छ खबर ? के सोच बनाउनु भयो ?
– ठीकै छ सगुन जी ! मैले निर्णय गरिसकें कि अब म आमालाई लिएर कतै गएर बस्छु ।
– कतै भनेको त्यही काठमाडौं त होला नि ।
– त्यहाँ त म बस्दिन । मलाई त्यो ठाउँ त्यति राम्रो पनि लाग्दैन ।
– अनि कता त ?
– खै, उहाँसँगै सल्लाह गर्छु । हाम्रा पार्टीका कार्यक्रमहरूको विश्लेषणात्मक समीक्षा गर्दै एक–दुई ओटा किताब लेख्छु र त्यतै जिन्दिगी बिताउँछु । तपाईंहरूसँग सम्पर्क भइहाल्छ । तर पहिला जस्तो अब सक्रिय चाहिँ भइँन है सगुनजी पार्टीमा । गुप्तबास बस्छु अब । अरू कार्यकर्ताले नभेट्टाउने र नचिन्ने ठाउँमा । अबको हाम्रो कार्यक्रममा कार्यकताहरूलाई यस्तो खालको निर्देशन दिनु है सगुनजी । यो डायरीमा लेखेको छु, लिनुस् । यो तपाईंसँगै राख्नुस् ।
– मेरो अनुरोध त त्यसो नगर्नुस् भन्ने हो कृष्णजी । घर जानुस्, आमासँग गफ गर्नुस् । के बेर, फेरि काम गर्न मन लागि हाल्छ कि !
– जान त जान्छु तर खै काममा आउने कुरा चाहिँ शङ्कै छ ।
– कहिले जाने त घर ?
– जहिले गएपनि भइहाल्यो नि । अहिल्यै जाउँ कि जस्तो पनि लागि रहेछ ।
– अब आज ढिलो भइगयो । भोलि जानुस् । भोलि बिहानलाई मैले गाडि पनि खोजेको छु । भ्याएँ भने म पनि जाउँला नत्र तपाईं जनुस् हुन्न ?
– हुन्छ ।
आमासँग के कुरा गर्ने भन्ने सोचमा डुब्यो कृष्ण । श्रुतीको देहान्त भएपछि मैले क्रान्ति छोडें भनें भने, उहाँले मलाई तँ पनि मर् भनिहाल्नु हुन्छ । तँ भन्दा बरु तेरो बुबा नै ठीक भन्नु हुन्छ । उहाँ बाचुन्जेल गाली गर्नुहुन्छ र मैले बाचुन्जेल संझिनु पर्छ । त्यतातिरको कुरै गर्नु भएन । बरु क्रान्ति छोडें नै भन्दिन । फेरि कति दिनसम्म ढाँटिरहनु ! एक दिन त भन्नै पर्छ । दुई करोड नेपालीलाई मुक्ति दिने छोरो संझिनु भएको छ मलाई । आ ! जे सुकै होस्, भन्दिन्छु जे हो त्यही । आमा न हो, के नै गर्नु हुन्छ होला र । छोरो भनेको छोरै हो । माया त लागिहाल्छ । तर माथ्ला घरकी जन्तरी आमा जस्ती भए पो हुन्थ्यो । आफ्ना छोरा छोरीलाई, बाबू हो ! आन्दोलनतिर नलाग, गाउँ आउनु पर्दैन, त्यतै बस, ज्यान जोगाउ भन्ने खालको । त्यस्ती हुनुहुन्न ।
भोलिपल्ट एका बिहानै ढक ढक सुन्यो कृष्णले आफ्नो कोठामा र ढुक ढुक सुन्यो आफ्नो मुटुमा । आएर ढोका खोल्यो कोठाको ।
– सर लालसलाम ! गाडि तयार छ, तपाईं तयार हुनुस् । उज्यालो हुँदासम्म घर पुगिन्छ ।
– ल म आइहाँले !
सामान्य मुख खोकल्यो कृष्णले र लाग्यो गाडितिर । ड्युटीमा रहेका भन्दा बाहेक अरू उठेकै थिएनन् । ग्राभेल पनि नगरेको बाटोमा गाडि पनि हिडँु कि नहिडँु जस्तो गरि गुड्थ्यो जसरी कृष्ण पनि घर जाउँ कि नजाउँ भन्ने मोडमा थियो । लामा दिन र बिहानका जूनले उज्यालो बढेजस्तो थियो बाटातिर तर घडिमा थोरै मात्र बजेको थियो । सल्लाघारिमा आएर गाडि रोकियो । एक जनाले मात्र पल्टाउन नसकिने ढुङ्गो थियो बीच बाटोमा
– कृष्ण सर ! एकछिन् सहयोग गर्नुस् है । अलिक ठूलो रहेछ त्यो चाहिँ । साना त मैले पान्साइसकें ।
– हुन्छ ।
– सर ! तपाईं यताबाट बल गर्नुस् है त, म यताबाट उचाल्छु ।
– ड्याङ्ग, ड्याङ्ग ।
– ऐया !
– कृष्ण सर ! यता आउनुस्, यतातिर, गाडिभित्र ।
– ड्याङ्ग ।
सुनसान बिहानी र शान्त कृष्ण । तातो गाडिमा चिसो कृष्ण । वर्षौको क्रान्ति पछि सफा बिहानीमा उदाउनै लागेको घामको रक्तिम उज्यालो नेपालका हिमाल–पहाडमा आइसकेकै थिएन । नयाँ दिनको सूर्य नै देख्न पाएन कृष्णले । हिजै उदाएको दागी चन्द्रमा देख्दै प्राण त्याग ग¥यो । मरणान्त अवस्थामा ऐया जप्यो कृष्णले ।
– कमरेड, छिटो गर्नुस् । बाटाको रगत माटोले छोप्नुस् है । म गाडि भित्र मिलाउँदै गर्छु । त्यहींको आलो माटो यता उता पार्नुस् न ।
– ल ल यहाँ भइसक्यो । गाडि स्टार्ट गर्नुस् । प्लास्टिक ल्याउनु भएको छ कि छैन ?
– छ । ल आउनुस् एक्लै बेर्न सकिँदैन ।
– ल ल हिँड्नुस् । अलिक पर गएर गर्नुपर्छ ।
सजीव कृष्णको गाडि रोकियो र निर्जीव गाडिले फेरि पाङ्ग्रा चलायो । धेरै पर पुगुन्जेल सुनसान थियो गाडि भित्र । डाँडाका तीन चार ओटा घुम्ती पार गरिसकेको थियो मृत कृष्णले ।
– हाम्रो पनि जीवन यस्तै त होला है, कमरेड ? के के न गर्छु भन्यो, भरे एउटा गोलीले सबै सकिदिन्छ ।
– यस्तै हो साथी । कतिले काल आउँदैछ भन्ने थाहा पाएर पनि बचावट गर्न सक्दैनन् भने कतिले बचावट गर्नुपर्छ भन्ने नै थाहा नपाई मर्नुपर्छ ।
– तर हाम्रो त यस्तो हुँदैन होला, है ?
– मेरो त थाहा छैन तर तपाईंको चाहिँ पक्कै हुँदैन, कमरेड ।
– किन र ? म चाहिँ को हुँ र ? मेरो मुटुमा आउन लागेको गोलीलाई अन्तै लगाइदिने कृष्ण मरिहाले । अनि मेरो चाहिँ यस्तो हुँदैन भन्ने के छ र ?
– किनभने तपाईं कमरेड सगुनको विशेष मान्छे हो अरे, अस्ति उहाँले नै भनेको । विशेष भएर नै तपाईंलाई त्यत्रो टाढाको जिल्लाबाट बोलाएको रे ।
– विशेष त उहाँको लागि हुँला ? सबैका लागि विशेष हुन सकिँदैन । जोसँग पनि बन्दूक देखिन्छ आजकल । कृष्णजी पनि उहाँ लगायत धेरैका लागि विशेष नै हुनुहुन्थ्यो ।
– अलिक बुझ्नु भएन कमरेड ! कं. सगुनको विशेष मान्छे भनेको साँच्चिकै विशेष मान्छे हुन्छ । विशिष्ट प्रकारको शेष हुन्छ, तपाईं जस्तै ।
– ड्याङ्ग, ड्याङ्ग । यस्तो विशेषता हुन्छ उहाँको विशेष मान्छेमा । मरेपछि भएपनि थाहा पाउनुस् कमरेड, क. सगुनको तपाईं पाचौं विशेष मान्छे हुनुहुन्थ्यो ।
ज्युँदो मान्छे अब एकजना मात्र थियो गाडिमा । आफैं बस्यो ड्राइभरको सीटमा । अलि पर  भीर थियो र गाडिलाई भीरको डर थिएन । अनि लाशलाई भीरको डर थिएन । गाडि त्यतै पल्टियो र ऊ लाग्यो तराइतिरको बाटो । लगाएका कपडा फुकाल्यो, एकछिन् हातैमा बोक्यो र फालिदियो ढाँडमा ।
सूर्य उदाए राता र ठूला, थाल जत्रै । दिउँसोको मेला भ्याउँन सबेरै झुल्किए घाँसे महिलाहरू उत्रै ठूला डोका लिएर बेंसितिर ।
– ओइ साहिँली, डोजरले बाटो त माथि पो खन्दैथियो त अस्ति । गाडि त तलबाट पो कुद्न थालेछन्, हेर त ।
– तल्लो बाटो पनि खन्ने कुरा थियो, खने होलान् । आफू हेर्न आउन भ्याइएन । एकै दिनमा कति खन्दो रहेछ । रूख मुला त मुला उखेले जस्तै गरेर आफल्दो रहेछ ।
– ओइ हेर त । बिग्रेछ कि क्या हो त्यो गाडि, हिँडेको जस्तो देखिदैन त ?
– छैन । तँलाई हेर्दैछ क्या, एकछिन् गाडि रोकेर । राम्री छेस् नि त ।
– राम्री त छे तर यसको टाउकाको डोको हेर्दै तर्सिन्छ होला र पो ! त्यसको गाडि भन्दा ठूलो छ यसको डोको ।
– ओइ सुशिला, सुसेल त एकचोटी सुइय पारेर । हरन बजाइ हाल्छ कि !
– अँ, यसलाई चाहिँ हरन चाइएछ अब ! जा न बजारमा गएर एउटा किनेर ल्याइदे । दिनभरि बजाओस् यही रूखमा बसेर ।
भर्खरै पलाउन थालेको घाँसले डोको भर्न समय लाग्यो । यता छि¥यो, उता चड्यो, वर काट्यो । बिहान त बित्न लागिगयो । जसो तसो निम्ठो डोको पारेर नयाँ बाटो हुँदै घर फर्किए घँसियाहरू । सल्लेवीर र उकालो बाटो अनि घाँसको भारि । अप्ठ्यारो त हुने नै भयो । गाडि जहाँको त्यहीं थियो । केही डराए पनि एकछिन् । कतिले त त्यताबाट नजाने पनि सोचे तर साथी न हुन्, लागे उतैतिर । माथिसम्म आइपुग्दा पनि मोटर बाटो भेटिएन । आफू भन्दा तल गाडि हुन लागि सक्यो तर बाटो थिएन ।
– ओइ गाडि त पल्टिए छ क्यार माथ्लो रोडबाट । हेर त, ऊ कोल्टे पनि छ । तलबाट पो देखिएन त ।
– राम राम ! हो रहेछ ! जाउँ छिटो गाउँमा गएर खबर गरौं ।
– होइन । एकपटक हामी नै जाउँ न । कोही मर्नै लागेका छन् कि ?
– होइन, हामी नजाऊँ । अर्को आपत् आउन सक्छ । समय यस्तो छ । घरतिर गएर खबर गरौं ।
मन गह्रौं भयो र भारि हलुका । फटाफट हिँडे गोडाहरू उकालोमा र बल्ल भेटे नयाँ बाटो ।
– आम्मै ! यहाँदेखि त्यत्रो तल । पक्कै बाँचेनन् । अघि एकचोटि चाहिँ बोलाउनु पथ्र्यो है ।
गाउँ न हो, हल्ला फैलियो दुर्घटनाकोे । शायद आफ्नै गाउँको पहिलो दुर्घटना थियो त्यो । सिङ्गै गाउँ जङ्गल पस्यो र खबर पुग्यो गाउँको नजिकैको सिहंदरबार भनिने डिभिजनमा । तल्ला गाउँका पनि निस्किए जङ्गलतिर । रूख जति नै ठडिए मान्छेहरू एकाध घण्टा भित्रमा ।
– राम राम ! राम दाइ पो हो कि क्या हो ?
– खै त ! होइन होला । उहाँ त यता हुनुहुन्न थियो आजकल । काठमाडौंबाट फर्किएको हामीलाई थाहै छैन । घरमा नपसी के फर्किनु हुन्थ्यो कृष्ण दाइ ।
– हँ .. हाम्रै राम दाइ रे ! कमरेड कृष्ण नै हो रे !
– ओ हो ! बुढी आमको अर्को छोरो पनि सकियो । जेठो छोरो हराएको यतिका वर्ष भइसक्यो । मरे बाँचेको केही थाहा छैन ।
– तिनलाई चाहिँ हाम्रा मुखबाट नसुनाउँ है । बरु राम दाइका दिदीहरूलाई चाहिँ खबर गरिदिउँ । आमैलाई सान्त्वना दिन त सक्छन् ।
खैलाबैला मच्चियो डिभिजनमा । कस्ले हो ? कुन दलालले हो ? होइन होला । हेर आफ्नै माटोमा चाहिँ माटो खानु प¥यो, कहाँ कहाँबाट बाँचेर आएको मान्छेले । गाडि पल्टिएको रे कहाँ मान्छेले हुनु । ड्राइभर सहित शहीद भए रे ।
– हेल्लो नं. पचहत्तर ।  बिरामी निको हुनुभयो रे,भर्खरै खबर आयो ।
– बधाई छ । त्यहाँका लडाकूको मन जित्ने प्रयास गर्नुस् । अब तपाईं नै त्यहाँको कमाण्डर हुनुहुन्छ छिटै नै । त्यो सिमकार्ड फालिदिनुस् अब ।
तत्काल पाँच सदस्यीय छानबिन समिति गठन भयो कमरेड सगुनको नेतृत्वमा । सदस्यहरू लागे घटनास्थल तर्फ । मान्छेको भिडामभिड थियो सल्लाघारी र वनभरि अनि वेदनाको ठेलममेल थियो गाउँले मनभरि ।
पुरानो गाडि, नयाँ बाटो, सानो घुम्ती, ठूलो भीर, अनिदो ड्राइभर र शायद माथिबाट ढुङ्गा पनि पल्टिएका कारण गाडिको दुर्घटना भएको र ड्राइभर सहित कं. कृष्णको मृत्यु भएको निष्कर्ष निकाल्यो समितिले । लाश लगे डिभिजनमा र ओडाइए योद्धाहरूद्वारा पार्टीका धेरै राता झण्डाहरू । फोन गरियो स्वदेश र विदेशमा ।
आपत्कालीन बैठकले कृष्णकी आमालाई त्यहाँ बोलाउने, सकेसम्म अन्य डिभिजनका कमाण्डरहरूलाई बोलाएर क्रान्तिकारी श्रद्धाञ्जली सभा गर्ने, त्यस डिभिजनको नाम पनि कृष्ण डिभिजन राख्ने, उसको विशिष्ट योगदानको बारेमा पार्टीले किताब छपाउने, प्रत्येक डिभिजनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, कृष्णकी आमालाई पार्टीको तर्फबाट दश लाख क्षतिपूर्ति दिलाउन प्रयास गर्ने र तत्कालका लागि कं. सगुनलाई त्यस डिभिजनको डिभिजन कमाण्डरमा सिफारिस गर्ने निर्णय ग¥यो ।
– ल कमरेडहरू ! तपाईंहरू दुईजना जानुस् माथिसम्म र बोलाउनुस् कृष्णकी आमालाई । तपाईंहरू हेर्दा पनि बाउ छोरा जस्तै देखिनुहुन्छ, यो गा.वि.स को पनि होइन । कसैले सोधिहाले भने छोरालाई केटी खोज्न हिँडेको भन्नू । सकेसम्म छिटै उहाँलाई लिएर आउनुस् । यताको काम हामी गर्दै गर्छौं । जाँदाखेरि कालीखोल्सीतिरबाट माथिसम्म जानुस् र शिवालयमा निस्किएर तल झर्नुस् । सिधै घरमा पुग्ने गरि नजानुस्, बरुधाइपातिरबाट गएपनि हुन्छ ।
टेण्ट भित्र राखिए दुबै कमरेडका शवहरू र बत्ति बालिए एक एक ओटा । गाइँ गुइँ सुनिन्थ्यो डिभिजन भरि । फूलहरू जम्मा भइसकेका थिए डालाभरि र फाट्ट फुट्ट गाउँलेहरू पनि थिए डिभिजन वरिपरि । प्रायः सबै कुर्दै थिए कृष्णकी आमालाई ।
– नमस्ते आमा ! सञ्चै हुनुहुन्छ ।
– नमस्ते । आउनुस्, बस्नुस् । चिनिँं कि बिर्सिएँ मैले तपाईंहरूलाई ?
– खै आमा, चिन्नु हुन्न होला । हामी कृष्णका साथी हौं । उहाँ हाम्रो कमाण्डर हो ।
– अब तपाइँहरू उसको साथी भए पनि के गर्नु, पुलिस आर्मी नै भएपनि के गर्नु । ऊ छैन अहिले । काठमाडौंतिर गएको धेरै भइसक्यो । यता आएकै छैन । पहिले पहिले त छिट्टै आउँथ्यो । यसपाली त खै, निकै नै भइसक्यो ।
– त्यसो होइन आमा, उहाँ आउनु भएको थियो । अनि हामीलाई हाम्रो कमाण्डर सरले तपाईंलाई हाम्रो डिभिजनमा लिएर आउनु भनेर पठाएको । बिस्तारै बिस्तारै जानुपर्छ है आमा आज ।
– राम त्यहाँ आएको छ ? किन घरमै नपसि गएछ त ? हुन त कस्तो अवस्थामा, कसरी आयो के गरोस् । कि साथीहरूले उहीं जन्मदिन मनाइदिन लाग्नु भयो । उसको जन्मदिन पनि आज भोलि नै पर्छ ।
– त्यो त हामीलाई थाहा भएन । उहीं जाउँ न अनि थाहा हुन्छ ।
– अब म बूढीको के काम त्यहाँ । उति तलसम्म किन जानु प¥यो र । एकदिन लाग्छ मलाई त ।
– होइन आमा, जानु त पर्छ । बरु छिट्टै हिडौं ।
– के भन्छन् यी बाबूहरू ! बेला न कुबेला कसरी हिंड्नु । मकै दोहे¥याउने खेताला छन् बारिमा, खाजा खान दिनुपर्छ । जेठको यस्तो गर्मी छ, पानी खान माग्छन् । जानै परे भोलि बिहानै जाउँला । बिहान जून लागि हाल्छन् आजकल, शीतल पनि हुन्छ । बरु तिमीहरू पनि यतै बस आजको रात ।
– होइन आमा, एकपटक चाहिँ जानै पर्ने भयो ।
– ल जाने । म जाने भएँ तर भोलि बिहान । अहिले चाहिँ म लागें बारी तर्फ । तिमीहरू बस्तै गर । बरु गाई करायो भने ती आटका मकै हालिदिनू । कमाण्डरकी आमाले भनेको पनि टेर्नुपर्छ कहिलेकाहीं । भोलि बिहान जाउँला ।
बाध्य भए बस्न कमरेडहरू र त्यसै बसे बाहिरको खाटतिर । बेलुका भयो । खाना खाए र सोलारको बत्ति नजिकका काला साङ्ला हेर्दै गफ गरे कृष्णकी आमासँग ।
– तपाईंलाई थाहा छ आमा ! यी साङ्लाको रगत सेतो हुन्छ ।
– अब सधैं मदानीको नौनी घीउ चाटेर बस्न पल्केका छन् । अनि के गरि रगत रातो होस् त ? फेरि यी क्रान्तिकारी पनि त होइनन् नि तिमीहरू जस्ता । बरु तिमीहरूलाई थाहा नहोला यी त चिसा पनि हुन्छन् । कहिलेकाहीं आङमा खस्छन् निदालबाट, कस्तो चीसो हुन्छ ।
– जीउमा नै खसे भने त अपसगुन हुन्छ भन्छन् नि हाम्रातिर त ।
– भएर के गर्नु ? मलाई त कतिचोटि खसे खसे । आज बिहान नै कप्टेरा झिक्ता खसिरथ्यो एउटा । दिउँसो तिमीहरू आयौ । के अपसगुन भयो त ? कि तिमीहरू सकुनी समान अपसगुनका साथीहरू हौ ?
– हामीहरू त सगुनकै साथीहरू हौं आमा ।
– सगुनका साथी रे !
– हजुर । हाम्रो एकजना कमाण्डर सरको नाम कमरेड सगुन हो । उहाँले नै हामीलाई यहाँ पठाउनु भएको । हामी सुत्यौं है आमा । तातो भात लाग्यो, बिहान पनि छिट्टै उठ्नुपर्छ ।
– ल सुत बाबु हो सुत । गलेका पनि हौला । ओच्छ्यान चाहिँ त्यतै टकटक्याएर सुत । त्यहाँ कोही पनि सुत्दैन अचेलभरि । उपियाँ सुपियाँ पनि होलान् ।
शायद हिजो कृष्ण उठेकै बेला थियो होला, कृष्णकी आमालाई निद्राले छोड्यो । सगुनका साथीहरू पनि उठे र सबेरै ओह्रालो लागे । तल रमिते डाँडासम्म आइपुग्दा कसैका घरका  दैला उघ्रिएका थिएनन् । राति नै आधा गाउँ कटेकोमा र गाउँका कोहीसँग कुरा गर्नु नपरेकोमा खुशी थिए कमरेडहरू । सामान्य विषयमा कुरा गर्दै लागे चौतारेको ओह्रालो हुँदै रातमाटेको सल्लाघारीतिर ।
– यहाँ त यत्रो बाटो बनाइसकेछन् है । गाउँका केटाकेटी डोजर हेर्न गएका त भन्थे, कति छिटो खनेछन् ।
– अचेलभरि जे पनि छिटो हुन्छ आमा । सामान नै छिटो छिटो काम गर्ने बनाएका छन्, छिट्टै काम भइहाल्छ ।
– हुन त हो । काँक्रा पनि छिट्टै फलाउन थाले, फर्सी पनि छिट्टै बढाउन थाले । मान्छे पनि छिटा हुन थाले है बाबु । बाह्र तेह्र वर्षका केटीहरू भाग्न थालीसके घरबाट । कहिले देखि मर्न पनि छिट्टै थाल्छन् यी मान्छेहरू ।
– मर्न त के मर्थे छिट्टै । बरु धेरै बाँच्छन् । औषधि छ, डाक्टर छन् । गाडि छन् अस्पताल जाने, बाटो खनेको छ गाउँगाउँमा ।
– बाटो त छ नि । यही हो क्यारे बाटो, हेर त । भीरको टुप्पामा खनेको छ । यहाँबाट गाडि खस्यो भने तिम्रा डाक्टर र औषधिको के काम ? तल पुग्दासम्म हड्डि पनि बाँकी हुँदैनन् । अलिक भित्ताबाट हिंड है बाबु हो तिमीहरू पनि । सल्लेवीर फेरि उस्तै चिप्लो हुन्छ ।
– हो । यो खराब हुँदो रहेछ ।
– हेर हेर, यो ठूलो सल्लो पनि ढालि दिएछन् । जरै उखेलेर लडाइदिएछन् डङ्ग्रङग । कति राम्रो थियो । साँचि बाबू हो, मैले अस्ति सपनामा पनि यस्तै जङ्गल भरिको ठूलो रूख जरै देखि उखेलेर फालेको देखिरथें । कस्तो नराम्रो लाग्दै थियो सपनामा, यही देख्नलाई रहेछ ।
डिभिजनमा पुग्दा झण्डै दश बजिसकेको थियो । लडाकूहरू डिभिजन बाहिरको चौरमा छरपस्ट थिए । टेण्ट वरिपरि भीडभाड थियो । परैबाट देखे कृष्णकी आमालाई । स्थानीय लडाकूहरू क. सगुनसँगै उनीतिर नजिकिए ।
– नमस्ते आमा ।
– नमस्ते बाबू । खोइ म त पहिले शीतलमा बस्छु एकछिन् । बेंसीको गर्मीले हप्प भएँ । सास नै ठप्प होला जस्तो भयो । धेरै भएछ नहिँडेको पनि । अनि किन बोलाउनु भयो त आज यस्ती बूढीलाई ? राम खोइ त ? यतै छ भन्थे यी बाबूहरूले ।
– हेर्नुस् आमा ..... चिसो पानी ल्याउनुस् आमालाई एक गिलास ..... आमालाई गर्मी भए जस्तो छ धेरै ..... तपाईंको छोरो राम ..... हामी उहाँलाई कमरेड कृष्ण भन्छौं ..... पानी लिनुस् ..... उहाँ साँच्चै नै क्रान्तिकारी हुनुहुन्थ्यो ..... यत्रा कार्यकर्ताहरू उहाँले तयार पार्नुभयो ..... देश–विदेशमा उहाँले धेरै प्रसिद्धि कमाउनु भयो छोटो समयमा ..... हामीले ..... अझ विशेष मैले ..... मलाई क. सगुन भन्नुहुन्छ साथीहरूले ..... हामीले यहाँ मात्रै होइन विदेशमा पनि सँगसँगै धेरै काम ग¥यौं ..... उहाँ मेरो एक प्रकारको गुरु समान हुनुहुन्थ्यो यस क्षेत्रमा ..... हामीले धेरै कुरा सिक्यौं उहाँबाट ..... देशको माटो सुहाउँदो मान्छे हुनुहुन्थ्यो उहाँ ..... तपाईंलाई थाहै छ ..... दरबार काण्ड अगाडिको बार्ता टोलीमा उहाँ पनि पर्नु भएको थियो ..... अर्को गिलास पानी खाने ? ..... हिजो ..... होइन अस्तितिर उहाँ आउनु भएको थियो यो डिभिजनमा ..... अलिक निराश देखिनुहुन्थ्यो मिशन ॐ बाट फर्किंदा ..... आफ्नो भाषण र निर्देशन पनि हामीलाई लेखेर छोड्दिनु भएको छ ..... बोल्न पनि त्यति मन गर्नु भएन ..... हिजो तपाईंलाई भेट्न त्यतैतिर जाँदै हुनुन्थ्यो ..... हुन त म अभागी नै हुँ आमा किनकि यत्रा मान्छे मध्ये म नै परें तपाईंलाई सुनाउने ..... जाँदै हुनुन्थ्यो तर अचानक ..... दुःख मानेर पनि के गर्नु अब ..... अचानक उहाँको दुर्घटना भयो ..... हामीलाई त हाम्रो पार्टी नै सकिए जस्तो लागिरहेछ ..... काम गर्न पनि जाँगर मरेर आउँछ संझिदा पनि ..... हामीले पनि पछि पो थाहा पायौं ..... पछि ..... गाउँलेहरूले नै खबर ल्याए ..... हाम्रो अर्को ड्राइभर साथी पनि उहाँसँगै बित्नु भयो ..... बरु उहाँ नै भाग्यमानी हुनुहुँदो रहेछ ..... कमसेकम सँगसँगै त जान पाउनु भयो ..... हेर्नुस् न ..... तपाईं हामीलाई चाहिँ पीर मात्रै बोक्नु प¥यो ..... हुन त हामीले पनि धेरै साथीहरू गुमायौं ..... तर उहाँ जस्तोलाई गुमाउँदा चाहिँ साह्रै दुःख हुँदो रहेछ ..... तर के चाहिँ खुशीको कुरा हो भने साले दलालहरूको शिकार चाहिँ बन्नु परेन उहाँले ..... आफू जन्मिएको ठाउँमा नै शाहदत प्राप्त गर्नु भयो ..... पीर धेरै नमान्नूस् आमा ..... हामी सबै नै तपाईंका छोरा समान हौं ..... समान त के छोरा नै हौं ..... तपाईं जस्ता आमाहरू नभएको भए आजसम्मको क्रान्ति ..... पनि कस्ले गथ्र्यो र ..... तर तपाईं चाहिँ विशेष नै आमा हुनुहुन्छ ..... नत्र यत्रो विशेष छोरो कसरी जन्मिन्थ्यो ..... देश भनेको सही अर्थमा तपाईंहरू जस्ता आमा नै त हो ..... आफ्नो आमालाई हँसाउनु छोराको कर्तव्य पनि हो ..... र त्यही कार्यमा हाम्रो कृष्ण सर लागि परिरहनु भएको थियो ..... अब हामी झन् लाग्छौं ..... हुन त हाम्रो पनि के भर छ र ..... कसलाई थाहा छ र कसरी र कहिले जानुपर्छ भनेर ..... चित्त नदुखाउनुस् आमा ..... हामीसँगै बसे पनि हुन्छ ..... तपाईंले उहाँको कामको बारेमा चिन्ता लिनु पर्दैन ..... तपाईंले भने जसरी नै हामी उहाँको अन्तेष्ठी गर्छौ ..... क्रान्तिकारी तरिकाले गर भन्नुहुन्छ भने त्यसै गर्छौं ..... होइन, हाम्रो पुर्खाको चलन नै ठीक भन्नुहुन्छ भने पनि त्यसै अनुुसार गर्छौं ..... विदेशबाट पनि हाम्रा पार्टीका पाहुनाहरू आउँदै हुनुहुन्छ उहाँको अन्त्येष्टि गर्नलाई ..... हाम्रो पार्टीले पनि उहाँको योगदान ..... योगदान स्वरूप यो डिभिजनको नाम ..... उहाँको नामबाट राख्ने ..... उहाँलाई विशिष्ट शहीद घोषणा गर्ने ..... जस्ता धेरै निर्णयहरू गरेका छौं ..... हुन त अब जति नै निर्णय गरे पनि उहाँ फर्कनुहुन्न ..... तर पनि सम्मान भनेको सम्मान नै हो ..... हामीले उहाँको क्षतिपूर्ति त गर्न सक्दैनौं ..... तर तपाईंलाई केही राहत होस् भनेर हामीले केही रकमको पनि व्यवस्था गरेका छौं ..... तपाईंको पनि केही इच्छा छ भने भन्नुस् हामीलाई ..... आजै भन्नुपर्छ भन्ने पनि छैन ..... हामी यहीं हुन्छौं ..... कृष्ण सरकै साथी हौं हामी .....
– पानी होला अर्को एक गिलास ?
– एक न एक दिन त जानै पर्ने हो ..... तर उहाँ अलिक अगाडि हुनुभयो ..... ब्रह्ममुहुर्तमा प्राण गएको छ ..... क्रान्तिकालमा प्राण गएको छ ..... अब यसैलाई ठूलो कुरा मान्नु पर्छ ..... सीधै स्वर्गको बाटो बनाएर जानुभएको छ .....
– खोइ ! कहाँ छ त मेरो राम ?
अघि लगाएर लगे टेण्ट भित्र जहाँ धूप बालिएको थियो चारैतिर र पूmलै फूल थियो वरिपरि । क. सगुनले कृष्णको अनुहार ढाकिएको पार्टीको झण्डा खोलेर देखाउने प्रयास गर्दै थिए ।
– पर्दैन बाबू ! पर्दैन । मैले धेरै वर्ष हेरेकी छु मेरो रामलाई । अहिले हेरें भने बाँचुन्जेल यही अनुहारको झझल्को आउँछ । मैले पहिला देखेकै राम मेरो हृदयमा छ । त्यसैलाई संझिन्छु बाँचुन्जेल । मेरो रामलाई संझेर शायद म रुन्न पनि होला बाबु हो ! रामका बुबा बित्दा नै मेरा धेरै आँशु सकिइसकेका छन्् । उसको दाइको पनि टुङ्गो छैन । यत्तिका दिन भइसक्यो । जिउँदो छ कि मरिसक्यो, न लाश पाइएको छ न सासको ठेगान । अब त भेटिँदैन होला । प्रजातन्त्र आएकै यत्रो वर्ष भइसक्यो ।
अब म रुन्न पनि । मेरा यी आँशूको पैंचो तिर्ने को नै बाँकी छ र अब । कसका सामू बसेर रुनु छ र अब ? छोरीहरू पनि परपरै छन् । मेरा बारेमा तिमीहरूले चिन्ता लिनु पर्दैन बाबुहो ! म नै अब कति बाँच्छु होला र तर, बाबू ! क्रान्ति सफल नहुन्जेल चाहिँ कहिलेकाहीं घरमा आएर यो बूढी बाँचेकी छ कि छैन भनेर हेर है । क्रान्ति सफल भएको समचार सुनेर मर्न चाहन्छु म । त्यसपछि आए पनि हुन्छ, नआए पनि हुन्छ । मेरो रामको रामराज्यको शुरूवातको समाचार चाहिँ तिमीहरूले मलाई दिनुपर्छ ।
मलाई मेरा छोराको लाश बेचेर पैसा लिनु छैन र क्षतिपूर्तिले मेरो राम पनि आउँदैन । अनि दुर्घटनामा परेर मरेको छोरालाई शहीदको उपाधि दिनु पनि अरू शहीद प्रतिको अपमान गरेजस्तो लाग्छ मलाई । पार्टीको लागि केही गरेको छ जस्तो लाग्छ भने सही शहीद परिवारका सदस्यको लागि राहत हुने खालको अरूथोक नै केही काम गर जुन तिमीहरूलाई उचित लाग्छ ।
काजक्रिया चाहिँ हाम्रो संस्कार अनुसार नै गरिदेओ । तीनधारेको पानी खान ज्यादै रमाउँथ्यो मेरो राम । त्यही पानीको दोभानमा तल लगेर अन्त्येष्टि गरिदेओ । त्यति भए मलाई दुःख लाग्दैन । तिमीहरू पनि दुःख नमान । दुःख कसलाई पर्दैन र । सन्तान नै नहुनेहरूलाई निसन्तानको दुःख छ, सन्तान हुनेलाई छोरा नभएकोमा दुःख छ, छोरा हुनेलाइ पढेनन्, जागीर खाएनन् भन्ने दुःख छ, क्रान्तिमा मर्ला कि भन्ने पीर छ । मलाई अर्कै पीर र दुःख छ । तिमीहरूलाई अर्कै दुःख होला । दुःख पीर संसारका सबैलाई छ, मात्र यत्ति हो कि दुःखाइ फरक फरक हुन्छ । संसारमा दुःख नभएको कोही भेटेकी छैन मैले । बरु मेरो रामलाई धेरै बेर यहाँ नराख, लगिहाल दोभानतिर । तिमीहरूका पाउनालई नपर्ख । जो आए पनि अब राम त्यहाँबाट उठ्दैन ।
ल बाबु हो ! तिमीहरू त्यसै गर । उतै लग एकजना बाहुन खोजेर । म घरतिर गएर सकेजति गर्दैगर्छु । गाउँकालाई पनि खबर गर्छु ।
खानाले भोकाएको पेट र पीरले अघाएको मन, उकालो र ओह्रालोले गलेका बूढा हड्डिहरू र अनिश्चित भविश्यले रन्थनिएको दिमाग लिएर अबेर साँझ घर पुगिन् ।
– ए छिटै पो आइपुगेछौ त छोरी हो ! कान्छी चाहिँ आइन ? तिमीहरू मात्रै आएछौ !
– अँ, कान्छी आउन नमिल्ने भयो रे आमा । एक घर एक कार्यकर्ता भनेका रहेछन् उसकातिर पनि । अनि ज्वाँइ उता जानु परिगयो । एक्लै घर छोडेर आउन पनि मिलेन । ‘अहिले तिमीहरू नै जाओ, आमालाई यसो सम्झाओ, भ्याएँ भने म अलिक पछि आउँछु ’ भन्थी ।
– ए ! के सम्झाउनु अब । हुने कुरो भइहाल्यो । तिमीहरू पनि धेरै पीर नगर । अनि तिमीहरू पनि एक्ला एक्लै आएछौ त ?
– हाम्रो पनि त्यस्तै त हो नि । ज्वाँइ त घरमा नै हुनुहुन्छ तर बाटातिर कस्तो कस्तो छ भन्ने हल्ला थियो उतातिर । हामी मात्र आयौं । अनि आमा कहाँ भएको रे एक्सिडेण्ट ? कति खेर ?
– त्यही तलको ठूलो सल्लोनेर । हिजो बिहान । घर आउँदै थियो रे । ल बस बस उतातिर राम्ररी बस । अनि कहिलेसम्म बस्छौ त ?
– तेह्रौसम्म बस्छौं होला । त्यो पनि घरतिर सबै ठीक भयो भने । ठूलो दाइको चाहिँ केही खबर आयो त आमा ?
– के आउनु । रामलाई अलि अलि थाहा हुँदो हो ।
– एक्लै पो हुनुहदों रहेछ त ! पल्ला घरका काकाहरू हुनुहुन्न आजभोलि ?
– गाउँमा केटा मान्छे कोही छैनन् छोरी । गाईले कीलो भाँच्यो भने अलिक दह्रो गरेर गाडिदिने कोही छैन । काकाहरू पनि कति जना डिभिजनतिर छन्, कति भागेर काठमाडौं पसेका छन् । स्कूलमा त केटी मात्रै हुन लागे रे पढ्ने । किरिया गरिदिने बाहुन त भेटिन छोडिसके । बल्ल बल्ल एक जना बाबूलाई भटेकी छु, त्यही पनि गरुड पुराण पढ्न जान्दैनन् रे ।
– अब सबै आइमाई मात्र भयौं । सानामा तपाईं कथा सुनाउनु हुन्थ्यो नि, ठूलो युद्ध भयो भने केटा जति सबै मर्छन्, केटीहरू चरित्रहीन हुन्छन् र समाजमा वर्णशङ्कर उत्पादन हुन्छन् भनेर । त्यस्तै हुने भयो अब । हामी पनि भोलि हो कि पर्सि गइहाल्छौं, तपाईं पो एक्लै हुनुहुने भयो आमा ! भाइको काम सकिएपछि तपाईं पनि हिड्नुस् हामीसँग । जसकामा बसेपनि हुन्छ । नाति नातिनीलाई साथी पनि हुन्छ, केही संस्कार पनि सिक्छन्, चलन जान्दछन् । आखिर कुनै पनि सम्धी सम्धीना बाँकी हुनुहुन्न ।   
– पर्दैन नानी हो पर्दैन । म कहिँ पनि जान्न । कहिँ गएर केही समस्याको समाधान हुँदैन मेरो । उमेर पनि छैन मेरो कतै जाने । यही ठाउँको माटोमा राम र रामका बा छन् । म पनि यही माटोमा मिसिन चाहन्छु, मिसिने बेला पनि हुन लागिहाल्यो । फेरि दाइ पनि फर्केर आयो भने यहीं आउँछ ।
– अनि यो खेतबारी, बिरौटो, चौतारे खेत, पल्लोबारी, टारबारी, कसलाई कमाउन दिनु अब ? मान्छे छैनन् गाउँमा । हलि पनि बूढा मात्रै छन् ।
– छोड्देओ छोरी हो, छोड्देओ । अब खाने नै को छ र खेति गर्नु ? छोड्देओ । काँशको घाँस उम्रियोस् सबैतिर । तिमीहरू पनि टाढा छौ !
– आ ... आमा, नजिक भए पनि सकिँदैन अब । डेड दुई सय बोट खोर्सानी राम्ररी फले भने त्यसैले वर्ष दिन खान पु¥याउँदो रहेछ । यो सब बेचेर बुबा र रामको नाममा केही गरौं बरु !
– बेच्न पनि के सकिएला र दिदी । किन्नेबाट पच्चीस प्रतिशत र बेच्नेबाट पच्चीस प्रतिशत उनीहरूलाई नै दिनुपर्छ । आधि पैसा डिभिजनलाई नै बुझाएपछि के गर्नु ?
– मैले त्यसो गर्नु नपर्ला माइली । कृष्णका साथी छँदैछन् नि !
अबेर रातसम्म गफ गरे आमाछोरीले । वार्षिकी सकिएपछि घरबारी बाहेक सबै खेतबारीहरू बेच्ने र एउटा केही बनाउने, छोरीहरूले पनि सहयोग गर्ने कुरा हुँदै गए । आमाको सोच दीगो शिक्षा सम्बन्धी विद्यालय स्थापना गर्ने थियो शुरूमा तर छोरीहरूले आमा जस्तै एकल महिला, वृद्ध–वृद्धा, द्वन्द्व पिडित आदिलाई ओत लाग्ने आश्रमतिर जोड गरे । बनाइसकेर रामकै पार्टीलाई जिम्मा दिए पनि सञ्चालन गर्ला वा गाउँलेले नै पनि टिकाइ राख्लान् किनकि उनीहरूको पनि अवस्था त्यही हो भन्ने निष्कर्ष निकाले ।

Comments

Popular posts from this blog

कविता १-३०७

  1)       श्री   हरि , शार्दूलविक्रीडित छन्द   १ 2)       बुढो मन र तन्नेरी मन , तोटक छन्द २ 3)       ( शेक्स्पीयरको दूरान्तरमा आधारित चौध हरफे सोनेट , शार्दूलविक्रीडित छन्द ) ३ 4)       कोरोना र भ्रष्टाचार , शार्दूलविक्रीडित छन्द ४ 5)       अर्को नलेख्ने अब , शार्दूलविक्रीडित छन्द ५ 6)       द्यौताको गीत , भुजङ्गप्रयात छन्द ६ 7)       पाउँदैनौ र बस्न , मालिनी छन्द   ७ 8)       चेस , अनुष्टुप् छन्द ८ 9)       सल्लाह , भुजङ्गप्रयात छन्द ९ 10)    नयाँ वर्ष , भुजङ्गप्रयात छन्द १० 11)    गायत्री छन्दमा , नेपालस्तुति ११ 12)    लोग्नेको   बिलाप , शार्दूलविक्रीडित छन्द १२ 13)    पियारी   पियारा , भुजङ्गप्रयात छन्द १३ 14)   ...

सल्लाहकार समिति (Nepali story)

                                                             सल्लाहकार समिति           बिगतका देखेका जति पुस्तामा र बूढापाकाले भनेका जति पुस्तामा नै ऊ गाउँको धनी मान्छे थियो । ठाकुर , राजा थियो ऊ । जिम्बल भन्थे उसका बराजूलाई , मुखिया भन्थे रे उसका बाजेलाई । प्रधानपञ्च भनेर चिनिने उसका बुबाको देहान्त भएको खासै धेरै भएको थिएन । प्रधानपञ्चको चौतारो , प्रधानपञ्चको धारो , प्रधानपञ्चको पाटो अझै छँदैछन् । राजा नै थियो ऊ त्यो गाउँको । उसका बुबाले बोलाउने नामले नै बोलाउँथे उसलाई राजासाहेव भनेर ।           गाउँ खर्लप्पै उसैको थियो । जिल्लाका धेरैजसो कर्मचारी उसैका थिए । उसले नचिनेकाहरू पनि उसैका थिए । उसैका घरमा वली दिएर दशैँको अष्टमी सुरु हुन्थ्यो र उसैका...

सहर, सम्भोग र भ्यालेन्टाइन डे (Nepali Article)

                                                    सहर, सम्भोग र भ्यालेन्टाइन डे फ्रेब्रुअरी महिना लागिसकेको थियो पात्रोमा । भ्यालेन्टाइन डे मनाउनेहरू तात्न थालिसकेका थिए । धुलिखेलको भूगोलमा भने चिसो गएकै थिएन । बिहान तुसारो देखिन्थ्यो र मध्यान्नपछि हावा धुलिखेलको डाँडोहुँदै हिमालतिर बहेको चिसो आभास हुन्थ्यो । यो आभास मानिसमा मात्र नभई जनावरमा पनि देखिन्थ्यो, विशेषगरी सडकछेउका राँगा र बहरहरूमा । ठिङ्ग उभिन्थे बिहानभर । जाडोमा झिँगाले पनि दुःख दिएनन् क्यार र कान, पुच्छर पनि हल्लाउनु परेन क्यार । राँगाहरू विक्री वितरणका लागि सहर ल्याइएका थिए गाउँतिरबाट । हुन त तिनीहरूको काम गाउँतिर पनि हुँदैन । एकाधले बीउको लागि राख्छन् नत्र मासुका लागि नै प्रयोग हुने हुन् । प्राय राँगाहरू कलिलै थिए । यसैगरी सहर नजिकैका गाउँबाट धपाइएका थिए बहरहरू, गोठ निकाला गरिएका थिए किनकी तिनीहरूको पनि त्यता काम छैन । एक, ठिमाहाले जोत्न सक्दैनन्; दुई, तिनीहरूको जुरो हुँदैन, जुवा अ...